अध्याय १११
अन्तको दिनका चिन्ह
अहिले मंगलबार अपराह्न हो। येशू जैतुन डाँडामा बसेर तल मन्दिरतर्फ हेरिरहनुभएको बेलामा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास उहाँकहाँ सुटुक्क आउँछन्। तिनीहरूलाई मन्दिरको चिन्ता लागिरहेको छ किनकि येशूले भर्खरै मात्र भविष्यवाणी गर्नुभएको छ कि एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढल्नेछ।
जसै तिनीहरू येशू नजिक आउँछन्, तिनीहरूको मनमा अझ अरू कुरा खेलिरहेको जस्तो देखिन्छ। केही हप्ताअघि उहाँले आफ्नो “उपस्थिति”-बारे कुरा गर्नुभएको थियो, जब “मानिसको छोरा प्रकट” हुनेछ। अर्को अवसरमा चाहिं उहाँले तिनीहरूलाई “यस युगको आखिरी समय”-बारे भन्नुभएको थियो। अतः प्रेषितहरू बडो उत्सुक छन्।
तिनीहरू भन्छन्: “हामीलाई भन्नुहोस्, यी कुराहरू [यरूशलेम र यसको मन्दिरको विनाश] कहिले हुनेछन् अनि तपाईंको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” वास्तवमा तिनीहरूको प्रश्नको तीन भाग छ। सुरुमा तिनीहरू यरूशलेम र त्यहाँको मन्दिरको नाशबारे जान्न चाहन्छन्। त्यसपछि राज्य-शक्तिमा येशूको उपस्थितिबारे र अन्तमा यस युगको अन्तबारे जान्न चाहन्छन्।
आफ्नो लामो प्रत्युत्तरमा येशूले तिनीहरूको प्रश्नको यी तीनै भागको जवाफ दिनुहुन्छ। यहूदी व्यवस्थाको अन्त कहिले हुनेछ भनी जानकारी दिनका निम्ति उहाँले एउटा चिन्ह दिनुहुन्छ; तर उहाँले त्यति मात्र बताउनु हुन्न। उहाँले भविष्यका आफ्ना चेलाहरूलाई पनि सतर्क पार्ने एउटा चिन्ह दिनुहुन्छ जसबाट तिनीहरूले उहाँको उपस्थिति र यस युगको अन्तको समयमा बाँचिरहेका छन् भनी बुझ्न सकून्।
जसै समय बित्दै जान्छ, प्रेषितहरूले येशूको भविष्यवाणी पूरा भएको अनुभव गर्छन्। हो, उहाँले भविष्यवाणी गर्नुभएका कुराहरू तिनीहरूकै समयमा हुन थाल्छन्। त्यसैकारण ३७ वर्ष पछिसम्म जीवित ख्रीष्टियनहरू इस्वी संवत् ७० मा मन्दिरसहित यहूदी व्यवस्था नाश हुँदा छक्क पर्दैनन्।
तथापि इस्वी संवत् ७० मा ख्रीष्टको उपस्थिति भएन। राज्यशक्तिमा उहाँको उपस्थिति धेरै पछि हुन्छ। तर कहिले? येशूको भविष्यवाणीमाथि विचार गऱ्यौं भने यसबारे जानकारी पाइन्छ।
येशू भविष्यवाणी गर्नुहुन्छ कि “युद्धको कोलाहल अनि युद्धको खबर” सुनिनेछ। उहाँ भन्नुहुन्छ: “जातिको विरुद्धमा जाति . . . उठ्नेछ” अनि अनिकाल, भूकम्प र महामारी हुनेछ। उहाँका चेलाहरू घृणाका पात्रहरू हुनेछन् र मारिनेछन्। झूटा भविष्यवक्ताहरू देखा पर्नेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढ्नेछ र धेरै जनाको प्रेम सेलाएर जानेछ। तर यसको साथसाथै साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।
इस्वी संवत् ७० मा यरूशलेमको नाश हुनुभन्दा पहिले येशूको भविष्यवाणी सीमित रूपमा मात्र पूरा भए तापनि त्यसको प्रमुख पूर्ति येशूको उपस्थिति र यस युगको आखिरी समयमा हुन्छ। सन् १९१४ सालदेखि संसारको घटनाचक्रलाई राम्ररी नियालेर हेऱ्यौं भने येशूको महत्त्वपूर्ण भविष्यवाणी विशेष रूपमा त्यही सालदेखि पूरा भएको रहेछ भनी स्पष्ट हुन्छ।
“उजाड पार्ने घृणित कुरा” देखा पर्ने विषय पनि येशूले दिनुभएको चिन्हको एउटा अर्को भाग हो। इस्वी संवत् ६६ मा यो घृणित कुरा यरूशलेमलाई ‘घेरा हाल्ने’ र मन्दिरको पर्खाललाई कमजोर पार्ने रोमी सैनिकहरूको रूपमा देखा पर्छन्। त्यो “घृणित कुरा” आफू खडा हुन नहुने ठाउँमा खडा भइरहेको छ।
चिन्हको प्रमुख पूर्तिस्वरूप राष्ट्र संघ (लीग अफ नेसन्स्) र त्यसको उत्तराधिकारी संयुक्त राष्ट्र सङ्घ नै त्यो घृणित कुरा हो। विश्वशान्तिको नाममा खडा गरिएको यो सङ्गठनलाई चर्चजगत्ले परमेश्वरको राज्यलाई दिनुपर्ने मान्यता दिएका छन्। कस्तो घृणास्पद कुरा! यसकारण समयमा संयुक्त राष्ट्र सङ्घमा सम्मिलित राजनैतिक शक्तिहरू नै चर्चजगत्को [प्रतीकात्मक यरूशलेमको] विरुद्धमा जाइलाग्नेछन् र त्यसलाई उजाड पार्नेछन्।
येशू यसप्रकार भविष्यवाणी गर्नुहुन्छ: “त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ, जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।” इस्वी संवत् ७० मा यरूशलेमको सर्वनाश वास्तवमा एउटा महासङ्कष्ट नै हो किनकि त्यसबेला पनि दस लाखभन्दा बढी मानिस मारिए भन्ने रिपोर्ट गरिएको छ। येशूको भविष्यवाणीको यो भागको पूर्ति अझ व्यापक हुनेछ।
अन्तको दिनमा आत्मविश्वास
मङ्गलबार, नीसान ११ को दिन जसै समाप्त हुन थाल्छ, येशू आफ्ना प्रेषितहरूसित राज्य शक्तिमा आफ्नो उपस्थिति र यस युगको अन्तको चिन्हबारे छलफल कायम राख्नुहुन्छ। झूटा ख्रीष्टहरूका पछि नलाग्नू भनी तिनीहरूलाई उहाँ चेतावनी दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हुन सक्छ भने चुनिएका जनहरूलाई समेत बहकाउन” प्रयत्न गरिनेछ। तर दूरदर्शी चीलहरूजस्तै चुनिएका जनहरू साँचो ख्रीष्टसित उहाँको अदृश्य उपस्थितिको बेलामा, जहाँ परमेश्वरले दिने भोजन हुनेछ, त्यहीं जम्मा हुनेछन्। तिनीहरू बहकिने छैनन् न ता कुनै झूटा ख्रीष्टसित एकसाथ जम्मा हुनेछन्।
झूटा ख्रीष्टहरू मानिसको आँखाले देख्नेगरि मात्र उपस्थित हुन सक्छन्। त्यसको विपरीत येशूको उपस्थिति अदृश्य हुनेछ। यो महासङ्कष्ट सुरु भएपछि “सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन” भनी येशू भन्नुहुन्छ। हो, मानव अस्तित्वको त्यो सबैभन्दा अन्धकारमय समय हुनेछ। दिउँसै सूर्य अँध्यारो भएजस्तै र राती चन्द्रमाले उज्यालो नदिएजस्तै हुनेछ।
येशू अगाडि भन्नुहुन्छ: “आकाशका शक्तिहरू डगमगाउनेछन्।” यसप्रकार उहाँ सङ्केत दिंदै हुनुहुन्छ कि आकाशले केही अनिष्ट हुने सङ्केत दिनेछ। मानव इतिहासमा पहिला कहिल्यै अनुभव नगरिएको भय र हिंसा हुनेछ।
येशू भन्नुहुन्छ, यसले गर्दा “समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्।” वास्तवमा मानव अस्तित्वको यो सबैभन्दा अन्धकारमय काल टुङ्गिनै लाग्दा “मानिसको छोराको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्।”
तर यस दुष्ट युगलाई नष्ट गर्न ‘मानिसको छोरा शक्तिसहित आउँदा’ सबैले शोक गर्नेछैनन्। “चुन्नुभएका जनहरू” अर्थात् ख्रीष्टसँग उहाँको स्वर्गीय राज्यमा सहभागी हुने १,४४,००० ले विलाप गर्नेछैनन्, न त तिनीहरूका साथीहरूले नै विलाप गर्नेछन् जसलाई येशूले केही समयअघि “अरू भेडा” भन्नुभएको थियो। मानव इतिहासको सबैभन्दा अन्धकारमय समयमा बसे तापनि येशूले प्रदान गर्नुभएको यो प्रोत्साहनलाई तिनीहरू स्वीकार्छन्: “यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ, किनकि तिमीहरूको छुटकारा नजिक आउँदैछ।”
अन्तको दिनमा बाँच्ने उहाँका चेलाहरूले अब चाँडै अन्त हुनेछ भनी थाह लगाउन सकून् भनेर येशू यो दृष्टान्त चलाउनुहुन्छ: “अन्जीरको रूख र अरू सबै रूखहरूलाई हेर: तिनीहरूमा पालुवा लागिसकेको देखेपछि ग्रीष्म ऋतु नजिकै रहेछ भनेर तिमीहरूले थाह पाउँछौ। त्यसैगरि तिमीहरू पनि जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनेर जान। म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।”
यसप्रकार चेलाहरूले चिन्हका विभिन्न पक्ष देख्दा त्यस युगको अन्त नजिक छ र परमेश्वरको राज्यले अब चाँडै नै सब दुष्टता हटाउनेछ भनी तिनीहरूले बुझ्नुपर्छ। यथार्थमा येशूले गर्नुभएका भविष्यवाणीका सबै कुराहरू पूरा भएको देख्ने मानिसहरूको जीवनकालमा नै अन्त आउनेछ! अन्तको दिनको यस्तो महत्त्वपूर्ण घडीमा बाँच्ने चेलाहरूलाई सल्लाह दिंदै येशू भन्नुहुन्छ:
“तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक पासोझैं आइपर्नेछ। किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हर घडी उत्कट बिन्ती चढाउँदै जागा रहो।”
बुद्धिमान् र मूर्ख कन्याहरू
राज्य-शक्तिमा आफ्नो उपस्थितिको चिन्हका लागि आफ्ना प्रेषितहरूले गरेका अनुरोधको जवाफ येशू दिंदै हुनुहुन्छ। अब तीन वटा दृष्टान्तद्वारा चिन्हका अझ अरू विशेषताहरू उहाँ बताउनुहुन्छ।
उहाँको उपस्थितिमा जीवित सबैले ती प्रत्येक दृष्टान्तको पूर्ति अनुभव गर्नेछन्। यी शब्दहरूद्वारा उहाँ आफ्नो पहिलो दृष्टान्त सुरु गर्नुहुन्छ: “स्वर्गको राज्य दस कन्याजस्तो हो, जो आ-आफ्नो दियो लिएर दुलहालाई भेट्न निस्के। तिनीहरूमध्ये पाँच जना निर्बुद्धि अनि पाँच जना बुद्धिमती थिए।”
“स्वर्गको राज्य दस कन्याजस्तो हो” भन्ने अभिव्यक्तिबाट येशूले यो भन्न खोज्नुभएको होइन कि स्वर्गीय राज्य प्राप्त गर्ने व्यक्तिहरू आधा जति निर्बुद्धि र आधाचाहिं बुद्धिमान् हुनेछन्! तर उहाँको भनाइको अर्थ यो हो कि स्वर्गको राज्यसँग सम्बन्धित केही कुराहरूलाई त्यस्ता-त्यस्ता कुराहरूले सङ्केत गर्नेछ।
दस कन्याहरूले स्वर्गीय राज्यमा प्रवेश पाउने अथवा प्रवेश पाउने दाबी गर्ने ती सबै ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्छ। ख्रीष्टियन मण्डलीलाई पुनर्जीवित हुनुभएका महिमित दुलहा येशू ख्रीष्टसँग विवाह गरिदिने प्रतिज्ञा इस्वी संवत् ३३ को पेन्तिकोसको दिनमा गरिएको थियो। तर विवाहचाहिं भविष्यमा स्वर्गमा कहिले हुनेछ भनेर समय तोकिएको थिएन।
यस दृष्टान्तमा ती दस कन्याहरू दुलहाको स्वागत गर्न र विवाहको जन्तीमा सामेल हुनका निम्ति बाहिर निस्किन्छन्। दुलहा आएपछि जन्ती हिंड्ने बाटोलाई बत्ती बालेर तिनीहरूले उज्यालो पार्नेछन्। यसप्रकार दुलहीको निम्ति तयार पारिएको घरमा दुलहीलाई ल्याउँदा तिनीहरूले दुलहाको सम्मान गरेको हुनेछ। तथापि येशू व्याख्या गर्नुहुन्छ: “निर्बुद्धिहरूले आ-आफ्नो दियो लगे तर तेल भने लगेनन्। तर बुद्धिमतीहरूले चाहिं दियोसँगसँगै आ-आफ्नो भाँडोमा तेल पनि लगे। दुलहाले बियाँलो गर्दा तिनीहरू सबै निद्राले झुल्न थाले र भुसुक्कै निदाए।”
दुलहा आउन धेरै बियाँलो भएको कुराबाट यो बोध हुन्छ कि राजाको रूपमा शासन गर्न ख्रीष्ट धेरै समयपछि मात्र उपस्थित हुनुहुने थियो। आखिरमा उहाँ सन् १९१४ सालमा आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ। त्योभन्दा अघिको लामो रातको दौडान सबै कन्याहरू निदाउँछन्। यसरी निदाएकोमा तिनीहरूको निन्दा गरिंदैन। बरु ती निर्बुद्धि कन्याहरूले आफूसित तेल नलगेकोमा तिनीहरूको निन्दा गरिन्छ। दुलहा आउनुभन्दा अघि ती कन्याहरू कसरी जाग्छन् भनी येशू व्याख्या गर्नुहुन्छ: “मध्यरातमा यस्तो सोर सुनियो: ‘दुलहा आइपुग्नै लागे! तिनलाई भेट्न बाहिर आऊ।’ तब ती सबै कन्याहरू उठे र आ-आफ्नो दियो ठीक पारे। निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेल अलिकता देओ न, किनभने हाम्रो दियो निभ्नै आँट्यो।’ बुद्धिमतीहरूले यस्तो जवाफ दिए: ‘तिमीहरूलाई दियौं भने हामीलाई नपुग्ला। बरु तिमीहरू आफै पसलेकहाँ गएर आफ्नो लागि तेल किन।’ ”
तेल त्यस चीजको प्रतीक हो जसले साँचो ख्रीष्टियनहरूलाई बत्तीजस्तै चम्काइराख्छ। त्यो चीज, ख्रीष्टियनहरूले बलियोसित पक्रेर राख्ने परमेश्वरको प्रेरित वचनका साथै यस वचनलाई बुझ्न मदत दिने पवित्र शक्ति हो। प्रतीकात्मक तेल आफूसित भएकोले बुद्धिमती कन्याहरूले विवाह-भोजका जन्ती आउँदा दुलहालाई बत्ती बालेर स्वागत गर्न सक्छन्। तर निर्बुद्धि कन्या वर्गसित आफ्नो भाँडामा त्यो आवश्यक प्रतीकात्मक तेल नै छैन। त्यसकारण के हुन्छ, त्यसको वर्णन येशू गर्नुहुन्छ:
“[मूर्ख कन्याहरू तेल किन्न] पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सामेल हुन तिनीसँगै भित्र पसे अनि ढोका बन्द भयो। पछि, बाँकी पाँच कन्या पनि आइपुगे र यसो भन्न थाले: ‘दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुस् न!’ तर तिनले यस्तो जवाफ दिए: ‘म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैन।’ ”
ख्रीष्ट आफ्नो स्वर्गीय राज्यमा आएपछि बुद्धिमती कन्या वर्गका साँचो अभिषिक्त ख्रीष्टियनहरू, फर्केर आएका दुलहाको प्रशंसा गर्दै यस अन्धकारमय संसारमा ज्योति फैलाउने सुअवसरप्रति जागरूक हुन्छन्। तर ती निर्बुद्धि कन्याहरूको प्रतिनिधित्व गर्नेहरूचाहिं प्रशंसा गर्दै स्वागत गर्न तयार छैनन्। अतः समय आउँदा स्वर्गमा विवाहको भोजमा तिनीहरूका निम्ति ख्रीष्टले ढोका खोल्नु हुन्न। उहाँले तिनीहरूलाई संसारको भयङ्कर अन्धकारमय रातमा अन्य कुकर्मीहरूसँगै नाश हुनका लागि बाहिर छाडिदिनुहुन्छ। येशू आफ्नो कुरा टुङ्ग्याउँदै भन्नुहुन्छ: “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”
तोडाको दृष्टान्त
जैतुन डाँडामा येशू आफ्ना प्रेषितहरूलाई अर्को दृष्टान्त बताएर छलफल जारी राख्नुहुन्छ। तीन वटा दृष्टान्तको शृङ्खलामा यो दोस्रो हो। केही दिनअघि उहाँ यरिहोमा हुँदा राज्य आउन निकै समय छ भनी बुझाउन उहाँले चाँदीको टुक्राको दृष्टान्त बताउनुभएको थियो। अब उहाँले अहिले बताउन खोज्नुभएको दृष्टान्त त्यस दृष्टान्तसँग धेरै कुरामा मिल्दोजुल्दो भए तापनि यसले ख्रीष्ट राजाको रूपमा उपस्थित हुने समयमा हुने गतिविधिलाई वर्णन गर्छ। उहाँका चेलाहरू पृथ्वीमा होउन्जेल तिनीहरूले उहाँका “सम्पत्ति” बढाउने काम गर्नुपर्छ भनी यस दृष्टान्तले दर्साउँछ।
येशू भन्नुहुन्छ: “स्वर्गको राज्य [अर्थात् त्यस राज्यसित सम्बन्धित परिस्थिति] एक जना मानिसजस्तो हो, जसले परदेश जानुअघि आफ्ना दासहरूलाई बोलायो र आफ्नो सम्पत्ति जिम्मा लगायो।” येशू ती मानिस हुनुहुन्छ जसले स्वर्ग जानुभन्दा पहिले आफ्ना दासहरू अर्थात् स्वर्गीय राज्यमा प्रवेश पाउने आशा भएका चेलाहरूलाई बोलाएर आफ्ना सम्पत्ति जिम्मा लगाउनुहुन्छ। यी सम्पत्ति भौतिक कुराहरू होइनन्। यसले तयार पारिएको एउटा क्षेत्रलाई सङ्केत गर्छ जहाँ अझ अरू चेलाहरू आउन उहाँले सम्भव बनाउनुभएको छ।
स्वर्ग जानुभन्दा केही समय पहिले येशूले आफ्नो सम्पत्ति चेलाहरूको जिम्मा लगाउनुहुन्छ। उहाँ त्यो कसरी गर्नुहुन्छ? पृथ्वीको पल्लो छेउसम्म राज्यको सुसमाचार प्रचार गर्दै त्यो तयार पारिएको क्षेत्रमा काम गरिरहने निर्देशन दिएर। येशू भन्नुहुन्छ: “उसले आफ्ना दासहरूको क्षमताअनुसार पहिलोलाई पाँच तोडा, दोस्रोलाई दुई तोडा अनि तेस्रोलाई एक तोडा चाँदीका सिक्काहरू दियो र परदेशतिर लाग्यो।”
आठ वटा तोडा अर्थात् येशूका सम्पत्ति—यसप्रकार दासहरूको योग्यताअनुसार अर्थात् परमेश्वरको सेवामा तिनीहरूले गर्न सक्ने क्षमताअनुसार बाँडिन्छ। दासहरूको अर्थ चेलाहरूका विभिन्न वर्ग हुन्। प्रथम शताब्दीमा पाँच तोडा पाउनेहरू स्पष्टतया उहाँका प्रेषितहरू थिए। पाँच र दुई तोडा पाउने दासले राज्यको प्रचार र चेला बनाउने कामद्वारा आफूले पाएका तोडाहरूलाई दोब्बर पारे भनी येशू भन्नुहुन्छ। तर एक तोडा पाउनेले चाहिं जमिन खनेर तोडालाई लुकाइराख्यो।
येशू अगाडि भन्नुहुन्छ: “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो।” लगभग १,९०० वर्ष पछि अर्थात् २० औं शताब्दीमा मात्र ख्रीष्ट हिसाबकिताब माग्न फर्किनुभयो। यसकारण यो वास्तवमा “धेरै समयपछि”-को कुरा हो। अनि येशू व्याख्या गर्नुहुन्छ:
“पाँच तोडा पाउने दास थप पाँच तोडा लिएर अगाडि आयो र यसो भन्यो: ‘मालिक, हजुरले मलाई पाँच तोडा दिनुभएको थियो। हेर्नुस्, मैले अरू पाँच तोडा कमाएँ।’ मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्वासी दास! तिमी थोरै कुरामा विश्वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’ ” दुई तोडा पाउने दासले पनि आफ्नो तोडालाई दोब्बर पाऱ्यो र त्यसले पनि त्यसै प्रकारको स्याबासी र इनाम पायो।
तथापि यी विश्वासी दासहरू कसरी आफ्ना मालिकसँगै रमाउँछन्? स्वर्गमा हुनुहुने आफ्ना बुबाकहाँ गएर राज्याधिकार पाउँदा तिनीहरूका मालिक येशू ख्रीष्ट रमाउँछन्। आधुनिक समयका विश्वासी दासहरू पनि राज्यसम्बन्धी जिम्मेवारीहरू पाएकोमा ठूलो खुसी अनुभव गर्छन् र आफ्नो पार्थिव जीवन समाप्त गरिसकेपछि पुनर्जीवित भएर स्वर्गीय राज्यमा उच्चतम खुसीको स्वाद लिनेछन्। तर तेस्रो दास नि?
त्यस दासले यस्तो गुनासो गर्छ: ‘मालिक, तपाईं कठोर मानिस हुनुहुन्छ भनेर मलाई थाह थियो।’ “त्यसैले मलाई डर लाग्यो र गएर तपाईंको तोडा जमिनमुनि लुकाएँ। तपाईंको तोडा तपाईं नै लिनुस्।” प्रचार गर्ने र चेला बनाउने कामका लागि तयार गरिएको क्षेत्रमा काम गर्न त्यसले जानाजानी इन्कार गऱ्यो। त्यसकारण मालिकले त्यसलाई “दुष्ट र अल्छे” भन्छ र यस्तो सजाय सुनाउँछ: “त्यससित भएको तोडा खोसेर . . . त्यो निकम्मा दासलाई बाहिर अन्धकारमा फालिदेओ। त्यहाँ त्यसको रोदन अनि वेदनाको चीत्कार हुनेछ।” बाहिर फालिने यो दुष्ट दास वर्ग परमेश्वरबाट पाइने आनन्दबाट वञ्चित हुन्छन्।
ख्रीष्टका अनुयायी हुने दाबी गर्ने सबैलाई यसले एउटा गम्भीर पाठ सिकाउँछ। उहाँबाट स्याबासी र इनाम पाउने अनि बाहिर नाश हुनका निम्ति नफालिने हो भने प्रचारकार्यमा पूर्ण रूपले भाग लिएर स्वर्गमा बस्नुहुने आफ्नो मालिकको सम्पत्ति बढाउने काम गर्नुपर्छ। यस कार्यमा के तपाईं लगनशील हुनुहुन्छ?
ख्रीष्ट राज्य शक्तिमा आउनुहुँदा
येशू अझ पनि जैतुन डाँडामा आफ्ना प्रेषितहरूसित हुनुहुन्छ। उहाँको उपस्थिति र युगको आखिरी समयको चिन्हबारे तिनीहरूको अनुरोधको जवाफस्वरूप येशू अब अन्तिम अर्थात् तेस्रो दृष्टान्त बताउँदै हुनुहुन्छ। येशू सुरु गर्नुहुन्छ: “जब मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।”
यस युगको अन्त हुनै लाग्दा उहाँ आउनुहुनेछ। तर किन? येशू व्याख्या गर्नुहुन्छ: “उसको सामुन्ने सबै जातिहरू भेला गराइनेछन् अनि गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। अनि उसले भेडालाई आफ्नो दाहिने हाततिर र बाख्रालाई देब्रे हाततिर राख्नेछ।”
अनुग्रह प्राप्त गर्ने पक्षपट्टि छुट्याइएकाहरूलाई के हुनेछ भनी वर्णन गर्दै येशू भन्नुहुन्छ: “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्नेछ: ‘आओ, मेरो बुबाको आशिष् पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।’ ” यस दृष्टान्तका भेडाहरूले स्वर्गमा ख्रीष्टसित शासन गर्ने होइन तर पार्थिव प्रजाको रूपमा राज्यको अधिकार पाउनेछन्। मानवजातिको छुटकाराका निम्ति परमेश्वरले गर्नुभएको प्रबन्धबाट फाइदा उठाउन सक्ने छोराछोरी आदम र हव्वाले जन्माएको समयदेखि नै “संसारको प्रारम्भ” भएको हो।
तर भेडालाई किन राजाको दाहिने हातपट्टि राखिन्छ? राजा जवाफ दिनुहुन्छ: “किनकि म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्यौ; नाङ्गो थिएँ, तिमीहरूले मलाई लुगा लगाइदियौ। म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्न आयौ।”
भेडाहरू पृथ्वीमा भएकाले स्वर्गमा हुनुहुने आफ्ना राजाका निम्ति यसप्रकारका असल कामहरू तिनीहरूले कसरी गर्न सके होलान् भनी तिनीहरू जान्न चाहन्छन्। तिनीहरू सोध्छन्: “हे प्रभु, हामीले तपाईंलाई कहिले भोको देख्यौं र खान दियौं अनि कहिले तिर्खाएको देख्यौं र पिउन दियौं? हामीले तपाईंलाई कहिले पराई भेट्टायौं र तपाईंको सत्कार गऱ्यौं अनि कहिले नाङ्गो देख्यौं र तपाईंलाई लुगा लगाइदियौं? हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौं र तपाईंलाई भेट्न आयौं?”
राजा जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ।” स्वर्गमा उहाँसँग शासन गर्ने १,४४,००० मध्येबाट पृथ्वीमा रहेकाहरू नै येशूका भाइहरू हुन्। येशू भन्नुहुन्छ कि तिनीहरूलाई असल गर्नेहरूले उहाँलाई नै असल गरेसरह हुनेछ।
त्यसपछि राजाले बाख्राहरूलाई भन्नुहुन्छ: “हे श्रापितहरू हो, मबाट पर हटिहाल र सधैं बलिरहने आगोमा जाओ, जो दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ। किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।”
तर बाख्राहरू गुनासो गर्छन्: “हे प्रभु, हामीले तपाईंलाई कहिले भोको वा तिर्खाएको वा पराई वा नाङ्गो वा बिरामी वा झ्यालखानामा देख्यौं र पनि तपाईंको सेवा गरेनौं?” जुन आधारमा भेडाहरूले अनुकूल इन्साफ पाउँछन्, सोही आधारमा बाख्राहरूले त्यसको प्रतिकूल इन्साफ पाउँछन्। येशू जवाफ दिनुहुन्छ: “तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये [मेरा भाइहरूमध्ये] एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।”
महासङ्कष्टमा यो दुष्ट युगको अन्त हुनुभन्दा अघि येशू राज्य-शक्तिमा उपस्थित हुने समयमा इन्साफको समय पनि पर्नेछ। बाख्राहरू “सधैंका लागि नाश हुनेछन् तर परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूले [अर्थात् भेडाले] भने अनन्त जीवन पाउनेछन्।” मत्ती २४:२–२५:४६; १३:४०, ४९; मर्कूस १३:३-३७; लूका २१:७-३६; १९:४३, ४४; १७:२०-३०; २ तिमोथी ३:१-५; यूहन्ना १०:१६.
▪ के कारणले प्रेषितहरू प्रश्न सोध्छन् तर तिनीहरूको मनमा अरू के कुरा छन्?
▪ इस्वी संवत् ७० मा येशूको भविष्यवाणीको कुन भाग पूरा हुन्छ तर केचाहिं त्यसबेला हुँदैन?
▪ येशूको भविष्यवाणीको प्रथम पूर्ति कहिले हुन्छ तर प्रमुख पूर्तिचाहिं कहिले हुनेछ?
▪ प्रथम र अन्तिम पूर्तिको समयमा घृणित कुरा के हो?
▪ यरूशलेमको नाश नै महासङ्कष्टको अन्तिम पूर्ति किन होइन?
▪ ख्रीष्टको उपस्थितिको बेलामा संसारको परिस्थिति कस्तो हुन्छ?
▪ कहिले “पृथ्वीका सबै कुलले शोक गर्दै आफ्नो छाती पिट्नेछन्” तर ख्रीष्टका अनुयायीहरूचाहिं के गरिरहेका हुनेछन्?
▪ अन्त नजिक छ भनी बुझाउन येशूले आफ्ना भावी चेलाहरूलाई कुन दृष्टान्त बताउनुहुन्छ?
▪ अन्तको दिनमा बाँच्ने आफ्ना चेलाहरूका निम्ति येशू कस्तो सल्लाह दिनुहुन्छ?
▪ दस कन्याहरूले कसलाई सङ्केत गर्छन्?
▪ ख्रीष्टियन मण्डलीलाई दुलहासँग विवाह गरिदिने प्रतिज्ञा कति बेला गरिएको थियो तर आफ्नी दुलहीलाई विवाह-भोजमा लैजान दुलहा कुन बेला आउँछन्?
▪ तेलले कुन चीजको प्रतिनिधित्व गर्छ र त्यो आफूसित भएकोले बुद्धिमती कन्याहरूले के गर्न सक्छन्?
▪ विवाह-भोज कहाँ हुन्छ?
▪ निर्बुद्धि कन्याहरूले कुन इनाम गुमाउँछन् र तिनीहरूको के दशा हुन्छ?
▪ तोडाको दृष्टान्तले के पाठ सिकाउँछ?
▪ दासहरू को हुन् र तिनीहरूको जिम्मामा दिइएका सम्पत्ति के हुन्?
▪ हिसाबकिताब माग्न मालिक कहिले आउँछन् र उनले के पाउँछन्?
▪ विश्वासी दासहरूले प्राप्त गर्ने रमाहट के हो र दुष्ट तेस्रो नोकरलाई के हुन्छ?
▪ ख्रीष्टको उपस्थितिको दौडान उहाँले कस्तो इन्साफको काम गर्नुहुन्छ?
▪ भेडाहरूले राज्यको अधिकार पाउनुको अर्थ के हो?
▪ “संसारको प्रारम्भ” कहिलेदेखि भयो?
▪ मानिसहरूलाई कुन आधारमा भेडा अथवा बाख्रा भनी इन्साफ गरिनेछ?