प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ६२
  • नम्रताको पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रताको पाठ
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येशूले नम्रताको शिक्षा दिनु हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • नम्रताबारे महत्त्वपूर्ण पाठ
    येसु—बाटो, सत्य र जीवन
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाको उपासनाका लागि जोस
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ६२

अध्याय ६२

नम्रताको पाठ

सिजरिया फिलिप्पी नजिकको क्षेत्रमा दुष्ट स्वर्गदूत बास गरेको केटालाई निको पारेपछि येशू आफ्नो घर कफर्नहुम फर्कने इच्छा गर्नुहुन्छ। तथापि उहाँको मृत्यु र त्यसपछि उठाउनुपर्ने जिम्मेवारीका लागि चेलाहरूलाई तयार पार्न उहाँ यस यात्रामा तिनीहरूसित केही समय एकान्तमा बिताउन चाहनुहुन्छ। तिनीहरूलाई सम्झाउँदै उहाँ भन्‍नुहुन्छ: “मानिसको छोरालाई धोका दिइनेछ अनि उसलाई मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्‌ तर मारिए तापनि तीन दिनपछि ऊ ब्यूँतनेछ।”

येशूले यो कुरा पहिल्यै भनिसक्नुभएको छ। तीन जना प्रेषितहरूले त उहाँको “बिदाइको” विषयमा छलफल गरिएको बेलामा उहाँको रूप परिवर्तन भएको वास्तवमा देखेका पनि थिए। तापनि उहाँका चेलाहरूले त्यस कुरालाई अझ पनि राम्रोसँग बुझेका छैनन्‌। येशू मारिनुहुनेछ भन्‍ने कुरालाई केही समयअघि पत्रुसले गरेझैं तिनीहरूमध्ये कसैले पनि इन्कार गर्ने कोसिस नगरे तापनि यस विषयमा उहाँसित अझै अरू प्रश्‍न गर्न तिनीहरू डराउँछन्‌।

त्यसपछि उहाँहरू कफर्नहुम आइपुग्नुहुन्छ; आफ्नो सेवाको दौडान उहाँ धेरै पटक यो ठाउँमा आउनुहुन्छ। पत्रुस र अरू प्रेषितहरूको गृहनगर पनि कफर्नहुम हो। यहाँ मन्दिरको कर उठाउनेहरू पत्रुसकहाँ आउँछन्‌। सायद कुनै स्थापित चलनलाई येशूले भङ्‌ग गरेको दोष लगाउने प्रयासमा तिनीहरूले पत्रुसलाई सोध्छन्‌: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्‍न?”

“तिर्नुहुन्छ” भनी पत्रुस जवाफ दिन्छन्‌।

केही समयपछि घर आइपुग्नुभएको येशूलाई त्यहाँ घटेको यस घटनाबारे जानकारी हुन्छ। यसकारण पत्रुसले कुरा उठाउनुभन्दा अघि नै येशूले यो प्रश्‍न गर्नुहुन्छ: “तिमीलाई कस्तो लाग्छ, सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?”

“पराईबाट” भनेर पत्रुसले जवाफ दिन्छन्‌।

येशू भन्‍नुहुन्छ: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ।” येशूका बुबा ब्रह्‍माण्डका राजा हुनुहुन्छ जसको उपासना त्यस मन्दिरमा गरिन्छ। यसकारण कानुनअनुसार परमेश्‍वरका छोराले कर तिर्नु नपर्ने हो। तर येशू भन्‍नुहुन्छ: “हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्‌। त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रोतर्फबाट तिनीहरूलाई तिरिदेऊ।”

कफर्नहुममा आएपछि सायद पत्रुसको घरमा चेलाहरू भेला भएर सोध्छन्‌: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?” सिजरिया फिलिप्पीबाट फर्किंदा उहाँका पछि-पछि हिंडिरहेको बेला आपसमा चलिरहेको कुराबारे येशूलाई ज्ञान भएको हुनाले तिनीहरूले यो प्रश्‍न सोधेको कारण उहाँ जान्‍नुहुन्छ। त्यसकारण तिनीहरूलाई उहाँ सोध्नुहुन्छ: “बाटोमा तिमीहरू के बहस गर्दै थियौ?” लाज मान्दै चेलाहरू चुप लागेर बस्छन्‌ किनकि बाटोमा तिनीहरूले को ठूलो हो भनी आपसमा बहस गरिरहेका थिए।

येशूले तिनीहरूलाई तीन वर्षदेखि शिक्षा दिएर पनि तिनीहरूबीच यसप्रकारको बहस हुनु के एउटा अचम्मलाग्दो कुरा होइन र? यसबाट त्रुटिपूर्ण मानव सोचाइका साथै तिनीहरूको धार्मिक पृष्ठभूमि पनि बोध हुन्छ। चेलाहरू हुर्केको यहूदी समाजमा जीवनको हर व्यवहारमा ओहदा र पदवीलाई महत्त्व दिने चलन थियो। साथै, सायद येशूले राज्यका केही “साँचा” दिने प्रतिज्ञा गर्नुभएकोले पत्रुसले आफूलाई अरूभन्दा ठूलो ठानेको हुन सक्छ। येशूको रूप परिवर्तन देख्ने विशेषाधिकार पाएकाले याकूब र यूहन्‍नाको मनमा पनि त्यस्तै प्रकारका विचारहरू आएको हुन सक्छ।

कुरा जे भए तापनि तिनीहरूको दृष्टिकोणलाई सच्याउने प्रयास गर्दै येशूले एउटा हृदयस्पर्शी पाठ सिकाउनुहुन्छ। उहाँले एक जना सानो बालकलाई बोलाउनुहुन्छ, त्यसलाई तिनीहरूका बीचमा राख्नुहुन्छ र त्यसलाई अँगालो हालेर भन्‍नुहुन्छ: “यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ। त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ, अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्वीकार्छ, उसले मलाई पनि स्वीकार्छ।”

आफ्ना चेलाहरूको विचारलाई सच्याउने यो कस्तो अद्‌भुत तरिका! येशू तिनीहरूसित रिसाउनु हुन्‍न र तिनीहरूलाई घमन्डी, लोभी वा उच्चाभिलाषी पनि भन्‍नु हुन्‍न। बरु साना केटाकेटीहरूको उदाहरण प्रयोग गर्दै उहाँ तिनीहरूलाई सच्याउन शिक्षा दिनुहुन्छ किनभने केटाकेटीहरूको विशेषता नै नम्रता र महत्त्वाकाङ्‌क्षारहित हुनु हो र तिनीहरूबीच साधारणतया कुनै दर्जाको सोचाइ हुँदैन। अतः नम्र केटाकेटीहरूमा हुने यी गुणहरू उहाँका चेलाहरूमा हुनुपर्छ भनी येशू देखाउनुहुन्छ। अन्तमा कुरा टुङ्‌ग्याउँदै भन्‍नुहुन्छ: “जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।” मत्ती १७:२२-२७; १८:१-५; मर्कूस ९:३०-३७; लूका ९:४३-४८.

▪ कफर्नहुम फर्किएपछि येशूले कुन शिक्षालाई फेरि दोहोऱ्‍याउनुहुन्छ र त्यसलाई कसरी ग्रहण गरिन्छ?

▪ येशूले मन्दिरको कर तिर्नुपर्ने आवश्‍यकता किन छैन तर उहाँले त्यो किन तिर्नुहुन्छ?

▪ चेलाहरूका बीचमा के कारणले गर्दा बहस चलेको हुन सक्छ र येशूले तिनीहरूको विचारलाई कसरी सच्याउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने