प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh अध्या. १६ पृ. १५४-१६३
  • परमेश्‍वरको साँचो उपासना गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको साँचो उपासना गर्नुहोस्‌
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजा र पितृपूजा
  • सुरु-सुरुका ख्रीष्टियनहरू क्रिसमस मनाउँदैनथे
  • क्रिसमसको सुरुवात
  • चाडपर्वको सुरुवात कसरी भयो, के त्यो महत्त्वपूर्ण छ?
  • अरूसित व्यवहार गर्दा विवेकी हुनुहोस्‌
  • परिवारका सदस्यहरूसित कस्तो व्यवहार गर्नुपर्छ?
  • साँचो धर्मअनुसार जिउनुहोस्‌
  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh अध्या. १६ पृ. १५४-१६३

अध्याय सोह्र

परमेश्‍वरको साँचो उपासना गर्नुहोस्‌

  • मूर्तिपूजाबारे बाइबल के भन्छ?

  • के ख्रीष्टियनहरूले चाडपर्व मनाउँछन्‌?

  • तपाईं कसरी आफ्नो आस्थाबारे अरूलाई बताउन सक्नुहुन्छ?

१, २. झूटो धर्म त्यागेपछि आफूलाई कुन प्रश्‍न सोध्नुपर्छ? हामीले किन यो प्रश्‍न सोध्नुपर्छ?

मानौं, तपाईंको टोलमा कसैले इनारमा विष हालिदिएछ। विष लागेर ज्यानै जान सक्ने भएकोले टोलभरि मानिसहरू डराइरहेका छन्‌। अब तपाईं के गर्नुहुन्छ? तपाईं तुरुन्तै त्यस इनारको पानी खान छोडेर स्वच्छ पानी खोज्न थाल्नुहुन्छ नि, होइन र? तर यति गरिसकेपछि पनि तपाईंलाई यस प्रश्‍नले सताइरहन सक्छ: ‘कतै मलाई त्यो विष लागिसकेको त छैन?’

२ झूटो धर्मलाई पनि त्यस्तै पानीसित तुलना गर्न सकिन्छ। झूटा शिक्षा अनि रीतिथितिहरूले गर्दा झूटो धर्म विषाक्‍त भएको छ। (२ कोरिन्थी ६:१७) त्यसकारण तपाईं “महान्‌ बेबिलोन”-बाट निस्कनुपर्छ अर्थात्‌ तपाईंले सबै झूटो धर्मलाई त्याग्नुपर्छ। (प्रकाश १८:२, ४) के तपाईंले झूटो धर्म त्यागिसक्नुभयो? त्यागिसक्नुभयो भने तपाईं पक्कै प्रशंसाको योग्य हुनुहुन्छ। तर झूटो धर्म त्यागेर अथवा चर्चबाट राजीनामा दिएर मात्र पुग्दैन। तपाईंले आफूलाई यो प्रश्‍न पनि सोध्नुपर्छ, ‘ममा झूटो धर्मको प्रभाव अझै बाँकी छ कि?’ केही उदाहरण विचार गरौं।

मूर्तिपूजा र पितृपूजा

३. (क) मूर्तिहरूको प्रयोगबारे बाइबल के भन्छ? कसै-कसैलाई यो कुरा स्वीकार्न किन गाह्रो लाग्छ? (ख) झूटो धर्मसित सम्बन्धित कुराहरूलाई तपाईंले के गर्नुपर्छ?

३ कसै-कसैको घरमा धेरै वर्ष पहिलेदेखि पूजाकोठा, मूर्ति अनि देवीदेवताका तस्बिरहरू राखेको हुन सक्छ। तपाईंको घरमा पनि छ कि? सायद भगवान्‌को पूजाआजा गर्न ती कुराहरू नभई हुँदैन जस्तो तपाईंलाई लाग्छ होला। ती कुरासित तपाईंको भावना गाँसिएको पनि हुन सक्छ। तर हामीले आफ्नो मनमा लागेको कुराको भरमा परमेश्‍वरको उपासना गर्नु हुँदैन। परमेश्‍वरको कसरी उपासना गर्नुपर्छ, त्यो उहाँले नै तोकेको हुनुपर्छ। उहाँले जसो भन्‍नुहुन्छ, हामीले त्यसैगरि उपासना गर्नुपर्छ। हामीले मूर्तिको पूजा गरेको यहोवा मन पराउनुहुन्‍न भनी बाइबल बताउँछ। (प्रस्थान २०:४, ५; भजन ११५:४-८; यशैया ४२:८; १ यूहन्‍ना ५:२१) त्यसैले झूटो धर्मसित सम्बन्धित मूर्ति, देवीदेवताको तस्बिर अथवा अरू कुनै चिज छ भने ती सबै नाश गरेर तपाईंले साँचो उपासना गर्नुपर्छ। परमेश्‍वरलाई त्यस्ता कुरादेखि “घीन” लाग्छ। त्यसैले तपाईंले पनि त्यस्ता कुरालाई घृणा गर्नुपर्छ।—व्यवस्था २७:१५.

४. (क) पितृपूजा गर्नु किन व्यर्थ हो? (ख) यहोवाले किन आफ्ना जनलाई कुनै पनि प्रकारको तन्त्रमन्त्रमा भाग लिन निषेध गर्नुभयो?

४ थुप्रै धर्ममा पितृपूजा गर्ने चलन छ। बाइबल अध्ययन गरेर सत्य कुरा सिक्नुअघि सायद तपाईं पनि मान्छे मरेपछि अर्कै लोकमा जान्छ; तिनीहरूले हामीलाई मदत गर्न वा हानि पुऱ्‍याउन सक्छन्‌ भनेर विश्‍वास गर्नुहुन्थ्यो होला। मरिसकेका पितापुर्खाले दुःख नदेओस्‌ भनेर तपाईं अनेक प्रयास गर्नुहुन्थ्यो होला। तर मरिसकेको मानिस कतै जाँदैन अनि तिनीहरूको कुनै पनि अंश जीवित रहँदैन भनेर तपाईंले अध्याय ६ मा सिकिसक्नुभयो। त्यसैले तिनीहरूसित सम्पर्क राख्न खोज्नु बेकार छ। मरिसकेका पितृले केही भनेको वा गरेको जस्तो लागे तापनि त्यो वास्तवमा दुष्ट स्वर्गदूतहरूको काम हो। त्यसकारण यहोवाले इस्राएलीहरूलाई मृत व्यक्‍तिसित कुरा गर्न वा कुनै पनि प्रकारको तन्त्रमन्त्रमा भाग लिन निषेध गर्नुभयो।—व्यवस्था १८:१०-१२.

संसारभरि भइरहेको मूर्तिपूजा र पितृपूजाका चलनहरू

५. मूर्तिपूजा वा पितृपूजा गर्नुहुन्थ्यो भने अब तपाईंले के गर्नुपर्छ?

५ तपाईं मूर्तिपूजा वा पितृपूजा गर्नुहुन्थ्यो भने अब के गर्न सक्नुहुन्छ? यसबारे परमेश्‍वरको दृष्टिकोण बुझ्न बाइबल पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। परमेश्‍वरको साँचो उपासना गर्ने अठोट गर्नुहोस्‌। उहाँको साँचो उपासना गर्न सकूँ भनेर हरेक दिन यहोवालाई प्रार्थना गर्नुहोस्‌ अनि उहाँसित मदत माग्नुहोस्‌।—यशैया ५५:९.

सुरु-सुरुका ख्रीष्टियनहरू क्रिसमस मनाउँदैनथे

६, ७. (क) क्रिसमस किन मनाइन्छ? के येशूका सुरु-सुरुका चेलाहरू क्रिसमस मनाउँथे? (ख) येशूका सुरु-सुरुका चेलाहरूको समयमा कसको जन्मोत्सव मनाइन्थ्यो?

६ लोकप्रिय चाडबाडहरूमा पनि झूटो धर्मको प्रभाव हुन सक्छ। जस्तै, क्रिसमस। आफूलाई ख्रीष्टियन भन्‍नेहरू प्रायः सबैले क्रिसमस मनाउँछन्‌। यो येशूको जन्म भएको दिनको सम्झनामा मनाइने उत्सव हो। तर येशूका सुरु-सुरुका चेलाहरूले उहाँको जन्मदिन मनाएको कुनै प्रमाण भेटिंदैन। धर्मसम्बन्धी एउटा किताब यसो भन्छ: “येशूको जन्म भएको दुई सय वर्षपछिसम्म पनि कसैलाई उहाँको जन्म मिति थाह थिएन र थाह पाउन चाहने मानिसहरू पनि त्यति थिएनन्‌।”

७ येशूका चेलाहरूलाई उहाँको जन्म मिति थाह भएकै भए पनि तिनीहरूले उहाँको जन्मदिन मनाउने थिएनन्‌। किन? एउटा विश्‍वकोशअनुसार सुरु-सुरुका ख्रीष्टियनहरू “जन्मोत्सवलाई ख्रीष्टियन धर्मको चलन मान्दैनथे।” बाइबलमा दुई जना राजाको जन्मोत्सवबारे मात्र बताइएको छ तर तिनीहरू यहोवाका उपासक थिएनन्‌। (उत्पत्ति ४०:२०; मर्कूस ६:२१) प्रथम शताब्दीमा विभिन्‍न देवीदेवताको पनि जन्मदिन मनाइन्थ्यो। उदाहरणको लागि, मे २४ मा रोमीहरू डायना देवीको जन्मदिन मनाउँथे। त्यसको भोलिपल्ट चाहिं सूर्यदेव अपोलोको जन्मदिन मनाउँथे। त्यसैले जन्मदिन मनाउनु ख्रीष्टियन धर्मविपरीत चलन हो।

८. जन्मोत्सवमा अन्धविश्‍वासको कुरा कसरी मुछिएको छ?

८ येशूका चेलाहरूले उहाँको जन्मदिन नमनाउनुको अर्को कारण पनि छ। जन्मोत्सवमा अन्धविश्‍वास मुछिएको छ भनेर तिनीहरूलाई थाह थियो। उदाहरणको लागि, प्राचीन रोम अनि ग्रीसका धेरैजसो मानिस बच्चा जन्मने दिनमा एउटा आत्मा पनि त्यहाँ उपस्थित हुन्छ र त्यही आत्माले जीवनभर बच्चाको रक्षा गर्छ भनी विश्‍वास गर्थे। अनि बच्चा जन्मेको दिनमा जुन देवताको जन्मदिन पर्छ, त्यही देवतासित त्यस आत्माको गहिरो सम्बन्ध हुन्छ भनेर पनि तिनीहरू विश्‍वास गर्थे। यस्तो अन्धविश्‍वाससित येशूको नाम जोड्‌ने चाडपर्व यहोवालाई पक्कै पनि मन पर्दैन। (यशैया ६५:११, १२) त्यसोभए किन यति धेरै मानिस क्रिसमस मनाउँछन्‌ त?

क्रिसमसको सुरुवात

९. येशूको जन्मदिन डिसेम्बर २५ मा किन मनाउन थालियो?

९ येशू पृथ्वीमा आउनुभएको सयौं वर्षपछि मात्र मानिसहरूले डिसेम्बर २५ लाई उहाँको जन्मदिनको रूपमा मनाउन थालेका हुन्‌। तर डिसेम्बर २५ मा येशूको जन्म भएको होइन किनभने उहाँ अक्टोबर महिनामा जन्मनुभएको थियो।a त्यसोभए डिसेम्बर २५ मै येशूको जन्मदिन मनाउनुको कारण के हो? एउटा विश्‍वकोशअनुसार ख्रीष्टियन भनौदाहरू “येशूको जन्मोत्सव अनि रोमीहरूले मनाउने ‘अजेय सूर्यको जन्मदिन’ एकै दिनमा परोस्‌ भन्‍ने चाहन्थे।” जाडोयाममा सूर्यले दिने ताप अनि उज्यालो मधुरो हुन्छ। त्यसैले सूर्यको प्रशस्त ताप अनि उज्यालो पाउन सकियोस्‌ भनेर गैर-ख्रीष्टियनहरू सूर्यको पूजा गर्थे। तिनीहरू डिसेम्बर २५ देखि सूर्य अझ रापिलो अनि तेजिलो हुँदै जान्छ भनेर विश्‍वास गर्थे। अरू धर्म मान्‍ने मानिसहरूलाई ख्रीष्टियन बनाउन चर्चका पादरीहरूले यस्तो चाडलाई अँगाले अनि त्यसलाई “ख्रीष्टियन” उत्सव बनाए।b

१०. पहिले-पहिलेका मानिसहरू किन क्रिसमस मनाउँदैनथे?

१० पहिले-पहिलेका मानिसहरूलाई पनि क्रिसमसको सुरुवात गैर-ख्रीष्टियन धर्मबाट भएको हो भनेर थाह थियो। क्रिसमसको सुरुवात बाइबलमा आधारित नभएकोले १७ औं शताब्दीको दौडान बेलायत र कुनै-कुनै अमेरिकी उपनिवेशमा क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको थियो। क्रिसमसको दिन काममा नगई घरमा बस्ने व्यक्‍तिले जरिबाना तिर्नुपर्थ्यो। तर केही समयपछि पुराना चलनहरू फेरि लोकप्रिय हुन थाले र नयाँ चलनहरू पनि थपिए। क्रिसमस फेरि लोकप्रिय उत्सव बन्यो। अहिले थुप्रै मुलुकमा एउटा ठूलो धार्मिक उत्सवको रूपमा धुमधामसित क्रिसमस मनाइन्छ। तर परमेश्‍वरलाई खुसी बनाउन चाहने कसैले पनि यस्ता गैर-ख्रीष्टियन उत्सवहरू मनाउँदैनन्‌।c

चाडपर्वको सुरुवात कसरी भयो, के त्यो महत्त्वपूर्ण छ?

११. प्रायजसो मानिस किन चाडपर्व मनाउँछन्‌? तर हामीले ध्यान दिनुपर्ने मुख्य कुरा के हो?

११ क्रिसमस अनि त्यस्तै अरू चाडपर्व गैर-ख्रीष्टियन धर्मबाट सुरु भएको हो भनेर धेरैजसो मानिस स्वीकार्छन्‌ तर त्यो मनाउनु गलत हो जस्तो चाहिं तिनीहरूलाई लाग्दैन। यस्ता चाडपर्व मनाउनु झूटो उपासना गर्नु बराबर हो भनेर पनि तिनीहरू सोच्दैनन्‌। यी चाडपर्वलाई तिनीहरू परिवार, नातेदार अनि साथीभाइ भेटेर रमाइलो गर्ने मौकाको रूपमा हेर्छन्‌। के तपाईंलाई पनि त्यस्तै लाग्छ? लाग्छ भने परिवारको मायाले तपाईंलाई परमेश्‍वरको साँचो उपासना गर्नदेखि बाधा पुऱ्‍याइरहेको हुन सक्छ। परिवारको सुरुवात गर्नुहुने यहोवा परमेश्‍वर तपाईंले आफ्ना नातेदारहरूसित राम्रो सम्बन्ध कायम राखेको चाहनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (एफिसी ३:१४, १५) पारिवारिक सम्बन्धलाई बलियो बनाउने अरू थुप्रै तरिका छन्‌। त्यसैले यस्ता चाडबाडहरू नमनाईकन परिवारलाई खुसी बनाउन सकिंदैन भनी नसोच्नुहोस्‌। हामीले प्रेषित पावलको यो कुरा सधैं मनमा राख्नुपर्छ: “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफिसी ५:१०.

फोहोरमा झरेको चकलेट

के तपाईं फोहोरमा खसेको चकलेट टिपेर खानुहुन्छ?

१२. अशुद्ध कुराहरूबाट सुरु भएका चलन तथा उत्सवहरूबाट किन अलग बस्नुपर्छ, उदाहरणसहित बताउनुहोस्‌।

१२ आजकल मनाइने चाडपर्वको सुरुवात जस्तोसुकै होस्‌, के त्यसले कुनै फरक पार्छ र? पार्छ। मानौं, तपाईंले फोहोरमा खसेको चकलेट देख्नुभयो। के तपाईं त्यो टिपेर खानुहुन्छ? अवश्‍य खानुहुन्‍न! त्यो चकलेटजस्तै चाडपर्व पनि हेर्दा रमाइलो देखिएला तर त्यसको सुरुवात अशुद्ध कुराहरूबाट भएको हो। यदि हामी परमेश्‍वरको साँचो उपासना गर्न चाहन्छौं भने भविष्यवक्‍ता यशैयाको जस्तै दृष्टिकोण राख्नुपर्छ। तिनले साँचो उपासकहरूलाई यसो भने: “अशुद्ध थोक नछोऊ!”—यशैया ५२:११.

अरूसित व्यवहार गर्दा विवेकी हुनुहोस्‌

१३. चाडपर्व नमनाउँदा अरूलाई कस्तो लाग्न सक्छ?

१३ चाडपर्व नमनाउँदा अप्ठ्यारो परिस्थिति सृजना हुन सक्छ। उदाहरणको लागि, तपाईंले चाडपर्व नमनाएको देखेर तपाईंका सहकर्मी छक्क पर्न सक्छन्‌। कसैले क्रिसमसको उपहार दियो भने तपाईं के गर्नुहुन्छ? के त्यो स्वीकार्नु गलत हो? तपाईंको पति वा पत्नीले अर्कै धर्म मान्छ भने के गर्ने? चाडपर्व मनाउन नपाउँदा छोराछोरीलाई नमजा लाग्न सक्छ। त्यस्तो महसुस हुन नदिन तपाईं के गर्न सक्नुहुन्छ?

१४, १५. चाडपर्वको बेला अरूले शुभकामना वा उपहार दिंदा तपाईं के गर्न सक्नुहुन्छ?

१४ तपाईं विवेकी हुनुपर्छ। चाडपर्वको बेला अरूले शुभकामना दिंदा तपाईं धन्यवाद भन्‍न सक्नुहुन्छ। यदि शुभकामना दिने व्यक्‍तिलाई राम्ररी चिन्‍नुहुन्छ भने तपाईंले केही अरू कुरा बताउन पनि सक्नुहुन्छ। तर अवस्था जस्तोसुकै होस्‌, हामीले अरूको चित्त नदुख्नेगरि आफ्नो कुरा बताउनुपर्छ। बाइबल यस्तो सल्लाह दिन्छ: “तिमीहरूको बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌। यसो गऱ्‍यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्‍नेछौ।” (कलस्सी ४:६) हामीले अरूलाई खसालेर कुरा गर्नु हुँदैन। तपाईं किन त्यस्तो चाडपर्वमा भाग लिनुहुन्‍न भनेर अरूको चित्त नदुख्नेगरि मायालु तरिकाले बुझाउनुहोस्‌। तपाईंलाई पनि उपहार लिन-दिन, नातेदार अनि साथीभाइसित भेटघाट गर्न मन पर्छ तर चाडपर्वबाहेक अरू नै बेला त्यसो गर्न रुचाउनुहुन्छ भनी राम्ररी बताउनुहोस्‌।

१५ यदि कसैले तपाईंलाई उपहार दिन खोज्यो भने नि? यस्तो बेला के गर्ने अनि के भन्‍ने, त्यो धेरै हदसम्म परिस्थितिमा भर पर्छ। उपहार दिने व्यक्‍तिले यसो भन्लान्‌: “मलाई थाह छ, तपाईं यो चाड मनाउनुहुन्‍न। तैपनि म तपाईंलाई उपहार दिन चाहन्छु।” यस्तो बेला सायद तपाईंले तिनको उपहार स्वीकार्ने निर्णय गर्नुहुन्छ होला। किनकि तिनको उपहार स्वीकार्नु चाडपर्वमा भाग लिनुसरह होइन भन्‍ने तपाईंलाई लाग्ला। तर उपहार दिने व्यक्‍तिलाई तपाईंको धार्मिक आस्थाबारे पटक्कै थाह छैन भने तपाईं किन त्यो चाड मनाउनुहुन्‍न भनेर बताउन सक्नुहुन्छ। यसो गर्दा तपाईंले उपहार स्वीकारे तापनि तिनलाई चाहिं किन उपहार दिनुहुन्‍न भनेर तिनले बुझ्नेछन्‌। अर्कोतर्फ, तपाईं आफ्नो आस्थामा अडिग हुनुहुन्‍न अथवा फाइदाको लागि सम्झौता गर्नुहुन्छ भनी साबित गर्ने मनसायले उपहार दिंदै छ भने त्यो नस्वीकार्नु नै बुद्धिमानी हुनेछ।

परिवारका सदस्यहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

१६. चाडपर्वको बेला तपाईं कसरी व्यावहारिक हुन सक्नुहुन्छ?

१६ यदि परिवारका सदस्यहरू यहोवाको उपासक बनेनन्‌ र पहिलेदेखि मानिरहेको धर्म छोड्‌न चाहेनन्‌ भने नि? त्यतिखेर हामी व्यावहारिक हुनुपर्छ अनि कुनै कुरा बोल्दा वा गर्दा विचार पुऱ्‍याउनुपर्छ। तपाईंका नातेदारहरू आफ्नै रीतिथितिअनुसार चल्छन्‌ वा तिनीहरूले विभिन्‍न उत्सव मनाउँछन्‌ भने आपत्ति जनाइराख्नु आवश्‍यक छैन। अरूले तपाईंको आस्थाको आदर गरेको चाहनुहुन्छ भने तपाईंले पनि तिनीहरूको आस्थाको आदर गर्नुपर्छ। (मत्ती ७:१२) तर तिनीहरूको चाडपर्व वा उत्सवमा भाग लिंदै हुनुहुन्छ भन्‍ने जस्तो छनक दिने खालको कुनै पनि काम तपाईंले गर्नु हुँदैन। चाडपर्वसित सम्बन्धित नभएका कुराहरूमा भने व्यावहारिक भएर भाग लिन सकिन्छ। तर आफ्नो अन्तस्करणलाई बिटुलो पार्न सक्ने कुनै पनि काम गर्नदेखि होसियार हुनुहोस्‌। —१ तिमोथी १:१८, १९.

१७. छोराछोरी खिन्‍न नहोऊन्‌ भनेर तपाईं के गर्न सक्नुहुन्छ?

१७ चाडपर्वको दिन अरूले जस्तै रमाइलो गर्न अथवा उपहार नपाउँदा छोराछोरी खिन्‍न हुन सक्छन्‌। तर छोराछोरी खुसी होस्‌ भनेर तपाईंले अरू दिनमा केही गरिरहनुभएको छ भने तिनीहरूले खिन्‍न मान्‍नेछैनन्‌। केही आमाबाबुले छोराछोरीलाई अरू नै समयमा उपहार दिन्छन्‌। नबिर्सनुहोस्‌, तपाईंले छोराछोरीलाई दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार तपाईंको समय अनि मायालु चासो हो।

साँचो धर्मअनुसार जिउनुहोस्‌

परिवार मिलेर प्रचार गरेको, सँगसँगै सभामा भाग लिएको अनि पिकनिकमा एक-अर्कालाई उपहार दिएको दृश्‍य

साँचो धर्मअनुसार जीवन बिताउँदा साँचो आनन्द पाउँछौं

१८. हामी किन सभाहरूमा उपस्थित हुनुपर्छ?

१८ परमेश्‍वरलाई खुसी बनाउन तपाईंले झूटो धर्म त्यागेर साँचो उपासना गर्नुपर्छ। परमेश्‍वरको साँचो उपासना गर्न तपाईंले बाइबलको यो सल्लाह पालन गर्नुपर्छ: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।” (हिब्रू १०:२४, २५) हाम्रा सभाहरूमा भेला हुनु यहोवा परमेश्‍वरको उपासना गर्ने राम्रो अनि रमाइलो अवसर हो। (भजन २२:२२; १२२:१) त्यस्ता सभामा वफादार ख्रीष्टियनहरूले “एकअर्कालाई प्रोत्साहन” दिने मौका पाउँछन्‌।—रोमी १:१२.

१९. बाइबलबाट सिकेको कुरा किन अरूलाई बताउनुपर्छ?

१९ परमेश्‍वरलाई साँचो उपासना चढाउने अर्को तरिका यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर सिकेका कुराहरू अरूलाई बताउनु हो। संसारमा जताततै अन्याय, अत्याचार अनि खराब कुरा व्याप्त भएको देखेर थुप्रै मानिस “शोक र विलाप” गरिरहेका छन्‌। (इजकिएल ९:४) तपाईं पनि त्यस्तो मानिस चिन्‍नुहुन्छ कि? त्यसोभए तिनीहरूलाई बाइबलले दिने आशाबारे बताए कसो होला? साँचो ख्रीष्टियनहरूसित सङ्‌गत गर्दा अनि आफूले बाइबलबाट सिकेका रोचक अनि सत्य कुराहरू अरूलाई बताउँदा झूटो रीतिथिति अनि परम्पराको मोह पनि तपाईंको मनबाट बिस्तारै हराउँदै जानेछ। यसरी साँचो परमेश्‍वरको उपासना गर्नुभयो भने तपाईं धेरै आनन्दित हुनुहुनेछ अनि थुप्रै आशिष्‌ पनि पाउनुहुनेछ।—मलाकी ३:१०.

a पृष्ठ २२१-२२२ हेर्नुहोस्‌।

b डिसेम्बर २५ छान्‍नुको एउटा कारण साटरनालिया चाड पनि थियो। रोमीहरूले कृषि देवको सम्मानमा डिसेम्बर १७-२४ मा यो चाड मनाउँथे। भोजभतेर, रमझम अनि उपहारको आदानप्रदान गरेर यो चाड मनाइन्थ्यो।

c लोकप्रिय चाडपर्वलाई साँचो ख्रीष्टियनहरू कुन दृष्टिले हेर्छन्‌, सो बुझ्न पृष्ठ २२२-२२३ हेर्नुहोस्‌।

बाइबलले के सिकाउँछ?

  • मूर्तिपूजा वा पितृपूजा साँचो उपासना होइन। —प्रस्थान २०:४, ५; व्यवस्था १८:१०-१२.

  • गैर-ख्रीष्टियन चलनबाट सुरु भएका चाडपर्वमा भाग लिनु गलत हो।—एफिसी ५:१०.

  • साँचो ख्रीष्टियनहरूले अरूलाई ठेस नपुग्नेगरि आफ्नो आस्थाबारे बताउनुपर्छ।—कलस्सी ४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने