अध्याय ७४
मार्थालाई दिइएको सल्लाह र प्रार्थनासम्बन्धी उपदेश
यहूदियामा आफ्नो सेवाको दौडान येशू बेथानी भन्ने गाउँमा प्रवेश गर्नुहुन्छ। यसै गाउँमा मार्था, मरियम र तिनीहरूका भाइ लाजरस बस्छन्। सेवाको काममा हिंडेको बेला सायद येशूले यी तीन जनालाई पहिले नै भेट्नुभएको थियो। त्यसकारण येशू तिनीहरूको एक जना घनिष्ठ मित्र हुनुभएको छ। जे होस्, येशू अब मार्थाको घरमा जानुहुन्छ र तिनले उहाँको स्वागत गर्छिन्।
आफूसँग भएको सबैभन्दा असल थोकहरू येशूलाई दिन मार्था उत्सुक छिन्। प्रतिज्ञा गरिएका मसीह आफ्नो घरमा आउनु साँच्चै नै गौरवको कुरा हो! त्यसकारण येशूको बसाइ सुविधाजनक र आनन्ददायी होस् भनी भोजनको विभिन्न परिकार तयार पार्न र अन्य कुराहरूमा मार्था व्यस्त हुन्छिन्।
तर मार्थाकी बहिनी मरियमचाहिं येशूका पाउनेर बसेर उहाँको वचन सुन्छिन्। एकछिनपछि मार्था आएर येशूलाई भन्छिन्: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईंलाई वास्ता छैन? मलाई सघाउन उसलाई भनिदिनुहोस् न।”
तर येशू मरियमलाई केही भन्न चाहनु हुन्न। बरु भौतिक कुराहरूबारे धेरै नै चिन्तित भएकोमा मार्थालाई सल्लाह दिनुहुन्छ। उहाँले मायालु ढङ्गमा हप्काउँदै भन्नुहुन्छ: “ए मार्था, मार्था, तिमी धेरै कुराको ज्यादै चिन्ता गर्छ्यौ। हामीलाई धेरै कुरा चाहिंदैन, एउटा मात्रै भए पनि पुग्छ।” एक छाक खानका निम्ति अनेक थोक पकाउनमा धेरै समय खेर फाल्नु आवश्यक छैन भनी येशू भन्नुहुन्छ। एक दुई थोक अथवा एउटै मात्र थोक पनि यथेष्ट हुन्छ।
मार्थाको विचार नराम्रो होइन; तिनी आतिथ्य पुऱ्याउने गृहिणी हुन चाहन्छिन्। तथापि भौतिक सामग्रीमा चिन्तित भएकीले परमेश्वरका छोराबाट व्यक्तिगत उपदेश पाउने मौका तिनले गुमाइरहेकी छिन्! अतः येशू अन्तमा भन्नुहुन्छ: “मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।”
पछि अर्कै अवसरमा एक जना चेलाले येशूसँग यो बिन्ती गर्छन्: “प्रभु, यूहन्नाले आफ्ना चेलाहरूलाई सिकाएजस्तै हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” डेढ वर्षअघि डाँडाको उपदेशमा येशूले नमुना प्रार्थना प्रस्तुत गर्दा सम्भवतः यी चेला त्यहाँ उपस्थित थिएनन् होला। त्यसकारण येशू फेरि आफ्नो उपदेश दोहोऱ्याउनुहुन्छ र त्यसपछि प्रार्थनामा लागिरहनुपर्ने आवश्यकतामाथि जोड दिन एउटा दृष्टान्त बताउनुहुन्छ।
येशू भन्न थाल्नुहुन्छ: “मानौं, तिमीहरूमध्ये कसैको एक जना साथी छ र तिमी मध्यरातमा ऊकहाँ गएर यसो भन्छौ: ‘ए साथी, मलाई तीन वटा रोटी पैंचो देऊ, किनकि मेरो एक जना साथी यात्रा गरेर भर्खरै मकहाँ आएका छन् र उसलाई खुवाउन मसित केही छैन।’ अनि उसले भित्रबाट यस्तो जवाफ दिन्छ: ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ र मेरा बालबच्चाहरू मसितै ओछ्यानमा सुतिसकेका छन्। त्यसैले उठेर म तिमीलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्छु, साथीको नाताले नदिए तापनि तिमीले खुरन्धार बिन्ती गरिरहेकोले उसले उठेर तिमीलाई चाहिएको कुरा दिनेछ।”
येशूले यो तुलनाद्वारा यस कथाका साथीझैं यहोवा परमेश्वर पनि अन्तरबिन्ती सुन्न इच्छुक हुनुहुन्न भन्न खोज्नुभएको होइन। तर एक जना अनिच्छुक साथीले त निरन्तर गरिरहेको आग्रह सुन्छ भने स्वर्गमा हुनुहुने हाम्रा प्यारा बुबाले झन् कत्ति बढी सुन्नुहुनेछ भन्ने कुराको उदाहरण येशूले यहाँ दिनुहुन्छ। अतः येशू कुरा अगाडि बढाउँदै भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको लागि उघारिनेछ। किनकि जसले मागिरहन्छ त्यसले पाउँछ; जसले खोजिरहन्छ त्यसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ त्यसको निम्ति उघारिनेछ।”
यसपछि त्रुटिपूर्ण मानव बुबाहरूलाई सङ्केत गर्दै येशू भन्नुहुन्छ: “तिमीहरूमध्ये कोचाहिं यस्तो बुबा होला, जसले आफ्नो छोराले माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा उसले अण्डा माग्दा बिच्छी देला? त्यसकारण, यदि तिमीहरू पापी भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!” साँच्चै प्रार्थनामा निरन्तर लागिरहने कत्ति प्रोत्साहनदायी प्रेरणा येशूले दिनुभएको छ। लूका १०:३८–११:१३.
▪ येशूका निम्ति त्यसप्रकारको विस्तृत तयारी मार्थाले किन गर्छिन्?
▪ मरियमले के गर्छिन् र मार्थाको सट्टा येशूले किन तिनको प्रशंसा गर्नुहुन्छ?
▪ के कारणले गर्दा येशूले प्रार्थनासम्बन्धी उपदेश दोहोऱ्याउनुहुन्छ?
▪ प्रार्थनामा निरन्तर लागिरहनुपर्ने आवश्यकतालाई येशूले कसरी दृष्टान्तद्वारा बुझाउनुहुन्छ?