अध्याय ६६
झुप्रोबासको चाडमा
येशूको बप्तिस्मा भएको तीन वर्षभित्रमै उहाँ प्रसिद्ध हुनुभएको छ। हजारौंले उहाँका चमत्कारहरू देखेका छन् र सारा देशभरि उहाँका गतिविधिको समाचार फैलिएको छ। यरूशलेममा झुप्रोबासको चाडका लागि जसै मानिसहरू जम्मा हुन्छन्, तिनीहरू उहाँलाई खोज्न थाल्छन्। “खोइ त्यो मानिस?” भनी तिनीहरू जान्न चाहन्छन्।
येशू विवादको विषय हुनुभएको छ। कोही भन्छन् “ऊ असल मानिस हो।” अरूले चाहिं, “अहँ, होइन। किनकि उसले भीडलाई बहकाउँछ” भन्दै कडा विचार व्यक्त गर्छन्। चाडका सुरु-सुरुका दिनहरूमा मानिसहरूबीच यसप्रकारको खासखुस भइरहन्छ। तथापि खुलेर सबैका सामुन्ने येशूका पक्षमा बोल्ने कसैको हिम्मत हुँदैन। किनकि यहूदी अगुवाहरूले प्रतिशोध गर्लान् भनेर मानिसहरू डराउँछन्।
चाडको बीचतिर येशू त्यहाँ आइपुग्नुहुन्छ। उहाँ सोझै मन्दिरभित्र पस्नुहुन्छ र त्यहाँ उहाँको शिक्षा दिने योग्यता देखेर मानिसहरू छक्क पर्छन्। येशूले कुनै धार्मिक पाठशालामा गएर अध्ययन नगरेकोले यहूदीहरू यसो भन्दै अचम्म मान्छन्: “यो मानिसले पाठशाला गएर पढेको छैन, तैपनि यसले यत्ति धेरै ज्ञान अनि शिक्षा कहाँबाट पायो?”
यसको जवाफ येशू यसप्रकार दिनुहुन्छ: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो। यदि कोही उहाँको इच्छा पूरा गर्न चाहन्छ भने मेरो शिक्षा मेरो आफ्नै हो कि परमेश्वरको हो, त्यो उसले थाह पाउनेछ।” येशूले दिनुहुने शिक्षा परमेश्वरको नियमअनुसार छ। त्यसकारण उहाँ आफू होइन तर परमेश्वर महिमित भएको चाहनुहुन्छ भन्ने कुरा स्पष्ट हुनुपर्ने हो। येशू सोध्नुहुन्छ: “के मोशाले तिमीहरूलाई व्यवस्था दिएका होइनन् र?” अनि हप्काउँदै उहाँ भन्नुहुन्छ: “तिमीहरूमध्ये कोही पनि व्यवस्था पालन गर्दैनौ।”
अनि येशू सोध्नुहुन्छ: “तिमीहरू किन मलाई मार्न खोज्दैछौ?”
चाड मनाउन आएकाहरूलाई सायद यसबारे कुनै जानकारी नै छैन। यस्ता अद्भुत गुरुलाई कसैले मार्न खोज्छ भन्ने कुरा तिनीहरू कल्पनासम्म गर्न सक्दैनन्। अतः यसप्रकारको कुरा सोच्नु येशूकै गल्ती हो भन्ने तिनीहरूलाई लाग्छ। तिनीहरू भन्छन्: “तिमीमा दुष्ट स्वर्गदूत बास गरेको छ। कसले तिमीलाई मार्न खोजेको छ र?”
भीडले नबुझे तापनि यहूदी धर्म-गुरुहरू येशूलाई मार्न चाहन्छन्। डेढ वर्षअघि येशूले विश्राम-दिनमा एक जनालाई निको पार्दा धर्म-गुरुहरूले उहाँलाई मार्न खोजेका थिए। अतः तिनीहरूलाई यो सोधेर तिनीहरूको अव्यावहारिकतालाई अब येशू सङ्केत गर्नुहुन्छ: “मोशाको व्यवस्था उल्लङ्घन नहोस् भनेर यदि तिमीहरू विश्राम-दिनमा खतना गर्छौ भने मैले विश्राम-दिनमा एक जना मानिसलाई निको पारें भनेर किन रिसले चूर हुन्छौ? बाहिरी रूप हेरेर न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।”
परिस्थितिको जानकारी हुने यरूशलेमका बासिन्दाहरू अब भन्छन्: “तिनीहरूले मार्न खोजेको मानिस यही होइन र? तैपनि हेर त, मानिसहरूसामु यो बोल्दैछ अनि तिनीहरू यसलाई केही पनि भन्दैनन्। यो मानिस साँच्चै ख्रीष्ट हो भनेर शासकहरूले थाह पाएछन् कि कसो?” येशू नै ख्रीष्ट हुनुहुन्छ भनी यी यरूशलेमका बासिन्दाहरू किन विश्वास गर्दैनन्? यसको व्याख्या तिनीहरू यसप्रकार गर्छन्: “यो मानिस कहाँको हो हामीलाई थाह छ, तर जब ख्रीष्ट आउनुहुन्छ, उहाँ कहाँको हो भनेर कसैले थाह पाउँदैन।”
येशू जवाफ दिनुहुन्छ: “म को हुँ अनि कहाँको हुँ, तिमीहरूलाई दुवै थाह छ। साथै, म आफूखुसी आएको होइन तर मलाई पठाउने जो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ र तिमीहरू उहाँलाई चिन्दैनौ। तर म उहाँलाई चिन्छु, किनकि म उहाँको प्रतिनिधि हुँ र उहाँले नै मलाई पठाउनुभएको हो।” यत्तिकैमा तिनीहरूले उहाँलाई पक्रन खोज्छन्, सायद झ्यालखानामा हाल्न वा मार्नका निम्ति। तापनि तिनीहरू सफल हुन सक्दैनन् किनभने येशू मर्ने बेला अझै आइपुगेको छैन।
अझै धेरैले उहाँमाथि विश्वास राख्छन् र वास्तवमा तिनीहरूले त्यसो गर्नु नै पर्ने हो। आखिर उहाँ पानीमाथि हिंड्नुभयो, बतासलाई रोक्नुभयो, आँधीलाई शान्त पार्नुभयो, केही रोटी र माछाबाट हजारौंलाई खुवाउनुभयो, बिरामीलाई निको पार्नुभयो, लङ्गडालाई हिंड्ने पार्नुभयो, अन्धाका आँखा खोलिदिनुभयो, कुष्ठरोगीलाई निको पार्नुभयो र मरेकासमेतलाई ब्यूउँताउनुभयो। अतः तिनीहरू सोध्छन्: “जब ख्रीष्ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा धेरै चमत्कार गर्नुहोला र?”
भीडले यसप्रकार खासखुस गरेको फरिसीहरूले सुनेपछि येशूलाई पक्रन तिनीहरूले र मुख्य पुजारीहरूले पहरेदारहरू पठाउँछन्। यूहन्ना ७:११-३२.
▪ चाडमा येशू कति बेला आउनुहुन्छ र उहाँबारे मानिसहरू के भनिरहेका छन्?
▪ येशूलाई दुष्ट स्वर्गदूतले सताएको छ भनी कसै-कसैले भनेको कारण के हुन सक्छ?
▪ यरूशलेमका बासिन्दाहरूमाझ येशूबारे कस्तो धारणा छ?
▪ किन धेरैले येशूमाथि विश्वास राख्छन्?