दानियलको भविष्यसूचक दिन र हाम्रो विश्वास
“त्यो मानिस धन्यको हो जसले पर्खिरहन्छ र एक हजार तीन सय पैंतीस दिन पूरा भएको हेर्नलाई बाँच्छ।”—दानियल १२:१२.
१. धेरैजसो मानिसहरूले किन वास्तविक आनन्द पाउँदैनन् र साँचो आनन्दलाई केसँग जोडिएको छ?
सबै जना आनन्दित हुन चाहन्छन्। तथापि, आज कमै मात्र आनन्दित छन्। किन? एउटा कारण त, धेरैजसो मानिसहरू गलत ठाउँमा आनन्द खोज्छन्। शिक्षा, धन, पेशा वा शक्ति आर्जन जस्ता कुराहरूमा आनन्दको खोजी गरिन्छ। यद्यपि, डाँडाको उपदेशको थालनीमा येशूले आनन्द भन्ने कुरालाई आफ्नो आध्यात्मिक आवश्यकता, दया, मनको शुद्धता र त्यस्तै गुणहरूप्रति सचेत हुनुसित जोड्नुभयो। (मत्ती ५:३-१०) येशूले बताउनुभएको त्यो आनन्द वास्तविक र चिरस्थायी आनन्द हो।
२. भविष्यवाणीअनुसार, अन्तको समयमा कुन कुराले आनन्द दिनेछ र यस सम्बन्धी कस्ता प्रश्नहरू उठ्छन्?
२ अन्तका समयमा बाँचिरहेका शेष अभिषिक्तहरूका लागि आनन्द भन्ने कुरा अर्को एउटा कुरासँग पनि जोडिएको छ। दानियलको पुस्तकमा हामी पढ्छौं: “हे दानियल, तिमी आफ्नो बाटो लाग, किनभने यी वचन गुप्त राखिएका छन्, औ अन्तको समयसम्मलाई बन्द गरिएका छन्। त्यो मानिस धन्यको हो जसले पर्खिरहन्छ र एक हजार तीन सय पैंतीस दिन पूरा भएको हेर्नलाई बाँच्छ।” (दानियल १२:९, १२) यो १,३३५ दिनले कुन अवधिलाई ढाक्छ? यस अवधिमा बाँच्नेहरू किन धन्यका हुन्? के आज हाम्रो विश्वाससँग यसको कुनै सम्बन्ध छ? बाबेलको कैदबाट इस्राएलले पाएको मुक्ति पश्चात् र फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्षतिर दानियलले जुनबेला यी शब्दहरू लेखे त्यसलाई नियाल्यौं भने हामी यी प्रश्नहरूको उत्तर पाउन सक्छौं।—दानियल १०:१.
पुनस्थापनाले आनन्द ल्याउँछ
३. राजा कोरेसको कुन कार्यले गर्दा सा०यु०पू० ५३७-मा विश्वासी यहूदीहरू आनन्दित भए, तर कोरेसले कुन सुअवसर तिनीहरूलाई दिएनन्?
३ बाबेलबाट मुक्त हुनु पाउनु यहूदीहरूका लागि एउटा हर्षोल्लासको अवसर थियो। यहूदीहरूले झण्डै ७० वर्षजति कैदमा बिताइसकेपछि महान कोरेसले तिनीहरूलाई यहोवा परमेश्वरको मन्दिरको पुनःनिमार्णका लागि यरूशलेम फर्कने आह्वान गरे। (एज्रा १:१, २) यस आह्वानलाई स्वीकार्ने जति ठूलो आशाका साथ सा०यु०पू० ५३७-मा स्वदेश फर्के। तथापि, कोरेसले तिनीहरूलाई राजा दाऊदको एक जना सन्तान अधिनस्थ राज्य खडा गर्न आह्वान गरेका थिएनन्।
४, ५. (क) दाऊदको राजत्व कहिले हटाइयो? किन? (ख) दाऊदको शासन पुनस्थापना हुनेछ भनेर यहोवाले कस्तो आश्वासन दिनुभयो?
४ त्यो सारगर्भित थियो। करीब पाँच शताब्दीअघि यहोवाले दाऊदलाई यसो भनेर प्रतिज्ञा गर्नुभएको थियो: “तेरो घराना स्थिर गरिनेछ, र तेरो राज्य मेरो दृष्टिमा सधैंभरि रहिरहनेछ, र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर हुनेछ।” (२ शमूएल ७:१६) दुःखको कुरो, दाऊदका शाही सन्तानहरू विद्रोही भए र राष्ट्रको रक्तदोष यति चर्को भयो कि सा०यु०पू० ६०७-मा यहोवाले दाऊदको राजत्वलाई सत्ताच्युत हुन दिनुभयो। मक्कबिजको छोटो अवधिमा बाहेक सा०यु० ७०-मा दोस्रो पटक नाश नहोउन्जेलसम्म यरूशलेम विदेशी अधीनमा बस्नु पऱ्यो। यसप्रकार सा०यु०पू० ५३७ देखि “अन्यजातिको समय” सुरु भयो जुन अवधिमा दाऊदको कुनै पनि सन्तानले राजा भएर राज्य गर्ने थिएनन्।—लूका २१:२४ न्यु व०
५ तर यसो भए तापनि, आफूले दाऊदलाई दिनु भएको वचनलाई यहोवाले भुल्नु भएन। दर्शनहरू र स्वप्नहरूको एउटा क्रमद्वारा उहाँले आफ्नो अगमवक्ता दानियललाई भविष्यमा हुने घटनाहरू प्रकट गर्नुभयो। दानियललाई प्रकट गरिएका यी घटनाहरूले बाबेलले विश्व आधिपत्य जमाएको समयदेखि दाऊदको वंशबाट आउने राजाले परमेश्वरको जनको राज्यमा राज गर्ने समय नआएसम्मको शताब्दीहरूलाई ढाक्ने थियो। अन्ततोगत्वा दाऊदको सिंहासन साँच्चै नै “सदा सर्वदाको लागि स्थिर हुनेछ” भन्ने वचनमाथि दानियल अध्याय २, ७, ८ र १०-१२ मा लिपिबद्ध गरिएका यी भविष्यवाणीहरूले विश्वासी यहूदीहरूलाई आश्वासन दियो। सा०यु०पू० ५३७-मा स्वदेश फर्कने यहूदीहरूलाई निश्चय नै यस्ता प्रकटित सत्यले आनन्दित बनायो।
६. दानियलका केही भविष्यवाणीहरू हाम्रा समयमा पूरा हुनु पर्ने थियो भनेर हामी कसरी भन्न सक्छौं?
६ दानियलका यी भविष्यवाणीहरू येशू ख्रीष्टको जन्म अगावै लगभग पूर्णतया पूर्ति भए भनेर बाइबलका अधिकांश टीकाकारहरू दाबी गर्छन्। तर वास्तवमा त्यो कुरा ठीक होइन। दानियल १२:४-मा दानियललाई एउटा स्वर्गदूतले यसो भन्छ: “यी वचनहरूलाई गुप्तमा राख, र अन्तको समयको लागि यो पुस्तकमा छाप लगाएर बन्द गरिराख। धेरै जना ज्ञान-शून्य हुनेछन् औ दण्ड साह्रै कड़ा हुनेछ।” यदि अन्तको समय आएपछि मात्र दानियलको पुस्तकलाई छापमुक्त गरेर त्यसका अर्थ प्रकट गरिने हो भने अवश्य त्यसका केही भविष्यवाणीहरू मात्र भएपनि त्यस अवधिमा लागू हुनै पर्छ।—दानियल २:२८; ८:१७; १०:१४ हेर्नुहोस्।
७. (क) अन्यजातिको समय कहिले अन्त भयो र त्यतिबेला कुन जरुरी प्रश्नहरूको उत्तर दिनु आवश्यक थियो? (ख) “विश्वासी र बुद्धिमान दास” को थिएनन्?
७ सन् १९१४-मा अन्यजातिको समय पूरा भयो र यस संसारको अन्तको समय सुरु भयो। दाऊदको राज्य पार्थिव यरूशलेममा होइन तर “आकाशका मेघहरू”-मा अदृश्य रूपमा पुनस्थापित भयो। (दानियल ७:१३, १४) यसै बेला नक्कली मसीहीहरूको “सामा” फस्टाइरहेको हुँदा साँचो मसीहीहरूको सही स्थिति मानिसहरूलाई स्पष्ट थिएन। यसो भए तापनि, एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर दिइनु परेको थियो: “विश्वासी र बुद्धिमान दास को हो?” (मत्ती १३:२४-३०; २४:४५) पार्थिव क्षेत्रमा पुनस्थापित दाऊदको राज्यको प्रतिनिधित्व कसले गर्ने? अवश्य दानियलका शारीरिक भाइ, यहूदीहरूले त गर्ने छैनन्। मसीहमाथि विश्वासको कमी र ठोकर खाएको हुँदा तिनीहरू तिरस्कृत भइसकेका थिए। (रोमी ९:३१-३३) मसीहीजगतका सङ्गठनहरूमा त कुनै रीतिले पनि ती विश्वासी दासहरू भेट्टिएनन्! येशूले तिनीहरूलाई चिन्नु हुन्न भन्ने कुरा तिनीहरूको कामबाटै प्रमाणित भयो। (मत्ती ७:२१-२३) त्यसो भए ती को थिए त?
८. अन्तको समयमा कसले आफूलाई “विश्वासी र बुद्धिमान दास” प्रमाणित गऱ्यो? हामी कसरी त्यसो भन्न सक्छौं?
८ निस्सन्देह, तिनीहरू येशूका अभिषिक्त भाइहरूको सानो समूह थिए। यो समूह १९१४ तिर बाइबल विद्यार्थीहरू भनेर चिनिन्थे तर १९३१ देखिन् यता यहोवाका साक्षीहरूको नाउँबाट तिनीहरू परिचित छन्। (यशैया ४३:१०) दाऊदको वंशबाट आएको पुनस्थापित राज्यबारे तिनीहरूले मात्र घोषणा गरेका छन्। (मत्ती २४:१४) संसारबाट अलग बस्ने र यहोवाको नाउँलाई उच्च बनाउने तिनीहरू बाहेक अरू कोही छैन। (यूहन्ना १७:६, १४) र तिनीहरूमाथि मात्र अन्तको समयमा परमेश्वरको जनहरूबारे गरिएको भविष्यवाणी पूरा भएको छ। यी भविष्यवाणीहरूमा दानियल १२ अध्यायमा सूचिबद्ध गरिएको भविष्यसूचक अवधिहरूको श्रङ्खला छ जसमा आनन्द ल्याउने १,३३५ दिन पनि समावेश छ।
१,२६० दिन
९, १०. दानियल ७:२५-को “एक समय दुई समय र आधा समय”-लाई कुन घटनाहरूले चिह्नित गऱ्यो र अरू कुन शास्त्रपदहरूमा त्यस्तै समानान्तर समयावधि उल्लिखित छ?
९ पहिलो भविष्यसूचक अवधिबारे हामी दानियल १२:७-मा यो लेखिएको पाउँछौं: “यो एक समय, दुई समय र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिहरूको शक्ति छिन्न-भिन्न हुनुदेखि थामिन्छ, तब यो सबै कुराको अन्त हुनेछ।”a यसै अवधिलाई प्रकाश ११:३-६ मा पनि उल्लेख गरिएको छ। त्यस पदअनुसार परमेश्वरको साक्षीहरूले भाङग्रा ओढेर साढे तीन वर्ष प्रचार गर्नेछन् र त्यसपछि मारिनेछन्। फेरि दानियल ७:२५-मा हामी यसो भनेको पाउँछौं: “त्यसले सर्वोच्चका पवित्र जनहरूलाई धुजा धुजा पार्नेछ। ठहराइएका समय र व्यवस्थाहरू त्यसले बद्लने विचार गर्नेछ। औ पवित्र जनहरूलाई त्यसको शक्तिमा एक समय, दुइ समय र आधा समय-को निम्ति सुम्पिदिनेछ।”
१० यस पछिल्लो भविष्यवाणीमा, “त्यसले” भन्नाले बाबेल पछिको पाचौं विश्व शक्ति बुझिन्छ। यो ‘एउटा सानो सिङ्ग’ हो। यसकै शक्तिको समयमा मानिस पुत्रले “सर्वाधिकार, महिमा र राज्याधिकार” पाउँछ। (दानियल ७:८, १४) यस लाक्षणिक सिङ्ग अर्थात् मूल रूपमा ब्रिटिश साम्राज्य, पहिलो विश्व युद्ध ताका एङ्गलो अमेरिकन द्वय विश्व शक्तिमा परिणत भयो, जसमा आज संयुक्त राज्य अमेरिकाको प्रभुत्व छ। साढे तीन समय वा वर्षसम्म यस शक्तिले पवित्र जनहरूलाई धुजा धुजा पार्नेछ र समय अनि व्यवस्थालाई बदल्ने कोशिश गर्नेछ। अन्तमा ती पवित्र जनहरू तिनीहरूको हातमा सुम्पिइनेछन्।—प्रकाश १३:५, ७ पनि हेर्नुहोस्।
११, १२. कुन घटनाहरूद्वारा १,२६० भविष्यसूचक दिनहरू सुरु भयो?
११ यी सबै समानान्तर भविष्यवाणीहरूको पूर्ति कसरी भयो? अन्यजातिको समय १९१४-मा अन्त हुनेछ भनेर येशूका अभिषिक्त भाइहरूले प्रथम विश्व युद्धभन्दा वषौं अघिदेखि खुलेआम चेतावनी दिए। यस चेतावनीलाई बेवास्ता गरिएको थियो भन्ने कुरा युद्ध छेडिंदा स्पष्ट देखियो। “समय र व्यवस्था” परिवर्तन गर्न अर्थात् परमेश्वरको राज्यले राज गर्ने समयलाई रोक्ने कोशिश गर्न शैतानले “[जङ्गली न्यु व०] जनावर” अर्थात् विश्व राजनीतिक सङ्गठनलाई चलायो जसमाथि त्यतिबेला ब्रिटिश साम्राज्यको प्रभुत्व थियो। (प्रकाश १३:१, २) तर शैतान असफल भयो। मानिसको पहुँचभन्दा धेरै टाढा स्वर्गमा परमेश्वरको राज्य स्थापित भयो।—प्रकाश १२:१-३.
१२ त्यस युद्ध बाइबल विद्यार्थीहरूका लागि एउटा जाँचको घडी थियो। सन् १९१४-को जनवरीदेखि तिनीहरूले बाइबल सम्बन्धी प्रस्तुति फोटो-ड्रामा अफ क्रिएसन देखाइरहेका थिए र यस प्रस्तुतिले दानियलका भविष्यवाणीहरूतिर ध्यानाकर्षण गऱ्यो। यसै वर्षको ग्रीष्म ऋतुमा उत्तरी गोलार्धमा युद्ध छेडियो। अक्टोबर महिनामा तोकिएको समय अन्त भयो। यसै वर्षको अन्ततिर शेष अभिषिक्तहरू सतावटको आशा गरिरहेका थिए जुन कुरा सन् १९१५-का लागि छानिएको वार्षिक पदबाट देखिन्छ। त्यो वार्षिक पद मत्ती २०:२२-मा येशूले आफ्ना चेलाहरूलाई सोध्नु भएको यो प्रश्न थियो, “जुन कचौरा मैले पिउनलागेको छु, तिमीहरू पिउनसक्छौ?”
१३. बाइबल विद्यार्थीहरूले कसरी ती १,२६० दिन भाङग्रा ओढेर प्रचार गरे र त्यस समयावधिको अन्तमा के भयो?
१३ यसर्थ, १९१४-को डिसेम्बर महिनादेखि साक्षीहरूको यस सानो झुन्डले ‘भाङग्रा ओढेर प्रचार गरे’ र यहोवाको न्यायको घोषणा गर्दै नम्रतापूर्वक धीरज धरे। सन् १९१६-मा वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीको पहिलो अध्यक्ष सि० टी० रसलको देहान्त हुँदा धेरै जना स्तब्ध भए। जसै युद्ध चर्किंदै गयो तिनीहरूले बढ्दो विरोधको सामना गर्नुपऱ्यो। केहीलाई कैद गरियो। बेलायतका फ्र्यान्क प्लाट र क्यानाडाका रोबर्ट क्लेग जस्ता केही व्यक्तिहरूलाई निरकुंश अधिकारीहरूले यातना दिए। अन्तमा, सन् १९१८-को जून २१ तारिखका दिन तत्कालीन नव अध्यक्ष जे० एफ० रदरफोर्ड र वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका संचालकहरू समेतलाई गलत अभियोगमा दीर्घकालीन कैदको फैसला सुनाइयो। यसप्रकार, त्यस भविष्यसूचक अवधिको अन्तमा “सानो सिङ्ग”-ले व्यवस्थित जन प्रचार कार्यलाई निर्जिव बनायो।—दानियल ७:८, किङ्ग जेम्स भर्सन।
१४. सन् १९१९ र त्यसपछि शेष अभिषिक्तहरूका लागि कस्ता परिवर्तनहरू भए?
१४ यसपछि के भयो भन्नेबारे प्रकाशको पुस्तकले भविष्यवाणी गर्छ। निष्क्रियताको एउटा छोटो अवधिपछि अर्थात् अगमवाणीअनुसार सडकमा मृत अवस्थामा बिताइएको साढे तीन दिनपछि शेष अभिषिक्त जन पुनर्जीवित एवम् सक्रिय भए। (प्रकाश ११:११-१३) सन् १९१९-को मार्च २६ तारिखका दिन वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका अध्यक्ष र संचालकहरूलाई रिहा गरियो र केही समय पश्चात् तिनीहरू विरुद्ध लगाइएको गलत अभियोगबाट पूर्ण रूपले दोषमुक्त पनि गरियो। रिहा हुने बित्तिकै शेष अभिषिक्तहरूले अझ बढी काम गर्न पुनःसङ्गठित हुन थाले। यसप्रकार प्रकाशमा दिइएको पहिलो विपत्तिको पूर्तिमा झुट्टा धर्मको अन्धकार भविष्यलाई चित्रण गर्ने कालो धुवाँका साथ निस्कने आत्मिक सलहझैं तिनीहरू निष्क्रियताको अगाध खाँदबाट निस्के। (प्रकाश ९:१-११) त्यसपछिका केही वर्षहरूमा तिनीहरू आफ्नो अगाडिको कामका लागि आध्यात्मिक रूपमा पोषित र तयार भए। भर्खरै सत्यमा आएकाहरू र केटाकेटीहरूलाई बाइबलका आधारभूत शिक्षाहरू सिक्ने मदत दिन सन् १९२१-मा द हार्प अफ गड भन्ने एउटा नयाँ पुस्तक तिनीहरूले प्रकाशित गरे। (प्रकाश १२:६, १४) यी सबै कुराहरू एउटा अर्को ऐतिहासिक समयावधिमा घट्यो।
१,२९० दिन
१५. एक हजार दुई सय नब्बे दिनको सुरुआतलाई हामी कसरी गणना गर्न सक्छौं? यो अवधि कहिले सकियो?
१५ स्वर्गदूतले दानियललाई यसो भन्यो: “नित्यको बलि रोकिएको समयदेखि र ‘उजाड़को घृणित वस्तु’ स्थापन गरिएको समयसम्म एक हजार दुई सय नब्बे दिनसम्मको अवधि हुनेछ।” (दानियल १२:११) मोशाको व्यवस्थाअनुसार यरूशलेमस्थित मन्दिरको वेदीमा “नित्यको बलि” जलाइन्थ्यो। मसीहीहरूले होम बलि चढाउँदैनन् तर आध्यात्मिक नित्य बलि भने चढाउँछन्। पावलले पनि यही कुरालाई उल्लेख गर्दै यसो भने: “तब उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५; होशे १४:२ तुलना गर्नुहोस्।) सन् १९१८-को जून महिनामा यस नित्य बलि खोसियो। त्यसोभए त्यो “घृणित वस्तु” अर्थात् हामीले हेर्नुपर्ने दोस्रो विशेषता के थियो त? त्यो थियो, प्रथम विश्व युद्धका विजयी शक्तिद्वारा प्रवर्तित राष्ट्रसंघ [लिग अफ नेसन्स]।b यो एउटा घृणित वस्तु थियो किनभने मसीहीजगतका नेताहरूले यसलाई परमेश्वरको राज्यको स्थानमा राखेर मानिसको अन्तिम आशाको रूपमा प्रस्तुत गरे। सन् १९१९-को जनवरीमा संघको प्रस्ताव राखिएको थियो। यस समयदेखि १,२९० दिन (तीन वर्ष सात महिना) गन्ती गऱ्यौं भने हामी १९२२-को सेप्टेम्बर महिनामा आइपुग्छौं।
१६. एक हजार दुई सय नब्बे दिनको अन्तमा शेष अभिषिक्तहरू अघि बढ्न तयार थिए भन्ने कुरा कसरी स्पष्ट देखियो?
१६ त्यसबेला के भयो त? महान बेबिलोनबाट मुक्ति र पुनःताजगी पाएका बाइबल विद्यार्थीहरू अघि बढ्न तम्तयार थिए। (प्रकाश १८:४) सन् १९२२ सेप्टेम्बर महिनामा अमेरिकाको सिडार प्वाइन्ट, ओहाइयोमा आयोजित सम्मेलनमा तिनीहरूले निर्भयतासाथ मसीहीजगतमाथि परमेश्वरले ल्याउनु हुने न्यायको घोषणा गरे। (प्रकाश ८:७-१२) अब भने सलहको टोकाइले साँच्चै नै दुख्न थाल्यो! यति मात्र नभएर, प्रकाशको दोस्रो विपत्ति पनि सुरु भयो। प्रारम्भमा शेष अभिषिक्त जन र पछि ठूलो भीडद्वारा वृद्धि भएको मसीही घोडचढीको एउटा ठूलो दल पृथ्वीमा बढ्दै गयो। (प्रकाश ७:९; ९:१३-१९) हो, १,२९० दिनको अन्तले परमेश्वरका जनहरूका निम्ति ठूलो हर्ष ल्यायो।c तर अझ थुप्रै कुरा हुन बाँकि नै थियो।
१,३३५ दिन
१७. एक हजार तीन सय पैंतिस दिनको सुरु र अन्त कहिले भयो?
१७ दानियल १२:१२-ले यसो भन्छ: “त्यो मानिस धन्यको हो जसले पर्खिरहन्छ र एक हजार तीन सय पैंतीस दिन पूरा भएको हेर्नलाई बाँच्छ।” यो १,३३५ दिन वा तीन वर्ष र साढे आठ महिना स्पष्टतः १,२९० दिनको अन्त पश्चात् सुरु भयो। सेप्टेम्बर १९२२ देखि गन्ती गर्दै ल्याउँदा हामी १९२६-को (उत्तरी गोलार्धमा) ग्रीष्म ऋतुको अन्ततिर आइपुग्छौं। यस १,३३५ दिनको दौडान के भयो त?
१८. सन् १९२२-मा अझ प्रगति गर्न बाँकि नै थियो भन्ने कुरा कुन तथ्यहरूले देखाउँछ?
१८ सन् १९२२-मा घटेका ऐतिहासिक घटनाहरूको बावजुद केही व्यक्तिहरू स्पष्टतः अझै पनि पुराना दिनहरूको लालसा गर्दथे। सि० टी० रसलद्वारा सम्पादित स्टडीज इन द स्क्रीप्चर्स अझै सम्म पनि प्राथमिक अध्ययन पुस्तक थियो। यसबाहेक मिलियन्स नाउ लिभिङ्ग विल नेभर डाइ भन्ने सर्वव्याप्त पुस्तकले पार्थिव प्रमोदवनको पुनस्थापना र प्राचीन समयका विश्वासी जनहरूको पुनरुत्थानबारे परमेश्वरका उद्देश्यहरूको पूर्ति १९२५ देखि सुरु हुनेछ भन्ने विचारधारा प्रस्तुत गऱ्यो। अभिषिक्त जनहरूले अब धेरै समय धैर्य धर्नु नपर्ने जस्तो देखियो। यद्यपि, बाइबल विद्यार्थीसँग सङ्गत गर्ने केही व्यक्तिहरूले अरूहरूलाई सुसमाचार सुनाउन आफू बाध्य नभएको महसुस गरे।
१९, २०. (क) यी १,३३५ दिनका दौडान परमेश्वरका जनहरूले कसरी थुप्रै परिवर्तनहरू देखे? (ख) कुन घटनाहरूले १,३३५ दिने समयावधिको अन्तलाई चिह्नित गऱ्यो र यहोवाका जनहरूको सम्बन्धमा त्यसले के सङ्केत गऱ्यो?
१९ जसै १,३३५ दिन बित्दै गए यी सबै कुराहरू पनि परिवर्तन हुँदै गए। भाइहरूलाई सुदृढ बनाउन द वाच टावर-को नियमित सामूहिक अध्ययनको व्यवस्था गरियो। क्षेत्र सेवकाईमा जोड दिइयो। सन् १९२३, मे महिनादेखि हरेक महिनाका पहिलो मङ्गलबारको दिन क्षेत्र सेवकाईमा भाग लिन सबैलाई निम्त्याइयो र यस काममा मानिसहरूले भाग लिउन् भनी प्रोत्साहन दिन हप्ताको बीचमा गरिने मण्डलीका सभाहरूमा समय छुट्ट्याइयो। सन् १९२३ अगस्त महिनामा संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्नियाको लस एन्जेल्स्मा भएको एउटा सम्मेलनमा, सहस्रवर्षे राज्य सुरु हुनु अगावै भेडा र बाख्राबारे येशूले दिनुभएको दृष्टान्त पूरा हुनेछ भन्ने कुरा देखाइयो। (मत्ती २५:३१-४०) सन् १९२४-मा डब्ल्यु०बि०बि०आर० रेडियो स्टेसनको उद्घाटन गरियो। रेडियोद्वारा सुसमाचार प्रसारण गर्न यस स्टेसनलाई प्रयोगमा ल्याइयो। मार्च १, १९२५-को द वाच टावर-को “बर्थ अफ नेसन” भन्ने लेखले प्रकाश १२-अध्यायको अर्थमाथि संशोधन गऱ्यो। अन्ततोगत्वा विश्वासी मसीहीहरूले १९१४-१९ का दुर्दान्त घटनाहरूलाई स्पष्टसँग बुझ्न सके।
२० सन् १९२५ पनि आफ्नो समापनमा आइपुग्यो तर अन्त भने आइपुगेन! सन् १८७० देखिन् नै बाइबलका विद्यार्थीहरूले आफ्नो मनमा एउटा समयलाई ध्यानमा राख्दै सेवा गरिरहेका थिए। त्यो समय थियो, पहिले १९१४ र त्यसपछि १९२५। तर अब भने यहोवाले चाहुन्जेल सेवा गरिरहनुपर्छ भन्ने कुरालाई तिनीहरूले बुझे। जनवरी १, १९२६-को द वाच टावर-मा “कसले यहोवाको आदर गर्नेछ?” भन्ने ऐतिहासिक लेख दिइएको थियो। परेमश्वरको नाउँको महत्त्वलाई यस लेखमा जस्तो जोड पहिले कहिल्यै दिइएको थिएन। र अन्ततः बेलाइतको लन्डनमा १९२६ मे महिनामा भएको सम्मेलनमा “संसारका शासकहरूका लागि साक्षी” भन्ने विज्ञप्ति पारित गरियो। परमेश्वरको राज्य र शैतानको संसारमाथि आउँदै गरेको विनाशको वास्तविकतालाई यसले स्पष्टतासाथ घोषणा गऱ्यो। त्यसै सम्मेलनमा डेलिभरेन्स भन्ने सशक्त पुस्तक विमोचन गरियो। सो पुस्तक स्टडीज इन द स्क्रिप्चर्स-लाई प्रतिस्थापन गर्ने श्रृङ्खलाको पहिलो पुस्तक थियो। अब भने परमेश्वरका जनहरूले आफ्नो दृष्टि पछाडि होइन बरु अगाडि लगाइरहेका थिए। यसप्रकार १,३३५ दिन टुङ्गियो।
२१. त्यतिबेला परमेश्वरका जनहरूका लागि ती १,३३५ दिनको अवधिमा धीरज धर्नुको अर्थ के थियो र यस समयावधिबारे गरिएको भविष्यवाणीको पूर्तिको अर्थ हाम्रो लागि के हो?
२१ केही व्यक्तिहरू यस्ता प्रगतिहरू सँगसँगै बद्लिन इच्छुक भएनन् तर धीरजी भएर बस्ने जति साँच्चै नै आनन्दित भए। जसै हामी यी भविष्यसूचक समयावधिहरूको पूर्तिमाथि विचार गर्छौं हामी पनि आनन्दित हुन्छौं। किनभने यी समयावधिका विश्वासी मसीहीहरू वास्तवमा विश्वासी अनि बुद्धिमान दासहरू हुन् भनेर जान्न पाएकोमा हाम्रो भरोसा सुदृढ भएको छ। ती वर्षहरूदेखि यता यहोवाको सङ्गठन एकदम व्यापक रूपमा वृद्धि भइसकेको छ। तर ती विश्वासी र बुद्धिमान दास भने अझै पनि त्यस सङ्गठनको केन्द्रमै छ र त्यसलाई निर्देशन दिइरहेको छ। अभिषिक्त जन र अन्य भेडाहरूका लागि अझ प्रशस्तै आनन्दहरू बाँकि छन् भनेर थाहा पाउनु कस्तो रोमाञ्चकारी कुरा हो! दानियलको अर्को भविष्यवाणीलाई विचार गर्दै जाँदा यो कुरा देखिनेछ। (w93 11/1)
[फुटनोटहरू]
a यी भविष्यसूचक अवधिहरूको गणना कसरी गर्ने भन्ने सम्बन्धमा वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा प्रकाशित पुस्तक, आवर इनकमिङ्ग वर्ल्ड गभरन्मेन्ट—गड्स किङ्गडम-को अध्याय ८ हेर्नुहोस्।
b अक्टोबर १, १९८५-को द वाचटावर, पृष्ठ ८-१८ हेर्नुहोस्।
c अप्रिल १, १९९१-को प्रहरीधरहरा, पृष्ठ २१, २२ र १९७५ सालको यरबुक अफ जेहोवाज विट्नेसस, पृष्ठ १३२ हेर्नुहोस्।
के तपाईं बताउन सक्नुहुन्छ?
▫ दानियलका केही भविष्यवाणीहरू हाम्रा समयमा पूरा हुनु पर्ने थियो भनेर हामी कसरी भन्न सक्छौं?
▫ शेष अभिषिक्त जन नै “विश्वासी र बुद्धिमान दास” हो भनेर हामी किन विश्वस्त हुनसक्छौं?
▫ एक हजार दुई सय साठी दिनको सुरु र अन्त कहिले भयो?
▫ एक हजार दुई सय नब्बे दिनले शेष अभिषिक्त जनहरूलाई कस्तो पुनःताजगी र पुनस्थापना ल्यायो?
▫ एक हजार तीन सय पैंतिस दिनको अन्त सम्मै धीरजी हुनेहरू किन धन्यका हुन्?
[पृष्ठ ७-मा भएको चित्र]
अभिषिक्त जनहरू नै “विश्वासी र बुद्धिमान दास” हुन् भन्ने कुरा १९१९ देखि स्पष्ट भएको छ
[पृष्ठ ९-मा भएको चित्र]
स्वीट्जरलैण्ड जेनेभास्थित राष्ट्रसंघको मुख्य कार्यालय
[पृष्ठ १०-मा भएको पेटी]
दानियलको भविष्यसूचक समयावधि
१,२६० दिन:
डिसेम्बर १९१४ देखि जून १९१८ सम्म
१,२९० दिन:
जनवरी १९१९ देखि सेप्टेम्बर १९२२ सम्म
१,३३५ दिन:
सेप्टेम्बर १९२२ देखि मे १९२६ सम्म