अध्याय ४४
प्रभावकारी तरिकामा प्रश्न सोध्नुहोस्
प्रश्न सोधेपछि जवाफको आशा गरिन्छ—चाहे त्यो मौखिक होस् वा मनमनै दिइएको। प्रश्न सोध्दा श्रोताहरू तपाईंको कुराकानीमा सहभागी हुन्छन्। प्रश्नले तपाईंलाई कुराकानी थाल्न मदत गर्छ र रमाइलो तरिकामा विचार आदानप्रदान गर्न सघाउँछ। वक्ता अनि शिक्षकको रूपमा तपाईं अरूको चासो जगाउन, तपाईंले प्रस्तुत गरेको विषयमा अरूलाई तर्क गर्न मदत दिन अथवा तपाईंले भनेको कुरालाई जोड दिन प्रश्नहरू सोध्न सक्नुहुन्छ। प्रश्न सोधेको तरिका राम्रो छ भने तपाईंले श्रोतालाई एकोहोरो भएर होइन तर सक्रिय भएर सुन्न प्रोत्साहन दिइरहेको हुनेछ। आफ्नो लक्ष्य मनमा राख्नुहोस् र त्यो लक्ष्य प्राप्त गर्न मदत गर्ने तरिकामा प्रश्नहरू सोध्नुहोस्।
कुराकानीमा सहभागी हुन प्रोत्साहन दिनुहोस्। प्रचारमा भेटेका मानिसहरू आफ्नो विचार व्यक्त गर्न खोज्छन् भने तिनीहरूलाई त्यस्तो मौका दिन सजग हुनुहोस्।
थुप्रै साक्षी यस्तो सरल प्रश्न सोधेर रमाइलो कुराकानी थाल्छन्: “के तपाईंले यसबारे कहिल्यै सोच्नुभएको छ?” धेरै मानिसको मनमा खेलिरहेको प्रश्न सोध्दा तिनीहरू प्रचारमा प्रायः राम्रो नतिजा हासिल गर्न सक्छन्। अरू मानिसलाई नौलो लाग्ने प्रश्न सोधिएको छ भने पनि त्यस्तो प्रश्नले तिनीहरूको कौतूहलता जगाउन सक्छ। विभिन्न विषयमा कुराकानी सुरु गर्न यस्ता प्रश्नहरू सोध्न सक्छौं: “यस कुराप्रति तपाईंको विचार कस्तो छ?,” “यो कुरा तपाईंलाई कस्तो लाग्छ?” र “के तपाईंलाई विश्वास लाग्छ?”
भविष्यवक्ता यशैयाको पुस्तक ठूलठूलो स्वरले पढिरहेका इथियोपियाली नपुंसकसामु पुग्दा प्रचारक फिलिपले यस्तो सरल प्रश्न सोधे: “के तपाईंले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” (प्रेषि. ८:३०) यस्तो प्रश्न सोधेको कारण फिलिपले येशू ख्रीष्टबारे सत्य कुरा विस्तृत रूपमा बताउन सके। फिलिपको जस्तै प्रश्न सोधेर आज पनि थुप्रै साक्षीले बाइबलको सही ज्ञान साँच्चै बुझ्न चाहिरहेका मानिसहरूलाई भेट्टाउन सकेका छन्।
थुप्रै मानिसलाई तिनीहरूको विचार व्यक्त गर्न दिंदा तिनीहरू हाम्रो कुरा सुन्न झनै इच्छुक हुन सक्छन्। प्रश्न सोधिसकेपछि तिनीहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्। जवाफ सुनिसकेपछि आलोचनात्मक नहुनुहोस् बरु दयालु हुनुहोस्। निष्कपट प्रशंसा गर्न सकिन्छ भने गर्नुहोस्। एक चोटि एक जना शास्त्रीले “बुद्धिमानीसाथ जवाफ दिएको” सुनेर येशूले तिनको प्रशंसा गर्दै यसो भन्नुभयो: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” (मर्कू. १२:३४) अर्को व्यक्तिको विचारसित तपाईं सहमत हुनुहुन्न भने पनि तिनले आफ्नो विचार व्यक्त गरेकोमा धन्यवाद दिन सक्नुहुन्छ। तिनको कुरा सुनिसकेपछि तपाईं तिनको मनोवृत्ति बुझ्न सक्नुहुन्छ र त्यसैअनुसार तिनलाई बाइबल सत्यबारे बताउन सक्नुहुन्छ।
महत्त्वपूर्ण विचार बताउनुअघि: कुनै समूहसित वा कुनै व्यक्तिसित कुरा गर्दै हुनुहुन्छ भने कुराकानीलाई महत्त्वपूर्ण विचारतर्फ मोड्न सकिने तरिकामा प्रश्न सोध्ने प्रयास गर्नुहोस्। तपाईंले सोधेको प्रश्न श्रोतालाई चासो लाग्ने विषयसित सम्बन्धित छ कि छैन, पक्का गर्नुहोस्। झट्टै जवाफ दिन नसक्दा कौतूहलता जाग्ने खालका प्रश्न पनि सोध्न सक्नुहुन्छ। प्रश्न सोधिसकेपछि एकछिन रोकिनुभयो भने तपाईंले त्यसपछि भन्ने कुरा सुन्न सायद तिनीहरू तत्पर हुनेछन्।
एकपटक भविष्यवक्ता मीकाले थुप्रै प्रश्न सोधेका थिए। सुरुमा तिनले ‘परमेश्वर आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ’ भनेर सोधे। त्यसपछि तिनले थप चारवटा प्रश्न सोधे। ती प्रत्येक प्रश्नहरूमा सुरुको प्रश्नको जवाफ हुन सक्थ्यो। ती थप चार प्रश्नहरूले पाठकहरूलाई बुद्धिले भरिएको जवाफ पाउन मदत गर्छ। मीकाले आफ्नो छलफलको अन्तमा त्यस्तो जवाफ दिएका छन्। (मीका ६:६-८) अरूलाई सिकाउँदाखेरि के तपाईं पनि यस्तै तरिका अपनाउन सक्नुहुन्छ? एक चोटि प्रयास गर्नुहुन्छ कि?
कुनै विषयमा तर्क गर्न: कुनै विषयमा तर्क प्रस्तुत गर्न पनि प्रश्नहरू सोध्न सकिन्छ। इस्राएलीहरूलाई कडा न्यायदण्ड सुनाउँदा यहोवाले यस्तै तरिका अपनाउनुभयो। यो कुरा मलाकी १:२-१० मा उल्लेख गरिएको छ। सुरुमा उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “मैले तिमीहरूलाई प्रेम गरें।” तिनीहरूले उहाँको माया बुझेनन्। त्यसकारण उहाँले तिनीहरूलाई यस्तो प्रश्न सोध्नुभयो: “के एसाव याकूबको दाजु थिएन र?” त्यसपछि यहोवाले एदोमको दुष्टताले गर्दा तिनीहरू उजाड हुनुपरेको कुरा बताउनुभयो। यो नै उहाँले त्यस राष्ट्रलाई प्रेम नगरेको प्रमाण थियो। त्यसपछि उहाँले दृष्टान्त बताउनुभयो र बीच-बीचमा प्रश्न सोध्दै तिनीहरूले उहाँको मायाको बदला माया देखाउन नसकेको कुरा बताउनुभयो। विश्वासघाती पुजारीले तिनीहरूलाई सोधेको जस्तैगरि यहोवाले कुनै-कुनै प्रश्न तिनीहरूलाई सोध्नुभयो। अरू प्रश्नचाहिं यहोवाले पुजारीहरूलाई नै सोध्नुभयो। यो कुराकानीले हामीलाई उत्सुक बनाउँछ र हाम्रो ध्यान खिच्छ। यहोवाको तर्क अकाट्य छ; उहाँको सन्देश अविस्मरणीय!
केही वक्ता त्यसरी नै प्रभावकारी तरिकामा प्रश्न सोध्ने गर्छन्। वक्ताले श्रोताबाट जवाफ पाउन खोजिरहेका त हुँदैनन् तर श्रोतालाई भने कुराकानीमा सहभागी भइरहेको महसुस हुन्छ।
बाइबल अध्ययन सञ्चालन गर्दा विद्यार्थीलाई कुराकानीमा भाग लिऊँ-लिऊँ लाग्नेगरि हामी प्रश्न सोध्छौं। विद्यार्थीले आफ्नै शब्दमा जवाफ दिए भने अति नै राम्रो। विद्यार्थीलाई तर्क गर्न मदत दिन मायालु लबजमा थप प्रश्न सोध्नुहोस्। मुख्य-मुख्य विचारबारे प्रश्न गर्दा बाइबलबाटै जवाफ दिन प्रोत्साहन दिनुहोस्। तपाईं यस्तो प्रश्न पनि सोध्न सक्नुहुन्छ: “अहिले हामीले छलफल गरिरहेको कुरा पहिला अध्ययन गरिसकेका बुँदाहरूसित कसरी सम्बन्धित छ? यो किन महत्त्वपूर्ण छ? यसले हाम्रो जीवनमा कस्तो प्रभाव पार्नुपर्छ?” आफ्नो विश्वस्तता व्यक्त गर्नु वा लम्बेतान विवरण बताउनुभन्दा यसरी प्रश्न सोध्नु अझ प्रभावकारी हुन्छ। यसरी तपाईंले आफ्नो विद्यार्थीलाई परमेश्वरको उपासना गर्ने सन्दर्भमा “सोचविचार गर्ने क्षमता” चलाउन मदत गरिरहेको हुनेछ।—रोमी १२:१.
विद्यार्थीले कुनै खास विचार तुरुन्तै बुझ्दैनन् भने धीरजी हुनुहोस्। तिनले तपाईंले भनेको कुरालाई आफूले वर्षौंदेखि सिक्दै आएको कुरासित दाँजेर हेरिरहेका हुन सक्छन्। कुनै विषयलाई फरक तरिकाले प्रस्तुत गर्नु मदतकारी हुन सक्छ। तर कहिलेकाहीं एकदमै सरल तर्कहरू गर्नुपर्ने हुन सक्छ। बाइबलको प्रयोग प्रशस्त गर्नुहोस्। दृष्टान्तहरू बताउनुहोस्। साथै प्रमाणमाथि तर्क गराउनको लागि विद्यार्थीलाई सरल प्रश्न सोध्नुहोस्।
मनको कुरा बाहिर निकाल्न: प्रश्नको जवाफ दिंदा मानिसहरू सधैं मनको कुरा व्यक्त गर्दैनन्। तपाईंले सुन्न चाहेको जवाफ मात्र तिनीहरूले दिन सक्छन्। त्यसकारण अरूको मनको कुरा बुझ्न सुझबुझ चलाउनुपर्छ। (हितो. २०:५) येशूले जस्तै तपाईंले पनि अरूलाई यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: ‘के तपाईं यो कुरा विश्वास गर्नुहुन्छ?’—यूह. ११:२६.
येशूको कुरा सुनेर उहाँका थुप्रै चेला रुष्ट भए र उहाँलाई छोडेर गए। उहाँले आफ्ना प्रेषितहरूलाई मनको कुरा व्यक्त गर्न भन्नुभयो। उहाँले तिनीहरूलाई यस्तो प्रश्न सोध्नुभयो: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” पत्रुसले अरू प्रेषितको पनि भावना समेट्दै यस्तो जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्; अनि परमेश्वरका पवित्र जन तपाईं नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौं।” (यूह. ६:६७-६९) अर्को पटक येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रश्न सोध्नुभएको थियो: “मानिसको छोरा को हो भनी मानिसहरू भन्दैछन्?” त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो मनको कुरा व्यक्त गर्न लगाउने प्रश्न सोध्नुभयो: “त्यसोभए, तिमीहरूचाहिं म को हुँ भन्छौ?” सिमोन पत्रुसले यस्तो जवाफ दिए: “तपाईं जीवित परमेश्वरका छोरा, ख्रीष्ट हुनुहुन्छ।”—मत्ती १६:१३-१६.
बाइबल अध्ययन सञ्चालन गर्दा पनि कुनै-कुनै विषय बुझाउन तपाईं यस्तै प्रश्नहरू सोध्न सक्नुहुन्छ। सायद तपाईं यस्तो प्रश्न गर्न सक्नुहुन्छ: “यस कुराप्रति तपाईंका सहपाठीहरू (अथवा सहकर्मीहरूको) दृष्टिकोण कस्तो छ?” त्यसपछि यसरी सोध्न सक्नुहुन्छ: “अनि तपाईंलाई चाहिं कस्तो लाग्छ नि?” मानिसको मनको कुरा बुझ्नुभयो भने शिक्षकको रूपमा तपाईंले राम्रो तरिका अपनाएर तिनलाई मदत गर्न सक्नुहुन्छ।
जोड दिन: विचारलाई जोड दिनको लागि पनि प्रश्न सोध्न सकिन्छ। प्रेषित पावलले यसै गरे। यसबारे रोमी ८:३१, ३२ मा यस्तो लेखिएको छ: “यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुनसक्छ र? जसले आफ्नो छोरालाई समेत बाँकी राख्नुभएन तर हामी सबैको निम्ति सुम्पनुभयो, के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र?” याद गर्नुहोस्, दुवै पटक पावलले प्रश्न सोधेर त्यसभन्दा अघिको कुरालाई अझै विस्तार गरे।
बेबिलोनका राजाविरुद्धको न्यायदण्ड उल्लेख गरिसकेपछि भविष्यवक्ता यशैयाले दृढ विश्वस्तता व्यक्त गर्दै यसो भने: “सेनाहरूका परमप्रभुले अभिप्राय गर्नुभएको छ, र कसले त्यसको खण्डन गर्नसक्छ? औ उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउनसक्छ?” (यशै. १४:२७) यी प्रश्नमा जे भनिएका छन्, त्यसबाट यो कुरा कसैले काट्न सक्दैन भनेर थाह हुन्छ। यस्तो प्रश्न सोध्दा जवाफको आशा गरिएको थिएन।
गलत विचार पर्दाफास गर्न: गलत विचारको प्रभावकारी ढङ्गमा पर्दाफास गर्न पनि सोचविचार गरेर प्रश्न सोध्न सकिन्छ। एक जना मानिसलाई निको पार्नुअघि येशूले फरिसी अनि व्यवस्थामा पोख्त केही मानिसलाई यस्तो प्रश्न सोध्नुभयो: “विश्रामको दिनमा निको पार्नु उचित छ कि छैन, हँ?” उक्त मानिसलाई निको पारिसकेपछि उहाँले फेरि यस्तो प्रश्न सोध्नुभयो: “तिमीहरूमध्ये कसले आफ्नो गोरु कि गधा इनारमा पऱ्यो भने त्यसलाई विश्रामको दिनमा झट्टै निकाल्दैन?” (लूका १४:१-६) येशूले जवाफको आशा गर्नुभएको थिएन न त कुनै जवाफ नै दिइयो। ती प्रश्नले तिनीहरूको गलत विचारको पर्दाफास गऱ्यो।
कहिलेकाहीं साँचो ख्रीष्टियनहरूले पनि गलत विचार राख्न सक्छन्। प्रथम शताब्दीमा कोरिन्थ मण्डलीका कोही-कोही ख्रीष्टियनले आपसी झगडा आफूहरूबीचमै सुल्झाउन सक्ने भए तापनि अदालतसम्म लगे। प्रेषित पावलले कसरी यसको समाधान गरे? तिनीहरूको विचार सच्याउन पावलले एकपछि अर्को गर्दै तोकेरै प्रश्नहरू सोधे।—१ कोरि. ६:१-८.
प्रभावकारी तरिकामा प्रश्न सोध्ने बानी बसालेर तपाईं यो सीप विकास गर्न सक्नुहुन्छ। तर प्रश्न सोध्दा आदर देखाउन नबिर्सनुहोस्। विशेषगरि पाका मानिसहरूसित, नौला मानिसहरूसित र अख्तियारमा भएकाहरूसित कुरा गर्दा झनै आदर देखाउनुपर्छ। बाइबल सत्यलाई मन छुने तरिकामा प्रस्तुत गर्न प्रश्न सोध्नुहोस्।