हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्
१ अखबार पसलमा तपाईं के देख्नुहुन्छ? पत्रिकाहरू। सडकको पेटीमा कुन कुराले तपाईंलाई आकर्षित गर्छ? पत्रिकाहरूले। कुन कुराको थुप्रो बोकेर हुलाकीहरूको ढाडै भाँचिएलाजस्तो हुन्छ? पत्रिकाहरू। त्यसोभए, अधिकांश मानिसहरू के पढ्छन्? पत्रिकाहरू। सर्वेक्षणअनुसार १० देखि १८ वर्षसम्मका १० जना किशोरकिशोरीहरूमध्ये ९ जनाले प्रत्येक महिना कम्तीमा एउटा पत्रिका पढ्छन् र वयस्कहरूबारे पनि त्यसै भन्न सकिन्छ। अधिकांश मानिसहरू पत्रिकाप्रति सजग छन्।
२ के हामी इमानदार हृदय भएका मानिसहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूप्रति सजग बनाउनसक्छौं? सक्छौं, यदि हामी प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरूप्रति सजग छौं भने अवश्य सक्छौं। हामीलाई कुन कुराले मदत दिनसक्छ? यी सुझावहरूलाई ध्यान दिनुहोस्:
▪ पत्रिकाहरू पढ्नुहोस्: एक परिभ्रमण निरीक्षकको प्रतिवेदनअनुसार तिनको क्षेत्रमा औसतन हरेक ३ मध्ये १ प्रकाशकले प्रहरीधरहरा र ब्यूँझनुहोस्! सुरुदेखि अन्तसम्म पढ्छन्। के तपाईं पनि त्यसरी नै पढ्नुहुन्छ? प्रत्येक लेख पढेपछि आफैलाई सोध्नुहोस्, ‘आमा, अज्ञेयवादी, व्यापारी र जवानमध्ये कसले यो जानकारी रुचाउलान्?’ तपाईंले पत्रिका प्रस्तुत गर्दा चलाउनसक्ने एक दुइटा बुँदा आफ्नो व्यक्तिगत प्रतिमा चिन्ह लगाउनुहोस्। त्यसपछि एक दुइटा वाक्य मात्र बताएर पनि कसरी चासो जगाउन सकिएला, सोच्नुहोस्।
▪ निश्चित मात्रामा पत्रिकाहरू अर्डर गर्नुहोस्: प्रत्येक अंक कति प्रति चाहिने हो, व्यवहारिक भएर निधो गर्नुहोस्। त्यसपछि पत्रिका सँभाल्ने भाइलाई आफ्नो अर्डर दिनुहोस्। यसो गर्नुभयो भने तपाईं र तपाईंको परिवारले नियमित तवरमा पर्याप्त पत्रिकाहरू पाउनुहुनेछ।
▪ नियमित तवरमा पत्रिका दिनको तालिका बनाउनुहोस्: अधिकांश मण्डलीहरूले पत्रिका साक्षीका निम्ति अलग्गै एक दिन छुट्टाएका हुन्छन्। के तपाईं मण्डलीले प्रबन्ध गरेको पत्रिका दिनमा भाग लिन सक्नुहुन्छ? सक्नुहुन्न भने, प्रचार जाँदा, बेलाबेलामा केही समय सडकमा उभिएर पत्रिकाद्वारा साक्षी दिनुका साथै ढोका-ढोका तथा पत्रिका रूटमा पनि व्यक्तिगत तवरमा पत्रिका बाँड्ने प्रयास गर्नुहोस्।
▪ “प्रहरीधरहरा” तथा “ब्यूँझनुहोस्!”-प्रति सजग हुनुहोस्: यात्रा गर्दा वा बजार जाँदा केही प्रति पत्रिकाहरू बोक्नुहोस्। सहकर्मी, छिमेकी, सहपाठी वा शिक्षकहरूसित कुराकानी गर्दा त्यसलाई प्रस्तुत गर्नुहोस्। प्रायः यात्रा गरिरहने एक दम्पतीले ताजा पत्रिकाबाट एक दुइटा बुँदा चलाएर सहयात्रीसित कुरा सुरु गर्छन्। यसो गरेर तिनीहरूले निकै रमाइला अनुभवहरू बटुलेका छन्। केही केटाकेटीहरूले आफ्ना शिक्षकहरू वा सहपाठीहरूलाई चासो लाग्नसक्ने लेखहरू सधैं स्कूलमा लैजान्छन्। आफ्नै टोलमा पसल जाँदा पनि पत्रिकाहरू बोक्ने गर्नुहोस् र किनमेल गरिसकेपछि पसलेलाई देखाउनुहोस्। हामीमध्ये धेरैजसो नियमित तवरमा पेट्रोल भर्न जान्छौं। त्यसोभए पेट्रोल पम्पमा काम गर्ने कर्मचारीहरूलाई पत्रिका दिए कसो होला? नातेदारहरू भेट्न आउँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा वा कसैको प्रतीक्षा गर्दा पत्रिका आफूसित राख्नुहोस्। यसबाहेक अन्य कुनै उपयुक्त मौकाहरू सम्झन सक्नुहुन्छ कि?
▪ पत्रिका प्रस्तुत गर्न छोटो प्रस्तुति तयार पार्नुहोस्: थोरै तर राम्ररी भन्ने योजना बनाउनुहोस्। उत्साही हुनुहोस्। हृदय छुनुहोस्। अनि घुमाएर कुरा नगर्नुहोस्। लेखबाट कुनै एउटा बुँदा छान्नुहोस् र थोरै शब्दमा पत्रिका प्रस्तुत गर्नुहोस्। प्रस्तुति तयार गर्ने सबैभन्दा राम्रो तरिका, चाखलाग्दो प्रश्न गरेर त्यसको शास्त्रीय जवाफ दिने लेख देखाउनु हो। यो कसरी गर्न सकिन्छ, केही उदाहरणहरू हेर्नुहोस्:
३ बढ्दो अपराध दरबारे बताउने लेखमाथि प्रकाश पार्दै हुनुहुन्छ भने तपाईं यसरी सोध्न सक्नुहुन्छ:
▪“कुनै अपराधको डरबिना राती ढुक्क भएर सुत्न के कस्तो व्यवस्था हुनुपर्छ जस्तो तपाईंलाई लाग्छ?” परिस्थिति सुध्रिएला जस्तो नलागेकोले घरधनी निराश भएका होलान्। थुप्रै मानिसहरू पनि त्यस्तै महसुस गर्छन् भनेर तपाईं जवाफ दिन सक्नुहुन्छ र तिनलाई चाखलाग्ने केही जानकारी आफूसित छ भनेर पनि थप्न सक्नुहुन्छ। त्यसपछि, लेखबाट उपयुक्त बुँदा देखाउनुहोस्।
४ पारिवारिक जीवनसित सम्बन्धित लेख प्रस्तुत गर्दा तपाईंले यसो भन्नुभए हुन्छ:
▪“अधिकांश मानिसहरूलाई आजभोलि जीवन धान्न र परिवार चलाउन धौधौ परिरहेको छ। यस विषयमा थुप्रै कितापहरू लेखिए तापनि हाम्रा समस्याहरूको समाधानबारे विशेषज्ञहरू आफै सहमत छैनन्। त्यसोभए अरू कुनै भरपर्दो स्रोत छ कि?” यति भनेपछि पत्रिकाबाट त्यससित सम्बन्धित टिप्पणी देखाउनुहोस्।
५ सामाजिक समस्याबारे बताउने लेख प्रस्तुत गर्दा तपाईंले यसो भन्न सक्नुहुन्छ:
▪“आज प्रायजसो मानिसहरू दबाबमा परेका छन्। हामी यसरी बाँचोस् भनेर परमेश्वरले कहिल्यै चाहनुभएको थिएन।” यति भनेपछि लेखमा दिइएको जानकारीले अहिले कसरी जीवनका समस्याहरूसित जुझ्न मदत गर्छ अनि भावी स्थायी समाधानबारे के आशा दिन्छ, देखाउनुहोस्।
६ सडक साक्षी प्रभावकारी हुन्छ: प्रकाशकहरूलाई पत्रिकाद्वारा सडकमा साक्षी दिन हरेक हप्ताको एक दिन छुट्याउने प्रोत्साहन जनवरी, १९४० को इन्फोर्मेन्ट-मा (हाम्रो राज्य सेवकाई) पहिलो चोटि दिइएको थियो। के तपाईं बेला बेलामा सडक साक्षी कार्यमा भाग लिनुहुन्छ? लिनुहुन्छ भने, के तपाईंको साक्षी दिने तरिका साँच्चै प्रभावकारी छ? ओहरदोहर गरिरहेका थुप्रै मानिसहरूलाई वास्ता नगरेर व्यस्त सडकमा सडक साक्षी दिन उभिएका केही प्रकाशकहरू आपसमा गफ गर्न मस्त भएको देखिएको छ। पत्रिका हातमा लिएर दुइ जना सँगै उभिनुको साटो एकअर्कादेखि टाढा बसेर मानिसहरूलाई भेट्नु अझ प्रभावकारी हुन्छ। एक्लो व्यक्ति कुरा गर्न आउँदा अपरिचित मानिसहरूले केही बेर रोकेर सुन्नसक्छन्। तर गफमा मस्त भइरहेको झुन्डको कुरा सुन्न कमै मानिसहरू अग्रसर होलान्। सडकमा उभिंदा हामीले धेरै मानिसहरूको ध्यानाकर्षण गर्ने हुँदा हाम्रो कोरीबाटी, लुगाफाटा परमेश्वरको सेवक भन्न सुहाउने खालको हुनु असाध्यै खाँचो छ।—१ तिमो. २:९, १०.
७ ढोकामा पत्रिका वितरण गर्ने: पत्रिका दिने एउटै मात्र तरिका सडक साक्षी कार्य होइन। घर-घरको सेवकाईमा पनि पत्रिकाहरू प्रस्तुत गर्न सकिन्छ र गर्नु पनि पर्छ। मानिसहरूको घरमा गएर कुरा गर्दा सामान्यतः हामी तीनदेखि आठ मिनेट कुरा गर्ने, एक दुइटा शास्त्रपद देखाउने अनि त्यसपछि उपरोक्त महिनामा पुस्तक, पुस्तिका प्रस्तुत गर्नुपर्ने हो वा पत्रिकाको ग्राहक बनाउनुपर्ने हो, त्यसै गर्छौं। तर मण्डलीले पत्रिका वितरण गर्न कुनै एक दिन छुट्याउँदा (प्रायः मण्डलीहरूले हरेक शनिबार गर्ने गर्छन्) तपाईंले अपरान्ह सडक कार्यमा जाने तर बिहान चाहिं पत्रिका मात्र चलाएर घर-घरमा प्रचार गर्ने योजना गर्नु भए हुन्छ। यसरी ढोका-ढोकामा पत्रिका कार्य गर्दा हाम्रो प्रस्तुति छोटो अर्थात् ३० सेकेण्डदेखि ६० सेकेण्ड मात्र लामो हुनेछ र सामान्यतः कुनै शास्त्रपद प्रयोग नगरी हामी पत्रिका प्रस्तुत गर्नेछौं। अनि कसैले चासो देखाएमा उसको नाउँ, ठेगाना टिपेर पछि फेरि भेट्न जानुपर्छ। अथवा कुनै अर्को समय मिलाएर त्यही इलाकामा जानसक्छौं र त्यस महिना कुन साहित्य प्रस्तुत गर्नुपर्ने हो, त्यसलाई चलाएर बिस्तारै प्रचार गर्नसक्छौं। तर घर-घरमा छिटोछिटो पत्रिका वितरण गर्ने कार्यलाई कहिल्यै कम महत्त्वको सम्झनु हुँदैन। वास्तवमा, सडक साक्षी दिनुभन्दा ढोका-ढोकामा पत्रिका प्रस्तुत गर्दा पछि निम्न कुराहरू गर्न सजिलो हुन्छ:
८ पत्रिका रूट: कुनै इलाकामा नियमित तवरले प्रचार भइरहेको छ भने पनि त्यहाँ पत्रिका रूट हुने भाइबहिनीहरूले थुप्रै पत्रिका वितरण गर्छन्। पत्रिका रूट छ भने गृह बाइबल अध्ययन सुरु गर्ने धेरै सम्भावनाहरू हुन्छन्।
९ पत्रिका पुऱ्याउन नियमित तवरले पुनःभेट गर्दा तपाईंले आफू र घरधनीबीच घनिष्ठता बढ्दै गएको पाउनुहुनेछ। तपाईं घरधनीसित जति बढी घनिष्ठ हुनुहुन्छ, त्यति नै तपाईंलाई धर्मशास्त्रबाट छलफल गर्न सजिलो हुनेछ। फलस्वरूप फलदायी गृह बाइबल अध्ययन सुरु हुनसक्छ। पुनःभेट गर्दा घरधनीले पत्रिकाको साँच्चै मूल्यांकन गरेको स्पष्ट देख्नुभयो भने, ग्राहक बन्ने प्रस्ताव राख्नुहोस्। अनि नबिर्सनुहोस्, हरेकपल्ट घरधनीलाई भेट्नु हुँदा तपाईंले त्यसलाई पुनःभेटको रूपमा रिपोर्ट गर्न सक्नुहुन्छ।
१० एउटी बहिनी नियमित तवरमा एउटी महिलालाई पत्रिका दिने गर्थिन्। यो महिलाले पत्रिका स्वीकारेर सधैं यसो भन्ने गर्थिन्: “मलाई तपाईंको कुरा विश्वास लाग्दैन।” पछि एक पटक तिनलाई भेट्न जाँदा उक्त मसीही बहिनीले लोग्ने चाहिंलाई भेटाइन्। तिनीसित मित्रैलो कुराकानी गरेपछि बाइबल अध्ययन सुरु गर्ने प्रबन्ध मिलाइयो। अध्ययन गर्दै जाँदा मसीही बहिनीले तिनका तीन छोराहरूलाई साथी बनाइन्। पछि, आमा र तीनै जना छोराहरूले यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा लिए। अहिले त्यस परिवारका ३५ जना सदस्यहरूले सच्चाइ स्वीकारिसकेका छन्। त्यो मसीही बहिनीले पत्रिका रूट सुरु गरेकोले यो सबै हुनगयो!
११ पत्रिका रूट सुरु गर्ने थुप्रै तरिकाहरू छन्। कुन कुन घरमा पत्रिका दिनुभयो त्यसको रिकर्ड राखेर हरेक दुइ हप्तामा ताजा पत्रिका लिएर पुनःभेट गर्नुभयो भने मात्र पनि तपाईंको पत्रिका रूट सुरु हुनसक्छ। पुनःभेट गर्न “हाम्रो आउने अंकमा” भन्ने शीर्षकअन्तर्गत दिइएका जानकारी चलाउन सकिन्छ। अनि पछि भेट्न जाँदा गत हप्ता तपाईंले उल्लेख गर्नुभएको लेख आइपुग्यो भनेर घरधनीलाई बताउन सक्नुहुन्छ। अथवा पुनःभेट गर्दा तपाईंले यसो भन्न सक्नुहुन्छ: “यो लेख पढ्दा तपाईंलाई पनि यस विषयमा चाख लाग्ला कि भन्ने सोचेर म आएको . . . ।” त्यसपछि लेखबारे केही छोटो टिप्पणी गरेपछि पत्रिका दिनुहोस्। घरधनीसित कुरा गरिसकेपछि घर-घरको रिकर्ड पर्चीमा निम्न पाँच सरल बुँदाहरू लेख्नुहोस्: (१) घरधनीको नाउँ, (२) घरधनीको ठेगाना, (३) घरधनीलाई भेटेको मिति, (४) घरधनीलाई दिनुभएको पत्रिकाको अंक र (५) प्रस्तुत गर्नुभएको लेख। केही प्रकाशकहरूले निकै सफलतासाथ पत्रिका रूट सुरु गरेका छन् र ४० वा त्योभन्दा धेरै मानिसहरूको नाउँ संकलन गरेका छन्!
१२ व्यापारिक इलाका: व्यापारिक इलाकामा काम गर्ने प्रकाशकहरूले थुप्रै पत्रिकाहरू वितरण गर्छन्। के तपाईंले कहिल्यै पसल-पसलमा पत्रिका दिने कोसिस गर्नुभएको छ? प्राप्त विवरणअनुसार केही मण्डलीहरूले यस पक्षमा निकै कम मात्रामा भाग लिएका छन्। व्यापारीहरूसित कुरा गर्न सुरु-सुरुमा केही प्रकाशकहरू डराउँछन्। तर दुइ तीन चोटि कोसिस गरिसकेपछि त्यसरी कुरा गर्दा चाखलाग्दो अनि फलदायी भएको पाउँछन्। व्यापारिक इलाकामा काम थाल्न तपाईंले पनि अनुभवी प्रकाशक वा अग्रगामीसित मदत मागे कसो होला?
१३ पसल पसलमा काम गर्दा निकै फाइदाहरू हुन्छन्। व्यापार गर्ने समयमा प्रायः सबै आफ्नो पसल वा कार्यालयमै हुन्छन्। व्यापारीहरू वा पसलेहरू आफूलाई खास त्यति चासो नलागे पनि प्रायः शिष्ट व्यवहार नै गर्छन्। सबेरै सुरु गर्नुहोस्। त्यसो गर्दा तिनीहरूले तपाईंलाई राम्ररी स्वागत गर्नेछन्। परिचय दिएपछि तपाईंले भन्न सक्नुहुन्छ, व्यापारीहरूलाई अक्सर घरमा नभेटिने हुँदा म तपाईंहरूको पसल, अफिसमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाको ताजा अंकहरू दिन एक छिन भेट्न आएको हुँ। व्यापारीहरू विश्वघटनाहरूबारे नवीनतम जानकारी राख्न रुचाउने तर आफूसित पढ्ने समय कम भएको हुँदा प्रायजसोले हाम्रो पत्रिकाको मूल्यांकन गर्छन् भनेर बताउनुहोस्। हाम्रो पत्रिका धार्मिक, राजनैतिक वा व्यापारिक कुरामा निष्पक्ष हुनुका साथै यसले विचारोद्दीपक जानकारीलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्छ भनेर पनि बताउनुहोस्। व्यापारिक इलाकामा भेटिएका जिज्ञासुहरूसित पत्रिका रूट सुरु गर्न सकिन्छ।
१४ परिवार मिलेर तयार गहोस्: ताजा पत्रिकाहरूको कुन चाहिं लेख तपाईंको इलाकालाई उपयुक्त हुनसक्छ, त्यसबारे छलफल गर्न तपाईंले पारिवारिक अध्ययनको दौडान केही समय छुट्याउन सक्नुहुन्छ। केटाकेटीलगायत परिवारको सबैले पालैसित आफ्नो प्रस्तुतिका साथै “म व्यस्त छु,” “हाम्रो आफ्नै धर्म छ,” वा “मलाई चासो छैन” जस्ता मानिसहरूले सामान्यतया व्यक्त गर्ने प्रतिक्रियाको जवाफ कसरी दिने हो, त्यो अभ्यास गर्नसक्छन्। सबैले एकअर्कोलाई सहयोग गरेमा पूरै परिवारले नियमित रूपले पत्रिका वितरणमा भाग लिनसक्छ।
१५ पुस्तक अध्ययन सञ्चालकहरूले मदत गर्नसक्छन्: पत्रिका वितरण गर्ने दिनमा पूरै मण्डलीलाई राज्य भवनमा भेला गराउनुको साटो व्यवहारिक भएसम्म पुस्तक अध्ययन केन्द्र वा प्रचार इलाका नजीकै पर्ने प्रकाशकको घरमा क्षेत्र सेवा सभा गर्नुपर्छ। क्षेत्र सेवा सभा सञ्चालन गर्ने भाइले आफ्नो समूहका लागि खास सुझावहरू राम्ररी तयार गरेको हुनुपर्छ। त्यस्ता सुझावहरूमा नमुना प्रस्तुति र स्थानीय मानिसहरूको चासो जगाउन ताजा पत्रिकाहरूबाट चलाउन मिल्ने एक दुइटा बुँदाहरू समावेश गर्न सकिन्छ। समूहलाई प्रचार कार्यका लागि छुट्याउन लाग्ने समयलगायत सम्पूर्ण क्षेत्र सेवा सभा १५ मिनेटभन्दा लामो हुनु हुँदैन। क्षेत्र सेवकाईको दौडान समूहका सबैलाई पुग्ने इलाका छ वा छैन, अध्ययन सञ्चालकले पहिल्यै निश्चित गर्नुपर्छ।
१६ पत्रिकाहरूप्रति मूल्यांकन देखाउनुहोस्: जुलाई १९९३ को हाम्रो राज्य सेवकाई-मा प्रकाशित “प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को सदुपयोग गर्ने” लेखमा यो महत्त्वपूर्ण टिप्पणी गरिएको थियो: “प्रहरीधरहरा र ब्यूँझनुहोस्! महिना, दुइ महिना पछिसम्म वितरण भइसकेको छैन भने पनि, त्यसको मूल्य घट्दैन। त्यसमा भएको जानकारी समय बित्दै जाँदा कम महत्त्वपूर्ण हुने होइन। . . . यद्यपि, पुराना पत्रिकाहरू थुपारेर कहिल्यै प्रयोग नगर्नु चाहिं यी मूल्यवान् साधनहरूको मूल्यांकन नगर्नु हो। पुराना अंकहरूलाई एकतर्फ पन्छाएर बिर्सनुको साटो जिज्ञासु व्यक्तिहरूलाई वितरण गर्ने विशेष यत्न गर्नु बेस होइन र?”
१७ अहिले सच्चाइ खोज्ने इमानदार हृदय भएका मानिसहरू थुप्रै छन्। हाम्रो एउटा पत्रिकामा भएको जानकारीले तिनीहरूलाई सच्चाइमा आउन मदत गर्नसक्छ! यहोवाले हामीलाई रोमाञ्चकारी समाचार घोषणा गर्न दिनुभएको छ र हाम्रा पत्रिकाहरूले यी समाचार अरूसम्म पुऱ्याउने निर्णायक भूमिका निर्वाह गर्छन्। के तपाईंले भविष्यमा अझ सजग भई पत्रिका वितरण कार्यमा भाग लिनुहुनेछ? के तपाईं दिइएका सुझावहरू यही सप्ताहन्तमै प्रयोग गर्नुहुनेछ? त्यसो गर्नुभयो भने तपाईंले प्रशस्त आशिष् पाउनुहुनेछ।
व्यवहारिक सुझावहरू:
▪ पहिल्यै पत्रिका पढेर लेखहरूसित परिचित हुनुहोस्।
▪ तपाईंको समुदायमा सबैलाई चासो लाग्ने साधारण विषयसित सम्बन्धित लेख छान्नुहोस्।
▪ पुरुष, महिला अथवा किशोरकिशोरीजस्ता सबै खालका मानिसहरूलाई सुहाउने प्रस्तुति तयार गर्नुहोस्। पत्रिकाको विषयवस्तु घरधनीलाई किन उपयुक्त छ र कसरी पूरै परिवारले त्यसबाट लाभ उठाउनसक्छ, देखाउनुहोस्।
▪ अधिकांश मानिसहरूलाई घरैमा भेट्टाउन सकिने समयमा क्षेत्र सेवामा व्यस्त हुने योजना बनाउनुहोस्। केही मण्डलीहरूले साँझपख पत्रिका प्रयोग गरेर साक्षी कार्य गर्ने प्रबन्ध मिलाएका हुन्छन्।
▪ आफ्नो प्रस्तुतिलाई छोटो मीठो र चट्ट बुझ्न सकिने बनाउनुहोस्।
▪ हतारेर नबोल्नुहोस्। चासो नभएको व्यक्तिलाई हतारेर सुनाउँदा केही फाइदा हुँदैन। नआत्तिनुहोस् र घरधनीलाई जवाफ दिने मौका दिनुहोस्।
घर-घरमा पत्रिका प्रस्तुत गर्ने:
▪ मित्रैलो तरिकामा मुसुक्क हाँस्नुहोस् र मीठो स्वरमा बोल्नुहोस्।
▪ पत्रिकाहरूको विषयमा उत्साही हुनुहोस्।
▪ स्पष्ट बुझ्नेगरि बिस्तारै बोल्नुहोस्।
▪ एउटा मात्र विषयमा कुरा गर्नुहोस्; छोटो कुरा गरेर चासो जगाउनुहोस् र पत्रिकाको महत्त्व घरधनीलाई बुझाउनुहोस्।
▪ एउटै लेखमा मात्र जोड दिनुहोस्।
▪ एउटा पत्रिका मात्र देखाउनुहोस् र अर्को पत्रिका चाहिं साथी पत्रिकाको रूपमा प्रस्तुत गर्नुहोस्।
▪ घरधनीलाई पत्रिका दिनुहोस्।
▪ तपाईं फेरि भेट्न चाहनुहुन्छ भनेर घरधनीलाई अवगत गराउनुहोस्।
▪ पत्रिका लिन अस्वीकार गरेमा मित्रैलो र सकारात्मक बिदावारी गर्नुहोस्।
▪ जिज्ञासुहरू र तिनीहरूले वितरण गरेको साहित्य घर-घरको रिकर्ड पर्चीमा राम्ररी टिपोट गर्नुहोस्।
पत्रिकाहरू प्रस्तुत गर्न पाइने मौकाहरू:
▪ घर-घरको साक्षी कार्य
▪ सडक साक्षी कार्य
▪ पसल-पसल कार्य
▪ पत्रिका रूट
▪ सन्ध्याकालीन साक्षी कार्य
▪ पुनःभेट गर्दा
▪ पुराना बाइबल विद्यार्थीलाई भेट्न जाँदा
▪ यात्रा, किनमेल गर्दा
▪ आफन्त, सहकर्मी, छिमेकी, सहपाठी तथा शिक्षकशिक्षिकाहरूसित कुराकानी गर्दा
▪ सार्वजनिक सवारी साधनमा यात्रा गर्दा, प्रतीक्षालयमा कसैलाई कुर्दा