प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ८/१ पृ. ९-१३
  • पृथ्वीमा अनन्त जीवन–परमेश्‍वरले दिएको आशा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीमा अनन्त जीवन–परमेश्‍वरले दिएको आशा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “व्यर्थताको अधीनमा रह्‍यो यसै आशामा”
  • “आत्माले मलाई दबाब दिएको छ”
  • “त्यसलाई छोडिदेऊ, त्यसलाई खाडलमा जान नदेऊ”
  • पृथ्वीबाट मृत्युलाई सदाको निम्ति निलिनेछ
  • यहोवाले तिनको पीडा निको पार्नुभयो
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूबको इनाम—आशाको स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ८/१ पृ. ९-१३

पृथ्वीमा अनन्त जीवन–परमेश्‍वरले दिएको आशा

“सृष्टि व्यर्थताको अधीनमा रह्‍यो यसै आशामा।”—रोमी ८:२०.

१, २. (क) पृथ्वीमा अनन्त जीवनको आशा किन हाम्रो लागि महत्त्वपूर्ण छ? (ख) पृथ्वीमा अनन्त जीवन पाउने कुरालाई किन थुप्रै मानिसले शंकाको दृष्टिले हेर्छन्‌?

अब मानिसहरू बूढाबूढी भएर मर्नेछैनन्‌ बरु, पृथ्वीमा सधैंभरि बाँच्न पाउनेछन्‌ भनेर पहिलो चोटि सुन्दा तपाईं कत्ति खुसी हुनुभएको थियो तपाईंलाई याद होला। (यूह. १७:३; प्रका. २१:३, ४) बाइबलको यो आशा अरूलाई बताउन तपाईंलाई रमाइलो लागेको छ होला। आखिर, अनन्त जीवनको आशा हामीले प्रचार गर्ने सुसमाचारको महत्त्वपूर्ण भाग हो। यस आशाले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई असर गर्छ।

२ अक्सर अधिकांश चर्चहरूले पृथ्वीमा अनन्त जीवनको आशालाई बेवास्ता गर्दै आएका छन्‌। मानिस मरेपछि उसको कुनै भाग जीवित रहिरहन्छ भनेर बाइबलले सिकाउँदैन। तर अधिकांश चर्चहरूले बाइबलको शिक्षा विपरीत अमर आत्माको शिक्षा सिकाउँछन्‌। (इज. १८:२०) यसकारण थुप्रै मानिसले पृथ्वीमा अनन्त जीवन पाउने कुरालाई शंकाको दृष्टिले हेर्छन्‌। त्यसैले हामी यस्तो प्रश्‍न गर्न सक्छौं: के बाइबलले वास्तवमै यो आशालाई समर्थन गर्छ? गर्छ भने परमेश्‍वरले मानिसजातिलाई यसबारे सबैभन्दा पहिला कहिले बताउनुभयो?

“व्यर्थताको अधीनमा रह्‍यो यसै आशामा”

३. मानव इतिहासको सुरुदेखि नै मानिसको लागि परमेश्‍वरको उद्देश्‍य कसरी स्पष्ट पारिएको थियो?

३ मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य मानव इतिहासको सुरुमै प्रस्ट पारिएको थियो। आदम आज्ञाकारी भएमा सधैंभरि बाँच्ने थिए भनी परमेश्‍वरले स्पष्ट पार्नुभएको थियो। (उत्प. २:९, १७; ३:२२) आदमको सुरु-सुरुका सन्तानले मानिसले सिद्धता गुमाएको अवश्‍यै थाह पाए र यसको प्रमाण तिनीहरू आफैले देखे। अदनको बगैंचामा प्रवेश गर्न दिइएन। मानिस बूढो हुन अनि मर्न थाले। (उत्प. ३:२३, २४) समय बित्दै जाँदा मानिसको आयु घट्‌न थाल्यो। आदम ९३० वर्ष, जलप्रलयबाट बचेका शेम ६०० वर्ष, तिनको छोरा अर्पक्षद ४३८ वर्ष र अब्राहामका बुबा तेरह २०५ वर्ष बाँचे। अब्राहामको आयु १७५ वर्ष थियो भने तिनको छोरा इसहाकको १८० र याकूबको १४७ वर्ष। (उत्प. ५:५; ११:१०-१३, ३२; २५:७-८; ३५:२८; ४७:२८) यसरी मानिसको आयु छोटो हुँदै जानुले अनन्त जीवनको आशा गुमेको कुरा थुप्रैले बुझेको हुनुपर्छ। के तिनीहरूसित अनन्त जीवन फेरि पाउन सकिन्छ भनेर विश्‍वास गर्ने कारण थियो?

४. आदमले गुमाएका आशिष्‌हरू परमेश्‍वरले फेरि दिनुहुनेछ भनेर प्राचीन समयका विश्‍वासी पुरुषहरूले विश्‍वास गर्न सक्नुको कारण के थियो?

४ बाइबल भन्छ: “[मानव] सृष्टि व्यर्थताको अधीनमा रह्‍यो यसै आशामा।” (रोमी ८:२०) कुन आशामा? बाइबलको प्रथम भविष्यवाणीले एउटा “सन्तान”-बारे बताउँछ जसले “साँपको शिर कुच्याउने” थियो। (उत्पत्ति ३:१-५, १५ पढ्‌नुहोस्‌) त्यो सन्तानबारेको प्रतिज्ञाले गर्दा परमेश्‍वरले मानिसजातिको लागि राखेको उद्देश्‍य त्याग्नुहुन्‍न भन्‍ने आशा विश्‍वासीहरूलाई दियो। यसबाट हाबिल र नूह जस्ता व्यक्‍तिहरूले आदमले गुमाएका आशिष्‌हरू परमेश्‍वरले फेरि दिनुहुनेछ भनी विश्‍वास गर्ने कारण पाए। यी पुरुषहरूले के बुझेको हुनुपर्छ भने, ‘त्यो सन्तानको कुर्कुच्चो डसिनुमा’ रगत बगाउनु समावेश छ।—उत्प. ४:४; ८:२०; हिब्रू ११:४.

५. पुनरुत्थानमा अब्राहामको विश्‍वास थियो, यो कसरी भन्‍न सक्छौं?

५ अब्राहामलाई विचार गर्नुहोस्‌। परीक्षा हुँदा तिनले “आफ्नो भएको एउटै मात्र छोरालाई चढाउनलागेका थिए।” (हिब्रू ११:१७) तिनी किन छोरालाई चढाउन तयार भएका? (हिब्रू ११:१९ पढ्‌नुहोस्‌) तिनी पुनरुत्थानमा विश्‍वास गर्थे! तिनीसित पुनरुत्थानमा विश्‍वास गर्ने आधार थियो। आखिर, यहोवाले अब्राहामको प्रजनन शक्‍ति पुनः सक्रिय पार्नुभएर बुढेसकालमा पनि तिनी र तिनकी श्रीमती सारालाई छोरा जन्माउन सक्षम बनाउनुभएको थियो। (उत्प. १८:१०-१४; २१:१-३; रोमी ४:१९-२१) यहोवाले तिनीसित एउटा प्रतिज्ञा पनि गर्नुभएको थियो। त्यो प्रतिज्ञा थियो: “इसहाकबाटनै तेरो वंशको नाउँ रहनेछ।” (उत्प. २१:१२) त्यसैले, परमेश्‍वरले इसहाकको पुनरुत्थान गर्नुहुनेछ भनेर विश्‍वास गर्ने अब्राहामसित ठोस कारण थियो।

६, ७. (क) यहोवाले अब्राहामसित कस्तो करार बाँध्नुभयो? (ख) यहोवाले अब्राहामसित बाँधेको करारले कसरी मानिसजातिलाई आशा प्रदान गऱ्‍यो?

६ अब्राहामको त्यस्तो बलियो विश्‍वासको कारण यहोवाले तिनीसित तिनको वंश अर्थात्‌ “सन्तान”-बारे करार बाँध्नुभयो। (उत्पत्ति २२:१८ पढ्‌नुहोस्‌) त्यो “सन्तान”-को मुख्य भाग येशू ख्रीष्ट साबित हुनुभयो। (गला. ३:१६) तिनको “सन्तान” बढेर “आकाशका तारा र समुद्र किनारका बालुवासरह” हुनेछ भनेर यहोवाले अब्राहामलाई भन्‍नुभएको थियो। तर अब्राहामलाई सन्तानको संख्या कति हुनेछ थाह थिएन। (उत्प. २२:१७) पछि संख्या स्पष्ट पारियो। त्यो “सन्तान” येशू ख्रीष्ट र उहाँसँगै राज्य गर्ने १,४४,००० मिलेर बनेको छ। (गला. ३:२९; प्रका. ७:४; १४:१) मसीही राज्य मार्फत “पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।”

७ सायद अब्राहामलाई यहोवाले तिनीसँग बाँधेको करारको महत्त्व र अर्थ पूरै थाह नभएको हुन सक्छ। तैपनि “तिनले [साँचो] जग भएको शहरको प्रतीक्षा गर्दथिए” भनी बाइबल बताउँछ। (हिब्रू ११:१०) त्यो सहर परमेश्‍वरको राज्य हो। त्यस राज्य अन्तर्गत आशिष्‌ पाउन तिनी फेरि जीवित हुनुपर्छ। तिनको निम्ति पृथ्वीमा अनन्त जीवन पुनरुत्थान मार्फत सम्भव हुनेछ। अनि अरमागेडोन जीवितै पार गर्नेहरूले र मृत्युबाट ब्यूँताइनेहरूले अनन्त जीवन पाउन सक्छन्‌।—प्रका. ७:९, १४; २०:१२-१४.

“आत्माले मलाई दबाब दिएको छ”

८, ९. अय्यूबको पुस्तक किन एउटा मानिसको परीक्षाको विवरण मात्र होइन?

८ अब्राहामका पनाति यूसुफ र अगमवक्‍ता मोशाको जीवनकालबीच अय्यूब भन्‍ने व्यक्‍ति थिए। सायद मोशाले लेखेको अय्यूबको पुस्तकमा किन यहोवाले अय्यूबलाई दुःख भोग्न दिनुभयो र पछि तिनलाई के भयो बताइएको छ। तर यो पुस्तक एक जना मानिसको परीक्षाको विवरण मात्र होइन। यो, सम्पूर्ण मानिसजाति र आत्मिक प्राणीलाई असर गर्ने विवादमा केन्द्रित छ। यसले यहोवा धार्मिक तरिकामा शासन गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। साथै अदनको बगैंचामा उठेको विवादमा परमेश्‍वरका पार्थिव सेवकहरूको निष्ठा र जीवनको आशा मुछिएको छ भनेर प्रकाश पार्छ। अय्यूबले यो विवाद बुझेका थिएनन्‌। तैपनि तिनका तीन मित्रहरूको भनाइले गर्दा तिनले आफूलाई निष्ठा कायम राख्न नसकेको व्यक्‍ति ठानेनन्‌। (अय्यू. २७:५) यसले हाम्रो विश्‍वासलाई बलियो बनाउनुपर्छ। साथै निष्ठा कायम राख्न र यहोवाको सार्वभौमिकताको समर्थन गर्न सम्भव छ भनी बुझ्न मदत गर्नुपर्छ।

९ अय्यूबका तीन जना नाउँ मात्रका सान्त्वना दिने मित्रहरूले बोल्न सिध्याएपछि “बुजी बारकेलका छोरा एलीहूले भन्‍न शुरु गरे।” तिनलाई बोल्न केले उत्प्रेरित गऱ्‍यो? तिनले भने, “मेरो मुखभरि जवाफ आएको छ किनकि आत्माले मलाई दबाब दिएको छ।” (अय्यू. ३२:५, ६, १८, NW ) परमेश्‍वरबाट प्रेरणा पाएर एलीहूले बोलेको कुरा अय्यूबको पुनर्स्थापना हुँदा पूरा भए तापनि तिनका शब्दहरू अरूका लागि पनि अर्थपूर्ण छन्‌। निष्ठावान्‌ व्यक्‍तिहरूका लागि यसले आशा प्रदान गर्छ।

१०. एउटा मानिसलाई यहोवाले दिएको सन्देशले कहिलेकाहीं सबै मानिसजातिका लागि अझै ठूलो अर्थ राख्छ भनी कुन घटनाबाट थाह पाउन सक्छौं?

१० कहिलेकाहीं यहोवाले एक व्यक्‍तिलाई दिएको सन्देशले सबै मानिसजातिका लागि नै ठूलो अर्थ राख्छ। यो, बेबिलोनी राजा नबूकदनेसरले देखेको बडेमाको रूख ढालेको सपनाबारे दानियलको भविष्यवाणीबाट स्पष्ट हुन्छ। (दानि. ४:१०-२७) नबूकदनेसरमा यो भविष्यवाणीको पूर्ति भए तापनि यसले अझै महत्त्वपूर्ण कुरालाई औंल्यायो। पृथ्वीमा दाऊदको वंशको एउटा राज्यद्वारा व्यक्‍त परमेश्‍वरको सार्वभौमकिता, ईसापूर्व ६०७ देखि सुरु भएको २,५२० वर्ष बितेपछि पुनः प्रकट हुनेछ भनेर यस भविष्यवाणीले संकेत गऱ्‍यो।a सन्‌ १९१४ मा येशू ख्रीष्टलाई स्वर्गीय राजाको रूपमा स्थापना गरेर परमेश्‍वरले पृथ्वीमा आफ्नो सार्वभौमिकता पुनः प्रकट गर्न थाल्नुभयो। एकछिन सोच्नुहोस्‌ त, परमेश्‍वरको राज्यले चाँडै आज्ञाकारी मानिसजातिका आशाहरू पूरा गर्नेछ!

“त्यसलाई छोडिदेऊ, त्यसलाई खाडलमा जान नदेऊ”

११. एलिहूको शब्दले परमेश्‍वरबारे के संकेत गर्छ?

११ अय्यूबलाई जवाफ दिंदै एलिहूले “मानिसलाई उसको इमानदारिता सम्झाउने हजारौंमध्येबाटको एक सन्देशवाहक, एक प्रवक्‍ताबारे” बताउँछन्‌। यो सन्देशवाहकले “परमेश्‍वरलाई बिन्ती गरेर उहाँमा तिनी आनन्दित हुन सक्छ” भन्छ भने नि? एलिहू भन्छन्‌: “त्यसपछि यहोवाले तिनलाई अनुग्रह देखाउनुहुन्छ र भन्‍नुहुन्छ: ‘त्यसलाई छोडिदेऊ, त्यसलाई खाडलमा जान नदेऊ, त्यसलाई छुटाउने दाम मसित छ। तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन्‌ बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।’ ” (अय्यू. ३३:२३-२६ NW ) यी शब्दहरूबाट परमेश्‍वर पश्‍चात्तापी मानिसजातिको खातिर “छुटाउने दाम” स्वीकार्न इच्छुक हुनुहुन्छ भनी स्पष्ट हुन्छ।—अय्यू. ३३:२४.

१२. एलिहूको शब्दले सबै मानिसजातिका लागि कस्तो आशा प्रदान गर्छ?

१२ परमेश्‍वरका थुप्रै अगमवक्‍ताले आफूले लेखेको भविष्यवाणीको पूरा अर्थ बुझेनन्‌। तीमध्ये दानियल एक थिए। त्यसैगरि एलिहूले पनि छुटकाराको पूरा अर्थ नबुझेका हुन सक्छन्‌। (दानि. १२:८; १ पत्रु. १:१०-१२) तैपनि एलिहूको शब्दले परमेश्‍वरले एक दिन छुटकाराको बलिदान स्वीकार्नुहुनेछ र मानिसजातिलाई बुढ्यौली अनि मृत्युबाट स्वतन्त्र तुल्याउनुहुनेछ भन्‍ने आशा प्रदान गर्छ। एलिहूको शब्दले अनन्त जीवनको सुन्दर प्रत्याशा प्रदान गऱ्‍यो। अय्यूबको पुस्तकले पनि पुनरुत्थान हुनेछ भनी देखाउँछ।—अय्यू. १४:१४, १५.

१३. एलिहूको शब्दले ख्रीष्टियानहरूका लागि कस्तो अर्थ राख्छ?

१३ आज पनि एलिहूको शब्द वर्तमान दुष्ट संसारको विनाशबाट बच्ने आशा राखेका लाखौं ख्रीष्टियानहरूका लागि अर्थपूर्ण छ। ती बच्नेहरूमध्ये जो बूढाबूढी भइसकेका छन्‌ तिनीहरू तरुनो अवस्थामा फर्कनेछन्‌। (प्रका. ७:९, १०, १४-१७) यसबाहेक, पुनरुत्थान भएकाहरू युवावस्थामा फर्कने प्रत्याशाले विश्‍वासी जनहरूलाई प्रसन्‍न तुल्याउँछ। निस्सन्देह, अभिषिक्‍त ख्रीष्टियानहरूले स्वर्गमा अमरत्व पाउने र येशूको “अरू भेडा”-ले पृथ्वीमा अनन्त जीवन पाउने कुरा उहाँको छुटकाराको बलिदानमा विश्‍वास गर्नु/नगर्नुमा भर पर्छ।—यूह. १०:१६; रोमी ६:२३.

पृथ्वीबाट मृत्युलाई सदाको निम्ति निलिनेछ

१४. इस्राएलीहरूले अनन्त जीवनको आशा पाउन मोशाको व्यवस्था पर्याप्त थिएन भनेर कुन कुराले देखाउँछ?

१४ परमेश्‍वरसित करारमा बाँधिदा अब्राहामको सन्तान एउटा छुट्टै राष्ट्र बन्यो। तिनीहरूलाई व्यवस्था दिंदा यहोवाले भन्‍नुभयो: “तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। जुन मानिसले ती पालन गर्छ त्यसको कारण त्यो जीवित रहनेछ।” (लेवी १८:५) तर व्यवस्थाको सिद्ध स्तरअनुरूप चल्न नसक्ने भएकोले इस्राएलीहरू व्यवस्थाअनुसार दोषी ठहरिए र त्यस अवस्थाबाट तिनीहरूलाई उद्धार गर्नु आवश्‍यक पऱ्‍यो।—गला. ३:१३.

१५. दाऊद कुन भावी आशिष्‌बारे लेख्न प्रेरित भए?

१५ मोशापछि यहोवाले बाइबलका अन्य लेखकहरूलाई अनन्त जीवनको आशाबारे लेख्न प्रेरित गर्नुभयो। (भज. २१:४; ३७:२९) उदाहरणको लागि दाऊदले सियोनमा साँचो उपासकहरूको एकताबारे भजनको अन्तमा यस्तो लेखे: “त्यहींनै परमप्रभुले आशिषको आज्ञा दिनुभयो, अनन्तको जीवन।”—भज. १३३:३.

१६. यशैया मार्फत यहोवाले “सारा पृथ्वीबाट” के गर्ने प्रतिज्ञा गर्नुभयो?

१६ यहोवाले यशैयालाई पृथ्वीमा अनन्त जीवनबारे भविष्यवाणी गर्न प्रेरित गर्नुभयो। (यशैया २५:७, ८ पढ्‌नुहोस्‌) पाप र मृत्युले मानिसजातिलाई निस्सासिने “पर्दा”-ले जस्तै ढाकेको छ। “सारा पृथ्वीबाट” पाप र मृत्युलाई निलिनेछ अर्थात्‌ हटाइनेछ भनेर परमेश्‍वर आफ्ना जनहरूलाई आश्‍वासन दिनुहुन्छ।

१७. मसीहको कस्तो भविष्यसूचक भूमिकाले अनन्त जीवनको ढोका खोलिदिन्छ?

१७ मोशाको व्यवस्थामा अजाजेलको भागमा परेको बोकाबारे बताइएको प्रक्रियालाई पनि विचार गर्नुहोस्‌। वर्षको एक चोटि प्रायश्‍चितको दिनमा प्रधान पूजाहारीले ‘आफ्नो दुवै हात जिउँदो बोकाको टाउकोमा राख्थे र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकारेर त्यसमाथि राखिदिन्थे। यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजान्थ्यो।’ (लेवी १६:७-१०, २१, २२) त्यस्तै भूमिका निभाउने मसीहको आगमनको यशैयाले भविष्यवाणी गरे। उहाँले “कष्ट” अर्थात्‌ रोगबिमार अनि “दुःख” र ‘मानिसको पाप’ बोकेर लैजानुहुन्छ र यसरी अनन्त जीवनको ढोका खोलिदिनुहुन्छ।—यशैया ५३:४-६, १२ पढ्‌नुहोस्‌।

१८, १९. यशैया २६:१९ र दानियल १२:१३ मा कस्तो आशा प्रकाश पारिएको छ?

१८ यशैया मार्फत यहोवाले आफ्ना जन इस्राएलीहरूलाई भन्‍नुभयो: “मरिगएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठेर आऊ। तपाईंको शीत ज्योतिको शीतझैं झर्छ, अधलोकमा तपाईंले त्यो झार्नुहुनेछ।” (यशै. २६:१९) हिब्रू धर्मशास्त्रले पृथ्वीमा पुनरुत्थान र अनन्त जीवनको आशा स्पष्टसँग औंल्याइदिएको छ। उदाहरणको लागि, दानियल झन्डै १०० वर्षको हुँदा यहोवाले तिनलाई यस्तो आश्‍वासन दिनुभयो: “विश्राम लेऊ। औ युगको अन्तमा तिमी आफ्नो ठहराइएको दिन हेर्नलाई खडा हुनेछौ।”—दानि. १२:१३.

१९ पुनरुत्थानको आशाको कारण मार्थाले आफ्नो मरिसकेको भाइबारे येशूलाई यसो भन्‍न सकिन्‌: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” (यूह. ११:२४) येशूको शिक्षा र चेलाहरूको प्रेरित लेखोटले के यो आशालाई परिवर्तन गऱ्‍यो? के यहोवा मानिसजातिलाई अझै पृथ्वीमा अनन्त जीवनको आशा प्रदान गर्नुहुन्छ? यी प्रश्‍नहरूको जवाफ हामी अर्को लेखमा छलफल गर्नेछौं। ( w 09 8/15)

[फुटनोट]

a दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• कुन आशाको आधारमा मानव सृष्टि “व्यर्थताको अधीनमा” रह्‍यो?

• अब्राहामले पुनरुत्थानमा विश्‍वास गर्थे, यो कसरी भन्‍न सक्छौं?

• एलिहूले अय्यूबलाई भनेको शब्दबाट मानिसजातिले कस्तो आशा पाउँछन्‌?

• हिब्रू धर्मशास्त्रले पृथ्वीमा पुनरुत्थान र अनन्त जीवनको आशालाई कसरी जोड दिन्छ?

[पृष्ठ ११-मा भएको चित्र]

मानिसजाति बुढ्यौली र मृत्युबाट मुक्‍त हुनेछ भन्‍ने आशा एलिहूले अय्यूबलाई भनेका शब्दहरूमा पाउँछौं

[पृष्ठ १२-मा भएको चित्र]

“युगको अन्तमा तिमी आफ्नो ठहराइएको दिन हेर्नलाई खडा हुनेछौ” भनी दानियललाई आश्‍वासन दिइयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने