अध्याय ८
‘दुष्ट्याइँका आत्मिक सेनाहरूको विरुद्धमा लड़न्त’
१. दुष्टात्माहरूको गतिविधि हाम्रोनिम्ति किन खास चासोको विषय हो?
भौतिकवादतिर लागेका मानिसहरूले दुष्ट आत्माहरू छन् भन्ने विचारलाई ठट्टामा उडाउलान्। तर यो कुनै हाँस्ने कुरा होइन। तिनीहरूले विश्वास गरून् वा नगरून्, तर पैशाचिक क्रियाकलापले प्रत्येकमाथि दबाउ ल्याउँदछ। यसबाट यहोवाका उपासकहरू पनि उम्किन पाउँदैनन्। यथार्थमा, तिनीहरू नै मूल तारो हुन्। यस द्वन्दबारे प्रेरित पावलले यसो भन्दै हामीलाई सतर्क पार्दछन्: “हाम्रो यो लड़न्त मानिसहरूका विरुद्धमा होइन, तर प्रधानताहरू, अधिकारहरू, यस अन्धकारका सांसारिक शासकहरू [जो रगत र मासुले बनेका प्राणीहरूको संसार भित्र छैनन्] र स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफि. ६:१२) हाल शैतान स्वर्गबाट तल फालिएको छ र आफ्नो अल्प समयबारे थाह भएको हुनाकारण ऊ क्रोधित छ। यसैकारण, हाम्रो समयमा त्यो पैशाचिक दबाउ त्यसको चरम सिमासम्म पुगेको छ।—प्रकाश १२:१२.
२. मानवभन्दा शक्तिशाली आत्माहरूका विरुद्धमा सफलताका साथ लडन्त लड्न हाम्रालागि कसरी सम्भव छ?
२ मानवभन्दा शक्तिशाली आत्मिक सेनाहरूको विरुद्धमा लडिने यो लडन्तमा हामी कसरी विजयी हुन सक्छौं? यहोवामाथि पूर्ण भरोसा राखेर मात्र हामी विजयी हुन सक्नेछौं। हामीले उहाँको वचन सुन्नु र त्यसको पालन गर्नुपर्दछ। यसो गर्यौं भने शैतानको वशमा हुनेहरूले अनुभव गर्नु परेको शारीरिक, नैतिक, भावनात्मक, र मानसिक हानिबाट हामी बच्न सक्नेछौं।—एफि. ६:११; याकु. ४:७.
स्वर्गीय स्थानहरूमा संसारका शासकहरू
३. शैतानले के र कसको घोर विरोध गर्दैछ?
३ सबै कुरा देख्न सकिने स्वर्गको आफ्नो सुविधास्थलबाट यहोवाले संसारको परिस्थितिको ज्वलन्त वर्णन हाम्रो निम्ति गरी दिनुहुन्छ। उहाँले प्रेरित यूहन्नालाई एउटा दर्शन दिनुभयो। त्यसमा शैतानलाई “एउटा ठूलो रातो अजीङ्गरजस्तो पशु”-को रूपमा चित्रित गरिएको थियो। साथै, स्वर्गमा परमेश्वरको मसीही राज्य सा. यु. १९१४-मा स्थापित हुनासाथै त्यसलाई सम्भवतः निल्न त्यो अजीङ्गर तयार भएर बसेको थियो। तर त्यसो गर्न नपाएपछि शैतानले त्यस राज्यका दृश्य प्रतिनिधिहरूको विरुद्धमा घोर विरोधको बाढी ल्यायो। ती प्रतिनिधिहरू परमेश्वरका “स्त्री”-को सन्तानका द्वितीय भाग हुन्।—प्रकाश १२:३, ४, १३, १७.
४. (क) मानवीय सरकारहरूको शक्तिको श्रोतबारे कुन तथ्यतर्फ बाइबलले हामीलाई सचेत गराउँदछ? (ख) केका लागि अहिले सारा राजनैतिक शासकहरू जम्मा गरिंदैछन्, र यो काम कसले गर्दैछ?
४ यूहन्नालाई दिएको त्यो प्रकाशमा, मानव सरकारहरूको शक्ति र अधिकारको श्रोत पनि स्पष्टसङ्ग देखाइयो। तिनले सातवटा शिर र दशवटा सीङ भएको एउटा संयुक्त प्रकारको जनावर देखे। त्यस जनावरको अधिकार “सबै कुल, मानिसहरू, भाषाहरू, र जातिहरू माथि” थियो। यो कुनै एउटा सरकारको मात्र होइन तर विश्वव्यापी राजनैतिक व्यवस्थाको प्रतीक हो। यसलाई “त्यस अजीङ्गरजस्तै पशुले [शैतान अर्थात् दियाबलले] आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार” दिएको कुराको जानकारी यूहन्नालाई दिइयो। (प्रकाश १३:१, २, ७; लूका ४:५, ६ सङ्ग तुलना गर्नुहोस्।) राजनैतिक शासकहरूले धर्म मान्दछौं भनी जतिसुकै दाबी गरे तापनि त्यो “जनावर”-का सदस्य राष्ट्रहरूमध्ये कुनै एउटाले पनि यहोवाको सार्वभौमिकता र उहाँले नियुक्त गर्नु भएका राजा, येशू ख्रीष्टको अख्तियारलाई मान्यता दिंदैनन्। तिनीहरू सबै नै आफ्नै सार्वभौमिकताका लागि सङ्घर्ष गरिरहेका छन्। प्रकाशित वाक्यमा देखाएअनुसार ती जम्मै शासकहरूलाई आज “चिन्हहरूका काम गर्ने ती भूतहरूका आत्मा”-ले “परमेश्वरको ठूलो दिनको लड़ाइँको निम्ति” आर-मागेडोन भन्ने ठाउँमा भेला गराउँदैछ। (प्रकाश १६:१३, १४, १६) साँच्चै नै, प्रेरित पावलले लेखेअनुसार ती “सांसारिक शासकहरू” साधारण मानिसहरू होइनन्। तिनीहरू “स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरू” हुन्। (एफि. ६:१२) आफूलाई यहोवाका उपासक प्रमाणित गर्न चाहने सबैले नै यस कुराको पूर्ण महत्त्व बुझ्नु जरुरी छ।
५. शैतानको रीतिरिवाजलाई समर्थन गर्ने मार्गमा हुर्रिनदेखि बच्ने हो भने हामी किन सावधान हुनुपर्छ?
५ हामीले प्रत्येक दिन मानव परिवारलाई छिन्न-भिन्न पार्ने कलहहरूको सामना गर्नुपर्दछ। आफू जुन जाति, कुल, भाषा वा सामाजिक वर्गका हुन्छन्, साधारणतः त्यसैको पक्ष मानिसहरूले लिने गर्छन्, चाहे मौखिक रूपमा होस् वा अन्य ढङ्गमा। हाल चलिरहेको कुनै द्वन्दमा तिनीहरूको आफ्नो समाज प्रत्यक्ष रूपमा बिथोलित नभए तापनि तिनीहरूले एउटा न एउटा पक्ष लिंदै अर्को पक्षको विरोध गरिरहेको हुन सक्छ। तर तिनीहरूको गुनासो अथवा तिनीहरूले समर्थन गरेको व्यक्ति वा मामिला जे भए तापनि, वास्तवमा तिनीहरूले कसलाई समर्थन गरिरहेका छन्? बाइबलले साफसाफ भन्दछ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूह. ५:१९) अतः, बाँकी मानवजाति सङ्गसङ्गै आफू पनि नबहकिने हो भने हामीले के गर्नुपर्छ? परमेश्वरको राज्यलाई पूर्ण रूपमा समर्थन गर्दै संसारका विभिन्न पक्षहरू बीच चल्ने कलहहरूबाट आफूलाई पूर्णतया तटस्थ राख्नुपर्छ।—यूह. १७:१५, १६.
त्यो दुष्टको धूर्त तरकिबहरू
६. मानिसहरूलाई साँचो उपासनाबाट अलग्याउन शैतानले प्रयोग गरेका तरकिबहरूमा कुन कुन कुराहरू बिथोलित छन्?
६ मानिसहरूलाई साँचो उपासनाबाट अलग्याउनका लागि इतिहासभरि शैतानले मौखिक र शारीरिक खेदोको प्रयोग गरेको छ। तर तीभन्दा अझ धूर्त र छली अथवा हतपत चालै नपाउने उपायहरू पनि त्यसले अपनाएको छ।
७. झुट्टा धर्मको प्रयोगबाट शैतानको चतुऱ्याइँ कसरी प्रदर्शित हुन्छ?
७ झुट्टा धर्मको प्रयोगद्वारा त्यसले बडो चतुर्याइँका साथ मानवजातिको एउटा ठूलो भागलाई अन्धकारमा राखेको छ। त्यसो गर्दा तिनीहरूले परमेश्वरकै सेवा गरिरहेका छन् भनी सोच्न चाहेमा पनि शैतानले तिनीहरूलाई सो सोच्न दिन्छ। आफूमा सत्यका लागि शुद्ध प्रेमको अभाव भएको हुनाकारण तिनीहरूलाई रहस्यमय र भावनात्मक धार्मिक विधिहरू आकर्षक लाग्दछन् अथवा शक्तिशाली कामहरूद्वारा तिनीहरू प्रभावित हुन्छन्। (२ थिस्स. २:९, १०) तर साँचो उपासनामा भाग लिनेहरू मध्येबाट पनि केहीले “बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन” लाउने छन् र “कोही कोही . . . पतित हुनेछन्” भनी हामीलाई चेताउनी दिइएको छ। (१ तिमो. ४:१) तर यो कसरी हुन सक्छ?
८. एकताका यहोवाको उपासना गर्नेहरू मध्येका केही व्यक्तिहरूलाई समेत शैतानले झूटो धर्ममा कसरी फसाएको छ?
८ बडो धुर्त्याइँका साथ शैतानले एउटा व्यक्तिको कमजोरीलाई प्रयोग गर्दछ। उदाहरणका लागि, के त्यो व्यक्ति अझ पनि मानिससङ्ग डराउँछ? डराउँछ भने, नातेदारहरू वा छिमेकीहरूको दबाउमा परेर झुट्टा धर्मसित सम्बन्धित काम-कुरामा उसले भाग लिन सक्छ। के कुनै व्यक्ति घमण्डी छ? छ भने, उसलाई कसैले सल्लाह दिंदा वा उसका विचारहरूलाई अरूहरूले स्वीकार नगर्दा ऊ रिसाउन सक्छ। (हितो. २९:२५; १५:१०; १ तिमो. ६:३, ४) क्षेत्र-सेवकाईमा भाग लिने उसको मूल कारण प्रेम होइन भने नि? ख्रीष्टको उदाहरणअनुसारको दृष्टिकोण अपनाउनुको सट्टा बाइबल पढ्नु र एउटा “असल जीवन” बिताउनु यथेष्ट छ भन्दै उसको “कान कुतकुत्याइ” दिनेहरूतिर ऊ लाग्न सक्छ। (२ तिमो. ४:३, न्यु व.) ऊ अर्को धर्ममा लाग्छ लाग्दैन वा आफ्नै विचारअनुसारको धर्म पालन गर्छ वा गर्दैन शैतानलाई त्यसको वास्ता छैन। परमेश्वरको वचन र सङ्गठनद्वारा निर्देशित ढङ्गमा यहोवाको उपासना उसले नगरुञ्जेलसम्म शैतान खुशी हुन्छ।
९. आफ्नो उद्देश्य पूरा गर्न शैतानले चतुऱ्याइँसाथ यौनलाई कसरी प्रयोग गर्दछ?
९ स्वाभाविक इच्छाहरूलाई पनि गलत ढङ्गमा पूरा गर्न शैतानले मानिसहरूलाई चलाकीसाथ लोभ्याउँछ। यो त्यसले यौनिक सम्बन्ध राख्ने इच्छाद्वारा गराएको छ। बाइबलमा उल्लिखित नैतिकतालाई अस्वीकार गर्दै संसारमा आज धेरै जना अविवाहित व्यक्तिहरू बीचको यौनिक सम्बन्धलाई वैध आनन्द मान्दछन् वा आफूलाई बालिग प्रमाणित गर्ने यसलाई एउटा तरिका ठान्छन्। विवाहित व्यक्तिहरूबारे चाहिं के भन्न सकिन्छ? वैवाहिक समस्याहरू अनुभव गर्ने सांसारिक मानिसहरूका निम्ति पारपाचुके गरेर फेरि विवाह गर्नु अथवा छुट्टिएर अर्कोसङ्ग बस्नु सामान्य कुरा भएको छ। मानिसहरूले यसप्रकार जीवन बिताएको देख्ता के हामीलाई थकथकी लाग्छ अथवा के हामी मसीही जीवन-पद्धतिलाई अति नै सङ्कुचित ठान्न थाल्दछौं? यहोवाले हामीलाई कुनै असल कुराबाट वञ्चित गराउनु हुँदैछ भन्ने विचार हाम्रो मनमा हालिदिनु शैतानको एउटा धूर्त चाल हो। मात्र अहिले नै प्राप्त गर्न सकिने आनन्दबारे सोच्न उसले हामीलाई उस्काउँदछ। यसबाट स्वयं हामीमा अथवा अरूहरूमा के कस्तो असर पर्ला अथवा यहोवा र उहाँको पुत्रसितको हाम्रो सम्बन्धमा के कस्तो प्रभाव पर्न सक्तछ भन्ने विषयमा सोच्नु त टाढाको कुरा बनाइदिन्छ।—गला. ६:७, ८; १ कोरि. ६:९, १०.
१०. कुन तरिकाबाट शैतानले हिंसाप्रतिको हाम्रो दृष्टिकोणलाई उल्टाउने प्रयास गर्दछ?
१० अर्को स्वाभाविक इच्छा मनोरञ्जनसित सम्बन्धित छ। असल प्रकारको मनोरञ्जन शारीरिक, मानसिक र भावनात्मक रूपमा स्फूर्तिदायक हुन सक्तछ। तर हाम्रो फुर्सतको समयमा शैतानले चलाकीसाथ हामीलाई परमेश्वरको सोचाइबाट टाढा लैजाने कोशिश गर्दा हामी के कस्तो प्रतिक्रिया व्यक्त गर्दछौं? उदाहरणका लागि, हिंसा रुचाउनेहरूलाई यहोवा घृणा गर्नुहुन्छ भनी हामी जान्दछौं। (भजन. ११:५) तर टेलिभिजन वा सिनेमाघरहरूमा हिंसालाई महत्त्व दिने चलचित्रहरू देखाइँदा, के हामी चुपचाप बसेर हेरिरहन्छौं? वा त्यसै कुरालाई खेलको नाउँमा प्रस्तुत गरिंदा के हामी त्यसलाई स्वीकार गर्दछौं अथवा त्यसमा भाग लिनेहरूको हौसला बढाउनका लागि चर्को स्वरमा कराउने पनि गर्छौं कि?—उत्पत्ति ६:१३ सङ्ग तुलना गर्नुहोस्।
११. प्रेतवादबारे साँचो कुरा जान्ने मानिस पनि सतर्क रहेन भने कुन कुन तरिकाहरूद्वारा त्यो त्यसमा फस्न सक्तछ?
११ साथै, कुनै प्रकारको प्रेतवादमा भाग लिने—अथवा जोखाना हेर्ने, टुनामुना गर्ने, वा मृतकसङ्ग सम्पर्क राख्न प्रयास गर्ने—सबै नै “परमप्रभुको अगि घृणित” हुन् भन्ने विषयमा हामी अजान छैनौं। अतः कुनै हालतमा पनि हामी बोक्सीहरूसित सम्पर्क राख्ने छैनौं नता तिनीहरूको बोक्सी विद्या प्रयोग गर्न हामी तिनीहरूलाई आफ्नो घरमा स्वागत गर्नेछौं। तर तिनीहरू टेलिभिजनमा देखापर्दा चाहिं के हामी तिनीहरूको कुरा सुन्दछौं र मक्ख परेर हेर्दछौं? इलाजका लागि एक जना धामीकहाँ हामी कहिले नगए तापनि के आफ्नो नवजात शिशुको नाडीमा चाहिं उसलाई हानि-नोक्सानीबाट बचाउने विचारले एउटा धागो बाँधिदिन्छौं? अथवा अरूहरू माथि ‘टुनामुना गर्ने’ चलनको बाइबलले विरोध गर्दछ भनी थाह पाउँदा-पाउँदै पनि, के हामीले एक जना सम्मोहकलाई केही समयकै लागि मात्र भए तापनि आफ्नो मनलाई तिनको वशमा पार्ने अनुमति दिने गर्छौं?—व्यव. १८:१०-१२; गला. ५:१९-२१.
१२. (क) गलत हुन् भनी हामीलाई थाह भएका कुराहरूबारे हामीलाई विचार गर्न बाध्य पार्नका लागि सङ्गीतको प्रयोग कसरी गरिन्छ? (ख) एक जना व्यक्तिले आफ्नो पहिरन, कपाल कोराइ अथवा बोल्ने ढङ्गद्वारा यहोवाले अस्वीकार गर्नुहुने जीवन पद्धति भएका मानिसहरूको प्रशंसा कसरी गर्न सक्तछ? (ग) शैतानको धूर्त तरकिबहरूको शिकार नहुने हो भने हामीले के गर्नु पर्दछ?
१२ हामीले शास्त्रमा पढेका छौं कि ‘व्यभिचार र सारा अशुद्धताको नाउँसमेत हाम्रो माझमा खराब नियत राखेर लिने गर्नु हुँदैन।’ (एफि. ५:३-५) तर यसै प्रकारका विषयहरूलाई मीठो गीत र आकर्षक वा मिलेको तालसित प्रस्तुत गरिएको छ भने नि? विवाह नगरी राखिने यौन सम्बन्धलाई महत्त्व दिने, मोजमज्जाको नाउँमा मादक पदार्थको प्रयोग गर्ने र यस्ता अन्य कुराहरूको चर्चा गर्ने गीतहरूलाई के हामी अनजानमा त्यसै त्यसै गुनगुनाउँने गर्छौं? अथवा, यसप्रकारका काम कुराहरूमा लाग्नेहरूको जीवन पद्धतिलाई अनुसरण गर्नु हुँदैन भनी हामीलाई थाह हुँदाहुँदै पनि, के हामी ती व्यक्तिहरूको पोशाक, कपाल कोराइ अथवा बोल्ने ढङ्ग अनुकरण गर्दै तिनीहरू जस्तो हुन खोज्दछौं? शैतान कति धूर्त छ! आफ्नो भ्रष्ट मस्तिष्क अनुरूप हुने इच्छा मानिसहरूमा उत्पन्न गर्न उसले कस्तो कस्तो कपटपूर्ण चालहरू रच्दछ! (२ कोरि. ४:३, ४) शैतानका छली तरकिबहरूको शिकार हुनबाट बाँच्ने हो भने हामी संसारको लैलैमा लागेर हुर्रिनु हुँदैन। “यस अन्धकारका सांसारिक शासकहरू” को हुन् भनी हामीले सदा ध्यानमा राख्नु पर्दछ र तिनीहरूको प्रभावसित जोडतोडका साथ लडन्त लडी रहनु पर्दछ।—एफि. ६:१२; १ पत्रु. ५:८.
विजेता हुनका निम्ति सुसज्जित
१३. शैतानले शासन गरिरहेको यस संसारमाथि विजय पाउन हामीजस्ता असिद्ध व्यक्तिहरूका लागि कसरी सम्भव छ?
१३ येशूको मृत्यु हुनुअघि उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो: “ढाड़स गर! मैले संसारलाई जितेको छु।” अतः तिनीहरू पनि विजयी हुन सक्ने रहेछन्; र ६० वर्षपछि प्रेरित यूहन्नाले लेखे: “येशूनै परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजयी हुने अरू को हो र?” (यूह. १६:३३; १ यूह. ५:५) यसप्रकारको विश्वास दर्शाउनुको अर्थ परमेश्वरको वचनमाथि येशूले झैं हामीले पनि भरोसा राख्नु र येशूका आज्ञाहरू पालन गर्नु हो। अझै अरू कुन कुराको आवश्यकता छ? हामी मण्डलीसङ्ग नजिक हुनु पर्दछ जसको शिर पनि उहाँ नै हुनुहुन्छ। हामीबाट कुनै गलती हुन गएमा हृदयबाट पश्चात्ताप गर्दै येशूको बलिदानको आधारमा परमेश्वरसित क्षमा माग्नु पर्दछ। यसप्रकार, असिद्ध हुँदा हुँदै पनि हामी विजयी हुन सक्नेछौं।
१४. (क) एफिसी ६:१३-१८ सम्म पढ्नुहोस्। (ख) त्यहाँ दिएका प्रश्नहरू र शास्त्रपदहरूको आधारमा आत्मिक हात-हतियारको प्रत्येक भागबाट उपलब्ध हुने लाभबारे छलफल गर्नुहोस्।
१४ सफलता प्राप्त गर्नका लागि “परमेश्वरका सारा हात-हतियार”-को कुनै पनि अंशलाई हेलचक्राइँ नगरी त्यसलाई हामीले धारण गर्नुपर्दछ। कृपया आफ्नो बाइबल खोलेर एफिसी ६:१३-१८ मा त्यस हात-हतियारबारे दिएको वर्णन पढ्नुहोस्। अनि, त्यस हात-हतियारको प्रत्येक भागद्वारा पाइने सुरक्षाबाट हामीले कसरी लाभ उठाउन सक्छौं भन्ने विषयमा विचार गर्दै तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्।
“कम्मर सत्यताले कसेर”
हामीसित सत्यको ज्ञान भए तापनि नियमित अध्ययन, बाइबलमा उल्लिखित सत्य कुराहरूमाथि गरिने मनन र सभाहरूमा धाउनाले हामीलाई कसरी सुरक्षित राख्न सक्छ? (फिलि. ३:१; ४:८, ९; १ कोरि. १०:१२, १३; २ कोरि. १३:५; १ पत्रु. १:१३, किङ्गडम इन्टरलिन्यर)
“धार्मिकताको छाती-पाता”
धार्मिकताको यो स्तर कसले तोकेको हो? (प्रकाश १५:३)
यहोवाका मार्गहरूका लागि प्रेम बढाउन असफल भएर उहाँका आज्ञाहरूको अवहेलना गर्ने व्यक्तिले आफ्नै ठूलो आत्मिक हानि कसरी गर्दछ? (१ शमूएल १५:२२, २३; व्यवस्था ७:३, ४ हेर्नुहोस्।)
“खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ”
शान्तिका निम्ति परमेश्वरले गर्नु भएको प्रबन्धबारे मानिसहरूसङ्ग गएर कुरा गर्ने काममा आफ्ना खुट्टाहरूलाई व्यस्त राख्दा हाम्रो बचाव कसरी हुन सक्छ? (रोमी १०:१५; भजन. ७३:२, ३; १ तिमो. ५:१३)
“विश्वासको ढाल”
हाम्रो विश्वासको जग बलियो छ भने हामीमा शङ्का वा भय उत्पन्न गराउने प्रयत्नहरूको सामु हामीले कस्तो प्रतिक्रिया देखाउनेछौं? (२ तिमोथी १:१२; २ राजाहरू ६:१५-१७ सङ्ग तुलना गर्नुहोस्।)
“मुक्तिको टोप”
भौतिक कुराहरूबारे ज्यादै चिन्तित हुने जालमा फस्नदेखि हामीलाई मुक्तिको टोपले कसरी मद्दत दिन सक्छ? (१ तिमो. ६:७-१०, १९)
“आत्माको तरवार”
हाम्रो वा अर्काको आध्यात्मिकतामाथि हमला गर्ने कुरासित सङ्घर्ष गर्दा हामीले सधैं नै के कुरामा भरोसा गर्नुपर्दछ? (भजन. ११९:९८; हितो. ३:५, ६; मत्ती ४:३, ४ सङ्ग तुलना गर्नुहोस्।)
त्यसै अनुरूप, एफिसी ६:१८, १९ अनुसार आत्मिक युद्धमा सफल हुनका लागि अरू कुन कुन कुराहरू पनि अत्यावश्यक छन्? ती कुराहरूको प्रयोग प्रायः कति पटक गर्नु पर्ने हो? कसका निम्ति?
१५. (क) हामीले लड्ने लडन्त के व्यक्तिगत मात्र हो? (ख) यस लडन्तमा हामी कसरी अग्रसर हुन सक्छौं?
१५ मसीही सिपाहीहरूको हैसियतमा हामीहरू आत्मिक युद्ध लड्ने विशाल फौजको एउटा सानो अङ्ग हौं। सचेत रहेर परमेश्वरबाट पाएका सारा हात-हतियारको राम्रो प्रयोग गऱ्यौं भने यस लडाइँका घाइतेहरूमध्ये हामी हुनेछैनौं। बरु, परमेश्वरका अरू सेवकहरूलाई बल दिने माध्यम हामी हुनेछौं। साथै, शैतानले घोर विरोध गर्ने परमेश्वरको मसीही राज्यको सुसमाचार—फैलाउने काममा हामी अग्रसर हुन पनि तत्पर र इच्छुक हुनेछौं।
पुनरावलोकन एवं छलफल
• यहोवाका उपासकहरू सांसारिक द्वन्दहरूमा पूर्णतया तटस्थ रहने प्रयास किन गर्दछन्?
• मसीहीहरूको आध्यात्मिकतालाई भताभुङ्ग पार्ने शैतानका केही धूर्त तरकिबहरू के के हुन्?
• यस निर्णायक आत्मिक लडन्तमा परमेश्वरले प्रदान गर्नु भएको हात-हतियारले हाम्रो बचाव विशेष ढङ्गहरूमा कसरी गर्दछ?