विश्व एकता—कसरी हुनेछ?
लापरवाह बहालवालाहरूले तहसनहस पारेको जीर्णभवनलाई जस्तै वर्तमान सांसारिक रीतिरिवाजलाई पनि भत्काएर नयाँ बनाउनु सिवाय अरू कुनै उपाय छैन। यो विनाशको कुनै नयाँ परिकल्पना होइन। बाइबलअनुसार यो एकमात्र वास्तविक दृष्टिकोण पनि हो। किन?
वर्तमान सांसारिक व्यवस्थाको आधार नै कच्चा छ। सम्पूर्ण संरचना नै धमिराले खाएर खोक्रो पारेको काठझैं भएको छ, कुहिएको छ। स्टीलका पाताहरू खिइँदैछन्। मानौं, अब हावाको कुनै झोंकालाई पर्खेझैं पर्खालहरू पनि गर्ल्यामगुर्लुम ढल्न मात्र बाँकी छन्। छाना पनि लचक्क लचकिएको छ। धाराका पाइपहरू पनि ठाउँठाउँमा चुहिन थालेका छन्। बिजुली बत्तीले पनि राम्ररी काम गर्न छोडिसक्यो, अतः करेन्ट लाग्ने खतरा पनि उत्तिकै छ। घरमा बस्नेहरूबीच द्वेष भाव भएकोले तिनीहरू आपसमा लडेका लडेकै छन्। फलतः पूरै भवन बस्न लायकको नभइसक्यो। भवनभरि अनि वरपरसमेत प्राणघातक कीराहरू रगरग हिंडिरहेका छन्।
“आफ्नो चिता आफै तयार पार्दैछन्”
लोभ, आक्रमण, बलियोसित जरो गाडेको वर्गीय तथा जातीय द्वेष र अटुट राजनैतिक दंगा आदिले गर्दा ग्विन डायर भन्छन्, “सम्पूर्ण मानवजाति आफ्नो चिता आफै तयार पार्दैछन्।” संसारमा जहाँसुकै होऊन्, निम्न ठानिएका व्यक्तिहरू अर्थात् दलित जातिहरू, स्वतन्त्रताका लडाकूहरू, अपराधीहरू, अन्तरराष्ट्रिय आतंकवादीहरू र त्यस्तै अरूहरू आफ्ना स्वार्थी योजनाहरू पूरा गर्न मात्र खोज्छन्। र यसरी विश्वभरि शान्ति ल्याउने मानिसको चाहनालाई मारिदिएका छन् जस्तै देखिएको छ। तोडफोड गर्ने बहालवालाले जस्तै तिनीहरूले सबैको जीवन अस्तव्यस्त पार्नसक्छन्।
तथापि, धेरैजसो टिप्पणीकारहरूअनुसार विद्रोही समूह अथवा नियममा नबस्नेहरूले मात्र विश्व एकता कायम हुन नदिएका होइनन्। विश्व एकताको सबैभन्दा ठूलो तगारो त राष्ट्र आफै हो। युद्धबारे लेख लेख्ने लेखक एस. बि. पाइनी, जुनियर स्वतन्त्र राष्ट्रहरू “अन्तरराष्ट्रिय अराजकता”-को रूपमा छन् भनी बताउँछन्। राष्ट्रको हितका लागि अरूलाई हानि नै किन नहोस्, तिनीहरू जे गर्न पनि तयार हुन्छन्। परिणामस्वरूप, पूरै इतिहास “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” भएको छ।—उपदेशक ८:९.
हो, कुनै कुनै सरकारहरूले आफ्नो सीमाभित्र र कहिलेकाहीं अन्तरराष्ट्रिय तवरमा पनि केही हदसम्म अन्याय र शोषण दबाउन सकेका छन्। समय समयमा तिनीहरूले केही हदसम्म अन्तरराष्ट्रिय एकता कायम गरेका छन्। तथापि, दुइ, चार राष्ट्रहरू एक साथ मिलेर विद्रोही राष्ट्र विरुद्ध जाइलाग्दा ती राष्ट्रहरूले अरूको हकहितको लागि नभई कतै आफ्नै स्वार्थपूर्तिको लागि त त्यसो गरेका होइनन् भन्ने शंका अक्सर उत्पन्न हुन्छ। वास्तविकता के हो भने, विश्वलाई एकताको सूत्रमा बाँध्ने चिरकालीन समाधान निकाल्नु मानव सरकारको समझ बाहिरको कुरा भइसकेको छ। ग्विन डायर औल्याउँछन्: “निहुँखोजा राष्ट्रको आक्रमण रोक्न वा त्यसलाई दण्ड दिन सबै राष्ट्रहरू एक जूट हुनु सैद्धान्तिक रूपमा ठीकै छ। तर आक्रमण गर्ने राष्ट्र यही हो भनेर कुन राष्ट्रले निधो गर्ने र उक्त निहुँखोजा राष्ट्रको आक्रमणलाई नियन्त्रण गर्न लाग्ने खर्च कसले बेहोर्ने तथा कसले आफ्नो ज्यानको बाजी लगाउने?”
निस्सन्देह, आफ्नो जनताले कुनै आपत्ति जनाउँदैन भने मात्र एक राष्ट्रले अर्को राष्ट्रमाथि आक्रमण गर्नसक्छ। तथापि, “निहुँखोजा राष्ट्र”-का नागरिकहरूले मात्र नभई अधिकांश पृथ्वीवासीहरूले समेत आफ्ना नेताहरूका सही, गलत सबै निर्णयहरूलाई समर्थन गरेका छन् भनी इतिहासले बारम्बार देखाएको छ। टाइम पत्रिकाअनुसार तिनीहरू राजनैतिक नेताहरूदेखि लिएर धार्मिक नेताहरू सबैका “झूट, सत्ता हत्याउने झूटो आश्वासन र अफवाहपछि” अन्धाधुन्ध लागेका छन्।
अन्यथा व्यवहारिक र दयालु मानिएका व्यक्तिहरूलाई समेत देशभक्तिको भावले अर्को राष्ट्रको पुरुष, स्त्री तथा केटाकेटीहरू विरुद्ध घोर अपराध गर्न उस्काएको छ। उदाहरणका लागि, पहिलो विश्वयुद्धलाई औंल्याउँदै इतिहासकार, जे. एम. रोबट्र्स यस्तो टिप्पणी गर्छन्: “१९१४ का विरोधाभास कुराहरूमध्ये एउटा के पनि थियो भने, त्यतिबेला प्रत्येक राष्ट्रका हरेक दल, धर्म तथा जातका थुप्रै मानिसहरू रमाउँदै रणभूमिमा उत्रे, जुन अचम्मलाग्दो थियो।” तर के मानिसहरूले केही पाठ सिके त? अहँ, सिकेनन्! पत्रकार, ऱ्याड अशरअनुसार “अन्धो देशभक्तिले” अझै पनि विश्व एकता हुनसक्ने झिनो आशालाई झन् कमजोर बनाएको छ।
बाह्य शक्तिहरू पनि सक्रिय छन्
तथापि, विश्व एकताको अर्को ठूलो तगारो पनि छ। बाइबलले बाह्य शक्तिहरू पनि सक्रिय छन् भनेर प्रस्ट पारेको छ। यिनीहरू शैतान अर्थात् दियाबल र त्यसका चम्चा अर्थात् प्रेतहरू भनेर चिनाइएका छन्। बाइबलअनुसार शैतान “यस संसारको देव” हो जसले “ख्रीष्ट . . . को महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर . . . अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।”—२ कोरिन्थी ४:४. प्रकाश १२:९.
यद्यपि, यसो भन्दैमा आफ्नो कामको लागि व्यक्तिविशेष जवाफदेही छैन भन्न पटक्कै मिल्दैन। तर मानव सरकारहरूले साँच्चै एकताबद्ध विश्व किन कहिल्यै स्थापित गर्नसक्दैनन्, यसले बताउँछ। शैतान अर्थात् दियाबल रहुञ्जेल त्यसले पुरुष तथा स्त्रीहरूलाई बाइबलले भनेजस्तै ‘दुश्मनी, झैंझगड़ा र फूटजस्ता’ “शरीरका कामहरू” खेती गर्ने प्रभावमा पारिरहेकै हुनेछ।—गलाती ५:१९-२१.
विश्व सरकार
त्यसो भए, समस्याको समाधान के हो? झन्डै सात सय वर्षअघि चिरपरिचित इटालेली कवि तथा दार्शनिक दाँतेले यसको जवाफ औंल्याए। विश्व सरकारले मात्र मानिसजातिबीच शान्ति र एकता कायम गर्नसक्छ भनेर तिनले तर्क गरे। धेरैका लागि त विश्व सरकार भरोसा राख्न मिल्ने आधार नभई एउटा भ्रान्ति मात्र साबित भएको छ। अगाडि उल्लेख गरिएका लेखक, पाइने यस्तो निष्कर्षमा पुग्छन्, “इतिहासको यस मोडमा विश्व सरकार स्थापित हुनसक्नु असम्भव छ।” किन? किनभने कुनै पनि विश्व सरकार सफल हुन त्यसले मानव क्षमताले नभ्याउने दुइ थोकको ग्यारेन्टी दिनुपर्छ। ती हुन्, “युद्ध अन्त गर्ने र विश्वभरि तानाशाही शासन नगर्ने।”
कुनै पनि मानव सरकारले यो मापदण्डलाई पूरा गर्न सक्दैन भन्नुमा दुइ मत छैन। तथापि, येशू ख्रीष्टलाई सुम्पिएको परमेश्वरको राज्यले युद्ध हटाउनसक्छ र हटाउनेछ। (भजन ४६:९, १०; मत्ती ६:१०) वास्तवमा यसले युद्ध पिपासुहरूलाई हटाउनेछ। परमेश्वरले मानिसजातिलाई शासन गर्न दिनुभएको तोकिएको समय अन्त हुने बेलामा मानव शासन “फलाम र गिलो माटो मिसिएको” जस्तै “विभक्त” हुनेछ भनेर दानियलले भविष्यवाणी गरे। (दानियल २:४१-४३) परिणामस्वरूप, राजनीति अस्तव्यस्त हुनेथियो र पछि हुने युद्धलाई कुनै पनि हालतमा रोक्न सकिने थिएन। यद्यपि, परमेश्वरको राज्यले “सबै [राष्ट्रवादी तथा विभाजित] राज्यहरूलाई,” अथवा सरकारहरूलाई “चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ,” अनि येशू ख्रीष्टलाई सुम्पिएको चिरप्रतिक्षित परमेश्वरको राज्यले त्यसको ठाउँ लिनेछ भनी दानियल भन्छन्।—दानियल २:४४.
अरूको जीवन नीरस पार्ने भक्षकहरू यस पृथ्वीमा रहिरहेसम्म यहाँको वातावरण सुधारेर केही फाइदा हुँदैन। तथापि, “कुकर्मीहरू नष्ट हुनेछन्।” (भजन ३७:१, २, ९, ३८; हितोपदेश २:२२) अतः जानाजानी परमेश्वरका स्तरहरू उल्लंघन गर्ने वा विनाशकारी सांसारिक अख्तियारवालाहरूलाई समर्थन गर्नेहरू जत्ति सबैलाई ख्रीष्टले हटाउनुहुनेछ। पृथ्वी बिगार्ने जत्ति सबैलाई उहाँले नाश गर्नुहुनेछ। परमेश्वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८.
यो सरकारले विश्वव्यापी तानाशाही शासन गर्नेछैन। असल र खराब छुट्याउँदा येशू ख्रीष्टले “सत्यता, नम्रता र धार्मिकताको निम्ति” काम गर्नुहुनेछ। (भजन ४५:३, ४; मत्ती २५:३१-३३) तर यो नता नकारात्मक र विनाशकारी हुनेछ न शक्तिको दुरुपयोग नै हुनेछ। केही स्वार्थी भवन निर्माताहरूले सुन्दर ऐतिहासिक भवनलाई भत्काएजस्तै पनि कदापि हुनेछैन। बरु, एउटा फोहर बस्तीलाई हटाएर रमणीय, स्वच्छ वातावरण तयार पारेजस्तै हुनेछ।
तर बिगतमा विभाजन ल्याउने बाह्य शक्तिहरूबारे चाहिं के भन्न सकिन्छ? नयाँ व्यवस्थाका बासिन्दाहरूलाई फेरि छिमेकीहरूसित झगडा गर्ने र सबैको जीवन गञ्जागोल हुने जस्ता विनाशकारी कुराहरूको चपेटामा पार्ने के ती बाह्य शक्तिहरूलाई चालै नपाउनेगरि त्यस नयाँ व्यवस्थामा पस्न दिइनेछ? कदापि दिइनेछैन। तिनीहरू सदाका लागि निकालिनेछन् र यो सुधारमा कुनै खोट रहनेछैन। “शत्रुहरूमाथि दोस्रो पल्ट साटो फेर्नु पर्नेछैन।”—नहूम १:९.
शैतानले अन्ततः भोग्ने विनाशलाई बाइबलले फोहरमैला जलाउनुसित तुलना गरेको छ। बाइबल भन्छ, पृथ्वीबासीहरूलाई “ठग्ने त्यो शैतान, आगो र गन्धकको कुण्डमा फालियो।” (प्रकाश २०:१०) कस्तो सशक्त चित्रण! कल्पना गर्नुहोस्, यो विनाशको तुलना आगोको सानो झिल्कोले ल्याउने सीमित विनाशसित नभई प्रत्येक दुष्ट तथा दूषित कुरालाई नामेट गर्ने आगोको कुण्डको विनाशसित गरिएको छ। नता मानिस न प्रेत, कसैले पनि सही र गलत छुट्याउने परमेश्वरका स्तरहरू उल्लंघन गर्ने अथवा सँगी मानवलाई हानि हुने गरी ब्रह्माण्डीय व्यवस्थामा खलल पुऱ्याउन सक्नेछैन। विभाजन ल्याउने कुनै पनि तत्त्व हुनेछैन!—भजन २१:९-११; सपन्याह १:१८; ३:८.
हरेक राष्ट्रबाट आएका एकताबद्ध मानिसहरू
यस बृहत् सफाई कार्यबाट बाँच्नेहरू मिलेर “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” बन्नेछ। (प्रकाश ७:९) राष्ट्रिय तथा जातीय भिन्नताले तिनीहरूलाई फुटाउनेछैन। तिनीहरूले मेलमिलापमा शान्तपूर्वक बस्न सिकिरहेका हुनेछन्। (यशैया २:२-४) यसभन्दा पनि अचम्मको कुरा त के हुनेछ भने, पुनरुत्थानजस्तो उदेकलाग्दो प्रबन्ध मार्फत सफा पृथ्वीमा बस्नको लागि यसै ग्रहका पुराना बहालवालाहरू फेरि जीवित पारिनेछन्।—यूहन्ना ५:२८, २९.
के तपाईं त्यस्तो संसारमा बस्न चाहनुहुन्छ? परमेश्वरका आवश्यकताहरू पूरा गर्नसक्नेहरू मात्र त्यहाँ बस्न पाउनेछन्। र उहाँले चाहनुहुने कुरा बाइबलमा प्रस्टैसित लेखिएको छ। (यूहन्ना १७:३; प्रेरित २:३८-४२) साँच्चै एकताबद्ध भएको संसारमा सधैंभरि जीवनको आनन्द उठाउने आशा प्राप्त गर्न परमेश्वरले तपाईंबाट चाहनुहुने कुरा के हो, त्यो सिक्नुपर्छ। यहोवाका साक्षीहरू तपाईंलाई ती कुराहरू सिक्न मदत दिन खुशी हुनेछन्।
[पृष्ठ ७-मा भएको चित्र]
येशू ख्रीष्टलाई सुम्पिएको सरकारले एकताबद्ध विश्वको ग्यारेन्टी दिनेछ