अध्याय १३१
आखिरी केही पटक देखा पर्नुहुन्छ र इस्वी संवत् ३३ को पेन्तिकोस
यस बीच आफ्ना ११ जना प्रेषितहरूसित गालीलको डाँडामा भेट गर्ने व्यवस्था येशूले मिलाउनुहुन्छ। यस भेटबारे अरू चेलाहरूलाई पनि सूचना दिइन्छ र त्यहाँ जम्मा ५०० जनाभन्दा बढी मानिसहरू भेला हुन्छन्। त्यहाँ देखा परेर तिनीहरूलाई शिक्षा दिन सुरु गर्दा त्यो एउटा आनन्ददायी सम्मेलन हुन जान्छ!
अरू कुराहरू बताउनुका साथै परमेश्वरले आफूलाई स्वर्ग र पृथ्वीको सबै अधिकार दिनुभएको छ भनी त्यहाँ जम्मा भएकाहरूलाई येशू व्याख्या गर्नुहुन्छ। उहाँ आग्रह गर्दै भन्नुहुन्छ: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”
यसबारे सोच्नुहोस्! पुरुष, महिला, केटाकेटी सबैले नै चेला बनाउने काममा भाग लिने एक समानको आदेश पाउँछन्। विरोधीहरूले तिनीहरूको प्रचारकार्य र शिक्षणकार्यलाई रोक्ने प्रयास गर्नेछन् तर येशू तिनीहरूलाई सान्त्वना दिंदै भन्नुहुन्छ: “हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” तिनीहरूलाई आफ्नो सेवा पूरा गर्ने मदत दिनका लागि येशू पवित्र शक्तिद्वारा आफ्ना अनुयायीहरूका साथमा रहनुहुन्छ।
आफू पुनर्जीवित भएपछि येशूले जम्माजम्मी ४० दिनसम्म चेलाहरूलाई आफू जीवित भएको देखाउनुहुन्छ। आफू यसरी प्रकट भएको बेलामा प्रत्येक पटक उहाँले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यबारे शिक्षा दिनुहुन्छ र चेलाहरूको हैसियतमा तिनीहरूको जिम्मेवारीमाथि जोड दिनुहुन्छ। एक पटक त उहाँ आफ्ना सौतेनी भाइ याकूबकहाँ पनि देखा पर्नुहुन्छ र एक समयका ती अविश्वासी व्यक्तिलाई समेत आफू नै वास्तवमा ख्रीष्ट हो भनी विश्वास दिलाउनुहुन्छ।
प्रेषितहरू गालीलमै भएका बेलामा येशूले तिनीहरूलाई यरूशलेम फर्किने आदेश दिनुहुन्छ। तिनीहरूसित त्यहाँ भेट गर्दा उहाँ तिनीहरूलाई भन्नुहुन्छ: “यरूशलेम छोडेर कतै नजाओ तर बुबाले प्रतिज्ञा गर्नुभएको कुरा नपाएसम्म पर्खिरहो, जसबारे तिमीहरूले मबाट सुनेका थियौ। किनभने यूहन्नाले पानीमा बप्तिस्मा गराए तर अबको केही दिनमै पवित्र शक्तिद्वारा तिमीहरूको बप्तिस्मा हुनेछ।”
येशू पछि फेरि आफ्ना प्रेषितहरूसित भेट गर्नुहुन्छ र तिनीहरूलाई सहरबाहिर जैतुन डाँडाको पूर्वपट्टिको भीरमा स्थित बेथानीसम्म लैजानुहुन्छ। अब चाँडै आफू स्वर्ग जाने कुराबारे सबै थोक तिनीहरूलाई भनिसके तापनि तिनीहरू अझै पनि उहाँको राज्य पृथ्वीमा नै स्थापित हुनेछ भनी विश्वास गर्छन्। यसकारण तिनीहरू उहाँलाई सोध्छन्: “प्रभु, के तपाईंले इस्राएलमा परमेश्वरको राज्य अहिले पुनर्स्थापित गर्न लाग्नुभएको हो?”
तिनीहरूको गलत धारणालाई फेरि सुधार्ने कोसिस गर्नुको सट्टा येशू यति मात्र भन्नुहुन्छ: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ, त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्यक छैन।” अनि तिनीहरूले गर्नुपर्ने कामलाई फेरि एक पटक जोड दिंदै उहाँ भन्नुहुन्छ: “पवित्र शक्ति आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”
तिनीहरूले हेर्दाहेर्दै येशू स्वर्गतर्फ उचालिनुहुन्छ र बादलले उहाँलाई तिनीहरूका दृष्टिबाट ढाक्छ। आफ्नो भौतिक शरीरलाई अभौतिक तुल्याउँदै उहाँ स्वर्गमा अदृश्य व्यक्ति भएर उचालिनुहुन्छ। जसै ती ११ जना आकाशतिर हेरिरहेका हुन्छन्, सेतो पोसाक लगाएका दुई जना मानिस तिनीहरूका नजिक खडा हुन्छन्। भौतिक रूप धारण गरेका यी स्वर्गदूतहरूले सोध्छन्: “ए गालीलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।”
कुनै आम तमासा वा प्रदर्शनविना नै येशूले भर्खरै पृथ्वी छाड्नुभएको छ र यो घटना उहाँका विश्वासी चेलाहरूले मात्र देख्छन्। अतः उहाँ सोही ढङ्गमा आउनुहुनेछ—कुनै आम तमासाविना र उहाँ राज्याधिकारसाथ फर्कनुभएको कुरा उहाँका विश्वासी अनुयायीहरूलाई मात्र थाह हुनेछ।
प्रेषितहरू अब जैतुन डाँडाबाट तल झरेर किद्रोनको खोल्सा पार गर्दै फेरि यरूशलेममा प्रवेश गर्छन्। येशूको आज्ञाअनुसार तिनीहरू त्यहीं बस्छन्। दस दिनपछि इस्वी संवत् ३३ को यहूदीहरूको पेन्तिकोसको चाडमा लगभग १२० जना चेलाहरू यरूशलेममा एउटा माथिल्लो तलाको कोठामा भेला हुन्छन्। अचानक स्वर्गबाट ठूलो बतास चलेकोजस्तो आवाज कोठाभरि सुनिन्छ। जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखा पर्छन् र त्यहाँ उपस्थित प्रत्येकमाथि एउटा-एउटा जिब्रो बस्छ अनि चेलाहरू सबै बेग्लाबेग्लै भाषाहरूमा बोल्न थाल्छन्। येशूले प्रतिज्ञा गर्नुभएको पवित्र शक्ति यही हो! मत्ती २८:१६-२०; लूका २४:४९-५२; १ कोरिन्थी १५:५-७; प्रेषित १:३-१५; २:१-४.
▪ गालीलको डाँडामा येशूले कसलाई अन्तिम निर्देशनहरू दिनुहुन्छ र ती निर्देशनहरू के हुन्?
▪ चेलाहरूलाई येशू कस्तो सान्त्वना दिनुहुन्छ र उहाँ तिनीहरूसँग कसरी रहनुहुन्छ?
▪ आफू पुनर्जीवित भएपछि कति दिनसम्म येशू चेलाहरूसामु प्रकट हुनुहुन्छ र तिनीहरूलाई के शिक्षा दिनुहुन्छ?
▪ येशूको मृत्यु हुनुभन्दा पहिले उहाँको चेला नहुने को सामु पनि येशू देखा पर्नुहुन्छ?
▪ आफ्ना प्रेषितहरूसित येशूको आखिरी दुई सभा कहिले हुन्छ र यी दुवै पटक के घटना घट्छ?
▪ येशू जुन ढङ्गमा जानुभयो, त्यसैगरि कसरी आउनुहुनेछ?
▪ इस्वी संवत् ३३ को पेन्तिकोसमा के हुन्छ?