अध्याय १६
दियाबल अनि त्यसका दाउपेचहरूको विरोध गर्नुहोस्
“दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.
१, २. बप्तिस्मा गर्ने बेलामा को-को खुसी हुन्छन्?
तपाईंले यहोवाको सेवा गरेको लामो समय भइसकेको छ भने पक्कै पनि हाम्रा सम्मेलन र अधिवेशनहरूमा बप्तिस्मा भाषण धेरै पटक सुनिसक्नुभएको होला। तैपनि जब त्यो क्षण आउँछ अर्थात् बप्तिस्मा गर्नको लागि आफूलाई प्रस्तुत गर्नेहरू हलको अगाडिको भागमा लहरै उभिएको देख्नुहुन्छ तब तपाईंको मन गदगद हुन्छ होला। त्यहाँ उपस्थित अरू व्यक्तिहरूमा पनि खुसी छाउँछ अनि तिनीहरूको गुनगुन सुनिन्छ, त्यसपछि जोडदार ताली बज्छ। यहोवाको पक्ष लिने यो नयाँ झुन्ड देख्दा तपाईं पनि आफ्नो आँसु थाम्न सक्नुहुन्न होला। साँच्चै यतिबेला हामी कत्ति धेरै आनन्द महसुस गर्छौं नि, होइन र!
२ सायद हामी आफ्नो इलाकामा मानिसहरूले बप्तिस्मा गरेको वर्षको दुई-तीन पटक मात्र देख्छौं होला। तर स्वर्गदूतहरूले भने मानिसहरूले बप्तिस्मा गरेको देख्ने सुअवसर कयौं पटक पाउँछन्। विश्वभरिको रेकर्ड हेर्ने हो भने हप्तैपिच्छे हजारौं व्यक्तिहरू यहोवाको दृश्य सङ्गठनमा थपिएको देख्दा ‘स्वर्गमा कत्ति रमाहट हुन्छ’ के तपाईं कल्पना गर्न सक्नुहुन्छ? (लूका १५:७, १०) यस्तो वृद्धि देखेर स्वर्गदूतहरू एकदमै खुसी हुन्छन् भन्ने कुरामा कुनै शङ्का छैन।—हाग्गै २:७.
दियाबल “गर्जने सिंहझैं घुमेर हिंड्छ”
३. सैतान किन “गर्जने सिंहझैं घुमेर हिंड्छ?” सैतान के गर्न चाहन्छ?
३ यसको ठीक विपरीत कसैले बप्तिस्मा गरेको देख्दा रिसले मुरमुरिने अदृश्य प्राणीहरू पनि छन्। हजारौंले यस भ्रष्ट संसारलाई पिठिउँ फर्काएको देख्दा सैतान अनि त्यसका दुष्ट दूतहरू चिढिन्छन्। तिनीहरू यसरी चिढिनु स्वाभाविकै हो किनभने यहोवालाई कसैले पनि साँचो प्रेमले सेवा गर्दैन अनि कडा परीक्षा आइपऱ्यो भने कोही पनि विश्वासी रहिरहन सक्दैन भनेर घमन्डका साथ दाबी गर्ने अरू कोही नभएर सैतान नै थियो। (अय्यूब २:४, ५) त्यसकारण जब कसैले मनदेखि यहोवालाई समर्पण गर्ने निर्णय गर्छ तब शैतान झूटो साबित हुन्छ। यसो हुनु भनेको वर्षको हरेक हप्ता शैतानले हजारौं थप्पड खानु बराबर हो। त्यसैले सैतान “कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्छ” भनेर थाह पाउँदा हामी छक्क पर्दैनौं। (१ पत्रुस ५:८) यो “सिंह” हामीलाई आध्यात्मिक रूपमा निल्न चाहन्छ। मतलब त्यसले हामीलाई यस्तो काम गराउन खोज्छ जसले गर्दा परमेश्वरसितको हाम्रो सम्बन्ध बिग्रने मात्र होइन पूर्ण रूपमा टुट्छ पनि।—भजन ७:१, २; २ तिमोथी ३:१२.
जब कसैले यहोवालाई समर्पण गर्छ र बप्तिस्मा गर्छ तब सैतान झूटो साबित हुन्छ
४, ५. (क) यहोवाले सैतानको शक्तिलाई कुन दुई तरिकामा सीमित पार्नुभएको छ? (ख) कुन कुरामा साँचो ख्रीष्टियनहरू आश्वस्त हुन सक्छन्?
४ हो, हाम्रो शत्रु एकदमै डरलाग्दो छ, तैपनि हामी डरले थुरथुर हुनुचाहिं पर्दैन। किन? किनभने यहोवाले त्यो “गर्जने सिंह”-को शक्तिलाई दुई तरिकामा सीमित पार्नुभएको छ। ती तरिका के-के हुन्? पहिलो: साँचो ख्रीष्टियनहरूको “ठूलो भीड”-ले आउँदै गरेको “महासङ्कष्ट” पार गर्नेछ भनेर यहोवाले पहिल्यै बताउनुभएको थियो। (प्रकाश ७:९, १४) परमेश्वरको भविष्यवाणीले कहिल्यै फेल खाँदैन। त्यसकारण परमेश्वरका जनहरू सबैलाई नै पासोमा पार्न सकिंदैन भनेर सैतानलाई समेत थाह छ।
५ दोस्रो: प्राचीन समयका परमेश्वरका विश्वासी जन अजर्याहका शब्दहरूबाट हामी यो तरिका थाह पाउन सक्छौं। यी अगमवक्ताले राजा आसालाई यस्तो आधारभूत सत्य बताएका थिए: “जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ।” (२ इतिहास १५:२; १ कोरिन्थी १०:१३) परमेश्वरको नजिक रहने उहाँका सेवकहरूलाई सैतानले निल्न सकेन भनेर पहिलाका थुप्रै उदाहरणले देखाएको छ। (हिब्रू ११:४-४०) अहिले पनि कुरा त्यही हो। परमेश्वरको नजिक रहिरहने ख्रीष्टियनले दियाबलको विरोध गर्न सक्छ अनि त्यसमाथि विजय हासिल गर्नसमेत सक्छ। वास्तवमा भन्ने हो भने परमेश्वरको वचन हामीलाई यसरी आश्वस्त पार्छ: “दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ।”—याकूब ४:७.
‘हाम्रो लडन्त दुष्ट दूतहरूका दलसित हो’
६. सैतानले प्रत्येक ख्रीष्टियनसित कसरी लडन्त गर्छ?
६ आध्यात्मिक लडाइँमा पक्कै पनि सैतानको हार हुनेछ। तर व्यक्तिगत तवरमा कुरा गर्ने हो भने, यदि हामीमध्ये कोही होसियार भएनौं भने त्यसले हामीलाई निल्न सक्छ। यहोवासितको हाम्रो सम्बन्धलाई कमजोर बनायो भने निल्न सकिन्छ भनेर सैतानलाई थाह छ। त्यसो भए उहाँसितको हाम्रो सम्बन्धलाई कमजोर बनाउन सैतानले के-कस्तो प्रयास गर्छ? त्यसले हामीलाई तीव्र रूपमा आक्रमण गर्छ, एक-एक जनालाई आक्रमण गर्छ अनि छली तरिका अपनाएर आक्रमण गर्छ। आउनुहोस् सैतानले अपनाउने यी प्रमुख रणनीतिबारे हामी विचार गरौं।
७. सैतानले यहोवाका जनहरूलाई किन तीव्र आक्रमण गर्दैछ?
७ तीव्र आक्रमण। प्रेषित यूहन्नाले यसो भने: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूहन्ना ५:१९) यी शब्दहरूमा सबै साँचो ख्रीष्टियनहरूका लागि एउटा चेतावनी छ। शैतानले पहिले नै यो दुष्ट संसारलाई निलिसकेको छ। त्यसैले जो व्यक्ति अहिलेसम्म उसबाट बचेको छ तिनीहरूमा आफ्नो पूरा ध्यान क्रेन्द्रित गरेर त्यसले तीव्र हमला गर्न सक्छ। ती व्यक्तिहरू यहोवाका जनहरू हुन्। (मीका ४:१; यूहन्ना १५:१९; प्रकाश १२:१२, १७) आफ्नो समय थोरै मात्र बाँकी छ भनेर थाह भएकोले सैतान एकदमै रिसाएको छ। त्यसैले त्यसले आफ्नो हमलालाई अझै तीव्र पारेको छ। परमेश्वरसितको हाम्रो सम्बन्धलाई खतम पार्न त्यसले जुन क्रूर प्रयास गरेको छ, त्यो त्यसको आखिरी प्रयास हो र त्यसको हामीले सामना गर्नु परिरहेको छ। त्यसैले आज हामीले “समयको चिह्न थाह पाउनु” पहिलाभन्दा अझ धेरै जरुरी छ ताकि ‘कुनचाहिं बाटो लिनुपर्ने हो सो बुझ्न’ सकियोस्।—१ इतिहास १२:३२.
८. हाम्रो “लडन्त” दुष्ट स्वर्गदूतहरूसित हो भनेर लेख्दा प्रेषित पावल के भन्न खोज्दै थिए?
८ एक-एक जनासँग लडन्त। प्रेषित पावलले सङ्गी ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए: “हाम्रो यो लडन्त . . . स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” (एफिसी ६:१२) यहाँ लडन्त भनी अनुवाद गरिएको ग्रीक शब्दको शाब्दिक अर्थ “कुस्ती” हो। कुस्ती भन्ने शब्दले हाता-हात गर्ने कुरालाई अर्थात् नजिकबाट भिड्ने कुरालाई बुझाउँछ। त्यसैले कुस्ती भन्ने शब्द चलाएर पावलले हामी प्रत्येकले नै दुष्ट स्वर्गदूतहरूसित व्यक्तिगत रूपमा लडन्त गर्नुपर्छ भन्ने कुरालाई जोड दिइरहेका थिए। हामी बसेको मुलुकका मानिसहरूले दुष्ट स्वर्गदूतहरू अर्थात् भूतप्रेतहरूमा विश्वास गरून् वा नगरून्, हामीले यो कुरा कहिल्यै बिर्सनुहुँदैन: यहोवालाई समर्पण गरिसकेपछि एक अर्थमा हामी कुस्ती मैदानमा उत्रेका हुन्छौं। समर्पण गरेपछिको क्षणदेखि यता प्रत्येक ख्रीष्टियनले लडाइँ थालेका हुन्छन्। त्यसैले पावलले एफिससमा भएका ख्रीष्टियनहरूलाई “खडा” हुन तीन पटकसम्म आग्रह गरेकोमा हामी छक्क पर्दैनौं।—एफिसी ६:११, १३-१५.
९. (क) सैतान अनि दुष्ट स्वर्गदूतहरूले किन थुप्रै “दाउपेचहरू” अपनाउँछन्? (ख) सैतानले हाम्रो सोचाइलाई किन भ्रष्ट पार्न खोज्छ? (ग) हामी कसरी सैतानको प्रयासको प्रतिरोध गर्न सक्छौं? (पृष्ठ २२० मा भएको पेटी हेर्नुहोस्।) (घ) अब हामी कुन दाउपेचबारे विचार गर्नेछौं?
९ छली तरिकाहरू। पावलले ख्रीष्टियनहरूलाई सैतानका “दाउपेचहरूविरुद्ध” दृढ भई खडा हुन सल्लाह दिए। (एफिसी ६:११) याद गर्नुहोस्, पावलले यहाँ दाउपेचहरू भनेर बहुवचन चलाएका छन्। दुष्ट स्वर्गदूतहरूले एउटा मात्र होइन तर कैयौं छली तरिकाहरू अपनाउँछन्। तिनीहरूले यसो गर्नुको खास कारण छ। त्यो के हो? एक किसिमको परीक्षामा दृढ भई खडा भएका कुनै-कुनै विश्वासी व्यक्ति अर्को किसिमको परीक्षाको पासोमा भने फसेका छन्। त्यसैले दियाबल र त्यसका दुष्ट स्वर्गदूतहरू हाम्रो कमजोरी भेट्टाउन हामी प्रत्येकको आनीबानीलाई एकदमै नियालेर हेर्छन्। अनि परमेश्वरसितको सम्बन्धलाई हानि पुऱ्याउन सक्ने कुनै कमजोरी हामीमा देखेमा त्यसको फाइदा उठाउँछन्। तर खुसीको कुरा, दियाबलले अपनाउने थुप्रै तरिकाहरूबारे हामीले बुझेका छौं किनभने त्यसबारे बाइबलमा स्पष्टसित बताइएको छ। (२ कोरिन्थी २:११) सैतानले अपनाउने दाउपेचहरूबारे यस किताबको अगाडिका अध्यायहरूमा हामीले चर्चा गरिसक्यौं। जस्तै: भौतिकवादको प्रलोभन, हानिकारक साथीसङ्गती अनि यौन अनैतिकता। त्यसो भए आउनुहोस्, सैतानले अपनाउने अर्को दाउपेच—तन्त्रमन्त्रबारे अब हामी विचार गरौं।
तन्त्रमन्त्र गर्नु—एउटा धोका
१०.(क) तन्त्रमन्त्र भनेको के हो? (ख) यहोवा तन्त्रमन्त्रलाई कुन दृष्टिले हेर्नुहुन्छ? अनि तपाईं नि?
१० तन्त्रमन्त्र गर्नु अर्थात् प्रेतवादसम्बन्धी कामकुरा गर्नु भनेको दुष्ट स्वर्गदूतहरूसित सोझै सम्पर्क राख्नु हो। भावी बताउनु, झाँक्री विद्या, मोहनी लगाउनु अनि मसान जगाउनु तन्त्रमन्त्रका केही नमुना हुन्। हामीलाई राम्ररी थाह छ, यहोवा तन्त्रमन्त्रलाई “घृणित” ठान्नुहुन्छ। (व्यवस्था १८:१०-१२; प्रकाश २१:८) हामीले पनि “जे कुरा दुष्ट छ, त्यसलाई घृणा” गर्नै पर्छ। त्यसैले हामीले दुष्ट स्वर्गदूतहरूको दललाई साथ दिन खोज्नु एकदमै असोचनीय कुरा हो। (रोमी १२:९) यस्तो काम गर्दा स्वर्गमा बस्ने बुबा यहोवाप्रति कत्ति घिनलाग्दो धोका हुनेछ!
११. हामीलाई तन्त्रमन्त्र गर्नतिर लगाउन सक्नु सैतानको लागि ठूलो जित हो, किन? उदाहरण दिनुहोस्।
११ तन्त्रमन्त्र गर्नु यहोवाप्रति घोर विश्वासघात गर्नु हो भनेर सैतानलाई राम्ररी थाह छ। त्यसैले हामीमध्ये कोही-कोहीलाई यस्तो घिनलाग्दो काम गराउनको लागि सैतान लागिपरेको छ। जब सैतानले कुनै ख्रीष्टियनलाई प्रेतवादसम्बन्धी कामकुरामा फसाउँछ, तब त्यसले ठूलो जित हासिल गर्छ। किन? यसलाई बुझ्न यो उदाहरण विचार गर्नुहोस्: यदि कुनै सैनिकलाई उसको फौजलाई धोका दिन अनि शत्रुको फौजमा सामेल हुन राजी गराउन सकियो भने शत्रु पक्षका कमान्डर एकदमै खुसी हुन्छन्। ती शत्रु पक्षका कमान्डरले अर्को पक्षका कमान्डरको बेइज्जत गर्नको लागि ती धोकेबाजलाई आफूले युद्धमा पाएको पदकको रूपमा समेत देखाउन सक्छन्। त्यसैगरि यदि कुनै ख्रीष्टियन तन्त्रमन्त्र गर्नतिर लाग्छन् भने तिनले आफ्नै इच्छाले अनि जानाजानी यहोवालाई त्यागेका हुन्छन् र आफूलाई सैतानको अधीनमा राखेका हुन्छन्। एकछिन सोच्नुहोस् त, त्यो धोकेबाजलाई युद्धमा जितेको पदकको रूपमा देखाउन पाउँदा सैतानलाई कत्ति खुसी लाग्छ होला! के हामीमध्ये कोही पनि दियाबललाई यस्तो जित हासिल गर्न दिन चाहन्छौं र? पक्कै पनि चाहँदैनौं! किनभने हामी धोकेबाज होइनौं।
शङ्का उब्जाउने प्रश्नहरू गर्नु
१२. तन्त्रमन्त्रप्रतिको दृष्टिकोणलाई असर पार्न सैतानले कुन तरिका अपनाउँछ?
१२ जबसम्म हामी तन्त्रमन्त्रलाई घृणा गर्छौं तबसम्म सैतानले हामीलाई फसाउनको लागि त्यसको प्रयोग गर्न सक्दैन। त्यसैले हाम्रो सोचाइ परिवर्तन गर्नै पर्छ भनेर त्यसले बुझेको छ। त्यसले हाम्रो सोचाइ कसरी परिवर्तन गर्न खोज्छ? त्यसले ख्रीष्टियनहरूलाई अन्योलमा पार्न खोज्छ, यहाँसम्म कि कोही-कोहीले त “खराबलाई असल र असललाई अँध्यारो” सम्झन थाल्छन्। (यशैया ५:२०) त्यसले धरै पहिलादेखि अपनाउँदै आएको तरिका अपनाउँछ। हो, त्यसले मनमा शङ्का उब्जाउने प्रश्नहरू खडा गर्छ।
१३. शङ्का उब्जाउने प्रश्न गर्ने तरिकालाई सैतानले कसरी प्रयोग गरेको छ?
१३ सैतानले यो तरिका पहिला-पहिला कसरी प्रयोग गरेको थियो, याद गर्नुहोस्। अदनको बगैंचामा त्यसले हव्वालाई यस्तो प्रश्न सोधेको थियो: “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी [“साँच्चै, “ NW] भन्नुभएको छ?” अय्यूबको समयमा पनि स्वर्गमा स्वर्गदूतहरूको भेला हुँदा सैतानले यस्तो प्रश्न गरेको थियो: “परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” अनि येशूको पार्थिव सेवाको सुरुतिर सैतानले ख्रीष्टलाई यसो भनेर चुनौती दियो: “यदि तपाईं परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।” सोच्नुहोस् त, येशूको मामिलामा यहोवाले करिब छ हप्ताअघि भनेको कुरा प्रयोग गरेर सैतानले यहोवाको खिल्ली उडाउने साहस गऱ्यो। यहोवाले यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जससित म अति प्रसन्न छु।”—उत्पत्ति ३:१; अय्यूब १:९; मत्ती ३:१७; ४:३.
१४. (क) तन्त्रमन्त्रसम्बन्धी शङ्का उब्जाउने दाउपेचलाई सैतानले कसरी चलाउँछ? (ख) अब हामी कुन कुरामा ध्यान दिनेछौं?
१४ तन्त्रमन्त्रको खराबीलाई ढाकछोप गर्नको लागि आज पनि दियाबलले यही दाउपेच चलाउँछ। दुःखको कुरा कुनै-कुनै विश्वासी व्यक्तिको दिमागमा शङ्का उब्जाउन सैतान सफल भएको छ। तन्त्रमन्त्रको कुनै-कुनै रूपहरू खासै खराब छैनन् भन्ने हदसम्म कोही-कोही पुगेका छन्। वास्तवमा तिनीहरूको मनमा यस्तो प्रश्न उठेको छ; ‘के साँच्चै तन्त्रमन्त्र खराब छ र?’ (२ कोरिन्थी ११:३) यस्तो सोच्नेहरूलाई तिनीहरूको सोचाइ परिवर्तन गर्न हामी कसरी मदत गर्न सक्छौं? सैतानको यो दाउपेचले हामीलाई असर नपारोस् भनेर हामी कसरी पक्का गर्न सक्छौं? जवाफको लागि हाम्रो जीवनको दुई पक्षलाई ध्यान देऔं जसमा सैतानले निकै चलाखी गरेर तन्त्रमन्त्रलाई मिसाएको छ। ती पक्ष हुन्: मनोरञ्जन र स्वास्थ्य उपचार।
सैतानले हाम्रो चाहना र आवश्यकताको फाइदा उठाउँछ
१५. (क) पश्चिमी मुलुकका धेरैजसोले तन्त्रमन्त्रप्रति कस्तो दृष्टिकोण राख्छन्? (ख) कुनै-कुनै ख्रीष्टियनलाई तन्त्रमन्त्रसम्बन्धी संसारको दृष्टिकोणले कसरी असर गरेको छ?
१५ खास गरी पश्चिमी मुलुकहरूमा अलौकिक शक्तिमा विश्वास गर्नु, बोक्सी-विद्या अनि तन्त्रमन्त्रका यस्तै अन्य रूपहरूलाई झन्-झनै हल्कासित लिन थालिएको छ। चलचित्र, पुस्तक-पुस्तिका, टिभी कार्यक्रम अनि कम्प्युटर गेमहरूमा प्रेतवादसम्बन्धी कामकुरालाई मजा लिने, चलाख बनाउने अनि अहानिकारक कुराको रूपमा प्रस्तुत गरिन्छ। अलौकिक शक्तिमा विश्वास गर्ने कुरामा आधारित चलचित्र तथा पुस्तकहरू यतिविघ्न लोकप्रिय भएका छन् कि त्यसलाई मन पराउनेहरूले छुट्टै फ्यान क्लब नै बनाएका छन्। कुरा स्पष्ट छ, दुष्ट स्वर्गदूतहरू अलौकिक शक्तिमा विश्वास गर्नुमा कुनै खतरा छैन भनेर मानिसहरूलाई विश्वस्त पार्न सफल भएका छन्। तन्त्रमन्त्रलाई हल्कासित लिने यो प्रवृत्तिले के ख्रीष्टियनहरूलाई पनि असर गरेको छ? कसै-कसैको सोचाइलाई यसले असर गरेको छ। कसरी? यसको एउटा खास उदाहरण यो हो: अलौकिक शक्तिमा विश्वास गर्ने कुरामा आधारित एउटा चलचित्र एक जना ख्रीष्टियनले हेरे र तिनले भने: “मैले फिल्म मात्र हेरेको त हो नि! तन्त्रमन्त्र नै त गरेको छैन नि।” यस्तो तर्क गर्नु किन खतरनाक हो?
१६. अलौकिक शक्तिसित सम्बन्धित कामकुरामा क्रेन्द्रित मनोरञ्जन छान्नु किन खतरनाक छ?
१६ हुनत हो, तन्त्रमन्त्र गर्नु र तन्त्रमन्त्र गरेको हेर्नुमा फरक छ। तैपनि अलौकिक शक्तिसित सम्बन्धित कामकुरा गरेको हेर्नुमा कुनै खतरा छैन भनेर हामी निश्चय नै भन्न सक्दैनौं। किन? यस कुरालाई विचार गर्नुहोस्: सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूले हाम्रो विचार पढ्न सक्दैनन् भनेर परमेश्वरको वचनले सङ्केत गरेको छ।a त्यसकारण माथि उल्लेख गरिएजस्तै हाम्रो सोचाइ कस्तो छ त्यो थाह पाउन अनि परमेश्वरसितको सम्बन्धलाई कमजोर पार्ने कस्तो कमजोरी हामीमा छ, त्यो बुझ्न दुष्ट स्वर्गदूतहरूले हाम्रो कामकुरालाई नजिकबाट नियाल्ने गर्छन्। तिनीहरूले हामी कस्तो मनोरञ्जन छान्छौं, त्यो पनि नियाल्छन्। यदि कुनै ख्रीष्टियनको आचरणले तिनी मसान जगाउने, मन्त्र जप्ने, भूतप्रेत वा अन्य यस्तै प्रेतवाद खेलाउने कुरामा आधारित चलचित्र वा पुस्तक-पुस्तिकाबाट आनन्द उठाउँछन् भन्ने देखाउँछ भने तिनले दुष्ट स्वर्गदूतहरूलाई आफ्नो बारेमा सन्देश पठाइरहेका हुन्छन्। वास्तवमा तिनी आफैले आफ्नो कमजोर पक्ष तिनीहरूलाई थाह दिइरहेका हुन्छन्! अनि ती दुष्ट स्वर्गदूतहरूले तिनको यो कमजोर पक्षमा त्यतिबेलासम्म आक्रमण गरिरहन्छन् जतिबेलासम्म तिनी पछारिंदैनन्। वास्तवमा अलौकिक शक्तिसित सम्बन्धित मनोरञ्जनमा भाग लिइसकेपछि नै तन्त्रमन्त्रप्रति मानिसहरूको चासो जाग्छ र अन्तमा तिनीहरू तन्त्रमन्त्र गर्न पुग्छन्।—गलाती ६:७.
बिरामी हुँदा यहोवाको मदतबाट लाभ उठाउनुहोस्
१७. कस्तो दाउपेच अपनाएर सैतानले बिरामीहरूबाट फाइदा उठाउन सक्छ?
१७ सैतानले मनोरञ्जनसम्बन्धी हाम्रो चाहनाबाट मात्र फाइदा उठाउन खोज्दैन तर स्वास्थ्य उपचारसम्बन्धी हाम्रो आवश्यकताबाट पनि फाइदा उठाउन खोज्छ। कसरी? यदि कुनै ख्रीष्टियानले लाख कोसिस गर्दा पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकेको छैनन् भने तिनी निराश हुन सक्छन्। (मर्कूस ५:२५, २६) यस्तोबेला सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूले उक्त व्यक्तिबाट फाइदा उठाउने उपयुक्त मौका पाउन सक्छन्। बाइबलमा “अधर्म काम गर्नेहरूको सहायता” नखोज भनेर आज्ञा दिइएको छ भनेर सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई राम्ररी थाह छ। (यशैया ३१:२) दुष्ट स्वर्गदूतहरूले यो चेतावनीविरुद्ध बहकाउन सक्छन्। कसरी? तिनीहरूले बिरामी ख्रीष्टियन निराश भएको बेला उपचारको लागि “दुष्ट” शक्तिहरूको अर्थात् तन्त्रमन्त्रको सहायता लिन उक्साउन सक्छन्। जुन एकदमै अधर्मी काम हो। (यशैया १:१३, NRV) यदि दुष्ट स्वर्गदूतहरूको यो दाउपेच सफल भयो भने उक्त व्यक्तिको परमेश्वरसितको सम्बन्ध कमजोर हुन सक्छ। कसरी?
१८. कस्तो खालको उपचार प्रक्रिया ख्रीष्टियनले त्याग्नुपर्छ? किन?
१८ “दुष्ट” शक्तिहरूको सहारा लिने इस्राएलीहरूलाई यहोवाले चेतावनी दिनुभयो: “तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरो मुख तिमीहरूदेखि अर्कोतिर फर्काउनेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ।” (यशैया १:१५) पक्कै पनि हामी आफ्नो प्रार्थनालाई बाधा पार्ने र यहोवाको सहायता पाउनबाट रोक्ने कुनै पनि कुराबाट अलग रहन चाहन्छौं। खासगरि बिरामी परेको अवस्थामा हामी यस कुरालाई अझै ध्यान दिन्छौं। (भजन ४१:३) त्यसैले यदि कुनै साँचो ख्रीष्टियनलाई आफ्नो रोग पत्ता लगाउने प्रक्रियामा वा त्यसको उपचारविधिमा तन्त्रमन्त्रसित सम्बन्धित केही कुराहरू मुछिएको शङ्का लाग्छ भने तिनले तुरुन्तै त्यसलाई त्याग्नुपर्छ। b (मत्ती ६:१३) यसो गर्दा तिनी यहोवाको मदत पाउने कुरामा ढुक्क हुन सक्छन्।—पृष्ठ २२२ मा भएको “के यो साँच्चै नै तन्त्रमन्त्र हो?” शीर्षकको पेटी हेर्नुहोस्।
दुष्ट स्वर्गदूतहरूसम्बन्धी थुप्रै कथा सुनाइँदा
१९. (क) शैतानले आफ्नो शक्तिबारे थुप्रै मानिसलाई कसरी मूर्ख बनाएको छ? (ख) कस्ता कथाहरू साँचो ख्रीष्टियनले सुन्नु वा सुनाउनु हुँदैन?
१९ पश्चिमी मुलुकका धेरैजसो मानिसले सैतानको शक्तिले हामीलाई कुनै खतरा पुऱ्याउँदैन भनेर सोच्छन् भने संसारको अरू भागमा बस्ने मानिसहरूचाहिं अर्कै धारणा राख्छन्। सैतानले आफूसित एकदमै धेरै शक्ति छ भनेर विश्वास गर्न लगाएर मानिसहरूलाई मूर्ख बनाएको छ जबकि उसित धेरै शक्ति नै छैन। कतिपय मानिसहरू खाँदा-पिउँदा, उठ्दा-बस्दा हरबखत भूतप्रेतकै त्रासमा जिउँछन्। भूतप्रेतको शक्तिशाली कामबारे थुप्रै कथाहरू पाइन्छन्। यस्ता कथाहरू सुनाउँदा मानिसहरू रमाइलो मानीमानी सुनाउँछन् र सुन्ने मानिसहरू पनि मन्त्रमुग्ध हुन्छन्। के हामीले यस्ता कथाहरू सुनाउँदै हिंड्नुहुन्छ? अहँ, हुँदैन। साँचो परमेश्वरका सेवकहरूले यस्तो नगर्नुको दुइटा महत्त्वपूर्ण कारण छन्।
२०. कुनै व्यक्तिले कसरी थाहै नपाई सैतानको झूटो शिक्षा फैलाउन सक्छ?
२० पहिलो कारण हो: भूतप्रेतले गरेको कामहरूबारे कथा सुनाउँदै हिंड्ने मान्छेले वास्तवमा सैतानको काममा साथ दिइरहेको हुन्छ। कसरी? परमेश्वरको वचनले सैतान शक्तिशाली कामहरू गर्न सक्षम छ भनेर बताएको छ तर त्यसले “झूटा चमत्कारहरू” अनि “छल”-को प्रयोग गर्छ भनेर पनि बाइबलले चेतावनी दिएको छ। (२ थिस्सलोनिकी २:९, १०) सैतान सबैभन्दा ठूलो धोकेबाज हो। तन्त्रमन्त्रप्रति झुकाव राख्नेहरूको दिमागलाई कसरी प्रभाव पार्नुपर्छ अनि झूटो कुराप्रति तिनीहरूलाई कसरी विश्वास गराउन सकिन्छ भनेर सैतानलाई थाह छ। यस्ता मानिसहरूले आफूले सुनेको र देखेको कुरालाई साँच्चैको हो भनी विश्वास गर्छन् र अरूलाई साँच्चैको घटनासरी बताउन सक्छन्। पछि यस्ता कथाहरूलाई बारम्बार बढाइचढाइ गरी बतायो भने ‘तील पहाड बन्न पुग्छ।’ यदि कुनै ख्रीष्टियनले यस्ता कथाहरू सुनाउँदै हिंडेका छन् भने वास्तवमा तिनले दियाबलको इच्छा पूरा गरिरहेका हुन्छन् जो “झूटको बुबा हो।” त्यस्ता ख्रीष्टियनले सैतानको झूटो शिक्षालाई फैलाइरहेका हुन्छन्।—यूहन्ना ८:४४; २ तिमोथी २:१६.
२१. हामी आफ्नो कुराकानी केमा केन्द्रित गर्न चाहन्छौं?
२१ दोस्रो कारण हो: यदि कुनै ख्रीष्टियनले बितेको समयमा साँच्चै नै भूतप्रेतको सामना गरेको भए तापनि तिनले सँगी विश्वासीहरूलाई दोहोऱ्याइ-तेहऱ्याइ त्यो कथा सुनाएर मजा लिनुहुँदैन। किन? किनभने हामीलाई यस्तो सल्लाह दिइएको छ: “हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येशूलाई एकटक लगाएर हेरौं।” (हिब्रू १२:२) हो, हामीले आफ्नो ध्यान ख्रीष्टमा लगाउनुपर्छ, सैतानमा होइन। याद गर्नुहोस्, येशूले पृथ्वीमा छँदा आफ्ना चेलाहरूलाई दुष्ट स्वर्गदूतहरूको चर्तिकला सुनाएर मजा लिनुभएन; हुन त उहाँले सैतानले के गर्न सक्छ, के गर्न सक्दैन भन्नेबारे थुप्रै कुरा बताउन सक्नुहुन्थ्यो। तर उहाँले राज्य सन्देशमा आफ्नो ध्यान क्रेन्द्रित गर्नुभयो। त्यसकारण हामी पनि येशू र प्रेषितहरूको उदाहरण अनुकरण गर्दै “परमेश्वरको विषय”-सित सम्बन्धित “अद्भुत कुराहरू”-मा आफ्नो कुराकानी केन्द्रित गर्न चाहन्छौं।—प्रेषित २:११; लूका ८:१; रोमी १:११, १२.
२२. ‘स्वर्गमा रमाहट’ भइरहोस् भनेर हामी कसरी योगदान दिन सक्छौं?
२२ हो, सैतानले थुप्रै दाउपेचहरू लगाउँछ। जसमा तन्त्रमन्त्र पनि समावेश छ। यसको प्रयोग गरेर त्यसले यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्न खोज्छ। तर दुष्ट कुरालाई घृणा गर्दा अनि असल कुरामा लागिरहँदा कुनै पनि किसिमको तन्त्रमन्त्रलाई त्याग्ने हाम्रो सङ्कल्पलाई सैतानले कमजोर पार्ने मौका पाउनेछैन। (एफिसी ४:२७) दियाबल नष्ट नहोउन्जेलसम्म त्यसका “दाउपेचहरूविरुद्ध दृढ भई खडा” भइरह्यौं भने ‘स्वर्गमा कत्ति रमाहट हुनेछ’ कल्पना गर्नुहोस् त!—एफिसी ६:११.
a शैतानलाई बुझाउने विभिन्न नामहरूले (विरोधी, निन्दक, ठगाहा, परीक्षा गर्ने, झूट) हाम्रो मन-मस्तिष्कमा के छ, त्यो त्यसले जान्न-बुझ्न सक्छ भनेर बुझाउँदैन। अर्कोतर्फ यहोवालाई “मन जाँच गर्ने” अनि येशूलाई “मिर्गौला र मन जाँच्ने” भनेर वर्णन गरिएको छ।—हितोपदेश १७:३; प्रकाश २:२३.
b थप जानकारीको लागि प्रहरीधरहरा (अङ्ग्रेजी), डिसेम्बर, १५, १९९४ को पृष्ठ १९-२२ मा भएको “के तपाईंको लागि यो स्वास्थ्य परीक्षण मात्रै हो?” र ब्यूँझनुहोस्!, फेब्रुअरी ८, २००१ को “बाइबलको दृष्टिकोण: उपचार विधिसम्बन्धी छनौट—के त्यसले केही फरक पार्छ?” शीर्षकका लेखहरू हेर्नुहोस्!