अध्याय ६८
सातौं दिनमा अझै शिक्षा दिनुहुन्छ
झुप्रोबासको चाडको अन्तिम दिन, सातौं दिन अझै चलिरहेको छ। येशू मन्दिरको “दानपात्रहरू राखिएको ठाउँमा” बसेर सिकाइरहनुभएको छ। दानपात्रहरू राखिएको यस क्षेत्रलाई स्त्रीहरूको चोक पनि भन्ने गरिन्छ जस्तो छ।
चाडको बेला प्रत्येक राती, मन्दिरको यस क्षेत्रमा विशेष किसिमले दीप प्रज्ज्वलन गरिन्छ। चार वटा ठूल्ठूला पानसहरू यहाँ राखिन्छन् र प्रत्येक पानसका लागि तेलले भरिएका चार वटा ठूल्ठूला भाँडाहरू हुन्छन्। अनि १६ वटा भाँडामा हालिएको तेलबाट बल्ने यी पानसको ज्योतिले राती टाढासम्म उज्यालो दिन्छ। अब येशूले भन्नुहुने कुराबाट उहाँको कुरा सुन्नेहरूले त्यस दीप प्रज्ज्वलन सम्झन्छन् होला। येशू उद्गार गर्नुहुन्छ: “म संसारको ज्योति हुँ। जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिंड्नेछैन, बरु उसले जीवनको ज्योति पाउनेछ।”
फरिसीहरूले विरोध गर्दै भन्छन्: “तिमी आफ्नै विषयमा साक्षी दिन्छौ; त्यसैले तिम्रो साक्षी सत्य छैन।”
येशू जवाफ दिनुहुन्छ: “मैले आफ्नै विषयमा साक्षी दिए तापनि मेरो साक्षी सत्य छ, किनकि म कहाँबाट आएँ र कहाँ जाँदैछु, मलाई थाह छ। तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरूलाई थाह छैन।” उहाँ अझै भन्नुहुन्छ: “आफ्नो विषयमा साक्षी दिने एक जना मै हुँ अनि मलाई पठाउनुहुने बुबाले पनि मेरो विषयमा साक्षी दिनुहुन्छ।”
“तिम्रो बुबाचाहिं कहाँ छ नि?” फरिसीहरू जान्न चाहन्छन्।
येशू जवाफ दिनुहुन्छ: “तिमीहरू न मलाई चिन्छौ न त मेरो बुबालाई। तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्ने थियौ।” फरिसीहरूले अझै पनि येशूलाई गिरफ्तार गर्न चाहे तापनि उहाँमाथि कसैले हात हाल्दैनन्।
येशू फेरि भन्नुहुन्छ: “म जाँदैछु, म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
यो कुरा सुनेपछि यहूदीहरू चकित भएर सोच्न थाल्छन्: “यसले आत्महत्या गर्न लाग्यो कि कसो? किनकि यसले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्दैछ।”
येशू व्याख्या गर्नुहुन्छ: “तिमीहरू तलका हौ; म माथिको हुँ। तिमीहरू यस संसारका हौ; म यस संसारको होइन।” अनि उहाँ कुरा अझै थप्नुहुन्छ: “आउनेवाला मै हुँ भनेर यदि तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्नो पापैमा मर्नेछौ।”
तर येशू यहाँ वास्तवमा मानिसको रूप धारण गरेर आउनुभन्दा अघि बिताएको आफ्नो स्वर्गीय जीवन र प्रतिज्ञा गरिएका मसीह अर्थात् ख्रीष्ट आफू नै हो भन्ने कुरालाई सङ्केत गर्नुहुँदैछ। तथापि बडो व्यङ्ग्यका साथ तिनीहरू सोध्छन्: “तिमी को हौ?”
तिनीहरूले इन्कार गर्दागर्दै पनि येशू जवाफ दिनुहुन्छ: “तिमीहरूसित कुरा गर्नु नै बेकार छ।” तथापि उहाँ भन्नुहुन्छ: “मलाई पठाउनुहुने सत्य हुनुहुन्छ अनि उहाँबाट मैले जे सुनें, संसारमा त्यही कुरा बोल्दैछु।” येशू आफ्नो कुरा जारी राख्दै भन्नुहुन्छ: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ र आफूखुसी म केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, तिनै कुराहरू बोल्छु। अनि मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ; उहाँले मलाई एक्लै छोड्नुभएको छैन, किनकि म सधैं उहाँलाई मनपर्ने कामहरू गर्छु।”
येशूले यी कुराहरू भनिसकेपछि धेरैले उहाँमाथि विश्वास गर्छन्। तिनीहरूलाई उहाँ भन्नुहुन्छ: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ, अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”
उहाँका विरोधीहरूले बीचमा कुरा काट्दै भन्छन्: “हामी अब्राहामका सन्तानहरू हौं अनि हामी कहिल्यै कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनेर तिमी किन भन्छौ?”
यहूदीहरूमाथि अक्सर विदेशीहरूले राज गरेको भए तापनि तिनीहरूले कुनै पनि शत्रुलाई आफ्नो मालिक मान्दैनन्। तिनीहरू दास कहलिन चाहँदैनन्। तर तिनीहरू वास्तवमा दास हुन् भन्ने कुरा येशू औंल्याउनुहुन्छ। कसरी? येशू भन्नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, पाप गर्ने हरेक मानिस पापको दास हो।”
आफ्नो पापको दासत्वलाई अस्वीकार गरेको हुँदा ती यहूदीहरूले आफूलाई खतरामा पार्छन्। येशू व्याख्या गर्नुहुन्छ: “दास सधैंभरि मालिकको घरमा रहिरहँदैन तर छोरा भने सधैंभरि रहिरहन्छ।” एक जना दासले उत्तराधिकारको अधिकार पाउन नसक्ने भएकोले उसलाई कुनै पनि बेला कामबाट हटाउन सकिन्छ। साक्खे छोरा वा धर्म-पुत्र बनाएको छोरा मात्र “सधैंभरि” अर्थात् ऊ बाँचुन्जेल घरमा रहन सक्छ।
येशू आफ्नो कुरा अझै अघि बढाउँदै भन्नुहुन्छ: “त्यसकारण छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।” अतः छोरा अथवा येशू ख्रीष्टसँग सम्बन्धित सत्य कुरा नै मानिसलाई स्वतन्त्र तुल्याउने सत्य हो। उहाँको त्रुटिरहित मानव जीवनको बलिदानद्वारा मात्र मृत्युदायी पापबाट छुटकारा पाउन सकिन्छ। यूहन्ना ८:१२-३६.
▪ सातौं दिनमा येशूले कहाँ शिक्षा दिनुहुन्छ? राती त्यहाँ के हुन्छ र येशूको शिक्षासँग त्यसको के सम्बन्ध छ?
▪ आफ्नो सुरुवातबारे येशू के भन्नुहुन्छ र त्यसले उहाँको परिचयबारे के प्रकट गर्छ?
▪ यहूदीहरू दास कसरी हुन् तर कुन सत्यले तिनीहरूलाई स्वतन्त्र तुल्याउनेछ?