अध्याय १२३
“हेर! यो मानिस!”
येशूको आचरण देखेर र उहाँ निर्दोष हुनुहुन्छ भन्ने बुझेर पिलातसले येशूलाई छोडिदिने अर्को युक्ति निकाल्छन्। उनी भीडलाई भन्छन्: “निस्तार-चाडको बेला मैले एक जना मानिसलाई मुक्त गर्नुपर्ने तिमीहरूको चलन छ।”
बरब्बा नाम भएको एक जना कुख्यात ज्यानमारा कैदमा छ। यसकारण पिलातस सोध्छन्: “तिमीहरू के चाहन्छौ, म बरब्बालाई मुक्त गरिदिउँ कि ख्रीष्ट भन्ने येशूलाई?”
मुख्य पुजारीहरूको बहकाउमा परेर मानिसहरू बरब्बालाई छोडिदिन र येशूलाई मार्न भन्छन्। पिलातस हार मान्दैनन् र फेरि तिनीहरूलाई सोध्छन्: “मैले यी दुईमध्ये कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?”
“बरब्बालाई” भनी तिनीहरू कराउँछन्।
पिलातस निराश भएर सोध्छन्: “त्यसोभए, ख्रीष्ट भन्ने यस येशूलाई म के गरूँ त?”
तिनीहरू सबै एकै सोरले कानै बन्द हुनेगरि कराउँछन्: “त्यो मानिस खम्बामा टाँगिओस्!” “टाँग्नुहोस्! त्यसलाई खम्बामा टाँग्नुहोस्!”
तिनीहरूले एक जना निर्दोष व्यक्तिको जीवन मागिरहेका छन् भनी बुझेर पिलातस तिनीहरूसित बिन्ती गर्छन्: “किन? यस मानिसले के खराबी गऱ्यो र? उसले मृत्युदण्ड पाउन योग्य कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”
उनको प्रयासको बाबजुद धर्म-गुरुहरूको उक्साइमा लागेर त्यो क्रुद्ध भीड कराइरहन्छ: “त्यसलाई खम्बामा टाँग्नुहोस्!” पुजारीहरूद्वारा उत्साहित भीड रक्त-पिपासु भएको छ। किनकि पाँच दिनअघि मात्र तिनीहरूमध्येकै कतिले येशूलाई यरूशलेममा राजा भनी स्वागत गरेका थिए! यी सबै भइरहेको बेलामा येशूका चेलाहरू त्यहाँ छन् भने पनि चुपचाप लुकेर बस्छन्।
आफूले भनेको कुराले भीडमाथि कुनै असर पर्नुको सट्टा त्यहाँ झन्-झन् खैलाबैला मच्चिन लागेको देखेर पिलातसले पानी लिन्छन् र भीडका सामुन्ने आफ्नो हात धुँदै यसो भन्छन्: “म यस मानिसको रगतको दोषबाट मुक्त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।” अनि सबै मानिस जवाफ दिन्छन्: “त्यसको रगतको दोष हामी र हाम्रा सन्तानमाथि आइपरोस्।”
यसकारण आफूले जानेको सही कुरा गर्नुको सट्टा भीडको चित्त बुझाउन पिलातसले तिनीहरूको मागबमोजिम बरब्बालाई मुक्त गरिदिन्छन्। येशूलाई चाहिं उनले लगेर नाङ्गो पारेर कोर्रा लगाउन सुम्पिदिन्छन्। यो साधारण कोर्रा लगाइ थिएन। द जर्नल अफ दी अमेरिकन एसोसियशन-ले रोमीहरूको कोर्रा लगाउने चलनको वर्णन यसरी गर्छ:
“साधारणतया, एउटा सानो चाबुक [कोर्रा लगाउने एक प्रकारको उपकरण] प्रयोग गरिन्थ्यो। त्यसमा एकसरो वा दुईसरो बाटेको विभिन्न लम्बाइको छालाको डोरी गाँसेको हुन्थ्यो। छालाका ती डोरीहरूको बीच-बीचमा फलामका स-साना गेडाहरू वा भेडाको हाडका तीखा-तीखा टुक्राहरू बाँधिएको हुन्थ्यो . . .। रोमी सिपाहीहरूले जसै दोषी व्यक्तिको पिठ्यूँमा पूरा तागतले हिर्काउँथे, फलामका ती गेडाहरूले गहिरो नीलडाम पार्थ्यो र छालाको डोरी र भेडाका हाडहरूले चाहिं छाला र छालामुनिका मांसपेशीलाई काटिदिन्थ्यो। अनि कोर्रा लगाउँदा-लगाउँदा छाला काटिंदै हाडमाथिको मासुसमेत चिरा-चिरा हुँदै जान्थ्यो र रगताम्य भएको मासुका टुक्राहरू झुन्डिन्थ्यो।”
यसप्रकारको सन्तापपूर्ण कुटाइपछि येशूलाई राज्यपालको महलमा लगिन्छ र सेनाको पूरै टुकडी जम्मा हुन्छ। त्यहाँ सिपाहीहरूले दुर्वचन बोल्दै काँडाको मुकुट गुथेर उहाँको शिरमा पहिराइदिन्छन्। उहाँको दाहिने हातमा एउटा नर्कट थमाइदिन्छन् र राजाहरूले लगाउने किसिमको बैजनी रङ्गको लुगा पहिराइदिन्छन्। अनि गिल्ला गर्दै तिनीहरूले उहाँलाई भन्छन्: “हे यहूदीहरूका राजा, प्रणाम!” तिनीहरूले उहाँलाई थुक्छन् र थप्पड पनि लगाउँछन्। उहाँको हातबाट त्यो कडा नर्कट खोस्छन् र त्यसले उहाँको टाउकोमा हान्दै उहाँको बेइज्जती गर्न लागाइदिएको “मुकुट”-का तीखा-तीखा काँडाहरू उहाँको शिरको छालामा अझै गाडिदिन्छन्।
यसप्रकारको दुर्व्यवहारको बाबजुद येशूको असाधारण गरिमा र बल देखेर पिलातस यति प्रभावित हुन्छन् कि उहाँलाई छुटाउन उनी अर्को प्रयास गर्छन्। उनी भीडलाई भन्छन्: “हेर, मैले उसमा कुनै दोष भेटिनँ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” सम्भवतः येशूको दयनीय अवस्था देखेर तिनीहरूको मन अलिक नरम होला कि भनी उनी सोच्छन्। येशू काँडाको मुकुट र बैजनी रङ्गको लुगा पहिरेर रगताम्य र पीडित चेहराका साथ हुलको सामुन्ने जसै उभिनुहुन्छ, पिलातसले उद्गार गर्छन्, “हेर, यो मानिस!”
पिटाइ खाएर चोटै चोटले भरिए तापनि इतिहासको सबैभन्दा विशिष्ट व्यक्ति, सबैभन्दा महान् पुरुष यहाँ उभिनुभएको छ! हो, येशूले आफ्नो शान्त गरिमा र ठन्डा मिजासद्वारा एउटा यस्तो महानता प्रकट गर्नुहुन्छ जसलाई पिलातसले समेत स्वीकार गर्छन् किनकि उनका शब्दहरूमा आदर र दयाको भाव स्पष्टै झल्किन्छ। यूहन्ना १८:३९–१९:५; मत्ती २७: १५-१७, २०-३०; मर्कूस १५:६-१९; लूका २३:१८-२५.
▪ पिलातसले येशूलाई छुटाउने प्रयास कसरी गर्छन्?
▪ पिलातसले आफूलाई जिम्मेवारीबाट मुक्त पार्ने प्रयास कसरी गर्छन्?
▪ कोर्राबाजीमा के समावेश छ?
▪ कोर्रा लगाइसकेपछि येशूको गिल्ला कसरी गरिन्छ?
▪ येशूलाई छुटाउन पिलातसले अझ के प्रयास गर्छन्?