सबै किसिमका मानिसहरूले उद्धार पाउनेछन्
१ “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने” यहोवाको इच्छा छ। (१ तिमो. २:४) वंशानुगत गुन, रहनसहन र वातावरणले मानिसहरूलाई केही हदसम्म असर गर्ने भए तापनि आफ्नो जीवन बिताउने तरिका रोज्न भने तिनीहरू स्वतन्त्र छन्। तिनीहरू असल काम गरेर बाँच्न पनि सक्छन् र खराब काम गरेर नाश हुन पनि सक्छन्। (मत्ती ७:१३, १४) यो कुरा बुझेपछि राज्यको सुसमाचार लिएर मानिसहरूलाई बताउन जाँदा तिनीहरूप्रतिको हाम्रो दृष्टिकोणमा कस्तो फरक पर्छ?
२ मानिसको राष्ट्रियता, सांस्कृतिक पृष्ठभूमि वा सामाजिक प्रतिष्ठाले गर्दा सत्यप्रति उसको दृष्टिकोण फरक हुन्छ भनेर हामीले अडकल काट्नु हुँदैन। अलिअलि पढेलेखेका हुन् वा बढी शिक्षित, चाहे राजनीतिमा संलग्न व्यक्ति हुन् या आफ्नो पेशामा पोख्त, नास्तिक, अज्ञयेवादी, कुख्यात अपराधीहरू सबैलाई सत्य मन पर्नसक्छ। हरेक पृष्ठभूमिका अनि हरेक सामाजिक स्तरका मानिसहरूले पुरानो आचरण त्यागेर परमेश्वरको नयाँ संसारमा बस्न सुहाउँदो जीवन बिताइरहेका छन्। (हितो. ११:१९) त्यसैले मानिसहरूको जीवनपद्धति जस्तोसुकै भए तापनि राज्य समाचार बताउन हामी हिचकिचाउनु हुँदैन।
३ यी उदाहरणहरू विचार गर्नुहोस्: एक जना मानिसले आफ्नो सौतेनी बुबालाई मार्ने विचार गरेका थिए तर मारेनन्। पछि उनले आत्महत्या गर्ने निर्णय गरे तर त्यसो पनि गर्न सकेनन्। अनि उनलाई चोरी र लागूऔषधी किनबेच गरेको कारण थुनियो। त्यसपछि उनको वैवाहिक जीवन पनि भताभुंग भयो। आज त्यही मानिस सोझो जीवन बिताइरहेका छन्, उनको वैवाहिक जीवन आनन्दमय भएको छ र सौतेनी बुबासँग पनि राम्रो सम्बन्ध छ। उनी कसरी बदलिए? उनले यहोवाका साक्षीहरूसँग बाइबलका कुराहरू सिके र सिकेको कुरा जीवनमा उतारे। यहोवाले उनलाई सुध्रिनै नसक्ने व्यक्ति सम्झनुभएन।
४ टेलिभिजनको प्रसिद्ध अभिनेत्री भएर पनि एउटी तरुनी आइमाई खुशी थिइनन्। तर यहोवाका साक्षीहरूको असल नैतिक आचरणबाट प्रभावित भएर उनी बाइबल अध्ययन गर्न राजी भइन् अनि चाँडै नै राज्यको सुसमाचार अरूलाई बताउने भइन्। ढोका ढोकामा प्रचार गर्न जाँदा सबैजसोले उनलाई चिन्थे। तर उनी अभिनेत्री भएरभन्दा यहोवाको साक्षीको रूपमा चिनिन पाएकोमा आनन्दित छु भनेर खुशीसाथ बताउँछिन्।
५ एउटी साक्षीले प्रहरीधरहरा-को ग्राहकसँग बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाएको छिमेकीले चाल पाइन् र अध्ययनमा बसिन्। आफूले खोजिरहेको सत्य यही हो भनेर ती छिमेकी स्त्रीले थाह पाइन्! उनी र उनका पतिले छुटानाम गरेको कागज बदर गराए अनि फेरि मिलेर बस्न थाले। उनी ज्योतिषविद्यामा चुर्लुम्मै डुबेकी थिइन् र तन्त्रमन्त्र गर्ने समूहकी सदस्य पनि थिइन्। तर चाँडै तिनले दुष्टात्मासँग सम्बन्धित महंगा महंगा किताबहरू हटाउन पनि पटक्कै हिचकिचाइनन्। तिनी सभाहरूमा जान थालिन् र आफ्ना नातेदार तथा साथीहरूलाई हाल आफूले पाएको सत्यबारे बताउन थालिन्। अहिले तिनी अरूलाई जोसकासाथ साक्षी दिन्छिन्।
६ यसकारण हामीले अरूबारे पहिले नै अनुमान लगाउनु हुँदैन। बरु उत्साहकासाथ सबै मानिसहरूलाई सुसमाचार बताऔं। यहोवाले मानिसहरूको ‘हृदय हेरीकन विचार गर्नुहुने’ भएकोले उहाँ ‘सबै मानिसका मुक्तिदाता हुनुहुनेछ’ भनेर हामी ढुक्क हुनसक्छौं।—१ शमू. १६:७; १ तिमो. ४:१०.