कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण कायम राख्नु
१ प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूलाई “समय कम भएको” हुँदा नअल्मलिन आग्रह गरे। (१ कोरि. ७:२९) यस रीतिरिवाजको अन्त नजिकिंदै जाँदा हामीले ‘पहिले परमेश्वरको राज्य र धार्मिकता खोजी गर्नु’ र ‘समयको अवसरलाई विचार गर्नु’ नितान्त आवश्यक छ! समय बहुमूल्य छ।—मत्ती ६:३३; एफि. ५:१५, १६.
२ निकै समय बचत हुने भएकोले वैज्ञानिक प्रविधिको गुनगान गरिन्छ। उदाहरणका लागि, कम्प्युटरको एउटै मात्र स्विच थिच्दा पनि त्यस कम्प्युटर प्रयोग गर्ने व्यक्तिले विभिन्न जानकारीहरूका भण्डार तत्कालै खोलिएको पाउँछ। अरू माध्यमबाट घण्टौं वा हप्तौं लाग्ने कुराहरू कम्प्युटरमा केही सेकेण्डभित्रै पूरा गर्न सकिन्छ। उचित तरिकाले चलाइएको खण्डमा ती मदतकारी औजार साबित हुनसक्छन्।
३ के यसले साँच्चै समय बचत गर्नेछ?: अर्कोतिर हेर्ने हो भने, यस्ता प्रविधिहरू एकमुष्ठ रकम वा निकै समय खर्च नगरी त्यसै प्रयोग गर्न सकिन्न। कम्प्युटरलाई कुनै कुनै काम कसरी गराउने हो, त्यो सिक्न घण्टौं लाग्नसक्छ। यसको अतिरिक्त यसप्रकारको प्रविधिमै लग्गू हुने मानिसले अन्य असल काममा खर्च गर्नुपर्ने समय पनि बरबाद गरिरहेको हुनसक्छ। त्यसकारण ‘बुद्धिमान मानिसले जस्तो समयको अवसरलाई विचार गरेर’ हिंड्न प्रेरित पावलले दिएको सल्लाहमा बिथोलित सिद्धान्तलाई ध्यानमा राख्ने हो भने हामी सन्तुलित हुनैपर्छ।—हेर्नुहोस् १ कोरिन्थी ७:३१.
४ मण्डलीको अभिलेख राख्न राम्रै विचारधारा लिएर केही व्यक्तिहरूले कम्प्युटर कार्यक्रमहरू निर्माण गरेका छन्। हुन त आफ्नो कम्प्युटरको प्रयोग कसरी गर्ने, त्यो निर्णय व्यक्ति स्वयंको हो। तथापि, मण्डलीको अभिलेख राख्न फारामहरू नै उपलब्ध गराइएका छन्। यसकारण केटाकेटी वा अख्तियारप्राप्त नभएका मानिसहरूले पनि कम्प्युटरहरू चलाउने भएको हुँदा ती अभिलेखहरू कम्प्युटरहरूमा राख्नु हुँदैन। मण्डलीका सम्पूर्ण अभिलेखहरू—लेखा रिपोर्ट, मण्डलीका प्रकाशक अभिलेख कार्ड तथा त्यस्तै अन्य अभिलेखहरू सोसाइटीले उपलब्ध गराएको फारामहरूमा राख्नुपर्छ र मण्डलीका यी फारामहरूसम्बन्धी कुनै पनि जानकारी कम्प्युटरमा थन्काएर राख्नु हुँदैन। यसप्रकार मण्डलीका गोप्य अभिलेखहरू सुरक्षित हुनेछन्।
५ जिम्मेवार निरीक्षकहरूले ईश्वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभाको लागि निर्दिष्ट कार्यभार बनाउँदा विवेकी हुनुपर्छ। कुन चाहिं विशेष भागमा कस्तो विषयवस्तु ढाक्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु खाँचो छ। उदाहरणका लागि, पाठशालामा कुनै कुनै विषयवस्तु जुनसुकै विद्यार्थीलाई गर्न लगाउनु उचित नहुनसक्छ। त्यो विषयवस्तु प्रस्तुत गर्नुको उद्देश्य, व्यक्तिविशेषको योग्यता र त्यसको प्रकृतिलाई विचार गर्नुपर्ने हुन्छ। यसको निर्णय कम्प्युटरले गरोस् भनेर चुपो लागेर बस्नु हुँदैन।
६ एक जना भाइलाई मण्डलीको सभामा कुनै भाग तयार गरेर प्रस्तुत गर्न दिइएको छ भने अरूले तयार पारिदिएको विषयवस्तुमाथि भर पर्नु हुँदैन। एक जना भाइसित कम्प्युटर छ भने तिनले त्यसमा रूपरेखाको विषयवस्तु अनुसन्धान गर्न छिटो तथा सफासित टाइप पनि गर्नसक्छन्। तर यसो हुँदैमा आफैले समय लगाएर अनि प्रयत्न गरेर तयार गर्नुपर्ने निर्दिष्ट कार्यभार त्यस भाइलाई गरिदिन आग्रह गर्नु हुँदैन। जिम्मेवार मसीहीहरूले आफ्नो मण्डलीका वा अन्य मण्डलीहरूका कसैको निम्ति बाइबल भाषणहरू अथवा सभामा प्रस्तुत गर्नुपर्ने कुनै भाग तयार पारिदिने र ती उपलब्ध गराउने दुस्साहस गर्दैनन्। तथापि, थोरै समयमै बहुमूल्य अनुसन्धान गर्न कम्प्युटर र सीडी-रममा सोसाइटीको वाचटावर लाइब्रेरी (प्रहरीधरहरा पुस्तकालय) हुनु प्रभावकारी औजार हुनसक्छ।—अप्रिल २२, १९९४ अवेक! मा पृष्ठ २३ को पेटी हेर्नुहोस्।
७ कम्प्युटर कार्यक्रम, सूची तथा त्यससित सम्बन्धित कागजपत्र पुनः उत्पादन गरेर भाइबहिनीहरूलाई वितरण गर्नु अनि सेवा सभा तथा ईश्वरतान्त्रिक सेवकाई पाठशालामा पाएको भाग पनि विद्युतीय प्रणाली वा अन्य तरिकाबाट तयार गरेर वितरण गर्नुभन्दा स्थानीय लाभलाई विचार गर्दै भाइहरूले आफ्नो विषयवस्तु आफैले तयार गर्नु अक्सर उत्तम हुन्छ। (१ तिमो. ४:१३, १५) अनि जस्तोसुकै परिस्थितिमा पनि मण्डलीय प्रबन्धहरूलाई आर्थिक लाभको लागि प्रयोग गर्नु हुँदैन।
८ प्रहरीधरहरा अध्ययन वा मण्डली पुस्तक अध्ययनमा प्रयोग गरिएका शास्त्रपदहरू पनि कम्प्युटरबाट छापेर वितरण गर्ने सन्दर्भमा के भन्न सकिन्छ? बाइबल र अध्ययन गर्ने प्रकाशनहरूमा कुनै कुनै प्रकाशकहरूले आफ्नो व्यक्तिगत टिपोट लेख्न तथा रुजू चिन्ह लगाउन चाहलान्। प्रकाशनहरूमा धर्मशास्त्रबाट उद्धरण गरिएका शास्त्रपदहरू कम्प्युटरबाट छापिएका छन् भने सभामा बाइबलबाट ती शास्त्रपदहरू खोज्न मन नलाग्ने हुन्छ। बाइबल अध्ययन वा मण्डलीको सभाको दौडान शास्त्रपद खोज्नु हामीले प्राप्त गर्ने तालिमको भाग हो र यसो गऱ्यौं भने क्षेत्र सेवकाईमा अझ प्रभावकारी रूपमा बाइबल प्रयोग गर्न हामी सक्षम हुनेछौं। अक्सर विशेषगरि लामा उद्धरणहरूको सन्दर्भमा बाइबलबाट सोझै पढ्नु झनै प्रभावकारी हुन्छ। श्रोताहरूलाई पनि बाइबल पल्टाएर सँगसँगै पढ्ने प्रोत्साहन दिंदा विशेषगरि यो सही साबित भएको छ।
९ अन्य गम्भीर पासोहरू: कम्प्युटरलाई नेटवर्कमा जोड्ने हो भने त्यसले गम्भीर आध्यात्मिक खतरालाई निम्त्याउँछ भनेर अगस्त १, १९९३ अंकको प्रहरीधरहरा, पृष्ठ १६ ले उल्लेख गरेको थियो। एक जना बेइमान मानिसले नेटवर्कको माध्यमबाट भाइरस पठाउनसक्छ अर्थात् कम्प्युटरमा भएका फाइलहरूलाई भद्रगोल गर्छ र बिगार्छ, त्यसरी नै नैतिक तवरमा वा कुनै अरू तरिकाले भद्रगोल गर्न खोज्ने धर्मत्यागी, पादरी तथा अरू मानिसहरूले सजिलै तिनीहरूका विषालु विचारहरू त्यस्तो नेटवर्क मार्फत फैलाउनसक्छन्। यसले कम्प्युटर प्रयोग गर्ने मसीहीहरूलाई “खराब संगत[मा]” फस्न निम्त्याउनसक्छ। (१ कोरि. १५:३३) आध्यात्मिक कुराहरूमा मात्र नभई खराब सल्लाहहरू दिन, गफ तथा झूटो जानकारी फैलाउन, थाहै नपाई नकारात्मक विचारहरू मनमा पसाउन, कसै कसैको विश्वास पतन गराउने खालका प्रश्नहरू मनमा खडा गराउन, बाइबलको व्यक्तिगत अर्थ खुलाएर प्रचार प्रसारमा ल्याउन पनि कम्प्युटर नेटवर्कको प्रयोग गरिएको रिपोर्टहरू सोसाइटीले पाएको छ। धर्मत्यागीहरू तथा पादरीहरूका प्रकाशन र पत्रिकाहरूले पनि त्यसै गर्न खोज्छन्। बाहिरबाट झट्ट हेर्दा चाखलाग्दो र ज्ञानवर्धक जानकारीजस्तो देखिए तापनि त्यसको सम्पर्क विषालु तत्त्वहरूसित हुनसक्छ। सामयिक आध्यात्मिक आहार र स्पष्टीकरणको लागि मसीहीहरू “विश्वासी र बुद्धिमान दास[लाई]” कुर्छन्। (प्रहरीधरहरा जुलाई १, १९९४, पृष्ठ ७-१० हेर्नुहोस्।) आफ्नो विश्वासलाई सम्पूर्ण भ्रष्ट प्रभावहरूबाट जोगाउने गम्भीर दायित्व मसीहीहरू स्वयंको हो। र त्यस आधारभूत दायित्वमा आफूले कोसित संगत गरिरहेको छ सधैं थाह पाउनुपर्छ।—मत्ती २४:४५-४७; २ यूह. १०, ११.
१० त्यही प्रहरीधरहरा लेखले सर्वाधिकारसम्बन्धी नियमको आदर गर्नुपर्ने महत्त्वबारे पनि जोड दिएको थियो। कम्प्युटर कार्यक्रम तयार पार्ने तथा बिक्री गर्ने अधिकांश कम्पनीहरूले ती कार्यक्रमहरूलाई सर्वाधिकार सुरक्षित गर्छन् र कानुनी तवरमा तिनको प्रयोग कसरी गर्न सकिन्छ भनेर लेखिएको अनुमतिपत्र पनि उपलब्ध गराउँछन्। कार्यक्रमको प्रतिलिपि बनाएर अरूलाई वितरण गर्न पाइने छैन भनेर त्यस्ता अनुमतिपत्रहरूमा उल्लेख गरिएको हुन्छ। भनौं भने, अन्तरराष्ट्रिय सर्वाधिकार सुरक्षित नियमले कानुनी तवरमा यसो गर्न निषेध गरेको हुन्छ। तर धेरैजसो लोभी मानिसहरूलाई नियम उल्लंघन गर्न कुनै संकोच लाग्दैन। यद्यपि, मसीहीहरू जे सिजरका हुन् सिजरलाई दिएर कानुनी कामकुराप्रति सजग हुनुपर्छ।—मत्ती २२:२१; रोमी १३:१.
११ कुनै पनि प्रविधि प्रयोग गर्नुअघि त्यसले ल्याउनसक्ने सम्भाव्य खतराहरूको अनुमान लगाउनुपर्छ। टेलिभिजनको सदुपयोग गर्न सकिन्थ्यो तर त्यसले आज मानवजातिमाथि पारेको अस्वस्थ्यकर असरबारे सांसारिक स्रोतहरूले समेत गम्भीर चिन्ता व्यक्त गर्न थालेका छन्। कम्प्युटर नेटवर्क संसारभरि फैलिएको छ र यसले घर तथा कार्यस्थलमा असीमित बहुमूल्य जानकारीहरू ओइराउनसक्छ। आज द्रुत गतिमा अघि बढ्दै गरेको यस समाजमा व्यक्तिगत वा व्यापारिक कुराहरूमा चासो राख्ने व्यापार तथा संगठनहरूका साथै मानिसहरू छन्। तिनीहरूलाई चाहिने अत्यावश्यक सेवाहरू कम्प्युटर प्रविधिले उपलब्ध गराएको छ। तर यसको साथै कम्प्युटर कार्यक्रमहरूले अश्लील साहित्य तथा चलचित्रहरू, मतभेद खडा गर्ने अफवाह मात्र नभई कुटिल तथा दुष्ट कार्यहरू कसरी पूरा गर्ने हो त्यस विषयमा पनि विस्तृत जानकारीहरू ओइराएका छन्।
१२ मसीहीले कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्ने महत्त्वपूर्ण कारणहरू धेरै छन्। सोसाइटीले कम्प्युटर डिस्केटमा उपलब्ध गराएको न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद), इन्साइट (अन्तरदृष्टि) खण्डहरू र गेटभर्स-जस्ता (बाइबल पद निकाल्नु) कार्यक्रमबाट निकै व्यक्तिहरूले आनन्द उठाइरहेका छन्। अहिलेलाई सोसाइटीले यो भारतमा वितरण नगरेको भए तापनि कसै कसैले थप अनुसन्धान गर्न सकिने सीडी-रममा भएको वाचटावर लाइब्रेरी (प्रहरीधरहरा पुस्तकालय) व्यक्तिगत तवरले विदेशबाट मगाएका छन्। खास प्रविधिको महत्त्वलाई बुझेर त्यस्ता अत्याधुनिक प्रविधिहरूबाट लाभ उठाउन चाहनेहरूले आफू र अरूलाई कुनै पनि नकारात्मक पक्षहरूबाट जोगाउनुपर्छ। अहानिकारक प्रविधिले समेत हाम्रो समर्पित समय निकै मात्रामा खानसक्ने भएको हुँदा हामी सन्तुलित हुनैपर्छ। अन्यथा यसले हामीलाई हाम्रो प्रमुख कार्य तथा लक्ष्यहरूबाट तर्काउनसक्छ।—मत्ती ६:२२; २८:१९, २०.