प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv अध्या. ३ पृ. २८-४०
  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले प्रेम गर्ने व्यक्‍तिहरू
  • बाइबलको उदाहरणबाट सिक्नुहोस्‌
  • घनिष्ठ साथी कसरी छान्‍ने?
  • समस्याहरू आइपर्दा
  • सङ्‌गत टुटाउने—कतिखेर?
  • ३. परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई साथी बनाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “गहिरो मित्रता गाँसियो”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • असल साथी कसरी छान्‍न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाप्रति वफादार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv अध्या. ३ पृ. २८-४०
A group of spiritually-minded friends enjoying a picnic together

अध्याय ३

परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌

“बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ।”—हितोपदेश १३:२०.

१-३. (क) बाइबलमा कस्तो अकाट्य कुरा बताइएको छ? (ख) आफूमा राम्रो प्रभाव पार्ने साथी हामी कसरी छान्‍न सक्छौं?

एक अर्थमा मानिसहरू स्पन्जजस्तै छन्‌। स्पन्जले आफू वरपरको पानी सोसेजस्तै मानिसहरूले पनि वरपर देखेको कुराको अनुकरण गर्ने गर्छन्‌। आफूसित घनिष्ठ भई सङ्‌गत गर्ने मान्छेको मनोवृत्ति, स्तर अनि व्यक्‍तित्व अनुकरण गर्न एकदमै सजिलो छ। यतिसम्म कि अनजानमै हामी त्यस्ता कुराहरू गर्न पुग्छौं।

२ बाइबलमा अकाट्य कुरा बताइएको छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) हामीमा आफूले सङ्‌गत गर्ने मान्छेको अनुकरण गर्ने झुकाव हुन्छ भनेर के तपाईं मानिलिनुहुन्छ? किनभने वास्तवमा आफूले सङ्‌गत गर्ने मान्छेसित हामी भावनात्मक तवरमा एकदमै नजिकिएका हुन्छौं। त्यसैले तिनीहरूले हामीलाई एकदमै प्रभाव पार्न सक्छन्‌—सकारात्मक रूपमा होस्‌ या नकारात्मक रूपमा।

३ परमेश्‍वरको प्रेम पाउन लायक भइरहन हामीले आफूमा राम्रो प्रभाव पार्ने साथीहरू खोज्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौं? सजिलो तरिका हो—परमेश्‍वर जसलाई प्रेम गर्नुहुन्छ तिनीहरूलाई प्रेम गरेर अनि उहाँको साथीलाई आफ्नो साथी बनाएर। यो कुरा पनि विचार गर्नुहोस्‌: यहोवाले आफ्ना साथीहरूमा जुन गुणहरू भएको चाहनुहुन्छ ती गुणहरू भएको व्यक्‍तिभन्दा असल साथी हामी अन्त कहाँ पाउन सक्छौं र? त्यसोभए आउनुहोस्‌, परमेश्‍वर कस्ता व्यक्‍तिहरूलाई प्रेम गर्नुहुन्छ, त्यो जाँचौं। यहोवाको दृष्टिकोण राम्ररी बुझ्यौं भने आफूलाई राम्रो प्रभाव पार्ने साथीहरू हामी छान्‍न सक्नेछौं।

परमेश्‍वरले प्रेम गर्ने व्यक्‍तिहरू

४. यहोवासित छानीछानी साथी बनाउने अधिकार छ, किन? उहाँले किन अब्राहामलाई “मेरो मित्र” भन्‍नुभयो?

४ यहोवा एकदमै छानी-छानी साथी बनाउनुहुन्छ। उहाँसित यसो गर्ने अधिकार छैन र? आखिर उहाँ ब्रह्‍माण्डको सार्वभौम प्रभु हुनुहुन्छ अनि उहाँलाई साथी बनाउन पाउनु भनेको सबैभन्दा ठूलो सुअवसर हो। त्यसो भए उहाँ कसलाई आफ्नो साथी छान्‍नुहुन्छ? जसले उहाँमा भरोसा गर्छ अनि जसले उहाँलाई पूर्ण विश्‍वास गर्छ, उसैसित यहोवा नजिकिनुहुन्छ। कुलपिता अब्राहामको उदाहरण विचार गर्नुहोस्‌। तिनी उत्कृष्ट विश्‍वास भएका मानिसको रूपमा चिनिन्थे। विश्‍वासको जाँच गर्न एक जना बुबालाई आफ्नो छोरा बलि चढाऊ भन्दा कस्तो लाग्छ होला?a त्यो जत्तिको विश्‍वासको ठूलो परीक्षा अरू छैन। तर “परमेश्‍वरले इसहाकलाई मृत्युबाट समेत ब्यूँताउन सक्नुहुन्छ” भन्‍ने पूरा विश्‍वास राख्दै अब्राहामले आफ्नो छोरालाई “झन्डै बलि चढाइसकेका थिए।” (हिब्रू ११:१७-१९) अब्राहामले यस्तो विश्‍वास र आज्ञाकारिता देखाएको हुँदा यहोवाले तिनलाई माया गर्दै “मेरो मित्र” भन्‍नुभयो।—यशैया ४१:८; याकूब २:२१-२३.

५. वफादार भई यहोवाको आज्ञा पालन गर्नेहरूलाई उहाँ कस्तो ठान्‍नुहुन्छ?

५ भक्‍त भई अर्थात्‌ वफादार भई आज्ञापालन गर्नेहरूलाई यहोवा एकदमै मूल्यवान्‌ ठान्‍नुहुन्छ। जुनसुकै हालतमा पनि उहाँप्रति वफादार रहिरहन चाहनेहरूलाई उहाँ प्रेम गर्नुहुन्छ। (२ शमूएल २२:२६) यस किताबको अध्याय १ मा छलफल गरेझैं उहाँलाई मनदेखि प्रेम गरेर आज्ञा पालन गर्न छनौट गर्नेहरू देखेर उहाँ औधी खुसी हुनुहुन्छ। हितोपदेश ३:३२ भन्छ: “सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास पात्र हुन्छन्‌।” परमेश्‍वरले माग गरेको कुरालाई वफादार भई पूरा गर्नेहरूलाई उहाँ यस्तो दयालु निम्तो दिनुहुन्छ: तिनीहरूले उहाँको “बासस्थानमा” पाहुनाको रूपमा बास पाउन सक्छन्‌—तिनीहरूले उहाँलाई उपासना गर्ने निम्तो पाउनेछन्‌ अनि कुनै पनि बेला प्रार्थना गर्न सक्छन्‌।—भजन १५:१-५.

६. येशूलाई प्रेम गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं? आफ्नो छोरालाई प्रेम गर्नेहरू देखेर यहोवा कस्तो महसुस गर्नुहुन्छ?

६ आफ्नो एक मात्र छोरा येशूलाई प्रेम गर्नेहरूलाई यहोवा प्रेम गर्नुहुन्छ। येशूले भन्‍नुभयो: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ अनि हामी उसकहाँ जानेछौं र ऊसित बस्नेछौं।” (यूहन्‍ना १४:२३) हामी कसरी येशूलाई प्रेम देखाउन सक्छौं? पक्कै पनि उहाँको आज्ञा पालन गरेर। अनि यो आज्ञामा सुसमाचार प्रचार गर र चेला बनाऊ भन्‍ने आज्ञा पनि पर्छ। (मत्ती २८:१९, २०; यूहन्‍ना १४:१५, २१) येशूको ‘पदचिन्ह राम्ररी पछ्याएर’ पनि हामी उहाँलाई प्रेम गरेको देखाउन सक्छौं। त्रुटिपूर्ण भए तापनि आफ्नो बोली अनि काममा येशूको सक्दो अनुकरण गरेर हामी उहाँको पदचिन्ह पछ्याउँछौं। (१ पत्रुस २:२१) ख्रीष्टप्रतिको प्रेमले गर्दा उहाँको पाइला पछ्याउन उत्प्रेरित हुनेहरूको प्रयास देखेर यहोवाको मन खुसीले गदगद हुन्छ।

७. यहोवाको साथीलाई आफ्नो साथी बनाउनु किन बुद्धिमानी हो?

७ विश्‍वास, वफादारी, आज्ञाकारिता अनि येशू र उहाँको स्तरप्रतिको प्रेम—यहोवाले आफ्ना साथीमा खोज्ने गुणहरूमध्ये यी केही हुन्‌। हामीले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के यस्ता गुण अनि स्तरहरू मेरा घनिष्ठ साथीहरूमा पनि छन्‌? के मैले यहोवाको साथीलाई आफ्नो साथी बनाएको छु?’ यहोवाको साथीलाई आफ्नो साथी बनाउनु बुद्धिमानी कुरा हो। ईश्‍वरीय गुणहरू खेती गर्ने अनि जोसिलो भई राज्यको सुसमाचार प्रचार गर्नेहरूले हामीमा सकारात्मक प्रभाव पार्न सक्छन्‌। परमेश्‍वरलाई खुसी पार्ने हाम्रो सङ्‌कल्पअनुरूपै जीवन बिताउन तिनीहरू हामीलाई मदत गर्छन्‌।—पृष्ठ ३३ मा भएको “कस्तो साथीलाई असल साथी भनिन्छ?” शीर्षकको पेटी हेर्नुहोस्‌।

कस्तो साथीलाई असल साथी भनिन्छ?

Two good friends talking to each other

सिद्धान्त: “साँचो मित्रले सधैं प्रेम गर्छ, र दुःखमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।”—हितोपदेश १७:१७, NW.

आफैलाई सोध्नुहोस्‌

  • के मेरा साथीहरू यहोवा अनि येशूका पनि साथी हुन्‌?—यूहन्‍ना १५:१४, १६; याकूब २:२३.

  • के मेरा साथीहरूले मलाई असल बानी विकास गर्न मदत गर्छन्‌?—१ कोरिन्थी १५:३३.

  • के मेरा साथीहरूले मलाई असाध्यै प्रेम गर्छन्‌? अनि प्रेमको कारण मेरो गल्ती औंल्याउँन हिचकिचाउँदैनन्‌?—भजन १४१:५; हितोपदेश २७:६.

  • मेरो बोली अनि कामले म कस्तो साथी हुँ भनेर देखाउँछ?—हितोपदेश १२:१८; १८:२४; १ यूहन्‍ना ३:१६-१८.

बाइबलको उदाहरणबाट सिक्नुहोस्‌

८. यिनीहरूबीचको मित्रताको कुन पक्षले तपाईंको मन छोयो? (क) नाओमी र रूथ (ख) तीन हिब्रू जवान (ग) पावल र तिमोथी।

८ असल साथीहरू छानेर लाभ उठाएका थुप्रै उदाहरण बाइबलमा छन्‌। नाओमी र तिनकी बुहारी रूथ, बेबिलोनमा नङ-मासु जत्तिकै भएर बसेका तीन हिब्रू जवान अनि पावल र तिमोथीबीचको सम्बन्ध कस्तो थियो भनेर तपाईं बाइबलमा पढ्‌न सक्नुहुन्छ। (रूथ १:१६; दानियल ३:१७, १८; १ कोरिन्थी ४:१७; फिलिप्पी २:२०-२२) तर हामी अर्कै एउटा उल्लेखनीय उदाहरणमा ध्यान दिनेछौं: त्यो हो—दाऊद र जोनाथनबीचको मित्रता।

९, १०. दाऊद र जोनाथनको मित्रताको कारण के थियो?

९ दाऊदले गोल्यतलाई मारेपछि “जोनाथन दाऊदसँग आत्मामा एक भए, र आफूलाई झैं तिनलाई प्रेम गर्न लागे” भनी बाइबल बताउँछ। (१ शमूएल १८:१, NRV) उमेरमा धेरै फरक भए तापनि यही क्षणदेखि यी दुई बीचको अटुट मित्रता सुरु भयो र लडाइँमा जोनाथनको मृत्यु नभएसम्म कायम रह्‍यो। b (२ शमूएल १:२६) यी दुईबीचको मित्रताको बन्धन बलियो हुनुको कारण के थियो?

१० परमेश्‍वरलाई प्रेम गर्ने अनि उहाँप्रति विश्‍वासी रहिरहने प्रबल चाहनाले गर्दा दाऊद र जोनाथनबीचको मित्रता बलियो भएको थियो। तिनीहरू दुवैमा परमेश्‍वरलाई खुसी पार्ने चाहना भएकोले तिनीहरू एक भए। तिनीहरू दुवैले एकअर्कालाई मन पर्ने गुणहरू देखाए। निडर भएर यहोवाको नाम जोगाउन खोज्ने जवान व्यक्‍ति दाऊदको साहस र जोस देखेर जोनाथन प्रभावित भएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। दाऊद आफूभन्दा पाको जोनाथनलाई निश्‍चय नै आदर गर्थे। किनभने जोनाथन यहोवाको प्रबन्धलाई वफादार भई समर्थन गर्थे अनि निःस्वार्थ भई आफ्नो चाहनालाई भन्दा दाऊदको चाहनालाई प्राथमिकता दिन्थे। जोनाथनको बुबा राजा शाऊलको रिसबाट भाग्न दाऊदले उजाडस्थानमा भगुवा जीवन बिताउनुपरेको थियो। तिनी एकदमै निराश भएका थिए। यतिबेला के भयो, एकछिन विचार गर्नुहोस्‌। जोनाथन अघि सरे र “[दाऊदकहाँ] आए, र तिनलाई परमेश्‍वरको नाउँमा अझै उत्साह दिए।” वफादारीको यो एउटा उल्लेखनीय उदाहरण थियो। (१ शमूएल २३:१६) आफ्नो प्यारो साथी आउँदा, तिनले मदत गर्दा अनि प्रोत्साहन दिंदा दाऊदलाई कस्तो महसुस भयो होला कल्पना गर्नुहोस्‌ त! c

११. जोनाथन र दाऊदको उदाहरणबाट मित्रताबारे तपाईंले के सिक्नुभयो?

११ दाऊद र जोनाथनको उदाहरणबाट हामी के पाठ सिक्छौं? मित्रहरूले परमेश्‍वरसितको सम्बन्धलाई उत्तिकै मोल गर्नु एकदमै आवश्‍यक तत्त्व हो भन्‍ने सबैभन्दा महत्त्वपूर्ण पाठ सिक्छौं। एउटै विश्‍वास, उस्तै नैतिक मूल्य-मान्यता अनि परमेश्‍वरप्रति विश्‍वासी रहिरहने समान चाहना भएका मानिसहरूसित नजिक हुँदा हामी एकअर्कालाई प्रोत्साहन दिने अनि उत्थान गर्ने विचार, भावना र अनुभवहरू आदानप्रदान गर्न सक्छौं। (रोमी १:११, १२) परमेश्‍वरप्रति विश्‍वासी रहन चाहने यस्ता साथीहरू हामी सँगी उपासकहरू माझ पाउँछौं। तर के यसको मतलब सभामा आउने जति सबै नै असल साथी हुन्छन्‌ त? अहँ, सबै जना असल साथी नहुन सक्छन्‌।

घनिष्ठ साथी कसरी छान्‍ने?

१२, १३. (क) ख्रीष्टियनहरूलाई साथी बनाउँदा समेत हामीले किन छनौट गर्नै पर्छ? (ख) प्रथम शताब्दीका मण्डलीहरूले कस्तो चुनौतीको सामना गरे जसले गर्दा पावलले कडा चेतावनी दिनुपऱ्‍यो?

१२ परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन मदत गर्ने साथीहरू बनाउने हो भने मण्डलीभित्र समेत छनौट गर्नै पर्छ। यसमा छक्क मान्‍नुपर्छ र? पर्दैन। रूखमा भएका कुनै-कुनै फल पाक्न धेरै समय लागेजस्तै ख्रीष्टियन मण्डलीमा भएका कोही-कोहीलाई परमेश्‍वरसित बलियो सम्बन्ध बनाउन धेरै समय लाग्न सक्छ। त्यसैले प्रत्येक मण्डलीमा हामी एकै खालका ख्रीष्टियनहरू भेट्‌दैनौं। सबैको आध्यात्मिक उन्‍नति फरक-फरक हुन्छ। (हिब्रू ५:१२–६:३) नयाँ अनि कमजोरहरूले आध्यात्मिक रूपमा प्रगति गरून्‌ भनेर हामी तिनीहरूप्रति धीरज र प्रेम पक्कै पनि देखाउँछौं।—रोमी १४:१; १५:१.

१३ कहिलेकाहीं मण्डलीमा यस्तो परिस्थिति पनि आइपर्न सक्छ जतिबेला हामीले आफ्नो सङ्‌गतीलाई नियाल्नुपर्ने हुन्छ। कोही-कोही अनुचित आचरणमा संलग्न होलान्‌। अरूले भने रिस देखाउने वा गनगन गर्ने मनोवृत्ति विकास गरेका हुन सक्छन्‌। इस्वी संवत्‌ प्रथम शताब्दीका मण्डलीहरूले पनि यस्तै चुनौती सामना गरे। धेरैजसो सदस्यहरू विश्‍वासी थिए भने कोही-कोहीले चाहिं ख्रीष्टियनलाई नसुहाउने आचरण देखाएका थिए। कोरिन्थ मण्डलीका कोही-कोहीले केही खास ख्रीष्टियन शिक्षाहरू नअपनाएको कारण प्रेषित पावलले उक्‍त मण्डलीलाई यस्तो चेतावनी दिएका थिए: “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” (१ कोरिन्थी १५:१२, ३३) सँगी ख्रीष्टियनहरूमा पनि कोही-कोही अनुचित काम गर्नेहरू हुन सक्छन्‌ भनेर पावलले तिमोथीलाई चेतावनी दिए। त्यस्ताहरूलाई साथी नबनाएर आफूलाई शुद्ध राख्न तिमोथीलाई भनिएको थियो।—२ तिमोथी २:२०-२२.

१४. पावलले सङ्‌गतीबारे दिएको चेतावनीमा भएको सिद्धान्तलाई हामी कसरी लागू गर्न सक्छौं?

१४ पावलको चेतावनीमा भएको सिद्धान्तलाई हामी कसरी लागू गर्न सक्छौं? मण्डलीबाहिर होस्‌ या भित्र, हामीलाई भ्रष्ट प्रभाव पार्न सक्ने कसैसित पनि घनिष्ठ सङ्‌गत गर्नबाट परै बसेर। (२ थिस्सलोनिकी ३:६, ७, १४) परमेश्‍वरसितको सम्बन्धलाई हामीले जोगाउनै पर्छ। स्पन्जले जस्तै हामी पनि घनिष्ठ साथीभाइको मनोवृत्ति अनि उनीहरूको तौरतरिका सोस्ने गर्छौं भन्‍ने कुरा नबिर्सनुहोस्‌। जसरी स्पन्जलाई फोहोर पानीमा चोपलेर निचोर्दा सफा पानी आउने आशा गर्न सक्दैनौं, त्यसैगरि नकारात्मक प्रभाव पार्नेहरूसित सङ्‌गत गरेर सकारात्मक नतिजाको आशा गर्न सक्दैनौं।—१ कोरिन्थी ५:६.

सँगी-उपासकहरूबीच तपाईं असल साथीहरू पाउन सक्नुहुन्छ

१५. यहोवासितको सम्बन्धलाई कायम राख्न कडा परिश्रम गर्ने साथीहरू मण्डलीमा पाउन तपाईं के गर्न सक्नुहुन्छ?

१५ खुसीको कुरा, सँगी-उपासकहरूबीच असल साथीहरू पाउने सम्भावना एकदमै धेरै छ। (भजन १३३:१) यहोवासितको सम्बन्धलाई कायम राख्न कडा परिश्रम गर्ने साथीहरू तपाईं मण्डलीमा कसरी पाउन सक्नुहुन्छ? परमेश्‍वरलाई मनपर्ने गुण अनि आचरण खेती गर्नुभयो भने तपाईंले जस्तै यहोवालाई प्रसन्‍न पार्न प्रयास गरिरहेकाहरू पक्कै पनि तपाईंसित नजिकिनेछन्‌। साथै तपाईं आफैले पनि नयाँ साथी बनाउनको लागि केही व्यावहारिक कदमहरू चाल्नै पर्ने हुन सक्छ। (पृष्ठ ३४ मा भएको “हामीले असल साथी कसरी बनायौं?” शीर्षकको पेटी हेर्नुहोस्‌।) आफूले जस्तो गुण झल्काउन चाहेको हो त्यस्तै गुण झल्काउने व्यक्‍तिसित सङ्‌गत गर्ने प्रयास गर्नुहोस्‌। विभिन्‍न जाति, राष्ट्र वा संस्कृतिका सँगी-विश्‍वासीहरूलाई साथी बनाउने प्रयास गरेर “ठूलो मनको होओ” भन्‍ने बाइबलको सल्लाह पालन गर्नुहोस्‌। (२ कोरिन्थी ६:१३; १ पत्रुस २:१७) आफ्नै उमेरकाहरूलाई मात्र साथी नबनाउनुहोस्‌। जोनाथन पनि दाऊदभन्दा एकदमै जेठा थिए भन्‍ने कुरा नभुल्नुहोस्‌। थुप्रै पाका व्यक्‍तिले अनुभव अनि बुद्धिद्वारा आफ्नो मित्रतामा ‘सुनमा सुगन्ध’ थप्न सक्छन्‌।

हामीले असल साथी कसरी बनायौं?

“सुरु-सुरुमा त मलाई मण्डलीमा साथीहरू बनाउन गाह्रो लाग्थ्यो। तर पछि प्रचारमा सक्रिय भएर भाग लिएपछि धैर्य, सहनशीलता अनि आत्मत्यागी प्रेमजस्ता गुणहरू विकास गर्न मदत मिलेको महसुस गरें। यी गुणहरूलाई अझै निखार्दै जाँदा त्यस्तै गुण भएकाहरू मसित नजिकिन थाले। अहिले मैले असल साथीहरू पाएकी छु।”—सिवानी।

“मण्डलीमा साथी बनाउन सकूँ भनेर मैले प्रार्थना गरें। दिनहरू बित्दै गए तर प्रार्थनाको कुनै जवाफ पाइनँ। खास कुरा के रहेछ भने मैले साथी बनाउन केही गरेकै रहेनछु। आफै अग्रसर नभई कहाँबाट साथीहरू पाउनु! जेहोस्‌, प्रार्थनाअनुसार नै कदम चालेपछि भने यहोवाले जवाफ दिनुभयो।”—रायन।

समस्याहरू आइपर्दा

१६, १७. कुनै भाइबहिनीले कसैगरि हाम्रो चित्त दुखाए भने हामी मण्डलीबाट किन टाढा हुनुहुँदैन?

१६ मण्डलीमा फरक व्यक्‍तित्व अनि फरक पृष्ठभूमि भएका मानिसहरू हुने भएकोले बेला-बेलामा समस्या आइपर्न सक्छ। कुनै सँगी-विश्‍वासीले आफ्नो बोली वा कामद्वारा हामीलाई चित्त दुखाउन सक्छन्‌। (हितोपदेश १२:१८) कहिलेकाहीं भिन्‍न व्यक्‍तित्व, असमझदारी वा भिन्‍न विचारले गर्दा समस्या झनै चर्किन सक्छ। यस्तो समस्या आयो भने के हामी ठेस खानेछौं र मण्डलीबाट टाढिनेछौं? यहोवा अनि उहाँले प्रेम गर्नेहरूलाई साँच्चै प्रेम गर्छौं भने हामी यसो गर्नेछैनौं।

१७ यहोवा हाम्रो सृष्टिकर्ता अनि जीवनदाता हुनुहुन्छ। त्यसैले उहाँ हाम्रो प्रेम र पूर्ण भक्‍तिको हकदार हुनुहुन्छ। (प्रकाश ४:११) साथै मण्डलीलाई चलाउन पाउँदा उहाँ खुसी हुने भएकोले त्यसलाई वफादार भई समर्थन गर्नु उचित छ। (हिब्रू १३:१७) त्यसैले कुनै भाइबहिनीले कसैगरि हाम्रो चित्त दुखाए वा हामीलाई दुःखी बनाए भने त्यसको प्रतिक्रियास्वरूप मण्डलीबाटै टाढा हुने कुरा त आउँदैन नि, होइन र? हाम्रो मन दुखाउने यहोवा होइन। त्यसैले उहाँलाई प्रेम गर्छौं भने हामी कहिल्यै पनि उहाँलाई अनि उहाँका मानिसहरूलाई पिठिउँ फर्काउनेछैनौं।—भजन ११९:१६५.

१८. (क) मण्डलीको शान्ति बढाउन हामी के गर्न सक्छौं? (ख) क्षमा दिने ठोस कारण भएको बेला क्षमा दिंदा हामी कस्ता आशिष्‌ पाउँछौं?

१८ सङ्‌गी विश्‍वासीहरूलाई प्रेम गर्छौं भने त्यसले हामीलाई मण्डलीमा शान्ति बढाउन उत्प्रेरित गर्छ। यहोवा आफूले माया गर्नेहरू सर्वगुण सम्पन्‍न भएको आशा गर्नुहुन्‍न। त्यसैले हामीले पनि अरू व्यक्‍ति सर्वगुण सम्पन्‍न भएको आशा गर्नुहुँदैन। हामी सबै त्रुटिपूर्ण छौं अनि गल्ती गर्छौं भन्‍ने कुरा याद दिलाउँदै प्रेमले हामीलाई अरूको सानोतिनो गल्ती बेवास्ता गर्न मदत गर्छ। (हितोपदेश १७:९; १ पत्रुस ४:८) “एकअर्कालाई . . . खुला मनले क्षमा” गरिरहन प्रेमले हामीलाई मदत गर्छ। (कलस्सी ३:१३) यो सल्लाह लागू गर्न सधैं सजिलो हुँदैन। यदि हामी मनमनै रिसाइरहन्छौं भने हामीले रिस पालिरहेका हुन सक्छौं। यसो गर्दा हाम्रो चित्त दुखाउने भाइलाई रिस देखाएर सजाय दिइरहेका छौं भन्‍ने हामीलाई लाग्न सक्छ। तर रिस गरिराख्नु हानिकारक छ। क्षमा दिने ठोस कारण भएको बेला क्षमा दिंदा हामी अपार आशिष्‌ पाउँछौं। (लूका १७:३, ४) क्षमा दिंदा मन-मस्तिष्कमा शान्ति छाउँछ, मण्डलीमा शान्ति हुन्छ अनि सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवासितको सम्बन्ध जोगिन्छ।—मत्ती ६:१४, १५; रोमी १४:१९.

सङ्‌गत टुटाउने—कतिखेर?

१९. कसैसित मित्रता तोड्‌नुपर्ने कस्तो परिस्थिति आइपर्न सक्छ?

१९ कहिलेकाहीं हामीलाई मण्डलीको कुनै सदस्यसित सङ्‌गत नगर्नुहोस्‌ भनिन्छ। यस्तो परिस्थिति कहिले खडा हुन्छ? परमेश्‍वरको नियम उल्लङ्‌घन गरेकोमा कुनै पछुतो नमानेकोले मण्डलीबाट बहिष्कार गरिंदा वा झूटा सिद्धान्तहरू सिकाएर विश्‍वासलाई इन्कार गर्दा वा आफूखुसी मण्डली परित्याग गर्दा। यस्ता व्यक्‍तिहरूसित “सङ्‌गत गर्न छोड्‌नु” भनेर परमेश्‍वरको वचनले स्पष्टसित बताएको छ।d (१ कोरिन्थी ५:११-१३; २ यूहन्‍ना ९-११) तर त्यस्तो व्यक्‍ति हाम्रो साथी वा नातेदार हो भने साँच्चै नै गाह्रो हुन सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाप्रति वफादार रहनु अनि उहाँको न्यायोचित नियम पालन गर्नु हो भनेर देखाउँदै के हामी दृढ अडान लिन्छौं? यहोवाले वफादारी अनि आज्ञाकारितालाई एकदमै मूल्यवान्‌ ठान्‍नुहुन्छ भन्‍ने कुरा याद गर्नुहोस्‌।

२०, २१. (क) मण्डलीबाट बहिष्कार गर्ने प्रबन्ध किन मायालु प्रबन्ध हो? (ख) साथीहरू छान्दा किन बुद्धि पुऱ्‍याउनुपर्छ?

२० मण्डलीबाट बहिष्कार गर्ने प्रबन्ध वास्तवमा यहोवाको मायालु प्रबन्ध हो। कसरी? अपश्‍चात्तापी पापीलाई मण्डलीबाट निकाल्दा यहोवाको पवित्र नाम, उहाँको स्तर अनि उहाँप्रतिको हाम्रो प्रेम देखिन्छ। (१ पत्रुस १:१५, १६) बहिष्कार गर्ने प्रबन्धले मण्डलीलाई सुरक्षित राख्छ। विश्‍वासी सदस्यहरूलाई जानाजानी पाप गर्नेहरूको अस्वस्थकर प्रभावबाट जोगाउँछ अनि मण्डली भनेको यो दुष्ट संसारबाट जोगिने सुरक्षित ठाउँ हो भन्‍ने कुरा थाह पाएर निरन्तर उपासना गरिरहन मदत गर्न सक्छ। (१ कोरिन्थी ५:७; हिब्रू १२:१५, १६) कडा अनुशासन दिनु गल्ती गर्नेलाई प्रेम देखाउनु हो। गल्ती गर्ने व्यक्‍तिले आफ्नो गल्ती महसुस गरोस्‌ र आफ्नो मनोवृत्ति सुधारोस्‌ अनि यहोवामा फर्कन आवश्‍यक कदम चालोस्‌ भनेर यस्तो अनुशासन दिइएको हुन सक्छ।—हिब्रू १२:११.

२१ घनिष्ठ साथीहरूले हामीमा एकदमै सशक्‍त प्रभाव पार्न सक्छन्‌ भन्‍ने तथ्य हामी नकार्न सक्दैनौं। त्यसैले साथी छान्दा हामीले बुद्धि पुऱ्‍याउनुपर्छ। यहोवाको साथीलाई आफ्नो साथी बनाएर अनि उहाँले प्रेम गर्नेहरूलाई प्रेम गरेर हामी उत्तम साथीहरूको माझमा रहन सक्छौं। तिनीहरूबाट हामी जे-जति कुरा सोस्छौं त्यसले यहोवालाई खुसी बनाउने सङ्‌कल्पअनुरूप जीवन बिताउन हामीलाई मदत गर्नेछ।

a अब्राहामलाई यसो गर्ने आज्ञा दिंदा आफूले पनि पछि एक मात्र छोरा बलिदानको रूपमा चढाउनेछु भन्‍ने कुराको झलक यहोवाले दिंदै हुनुहुन्थ्यो। (यूहन्‍ना ३:१६) तर अब्राहामलाई उहाँले रोक्नुभयो र इसहाकको साटो बलि चढाउन भेडाको प्रबन्ध गरिदिनुभयो।—उत्पत्ति २२:१, २, ९-१३.

b गोल्यतलाई मार्दा दाऊद जवानै अर्थात्‌ “सानै ठिटा मात्र” थिए अनि जोनाथनको मृत्यु हुँदा दाऊद लगभग ३० वर्ष पुगेका थिए। (१ शमूएल १७:३३; ३१:२; २ शमूएल ५:४) जोनाथन लगभग ६० वर्षको उमेरमा बिते। त्यसैले उनी दाऊदभन्दा लगभग ३० वर्षले जेठा थिए।

c पहिलो शमूएल २३:१७ मा लेखिएअनुसार दाऊदलाई प्रोत्साहन दिन जोनाथनले पाँचवटा कुरा भनेका थिए: (१) दाऊदलाई नडराउन आग्रह गरे। (२) शाऊलको प्रयास सफल हुँदैन भनेर आश्‍वासन दिए। (३) परमेश्‍वरले प्रतिज्ञा गरेअनुरूपै दाऊद राजा हुनेछन्‌ भनेर सम्झाए। (४) आफू दाऊदप्रति वफादार रहने गम्भीर वाचा गरे। (५) आफू दाऊदप्रति वफादार रहेको कुरा तिनको बुबालाई पनि थाह छ भनेर बताए।

d मण्डलीबाट बहिष्कार भएकाहरू र मण्डली परित्याग गरेकाहरूसित कस्तो व्यवहार गर्ने भन्‍ने विषयमा थप जानकारीको लागि पृष्ठ २३७-२३९ मा भएको अतिरिक्‍त लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने