अध्याय ७६
एक जना फरिसीसित भोजन खान बस्नुहुँदा
बोल्न नसक्ने मानिसलाई निको पारेको आफ्नो शक्तिको स्रोतबारे आलोचकहरूलाई जवाफ दिएपछि एक जना फरिसीले येशूलाई भोजनका लागि निम्तो दिन्छन्। खानुभन्दा अघि कुहिनासम्म हात धुने तिनीहरूको परम्परालाई फरिसीहरू पालन गर्छन्। खानुभन्दा अघि र पछि अनि खाँदा-खादै पनि तिनीहरू त्यसो गरिरहन्छन्। यो परम्परा परमेश्वरको लिखित नियमको विपरीत नभए तापनि व्यवस्थामा शुद्धतासम्बन्धी परमेश्वरले दिनुभएका नियमहरूमध्ये यो नियम छैन।
येशूले यस परम्पराको पालन नगर्दा उहाँलाई निम्तो दिने व्यक्ति छक्क पर्छन्। आफू छक्क परेको कुरा तिनले नभने तापनि येशूले चाल पाएर भन्नुहुन्छ: “तिमी फरिसीहरू कचौरा र थालको बाहिरचाहिं माझ्छौ तर तिमीहरू भित्र भने लुट र दुष्टता भरिएको हुन्छ। ए बेसमझ मानिसहरू! जसले बाहिरी भाग बनाउनुभयो, उहाँले नै भित्री भाग पनि बनाउनुभएको होइन र?”
हातहरू नियमित रूपमा धुने तर आफ्नो मनको दुष्टताचाहिं नधुने फरिसीहरूको आडम्बरलाई येशूले पर्दाफास गर्नुहुन्छ। उहाँ सल्लाह दिनुहुन्छ: “मनभित्रका कुराहरू दान देऊ र हेर, बाँकी सबै कुरामा तिमी शुद्ध हुनेछौ।” तिनीहरूले दान दिंदा धर्मकर्म गरेको देखाएर अरूलाई प्रभावित पार्ने इच्छाले होइन तर प्रेमले ओतप्रोत भएर दिनुपर्छ।
येशू अझै भन्नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए फरिसीहरू हो! किनकि तिमीहरू पुदिना, सोमलता र अरू सबै वनस्पतिका दशांश चढाउँछौ तर न्याय र परमेश्वरप्रतिको प्रेमलाई चाहिं बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुका साथै न्याय र परमेश्वरप्रतिको प्रेमलाई पनि छोड्नु हुँदैनथ्यो।” परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको नियमअनुसार उब्जनीको दशांश तिर्न आवश्यक थियो। पुदिना र सोमलता भोजनलाई स्वादिष्ट पार्न प्रयोग गरिने स-साना बिरुवा वा जडीबुटीहरू हुन्। फरिसीहरू यसप्रकारका महत्त्वहीन जडीबुटीको दशांश बडो सावधानीपूर्वक दिन्छन् तर प्रेम, दया र नम्रता दर्साउने महत्त्वपूर्ण आवश्यकताको चाहिं वेवास्ता गरेकोमा येशू तिनीहरूको निन्दा गर्नुहुन्छ।
तिनीहरूको अझ निन्दा गर्दै येशू भन्नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए फरिसीहरू हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ। धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो बाहिरबाट देखिंदैनन् अनि चालै नपाई मानिसहरू त्यसमाथि टेकेर हिंड्छन्।” तिनीहरूको अशुद्धता प्रत्यक्ष देखिंदैन। फरिसीहरूको धर्ममा बाहिरी आडम्बर छ तर भित्री गुदी छैन! त्यो कपटमा आधारित छ।
यसप्रकारको निन्दा सुनेपछि परमेश्वरको व्यवस्थामा पोख्त एक जना वकिलले गुनासो गर्दै भन्छन्: “गुरुज्यू, यस्तो कुरा गरेर तपाईं हाम्रो पनि अपमान गर्दै हुनुहुन्छ।”
व्यवस्थाका यी जानकारहरूलाई पनि जिम्मेवार ठहराउँदै येशू भन्नुहुन्छ: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई पनि धिक्कार छ! किनकि तिमीहरू मानिसहरूलाई बोझिला नियमहरूको भारी बोकाउँछौ तर आफू भने एउटा औंलाले पनि ती छुँदैनौ। धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती भविष्यवक्ताहरूको चिहान बनाउँछौ, जसलाई तिमीहरूकै पितापुर्खाहरूले मारे।”
येशूले उल्लेख गर्नुभएका भारी ती मौखिक परम्पराहरू हुन्। मानिसहरूका सुविधाको निम्ति एउटा सानो परम्परा पनि खारेज गर्न यी वकिलहरू तयार छैनन्। तिनीहरूले भविष्यवक्ताहरूको हत्यालाई समेत स्वीकृति दिन्छन् भनी प्रकाश पार्दै येशू भन्नुहुन्छ: “ ‘संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्ताहरूको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्, हाबिलको रगतदेखि जकरियाको रगतसम्म, जसको हत्या वेदी र मन्दिरको बीचमा भएको थियो।’ हो, म तिमीहरूलाई भन्छु, त्यसको हिसाब यस पुस्तासित लिइनेछ।”
उद्धार पाउने योग्यका मानिसहरूको संसार आदम र हव्वाका सन्तानको जन्मदेखि सुरु भयो; त्यसकारण हाबिल “संसारको प्रारम्भदेखि” जीवित थिए। जकरियाको क्रूर हत्यापछि अरामी सेनाले यहूदालाई उजाड पारिदियो। तर आफ्नै पुस्ताको घोर दुष्टताको कारण त्योभन्दा पनि उजाड पारिनेछ भनी येशू भविष्यवाणी गर्नुहुन्छ। येशूको भविष्यवाणीअनुरूप करिब ३८ वर्षपछि इस्वी संवत् ७० मा त्यसरी उजाड पारिन्छ।
अझै निन्दा गर्दै येशू भन्नुहुन्छ: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्न खोज्नेहरूलाई पनि रोक्न खोज्यौ।” मानिसहरूलाई परमेश्वरको वचनको अर्थ खोलेर बुझाउनु परमेश्वरको व्यवस्थाका ती जानकारहरूको कर्तव्य हो। तर तिनीहरू यो कर्तव्य पूरा गर्दैनन् र परमेश्वरको व्यवस्था बुझ्ने मौकासमेत मानिसहरूबाट खोस्छन्।
येशूले तिनीहरूको भन्डाफोर गरिदिनुभएकोमा फरिसी र व्यवस्थाका जानकारहरू क्रोधित हुन्छन्। उहाँ त्यस घरबाट जान लाग्दा तिनीहरूले उहाँको घोर विरोध गर्न सुरु गर्छन् र भरमार प्रश्नहरू सोधेर उहाँलाई हैरान पार्न खोज्छन्। उहाँलाई त्यसप्रकारको कुरा भन्न लगाउन चाहन्छन् जसबाट तिनीहरूले उहाँलाई गिरफ्तार गर्न सकून्। लूका ११:३७-५४; व्यवस्था १४:२२; मीका ६:८; २ इतिहास २४:२०-२५.
▪ फरिसीहरू र व्यवस्थाका जानकारहरूलाई येशूले किन निन्दा गर्नुहुन्छ?
▪ वकिलहरूले मानिसहरूलाई कस्तो भारी बोकाउँछन्?
▪ “संसारको प्रारम्भ” कहिलेदेखि भयो?