अध्याय ४५
सिकाउन मदत गर्ने दृष्टान्त र उदाहरण
अरूलाई प्रभावकारी रूपमा सिकाउने तरिका दृष्टान्तहरू र उदाहरणहरू बताउनु हो। दृष्टान्त र उदाहरण बताउँदा ध्यान खिच्न सकिन्छ। साथै भाषणलाई रोचक बनाइराख्न पनि यो तरिका निकै प्रभावकारी हुन्छ। यसले सोच्ने क्षमतालाई सक्रिय बनाउँछ। यसले भावनालाई पनि जगाउने भएकोले श्रोताको अन्तस्करण अनि मनलाई असर गर्न सक्छ। पूर्वाग्रह हटाउन पनि कहिलेकाहीं दृष्टान्त प्रयोग गर्न सकिन्छ। दृष्टान्त चलाइएको छ भने थुप्रै कुरा सम्झन सजिलो हुन्छ। के तपाईं दृष्टान्त र उदाहरण चलाएर अरूलाई सिकाउनुहुन्छ?
अक्सर अलङ्कार चलाउँदा तीनथुप्रो शब्द चाहिंदैन; तैपनि यसले श्रोताको मनमा जीवन्त चित्र उतार्न सक्छ। सोचविचार गरेर अलङ्कार चलाइएको छ भने प्रायः त्यसको अर्थ खुलाइराख्नु पर्दैन। तर सिकाउँदा अलङ्कारको महत्त्वमाथि जोड दिन छोटकरीमा त्यसको अर्थ खुलाइदिन सकिन्छ। बाइबलमा थुप्रै अलङ्कार छन् र त्यसबाट तपाईं केही न केही सिक्न सक्नुहुन्छ।
उपमा र रूपकबाट सुरु गर्नुहोस्। उपमा सबैभन्दा सजिलो किसिमको अलङ्कार हो। यदि तपाईं दृष्टान्त प्रयोग गर्न सिक्दै हुनुहुन्छ भने सुरुमा उपमा चलाउन सिक्नु राम्रो हुन्छ। उपमा चलाउँदा प्रायजसो “जस्तै,” “झैं,” “सरि,” “सरह” भन्ने शब्द प्रयोग गरिन्छ। उपमा चलाउँदा कुनै एउटा वस्तुलाई अर्को भिन्न वस्तुसित तुलना गरिन्छ। बाइबलमा त्यस्ता थुप्रै अलङ्कार प्रयोग गरिएका छन् जसमा बिरुवा, जीवजन्तु अनि नक्षत्र जस्ता सृष्टिका कुराबारे चर्चा गरिएका छन्। साथै मानिसजातिको अनुभवबारे पनि बाइबलमा बताइएको छ। भजन १:३ मा दिनहुँ परमेश्वरको वचन पढ्ने मानिस “खोलाको धारको छेउमा रोपेको” प्रशस्त फल दिने अनि कहिल्यै नओइलाउने “बोटजस्तै” हो भनेर बताइएको छ। बाइबलमा दुष्ट मानिस सिकार ढुकेर बस्ने “सिंहझैं” छ भनिएको छ। (भज. १०:९) यहोवाले अब्राहामको सन्तान “आकाशका तारा र समुद्र किनारका बालुवासरह” प्रशस्तै हुनेछन् भन्नुभयो। (उत्प. २२:१७) “जसरी पटुका मानिसको कम्मरमा कसिरहेको हुन्छ, त्यसरीनै” यहोवा परमेश्वरले पनि इस्राएली जातिलाई आफूसित लीन हुन दिएर तिनीहरूसित घनिष्ठ सम्बन्ध गाँसेको कुरा बताउनुभयो।—यर्मि. १३:११.
रूपकमा पनि एकदमै भिन्न दुई चीजको समानताबारे बताइन्छ। तर रूपक उपमाभन्दा जोडदार हुन्छ। रूपकमा कुनै एउटा चीजलाई अर्कै चीजको रूपमा बयान गरिन्छ र एउटा चीजमा भएको गुण अर्को चीजमा छ भनेर बताइन्छ। येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरू संसारका ज्योति हौ।” (मत्ती ५:१४) अनियन्त्रित बोलीले पुऱ्याउन सक्ने हानिबारे चेला याकूबले यस्तो लेखे: “जिब्रो पनि आगै हो।” (याकू. ३:६) यहोवाबारे दाऊदले यस्तो भजन गाए: “मेरो चटान र किल्ला तपाईंनै हुनुहुन्छ।” (भज. ३१:३) यदि तपाईंले सोचविचार गरेर रूपक चलाउनुभएको छ भने त्यसबारे थोरै मात्र व्याख्या गरे पनि पुग्न सक्छ अथवा व्याख्या नै नगरे पनि पुग्न सक्छ। रूपक छोटो हुने भएकोले असरदार हुन्छ। सरल वाक्यमा भनिएको कुराभन्दा रूपक चलाएर भनिएको कुरा श्रोताले सम्झिरहन सक्छन्।
कुनै कुराको वर्णन बढाइचढाइ गरिएको छ भने त्यसलाई अतिशयोक्ति अलङ्कार भनिन्छ। यो अलङ्कार चलाउँदा निकै होसियार हुनुपर्छ नत्र अर्थको अनर्थ हुन सक्छ। येशूले अतिशयोक्ति अलङ्कार प्रयोग गरेर मानिसहरूको मनमा यस्तो चित्र कोर्नुभयो, जुन सजिलै बिर्सन नसकिने किसिमको थियो। उहाँले यसो भन्नुभयो: “तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिं यादै गर्दैनौ?” (मत्ती ७:३) उपमा र रूपक प्रभावकारी रूपमा चलाउन जानिसकेपछि मात्र अतिशयोक्ति अथवा अरू अलङ्कार चलाउन सिक्नुहोस्।
उदाहरण चलाउनुहोस्। अरूलाई सिकाउनेबेला तपाईं अलङ्कारको सट्टा अरू उदाहरण पनि चलाउन सक्नुहुन्छ। ती उदाहरण काल्पनिक पनि हुन्छन् अथवा वास्तविक जीवनसित सम्बन्धित पनि हुन सक्छन्। यस्ता उदाहरण बताउँदा प्रायजसो थुप्रै कुरा बताउने झुकाव हुन्छ। त्यसैले सुझबुझ चलाउनुपर्छ। महत्त्वपूर्ण कुरालाई समर्थन गर्न मात्र यस किसिमको उदाहरण प्रयोग गर्नुपर्छ। उदाहरण मात्र याद रहने तर प्रस्तुत गरेको जानकारीको महत्त्वपूर्ण बुँदा नै बिर्सनेगरि यस्ता उदाहरण प्रयोग गर्नुहुँदैन।
सबै उदाहरण वास्तविक जीवनसित सम्बन्धित हुन्छ भन्ने त छैन। तैपनि तपाईंले प्रस्तुत गर्ने उदाहरणले मानिसहरूको वास्तविक मनोवृत्ति वा अवस्था भने झल्काएको हुनुपर्छ। पश्चाताप गर्ने पापीलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ भन्ने कुरा बुझाउन येशूले एउटा दृष्टान्त बताउनुभयो। उक्त दृष्टान्तमा उहाँले हराएको भेडा भेट्टाउँदा रमाहट गर्ने व्यक्तिबारे बताउनुभयो। (लूका १५:१-७) आफ्नो छिमेकीलाई प्रेम गर भन्ने व्यवस्थाको आज्ञा सही तरिकाले नबुझेको मानिसलाई येशूले एक जना मदतगार सामरीको दृष्टान्त बताउनुभयो। पुजारी र लेवीले एक जना घाइते मानिसलाई मदत नगरे तापनि ती सामरीले उनलाई मदत गरेको कुरा उहाँले बताउनुभयो। (लूका १०:३०-३७) मानिसहरूको मनोवृत्ति अनि गतिविधिलाई ध्यान दिएर हेर्न सक्नुभयो भने तपाईंले प्रभावकारी रूपमा उदाहरण चलाउन सक्नुहुनेछ।
भविष्यवक्ता नातानले राजा दाऊदलाई सुधार्न एउटा कथा सुनाए। त्यस कथाले गर्दा दाऊदले आफ्नो सफाइ दिने मौका नै नपाएकोले त्यो प्रभावकारी साबित भयो। धेरै भेडा भएको धनी मानिस अनि आफ्नो एक मात्र सानो पाठीलाई साह्रै माया गरेर पालन-पोषण गर्ने गरिब मानिसबारे त्यो कथा बताइएको थियो। दाऊद पनि पहिला गोठालो थिए। त्यसकारण पाठीको मालिकको मनमा के बित्यो, दाऊद राम्ररी बुझ्न सक्थे। त्यसैले दाऊदलाई त्यो गरिब गोठालोको पाठी खोस्ने धनी मानिससित रिस उठ्यो र तिनी यसरी रिसाउनु उचित थियो। दाऊदले यस्तो प्रतिक्रिया देखाइसकेपछि नातानले तिनलाई सीधै यसो भने: “त्यो मानिस तपाईंनै हो!” यो कुरा तिनको मुटुमै गढ्यो र तिनले साँचो पश्चाताप गरे। (२ शमू. १२:१-१४) उदाहरण र दृष्टान्त प्रयोग गर्न तपाईं जति-जति सिपालु हुँदै जानुहुन्छ, संवेदनशील विषय पनि कुशलतासाथ सँभाल्न सिक्नुहुनेछ।
अरूलाई सिकाउन मदतकारी हुने उदाहरणहरू बाइबलमा उल्लेख गरिएका घटनाहरूबाट पनि लिन सकिन्छ। येशूले पनि थोरै शब्दमा नै बाइबलको घटनालाई उदाहरणको रूपमा चलाउनुभयो। उहाँले यसो भन्नुभयो: “लूतकी पत्नीलाई सम्झ!” (लूका १७:३२) आफ्नो उपस्थितिबारे व्याख्या गर्दा येशूले “नूहको दिन”-बारे चर्चा गर्नुभयो। (मत्ती २४:३७-३९) हिब्रू अध्याय ११ मा प्रेषित पावलले १६ जना पुरुष तथा स्त्रीलाई विश्वासको उदाहरणको रूपमा प्रस्तुत गरेका छन्। तपाईं बाइबलसित जति-जति परिचित हुँदै जानुहुन्छ, बाइबलमा बताइएको घटना अनि मानिसहरूबारे सशक्त उदाहरण दिन त्यति नै सक्षम हुनुहुनेछ।—रोमी १५:४; १ कोरि. १०:११.
कहिलेकाहीं मुख्य बुँदालाई जोड दिन वास्तविक घटनासित सम्बन्धित आधुनिक अनुभव चलाउनु लाभदायी हुन सक्छ। तर कुनै अनुभव साँचो हो भन्ने प्रमाण छ भने मात्र त्यस्तो अनुभव बताउनुहोस्। कसैलाई अप्ठ्यारोमा पार्ने वा तपाईंको मूल-विषयसित सम्बन्धित नभएको विवाद खडा गर्ने उदाहरण चलाउनदेखि होसियार हुनुहोस्। कुनै खास कारण वा उद्देश्य भएकोले नै तपाईं उदाहरण प्रयोग गर्दै हुनुहुन्छ भनेर नबिर्सनुहोस्। तपाईंको प्रस्तुतिको उद्देश्यसित मेल नखाने वा मूल-विषयबाट श्रोताको ध्यान अन्तै जान सक्ने अनावश्यक स-सानो विवरण नबताउनुहोस्।
के मानिसहरूले बुझ्नेछन्? तपाईंले प्रयोग गर्ने दृष्टान्त र उदाहरण जस्तोसुकै भए तापनि त्यसले कुनै न कुनै उद्देश्य हासिल गरेको हुनै पर्छ। तपाईंले बताएको दृष्टान्त र उदाहरण छलफल गरेको विषयसित कसरी सम्बन्धित छ, त्यो नबताईकनै आफ्नो उद्देश्य हासिल गर्न सकिन्छ?
आफ्ना चेलाहरूलाई “संसारका ज्योति” भनिसकेपछि उहाँले दियो बालेर कहाँ राखिन्छ भनेर छोटकरीमा बताउनुभयो र त्यसले तिनीहरूले पूरा गर्नुपर्ने कस्तो जिम्मेवारीलाई सङ्केत गर्छ, त्यो पनि बताउनुभयो। (मत्ती ५:१४, १५) हराएको भेडाको दृष्टान्त बताइसकेपछि कुनै पापीले पश्चाताप गर्दा स्वर्गमा कत्ति रमाहट हुन्छ भन्ने कुरा बताउनुभयो। (लूका १५:७) मदतगार सामरीको कथा बताइसकेपछि उहाँले आफ्नो श्रोतालाई सीधै प्रश्न सोध्नुभयो र प्रस्ट सल्लाह पनि दिनुभयो। (लूका १०:३६, ३७) तर अर्कोतर्फ विभिन्न किसिमको जमिनको दृष्टान्त र बीउ छर्ने दृष्टान्तको अर्थ येशूले नम्र भएर सोध्ने जतिलाई मात्र बताउनुभयो, सबैलाई त होइन। (मत्ती १३:१-३०, ३६-४३) येशूले दाखबारीमा काम गर्ने हत्यारा मोहीहरूसम्बन्धी एउटा दृष्टान्त आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि बताउनुभयो। उहाँले त्यस दृष्टान्तको अर्थ बताउनुभएन; बताउनु आवश्यक पनि थिएन। “मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले . . . तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी . . . बुझे।” (मत्ती २१:३३-४५) त्यसकारण तपाईंले कस्तो किसिमको दृष्टान्त बताउनुभयो, तपाईंको श्रोताको मनोवृत्ति कस्तो छ, दृष्टान्त बताउनुको उद्देश्य के हो, यी सबै कुराले तपाईंले दृष्टान्त र छलफल गरेको विषयबीचको सम्बन्ध बताउनुपर्छ कि पर्दैन अनि बताउनै पर्ने भए कति बताउनुपर्छ, त्यो निर्धारण गर्छ।
दृष्टान्त र उदाहरण राम्रोसँग प्रयोग गर्न जान्नको लागि समय लाग्छ, तर तपाईंको मेहनतको फल मीठो हुन्छ। राम्ररी सोचविचार गरेर छानिएको दृष्टान्तले मन छुने मात्र होइन मनमा गहिरो छाप पनि पार्छ। साधारण किसिमले भनेको कुराभन्दा दृष्टान्त प्रयोग गरेर सुनाएको सन्देश धेरै गुणा प्रभावकारी हुन्छ।