अध्याय ४१
विवादको एउटा विषय
सिमोनको घरको आतिथ्यपछि येशूले गालीलको दोस्रो प्रचार भ्रमण सुरु गर्नुहुन्छ। यस क्षेत्रको अघिल्लो भ्रमणमा उहाँसित उहाँका प्रथम चेलाहरू पत्रुस, अन्द्रियास, याकूब र यूहन्ना थिए। तर अहिले १२ जना प्रेषितहरूका साथै केही आइमाईहरू पनि उहाँका साथमा छन्। तिनीहरूमध्ये मरियम मग्दलिनी, सुजाना र हेरोदका एक जना अफिसर चूजाकी पत्नी योअन्ना पनि छन्।
येशूको सेवाको काम जसै बढ्दै जान्छ, उहाँको कामबारे विवाद पनि चर्कंदै जान्छ। येशूकहाँ दुष्ट स्वर्गदूत बास गरेको एक जना अन्धो र गुँगो मानिसलाई ल्याइन्छ। येशूले त्यसलाई निको पारेपछि त्यसले दुष्ट स्वर्गदूतको कब्जाबाट छुटकारा पाउँछ र बोल्न र देख्न पनि सक्छ, सो देखेर भीड छक्क पर्छ। तिनीहरू भन्न थाल्छन्: “कतै यिनी दाऊदका छोरा त होइनन्?”
येशू बसेको घरअगाडि यत्तिका भीड जम्मा हुन्छ कि उहाँ र उहाँका चेलाहरूले खाना खानसम्म पनि पाउनु हुन्न। उहाँ “दाऊदका छोरा” हुनुहुन्छ कि भनी सोच्नेहरूबाहेक यरूशलेमबाट उहाँलाई बदनाम गर्न फरिसीहरू र शास्त्रीहरू पनि आएका छन्। येशूले गर्दा त्यहाँ धेरै नै गोलमाल भएको सुनेर उहाँका नातेदारहरू उहाँलाई समातेर लैजान आउँछन्। किन?
किनभने येशू परमेश्वरका छोरा हुनुहुन्छ भनी उहाँका आफ्नै दाजुभाइहरूले अझै पनि विश्वास गर्दैनन्। साथै, येशू नासरतमा हुर्कंदा तिनीहरूले जुन प्रकारको स्वभाव येशूमा देखेका थिए, त्यो अहिले यतिका आम हो-हल्ला र विवाद मच्चाउने स्वभावभन्दा बेग्लै थियो। त्यसकारण येशूको दिमाग ठेगानमा छैन जस्तो तिनीहरूलाई लाग्छ। “उसको दिमाग खुस्केको छ” भन्ने निष्कर्षमा तिनीहरू पुग्छन् र उहाँलाई समातेर लैजान चाहन्छन्।
तथापि उहाँले दुष्ट स्वर्गदूत बास गरेको मानिसलाई निको पार्नुभएको कुराको प्रमाण स्पष्ट छ। शास्त्री र फरिसीहरूलाई थाह छ कि तिनीहरूले त्यस कुराको सत्यतालाई अस्वीकार गर्न सक्दैनन्। अतः येशूको अपमान गर्नका लागि तिनीहरू मानिसहरूलाई भन्छन्: “यस मानिसले दुष्ट स्वर्गदूतहरूको शासक, बालजिबुलको मदत लिएर दुष्ट स्वर्गदूतहरूलाई धपाउँछ।”
तिनीहरूको विचार थाह पाएर येशूले शास्त्री र फरिसीहरूलाई आफू नजिक बोलाएर भन्नुहुन्छ: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर कि घरभित्र फूट छ, त्यो टिक्नेछैन। त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट उत्पन्न हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र?”
कस्तो जोडदार तर्क! फरिसीहरूका आफ्नै जमातका केही व्यक्तिहरूले पनि दुष्ट स्वर्गदूतहरूलाई धपाएका छन् भनी तिनीहरूले दाबी गरेकोले येशू सोध्नुहुन्छ: “यदि म बालजिबुलको मदत लिएर दुष्ट स्वर्गदूतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूले चाहिं कसको मदत लिएर धपाउँछन्?” अर्को शब्दमा भन्ने हो भने जुन दोष तिनीहरूले येशूमाथि लगाइरहेका छन्, सोही दोष तिनीहरूमाथि पनि लाग्न सक्छ। अनि येशू चेतावनी दिनुहुन्छ: “तर यदि म परमेश्वरको पवित्र शक्तिले दुष्ट स्वर्गदूतहरूलाई धपाउँछु भने यसको मतलब, परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।”
दुष्ट स्वर्गदूतहरूलाई धपाउनुको अर्थ सैतानमाथि येशूको शक्ति छ भन्ने कुराको प्रमाण हो भनी दर्साउन येशू भन्नुहुन्छ: “के कसैले बलियो मानिसको घरमा घुसेर उसको भाँडाकुँडा कब्जामा लिनुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? हो, त्यसपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।” फरिसीहरू स्पष्टतया येशूका विरुद्धमा भएकाले तिनीहरू सैतानका प्रतिनिधि हुन् भनी स्वयम् प्रदर्शित गर्छन्। तिनीहरूले इस्राएलीहरूलाई उहाँबाट टाढा पार्दैछन्।
फलस्वरूप “पवित्र शक्तिविरुद्ध गरिने निन्दा क्षमा गरिनेछैन” भनी यी सैतानी विरोधीहरूलाई येशू चेतावनी दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “जसले मानिसको छोराको विरुद्ध केही बोल्छ, उसलाई क्षमा दिइनेछ; तर जसले पवित्र शक्तिको विरुद्ध बोल्छ, उसलाई न यस युगमा न त पछि आउने युगमै क्षमा दिइनेछ।” स्पष्टतया परमेश्वरको पवित्र शक्तिद्वारा चमत्कारपूर्वक सञ्चालन भएको कुरालाई सैतानद्वारा भएको हो भनेर ती शास्त्री र फरिसीहरूले अक्षम्य पाप गरेका छन्। मत्ती १२:२२-३२; मर्कूस ३:१९-३०; लूका ८:१-३; यूहन्ना ७:५.
▪ येशूले गर्नुभएको गालीलको दोस्रो भ्रमण पहिलेको भ्रमणभन्दा कसरी भिन्न छ?
▪ येशूका नातेदारहरूले उहाँलाई समात्ने प्रयास किन गर्छन्?
▪ येशूले गर्नुभएका चमत्कारहरूको बदनामी फरिसीहरूले कसरी गर्न खोज्छन् र येशूले तिनीहरूलाई कसरी खण्डन गर्नुहुन्छ?
▪ ती फरिसीहरू कुन कुराको दोषी छन् र किन?