-
नयाँ गरी जन्मनु—मुक्तिको बाटो?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ गरी जन्मनु—मुक्तिको बाटो?
नयाँ गरी जन्मनुa भनेको साँचो ख्रीष्टियानहरूको चिनारी अनि मुक्तिको एउटै मात्र बाटो हो भनी चर्च जाने संसारका लाखौं व्यक्तिहरू विश्वास गर्छन्। धर्मविद् रबर्ट सी. स्प्रलजस्ता धर्मगुरुहरूको विचारलाई तिनीहरू समर्थन गर्छन्। तिनले यस्तो लेखे: “यदि कुनै मानिस नयाँ गरी जन्मँदैन भने . . . ऊ ख्रीष्टियान होइन।”
नयाँ गरी जन्म्यो भने निश्चयै मुक्ति पाइन्छ भनेर के तपाईं पनि विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने पक्कै पनि तपाईं आफ्नो नातेदार र साथीभाइलाई त्यो मुक्तिको बाटो भेट्टाउन र त्यसमा हिंड्न मदत गर्न चाहनुहुन्छ होला। तर त्यसो गर्नको लागि तिनीहरूले नयाँ गरी जन्मेको व्यक्ति र नजन्मेको व्यक्तिबीचको भिन्नता बुझ्नु आवश्यक छ। नयाँ गरी जन्मनुको अर्थ तपाईं तिनीहरूलाई कसरी बताउनुहुन्छ?
थुप्रैलाई लाग्छ कि “नयाँ गरी जन्मनु” भन्ने अभिव्यक्तिले सच्चा मनले परमेश्वर र ख्रीष्टको सेवा गर्छु भनेर प्रतिज्ञा गर्ने मानिसलाई संकेत गर्छ। फलस्वरूप, तिनी आध्यात्मिक तवरमा जीवित हुन्छन्। वास्तवमा, एउटा शब्दकोशले नयाँ गरी जन्मने भन्ने अभिव्यक्तिलाई यसरी व्याख्या गरेको छ: “कुनै व्यक्तिको सम्पूर्ण जीवनमा पूर्ण र स्थायी परिवर्तनलाई वर्णन गर्नका लागि प्रयोग भएको शब्द। . . . [यो पाउने] व्यक्तिले सक्रिय रूपमा पश्चात्ताप गर्छ, येशूमा विश्वास गर्छ र जीवनको नयाँपनमा जिउँछ।”—सामदान बाइबल शब्दकोश।
यो परिभाषालाई बाइबलले समर्थन गर्दैन भन्दा के तपाईं छक्क पर्नुहुन्छ? नयाँ गरी जन्मनेबारे परमेश्वरको वचनले वास्तवमा के सिकाउँछ, तपाईं बुझ्न चाहनुहुन्छ? यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ। किन? किनभने नयाँ गरी जन्मनुको अर्थलाई सही तरिकाले बुझेमा यसले तपाईंको जीवन र भावी आशालाई असर गर्नेछ।
बाइबलले के सिकाउँछ?
“नयाँ गरी जन्मनु”b भन्ने अभिव्यक्ति यूहन्ना ३:१-१२ मा मात्र पाइन्छ। यसमा येशू र एक जना धर्मगुरुबीच यरूशलेममा भएको रोचक कुराकानी दिइएको छ। सँगैको पेटीमा तपाईंले बाइबलको यो पूरै विवरण उद्धरण गरेको पाउनुहुनेछ। यसलाई ध्यान दिएर पढ्न हामी तपाईंलाई आग्रह गर्छौं।
त्यो विवरणमा येशूले “नयाँ जन्म”-को विभिन्न पक्ष प्रकाश पार्नुभयो। वास्तवमा येशूको त्यो छलफलले हामीलाई निम्न पाँच महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन मदत गर्छ:
◼ नयाँ जन्म कत्तिको महत्त्वपूर्ण छ?
◼ नयाँ गरी जन्मनु के हाम्रो आफ्नै निर्णयको कुरा हो?
◼ यसको उद्देश्य के हो?
◼ कसरी नयाँ गरी जन्मिन्छ?
◼ अनि यसले नयाँ गरी जन्मनेहरू र परमेश्वरबीचको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछ?
आउनुहोस्, यी प्रश्नहरू हामी एक-एक गरी छलफल गरौं। (w 09 4/1)
[फुटनोटहरू]
a बाइबलमा बताइएको नयाँ गरी जन्मनुको शिक्षा र पुनर्जन्मको शिक्षा एउटै होइन।
b “नयाँ जन्म” भन्ने अभिव्यक्ति १ पत्रुस १:३, २३ मा पाइन्छ। यो, “नयाँ गरी जन्मनु”-लाई बुझाउने बाइबलको अर्को अभिव्यक्ति हो। दुवै अभिव्यक्ति युनानी क्रिया एनाओ-बाट लिइएको हो।
[पृष्ठ ४-मा भएको चित्र/पेटी]
“तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ”
“त्यस बेला फरिसीहरूमा निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका एक शासक थिए। तिनले राती उहाँकहाँ आएर भने, ‘गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट शिक्षक भएर आउनुभएको हो, किनकि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईंले गर्नुभएका यी चिन्हहरू गर्नसक्तैनन्।’ येशूले तिनलाई भन्नुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैन।’ निकोदेमसले उहाँलाई भने, ‘मानिस बूढो भएर कसरी जन्मनसक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ?’ येशूले जवाफ दिनुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्नसक्तैन। देहबाट जन्मेको देह हो, औ आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ भनी तिमीलाई भनेकोमा अचम्म नमान। बतास जता इच्छा गर्छ, बहन्छ। तिमी त्यसको आवाज सुन्छौ, तर कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ।’ निकोदेमसले उहाँलाई भने, ‘यी कुरा कसरी हुनसक्तछन्?’ येशूले तिनलाई भन्नुभयो, ‘तिमी इस्राएलको गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ? साँचो-साँचो म तिमीलाई भन्दछु, जे हामी जान्दछौं त्यो बोल्दछौं, औ जे हामीले देखेका छौं त्यसको हामी गवाही दिन्छौं, तर तिमीहरू हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र तिमीहरू विश्वास गर्दैनौ भने, मैले तिमीहरूलाई स्वर्गका कुरा भनें भने कसरी विश्वास गर्नेछौ?”—यूहन्ना ३:१-१२.
-
-
नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ जन्म—कत्तिको महत्त्वपूर्ण?
निकोदेमससित गरेको कुराकानीभरि नै येशूले नयाँ जन्म अर्थात् नयाँ गरी जन्मनु एकदमै महत्त्वपूर्ण छ भनेर जोड दिनुभयो। उहाँले यो कसरी स्पष्ट पार्नुभयो?
निकोदेमससित कुरा गर्दा येशूले नयाँ जन्मको महत्त्वलाई कसरी जोड दिनुभयो याद गर्नुहोस्। उहाँले भन्नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैन।” (यूहन्ना ३:३) “जन्मेन भने” र “देख्नसक्तैन” भन्ने पदावलीहरूले नयाँ जन्मको आवश्यकतालाई जोड दिन्छ। उदाहरणको लागि: यदि कसैले, “घाम लागेन भने उज्यालो हुन सक्तैन” भनेमा उज्यालो हुनको लागि घाम नभई हुँदैन भनेको हो। त्यसैगरि, येशूले परमेश्वरको राज्य देख्नको लागि नयाँ गरी जन्मनै पर्छ भन्दै हुनुहुन्थ्यो।
अन्ततः मानौं यस विषयको कुनै रहलपहल शंकालाई हटाउन येशूले भन्नुभयो: “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ।” (यूहन्ना ३:७) स्पष्ट छ, येशूको भनाइअनुसार “परमेश्वरको राज्यमा पस्न” नयाँ जन्म नलिई हुँदैन।—यूहन्ना ३:५.
नयाँ जन्मलाई येशूले एकदमै महत्त्व दिनुभएकोले खीष्टियानहरूले यसलाई सही तरिकामा बुझेका छन् कि छैनन् पक्का गर्नु आवश्यक छ। उदाहरणको लागि, नयाँ गरी जन्मने कुरा ख्रीष्टियानले छनौट गर्न सक्छ जस्तो के तपाईंलाई लाग्छ? (w 09 4/1)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“घाम लागेन भने उज्यालो हुन सक्तैन”
-
-
नयाँ जन्म—व्यक्तिगत निर्णय?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ जन्म—व्यक्तिगत निर्णय?
नयाँ जन्म गराउने को हो? केही प्रचारकले आफ्ना स्रोताहरूलाई नयाँ गरी जन्मेका ख्रीष्टियान हुन आग्रह गर्दा येशूका यी शब्दहरू उद्धरण गर्छन्: “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ।” (यूहन्ना ३:७) यस्ता प्रचारकहरूले यी शब्दहरूलाई आज्ञाको रूपमा चलाउँछन् र भन्छन्: “नयाँ गरी जन्मनू!” यसरी तिनीहरूले येशूको आज्ञा पालन गरेर नयाँ जन्मको लागि आवश्यक कदम चाल्नु व्यक्तिविशेषको कुरा हो भनेर प्रचार गर्छन्। यस्तो तर्कअनुसार नयाँ जन्म व्यक्तिगत छनौटको कुरा हो। तर के यो, येशूले निकोदेमसलाई भनेको कुरासित मेल खान्छ?
येशूका शब्दहरू ध्यान दिएर पढ्यौं भने नयाँ जन्म लिने या नलिने त्यो मानिसको छनौटको कुरा होइन भनेर सिकाउनुभएको पाउँछौं। हामी किन यसो भन्न सक्छौं? “नयाँ गरी जन्मनु” भनी अनुवाद गरिएको ग्रीक अभिव्यक्तिलाई “माथिबाट जन्मेको हुनुपर्छ” भनेर पनि अनुवाद गर्न सकिन्छ।a त्यसैले, यो वैकल्पिक अनुवादअनुसार नयाँ जन्मको स्रोत ‘माथिबाटको’ हो। अर्थात् “स्वर्गबाट” या “पिताबाट”। (यूहन्ना १९:११; याकूब १:१७) हो, परमेश्वरले नयाँ जन्म गराउनुहुन्छ।—१ यूहन्ना ३:९.
“माथिबाट” भन्ने अभिव्यक्तिलाई मनमा राख्यौं भने व्यक्तिविशेष स्वयम्ले किन नयाँ जन्म गराउन सक्दैन भन्ने कुरा बुझ्न गाह्रो पर्दैन। एकछिन तपाईंको जन्मलाई विचार गर्नुहोस्। जन्म लिने कि नलिने के तपाईंको छनौट थियो र? पक्कै थिएन! त्यसैगरि नयाँ गरी जन्मनु पनि विश्वासीहरूले छनौट गर्न सक्ने कुरा होइन। हामीले नयाँ जन्म त्यतिबेला मात्र अनुभव गर्न सक्छौं जतिबेला स्वर्गका पिताले नयाँ जन्म गराउनुहुन्छ। (यूहन्ना १:१३) त्यसैले प्रेरित पत्रुसले ठीकै भनेका थिए: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्यको हुनुहुन्छ, जसले आफ्नो ठूलो कृपा अनुसार . . . हामीलाई फेरि नयाँ जन्म दिनुभयो।”—१ पत्रुस १:३.
के यो आज्ञा हो?
तर कोही-कोही छक्क पर्छन्, ‘यदि नयाँ गरी जन्मने निर्णय व्यक्तिविशेषले गर्न सक्दैन भन्ने कुरा साँचो हो भने, येशूले किन “तिमीहरूलाई नयाँ गरी जन्मनु आवश्यक छ” भन्नुभयो?’ यो जायज प्रश्न हो। यदि येशूका यी शब्दहरू साँच्चै नै आज्ञा हुन् भने उहाँले हाम्रो क्षमता बाहिरको कुरा माग गरिरहनुभएको हुने थियो। यो कुरा त्यति व्यावहारिक देखिदैंन। त्यसोभए, “नयाँ गरी जन्मनु” आवश्यक छ भन्ने अभिव्यक्तिलाई कसरी बुझ्नुपर्छ?
यो वाक्यलाई मूल भाषामा नियालेर हेऱ्यौं भने येशूले तथ्य मात्र प्रस्तुत गर्दै हुनुहुन्थ्यो, आज्ञा दिइरहनुभएको थिएन भन्ने पाउँछौं। आज्ञा र तथ्यको भिन्नता बुझ्न एउटा उदाहरण विचार गरौं। कल्पना गर्नुहोस्, एउटा सहरमा केही विद्यालयहरू छन्। त्यसमध्ये एउटा विद्यालय टाढ-टाढा बस्ने जनजाति बच्चाहरूका लागि मात्र भनेर खोलिएको छ। एक दिन त्यस जनजातिमा नपर्ने एउटा बच्चा आएर प्रिन्सिपललाई “म तपाईंको स्कूलमा भर्ना हुन चाहन्छु” भन्छ। उनले “यहाँ भर्ना हुन त तिमी जनजाति हुनुपर्छ” भनी बताउँछ। पक्कै पनि उक्त प्रिन्सिपलका शब्दहरू आज्ञा होइनन्। उनले त्यो विद्यार्थीलाई “जनजाति बन!” भनेर आदेश दिइरहेका थिएनन्। बरु, “भर्ना हुन तिमी जनजाति हुनु आवश्यक छ” भनिरहेका थिए। उनले केवल स्कूलमा भर्ना हुन पूरा गर्नुपर्ने आवश्यकता बताइरहेका थिए। त्यसैगरि, येशूले तिमीहरूलाई “नयाँ गरी जन्मनु” आवश्यक छ भन्नुहुँदा केवल ‘परमेश्वरको राज्यमा पस्न’ पूरा गर्नुपर्ने आवश्यकता बताइरहनुभएको थियो।
अघिल्लो अनुच्छेदको अन्तमा व्यक्त गरिएको विचार—परमेश्वरको राज्य—नयाँ जन्मको अर्को एउटा पक्षसित सम्बन्धित छ। यसमा यो प्रश्न समावेश छ, नयाँ जन्मको उद्देश्य के हो? यो प्रश्नको जवाफ पायौं भने नयाँ गरी जन्मनुको अर्थ सही तरिकाले बुझ्न सक्छौं। (w 09 4/1)
[फुटनोट]
a केही बाइबलमा यूहन्ना ३:३ लाई यसरी अनुवाद गरिएको छ। उदाहरणको लागि, अ लिटरल ट्रान्सलेसन अफ द बाइबल-मा यस्तो लेखिएको छ: “यदि कसैले माथिबाट जन्म पाउँदैन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
[पृष्ठ ६-मा भएको चित्र]
नयाँ जन्म र शारीरिक जन्मबीच के समानता छ?
-
-
नयाँ जन्म—यसको उद्देश्य?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ जन्म—यसको उद्देश्य?
अनन्त मुक्ति पाउन नयाँ गरी जन्मनुपर्छ भनेर थुप्रैले विश्वास गर्छन्। तर येशू आफैले नयाँ जन्मको उद्देश्यबारे के भन्नुभयो याद गर्नुहोस्। उहाँले भन्नुभयो: “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्नसक्तैन।” (यूहन्ना ३:३) तसर्थ, मुक्ति पाउन होइन तर परमेश्वरको राज्यमा पस्न नयाँ गरी जन्मनु आवश्यक छ। तर केहीले यसो भन्लान्: ‘परमेश्वरको राज्यमा पस्नु र मुक्ति पाउनुले एउटै इनामलाई त संकेत गर्छ नि, होइन र?’ अहँ, होइन। यो भिन्नता बुझ्न, आउनुहोस् सुरुमा “परमेश्वरको राज्य” भन्ने अभिव्यक्तिलाई विचार गरौं।
राज्य भनेको एक प्रकारको सरकार हो। त्यसैले “परमेश्वरको राज्य” भनेको “परमेश्वरको सरकार” हो। “मानिसका पुत्र” येशू ख्रीष्ट परमेश्वरको राज्यको राजा हुनुहुन्छ र उहाँका सहशासकहरू पनि छन् भनी बाइबल सिकाउँछ। (दानियल ७:१, १३, १४; मत्ती २६:६३, ६४) साथै, प्रेरित यूहन्नालाई दिइएको एउटा दर्शनमा ख्रीष्टका सहशासकहरू “हरेक कुल, भाषा, मानिस र जाति”-बाट छानिएका व्यक्तिविशेष हुन् र तिनीहरूले “पृथ्वीमाथि राज्य” गर्नेछन् भनेर प्रकट गरियो। (प्रकाश ५:९, १०; २०:६) परमेश्वरको वचन यो पनि प्रकट गर्छ कि राजाको हैसियतमा शासन गर्नेहरू १,४४,००० जना मिलेर बनेको “सानो बगाल”-का हुन् जसलाई “पृथ्वीबाट किनिएका” छन्।—लूका १२:३२; प्रकाश १४:१, ३.
परमेश्वरको राज्यले कहाँबाट शासन गर्छ? “परमेश्वरको राज्य”-लाई “स्वर्गको राज्य” पनि भनिएको छ। तसर्थ, येशू र उहाँका सहशासकहरूले स्वर्गबाट शासन गर्छ भन्ने बुझिन्छ। (लूका ८:१०; मत्ती १३:११) त्यसैले, परमेश्वरको राज्य एउटा स्वर्गीय सरकार हो जुन येशू ख्रीष्ट र मानवजातिबाट छानिएका सहशासकहरूको एउटा समूह मिलेर बनेको छ।
त्यसोभए, येशूले ‘परमेश्वरको राज्यमा पस्न’ नयाँ गरी जन्मनु आवश्यक छ भन्दा के भन्न खोज्दै हुनुहुन्थ्यो? उहाँको मतलब, स्वर्गमा ख्रीष्टसँगै शासन गर्न नयाँ गरी जन्मनु आवश्यक छ भन्ने थियो। सरल भाषामा भन्ने हो भने, नयाँ जन्मको उद्देश्य स्वर्गमा शासन गर्न मानिसहरूको सीमित समूहलाई तयार पार्नु हो।
अहिलेसम्म हामीले बुझ्यौं कि नयाँ जन्म एकदमै महत्त्वपूर्ण छ, यो परमेश्वरले गराउनुहुन्छ र स्वर्गमा शासनको लागि एउटा समूह तयार पार्दै हुनुहुन्छ। तर वास्तवमै नयाँ जन्म कसरी हुन्छ? (w 09 4/1)
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
नयाँ जन्मको उद्देश्य स्वर्गमा शासन गर्न मानिसहरूको सीमित समूहलाई तयार पार्नु हो
[पृष्ठ ७-मा भएको चित्र]
येशू ख्रीष्ट र मानवजातिबाट छानिएका सहशासकहरूको एउटा समूह मिलेर परमेश्वरको राज्य बनेको छ
-
-
नयाँ जन्म—कसरी?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ जन्म—कसरी?
येशूले निकोदेमससित नयाँ जन्मको महत्त्व, कारण र उद्देश्यबारे मात्र होइन तर यो कसरी हुन्छ त्यसबारे पनि कुरा गर्नुभयो। उहाँले भन्नुभयो: “कोही पानी र आत्माले जन्मेन भने परमेश्वरको राज्यमा पस्नसक्तैन।” (यूहन्ना ३:५) त्यसैले कुनै मानिस पानी र आत्माले नयाँ गरी जन्मन्छ भन्न सकिन्छ। तर “पानी र आत्मा” भन्ने अभिव्यक्तिले केलाई संकेत गर्छ?
“पानी र आत्मा” के हुन्?
निकोदेमस एक यहूदी धर्मविद् भएकोले “परमेश्वरको आत्मा” अर्थात् मानिसहरूलाई उल्लेखनीय कार्य गर्न लगाउने परमेश्वरको सक्रिय शक्तिलाई हिब्रू धर्मशास्त्रमा कसरी प्रयोग गरिएको थियो त्यो कुरा तिनले राम्ररी बुझेको हुनुपर्छ भन्ने कुरामा कुनै शंका छैन। (उत्पत्ति ४१:३८; प्रस्थान ३१:३; १ शमूएल १०:६) तसर्थ येशूले “आत्मा” भन्ने शब्द चलाउनुहुँदा निकोदेमसले त्यो भनेको पवित्र आत्मा अर्थात् परमेश्वरको सक्रिय शक्ति हो भनेर बुझेको हुनुपर्छ।
येशूले पानी भन्नुको मतलब के थियो? निकोदेमससित गरेको कुराकानीको लगत्तै अघि र पछि लिपिबद्ध गरिएका घटनाहरूलाई विचार गर्नुहोस्। त्यसमा बप्तिस्मा दिने यूहन्ना र येशूका चेलाहरूले पानीद्वारा बप्तिस्मा दिइरहेका थिए भनी देखाइएको छ। (यूहन्ना १:१९, ३१; ३:२२; ४:१-३) यो कार्य यरूशलेममा चिरपरिचित हुन गयो। त्यसैले, येशूले पानीबारे कुरा गर्नुहुँदा निकोदेमसले बुझेको हुनुपर्छ कि उहाँले साधारण पानीको कुरा नभई बप्तिस्मा दिने पानीको कुरा गरिरहनुभएको थियो।a
“पवित्र आत्मा”-द्वारा बप्तिस्मा
‘पानीले जन्मने’ भनेको पानीद्वारा बप्तिस्मा लिनु हो भने ‘आत्माले जन्मने’ भनेको चाहिं के हो? निकोदेमस र येशूबीचको कुराकानीअघि बप्तिस्मा दिने यूहन्नाले बप्तिस्मा लिंदा पानीले मात्र होइन तर आत्माले पनि भूमिका खेल्छ भनेर घोषणा गरेका थिए। तिनले यसो भनेका थिए: “मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर [येशूले] तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।” (मर्कूस १:७, ८) सुसमाचार पुस्तकका लेखक मर्कूसले यस किसिमको बप्तिस्मा पहिलोचोटि भएकोबारे वर्णन गरे। तिनी लेख्छन्: “ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। औ पानीबाट उक्ली आउने बित्तिकै उहाँले स्वर्ग उघ्रिएको र आत्मालाई ढुकुरको रूपमा आफूमाथि उत्रँदै गरेका देख्नुभयो।” (मर्कूस १:९, १०) येशूलाई यर्दन नदीमा बप्तिस्मा दिंइदा उहाँको पानीद्वारा बप्तिस्मा भयो। अनि त्यतिबेला स्वर्गबाट आत्मा पाउँदा चाहिं पवित्र आत्माले बप्तिस्मा भयो।
बप्तिस्मा लिएको करिब तीन वर्षपछि येशूले चेलाहरूलाई यस्तो ढाडस दिनुभयो: “अबको थोरै दिनमा तिमीहरू पवित्र आत्माले बप्तिस्मा हुनेछौ।” (प्रेरित १:५) यो कहिले भयो?
इस्वी संवत् ३३ पेन्तिकोसको दिन येशूका करिब १२० जना चेला यरूशलेमको एउटा घरमा भेला भए। “अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा-चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, . . . अनि तिनीहरू सबै पवित्र आत्माले भरिए।” (प्रेरित २:१-४) त्यही दिन यरूशलेममा भएका अरूहरूलाई पानीद्वारा बप्तिस्मा लिन आग्रह गरियो। प्रेरित पत्रुसले भीडलाई यसो भने: “पश्चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” प्रतिक्रिया कस्तो थियो? “जस जसले तिनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।”—प्रेरित २:३८, ४१.
एउटै सिक्काका दुई पाटा
नयाँ जन्मबारे यी बप्तिस्माहरूले के प्रकट गर्छ? यो कि नयाँ जन्म दुई तरिकाले हुन्छ। याद गर्नुहोस्, येशूले पहिला पानीद्वारा बप्तिस्मा लिनुभयो। त्यसपछि पवित्र आत्मा पाउनुभयो। त्यसरी नै सुरु-सुरुतिरका चेलाहरूले पनि पहिला पानीद्वारा बप्तिस्मा लिए (केहीले बप्तिस्मा दिने यूहन्नाबाट लिए) अनि त्यसपछि पवित्र आत्मा पाए। (यूहन्ना १:२६-३६) त्यसैगरि, ३,००० नयाँ चेलाले पनि सुरुमा पानीद्वारा बप्तिस्मा लिए र त्यसपछि पवित्र आत्मा पाए।
इस्वी संवत् ३३ पेन्तिकोसमा भएको बप्तिस्मालाई मनमा राख्दा अहिले हाम्रो समयमा नयाँ जन्म कसरी हुन्छ भनेर अपेक्षा गर्न सक्छौं? त्यसरी नै जसरी येशूका प्रेरितहरू र सुरु-सुरुका चेलाहरूको पालामा भएको थियो। सर्वप्रथम, कुनै व्यक्तिले आफ्नो पापको पश्चात्ताप गर्छ, खराब बानी-बेहोरा त्याग्छ, यहोवाको उपासना र सेवा गर्न जीवन उहाँमा समर्पण गर्छ र त्यस समर्पणलाई पानीको बप्तिस्माद्वारा सार्वजनिक गर्छ। त्यसपछि, यदि यहोवाले तिनलाई आफ्नो राज्यमा शासन गर्न छान्नुभएको हो भने तिनी पवित्र आत्माद्वारा अभिषिक्त हुन्छन्। यी दुई तरिकामध्ये पहिलोमा (पानीद्वारा बप्तिस्माको लागि) व्यक्तिविशेषले नै कदम चाल्छ; दोस्रोमा (आत्माद्वारा बप्तिस्माको लागि) चाहिं परमेश्वरले। जब कसैले यी दुवै तरिकामा बप्तिस्मा लिन्छ तब उसले नयाँ जन्म अनुभव गर्छ।
तर, निकोदेमससितको कुराकानीमा येशूले किन ‘पानी र आत्माले जन्मने’ भन्ने अभिव्यक्ति प्रयोग गर्नुभएको? पानी र आत्माले बप्तिस्मा लिनेहरूको उल्लेखनीय परिवर्तन हुन्छ भन्ने कुरालाई जोड दिन। नयाँ जन्मको यस पक्षबारे अर्को लेखमा विचार गर्नेछौं।
(w 09 4/1)
[फुटनोट]
a यसैगरि, प्रेरित पत्रुसले पनि एक अवसरमा बप्तिस्माबारे यसो भनेका थिए: “कसले पानी मनाई गर्नसक्छ?”—प्रेरित १०:४७.
[पृष्ठ ९-मा भएको चित्र]
यूहन्नाले पश्चात्तापी इस्राएलीहरूलाई पानीद्वारा बप्तिस्मा दिए
-
-
नयाँ जन्म—यसको उपलब्धि?प्रहरीधरहरा—२००९ | मे १
-
-
नयाँ जन्म—यसको उपलब्धि?
पवित्र आत्माद्वारा बप्तिस्मा लिने कुरा गर्दा येशूले किन ‘आत्माले जन्मने’ भन्ने अभिव्यक्ति चलाउनुभयो? (यूहन्ना ३:५) “जन्म” शब्दलाई उक्तिको रूपमा चलाउँदा यसले “सुरुआत” भन्ने अर्थ दिन्छ। जस्तै, “एउटा नयाँ राष्ट्रको जन्म।” तसर्थ, “नयाँ जन्म” भन्ने पदावलीले “नयाँ सुरुआत”-लाई संकेत गर्छ। त्यसकारण, “जन्म” र “नयाँ जन्म” भन्ने उक्तिले परमेश्वर र पवित्र आत्माले बप्तिस्मा लिनेहरूबीचको सम्बन्धमा नयाँ सुरुआत हुन्छ भनेर प्रकाश पार्छ। सम्बन्धमा त्यस्तो पूर्ण परिवर्तन कसरी हुन्छ?
स्वर्गमा शासन गर्न मानिसजातिलाई परमेश्वरले कसरी तयार पार्नुहुन्छ त्यसबारे बुझाउन प्रेरित पावलले पारिवारिक जीवनको एउटा उदाहरण चलाएका थिए। तिनले आफ्नो समयतिरका ख्रीष्टियानहरूलाई तिनीहरूले “धर्मपुत्र” भएको अनुभव गर्नेछन् अनि सोही कारण परमेश्वरले तिनीहरूलाई “छोरा-छोरीलाईझैं” व्यवहार गर्नुहुनेछ भनेर लेखे। (गलाती ४:५; हिब्रू १२:७) कुनै व्यक्तिले पवित्र आत्माद्वारा बप्तिस्मा लिएपछि उसमा के-कस्तो परिवर्तन आउँछ, त्यसबारे बुझ्न धर्मपुत्रको उदाहरणले कसरी मदत गर्छ त्यसको लागि एकपटक फेरि जनजाति बच्चाहरूलाई भनेर खोलेको विद्यालयमा भर्ना हुन चाहने केटोको उदाहरणलाई विचार गर्नुहोस्।
धर्मपुत्र बनेपछिको परिवर्तन
उक्त उदाहरणमा त्यो केटो विद्यालयमा भर्ना हुन सक्दैन किनभने ऊ जनजाति बच्चा होइन। अब एकदिन ठूलो परिवर्तन आएको कल्पना गर्नुहोस्। एक जना जनजातिले उसलाई कानुनी तवरमै छोरा बनाउँछ। त्यसले त्यो केटोमा के असर पार्छ? हो, धर्मपुत्र बनेकोले उसले अब अरू जनजाति बच्चाहरूको जस्तै स्कूलमा भर्ना हुने लगायत अन्य अधिकार पाउन सक्छ। धर्मपुत्र बनेपछि उसको पूरै हैसियत बदलियो।
यसले नयाँ जन्मको अनुभव गर्नेहरूमा अझै महत्त्वपूर्ण तरिकामा के-के हुन्छ त्यो चित्रण गर्छ। केही समानताहरू विचार गर्नुहोस्। उक्त उदाहरणमा त्यो केटोलाई स्कूलमा ठाउँ दिइनेछ तर भर्ना हुनुपर्ने आवश्यकता पूरा गरेको छ भने मात्र अर्थात् जनजाति भएमा मात्र। तर, ऊ आफैले यो आश्यकता पूरा गर्न सक्दैन। त्यसैगरि, केही मानिसहरूलाई परमेश्वरको राज्य अर्थात् स्वर्गीय सरकारमा ठाउँ दिइनेछ तर तिनीहरूले भर्ना हुनको लागि आवश्यकता पूरा गरेका छन् भने मात्र। त्यो आवश्यकता हो: “नयाँ गरी जन्मनु”। तर तिनीहरूले त्यो आवश्यकता आफैले पूरा गर्न सक्दैनन् किनभने नयाँ जन्म परमेश्वरमा निर्भर गर्ने कुरा हो।
त्यो केटोको परिस्थितिमा केले परिवर्तन ल्यायो? धर्मपुत्र बनाउने कानुनी प्रक्रियाले। तर पक्कै पनि उक्त प्रक्रियाले त्यो केटोको स्वभावमा त परिवर्तन ल्याएन। धर्मपुत्र बनिसकेपछि पनि त्यो केटो पहिला जस्तो थियो त्यस्तै रह्यो। त्यसोभए तापनि कानुनी आवश्यकता पूरा गरिसकेपछि त्यो केटोको परिस्थितिमा चाहिं नयाँपन आयो। साँच्चै, उसले नयाँ सुरुआतको अनुभव गऱ्यो मानौं नयाँ जन्म। ऊ एक जना छोरा बन्यो जसले गर्दा उसलाई स्कूलमा भर्ना हुने र धर्मबुबाको परिवारको भाग हुने अधिकार दिइयो।
त्यसैगरि, यहोवाले पनि धर्मपुत्र बनाउन कानुनी प्रक्रिया अघि सार्नुभएर असिद्ध मानिसहरूको एउटा समूहको परिस्थितिमा परिवर्तन ल्याउनुभयो। त्यसै समूहका प्रेरित पावलले सँगी विश्वासीहरूलाई लेखे: “तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ।” (रोमी ८:१५, १६) हो, धर्मपुत्र बनाउने प्रक्रियाबाट ती ख्रीष्टियानहरू परमेश्वरको परिवारको भाग अर्थात् “परमेश्वरको सन्तान” बने।—१ यूहन्ना ३:१; २ कोरिन्थी ६:१८.
निश्चय नै, परमेश्वरले धर्मपुत्र बनाएकोले ती व्यक्तिहरूको स्वभावमा परिवर्तन आएन किनभने तिनीहरू असिद्ध नै थिए। (१ यूहन्ना १:८) तैपनि, पावलले अझै बताएझैं धर्मपुत्रको कानुनी आवश्यकता पूरा गरिसकेपछि तिनीहरूको हैसियत बदलियो। साथै, परमेश्वरको आत्माले ती धर्मपुत्रहरूलाई स्वर्गमा ख्रीष्टसितै बाँच्ने बलियो आशा दियो। (१ यूहन्ना ३:२) पवित्र आत्माबाट पाएको त्यो बलियो विश्वासले जीवनलाई हेर्ने तिनीहरूको दृष्टिकोणमा पूरै परिवर्तन ल्याइदियो। (२ कोरिन्थी १:२१, २२) हो, तिनीहरूले नयाँ सुरुआत अनुभव गरे। अर्को शब्दमा भन्नुपर्दा नयाँ जन्म।
परमेश्वरका धर्मपुत्रहरूबारे बाइबल यसो भन्छ: “तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।” (प्रकाश २०:६) ती धर्मपुत्रहरूले ख्रीष्टसितै परमेश्वरको राज्यमा अर्थात् स्वर्गीय सरकारमा राजाको स्थान पाउनेछन्। त्यो शासन “अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति” ‘स्वर्गमा तिनीहरूका निम्ति साँचिराखेको छ’ भनी प्रेरित पत्रुसले सँगी विश्वासीहरूलाई बताए। (१ पत्रुस १:३, ४) साँच्चै कत्ति बहुमूल्य हक!
तर, शासन गर्ने यस मामिलामा पनि प्रश्न उठ्छ। यदि नयाँ गरी जन्मनेहरूले स्वर्गमा राजाको रूपमा शासन गर्छन् भने तिनीहरूले कसमाथि शासन गर्नेछन्? यो प्रश्नबारे हामी यसपछिको लेखमा विचार गर्नेछौं।
(w 09 4/1)
[पृष्ठ १०-मा भएको चित्र]
धर्मपुत्र बनाउनेबारे पावलले के भने?
-