प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १/१५ पृ. ७-११
  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा यहोशूसित हुनुहुन्थ्यो
  • हामी आफ्नो मार्ग कसरी सफल बनाउन सक्छौं?
  • तिनीहरूले साहसी भई अडान लिए
  • थुप्रैले ज्यानको खतरा मोले!
  • नबिर्सनुहोस्‌, यहोवा हाम्रो साथमा हुनुहुन्छ!
  • ‘बलियो र अति साहसी हुनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • साहसीपूर्वक यहोवाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • ‘बलियो र साहसी हुनुहोस्‌!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १/१५ पृ. ७-११

साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!

“बलियो र खूबै साहसी हो, . . . परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”—यहो. १:९.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • विश्‍वास र साहस देखाइरहन यहोशूले के गर्नुपर्थ्यो?

  • साहस देखाउने सन्दर्भमा कुनचाहिं उदाहरण तपाईंलाई सबैभन्दा मन पर्छ?

  • विश्‍वास र साहस देखाउने कुन व्यक्‍तिको उदाहरणले तपाईंलाई प्रचारकार्यमा लागिरहन मदत गर्छ?

१, २. (क) समस्याहरू सामना गर्न हामीलाई कुन-कुन गुण चाहिन्छ? (ख) विश्‍वास भनेको के हो? उदाहरण दिनुहोस्‌।

यहोवाको सेवा गर्दा आनन्द पाइन्छ। तर आम मानिसले जस्तै हामी समस्याहरू भोग्छौं अनि ‘परमेश्‍वरको स्तरबमोजिम असल काम गरेकोले दुःख भोग्नुपर्ने’ पनि हुन सक्छ। (१ पत्रु. ३:१४; ५:८, ९; १ कोरि. १०:१३) यस्ता समस्याहरूको सफलतापूर्वक सामना गर्न हामीलाई विश्‍वास अनि साहस चाहिन्छ।

२ विश्‍वास भनेको के हो? प्रेषित पावलले यस्तो लेखे: “विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।” (हिब्रू ११:१) हाम्रो विश्‍वासलाई लालपुर्जासित तुलना गर्न सकिन्छ। हामीसित लालपुर्जा छ भने जग्गा आफ्नै हो भन्‍ने कुरामा विश्‍वस्त हुन्छौं। परमेश्‍वरले आफ्नो वचन सधैं पूरा गर्नुहुन्छ भनेर हामी विश्‍वास गर्छौं। यो हामीसित लालपुर्जा भएजस्तै हो। परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ अनि उहाँले आफ्नो वचन बाइबलमा बताउनुभएका सबै कुरा, नदेखिएका कुराहरूसमेत पूरा हुनेछन्‌ भनेर हामी पक्का विश्‍वास गर्छौं।

३, ४. (क) साहस भनेको के हो? (ख) हामी कसरी आफ्नो विश्‍वास बलियो बनाउन अनि अझ साहसी हुन सक्छौं?

३ साहस भनेको समस्या तथा खतरा आइपर्दा निडरतासाथ बोल्ने र कदम चाल्ने आँट हो। हामीसित साहस छ भने बलियो र आँटिलो हुन्छौं अनि आफूले विश्‍वास गरेका कुराहरूको निम्ति दुःख भोग्नसमेत तयार हुन्छौं।—मर्कू. ६:४९, ५०; २ तिमो. १:७.

४ विश्‍वास र साहस महत्त्वपूर्ण गुणहरू हुन्‌। तर हामीमा विश्‍वास अनि साहसको कमी हुन सक्छ। यी गुणहरू देखाउने सन्दर्भमा राम्रो उदाहरण बसालेका हजारौं व्यक्‍तिहरूबारे बाइबलमा बताइएको छ। यी व्यक्‍तिहरूको उदाहरण विचार गर्दा आफ्नो विश्‍वास बलियो बनाउन अनि अझ साहसी हुन सक्छौं।

यहोवा यहोशूसित हुनुहुन्थ्यो

५. इस्राएलीहरूलाई राम्रोसित डोऱ्‍याउन यहोशूलाई के चाहिन्थ्यो?

५ आजभन्दा लगभग ३,५०० वर्षअघिको कुरा हो। यहोवाको मदतले लाखौं इस्राएलीहरू मिश्रको दासत्वबाट मुक्‍त भएको ४० वर्ष बितिसकेको थियो। भविष्यवक्‍ता मोशाले उनीहरूलाई डोऱ्‍याएका थिए। तिनी १२० वर्षको हुँदा नबो पर्वतको टाकुरामा उक्ले र प्रतिज्ञा गरिएको देशलाई टाढैबाट हेरे। त्यहीं तिनको मृत्यु भयो। यहोशू तिनको उत्तराधिकारी भए, जो “बुद्धिको आत्माले . . . परिपूर्ण थिए।” (व्यव. ३४:१-९) इस्राएलीहरूले कनानमाथि कब्जा जमाउनै लागेका थिए। उनीहरूलाई राम्रोसित डोऱ्‍याउन यहोशूलाई यहोवाले दिनुहुने बुद्धि चाहिन्थ्यो। साथै यहोवामा विश्‍वास गर्नुपर्थ्यो अनि साहसी र बलियो हुनुपर्थ्यो।—व्यव. ३१:२२, २३.

६. (क) यहोशू २३:६ मा बताइएअनुसार के गर्न साहस चाहिन्छ? (ख) प्रेषित ४:१८-२० र प्रेषित ५:२९ बाट हामी के सिक्छौं?

६ कनान कब्जा गर्न इस्राएलीहरूले लामो समयसम्म लड्‌नुपऱ्‍यो। यहोशूले देखाएको बुद्धि, साहस र विश्‍वासले त्यतिबेला ती इस्राएलीहरूलाई पक्कै बलियो बनाएको हुनुपर्छ। रणभूमिमा बहादुरी देखाउन मात्र होइन, यहोशूको आज्ञाअनुसार चल्न पनि उनीहरूलाई साहस चाहिन्थ्यो। आफ्नो मृत्युअघि यहोशूले यसो भने: “यसकारण मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।” (यहो. २३:६) यहोवाप्रति सधैं आज्ञाकारी हुन हामीलाई पनि साहस चाहिन्छ। विशेषगरि, मानिसहरूले यहोवाको इच्छा विपरीत गर्न लगाउँदा हामीलाई साहस चाहिन्छ। (प्रेषित ४:१८-२०; ५:२९ पढ्‌नुहोस्‌) प्रार्थनापूर्वक यहोवामा भरोसा राख्दा उहाँले हामीलाई साहसी भई खडा हुन मदत गर्नुहुनेछ।

हामी आफ्नो मार्ग कसरी सफल बनाउन सक्छौं?

७. साहसी हुन र सफलता हासिल गर्न यहोशूले के गर्नुपर्थ्यो?

७ परमेश्‍वरको इच्छाअनुसार गर्ने साहस बटुल्न उहाँको वचन बाइबल अध्ययन गर्नुपर्छ अनि लागू गर्नुपर्छ। मोशाको उत्तराधिकारी हुँदा यहोशूलाई पनि यसो भनिएको थियो: “बलियो र अति साहसी भएर मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्‌ . . . व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।” (यहो. १:७, ८) यहोशूले यो सल्लाह पालन गरे अनि ‘तिनी आफ्नो मार्गमा सफल भए।’ हामीले पनि त्यसै गऱ्‍यौं भने अझ साहसी हुनेछौं र परमेश्‍वरको सेवामा सफल हुनेछौं।

सन्‌ २०१३ को वार्षिक पद: साहसी होऊ, यहोवा तिम्रा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ।—यहोशू १:९.

८. सन्‌ २०१३ को वार्षिक पद कुन पदमा आधारित छ अनि यसले तपाईंलाई कसरी मदत गर्नेछ?

८ यहोवाका यी शब्दहरू सुनेपछि यहोशूले निकै बल पाएको हुनुपर्छ: “बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।” (यहो. १:९) यहोवा हाम्रो साथमा पनि हुनुहुन्छ। त्यसैले समस्या जस्तोसुकै भए पनि हामी ‘नडराऔं र निराश नहोऔं।’ यहोशू १:९ मा आधारित यी शब्दहरू सन्‌ २०१३ को वार्षिक पदको रूपमा छानिएको छ: साहसी होऊ, यहोवा तिम्रा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ। यस वार्षिक पदका साथै साहस र विश्‍वास देखाएका व्यक्‍तिहरूको बोली र व्यवहारले आउँदा महिनाहरूमा हामीलाई पक्कै बलियो बनाउनेछ।

तिनीहरूले साहसी भई अडान लिए

९. राहाबले कसरी विश्‍वास र साहस देखाइन्‌?

९ यहोशूले दुई जना जासुसलाई कनान पठाउँदा वेश्‍या राहाबले तिनीहरूलाई लुकाएकी थिइन्‌ र शत्रुहरूलाई अर्कै बाटोतिर पठाएकी थिइन्‌। राहाबले देखाएको विश्‍वास र साहसको कारण इस्राएलीहरूले यरिहो सहर नाश गर्दा उनी र उनको परिवार नाश भएनन्‌। (हिब्रू ११:३०, ३१; याकू. २:२५) यहोवालाई खुसी पार्न राहाबले आफ्नो अनैतिक जीवनशैली त्यागिन्‌। ख्रीष्टियन बनेका कोही-कोहीले परमेश्‍वरलाई खुसी पार्न विश्‍वास र साहस देखाउँदै आफ्नो जीवनमा परिवर्तनहरू गरेका छन्‌।

१०. कस्तो अवस्थामा रूथले साँचो उपासनाको लागि साहसी अडान लिइन्‌? यहोवाले तिनलाई कस्तो आशिष्‌ दिनुभयो?

१० यहोशूको मृत्युपछि मोआबी रूथले साँचो उपासनाको लागि साहसी अडान लिइन्‌। आफ्नो पति इस्राएली भएकोले विधवा रूथलाई यहोवाबारे केही कुरा थाह भएको हुन सक्छ। मोआबमा बस्ने तिनकी विधवा सासू नाओमीले इस्राएलको बेतलेहेम सहर फर्कने निर्णय गरिन्‌। बाटोमा जाँदै गर्दा नाओमीले रूथलाई आफ्नै मानिसहरूकहाँ फर्कन आग्रह गरिन्‌। तर मोआबी रूथले यसो भनिन्‌: “मलाई फर्केर जान र तपाईंलाई छोड्‌न कर नगर्नुहोस्‌। . . . तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१६) पछि रूथले नाओमीको आफन्त बोअजसित विवाह गरिन्‌। रूथले एउटा छोरा जन्माइन्‌ अनि दाऊद र येशूको पुर्खा भइन्‌। हो, विश्‍वास र साहस देखाउनेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ।—रूथ २:१२; ४:१७-२२; मत्ती १:१-६.

थुप्रैले ज्यानको खतरा मोले!

११. यहोयादा र यहोशेबाले कसरी साहस देखाए अनि यसको परिणाम कस्तो भयो?

११ आफ्नोभन्दा यहोवा अनि सँगी विश्‍वासीहरूको हितलाई ध्यान दिनेहरूको साथमा परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाउँदा हाम्रो विश्‍वास बलियो हुन्छ अनि हामी अझ साहसी हुन्छौं। उदाहरणको लागि, प्रधान पुजारी यहोयादा र तिनकी पत्नी यहोशेबालाई विचार गरौं। राजा अहज्याहको मृत्युपछि उनकी आमा अतल्याहले योआशबाहेक राजपरिवारका सबै सदस्यलाई मारिन्‌ अनि राजगद्दी हडपिन्‌। यहोयादा र यहोशेबाले अहज्याहको छोरा योआशलाई सुटुक्क भगाए अनि छ वर्षसम्म लुकाएर आफ्नो ज्यानको खतरा मोले। सातौं वर्षमा, यहोयादाले योआशलाई राजा घोषणा गरे अनि अतल्याहलाई मार्न लगाए। (२ राजा ११:१-१६) पछि यहोयादाले राजा योआशलाई मन्दिरको मर्मतकार्यमा साथ दिए। यहोयादाको १३० वर्षको उमेरमा मृत्यु हुँदा तिनी राजाहरूकै चिहानमा गाडिए “किनभने तिनले इस्राएलमा असल काम गरेर परमेश्‍वर र उहाँको भवनको सेवा गरेका थिए।” (२ इति. २४:१५, १६) यहोयादा र तिनकी पत्नीले साहस देखाएको हुँदा दाऊदको वंश सुरक्षित भयो जसबाट मसीह आउनेथिए।

१२. एबेदमेलेकले कस्तो साहसी काम गरे?

१२ राजा सिदकियाहको दरबारका नपुंसक एबेदमेलेकले यर्मियालाई बचाउन आफ्नो ज्यानको खतरा मोले। यर्मियाले सिपाहीहरू र मानिसहरूको मन कमजोर पार्दै छ भनेर यहूदाका हाकिमहरूले राजालाई चुक्ली लगाए। त्यसपछि राजाले यर्मियालाई तिनीहरूकै हातमा छोडिदिए। अनि तिनीहरूले यर्मियालाई मार्नको लागि हिलाम्मे इनारमा हालिदिए। (यर्मि. ३८:४-६) यर्मियालाई सबैले घृणा गर्थे। तैपनि एबेदमेलेकले आफ्नो ज्यानको खतरा मोलेर उनलाई बचाउन राजासित आग्रह गरे। राजा सिदकियाहले तिनको कुरा सुने अनि यर्मियालाई इनारबाट निकाल्न ३० जना मानिसलाई सँगै लिएर जाने आदेश दिए। बेबिलोनीहरूले यरूशलेम कब्जा गर्दा एबेदमेलेक बचाइनेछन्‌ भनेर पछि भविष्यवक्‍ता यर्मियामार्फत यहोवाले तिनलाई विश्‍वस्त पार्नुभयो। (यर्मि. ३९:१५-१८) यहोवाको इच्छाअनुसार गर्न साहस देखाउनेहरूलाई उहाँ इनाम दिनुहुन्छ।

१३. तीन जना हिब्रूले कस्तो साहसी अडान लिए अनि तिनीहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१३ ईसापूर्व सातौं शताब्दीमा विश्‍वास र साहस देखाउने तीन जना हिब्रू सेवकलाई यहोवाले इनाम दिनुभयो। राजा नबूकदनेसरले बेबिलोनी उच्च पदाधिकारीहरूलाई भेला गराए अनि सुनको विशाल मूर्तिलाई दण्डवत्‌ गर्न आदेश दिए। यसो गर्न इन्कार गर्नेहरूलाई दन्केको आगोको भट्टीमा हालिनेथियो। ती तीन जना हिब्रूले आदर देखाउँदै राजा नबूकदनेसरलाई यसो भने: “हामीलाई दन्केको आगोको भट्टीबाट बचाउन सक्ने कोही ईश्‍वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्‍वरनै हुनुहुन्छ। औ उहाँले हामीलाई हजुरको हातबाट पनि बचाउनुहुनेछ। तर त्यसो भएन भने पनि, हे महाराज, यो कुरो हजुरलाई थाहा होस्‌, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौं, अथवा हजुरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।” (दानि. ३:१६-१८) ती तीन हिब्रूलाई यहोवाले बचाउनुभएको रोमाञ्चक विवरण दानियल ३:१९-३० मा पाउँछौं। हामीले दन्केको आगोको भट्टीमा फ्याँकिने खतरा मोल्नु पर्दैन होला तर आफ्नो वफादारीको जाँच हुने परिस्थितिको सामना गर्छौं। यस्तो अवस्थामा विश्‍वास र साहस देखाउँदा यहोवाले आशिष्‌ दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौं।

१४. दानियल अध्याय ६ अनुसार तिनले कसरी साहस देखाए अनि परिणाम कस्तो भयो?

१४ दानियललाई सजाय दिन तिनका शत्रुहरूले राजा दारालाई एउटा उर्दी जारी गर्न लगाए। तिनीहरूले राजालाई यसो भने: “तीस दिनभित्र हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई बिन्ती-प्रार्थना गर्ने मानिस सिंहको खोरमा हालियोस्‌।” राजाले यो उर्दी निकालेको थाह पाउने बित्तिकै दानियल “आफ्नो घरमा गए। त्यहाँ तिनले कौसीको कोठामा झ्यालहरू यरूशलेमतिर फर्केका बनाएका थिए। त्यहाँ आफ्नो आदतअनुसार तिनी घुँडा टेकेर दिनमा तीनपल्ट प्रार्थना गर्थे, र आफ्ना परमेश्‍वरलाई धन्यवाद चढाउँथे।” (दानि. ६:६-१०) साहसी दानियललाई सिंहको खोरमा खसालियो तर यहोवाले तिनलाई बचाउनुभयो।—दानि. ६:१६-२३.

१५. (क) अक्वीला र प्रिस्किलाले विश्‍वास र साहसको कस्तो उदाहरण बसाले? (ख) यूहन्‍ना १३:३४ मा उल्लिखित येशूका शब्दहरूको अर्थ के हो अनि थुप्रै ख्रीष्टियनले कसरी त्यस्तो प्रेम देखाएका छन्‌?

१५ अक्वीला र प्रिस्किलाले पावललाई “बचाउन आफ्नो गर्दन खतरामा पारे” भनेर बाइबलमा बताइएको छ। (प्रेषि. १८:२; रोमी १६:३, ४) उनीहरूले साहसी भई येशूको यो आज्ञा पालन गरे: “तिमीहरूलाई म एउटा नयाँ आज्ञा दिंदैछु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर।” (यूह. १३:३४) मोशाको व्यवस्थाले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू भन्‍ने आज्ञा दिएको थियो। (लेवी १९:१८) तर येशूको यो आज्ञालाई कुन अर्थमा “नयाँ” भन्‍न सकिन्छ? अरूको लागि आफ्नो ज्यान दिने हदसम्म येशूले प्रेम गर्नुभयो अनि हामीले पनि त्यसै गर्नुपर्छ। भाइबहिनीहरूले शत्रुको हातबाट क्रूर व्यवहार वा मृत्यु भोग्न नपरोस्‌ भनेर थुप्रै ख्रीष्टियनले “आफ्नो गर्दन खतरामा” पारेर प्रेम देखाएका छन्‌।—१ यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌।

सुरु-सुरुका ख्रीष्टियनले रोमी सम्राट्‌को उपासना गर्न इन्कार गरे

१६, १७. सुरु-सुरुका ख्रीष्टियनहरूले विश्‍वासको कस्तो जाँच सामना गरे? हाम्रो समयमा पनि केही ख्रीष्टियनले विश्‍वासको कस्तो जाँच सामना गरेका छन्‌?

१६ येशूले जस्तै सुरु-सुरुका ख्रीष्टियनहरूले साहसी भई यहोवाको मात्र उपासना गरे। (मत्ती ४:८-१०) तिनीहरूले रोमी सम्राट्‌को सम्मानको निम्ति धूप बाल्न इन्कार गरे। (चित्र हेर्नुहोस्‌।) डानियल पी. म्यानिक्सले आफ्नो पुस्तकमाa यस्तो लेखे: “रङ्‌गशालाभित्र एउटा वेदीमा आगो बालेर राखिएको हुन्थ्यो। मुक्‍त हुन चाहने कैदीले त्यस आगोमा एक चिम्टी धूप छर्के पुग्थ्यो। अनि उसलाई एउटा प्रमाण पत्र दिएर मुक्‍त गरिन्थ्यो। धूप छर्कनु भनेको सम्राट्‌लाई भगवान्‌को रूपमा स्वीकारेको मात्र हो, उसकै उपासना गरेको होइन भन्‍ने तर्क गरिन्थ्यो। तैपनि कमै ख्रीष्टियनले मात्र त्यो प्रस्ताव स्वीकारे।”

१७ नाजी यातना शिविरमा राखिएका ख्रीष्टियनहरूसामु पनि मृत्यु नभोगी स्वतन्त्र हुने थुप्रै मौका थिए। अबउसो यहोवाको उपासना गर्नेछैनौं भनेर एउटा कागतमा हस्ताक्षर गरे पुग्थ्यो। तर थोरैले मात्र त्यसो गरे। हालै रूवाण्डामा जातीय संहार हुँदा टुट्‌सी र हुटु साक्षीहरूले आफ्नो ज्यानको खतरा मोलेर एक-अर्कालाई बचाए। यस्तो गाह्रो अवस्थामा साहस र विश्‍वास पक्कै चाहिन्छ।

नबिर्सनुहोस्‌, यहोवा हाम्रो साथमा हुनुहुन्छ!

१८, १९. विश्‍वास र साहस देखाउने व्यक्‍तिहरूबारे बाइबलमा दिइएका कस्ता उदाहरणहरूले प्रचारकार्यलाई अगाडि बढाउन मदत गर्छ?

१८ परमेश्‍वरले आफ्ना सेवकहरूलाई सुम्पनुभएको सबैभन्दा ठूलो काममा भाग लिने सुअवसर हामीले पाएका छौं। त्यो हो: राज्यको सन्देश घोषणा गर्ने र चेला बनाउने। (मत्ती २४:१४; २८:१९, २०) येशूले बसाल्नुभएको उत्कृष्ट उदाहरणको हामी मोल गर्छौं। उहाँ “परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार र घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ” डुल्नुभयो। (लूका ८:१) राज्यको सुसमाचार घोषणा गर्न उहाँलाई जस्तै हामीलाई पनि विश्‍वास र साहस चाहिन्छ। परमेश्‍वरको मदत पाएर हामी नूहजस्तै साहसी बन्‍न सक्छौं। नूहले जलप्रलयमा नष्ट हुन लागेका ‘भक्‍तिहीन मानिसहरूलाई परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गरे।’—२ पत्रु. २:४, ५.

१९ प्रार्थनाले प्रचारकार्य अगाडि बढाउन मदत गर्छ। खेदोमा परेका येशूका केही चेलाले ‘निर्भयी भएर परमेश्‍वरको वचन बोल्न’ सकूँ भनेर प्रार्थना गर्दा तिनीहरूले त्यसको जवाफ पाए। (प्रेषित ४:२९-३१ पढ्‌नुहोस्‌) तपाईंलाई घर-घरको प्रचारकार्यमा भाग लिन डर लाग्छ भने अझ बढी विश्‍वास र साहसको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उहाँले तपाईंलाई मदत गर्नुहुनेछ।—भजन ६६:१९, २० पढ्‌नुहोस्‌।b

२०. यहोवाको सेवकको रूपमा हामीले क-कसको साथ पाएका छौं?

२० विभिन्‍न समस्याहरूले भरिएको यस दुष्ट संसारमा यहोवाको इच्छाअनुसार गर्न सजिलो छैन। तर हामी एक्लो छैनौं। परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ। साथै उहाँको छोरा, जो मण्डलीका शिर हुनुहुन्छ, उहाँ पनि हाम्रो साथमा हुनुहुन्छ। संसारभरि रहेका ७०,००,००० भन्दा धेरै साक्षी पनि हाम्रो साथमा छन्‌। हामी सबैले विश्‍वास देखाऔं र सुसमाचार घोषणा गरिरहौं। यसो गर्न सन्‌ २०१३ को यस वार्षिक पदले हामीलाई मदत गर्नेछ: साहसी होऊ, यहोवा तिम्रा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ।—यहो. १:९.

a Those About to Die

b साहस देखाउने सन्दर्भमा थप उदाहरणको लागि फेब्रुअरी १५, २०१२ को प्रहरीधरहरा-मा ‘बलियो र अति साहसी हुनुहोस्‌’ भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने