प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv chap. १३ pp. १६४-१८१
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सूर्य उपासनालाई दिइएको नयाँ नाम—क्रिसमस
  • जन्मदिनबारे बाइबल के भन्छ?
  • इस्टरको नाममा प्रजनन्‌ देवीको पूजा
  • नयाँ वर्षको सुरुवात कहाँबाट भयो?
  • तपाईंको विवाह समारोहलाई शुद्ध बनाइराख्नुहोस्‌
  • ‘चियर्स’ गर्नु गलत हो?
  • “हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर”
  • बोली र कामले परमेश्‍वरको महिमा गर्नुहोस्‌
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको साँचो उपासना गर्नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv chap. १३ pp. १६४-१८१
A son opening a surprise gift from his parents

अध्याय १३

परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू

“प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।”—एफिसी ५:१०.

१. यहोवाले कस्ता मानिसहरूलाई आफूतर्फ खिच्नुहुन्छ? यहोवालाई जे स्वीकार्य छ त्यो गर्न तिनीहरू किन सजग रहिरहनै पर्छ?

येशूले भन्‍नुभयो: “साँचो उपासकहरूले पवित्र शक्‍तिको निर्देशनमा र सत्यबमोजिम परमेश्‍वरको उपासना गर्नेछन्‌, किनकि परमेश्‍वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।” (यूहन्‍ना ४:२३) हो, यहोवाले तपाईंलाई यस्तै व्यक्‍तिको रूपमा भेट्टाउनुभयो। जब उहाँ तपाईंजस्तै अरू मानिसहरू भेट्टाउनुहुन्छ तब तिनीहरूलाई पनि आफूतर्फ र आफ्नो छोरातर्फ खिच्नुहुन्छ। (यूहन्‍ना ६:४४) हाम्रो लागि योभन्दा ठूलो सम्मान अरू के नै हुन सक्छ र! तर बाइबल सत्यलाई प्रेम गर्नेहरूले “प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का” गरिरहनै पर्छ। किनभने सैतान छक्याउन खप्पिस छ।—एफिसी ५:१०; प्रकाश १२:९.

२. साँचो धर्ममा झूटो धर्म मिसाउन खोज्नेहरूलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ? बताउनुहोस्‌।

२ इस्राएलीहरूको समयमा सीनै पर्वत नजिकै के भएको थियो, विचार गर्नुहोस्‌। इस्राएलीहरूले आफ्नो निम्ति देवता बनाइदिन हारूनलाई आग्रह गरे। हारूनले तिनीहरूको कुरा माने र सुनको एउटा बाछो बनाइदिए। त्यो बाछोले यहोवाको प्रतिनिधित्व गर्छ भनेर तिनले बताए। हारूनले भने “भोलि परमप्रभुको निम्ति एउटा चाड हुनेछ।” यसरी साँचो धर्ममा झूटो धर्म मिसाउँदा के यहोवाले त्यसलाई बेवास्ता गर्नुभयो? अहँ, गर्नुभएन। उहाँले तीन हजार मूर्तिपूजकलाई मारिन दिनुभयो। (प्रस्थान ३२:१-६, १०, २८) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? यदि हामी आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न चाहन्छौं भने हामीले ‘अशुद्ध थोक छुनु’ हुँदै हुँदैन र जोसिलो भई सत्यलाई कुनै पनि किसिमको भ्रष्टताबाट जोगाउनै पर्छ।—यशैया ५२:११; इजकिएल ४४:२३; गलाती ५:९.

३, ४. लोकप्रिय चलन र उत्सव तथा पर्वहरूबारे जाँच्दा हामीले किन बाइबल सिद्धान्तहरूलाई राम्ररी ध्यान दिनुपर्छ?

३ येशूका प्रेषितहरूले आफू जीवित छउन्जेल धर्मत्यागलाई रोकिराखेका थिए। तर दुःखको कुरा सत्यलाई प्रेम नगर्ने ख्रीष्टियन भनौदाहरूले प्रेषितहरूको मृत्युपछि गैर-ख्रीष्टियन चलनहरू, उत्सव तथा पर्वहरू र “पवित्र” ठानिएका दिनहरू मान्‍न थाले। यस्तो कुरा मान्‍न थालिसकेपछि पनि तिनीहरूले आफूलाई ख्रीष्टियन भनेर चिनाउन छाडेनन्‌। (२ थिस्सलोनिकी २:७, १०) तिनीहरूले मान्‍न थालेका यस्ता केही उत्सव तथा पर्वहरूबारे विचार गर्नुहोस्‌। त्यस्ता उत्सव तथा पर्वहरूले परमेश्‍वरको आत्मालाई नभई संसारको आत्मालाई कसरी झल्काउँछ, त्यो ध्यान दिनुहोस्‌। सरल भाषामा भन्‍ने हो भने संसारका उत्सव तथा पर्वहरूको विषय एउटै छ: यस्ता उत्सव तथा पर्वहरूले शरीरका लालसाहरू पूरा गर्नतर्फ आकर्षित गर्छ र “महान्‌ बेबिलोन”-लाई सङ्‌केत गर्ने झूटो धर्मको विश्‍वास तथा तन्त्रमन्त्र सम्बन्धी कुरालाई बढवा दिन्छ।a (प्रकाश १८:२-४, २३) यो कुरा पनि याद गर्नुहोस्‌, पहिला-पहिला जति पनि गैर-ख्रीष्टियन कामहरू गरिन्थ्यो त्यसलाई यहोवा घृणा गर्नुहुन्थ्यो। अहिले अपनाइने थुप्रै चलनहरू त्यसैबाट सुरु भएका हुन्‌। यस्ता उत्सव तथा पर्वहरूलाई उहाँ आज पनि उत्तिकै घृणा गर्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैले यस्ता उत्सव तथा पर्वहरूप्रति यहोवाको दृष्टिकोण कस्तो छ भनेर बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा होइन र?—२ यूहन्‍ना ६, ७.

४ साँचो ख्रीष्टियन भएकोले हामीलाई कुनै-कुनै उत्सव तथा पर्वहरूदेखि यहोवा प्रसन्‍न हुनुहुन्‍न भन्‍ने कुरा थाह छ। तर यो कुरा थाह पाएर मात्र पुग्दैन। यस्तो कुराहरूमा फिटिक्कै नमुछिन हामीले दृढ सङ्‌कल्प गर्नु आवश्‍यक छ। यस्ता उत्सव तथा पर्वहरूदेखि यहोवा किन अप्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरालाई जाँच्यौं भने त्यसले परमेश्‍वरको प्रेम पाउन लायक भइरहनको लागि ठेस पुऱ्‍याउने कुनै पनि कुरादेखि अलग रहने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउनेछ।

सूर्य उपासनालाई दिइएको नयाँ नाम—क्रिसमस

५. येशू डिसेम्बर २५ मा जन्मनुभएको होइन भनेर हामी किन ठोकुवा गर्न सक्छौं?

५ कसै-कसैको विश्‍वासअनुसार क्रिसमस ख्रीष्टको जन्मदिन मनाउने पर्व हो। तर येशूको जन्मदिन मनाइयो भनेर बाइबलमा कतै पनि उल्लेख गरिएको छैन। वास्तवमा भन्‍ने हो भने उहाँ ठ्याक्कै कुन दिन जन्मनुभयो, त्यो कसैलाई पनि थाह छैन। तर उहाँ डिसेम्बर २५ मा जन्मनुभएको होइन भनेर चाहिं हामी ठोकुवा गर्न सक्छौं।b किन? किनभने येशू जुन ठाउँमा जन्मनुभएको थियो त्यो ठाउँ डिसेम्बर २५ तिर निकै नै चिसो हुन्छ। येशूको जन्म हुँदा “गोठालाहरू बाहिर चौरमा” आफ्नो बगालको सुरक्षा गर्दै बसिरहेका थिए भनेर लूकाले बताएका छन्‌। (लूका २:८-११) यदि तिनीहरू बाह्रै महिना “बाहिर चौरमा” बस्ने गरेका भए यो कुरा त्यत्ति महत्त्वपूर्ण हुने थिएन। तर बेतलेहेममा जाडो महिनामा पानी पर्ने र हिउँ पर्ने हुँदा बगाललाई बाहिर निकालिंदैन थियो र गोठालाहरू पनि “बाहिर चौरमा” बस्दैन थिए। साथै सम्राट्‌ अगस्टसले जनगणना लिने आदेश दिएको हुँदा यूसुफ र मरियम बेतलेहेम गएका थिए। (लूका २:१-७) मानिसहरूलाई रोमी शासन पहिलेदेखि नै चित्त बुझेको थिएन। यस्तो अवस्थामा रोमी सम्राट्‌ले आफ्ना प्रजाहरूलाई कठाङ्‌ग्रिने जाडोमा आफ्नो पुर्ख्यौली सहर जाने आदेश दिएको हुनै सक्दैन।

६, ७. (क) क्रिसमसका थुप्रै चलनहरूको सुरुवात कहाँबाट भएको थियो? (ख) क्रिसमसको बेला उपहार दिनु र साँचो ख्रीष्टियनहरूले उपहार दिनुमा के फरक छ?

६ क्रिसमस मनाउने चलन बाइबलको शिक्षा होइन। बरु यो चलन प्राचीन समयको गैर-ख्रीष्टियन चाडहरूबाट सुरु भएको थियो। जस्तै: रोमीहरूले मनाउने चाड साटर्निलिया। यो चाड कृषि देवता साटर्नमा समर्पित थियो। न्यु क्याथोलिक इन्साइक्लोपीडिया (अङ्‌ग्रेजी) अनुसार धेरै वर्ष पहिले मिथ्रा नामक देवताका उपासकहरूले डिसेम्बर २५ लाई “अजेय सूर्यको जन्मदिवस”-को रूपमा मान्‍ने गर्थे। सोही इन्साइक्लोपीडिया यसो पनि भन्छ: “क्रिसमसको उत्पत्ति त्यस्तो समयमा भयो, जतिबेला रोममा विशेष गरी सूर्यका कट्टर उपासकहरू थिए।” यो समय ख्रीष्टको मृत्युको तीन सय वर्ष पछिको थियो।

साँचो ख्रीष्टियनहरू प्रेमले उत्प्रेरित भएर अरूलाई उपहार दिन्छन्‌

७ यस्ता पर्वमा गैर-ख्रीष्टियनहरूले उपहार साटासाट गर्थे र भोजभतेर दिन्थे। यस्तो चलन क्रिसमसमा अझै यथावत्‌ छ। रोमी समयमा क्रिसमस मनाउँदा मानिसहरू उपहार साटासाट त गर्थे तर त्यो कुरा २ कोरिन्थी ९:७ अनुरूप थिएन। जहाँ यस्तो लेखिएको छ: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” साँचो ख्रीष्टियनहरू अरूलाई प्रेम गर्छन्‌, त्यसैले उपहार दिन्छन्‌। कसैलाई उपहार दिनको लागि तिनीहरूलाई खास तिथिमिति चाहिंदैन। तिनीहरूले उपहार दिंदा अरूबाट पनि उपहारको आशा गर्दैनन्‌। (लूका १४:१२-१४; प्रेषित २०:३५) क्रिसमस मान्‍नेहरू हरेक वर्ष त्यसको तयारीको चपेटामा पर्छन्‌ र ऋणमा चुर्लुम्मै डुब्छन्‌। तर साँचो ख्रीष्टियनहरू यस्तो तनावबाट अनि गह्रौं बोझबाट मुक्‍त भएकोमा औधी खुसी छन्‌।—मत्ती ११:२८-३०; यूहन्‍ना ८:३२.

८. के ज्योतिषीहरूले येशूलाई जन्मदिनको उपहार दिएका थिए? बताउनुहोस्‌।

८ तर केहीले यस्तो तर्क पनि गर्छन्‌: ‘के ज्योतिषीहरूले येशूलाई जन्मदिनको उपहार दिएका थिएनन्‌ र?’ अहँ थिएनन्‌। त्यो उपहार जन्मदिनको उपहार थिएन। बाइबलकालीन समयमा कुनै सम्माननीय व्यक्‍तिलाई भेट्‌न जाँदा मानिसहरू खाली हात जाँदैनथे। उक्‍त व्यक्‍तिलाई आदर गर्नुपर्ने हुँदा तिनीहरू केही उपहार लैजान्थे। ती ज्योतिषीहरूले पनि त्यही चलनअनुसार मात्र उपहार चढाएका थिए। (१ राजा १०:१, २, १०, १३; मत्ती २:२, ११) वास्तविकतालाई खोतल्ने हो भने तिनीहरू येशूको जन्म भएको रात उहाँलाई भेट्‌न आएका थिएनन्‌। तिनीहरूले येशूलाई भेट्‌दा उहाँ डुँडमा राखिएको सानो बालक हुनुहुन्थेन, बरु उहाँको जन्म भएको महिनौं भइसकेको थियो र एउटा घरमा हुनुहुन्थ्यो।

के मैले यो उत्सव तथा पर्वमा भाग लिनु हुन्छ?

A Christian woman refusing to help decorate her workplace for a popular celebration

सिद्धान्त: “यहोवा भन्‍नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध थोक छुन बन्द गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ ”—२ कोरिन्थी ६:१७.

लोकप्रिय उत्सव तथा पर्व वा चलनहरूबारे आफैलाई सोध्नुहोस्‌

  • के यसको सुरुवात झूटो धर्मको प्रचलन तथा शिक्षाबाट भएको हो भनेर स्पष्टै छ? के यसमा तन्त्रमन्त्र पनि मुछिएको छ?—यशैया ५२:११; १ कोरिन्थी ४:६; २ कोरिन्थी ६:१४-१८; प्रकाश १८:४.

  • के यसले कुनै व्यक्‍ति, कुनै सङ्‌गठन वा कुनै देशको प्रतीकको बढ्‌तै सम्मान अनि प्रशंसा गर्छ?—यर्मिया १७:५-७; प्रेषित १०:२५, २६; १ यूहन्‍ना ५:२१.

  • के यसले एउटा देशलाई अर्को देशभन्दा वा एउटा जातिलाई अर्को जातिभन्दा उच्च पार्छ?—प्रेषित १०:३४, ३५; १७:२६.

  • के यसले परमेश्‍वरको पवित्र शक्‍तिको विरुद्ध काम गर्ने “संसारको मनोभाव” झल्काउँछ?—१ कोरिन्थी २:१२; एफिसी २:२.

  • के मैले यसमा भाग लिंदा अरूलाई ठक्कर पुग्न सक्छ?—रोमी १४:२१.

  • यदि मैले यसमा भाग नलिने निर्णय गरेमा यसबारे अरूलाई आदरपूर्वक कसरी बताउनुपर्छ?—रोमी १२:१, २; कलस्सी ४:६.

लोकप्रिय उत्सवहरूबारे उठ्‌ने प्रश्‍नहरूको जवाफ पाउन निम्न बाइबल पदहरूले कसरी थप मदत दिन सक्छ?

  • “[अविश्‍वासी इस्राएलीहरू] अन्यजातिहरूसँग मिसिए। र उनीहरूका व्यवहार सिके।”—भजन १०६:३५.

  • “जो मानिस सानो कुरामा विश्‍वासिलो छ, ऊ धेरै कुरामा पनि विश्‍वासिलो हुन्छ अनि जो सानो कुरामा बेइमान छ, ऊ धेरै कुरामा पनि बेइमान हुन्छ।”—लूका १६:१०.

  • “तिमीहरू यस संसारका होइनौ।”—यूहन्‍ना १५:१९.

  • “तिमीहरूले ‘यहोवाको टेबुलबाट’ खाने अनि दुष्ट स्वर्गदूतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।”—१ कोरिन्थी १०:२१.

  • “छाडा आचरण, कामवासना, अचाक्ली मद्यपान, भोजको मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।”—१ पत्रुस ४:३.

जन्मदिनबारे बाइबल के भन्छ?

९. बाइबलमा उल्लेख गरिएको जन्मदिन मनाइएको बेला कस्तो घटना घटेको थियो?

९ बच्चा जन्मनु एकदमै खुसीको क्षण हो। तैपनि परमेश्‍वरका सेवकहरूले जन्मदिन मनाए भनेर बाइबलमा कतै उल्लेख गरिएको छैन। (भजन १२७:३) बाइबल लेखकहरूले यसबारे लेख्न छुटाएका पो हुन्‌ कि? अहँ, त्यसो होइन। किनभने बाइबलमा दुईवटा जन्मदिनबारे उल्लेख गरिएको छ। ती जन्मदिन मिश्रका फिरऊन र हेरोद एन्तिपसको हो। (उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१-२९) तर ती दुवै अवसरमा नराम्रो घटना घटेको थियो। विशेषगरि हेरोद एन्तिपसको जन्मदिनमा नराम्रो घटना भयो—त्यतिबेला बप्तिस्मा गराउने यूहन्‍नाको टाउको काटिएको थियो।

१०, ११. प्रथम शताब्दीका ख्रीष्टियनहरूले जन्मदिन मनाउनुलाई कुन दृष्टिकोणले हेर्थे? किन?

१० द वल्ड बुक इन्साइक्लोपीडिया (अङ्‌ग्रेजी)-ले बताएअनुसार प्रारम्भिक ख्रीष्टियनहरूले “कसैको जन्मदिन मनाउनु गैर-ख्रीष्टियन चलन ठान्थे।” उदाहरणका लागि हरेक मानिस जन्मँदा एउटा आत्मा आउँछ र त्यसले जिन्दगीभर सुरक्षा प्रदान गर्छ भनी प्राचीन समयका ग्रीकहरू विश्‍वास गर्थे। यसरी आएको आत्माको “त्यस देवसित एउटा रहस्यमय सम्बन्ध हुन्थ्यो जसको जन्मदिनमा उक्‍त व्यक्‍ति जन्मेको हुन्थ्यो” भनी द लोर अफ बर्थडेज्‌ (अङ्‌ग्रेजी) शीर्षकको पुस्तक बताउँछ। ज्योतिष विद्या र राशिफलसित धेरै पहिलेदेखि नै जन्मदिनको गहिरो सम्बन्ध थियो।

“पवित्र” ठानिने दिनहरू अनि सैतानवाद

रोचक कुरा, सैतानवाद नामको धर्ममा कुनै व्यक्‍तिको जन्मदिनलाई सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। किन? किनभने कुनै व्यक्‍तिले यदि आफैलाई ईश्‍वर स्वीकार्छन्‌ भने तिनी ईश्‍वर हुन सक्छन्‌ भनेर सैतानवादीहरू मानिलिन्छन्‌। त्यसकारण उनीहरूको भनाइअनुसार आफ्नो जन्मदिन मनाउनु भनेको ईश्‍वरको जन्मदिन मनाउनु हो। वास्तवमा जन्मदिन मनाउने धेरैजसोले यो हदसम्मको कट्टर अनि अहङ्‌कारी दृष्टिकोण त राख्दैनन्‌ होला। तैपनि द लोर अफ बर्थ डेज्‌ (अङ्‌ग्रेजी) किताब यसो भन्छ: “अरू उत्सव तथा चाडपर्वले मन खुसी बनाउँछ तर जन्मदिनले अहङ्‌कार बढाउँछ।”

११ जन्मदिन मनाउने चलनको सुरुवात गैर-ख्रीष्टियन धर्म अनि तन्त्रमन्त्रसित सम्बन्धित भएकोले उहिले-उहिलेका परमेश्‍वरका सेवकहरूले जन्मदिन मनाउन इन्कार गरेका थिए। साथै आफूले पालन गर्ने सिद्धान्तको कारणले गर्दा पनि तिनीहरूले त्यसलाई इन्कार गरेको हुनुपर्छ। किन? तिनीहरू नम्र अनि भद्र थिए र आफ्नो जन्मलाई उत्सवकै रूपमा मनाउनुपर्ने हदसम्म त्यसलाई महत्त्व दिंदैन थिए। c (मीका ६:८; लूका ९:४८) बरु बहुमूल्य उपहार अर्थात्‌ जीवन दिएकोमा तिनीहरूले यहोवाको महिमा गरे र उहाँलाई धन्यवाद चढाए।d—भजन ८:३, ४; ३६:९; प्रकाश ४:११.

१२. हाम्रो मृत्युको दिन जन्मेको दिनभन्दा किन उत्तम हुन सक्छ?

१२ विश्‍वासी भएर मर्ने जति पनि मानिसहरू छन्‌ तिनीहरू परमेश्‍वरको सम्झनामा रहिरहन्छन्‌ र तिनीहरूले भविष्यमा जीवन पाउनेछन्‌ भनेर पक्का छ। (अय्यूब १४:१४, १५) उपदेशक ७:१ यसो भन्छ: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो।” यो ‘नाम’ विश्‍वासी भई परमेश्‍वरको सेवा गरेर कमाएको असल नाम हो। महत्त्वपूर्ण कुरा के हो भने ख्रीष्टियनहरूलाई ‘मान्‍नू’ भनेर आज्ञा दिइएको एउटै मात्र उत्सव जन्मसम्बन्धी होइन तर मृत्युसम्बन्धी हो। त्यो हो: येशू ख्रीष्टको मृत्युको सम्झना गर्ने। उहाँको उत्कृष्ट “नाम” हामीले उद्धार पाउने माध्यम हो।—लूका २२:१७-२०; हिब्रू १:३, ४.

इस्टरको नाममा प्रजनन्‌ देवीको पूजा

१३, १४. लोकप्रिय इस्टर चलनको सुरुवात कहाँ-कहाँबाट भएको थियो?

१३ इस्टर पर्वमा ख्रीष्टले पुनर्जीवन पाएको दिनको सम्झना गरिन्छ भन्‍ने चलन छ। तर यो पनि वास्तवमा झूटो धर्मबाट सुरु भएको हो। इस्टर भन्‍ने जुन नाम छ, त्यो आफै नै इयोस्तर अर्थात्‌ ओस्तारासित सम्बन्धित भएको पाइन्छ। इयोस्तर अर्थात्‌ ओस्तारा ‘बिहानी र वसन्त-ऋतुसँग सम्बन्धित एङ्‌लो-साक्सन देवी हुन्‌’ भन्‍ने ठानिन्छ। इस्टर पर्वसित अण्डा र खरायोको के सम्बन्ध छ त? इन्साइक्लोपीडिया ब्रिटानिका (अङ्‌ग्रेजी) अनुसार अण्डालाई “नयाँ जीवन र पुनर्जीवनको सङ्‌केतको रूपमा लिने गरिएको छ” र खरायोलाई चाहिं धेरै पहिलादेखि नै प्रजनन्‌क्षमतालाई सङ्‌केत गर्न चलाइँदै आएको छ। इस्टरलाई ख्रीष्टले पुनर्जीवन पाएको पर्वको रूपमा मानिए तापनि वास्तवमा यो प्रजनन्‌सित सम्बन्धित एउटा धार्मिक रीति हो। e

१४ प्रजनन्‌ क्षमतासित सम्बन्धित यस्तो घृणित धार्मिक रीतिलाई येशूले पुनर्जीवन पाएको पर्वको रूपमा मनाउँदा के यहोवा त्यसलाई स्वीकार्नुहुन्छ होला र? कदापि स्वीकार्नुहुन्‍न! (२ कोरिन्थी ६:१७, १८) वास्तवमा येशूले पुनर्जीवन पाएको दिनलाई पर्वको रूपमा ‘मान्‍नू’ भनेर न त बाइबलमा बताइएको छ न त त्यसलाई बाइबलले अनुमति नै दिएको छ। त्यसकारण इस्टरको नाममा मानिने यस्तो पर्वले हामीलाई झनै अवफादार बनाउँछ।

नयाँ वर्षको सुरुवात कहाँबाट भयो?

१५. नयाँ वर्षको सुरुवात कहाँबाट भएको थियो?

१५ अर्को एकदमै लोकप्रिय उत्सव हो—नयाँ वर्ष। यो उत्सव मनाउने चलन कहाँबाट सुरु भयो? द वर्ल्ड बूक इन्साइक्लोपीडिया (अङ्‌ग्रेजी) यसो भन्छ: “ईसापूर्व ४६ मा रोमी शासक जुलियस सिजरले जनवरी १ लाई नयाँ वर्षको रूपमा स्थापना गरे। रोमीहरूले यो दिन जानुस देवलाई समर्पण गरे जसलाई ठूलठूला गेट, ढोका र कुनै पनि कुराको सुरुवातका देव ठानिन्थ्यो। जानुस देवकै नाउँबाट जनवरी नाउँ राखिएको थियो। यस देवको अगाडि र पछाडि फर्केको दुइटा अनुहार थियो।” नयाँ वर्षसित सम्बन्धित तिथिमिति र चलनहरू देशअनुसार फरक-फरक छन्‌। थुप्रै ठाउँमा मोजमस्ती गर्नु र रक्सी पिउनु यो उत्सवको एउटा भाग हो। तर रोमी १३:१३ यस्तो सल्लाह दिन्छ: “दिउँसोजस्तै हामी भद्र भएर चलौं। भोजको मोजमस्ती, अनियन्त्रित मद्यपान, अवैध यौनसंसर्ग, छाडा आचरण, कलह र डाह त्यागौं।” f

तपाईंको विवाह समारोहलाई शुद्ध बनाइराख्नुहोस्‌

१६, १७. (क) विवाह गर्ने योजना बनाइरहेका ख्रीष्टियन जोडीले विवाहसम्बन्धी स्थानीय चलनहरूलाई बाइबल सिद्धान्त विचार गर्दै किन जाँच्नुपर्छ? (ख) चामल वा अन्य चिज फाल्ने चलन र यस्तै अन्य चलनबारे ख्रीष्टियनहरूले के विचार गर्नुपर्छ?

१६ चाँडै नै महान्‌ बेबिलोनमा “दुलहा-दुलहीको कुनै सोर . . . फेरि कहिल्यै सुनिनेछैन।” (प्रकाश १८:२३) किन? त्यसको एउटा कारण हो, महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यले चलाउने तन्त्रमन्त्र। यो तन्त्रमन्त्रले विवाहलाई सुरुको दिनदेखि नै अशुद्ध बनाउन सक्छ।—मर्कूस १०:६-९.

१७ देशअनुसार चलन फरक-फरक हुन्छ। हेर्दा असुद्धजस्तो नलाग्ने कुनै-कुनै चलनको सुरुवात बेबिलोनी प्रचलनबाट भएको हुन सक्छ। त्यस्ता प्रचलनहरूले विवाह गर्ने जोडी वा निम्तालुहरूको ‘भाग्य’ राम्रो बनाइदिन्छ भन्‍ने विश्‍वास गरिन्छ। (यशैया ६५:११) यस्तै एउटा परम्परामा चामल वा यस्तै अन्य चिज फाल्ने गरिन्छ। यो चलनको सुरुवात एउटा विश्‍वासबाट भएको हुन सक्छ। त्यस विश्‍वासअनुसार खानेकुराले दुष्ट आत्मालाई शान्त पार्छ अनि बेहुला र बेहुलीलाई हानि हुन दिंदैन। त्यसबाहेक प्रजनन्‌, खुसीयाली र दीर्घायुसित चामलको धेरै वर्षदेखि रहस्यमय सम्बन्ध रहँदै आएको ठानिन्छ। स्पष्ट छ, परमेश्‍वरको प्रेम पाउन लायक भइरहन चाहने सबै जना यस्ता भ्रष्ट चलनहरूबाट अलग रहनुपर्छ।—२ कोरिन्थी ६:१४-१८.

१८. विवाह समारोहको योजना बनाइरहेका जोडी र निम्तो पाएकाहरूलाई बाइबलका कस्ता सिद्धान्तहरूले डोऱ्‍याएको हुनुपर्छ?

१८ यहोवाका सेवकहरू विवाह समारोहमा वा विवाह भोजमा ख्रीष्टियन मर्यादालाई कुल्चिमिल्ची पार्न सक्ने वा अरूको अन्तस्करणलाई चोट पुऱ्‍याउन सक्ने सांसारिक प्रचलनबाट अलग बस्छन्‌। उदाहरणको लागि त्यस्तो अवसरमा तिनीहरू अरूलाई चोट पुग्ने गरी व्यङ्‌ग्य हान्दैनन्‌ वा अश्‍लील अर्थ पनि लाग्ने कुरा गर्दैनन्‌। ठट्टा गरेर अरूलाई हाँसोको पात्र बनाउँदैनन्‌ वा नयाँ दुलहा-दुलहीलाई र अरूलाई अप्ठ्यारो हुने किसिमको केही कुरा भन्दैनन्‌। (हितोपदेश २६:१८, १९; लूका ६:३१; १०:२७) साथै तिनीहरू रबाफ देखाउने किसिमको भोजभतेर पनि गर्दैनन्‌। त्यस्तो भोजभतेरले भद्रता होइन तर “तडकभडक” देखाउँछ। (१ यूहन्‍ना २:१६) यदि तपाईंले विवाह समारोहको योजना बनाइरहनुभएको छ भने यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, यहोवा तपाईंको विशेष दिन यस्तो होस्‌ भनेर चाहनुहुन्छ कि पछि त्यसलाई सम्झेर तपाईंको मन प्रफुल्ल होस्‌, पछुतोले पिल्सिने होइन। g

‘चियर्स’ गर्नु गलत हो?

१९, २०. चियर्स गर्ने चलनको सुरुवातबारे एउटा किताबले के बताएको छ? यो चलन ख्रीष्टियनहरूलाई किन स्वीकार्य छैन?

१९ विवाह समारोहमा र अन्य सामाजिक जमघटमा रक्सी खानुअघि आपसमा गिलास जुधाउने र ‘चियर्स’ (वा अन्य यस्तै) भन्‍ने चलन खुबै चलेको छ। सन्‌ १९९५ मा प्रकाशित इन्टरनेशनल ह्‍यान्डबुक अन अल्कोहल एन्ड कल्चर (अङ्‌ग्रेजी) शीर्षकको किताब यसो भन्छ: “चियर्स गर्ने चलन . . . पुरातन समयमा देवीदेवतालाई तरल पदार्थ भेटीको रूपमा चढाउने प्रथासित सायद सम्बन्धित छ। त्यस प्रथाअनुसार पवित्र मानिएको तरल पदार्थलाई देवतासामु चढाइन्थ्यो . . . र त्यसको साटो आफ्नो मनोरथ पूरा होस्‌ भन्‍ने वरदान मागिन्थ्यो। तिनीहरूले वरदान माग्दा यस्तो बिन्ती चढाउँथे, ‘धेरै वर्ष बाँच्न सकौं!’ अथवा ‘सुस्वास्थ्य दिनुहोस्‌!’ ”

२० यो कुरा साँचो हो, सायद धेरैजसो मानिस चियर्स गर्नुलाई धार्मिक वा अन्धविश्‍वाससित सम्बन्धित कुरा ठान्दैनन्‌। तैपनि रक्सीको गिलासलाई माथितिर उचाल्नु भनेको “स्वर्ग” अर्थात्‌ अलौकिक शक्‍तिलाई आशिष्‌को लागि बिन्ती चढाएको हो भन्‍न सकिन्छ। तर यसरी आशिष्‌ माग्नु धर्मशास्त्रसित मेल नखाने तरिका हो।—यूहन्‍ना १४:६; १६:२३. h

“हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर”

२१. धार्मिक कुरासित नमुछिए तापनि ख्रीष्टियनहरू कस्ता लोकप्रिय उत्सवहरूबाट अलग रहनुपर्छ? किन?

२१ कुनै-कुनै मुलुकमा वर्षेनी रमाइलो चाड अर्थात्‌ मार्दी ग्रासको आयोजना गरिन्छ। यस्तो पर्वमा कामुक नृत्य गरिन्छ अथवा समलिङ्‌गी पुरुष तथा स्त्रीको जीवनशैलीलाई प्रशंसा समेत दिइन सक्छ। अहिलेको संसारको यस्तो पतित स्तर झल्काउने प्रवृत्तिलाई महान्‌ बेबिलोनले चाल पाउने गरी वा चाल नपाउने गरी मलजल गर्ने गरेको छ। “परमेश्‍वरले प्रेम गर्ने”-हरूले यस्तो पर्वमा भाग लिनु वा हेर्नु सही होला त? यस्तो कुरामा मुछिने ख्रीष्टियनले के साँच्चै नै खराबीलाई घृणा गरेको देखाइरहेको हुन्छ र? (भजन १:१, २; ९७:१०) भजनहारको मनोवृत्ति अनुकरण गर्नु कत्ति उत्तम! तिनले यस्तो बिन्ती चढाए: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।”—भजन ११९:३७.

२२. कुनै उत्सव तथा पर्वमा भाग लिने कि नलिने भनेर कुनै ख्रीष्टियनले आफ्नो अन्तस्करणको आधारमा कतिबेला निर्णय गर्न सक्छन्‌?

२२ संसारका उत्सव तथा पर्वहरू मनाइने दिनमा कुनै ख्रीष्टियनले आफ्नो आचरणद्वारा त्यसमा भाग लिइरहेको छ भन्‍ने भान अरूलाई पार्नुहुँदैन। पावलले लेखे: “चाहे तिमीहरू खाओ वा पिओ . . . सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१; पृष्ठ १८१ मा भएको “बुद्धिमानी निर्णय गर्नुहोस्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।) तर यदि कुनै चलन वा उत्सव तथा पर्व स्पष्ट रूपमा झूटो धर्मसित सम्बन्धित छैन, राजनीति वा देशभक्‍तिको उत्सवसित मुछिएको छैन वा बाइबल सिद्धान्त विपरीत छैन भने प्रत्येक ख्रीष्टियनले त्यसमा भाग लिने कि नलिने भनेर व्यक्‍तिगत निर्णय गर्न सक्छन्‌। तर आफ्नो निर्णयले अरूलाई ठेस नपुऱ्‍याओस्‌ भनेर तिनले अरूको भावनाको पनि ख्याल राख्नुपर्छ।

बोली र कामले परमेश्‍वरको महिमा गर्नुहोस्‌

२३, २४. यहोवाका न्यायोचित स्तरबारे हामी कसरी राम्रोसँग साक्षी दिन सक्छौं?

२३ थुप्रै मानिसले लोकप्रिय उत्सव तथा पर्वलाई परिवारका सदस्यहरू अनि साथीभाइ एकसाथ भेला हुने ठूलो मौकाको रूपमा लिन्छन्‌। त्यसैले यदि कसैले हाम्रो धर्मशास्त्रीय अडानलाई निर्दयी र कट्टर भन्छ भने हामी यहोवाका साक्षीहरू परिवार तथा साथीहरूसितको स्वस्थकर जमघटलाई मूल्यवान्‌ ठान्छौं भनेर तिनीहरूलाई दयालु ढङ्‌गमा बताउन सक्छौं। (हितोपदेश ११:२५; उपदेशक ३:१२, १३; २ कोरिन्थी ९:७) आफूले मन पराएका मानिसहरूसित हामी वर्षैभरि सरसङ्‌गत गर्छौं। तर परमेश्‍वरप्रतिको र उहाँका न्यायोचित स्तरप्रतिको प्रेमले गर्दा हामी यस्तो खुसीयालीको क्षणलाई उहाँलाई मन नपर्ने चलनहरूद्वारा दूषित पार्न चाहँदैनौं।—पृष्ठ १७८ मा भएको “साँचो उपासनाले अपार खुसी दिन्छ” शीर्षकको पेटी हेर्नुहोस्‌।

साँचो उपासनाले अपार खुसी दिन्छ

यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। उहाँ आफ्ना सेवकहरू पनि आनन्दित भएको चाहनुहुन्छ। (१ तिमोथी १:११) यस वास्तविकतालाई निम्न बाइबल पदहरूबाट बुझ्न सक्छौं:

  • “सुखी हृदय सबै दिन हर्षमय हुन्छ।”—हितोपदेश १५:१५.

  • “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनुबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१२, १३.

  • “भला मानिसले भला कामहरूको उपाय रच्दछन्‌, औ भला काममा नै तिनी निरन्तर लागिरहन्छन्‌।”—यशैया ३२:८.

  • “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिसहरू हो, मकहाँ आओ र म [येशू] तिमीहरूलाई स्फूर्ति दिनेछु। . . . किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”—मत्ती ११:२८, ३०.

  • “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—यूहन्‍ना ८:३२.

  • “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

  • “पवित्र शक्‍तिको फलचाहिं प्रेम, आनन्द, शान्ति, . . . दया, भलाइ” हो।—गलाती ५:२२.

  • “हरकिसिमका भलाइ, परमेश्‍वरको स्तरबमोजिमको असल काम अनि सत्य नै ज्योतिको फल हो।”—एफिसी ५:९.

२४ निष्कपट भएर सोध्नेहरूलाई यहोवाका केही साक्षीहरूले बाइबलले वास्तवमा के सिकाउँछ? i किताबको अध्याय १६ मा भएका कुरा राम्ररी बताउन सकेका छन्‌। याद गर्नुहोस्‌ हाम्रो लक्ष्य अरूसित विवाद गर्नु होइन तर तिनीहरूको हृदय जित्नु हो। त्यसैले आदर देखाउनुहोस्‌, कोमल भाव देखाइरहनुहोस्‌ अनि तपाईंहरूको “बोली सधैं नुनले स्वादिलो पारेको जस्तो दयालु होस्‌।”—कलस्सी ४:६.

२५, २६. आमाबाबुले छोराछोरीलाई यहोवाप्रतिको विश्‍वासमा र प्रेममा फल्नफुल्न कसरी मदत गर्न सक्छन्‌?

२५ हामी यहोवाका सेवकहरू राम्रो जानकारी राख्छौं। त्यसैले हामी जुन कुरामा विश्‍वास गर्छौं, जुन काम गर्छौं अनि जुन-जुन कुराहरूबाट अलग रहन्छौं ती सबैको कारण हामीलाई थाह छ। (हिब्रू ५:१४) त्यसैले आमाबाबु हो, आफ्ना छोराछोरीलाई बाइबल सिद्धान्तहरूमा तर्क गर्न सिकाउनुहोस्‌। यसो गरेर तपाईंले तिनीहरूको विश्‍वास बलियो बनाउनुहुनेछ, विश्‍वासबारे तिनीहरूसित प्रश्‍न सोध्नेहरूलाई बाइबलबाट जवाफ दिन तिनीहरूलाई मदत गरिरहनुभएको हुनेछ अनि यहोवाको प्रेम पाइन्छ भनेर तिनीहरूलाई आश्‍वस्त पार्नुहुनेछ।—यशैया ४८:१७, १८; १ पत्रुस ३:१५.

२६ “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” परमेश्‍वरको उपासना गर्ने सबैले गैर-धर्मशास्त्रीय उत्सव तथा पर्वहरूबाट आफूलाई अलग गरिरहेका मात्र हुँदैनन्‌ तर जीवनको हर पक्षमा इमानदार हुने प्रयास पनि गरिरहेका हुन्छन्‌। आज थुप्रैले इमानदारी हुनुलाई अव्यावहारिक ठान्छन्‌। तर अर्को लेखमा परमेश्‍वरका तौरतरिका सधैं उत्कृष्ट हुन्छन्‌ भनेर हामी बुझ्नेछौं।

a पृष्ठ १७० मा भएको “के मैले यो उत्सव तथा पर्वमा भाग लिनु हुन्छ?” शीर्षकको पेटी हेर्नुहोस्‌। यहोवाका साक्षीहरूद्वारा प्रकाशित वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) मा “पवित्र” ठानिएका केही खास दिनहरू र उत्सव तथा पर्वहरूको सूची दिइएको छ।

b बाइबलको कालक्रम र संसारको इतिहासले देखाएअनुसार येशूको जन्म ईसापूर्व २ तिर यहूदी क्यालेन्डरअनुसार इथानिम महिनामा भएको हुनुपर्छ। यो महिना अङ्‌ग्रेजी क्यालेन्डरअनुसार सेप्टेम्बर/अक्टोबरमा पर्छ।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी), खण्ड २, पृष्ठ ५६-५७ हेर्नुहोस्‌।

c पृष्ठ १७२ मा भएको “ ‘पवित्र’ ठानिने दिनहरू अनि सैतानवाद” शीर्षकको पेटी हेर्नुहोस्‌।

d कुनै स्त्रीले बच्चा जन्माइसकेपछि तिनले पापबलि चढाउनुपर्छ भनेर व्यवस्थाको करारमा माग गरिएको थियो। (लेवी १२:१-८) यो कानुनी माग एउटा सम्झौटो थियो। यसले इस्राएलीहरूलाई एउटा कुराको सम्झना गराउँथ्यो: आमाबाबुले आफ्ना छोराछोरीमा पाप सार्छन्‌। यो सम्झौटोले गर्दा इस्राएलीहरूले बच्चा जन्मेकोमा सन्तुलित दृष्टिकोण राख्न सक्थे। साथै जन्मदिन मनाउने गैर-ख्रीष्टियन चलनहरू अपनाउन पनि सायद तिनीहरू निरुत्साहित हुन्थे।—भजन ५१:५.

e इयोस्तरलाई (अर्थात्‌ एस्ट्रेलाई) प्रजनन्‌ देवीको रूपमा पनि पुजिन्थ्यो। द डिक्सनरी अफ मिथोलोजी (अङ्‌ग्रेजी)-मा यस्तो लेखिएको छ, “तिनले अण्डा मनपराउने एउटा खरायोलाई आफूसँगै चन्द्रमामा राखिन्‌। कहिलेकाहीं तिनलाई खरायोको टाउको भएकी देवीको रूपमा पनि चित्रण गरिन्थ्यो।”

f प्रहरीधरहरा, डिसेम्बर १५, २००५, पृष्ठ ४, “नयाँ वर्ष यसरी मनाउन थालियो” र ब्यूँझनुहोस्‌! फ्रेब्रुअरी ८, २००२, पृष्ठ २०, “बाइबलको दृष्टिकोण—के मसीहीहरूले नयाँ वर्षका उत्सवहरूमा भाग लिनुहुन्छ?” शीर्षकका लेखहरू हेर्नुहोस्‌।

g प्रहरीधरहरा, नोभेम्बर १, २००६, पृष्ठ २०-३१ मा दिइएका विवाह समारोह र सामाजिक जमघटबारेका तीनवटा लेख हेर्नुहोस्‌।

h प्रहरीधरहरा (अङ्‌ग्रेजी), फेब्रुअरी १५, २००७, पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

i यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

बुद्धिमानी निर्णय गर्नुहोस्‌

कहिलेकाहीं यहोवाप्रतिको हाम्रो प्रेमलाई जाँच्ने अनि बाइबल सिद्धान्त लागू गर्ने सन्दर्भमा हामीले कत्तिको राम्ररी बुझेका छौं, त्यसलाई जाँच्ने परिस्थिति खडा हुन सक्छ। उदाहरणको लागि कुनै ख्रीष्टियनको विश्‍वासमा नभएका जोडीले तिनलाई सांसारिक उत्सव तथा पर्वमा आफन्तहरूकहाँ खाना खान जाऔं भन्‍न सक्छन्‌। कोही-कोही ख्रीष्टियनले त्यो निम्तो स्वीकारे पनि तिनको अन्तस्करण सफा रहन्छ भने अरू कोही-कोहीलाई चाहिं अन्तस्करणले त्यो निम्तो स्वीकार्न दिंदैन। यस्तो निम्तो स्वीकार्ने कुनै ख्रीष्टियनले आफ्नो आचरणले गर्दा त्यो उत्सव मनाइरहेको जस्तो नहोस्‌ भनी पक्का गर्नुपर्छ। तिनले अरू केही होइन तर आफन्तहरूसित खाना खान मात्र त्यहाँ गएको हो भनेर पक्का गर्नुपर्छ।

कुनै पनि ख्रीष्टियनले नातेदारहरूसितको जमघटमा जानुअगावै आफ्नो जोडीसित आदरपूर्वक कुरा गर्नु बुद्धिमानी हो। त्यतिबेला आइपर्न सक्ने अप्ठ्यारोबारे तिनी बताउन सक्छन्‌। नातेदारहरूले उत्सव तथा पर्वका गतिविधिहरूमा भाग लिंदा अनि साक्षीले चाहिं भाग नलिंदा त्यस्तो अप्ठ्यारो परिस्थिति सृजना हुन सक्छ। विश्‍वासमा नभएका जोडीले सायद अर्को कुनै दिन जाने निर्णय गर्न सक्छन्‌।—१ पत्रुस ३:१५.

कुनै ख्रीष्टियन बहिनीका पतिले पत्नीको कुरा सुनिसकेपछि पनि आफूलाई साथ दिन दबाब दिन्छन्‌ भने के गर्ने? तिनी यस्तो निष्कर्षमा पुग्न सक्छिन्‌: परिवारको शिर भएको नाताले आफ्नो परिवारको लागि भोजन उपलब्ध गराउने जिम्मेवारी पतिको हो। (कलस्सी ३:१८) यतिबेला यो जिम्मेवारी अर्कै तरिकामा पूरा भएको छ। भोजन तिनको घरमा होइन तर नातेदारको घरमा प्रबन्ध गरिएको छ। तिनले यो अवसरमा राम्रो साक्षी दिन सक्छिन्‌। संसारको उत्सव वा पर्वको दिनमा खाइने खाना त्यो दिनले गर्दा अपवित्र हुने होइन। (१ कोरिन्थी ८:८) ख्रीष्टियनले उक्‍त भोजनलाई सामान्य खानेकुराको रूपमा लिन सक्छन्‌ तर त्यो उत्सव तथा पर्वमा एकअर्कालाई दिइने शुभकामना, गाइने गीतहरू, चियर्स गर्ने वा अन्य यस्तै कुराहरूमा चाहिं भाग लिने छैनन्‌।

यस्तो अवस्थामा विचार पुऱ्‍याउनु पर्ने अर्को पक्ष पनि छ। त्यो हो: यस्तो अवसरमा जाँदा त्यसले अरूलाई पार्ने असर। उक्‍त ख्रीष्टियन पत्नीले सोही दिन आफ्नो नातेदारकहाँ जाँदा त्यो थाह पाउने अरूलाई ठेस पुग्न सक्छ भनेर ध्यान दिनुपर्छ।—१ कोरिन्थी ८:९; १०:२३, २४.

यसका साथै परिवारले दबाब दियो भन्दैमा ख्रीष्टियन पत्नीले सम्झौता गर्नुपर्छ र? अप्ठ्यारोबाट भाग्ने चाहनाले गर्दा कुनै पनि व्यक्‍ति सम्झौता गर्न पुग्न सक्छ! त्यसैले पहिल्यै एकदमै राम्ररी विचार पुऱ्‍याउनु महत्त्वपूर्ण छ। तिनले सम्पूर्ण कुरालाई विचार गर्नुपर्छ अनि यसमा तिनको आफ्नै ख्रीष्टियन अन्तस्करण पनि समावेश छ।—प्रेषित २४:१६.

चाडपर्वहरूको बेलामा दिइने बोनस मैले लिन हुन्छ?

क्रिसमस अथवा अरू कुनै चाडपर्वको बेला कुनै-कुनै मालिक वा कम्पनीले उपहार वा बोनस दिन सक्छन्‌। ख्रीष्टियनले यस्ता कुरा स्वीकार्नु हुँदैन त? त्यसो होइन। ती ख्रीष्टियनले बोनस लिंदैमा तिनले चाडपर्व मनाइरहेका छन्‌ भनेर तिनका मालिकले सोचेका समेत नहुन सक्छन्‌। उक्‍त मालिकले ती भाइलाई कम्पनीको नाफा मात्र बाँडिरहेका हुन सक्छन्‌। अथवा कर्मचारीले वर्षभरि काम गरेकोमा कृतज्ञता व्यक्‍त गर्नको लागि उक्‍त मालिकले बोनस दिएका हुन सक्छन्‌। साथै कर्मचारीले राम्रो काम गरी नै रहून्‌ भनेर प्रोत्साहन पनि दिइरहेका हुन सक्छन्‌। चाडपर्व मान्‍ने वा नमान्‍ने सबै कर्मचारीलाई मालिकले उपहार दिन सक्छन्‌। ती कर्मचारीमा हिन्दू, मुसलमान र अन्य विभिन्‍न धर्म मान्‍ने मानिसहरू हुन्छन्‌। त्यसकारण कुनै उत्सवको समयमा अथवा त्यस उत्सवको नाममा उपहार दिइँदैमा यहोवाका साक्षीहरूले त्यो लिनै हुँदैन भन्‍ने होइन।

कुनै धार्मिक उत्सवको बेला दिइएको उपहार स्वीकार्ने व्यक्‍तिले त्यस धर्मको कामकुरामा भाग लिइरहेको छ भन्‍न मिल्दैन। सँगी कर्मचारी अथवा नातेदारले कुनै ख्रीष्टियनलाई यसो भन्‍न सक्छन्‌: “मलाई थाह छ तपाईं यो पर्व मान्‍नुहुन्‍न तैपनि मेरो तर्फबाट यो सानो उपहार!” यदि उक्‍त ख्रीष्टियनको अन्तस्करणले घोच्दैन भने तिनले त्यो उपहार स्वीकार्न सक्छन्‌ अनि उत्सवको कुरै नगरी धन्यवाद दिन सक्छन्‌। (प्रेषित २३:१) यदि कसैलाई चोट पुग्दैन जस्तो देखिन्छ भने उक्‍त ख्रीष्टियनले कौशलतापूर्वक आफ्नो विश्‍वासप्रतिको अडानबारे बताउन सक्छन्‌।

तर यदि कसैले तपाईंको अडान बलियो छैन भनेर देखाउन अथवा तपाईंले भौतिक लाभ पाउन सम्झौता गर्नुहुन्छ भनेर देखाउनको लागि उपहार दिन्छ भने नि? यस्तो हो भने उपहार नस्वीकार्नु नै बेस। हो, हामी यहोवा परमेश्‍वरलाई मात्र ऐकान्तिक भक्‍ति चढाउन चाहन्छौं।—मत्ती ४:८-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने