स्कूल निरीक्षकका लागि निर्देशनहरू
प्रत्येक मण्डलीमा ईश्वरतान्त्रिक सेवा स्कूल सञ्चालन गर्न एक जना एल्डरलाई नियुक्त गरिएको हुन्छ। यदि तपाईंलाई यो जिम्मेवारी सुम्पिएको छ भने यस स्कूलको लागि तपाईंले देखाउने जोस र प्रत्येक विद्यार्थीको उन्नतिप्रति तपाईंले देखाउने चासोले मण्डलीका सबै भाइबहिनीले लाभ उठाउन सक्छन्।
तपाईंले पाएको जिम्मेवारीको एउटा महत्त्वपूर्ण भाग हरेक हप्ता मण्डलीमा ईश्वरतान्त्रिक सेवा स्कूल सञ्चालन गर्नु हो। त्यस स्कूलमा आफ्नो भाग प्रस्तुत गर्ने विद्यार्थी मात्र होइनन् तर अरू श्रोता पनि हुन्छन् भन्ने कुरा मनमा राख्नुहोस्। स्कूलको उद्देश्यबारे यस किताबको पृष्ठ ५ देखि ८ सम्म बताइएको छ। ती उद्देश्यमध्ये कुनै एउटा हासिल हुने तरिकामा मण्डलीमा सबैलाई उत्प्रेरणा दिने व्यावहारिक सम्झौटाहरू बताउँदै स्कूल सञ्चालन गर्नुहोस्।
स्कूलमा पढ्ने भाग पाएका, प्रदर्शनको रूपमा आफ्नो भाग प्रस्तुत गर्ने वा भाषणको रूपमा आफ्नो भाग प्रस्तुत गर्ने जिम्मेवारी पाएका प्रत्येक विद्यार्थीलाई चासो देखाउनुहोस्। तिनीहरूले स्कूलमा आफ्नो भाग प्रस्तुत गर्ने मात्र होइन तर यहोवाको सेवामा उन्नति गर्ने मौका पाइरहेका छन् भनेर बुझ्न मदत गर्नुहोस्। तिनीहरूले आफूले पाएको भाग प्रस्तुत गर्न मेहनत गरेका छन् भने पक्कै पनि तिनीहरूको उन्नति हुन्छ। तर तपाईंले पनि तिनीहरूलाई मायालु चासो देखाउनु महत्त्वपूर्ण छ। तिनीहरूलाई सल्लाह दिनुको कारण बुझाउनुहोस् अनि त्यस्तो सल्लाह कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्। अनि यसो गर्न प्रत्येक विद्यार्थीलाई व्यावहारिक सल्लाह दिन सक्नेगरि तिनीहरूको भाषण ध्यान दिएर सुन्नुपर्छ।
स्कूल कार्यक्रम समयमै सुरु गरेर समयमै अन्त गर्नुपर्छ। तपाईंको टिप्पणी तोकिएको समयभित्रै सिध्याएर अरूको निम्ति राम्रो उदाहरण बसाल्नुहोस्। विद्यार्थीले समय बढी लिएमा तपाईंले वा तपाईंको सहायकले त्यसबारे सङ्केत दिनुपर्छ। त्यसपछि तुरुन्तै विद्यार्थीले आफूले भनिरहेको वाक्य टुङ्ग्याउनुपर्छ र मञ्च छोड्नुपर्छ। यदि स्कूलका अरू भागमा धेरै समय गइसकेको छ भने तपाईंले आफ्नो टिप्पणी छोट्याउनुपर्छ र त्यस विषयमा सभापछि सम्बन्धित भाइसित कुरा गर्नुपर्छ।
तपाईं सभामा उपस्थित भएको बेला तपाईंले नै स्कूल सञ्चालन गर्नुपर्छ। तपाईं उपस्थित हुन नसकेको अवस्थामा एल्डरहरूको निकायले पहिले नै छानेको कुनै अर्को एल्डरले स्कूल सञ्चालन गर्नुपर्छ। स्कूलको तालिका बनाउन, स्कूलको पर्चीमा लेख्न र उक्त पर्ची बाँड्न वा कसैले आफ्नो भाग प्रस्तुत गर्न नसक्दा अर्को व्यक्ति खटाउन तपाईंलाई मदत चाहिन्छ भने एल्डरहरूको निकायले छानेको सहायक सेवकले सघाउन सक्छन्।
स्कूलमा नाम लेख्न लगाउनुहोस्। सबै प्रकाशकलाई स्कूलमा नाम लेखाउन प्रोत्साहन दिनुहोस्। मण्डलीसित सक्रिय भएर सङ्गत गरिरहेकाहरू बाइबलको शिक्षासित सहमत छन् र तिनीहरूले बाइबलका सिद्धान्तअनुसार जीवन बिताइरहेका छन् भने स्कूलमा नाम लेखाउन सक्छन्। कसैले स्कूलमा नाम लेखाउने इच्छा व्यक्त गर्दा तिनको प्रशंसा गर्नुहोस्। तिनी प्रकाशक होइनन् भने तपाईं स्कूल निरीक्षकले नै तिनीसित स्कूलमा नाम लेखाउन पूरा गर्नुपर्ने आवश्यकताबारे छलफल गर्नुपर्छ। यस्तो छलफल गर्दा तिनको अध्ययन सञ्चालक (वा तिनका ख्रीष्टियन बुबा वा आमा) पनि उपस्थित भए राम्रो। स्कूलमा नाम लेखाउन चाहिने योग्यता र बप्तिस्मा नगरेको प्रकाशक हुन चाहिने योग्यता एउटै हो। ती योग्यताबारे हाम्रो राज्य सेवकाई, नोभेम्बर, २००६, पृष्ठ ८-९ मा (यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित [अङ्ग्रेजी] पृष्ठ ७८-८१) पाइन्छ। स्कूलमा नाम लेखाएका सबैको नवीनतम नामावली तयार पार्नुहोस्।
सल्लाह फाराम प्रयोग गर्नुहोस्। विद्यार्थीको सल्लाह फाराम विद्यार्थीकै किताबको पृष्ठ ७९-८१ मा छ। सल्लाह फाराममा प्रयोग गरिएका रङ्गले प्रस्तुत गर्ने भागमा कुन-कुन बुँदा पर्छन् भनेर बुझ्न मदत गर्छ। विद्यार्थीले पढ्ने भाग पाएका छन् भने १ देखि १७ सम्मको बुँदा हेरिनेछ। त्यसैगरि प्रदर्शनको रूपमा आफ्नो भाग प्रस्तुत गर्ने जिम्मेवारी पाएकाहरूको भने ७, ५२ र ५३ नम्बरबाहेकका अन्य सबै बुँदा हेरिनेछ। आफ्नो भाग भाषणको रूपमा प्रस्तुत गर्ने जिम्मेवारी पाएकाहरूको भने ७, १८ र ३० नम्बरबाहेकका अन्य सबै बुँदा हेरिनेछ।
विद्यार्थीको किताबमा भएको सल्लाह फाराममा “भाग प्रस्तुत गर्ने मिति” भन्ने लहर छ। जुन बुँदामा विद्यार्थीलाई काम गर्न अह्राइएको हुन्छ, विद्यार्थीले त्यो बुँदामा काम गर्ने मिति त्यही बुँदाको दाँयातिरको खाली ठाउँमा सिसाकलमले लेखिदिनुपर्छ र यो कुरा स्कूल निरीक्षकले पक्का गर्नुपर्छ। विद्यार्थीले आफ्नो भाग प्रस्तुत गरिसकेपछि तिनले काम गर्नुपर्ने बुँदाअन्तर्गतको अध्यायमा दिइएका अभ्यास पनि गरिसकेका छन् कि छैनन्, व्यक्तिगत रूपमा सोध्नुहोस्। गरिसकेका रहेछन् भने सल्लाह फाराममा दिइएको बाकसमा (✔) चिनो लगाउनुहोस्। विद्यार्थीलाई त्यही बुँदामा फेरि काम गर्नुपर्ने सल्लाह दिंदै हुनुहुन्छ भने सल्लाह फाराममा थप केही लेख्नुपर्दैन। सल्लाह फाराममा भएको “भाग पूरा गरिएको मिति”-मा पनि केही नलेख्नुहोस्। विद्यार्थी अर्को बुँदामा काम गर्न तयार भइसकेपछि मात्रै त्यहाँ भाग पूरा गरेको मिति लेखिदिनुपर्छ। यसबाहेक पृष्ठ ८२ मा विद्यार्थीले आफ्नो भागमा कहिले कुन भूमिका प्रयोग गरेका छन्, बायाँतिरको खाली ठाउँमा लेखिएको मिति पनि याद गर्नुपर्छ। सल्लाह फाराममा र भूमिका दिइएको सूचीमा दुई पटकसम्म मिति लेख्न सकिनेगरि खाली ठाउँ दिइएको छ। सबै विद्यार्थीले स्कूलमा किताब लिएर आउनुपर्छ।
एक पटकमा एउटा मात्र बुँदामा काम गर्न लगाउनुहोस्। साधारणतया काम गर्नुपर्ने बुँदामा क्रमशः काम गर्नु राम्रो हो। तर कुनै विद्यार्थी निकै क्षमतावान् छन् भने कुनै खास बुँदा अध्ययन गर्न र लागू गर्न प्रोत्साहन दिनुहोस्। अनि तिनलाई कुशल वक्ता र प्रभावकारी शिक्षक हुन मदत गर्ने बुँदाहरूमा उन्नति गर्न सहयोग दिन सक्नुहुन्छ।
विद्यार्थीले स्कूलमा भाग लिएको वर्षौं भइसकेको भए तापनि प्रत्येक अध्याय पढेर अनि दिइएको सल्लाह लागू गरेर प्रशस्तै फाइदा उठाउन सक्छन्। विद्यार्थीलाई कुनै खास क्षेत्रमा उन्नति गराउन काम गर्नुपर्ने बुँदामा क्रमशः काम गर्न दिनुको साटो कुनै खास बुँदामा काम गर्न लगाउन सक्नुहुन्छ।
सल्लाह दिनुहोस्। सल्लाह दिंदा बाइबलमा भएका उदाहरण तथा सिद्धान्तहरू राम्ररी प्रयोग गर्नुहोस्। दिइएको सल्लाह र उक्त सल्लाह दिएको तरिका परमेश्वरको वचनमा भएका उच्च सिद्धान्तमा आधारित छन् भनेर विद्यार्थीले महसुस गर्न सक्नुपर्छ।
तपाईं भाइबहिनीको “सहकर्मी” हो भनेर नबिर्सनुहोस्। (२ कोरि. १:२४) भाइबहिनीले जस्तै तपाईंले पनि वक्ता अनि शिक्षकको रूपमा प्रगति गरिरहनै पर्छ। ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् किताब आफ्नै लागि पनि पढ्नुहोस्, दिइएका सल्लाह प्रयोग गर्नुहोस् र अरूको निम्ति राम्रो उदाहरण बसाल्नुहोस्।
सल्लाह दिंदा विद्यार्थीलाई असल पाठक, कुशल वक्ता अनि प्रभावकारी शिक्षक हुन मदत गर्ने लक्ष्य राख्नुहोस्। त्यसो गर्न विद्यार्थीलाई काम गर्नुपर्ने विभिन्न बुँदा के-के हुन्, ती बुँदा किन महत्त्वपूर्ण छन् र ती बुँदामा कसरी सिपालु हुने भनेर बुझाउन जस्तोसुकै मदत दिन पनि तयार हुनुहोस्। तपाईंले त्यसरी मदत दिन सकोस् भनेर नै यो किताब तयार पारिएको हो। तर किताबमा भएका शब्दहरू पढेर मात्रै पुग्दैन। शब्दहरूबाट व्यक्त गर्न खोजिएको विचार के हो र त्यो विचार कसरी लागू गर्ने, त्यो पनि बताउनुहोस्।
विद्यार्थीले कुनै खास बुँदामा राम्रो गरेका छन् भने तिनको प्रशंसा गर्नुहोस्। तिनको प्रस्तुति किन प्रभावकारी थियो वा भाषणमा तिनले जे गरे त्यो किन महत्त्वपूर्ण थियो भनेर छोटकरीमा बताउनुहोस्। कुनै खास क्षेत्रमा ध्यान दिंदा अझै फाइदा हुन्छ भनेर तिनलाई बुझाउनुहोस्। यस क्षेत्रमा कसरी उन्नति गर्न सकिन्छ, त्यो पनि बताइदिनुहोस्। तोकेरै तर दयालु हुँदै सल्लाह दिनुहोस्।
मानिसहरूसामु उभिएर आफ्नो भाग प्रस्तुत गर्न थुप्रैलाई असाध्यै गाह्रो लाग्छ। आफ्नो प्रस्तुति राम्रो नभएको महसुस हुँदा सायद तिनलाई कोसिस गरिरहन मन नलाग्ला। त्यस्तो बेला येशूको अनुकरण गर्नुहोस्। उहाँले “फुटेको नर्कट” भाँच्नुभएन वा “धिपधिप बलिरहेको सलेदो” निभाउनुभएन। (मत्ती १२:२०) विद्यार्थीको भावनात्मक अवस्थालाई याद गर्नुहोस्। विद्यार्थी नयाँ हुन् कि अनुभवी प्रकाशक हुन्, सल्लाह दिंदा त्यो पनि विचार गर्नुहोस्। निष्कपट भएर न्यानो प्रशंसा गर्दा मानिसहरूले सक्दो गरिरहन बल पाउनेछन्।
हरेक विद्यार्थीसँग मर्यादित हुँदै व्यवहार गर्नुहोस्। रोमी १२:१० यसो भन्छ: “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ।” ईश्वरतान्त्रिक सेवा स्कूलका सल्लाहकारका लागि कस्तो गजबको सल्लाह! विद्यार्थी पाको उमेरका हुन् भने १ तिमोथी ५:१, २ मा दिइएको निर्देशनलाई होसियार भई पालन गर्नुहोस्। विद्यार्थीको उमेर जतिसुकै भए तापनि तिनलाई छाँटकाँट गर्न सल्लाह दिंदा दयालु हुनुभयो भने अक्सर त्यस्तो सल्लाह सजिलै स्वीकारिन्छ।—हितो. २५:११.
सल्लाह दिने बेला विद्यार्थीलाई स्कूलले दिने तालिमको उद्देश्यबारे जोड दिनुहोस्। अरूबाट प्रशंसा पाउने अनि सल्लाह फारामको अर्को बुँदामा काम गर्न सक्ने बनाउनु मात्र स्कूलको उद्देश्य होइन। यसबाहेक अरूले प्रशंसा गर्ने वक्ता वा शिक्षक हुनु मात्र पनि स्कूलको उद्देश्य होइन। (हितो. २५:२७) हाम्रो इच्छा हाम्रो बोल्ने वरदानलाई यहोवाको प्रशंसा गर्न अनि अरूलाई उहाँलाई चिन्न र प्रेम गर्न मदत गर्नु हो। यस तालिमले हामीलाई मत्ती २४:१४ अनि २८:१९, २० मा दिइएको काम प्रभावकारी रूपमा गर्न मदत गर्छ। बप्तिस्मा गरेका योग्य भाइलाई समयमा जनवक्ता र शिक्षकको रूपमा “परमेश्वरको बगाल”-को हेरविचार गर्न नियुक्त गरिन्छ।—१ पत्रु. ५:२, ३.
विद्यार्थीलाई कुनै बुँदामा काम गर्ने जिम्मेवारी दिंदा केही दिनभित्रै त्यस बुँदासित सम्बन्धित अध्याय पढ्न सुझाव दिनुहोस्। स्कूलमा पाएको भागको लागि तयारी गर्दा, दैनिक कुराकानी गर्दा, सभामा टिप्पणी गर्दा अनि प्रचार गर्दा उक्त अध्यायबाट सिकेको कुरा लागू गर्न प्रोत्साहन दिनुहोस्।
स्कूलमा प्रस्तुत गर्नुपर्ने भाग खटाउनुहोस्। साधारणतया कम्तीमा पनि तीन हप्ताअघि नै विद्यार्थीलाई तिनीहरूले स्कूलमा प्रस्तुत गर्नुपर्ने भागको जानकारी दिइसक्नुपर्छ। यो जानकारी सम्भव भएसम्म लिखित रूपमा राख्नुपर्छ।
मण्डलीलाई सिकाउने भागहरू एल्डरहरूलाई नै दिनुपर्छ। विशेषगरि त्यस्तो भाग प्रभावकारी रूपमा सिकाउन सक्ने एल्डरहरूलाई दिनुपर्छ र प्रभावकारी रूपमा सिकाउन सक्ने सहायक सेवकहरूलाई पनि दिन सकिन्छ।
विद्यार्थीले प्रस्तुत गर्ने भागमध्ये भाइहरूलाई कुन भाग दिने र बहिनीहरूलाई कुन भाग दिने, पक्का गर्न स्कूलको तालिकामा दिइएको निर्देशन पछ्याउनुहोस्। भाइहरू थोरै छन् र बहिनीहरू धेरै छन् भने भाइहरूलाई पढ्ने भाग मात्र दिने नगर्नुहोस्। भाइहरूलाई भाषण प्रस्तुत गर्ने भाग पनि पर्याप्त मात्रामा दिनुहोस्।
स्कूलमा प्रस्तुत गर्नुपर्ने भाग खटाउँदा प्रत्येकको परिस्थितिलाई पनि विचार गर्नुहोस्। स्कूल हुने दिन कुनै एल्डरको वा सहायक सेवकको सेवा सभामा पनि भाग छ वा त्यही हप्ता तिनले जनभाषण पनि दिनुपर्छ भने त्यो हप्ता तिनलाई स्कूलमा पनि कुनै भाग दिनै पर्छ र? आमालाई वा आमाको मदत चाहिने छोराछोरी दुवैलाई एकै दिन स्कूलमा प्रस्तुत गर्नुपर्ने भाग दिनुपर्छ र? दिइएको विषय केटाकेटीले वा बप्तिस्मा नगरेका बाइबल विद्यार्थीले प्रस्तुत गर्न सुहाउँछ? विद्यार्थीलाई दिइएको विषय र तिनले काम गर्नुपर्ने बुँदा मिल्छ?
आफूले प्रस्तुत गर्नुपर्ने भागको भूमिका बहिनीहरूले पृष्ठ ७८ र ८२ मा दिइएको निर्देशन अनुरूपै अक्सर आफै छान्नेछन्। बहिनीहरूलाई एक जना सहायक दिनुपर्छ तर थप सहायक पनि प्रयोग गर्न सकिन्छ। विद्यार्थीले कुनै खास भूमिकालाई ठ्याक्कै सुहाउने साथी माग्दा त्यसबारे विचार गरिदिनुपर्छ।
सहायक कक्षाहरू: स्कूलमा ५० भन्दा धेरै विद्यार्थी छन् भने विद्यार्थीले प्रस्तुत गर्नुपर्ने भागको लागि सहायक कक्षाहरूको प्रबन्ध गर्न सक्नुहुन्छ। मण्डलीको आवश्यकताअनुसार विद्यार्थीले प्रस्तुत गर्नुपर्ने सबै भाग वा अन्तिम दुई भाग सहायक कक्षाहरूमा प्रस्तुत गर्न सकिन्छ।
प्रत्येक सहायक कक्षामा पनि एक जना योग्य सल्लाहकार खटाउनुपर्छ। सम्भव भएसम्म एल्डरलाई नै खटाउनुपर्छ। आवश्यकताअनुसार योग्य सहायक सेवकलाई पनि खटाउन सकिन्छ। यस्ता सल्लाहकार एल्डरहरूको निकायले स्वीकृत गरेको हुनुपर्छ। विद्यार्थीलाई जुनसुकै कक्षामा आफ्नो भाग प्रस्तुत गर्न खटाइए तापनि तिनले अर्को पटक काम गर्नुपर्ने बुँदा कुन हो, थाह पाउन स्कूल निरीक्षकले ती सल्लाहकारसँग मिलेर काम गर्नुपर्छ।
पढ्न सिकाउने विशेष कक्षा: मण्डलीका थुप्रैलाई सभा सञ्चालन हुने भाषामा सामान्य लेखपढ गर्न पनि आउँदैन भनेर एल्डरहरूको निकायले पक्का गरेका छन् भने ईश्वरतान्त्रिक सेवा स्कूलसँगै पढ्न सिकाउने कक्षाको प्रबन्ध मिलाउन सक्नुहुन्छ। यस प्रबन्धको उद्देश्य सामान्य लेखपढ गर्न सिकाउनु वा पढ्ने क्षमतामा प्रगति गराउनु हो।
ईश्वरतान्त्रिक सेवा स्कूलमा विद्यार्थीहरूले आफ्नो भाग प्रस्तुत गरिरहेकै बेलामा यस्तो कक्षा सञ्चालन गर्नुपर्छ भन्ने छैन। पर्याप्त मदत दिन अझ धेरै समय दिनुपर्ने हुन्छ र स्कूल सञ्चालन भइरहेको बेला त्यसरी सिकाउन सकिंदैन। त्यसैले मण्डलीका एल्डरहरूले नै कस्तो मदत चाहिन्छ अनि कहिले यस्तो मदत दिन सकिन्छ, त्यसबारे पक्का गर्नुपर्छ। आवश्यकताअनुसार धेरैलाई एकै पटक वा एक-एक जनालाई व्यक्तिगत रूपमा सिकाउने प्रबन्ध मिलाउन सकिन्छ।
सिकाउनलाई एक जना योग्य शिक्षक चाहिन्छ। सम्भव भएसम्म राम्ररी पढ्न सक्ने र भाषामा पनि पोख्त भाइलाई नै यस्तो जिम्मेवारी दिनुपर्छ। भाइहरू छैनन् भने एल्डरहरूले उदाहरणीय अनि योग्य बहिनीलाई खटाउन सक्छन्। तिनले सिकाउने बेला शिरपोस लगाउनुपर्छ।—१ कोरि. ११:३-१०; १ तिमो. २:११, १२.
पढ्न र लेख्न सिक्नुहोस् (अङ्ग्रेजी) पुस्तिका थुप्रै भाषामा उपलब्ध छ। यो पुस्तिका सामान्य लेखपढ गर्न सिकाउन सक्नेगरि तयार पारिएको छ। यस कक्षामा सहभागी भएकाहरूको पढ्ने क्षमताअनुसार अन्य पाठ्यपुस्तक पनि प्रयोग गर्न सकिन्छ। विद्यार्थी लेखपढ गर्न जान्ने भएपछि तिनलाई ईश्वरतान्त्रिक सेवा स्कूलमा नाम लेखाउन प्रोत्साहन दिनुपर्छ।
ईश्वरतान्त्रिक सेवा स्कूलका निरीक्षक भएकोले तपाईंले मण्डलीको हितको लागि यथासक्दो गर्न सक्नुहुन्छ। स्कूलको लागि राम्ररी तयारी गर्नुहोस्। अनि रोमी १२:६-८ मा दिइएको सल्लाह अनुरूप परमेश्वरले सुम्पेको अमूल्य वरदान सम्झँदै यो जिम्मेवारी पूरा गर्नुहोस्।