अध्याय ७८
तयार रहो!
लालचबारे भीडलाई चेतावनी दिएर आफ्ना चेलाहरूलाई पनि भौतिक कुराहरूमाथि आवश्यकताभन्दा बढी ध्यान नदिनू भनी येशू सचेत गराउनुहुन्छ। यसपछि येशू यो प्रोत्साहन दिनुहुन्छ: “हे सानो बगाल, नडराओ, किनकि तिमीहरूको बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” स्वर्गीय राज्यमा सामेल हुनेहरूको संख्या अपेक्षाकृत थोरै नै हुनेछ (तिनीहरू जम्मा १,४४,००० जना हुने रहेछन् भनी पछि थाह हुन्छ) भनी येशूले जाहेर गर्नुहुन्छ। अनन्त जीवन पाउने धेरैजसो मानिसहरू राज्यका पार्थिव प्रजाहरू हुनेछन्।
“राज्य” कस्तो अद्भुत उपहार! यसलाई प्राप्त गर्न पाएकोमा चेलाहरूले व्यक्त गर्नुपर्ने प्रतिक्रियाको वर्णन गर्दै येशू तिनीहरूलाई प्रोत्साहन दिनुहुन्छ: “आफूसित भएका कुराहरू बेच र दान देओ।” हो, तिनीहरूले अरूलाई परमेश्वरसितको सम्बन्ध सुधार्न मदत दिन आफ्नो सम्पत्ति प्रयोग गर्नुपर्छ। यसो गर्दा तिनीहरूले “कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा” थुपारिरहेका हुन्छन्।
यसपछि येशू आफ्ना चेलाहरूलाई उहाँको पुनरागमनका निम्ति तयार रहन चेतावनी दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरू कम्मर कसेर बस अनि तिमीहरूको दियो बलिरहोस्। अनि विवाह-भोजबाट फर्केर मालिकले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकूँ भनी पर्खिरहेका मानिसहरूजस्तो तिमीहरू होओ। धन्य हुन् ती दासहरू, जसलाई मालिकले जागा बसिरहेको पाउँछन्! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले आफ्नो कम्मर कस्नेछन् र आफ्ना दासहरूलाई खान बसाउनेछन् अनि छेवैमा गएर तिनीहरूको सेवा गर्नेछन्।”
यस दृष्टान्तमा मालिक फिर्ता आउँदा दासहरूले आफ्नो लामो पोसाक तानेर कम्मरमा बाँधेको र प्रशस्त तेल भएको दियोको ज्योतिमा रातीसम्म काममा व्यस्त रहेको देखिन्छ। यसबाट तिनीहरूको तयारी प्रस्ट हुन्छ। येशू व्याख्या गर्नुहुन्छ: “तिनी दोस्रो प्रहरमा [रातको नौ बजेदेखि मध्यरातसम्म] वा तेस्रो प्रहरमै [मध्यरातदेखि बिहानको तीन बजेसम्म] आउँदा पनि तिनीहरूलाई जागै पाउँछन् भने तिनीहरू धन्य हुन्!”
मालिकले दासहरूलाई असामान्य ढङ्गले इनाम दिन्छन्। मालिकले तिनीहरूलाई खान बसाउँछन्। तिनीहरूसँग दाससरह होइन तर वफादार साथीहरूसरह व्यवहार गर्छन्। रातभरि आफ्नो मालिकको काम गर्दै उहाँको पुनरागमनका लागि पर्खेर बसेबापत् तिनीहरूले कस्तो असल इनाम पाउँछन्! येशू अन्तमा भन्नुहुन्छ: “तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउँदैछ।”
पत्रुसले अब सोध्छन्: “प्रभु, तपाईंले यो दृष्टान्त हाम्रो लागि बताउनुभएको हो कि सबैका लागि?”
सीधै जवाफ दिनुको सट्टा येशू अर्को दृष्टान्त भन्नुहुन्छ। उहाँ सोध्नुहुन्छ: “वास्तवमा विश्वासी र बुद्धिमान् भण्डारे को हो, जसलाई उसको मालिकले आफ्ना सेवकहरूको दललाई ठीक समयमा र ठीक मात्रामा भोजन दिइरहोस् भनेर तिनीहरूमाथि नियुक्त गर्नेछन्? आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्! म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिहरूमाथि नियुक्त गर्नेछन्।”
ती “मालिक” स्पष्टतः येशू ख्रीष्ट हुनुहुन्छ। “भण्डारे” “सानो बगाल”-का चेलाहरूको समूहको प्रतीक हो र “सेवकहरूको दल” स्वर्गीय राज्य पाउने सोही १,४४,००० को समूह हो। तथापि यो अभिव्यक्तिबाट तिनीहरूले व्यक्तिगत रूपमा गर्नुपरेको काम बोध हुन्छ। विश्वासी भण्डारेले हेरचाह गर्नुपर्ने “सम्पत्ति”-चाहिं पृथ्वीमा मालिकका राजकीय जिम्मेवारीहरू हुन्, जसमा राज्यका पार्थिव प्रजाहरू पनि सम्मिलित छन्।
तर त्यो भण्डारे वा दास समूहका सबै नै सम्भवतः वफादार रहने छैनन् भनी सङ्केत गर्दै येशू भन्नुहुन्छ: “तर यदि त्यो दासले ‘मेरो मालिक बियाँलो गर्नुहुन्छ’ भनी मनमनै भन्यो र आफ्ना सँगी दास-दासीहरूलाई पिट्न अनि खान, पिउन र मात्तिन थाल्यो भने त्यस दासको मालिक उसले आशै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्। अनि उसलाई अति कठोर दण्ड दिनेछन्।”
आफ्नो आगमनको कारण यहूदीहरूमाथि एउटा अग्निमय समय आइपरेको कुरा येशू देख्नुहुन्छ। उहाँका शिक्षाहरूलाई केहीले स्वीकार गर्छन् र केहीले गर्दैनन्। तीन वर्षअघि पानीमा उहाँको बप्तिस्मा भएको थियो तर अब मृत्युमा हुने उहाँको बप्तिस्मा अझ नजिक आइरहेको छ। उहाँ भन्नुहुन्छ: “त्यो बप्तिस्मा नगरुन्जेल म अत्यन्तै व्याकुल हुनेछु!”
आफ्ना चेलाहरूलाई यी वचनहरू भनिसकेपछि येशू फेरि भीडलाई सम्बोधन गर्नुहुन्छ। उहाँको चिनारी र त्यसको महत्त्वबारे त्यत्तिका स्पष्ट प्रमाणलाई पनि तिनीहरूले हठी भई अस्वीकार गरेकोमा उहाँ खेद प्रकट गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “जब तिमीहरू आकाशको पश्चिमतिर बादल मडारिएको देख्छौ, तब तिमीहरू तुरुन्तै भन्छौ: ‘आँधी आउँदैछ,’ अनि ठीक त्यस्तै हुन्छ। जब तिमीहरू दक्षिणबाट बतास चलेको देख्छौ, तब तिमीहरू भन्छौ: ‘लू चल्नेछ,’ अनि त्यस्तै हुन्छ। ए कपटीहरू हो, तिमीहरू मौसम हेरेर त्यसको अर्थ लगाउन जान्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको अर्थ लगाउन भने किन जान्दैनौ?” लूका १२:३२-५९.
▪ “सानो बगाल”-मा कति जना छन् र तिनीहरूले के पाउनेछन्?
▪ आफ्ना दासहरू तयार भएर बस्नुपर्ने आवश्यकतामाथि येशूले कसरी जोड दिनुहुन्छ?
▪ येशूको दृष्टान्तमा “मालिक,” “भण्डारे,” “सेवकहरूको दल,” र “सम्पत्ति” को हुन्?