हामी यहोवालाई केही दिन सक्छौं
१ मानिसले पनि परमेश्वरलाई केही दिन सक्छ भनेर के तपाईंलाई थाह थियो? हाबिलले यहोवालाई आफ्नो मूल्यवान् वस्तुभाउ बलिदान चढाए अनि नूह र अय्यूबले पनि त्यस्तै गरे। (उत्प. ४:४; ८:२०; अय्यू. १:५) सृष्टिकर्तालाई यस्ता बलिदानहरू चाहिएको थिएन किनकि सब थोक उहाँकै हुन्। तर विश्वासी जनहरूले परमेश्वरप्रतिको आफ्नो गहिरो प्रेम देखाउन ती बलिदान चढाएका थिए। आज हामी आफ्नो समय, शक्ति र सर-सम्पत्ति यहोवालाई “स्तुतिको बलिदान” चढाउन प्रयोग गर्न सक्छौं।—हिब्रू १३:१५.
२ समय: कम महत्त्वपूर्ण कुरामा खर्चिने समयलाई प्रचारकार्यमा लगाई “समयको पूरा सदुपयोग” गर्नु साँच्चै प्रशंसायोग्य कुरा हो! (एफि. ५:१५, १६, NRV) वर्षमा एक महिना वा सोभन्दा बढी समय सहायक अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गर्नु राम्रो कुरा हो। अथवा प्रचारमा सधैंजसोभन्दा अलि बढी समय बिताउन सक्छौं कि? प्रचारमा हरेक हप्ता ३० मिनेट बढी समय बिताउँदा पनि महिनामा कम-से-कम दुई घण्टा बढी बिताइरहेका हुन्छौं!
३ शक्ति: आफ्नो शक्ति प्रचारकार्यमा खर्च गर्ने हो भने यहोवालाई सर्वोत्तम कुरा दिनै नसक्नेगरि लखतरान हुने मनोरञ्जन र कामबाट आफूलाई टाढै राख्नुपर्छ। साथै, परमेश्वरको सेवामा प्रयोग गर्न सकिने शक्ति नै हरण हुनेगरि हृदयलाई ‘अशान्त पार्ने’ फिक्रीहरूबाट पनि टाढै बस्नुपर्छ। (हितो. १२:२५) फिक्री उचित किसिमकै भएपनि ‘हाम्रो भारी यहोवामा राख्नु’ उपयुक्त छ!—भज. ५५:२२; फिलि. ४:६, ७.
४ सर-सम्पत्ति: भौतिक सर-सम्पत्ति दिएर पनि हामी प्रचारकार्यलाई टेवा पुऱ्याउन सक्छौं। खाँचोमा परेकाहरूलाई केही दिन सकोस् भनेर नियमित तरिकाले केही ‘जोगाउन’ प्रेरित पावलले सँगी मसीहीहरूलाई प्रोत्साहन दिए। (१ कोरि. १६:१, २) त्यसैगरि, स्थानीय मण्डलीको आवश्यकता पूरा गर्न र विश्वव्यापी कार्यको लागि पनि केही रकम छुट्याउन सक्छौं कि? थोरै नै भएपनि हृदयदेखि दिएको कुराको यहोवा मोल गर्नुहुन्छ।—लूका २१:१-४.
५ यहोवाले हामीलाई धेरै थोक दिनुभएको छ। (याकू. १:१७) हामीसँग भएको समय, शक्ति र सर-सम्पत्ति उदार भई उहाँको सेवा गर्न चलाएर उहाँप्रति आभार व्यक्त गर्न सक्छौं। यसो गऱ्यौं भने यहोवा प्रसन्न हुनुहुनेछ “किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.