प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दियाबलका पासोहरूदेखि होसियार!
    प्रहरीधरहरा—२०१२ | अगस्त १५
    • दियाबलका पासोहरूदेखि होसियार!

      ‘दियाबलको पासोबाट उम्केर आऊ।’ —२ तिमो. २:२६.

      तपाईं कसरी जवाफ दिनुहुन्छ?

      तपाईंमा अरूको बढ्‌तै आलोचना गर्ने झुकाव छ भने आफूलाई कसरी केलाउनुपर्छ?

      डर र दबाबको पासोमा नपर्न पिलातस र पत्रुसको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?

      अचाक्ली दोषी महसुस गर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?

      १, २. दियाबलका कुन-कुन पासोबारे यस लेखमा छलफल गर्नेछौं?

      दियाबलले यहोवाका सेवकहरूलाई आफ्नो पासोमा फसाउन खोज्छ। शिकारीले अक्सर आफूले समातेको जनावरलाई मार्छ तर दियाबलले भने शिकारलाई जिउँदै पक्रेर आफ्नो कठपुतली बनाउन चाहन्छ।—२ तिमोथी २:२४-२६ पढ्‌नुहोस्‌।

      २ जनावरलाई जिउँदै पक्रन शिकारीले विभिन्‍न किसिमको पासो थाप्छ। उसले कहिलेकाहीं सुर्केनी थाप्छ। अनि अरू बेला भने जनावरले पत्तै नपाउने खालको पासो थाप्छ। दियाबलले पनि परमेश्‍वरका सेवकहरूलाई फसाउन यस्तै प्रकारका पासोहरू थाप्छ। सैतानको पासोमा नफस्ने हो भने त्यसले कहाँ-कहाँ पासो बिछ्याएको छ भनेर चेतावनी दिइँदा हामी होसियार हुनुपर्छ र त्यसबाट जोगिन कदम चाल्नुपर्छ। मानिसलाई फसाउन दियाबलले प्रयोग गर्ने तीनवटा पासोदेखि हामी कसरी जोगिन सक्छौं भनेर यस लेखमा छलफल गर्नेछौं। ती पासो हुन्‌: (१) बेलगाम बोली, (२) डर र दबाब अनि (३) अचाक्ली दोषी महसुस गर्नु। यसपछिको लेखमा सैतानले बिछ्याउने अर्को दुईवटा पासोबारे छलफल गर्नेछौं।

      बेलगाम बोलीको आगो निभाउनुहोस्‌

      ३, ४. जिब्रोलाई काबूमा राख्न नसक्दा परिणाम कस्तो हुन सक्छ? एउटा उदाहरण बताउनुहोस्‌।

      ३ जङ्‌गलमा जनावरहरू सुरक्षित हुन्छन्‌। शिकारीले जङ्‌गलको कुनै भागमा आगो लगाइदिंदा जनावरहरू तर्सिएर भाग्न खोज्छन्‌। प्रतीकात्मक अर्थमा दियाबलले ख्रीष्टियन मण्डलीमा आगो लगाउन खोज्छ। यसो गर्न त्यो सफल भएमा मण्डलीका सदस्यहरू तर्सिएर मण्डलीको सुरक्षा घेरा तोडेर बाहिर निस्कन्छन्‌ र सीधै त्यसको फन्दामा पर्छन्‌। हामी कसरी चालै नपाई त्यसलाई साथ दिन अनि त्यसको पासोमा फस्न सक्छौं?

      ४ चेला याकूबले जिब्रोलाई आगोसित तुलना गरे। (याकूब ३:६-८ पढ्‌नुहोस्‌) जिब्रोलाई काबूमा राख्न सकेनौं भने प्रतीकात्मक अर्थमा मण्डलीमा डढेलो लाग्न सक्छ। कसरी यस्तो हुन सक्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: एक जना बहिनी नियमित अग्रगामीको रूपमा नियुक्‍त भएको कुरा सभामा घोषणा गरिन्छ। सभापछि दुई जना प्रकाशक उक्‍त घोषणाबारे कुरा गर्न थाल्छन्‌। एक जनाले त्यस बहिनी नियमित अग्रगामी नियुक्‍त भएकोमा खुसी व्यक्‍त गर्छिन्‌। तर अर्की बहिनीले भने त्यस अग्रगामीको मनसायमा शङ्‌का गर्छिन्‌ र तिनले केवल मण्डलीमा चुरीफुरी देखाउन खोजेकी मात्र हुन्‌ भन्‍ने अर्थ लगाउँछिन्‌। यी दुई जनामध्ये तपाईं कसलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ? यी दुईमध्ये कसको बोलीले मण्डलीमा डढेलो लगाउन सक्छ, जवाफ स्पष्ट छ।

      ५. बेलगाम बोलीको आगोलाई निभाउन आफूलाई कसरी केलाउनुपर्छ?

      ५ बेलगाम बोलीको आगो हामी कसरी निभाउन सक्छौं? येशूले भन्‍नुभयो: “मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ती १२:३४) त्यसैले पहिलो कदम हो, आफ्नो मनमा के छ, त्यो केलाउनु। अरूलाई चोट पुग्ने बोली बोल्नदेखि हामीले आफूलाई रोक्नुपर्छ। यस्तो भावना मनमा आउनेबित्तिकै त्यसलाई हटाइहाल्नुपर्छ। उदाहरणको लागि, कुनै भाइ मण्डलीमा थप जिम्मेवारी पाउन अघि बढिरहेका छन्‌ भनी सुन्दा के तिनी यहोवालाई खुसी पार्न त्यसो गर्दैछन्‌ भनेर सोच्छौं? वा तिनी स्वार्थी चाहनाले गर्दा त्यसरी अघि बढ्‌न खोजेका हुन्‌ भनेर पो सोच्छौं कि? यदि हामीमा अरूप्रति शङ्‌का गर्ने झुकाव छ भने परमेश्‍वरको वफादार सेवक अय्यूबको मनसायमाथि दियाबलले शङ्‌का गरेको कुरा सम्झनु बेस हो। (अय्यू. १:९-११) भाइबहिनीप्रति शङ्‌का गर्नुको सट्टा आफ्नो मनसायलाई विचार गर्नुपर्छ। के त्यस्तो सोचाइ राख्नुको जायज कारण छ? वा यस अन्तको दिनमा व्याप्त अनुचित मनोभावले पो हामीलाई असर गरेको हो कि?—२ तिमो. ३:१-४.

      ६, ७. (क) अरूको आलोचना गर्नुपछाडि के-कस्ता कारण हुन सक्छन्‌? (ख) अरूले गाली गर्दा हामीले के गर्नुपर्छ?

      ६ हामीले अरूको आलोचना गर्नुपछाडि अरू कारण पनि हुन सक्छन्‌। एउटा कारण, हामी आफ्नो उपलब्धिबारे अरूले थाह पाएको चाहन्छौं होला। यसले गर्दा अरूलाई तुच्छ ठानेर आफूलाई उचाल्ने प्रयास गरिरहेका हुन सक्छौं। अथवा गर्नुपर्ने काम नगरेकोमा बहाना बनाउन खोजिरहेका हुन सक्छौं। चाहे घमन्ड, ईर्ष्या वा आत्मविश्‍वासको कमीले गर्दा होस्‌, अरूको आलोचना गर्दा परिणाम हानिकारक हुन्छ।

      ७ कहिलेकाहीं हामीलाई अरूको आलोचना गर्नुपछाडि जायज कारण छ जस्तो लाग्न सक्छ। सायद हामी उसको बेलगाम बोलीको शिकार भएका छौं। तर त्यसो भएकै छ भने पनि जस्तालाई तस्तै गर्नु उचित होइन। यसो गर्दा आगोमा घिउ थपिन्छ अनि परमेश्‍वरको होइन, दियाबलको इच्छा पूरा हुन्छ। (२ तिमो. २:२६) यससम्बन्धमा हामीले येशूको उदाहरण अनुकरण गर्नुपर्छ। उहाँलाई गाली गर्दा “उहाँले गाली फर्काउनुभएन।” बरु “उचित ढङ्‌गमा न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२१-२३) यहोवाले आफ्नै तरिकामा र आफ्नै समयमा मामिला सँभाल्नुहुनेछ भन्‍ने कुरामा येशू विश्‍वस्त हुनुहुन्थ्यो। हामीले पनि परमेश्‍वरमाथि यस्तै भरोसा राख्नुपर्छ। अरूको उत्थान हुने बोली बोल्दा हामीले मण्डलीमा ‘शान्ति र एकता’ कायम राख्न मदत पुऱ्‍याइरहेका हुन्छौं।—एफिसी ४:१-३ पढ्‌नुहोस्‌।

      डर र दबाबको पासोमा नपर्नुहोस्‌

      ८, ९. पिलातसले येशूलाई किन मृत्युदण्डको लागि सुम्पे?

      ८ पासोमा परेको जनावर आफूले चाहे जसरी चलहल गर्न सक्दैन। त्यसैगरि, डर र दबाबको पासोमा पर्ने व्यक्‍तिले पनि केही हदसम्म आफ्नो स्वतन्त्रता गुमाउँछ। (हितोपदेश २९:२५ पढ्‌नुहोस्‌) आउनुहोस्‌, डर र दबाबको पासोमा परेका दुई व्यक्‍तिको उदाहरण अनि तिनीहरूबाट सिक्न सक्ने पाठ विचार गरौं।

      ९ रोमी राज्यपाल पन्तियस पिलातसलाई येशू निर्दोष हुनुहुन्छ भनी थाह थियो, त्यसैले तिनले उहाँलाई कुनै हानि गर्न चाहेनन्‌। येशूले “मृत्युदण्ड पाउने योग्य केही काम . . . गरेको छैन” भनेर पिलातसले भने। तैपनि पिलातसले येशूलाई मृत्युदण्डको लागि सुम्पे। किन? किनकि तिनी भीडको दबाबमा परे। (लूका २३:१५, २१-२५) “यदि तपाईंले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईं सम्राट्‌को मित्र होइन” भन्दै कराएर त्यस भीडले आफ्नो इच्छा पूरा गर्न खोज्यो। (यूह. १९:१२) ख्रीष्टको पक्ष लिएमा आफ्नो ओहदा गुम्ला वा जीवन गुमाउनु पर्ला भनेर पिलातस डराएका हुन सक्छन्‌। त्यसैले तिनले दबाबको प्रतिरोध गर्न सकेनन्‌ र दियाबलको इच्छा पूरा गरे।

      १०. पत्रुसले किन ख्रीष्टलाई इन्कार गरे?

      १० येशूका घनिष्ठ मित्रमध्ये प्रेषित पत्रुस एक थिए। येशू नै मसीह हुनुहुन्छ भनेर तिनले मानिसहरूसामु घोषणा गरेका थिए। (मत्ती १६:१६) अरू चेलाले येशूले भन्‍नुभएको कुराको अर्थ नबुझेर उहाँलाई छोडेर जाँदा पत्रुस भने उहाँप्रति वफादार रहेका थिए। (यूह. ६:६६-६९) अनि शत्रुहरू येशूलाई गिरफ्तार गर्न आउँदा पत्रुसले आफ्नो मालिकलाई बचाउन तरबार प्रहार गरेका थिए। (यूह. १८:१०, ११) तर पछि पत्रुस मानिसहरूसित डराए अनि येशू ख्रीष्टलाई चिनेकै छैन भन्‍न पुगे। यी प्रेषित केही समयको लागि मानिसको डरको पासोमा परे अनि तिनले सही कदम चाल्ने साहस गर्न सकेनन्‌।—मत्ती २६:७४, ७५.

      ११. हामीले कस्तो दबाबको प्रतिरोध गर्नुपर्ने हुन सक्छ?

      ११ परमेश्‍वरलाई अप्रसन्‍न पार्ने काम गर्न मानिसहरूले हामीलाई दबाब दिन सक्छन्‌। तर हामी ख्रीष्टियनहरूले त्यसको प्रतिरोध गर्नुपर्छ। काम गर्ने ठाउँको मालिक वा अरूले हामीलाई बेइमान हुन वा अवैध यौनसम्बन्ध राख्न दबाब दिन सक्छन्‌। विद्यार्थीहरूलाई चाहिं साथीहरूले जाँचमा चिट चोर्ने, अश्‍लील सामाग्री हेर्ने, चुरोट खाने, लागूपदार्थ सेवन गर्ने, रक्सीको दुरुपयोग गर्ने वा अवैध यौनसम्बन्ध राख्ने दबाब दिन सक्छन्‌। त्यसोभए मानिसको डर र दबाबमा परेर यहोवालाई अप्रसन्‍न पार्ने काम नगर्न हामीलाई केले मदत गर्न सक्छ?

      १२. पिलातस र पत्रुसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

      १२ पिलातस र पत्रुसको उदाहरणबाट के सिक्न सक्छौं, विचार गरौं। पिलातसलाई ख्रीष्टबारे त्यति धेरै थाह थिएन। तैपनि तिनलाई येशू निर्दोष हुनुहुन्छ र उहाँ साधारण मान्छे हुनुहुन्‍न भनी थाह थियो। तर पिलातससित नम्रता र साँचो परमेश्‍वरप्रतिको प्रेम थिएन। दियाबलले सजिलै तिनलाई पासोमा पारेर आफ्नो कठपुतली बनायो। पत्रुससित भने सही ज्ञानका साथै परमेश्‍वरप्रतिको प्रेम पनि थियो। तैपनि तिनी कहिलेकाहीं नम्रता देखाउन चुके, डर र दबाबको पासोमा परे। येशू गिरफ्तार हुनुअघि पत्रुसले यसरी फूर्ति लगाएका थिए: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैन।” (मर्कू. १४:२९) पत्रुसले पनि भजनरचयिताले जस्तै परमेश्‍वरमा भरोसा राखेका भए तिनी परीक्षाको लागि तयार हुन सक्थे। ती भजनरचयिताले यस्तो गाए: “परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (भज. ११८:६) पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येशूले पत्रुस र अन्य दुई प्रेषितलाई गेत्समनीको बगैंचामा लैजानुभयो। येशूले तिनीहरूलाई जागा रहनू भन्‍नुभएको थियो तर तिनीहरू निदाए। येशूले तिनीहरूलाई ब्युँझाउनुभयो र यसो भन्‍नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।” (मर्कू. १४:३८) तर पत्रुस फेरि पनि निदाए र पछि मानिसको डर र दबाबको पासोमा परे।

      १३. नराम्रो काम गर्ने दबाबको हामी कसरी प्रतिरोध गर्न सक्छौं?

      १३ पिलातस र पत्रुसको उदाहरणबाट हामी अर्को महत्त्वपूर्ण पाठ पनि सिक्न सक्छौं। त्यो हो, मानिसहरूबाट आउने दबाबको प्रतिरोध गर्न सही ज्ञान, नम्रता, परमेश्‍वरप्रति प्रेम हुनुका साथै मानिसको होइन, यहोवाको डर हुनु आवश्‍यक छ। हाम्रो विश्‍वास सही ज्ञानमा आधारित छ भने आफूले विश्‍वास गर्ने कुराबारे साहसी भई बोल्न सक्छौं। यसले हामीलाई दबाबको प्रतिरोध गर्न र मानिसको डरलाई जित्न मदत गर्नेछ। हामी आफ्नै बलमा भर पर्नु हुँदैन। बरु दबाबको प्रतिरोध गर्न परमेश्‍वरको मदत चाहिन्छ भन्‍ने कुरालाई नम्र भई स्वीकार्नुपर्छ। यहोवाको पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। परमेश्‍वरप्रतिको प्रेमले गर्दा उहाँको स्तरअनुरूप चल्न अनि उहाँको नामको बदनाम हुने काम नगर्न उत्प्रेरित हुनुपर्छ। साथै, दबाबको प्रतिरोध कसरी गर्ने भनेर पहिल्यै तयारी गर्नुपर्छ। उदाहरणको लागि, साथीहरूले कुनै नराम्रो काम गर्ने दबाब दिंदा त्यसको प्रतिरोध गर्न छोराछोरीलाई मदत दिनको लागि आमाबाबुले उनीहरूसित बसेर पहिल्यै तयारी गर्नुका साथै प्रार्थना गर्नु आवश्‍यक छ।—२ कोरि. १३:७.a

      अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिनुहोस्‌

      १४. विगतमा गरेको गल्तीबारे हामी कस्तो निष्कर्षमा पुगेको दियाबल चाहन्छ?

      १४ कहिलेकाहीं शिकारीले जनावरलाई पासोमा पार्न जनावर अक्सर हिंड्‌ने बाटोमाथि गह्रौं मुढा वा ढुङ्‌गा झुन्ड्याउँछ। अनि निस्सहाय जनावरले डोरीलाई टेक्दा माथि झुन्ड्याएर राखिएको मुढा वा ढुङ्‌गा खसेर जनावरलाई थिच्छ। अचाक्ली दोषी महसुस गर्नुलाई पनि त्यसरी नै थिच्ने गह्रौं मुढा वा ढुङ्‌गासित तुलना गर्न सकिन्छ। विगतमा गरेको गल्तीबारे सोच्दा हामीले “ज्यादै चोट पाएको” महसुस गर्न सक्छौं। (भजन ३८:३-५, ८ पढ्‌नुहोस्‌) हामी यहोवाको क्षमा पाउन लायकका छैनौं र उहाँले तोक्नुभएका आवश्‍यकताहरू पूरा गर्न सक्दैनौं भन्‍ने निष्कर्षमा पुगेको सैतान चाहन्छ।

      १५, १६. अचाक्ली दोषी महसुस गर्ने पासोमा पर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?

      १५ थिच्ने पासोदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ? कुनै गम्भीर गल्ती गर्नुभएको छ भने यहोवासितको सम्बन्ध सुधार्न कदम चालिहाल्नुहोस्‌। एल्डरहरूलाई भेट्‌नुहोस्‌ र उनीहरूसित मदत माग्नुहोस्‌। (याकू. ५:१४-१६) गल्ती सच्याउन जे-जसो गर्नुपर्छ, गर्नुहोस्‌। (२ कोरि. ७:११) अनुशासन पाउँदा निराश नहुनुहोस्‌। अनुशासन भनेको यहोवा तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाण हो। (हिब्रू १२:६) पहिलेकै गल्ती गर्नतर्फ डोऱ्‍याउने कदम नचाल्न दृढ सङ्‌कल्प गर्नुहोस्‌ र त्यस सङ्‌कल्पअनुरूप काम पनि गर्नुहोस्‌। पश्‍चात्ताप गरेर फर्केपछि येशू ख्रीष्टको फिरौतीको बलिदानको आधारमा आफ्नो गल्तीको क्षमा पाउन सक्नुहुन्छ भनी विश्‍वस्त हुनुहोस्‌।—१ यूह. ४:९, १४.

      १६ कोही-कोही मानिस आफूले क्षमा पाइसकेको गल्तीलाई सम्झेर दोषी महसुस गरिरहन्छन्‌। यदि तपाईंको अवस्था पनि यस्तै छ भने पत्रुस र अरू प्रेषितहरूले येशूलाई साथ चाहिएको बेला उहाँलाई छोडेर गएको घटना सम्झनुहोस्‌। यसरी छोडेर गए पनि यहोवाले पत्रुस र अरू प्रेषितलाई क्षमा दिनुभयो। साथै घोर अनैतिकतामा मुछिएकोले कोरिन्थ मण्डलीबाट बहिष्कार भएको व्यक्‍ति पछि पश्‍चात्ताप गरेर फर्कंदा यहोवाले उसलाई क्षमा दिनुभयो। (१ कोरि. ५:१-५; २ कोरि. २:६-८) गम्भीर गल्ती गरेका तर पश्‍चात्ताप गरेर फर्केकोले परमेश्‍वरबाट क्षमा पाएका थुप्रै व्यक्‍तिबारे बाइबलमा बताइएको छ।—२ इति. ३३:२, १०-१३; १ कोरि. ६:९-११.

      १७. फिरौतीको बलिदानले हाम्रो लागि के गर्न सक्छ?

      १७ साँच्चै पश्‍चात्ताप गर्नुभयो र यहोवाले कृपा देखाउनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नुभयो भने विगतमा तपाईंले गर्नुभएका गल्तीहरूलाई उहाँले क्षमा दिनुहुनेछ र बिर्सनुहुनेछ। तपाईंको गल्ती येशूको फिरौतीको बलिदानले समेत क्षमा दिन नसक्ने खालको छ भनेर कहिल्यै नसोच्नुहोस्‌। यस्तो सोच्नु भनेको सैतानको कुनै पासोमा पर्नुसरह हो। तपाईंले यस्तो सोचाइ राखेको दियाबल चाहन्छ तर पश्‍चात्ताप गर्नेहरूले फिरौतीको बलिदानको आधारमा क्षमा पाउन सक्छन्‌। (हितो. २४:१६) फिरौतीको बलिदानप्रतिको विश्‍वासले तपाईंलाई अचाक्ली दोषी महसुस गर्ने बोझ हटाउन मदत गर्नुका साथै सारा मन, ज्यान र दिमागले परमेश्‍वरको सेवा गर्न बल प्रदान गर्छ।—मत्ती २२:३७.

      सैतानका युक्‍तिहरूबारे हामी अनजान छैनौं

      १८. दियाबलका पासोहरूदेखि हामी कसरी जोगिन सक्छौं?

      १८ सैतानको मुख्य चासो भनेको हामीलाई त्यसको पासोमा पार्नु हो। हामीलाई पासोमा पार्न कुन तरिका अपनाउने, त्यो त्यसको मुख्य चासोको विषय होइन। सैतानका युक्‍तिहरूबारे हामी अनजान छैनौं। त्यसैले त्यसको पासोमा पर्नदेखि जोगिन सक्छौं। (२ कोरि. २:१०, ११) परीक्षाहरूसित डट्‌न बुद्धिको लागि प्रार्थना गऱ्‍यौं भने हामी दियाबलको पासोमा पर्नेछैनौं। याकूबले लेखे: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ, किनकि उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ।” (याकू. १:५) नियमित रूपमा व्यक्‍तिगत अध्ययन गरेर अनि बाइबल सिद्धान्तअनुरूप जीवन बिताएर हामी आफ्नो प्रार्थनाअनुसार चल्नु आवश्‍यक छ। विश्‍वासी र बुद्धिमान्‌ दासले प्रबन्ध गरेको बाइबलआधारित प्रकाशनहरूले दियाबलका पासोहरूबारे सजग गराउनुका साथै त्यसबाट जोगिने तरिका पनि सिकाउँछ।

      १९, २०. खराब कुरालाई हामीले किन घृणा गर्नुपर्छ?

      १९ प्रार्थना र बाइबल अध्ययनले हामीमा असल कुराप्रतिको प्रेम जगाउँछ। तर हामीले खराब कुरालाई घृणा गर्न सिक्नु पनि उत्तिकै आवश्‍यक छ। (भज. ९७:१०) स्वार्थी चाहना पूरा गर्दा आइपर्ने नतिजाबारे विचार गऱ्‍यौं भने हामी ती कुराहरू गर्नदेखि जोगिन सक्छौं। (याकू. १:१४, १५) खराब कुरालाई घृणा गर्न र असल कुरालाई साँच्चै प्रेम गर्न सिक्यौं भने सैतानले पासोमा राखेको चारा हामीलाई आकर्षक होइन, घिनलाग्दो लाग्नेछ।

      २० सैतानले हामीलाई पासोमा नपारोस्‌ भनेर परमेश्‍वरले मदत गर्नुभएकोमा हामी उहाँप्रति कत्ति आभारी छौं! उहाँले आफ्नो पवित्र शक्‍ति, आफ्नो वचन र आफ्नो सङ्‌गठनको मदतद्वारा हामीलाई “त्यस दुष्टबाट” छुटाउनुहुन्छ। (मत्ती ६:१३) परमेश्‍वरका सेवकहरूलाई पासोमा पार्न दियाबलले प्रयोग गर्ने थप दुईवटा पासोदेखि हामी कसरी जोगिन सक्छौं? यसबारे यसपछिको लेखमा छलफल गर्नेछौं।

  • दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!
    प्रहरीधरहरा—२०१२ | अगस्त १५
    • दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!

      ‘दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा होओ।’—एफि. ६:११.

      तपाईं कसरी जवाफ दिनुहुन्छ?

      यहोवाका सेवकहरू भौतिकवादको पासोमा पर्नदेखि कसरी जोगिन सक्छन्‌?

      आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा नपर्न विवाहित ख्रीष्टियनहरूलाई केले मदत गर्न सक्छ?

      भौतिकवाद र अवैध यौनसम्बन्धविरुद्ध दृढ भई खडा हुँदा कस्तो आशिष्‌ पाइन्छ?

      १, २. (क) सैतानले अभिषिक्‍त ख्रीष्टियन र “अरू भेडा”-लाई किन फिटिक्कै दया देखाउँदैन? (ख) यस लेखमा सैतानको कुन-कुन पासोबारे छलफल गरिनेछ?

      सैतान अर्थात्‌ दियाबलले मानिसहरूलाई फिटिक्कै दया देखाउँदैन, अझ विशेषगरि यहोवाका सेवकहरूलाई। वास्तवमा भन्‍नुपर्दा सैतानले शेष अभिषिक्‍त ख्रीष्टियनहरूविरुद्ध लडाइँ लडिरहेको छ। (प्रका. १२:१७) यी साहसी ख्रीष्टियनहरूले अहिले राज्य-प्रचारकार्यमा नेतृत्व लिइरहेका छन्‌ र यस संसारको शासक सैतान हो भनेर उदाङ्‌ग पारेका छन्‌। अभिषिक्‍त ख्रीष्टियनहरूलाई साथ दिंदै अनन्त जीवनको आशा राख्ने “अरू भेडा”-लाई पनि दियाबलले पटक्कै माया गर्दैन। (यूह. १०:१६) सधैंभरि बाँच्ने आशा सैतानले गुमाइसकेको छ। त्यसैले ऊ असाध्यै क्रोधित छ। हाम्रो आशा स्वर्गको होस्‌ वा पृथ्वीको, हाम्रो हितमा सैतानको कुनै चासो छैन। उसको लक्ष्य भनेकै हामीलाई आफ्नो शिकार बनाउनु हो।—१ पत्रु. ५:८.

      २ आफ्नो उद्देश्‍य हासिल गर्न सैतानले विभिन्‍न पासो थापेको छ। विश्‍वास नगर्नेहरूको ‘दिमागलाई त्यसले अन्धो तुल्याइदिएको छ।’ त्यसैले तिनीहरू सुसमाचार स्वीकार्दैनन्‌ र त्यसले थापेको पासो देख्न सक्दैनन्‌। तथापि, राज्य सन्देश स्वीकारेका केही व्यक्‍तिलाई समेत दियाबलले आफ्नो पासोमा पारेको छ। (२ कोरि. ४:३, ४) अघिल्लो लेखमा, सैतानका तीनवटा पासोको कसरी प्रतिरोध गर्न सक्छौं भनेर सिक्यौं। ती पासो थिए: (१) बेलगाम बोली, (२) डर र दबाब अनि (३) अचाक्ली दोषी महसुस गर्नु। सैतानका थप दुईवटा पासोविरुद्ध हामी कसरी दृढ भई खडा हुन सक्छौं, आउनुहोस्‌ विचार गरौं। ती पासो हुन्‌: भौतिकवाद र आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने प्रलोभन।

      भौतिकवाद—निसासिदिने पासो

      ३, ४. यस संसारको फिक्रीले कसरी भौतिकवादतर्फ पुऱ्‍याउन सक्छ?

      ३ एउटा दृष्टान्तमा येशूले काँडाहरूको बीचमा छरिएको बीउबारे बताउनुभयो। उहाँले बताएअनुसार कुनै मानिसले वचन त सुन्छ “तर यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा वचन निसासिन्छ र उसले फल फलाउँदैन।” (मत्ती १३:२२) हो, हाम्रो शत्रु सैतानले प्रयोग गर्ने एउटा पासो भौतिकवाद हो।

      ४ वचनलाई निसासिदिने दुईवटा कुरा छन्‌। एउटा हो, “यस संसारको फिक्री।” यस “असाध्यै कठिन समय”-मा फिक्री जगाउने कुरा थुप्रै छन्‌। (२ तिमो. ३:१) महँगी र बेरोजगारी समस्याले जीवन धान्‍नै गाह्रो बनाउन सक्छ। तपाईंलाई भविष्यको पनि चिन्ता लाग्न सक्छ। त्यसैले मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘काम गर्न नसक्ने उमेरमा पुगेपछि कसरी जीवन धान्‍ने?’ यस्ता फिक्रीहरूले गर्दा कोही-कोही धनसम्पत्ति प्राप्त गर्न लागिपरेका छन्‌। तिनीहरू पैसा भयो भने सब कुरा हुन्छ भन्‍ने सोचाइ राख्छन्‌।

      ५. कुन अर्थमा ‘धनसम्पत्तिको शक्‍ति’ भ्रामक हुन सक्छ?

      ५ येशूले बताउनुभएको अर्को कुरा हो, “धनसम्पत्तिको भ्रामक शक्‍ति।” धनसम्पत्तिको भ्रामक शक्‍ति र यसले निम्त्याउने फिक्रीले गर्दा वचन निसासिन सक्छ। बाइबलले “रुपियाँपैसा एउटा आश्रय हो” भनी बताउँछ। (उप. ७:१२, NRV) तर धनसम्पत्तिको पछि लाग्नु बुद्धिमानी होइन। थुप्रैले अनुभव गरेअनुसार धनसम्पत्ति प्राप्त गर्न मरिमेट्‌दा झनझनै भौतिकवादको पासोमा परिन्छ। कतिपय त धनसम्पत्तिको दाससमेत बनेका छन्‌।—मत्ती ६:२४.

      ६, ७. (क) कस्तो अवस्थाले तपाईंलाई काम गर्ने ठाउँमा धनी बन्‍ने चाहना उत्पन्‍न गराउन सक्छ? (ख) ओभरटाइम गर्ने प्रस्ताव आउँदा ख्रीष्टियनले कुन कुरा विचार गर्नुपर्छ?

      ६ धनी बन्‍ने चाहना पत्तै नपाई सुरु हुन सक्छ। यस उदाहरणलाई विचार गर्नुहोस्‌। हाकिम आएर तपाईंलाई यसो भन्छन्‌: “एउटा राम्रो समाचार छ! हाम्रो कम्पनीले एउटा ठूलो काम पाएको छ। यसको मतलब अब तपाईंले केही महिनाको लागि ओभरटाइम गर्नुपर्ने हुन्छ। तर चिन्ता नगर्नुहोस्‌, तपाईंले दाम पनि उत्तिकै पाउनुहुन्छ।” यस्तो प्रस्ताव आउँदा तपाईं के गर्नुहुन्छ? हुन त परिवारको भौतिक आवश्‍यकता पूरा गर्नु तपाईंको महत्त्वपूर्ण जिम्मेवारी हो। तर तपाईंको जिम्मेवारी त्यो मात्र त निश्‍चय पनि होइन। (१ तिमो. ५:८) तपाईंले विचार गर्नुपर्ने अन्य कुराहरू पनि छन्‌। ओभरटाइम कति गर्नुपर्छ? कतै यस कामले मण्डलीका सभा, साँझको पारिवारिक उपासनाजस्ता कुरामा बाधा पुऱ्‍याएर परमेश्‍वरको सेवा गर्न गाह्रो बनाउने पो हो कि?

      ७ निर्णय गर्दा तपाईं कुन कुरालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ—ओभरटाइम गर्दा पाउने थप पैसालाई वा यहोवासितको सम्बन्धलाई? अझ धेरै पैसा कमाउने ध्याउन्‍नमा लागेर के तपाईं राज्य गतिविधिलाई पहिलो स्थान दिनदेखि पछि पर्नुहुनेछ? आफ्नो र आफ्नो परिवारको यहोवासितको सम्बन्धलाई बेवास्ता गरेमा यसले कस्तो असर पार्नेछ, के तपाईंले विचार गर्नुभएको छ? अहिले तपाईं यस्तै अवस्थामा हुनुहुन्छ भने तपाईं कसरी दृढ भई खडा हुन र भौतिकवादको कारण निसासिनदेखि जोगिन सक्नुहुन्छ?—१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।

      ८. बाइबलमा पाइने कस्ता उदाहरणले हामीलाई आफ्नो जीवनशैली केलाउन मदत गर्न सक्छ?

      ८ भौतिकवादको कारण निसासिनदेखि जोगिन समय-समयमा आफ्नो जीवनशैली केलाउनुहोस्‌। हामी कहिल्यै पनि पवित्र कुराहरूको कदर गर्न चुक्ने एसावजस्तो हुनु हुँदैन। (उत्प. २५:३४; हिब्रू १२:१६) अनि आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदिन र येशूको पछि लाग्न निम्तो पाएको धनी मानिसजस्तो पनि हुनु हुँदैन। यसो गर्न तयार हुनुको सट्टा त्यो मानिस “दुःखी हुँदै आफ्नो बाटो लाग्यो, किनकि ऊसित धेरै धनसम्पत्ति थियो।” (मत्ती १९:२१, २२) धनसम्पत्तिको पासोमा परेकोले त्यस मानिसले सबैभन्दा महान्‌ पुरुषको पछि लाग्ने मौका गुमायो! येशू ख्रीष्टको चेला बन्‍न पाएको मौका नगुमाउन होसियार हुनुहोस्‌।

      ९, १०. भौतिक चिजबीजप्रति बाइबलको दृष्टिकोण कस्तो छ?

      ९ भौतिक चिजबीजप्रतिको अनावश्‍यक चिन्तालाई हटाउन येशूको यो सल्लाह पालन गर्नुहोस्‌: “‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।”—मत्ती ६:३१, ३२; लूका २१:३४, ३५.

      १० धनसम्पत्तिको भ्रामक शक्‍तिको शिकार हुनुको सट्टा बाइबल लेखक आगूरको जस्तै दृष्टिकोण राख्नुहोस्‌। तिनले यसो भने: “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌। मलाई चाहिंदो भोजन मात्र जुटाइ दिनुहोस्‌।” (हितो. ३०:८) स्पष्ट छ, आगूरले पैसाको महत्त्व तथा धनसम्पत्तिको भ्रामक शक्‍तिबारे बुझेका थिए। यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍तिले यहोवासितको सम्बन्ध तहसनहस पार्न सक्छ भन्‍ने कुरा बुझ्नुहोस्‌। भौतिक चिजबीजबारे अचाक्ली चिन्ता गर्नुभयो भने राज्य गतिविधिलाई पहिलो स्थानमा राख्ने समय, शक्‍ति र चाहना नै नहुन सक्छ। त्यसैले सैतानले थापेको भौतिकवादको पासोमा नपर्न कटिबद्ध हुनुहोस्‌!—हिब्रू १३:५ पढ्‌नुहोस्‌।

      आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्ध—चालै नपाउने खाडल

      ११, १२. कुनै ख्रीष्टियन आफू काम गर्ने ठाउँमा कसरी आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा पर्न सक्छन्‌?

      ११ कुनै-कुनै जनावरलाई पक्रन शिकारीले जनावरहरू अक्सर ओहोरदोहोर गर्ने बाटोमा खाडल खन्छ। त्यसपछि शिकारीले त्यो खाडललाई माथिबाट झिक्राझिक्री तथा घुऱ्‍यानहरूले ढाकिदिन्छ। सैतानले प्रयोग गर्ने एउटा अत्यन्तै प्रभावकारी प्रलोभन यस्तै किसिमको छ। त्यो हो, अवैध यौनसम्बन्ध राख्ने प्रलोभन। (हितो. २२:१४; २३:२७) अवैध यौनसम्बन्ध राख्न सक्ने अवस्थामा पुगेर केही ख्रीष्टियन त्यो खाडलमा परेका छन्‌। केही विवाहित ख्रीष्टियन आफ्नो जोडीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँसेकाले अवैध यौनसम्बन्ध राख्न पुगेका छन्‌।

      १२ काम गर्ने ठाउँमा त्यस्तो अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ। एउटा अध्ययनले देखाएअनुसार यस्तो अवैध यौनसम्बन्ध राख्ने आधाभन्दा धेरै महिला र चार जनामध्ये तीन जना पुरुषले आफ्नै सहकर्मीसित त्यस्तो सम्बन्ध राखेका थिए। के तपाईंले पनि विपरीत लिङ्‌गको व्यक्‍तिसँगै काम गर्नुपर्छ? पर्छ भने तिनीहरूसित तपाईंको सम्बन्ध कस्तो छ? त्यो ठाउँ काम गर्ने ठाउँबाहेक अरू केही हुन नपाओस्‌ भनेर के तपाईं सीमा तोक्नुहुन्छ? उदाहरणको लागि, पुरुष सहकर्मीसित बारम्बार गफगाफ गर्दा ख्रीष्टियन बहिनीले तिनलाई नै आफ्नो विश्‍वासपात्र बनाउलिन्‌। उनले तिनलाई आफ्ना वैवाहिक समस्यासमेत बताउलिन्‌। अथवा अवस्था यस्तो पनि हुन सक्छ, महिला सहकर्मीसित मित्रता गाँसेपछि ख्रीष्टियन पुरुषले यस्तो सोचाइ राख्लान्‌: “तिनी मेरो विचारको कदर गर्छिन्‌ अनि मैले कुरा गर्दा ध्यान दिएर सुन्छिन्‌। अनि तिनी मेरो आदर पनि गर्छिन्‌। घरमा पनि यस्तै भइदिए त!” यस्तो अवस्थाले गर्दा कुनै ख्रीष्टियन कसरी आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा पर्न सक्छन्‌, के तपाईंले बुझ्नुभयो?

      १३. मण्डलीभित्र कसरी अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ?

      १३ मण्डलीभित्र पनि त्यस्तो अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ। एउटा सत्य घटनालाई विचार गर्नुहोस्‌। शैलेन्द्र र उनकी पत्नी रमिताa नियमित अग्रगामी थिए। शैलेन्द्रकै शब्दमा भन्‍ने हो भने उनी “कहिल्यै नाइँ नभन्‍ने एल्डर” थिए। उनी मण्डलीको जुनसुकै जिम्मेवारी खुसीसाथ स्वीकार्थे। उनले पाँच जना केटासित अध्ययन गर्न थाले जसमध्ये तीन जनाले पछि गएर बप्तिस्मा गरे। यी नयाँ भाइहरूलाई धेरै मदत चाहिन्थ्यो। शैलेन्द्र मण्डलीको काममा व्यस्त हुँदा अक्सर रमिताले नै तिनीहरूलाई मदत गर्थिन्‌। तर भर्खरै बप्तिस्मा गरेका ती भाइहरूलाई भावनात्मक मदतको खाँचो थियो। यो मदत पनि तिनीहरूले रमिताबाटै पाए। रमितालाई पनि आफ्नो ख्याल गर्ने व्यक्‍ति चाहिएको थियो र तिनको यो आवश्‍यकतालाई शैलेन्द्रका बाइबल विद्यार्थीहरूले पूरा गर्न थाले। त्यो अवस्था एउटा खतरनाक पासो साबित भयो। शैलेन्द्र भन्छन्‌: ‘महिनौंसम्म अरूलाई मदत गर्न मात्र ध्यान दिएकीले मेरी श्रीमती आध्यात्मिक र भावनात्मक तवरमा लखतरान भएकी थिइन्‌। त्यतिबेला मैले तिनको ख्याल गर्न सकिनँ। त्यसले गर्दा ठूलो विपत्ति आइपऱ्‍यो। मेरी श्रीमतीले पहिला मैले बाइबल अध्ययन गराएको ती पाँच जना केटामध्ये एक जनासित यौनसम्बन्ध राखिन्‌। म यत्ति व्यस्त भएँ, यहोवासितको तिनको सम्बन्ध कमजोर भएको यादै गरिनँ।’ यस्तो दुर्दशा नभोग्न तपाईं के गर्न सक्नुहुन्छ?

      १४, १५. आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोदेखि जोगिन विवाहित ख्रीष्टियनहरूलाई केले मदत गर्न सक्छ?

      १४ आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोदेखि जोगिन आफ्नो जोडीप्रति वफादार हुनुको अर्थ विचार गर्नुहोस्‌। येशूले भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:६) आफ्नो जोडीभन्दा मण्डलीको काम ठूलो हो भनेर कहिल्यै नसोच्नुहोस्‌। साथै आफ्नो पति वा पत्नीलाई ध्यान नदिई अनावश्‍यक कामकुराको लागि समय बिताउँदा तपाईंको वैवाहिक बन्धन कमजोर हुन सक्छ र यसले गम्भीर गल्ती गर्ने हदसम्म पुऱ्‍याउन सक्छ भन्‍ने कुरामा सजग हुनुहोस्‌।

      १५ यदि तपाईं एल्डर हुनुहुन्छ भने बगालको हेरचाह गर्ने विषयमा चाहिं के भन्‍न सकिन्छ? प्रेषित पत्रुसले लेखे: “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर, करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ।” (१ पत्रु. ५:२) हो, तपाईंको जिम्मामा सुम्पिइएको मण्डलीका सदस्यहरूलाई बेवास्ता गर्न मिल्दैन। तर पतिको जिम्मेवारीलाई बेवास्ता गरेर गोठालोको जिम्मेवारी पूरा गर्नु उचित होइन। मण्डलीका भाइबहिनीहरूका लागि दौडधूप गर्नु तर आफ्नी पत्नीलाई भने बेवास्ता गर्नु बेकार छ, अझ भन्‍नुपर्दा यसो गर्नु खतरनाकसमेत छ। शैलेन्द्र भन्छन्‌: ‘मण्डलीको जिम्मेवारी पूरा गर्ने नाममा आफ्नो परिवारलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌।’

      १६, १७. (क) कसैसित पनि रोमान्टिक सम्बन्ध गाँस्न तयार नभएको कुराको स्पष्ट सङ्‌केत दिन विवाहित ख्रीष्टियनहरूले काम गर्ने ठाउँमा कस्तो व्यावहारिक कदम चाल्न सक्छन्‌? (ख) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नदेखि जोगिन ख्रीष्टियनहरूलाई मदत गर्ने हाम्रो प्रकाशनमा छापिएको कुनै एउटा लेखबारे बताउनुहोस्‌।

      १६ आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोको प्रतिरोध गर्न विवाहित ख्रीष्टियनहरूलाई मदत दिन प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिकामा थुप्रै मदतकारी सल्लाह उपलब्ध छ। उदाहरणको लागि, अक्टोबर १, २००६ अङ्‌कको प्रहरीधरहरा-मा यस्तो सुझाव दिइएको थियो: “काम गर्ने ठाउँमा होस्‌ वा अन्त कतै, अनावश्‍यक हिमचिम बढ्‌न सक्ने अवस्थाहरू सिर्जना हुँदा सतर्क हुनुहोस्‌। उदाहरणको लागि, काम गर्ने समय सिद्धिएपछि पनि कामकै सिलसिलामा महिलाले पुरुषसित र पुरुषले महिलासित नजिकिएर धेरै समय सँगै बिताउँदा प्रलोभनमा पर्न सकिन्छ। तपाईं विवाहित हुनुहुन्छ भने, आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसितको प्रेमप्रसंग गाँस्न चाहन्‍नँ भनेर आफ्नो बोलीवचन र बानीबेहोराबाट प्रस्टै देखाउनुहोस्‌। यहोवालाई खुसी पार्न चाहने व्यक्‍ति भएकोले तपाईं अरूसित जिस्केर वा उत्ताउलो लुगाफाटा लगाएर अथवा बढी सिंगारपटार गरेर अनावश्‍यक ध्यान खिच्न पक्कै चाहनुहुन्‍न। . . . काम गर्ने ठाउँमा आफ्नो श्रीमान्‌ वा श्रीमतीको अनि छोराछोरीको फोटो राख्नुभएको छ भने पनि आफ्नो परिवारलाई कदापि धोका दिनु हुँदैन भनेर तपाईं अनि तपाईंका सहकर्मीहरूलाई सतर्क गराउनेछ। कसैले तपाईंलाई प्रेम प्रस्ताव राख्न सजिलो हुने खालको व्यवहार नगर्न र प्रेम प्रस्ताव राख्दा मख्ख नपर्न दृढ संकल्प गर्नुहोस्‌।”

      १७ अर्को एउटा लेखलेb आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने विषयमा कल्पना गर्नुको खतराबारे चेतावनी दिएको थियो। यस्तो कल्पना गर्दा आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने सम्भावना बढ्‌छ भनेर उक्‍त लेखमा बताइएको थियो। (याकू. १:१४, १५) तपाईं विवाहित हुनुहुन्छ भने समय-समयमा पति-पत्नी सँगै बसेर यस्तो जानकारी पुनरावलोकन गर्नु राम्रो हो। विवाह भनेको यहोवा स्वयम्‌ले सुरुवात गर्नुभएको प्रबन्ध हो र यो पवित्र बन्धन हो। आफ्नो वैवाहिक सम्बन्धबारे आपसमा कुराकानी गर्न समय छुट्याउनु तपाईं पवित्र कुराको मोल गर्नुहुन्छ भनेर देखाउने एउटा राम्रो तरिका हो।—उत्प. २:२१-२४.

      १८, १९. (क) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्दा परिणाम कस्तो हुन्छ? (ख) आफ्नो जोडीप्रति वफादार हुँदा कस्तो आशिष्‌ पाइन्छ?

      १८ अनुचित रोमान्टिक सम्बन्ध गाँस्ने प्रलोभनमा पर्नुभयो भने आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्धले वा अन्य प्रकारका अवैध यौनसम्बन्धले निम्त्याउने हानिबारे गहिरिएर सोच्नुहोस्‌। (हितो. ७:२२, २३; गला. ६:७) अवैध यौनसम्बन्ध राख्ने मानिसले यहोवालाई अप्रसन्‍न तुल्याउँछ अनि आफू र आफ्नो जोडीलाई आघात पुऱ्‍याउँछ। (मलाकी २:१३, १४ पढ्‌नुहोस्‌) तर पवित्र आचरण कायम राख्नेहरूले पाउने आशिष्‌बारे चिन्तन गर्नुहोस्‌। तिनीहरूले सधैंभरि बाँच्ने आशा पाउनेछन्‌। यति मात्र होइन, अहिल्यै तिनीहरूले सर्वोत्तम जीवनको आनन्द उठाउन र सफा अन्तस्करण कायम राख्न सक्नेछन्‌।—हितोपदेश ३:१, २ पढ्‌नुहोस्‌।

      १९ भजनरचयिताले यसरी गाए: “तपाईंको [अर्थात्‌ परमेश्‍वरको] व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भज. ११९:१६५) त्यसैले सत्यलाई प्रेम गर्नुहोस्‌ र ‘कसरी हिंडिरहनुभएको छ, होसियार भई ध्यान दिनुहोस्‌, निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान्‌ मानिस जसरी हिंड्‌नुहोस्‌।’ (एफि. ५:१५, १६) परमेश्‍वरका साँचो उपासकहरूलाई फसाउन सैतानले हामी हिंड्‌ने बाटोभरि पासो थापेको छ। तर त्यसको पासोमा नपर्न हामीलाई सम्पूर्ण हातहतियार उपलब्ध गराइएको छ। “दृढ भई खडा हुन” र “त्यस दुष्टका सबै अग्निबाणहरू निभाउन” हामीलाई चाहिने सबै कुरा यहोवाले दिनुभएको छ।—एफि. ६:११, १६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने