प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv अध्या. १४ पृ. १८२-१९४
  • सबै कुरामा इमानदार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै कुरामा इमानदार हुनुहोस्‌
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इमानदार हुनुहोस्‌—आफैसित
  • इमानदार हुनुहोस्‌—परिवारमा
  • इमानदार हुनुहोस्‌—मण्डलीमा
  • इमानदार हुनुहोस्‌—सांसारिक कामकुरामा
  • इमानदार हुँदा पाइने आशिष्‌हरू
  • १४. सबै कुरामा इमानदार हुनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • सबै कुरामा इमानदार हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ईश्‍वरीय गुण—हिराभन्दा पनि किम्मती!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामी किन इमानदार हुनुपर्छ?
    युवाहरू सोध्छन्‌
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv अध्या. १४ पृ. १८२-१९४
A student stays honest during a written test while others around him cheat

अध्याय १४

सबै कुरामा इमानदार हुनुहोस्‌

“हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।”—हिब्रू १३:१८.

१, २. इमानदार हुन प्रयास गरेको देख्दा यहोवा किन खुसी हुनुहुन्छ? उदाहरण दिनुहोस्‌।

एउटी आमा र तिनको सानो छोरा किनमेल गरिसकेपछि पसलबाट निस्कन्छन्‌। सानो बालक अचानक रोकिन्छन्‌। तिनको अनुहार निन्याउरो हुन्छ। तिनको हातमा एउटा सानो खेलौना छ। त्यो खेलौना तिनले पसलबाट झिकेर फिर्ता राख्न बिर्सेका थिए। त्यो किनिदिनुस्‌ न भनेर आमालाई भन्‍न पनि बिर्सेका थिए। अब के गर्ने भनेर बालक रुन थाल्छन्‌ र मदतको लागि आमालाई भन्छन्‌। आमाले छोरालाई फकाउँछिन्‌ र छोराले पसलेलाई खेलौना फिर्ता गर्न सकोस्‌ अनि माफी माग्न सकोस्‌ भनेर तिनलाई पसले भएको ठाउँमा लैजान्छिन्‌। ती बालक खेलौना फिर्ता गर्छन्‌ र पसलेसँग माफी माग्छन्‌। यो घटनाले आमाको मन छुन्छ, तिनको हृदय गर्वले फुल्छ। किन?

२ इमानदार हुनुपर्ने कुरा आफ्ना छोराछोरीले सिकेको देख्दा आमाबाबु सधैं खुसी हुन्छन्‌। हामी इमानदार भयौं भने स्वर्गका हाम्रा बुबा ‘सत्यका परमेश्‍वर’ त्यसरी नै खुसी हुनुहुनेछ। (भजन ३१:५) हामीले उहाँसँग बलियो सम्बन्ध गाँसेको अनि इमानदार हुन प्रयास गरेको देख्दा उहाँ खुसी हुनुहुन्छ। उहाँलाई खुसी पार्ने र उहाँको प्रेम पाउन लायक भइरहने चाहनाले गर्दा हामी प्रेषित पावलजस्तै महसुस गर्छौं: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।” (हिब्रू १३:१८) आउनुहोस्‌, इमानदार हुन कहिलेकाहीं एकदमै चुनौतीपूर्ण हुने जीवनका चार प्रमुख क्षेत्रलाई हामी ध्यान देऔं। त्यसपछि इमानदार हुँदा पाइने आशिष्‌हरू विचार गरौं।

इमानदार हुनुहोस्‌—आफैसित

३-५. (क) आफैलाई छक्याउनुको खतराबारे परमेश्‍वरको वचनले हामीलाई कस्तो चेतावनी दिएको छ? (ख) आफैसित इमानदार हुन हामीलाई कुन कुराले मदत दिन्छ?

३ आफूसितै इमानदार हुनु हाम्रो लागि पहिलो चुनौती हो। त्रुटिपूर्ण मानिस भएकोले हामी आफैले आफैलाई सजिलैसित छक्याउन सक्छौं। जस्तै:- लाओडिसियाका ख्रीष्टियनहरूले आफूले आफैलाई मूर्ख बनाए भनी येशूले बताउनुभयो। तिनीहरू आफूलाई धनी सम्झन्थे तर वास्तवमा तिनीहरू आध्यात्मिक रूपमा “गरिब, अन्धो र नाङ्‌गो” थिए। तिनीहरू साँच्चै नै दयनीय अवस्थामा थिए। (प्रकाश ३:१७) तिनीहरूले आफैलाई छक्याएर आफूलाई झन्‌ खतरनाक अवस्थामा पुऱ्‍याए।

४ चेला याकूबले दिएको यो चेतावनी पनि तपाईं याद गर्न सक्नुहुन्छ: “यदि कुनै मानिसले आफूलाई परमेश्‍वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन र आफूलाई धोका दिन्छ भने त्यस मानिसको उपासना व्यर्थ हो।” (याकूब १:२६) यदि हामी जथाभाबी मुख चलाउँछौं र अझै पनि यहोवाले स्वीकार्ने तरिकामा उपासना गरिरहेको छु भनेर सोच्छौं भने हामीले आफैलाई धोका दिइरहेका हुन्छौं। हो, हामीले गरेको यहोवाको उपासना व्यर्थको हुन्छ, बिलकुलै खेर जान्छ। यस्तो दुःखलाग्दो अवस्था आइपर्न नदिन हामीलाई केले मदत गर्न सक्छ?

५ माथि दिइएको पदको अघिल्ला पदहरूमा याकूबले परमेश्‍वरको वचनको सत्यलाई ऐनासँग तुलना गरेका छन्‌। परमेश्‍वरको वचनमा भएको त्रुटिरहित नियममा ध्यान दिएर त्यसैअनुसार आफूमा छाँटकाँट गर्न याकूब हामीलाई सल्लाह दिन्छन्‌। (याकूब १:२३-२५) बाइबलको मदत पाएर हामी आफूसित इमानदार हुन सक्छौं, आफूले सुधार्नै पर्ने कुरा के छ, सो पत्ता लगाउन सक्छौं। (विलाप ३:४०; हाग्गै १:५) हामीलाई जाँच्नुहोस्‌ र हामीमा भएको कुनै पनि गम्भीर कमजोरी चिन्‍न र सुधार्न मदत दिनुहोस्‌ भनेर हामी यहोवालाई पुकार्न सक्छौं। (भजन १३९:२३, २४) बेइमान हुनु एउटा कमजोरी हो, यस्तो कमजोरी जुन चालै नपाई हामीमा विकास भइरहेको हुन्छ। त्यसैले यहोवा यसलाई जसरी हेर्नुहुन्छ हामीले पनि त्यसरी नै हेर्नु एकदमै आवश्‍यक छ। हितोपदेश ३:३२ भन्छ: “जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।” यहोवा जस्तो महसुस गर्नुहुन्छ, हामीले पनि त्यस्तै महसुस गर्न सकोस्‌ भनेर उहाँ हामीलाई मदत गर्न सक्नुहुन्छ। साथै यहोवाले जसरी हामीलाई हेर्नुहुन्छ हामीले पनि आफूलाई त्यसरी नै हेर्न उहाँ हामीलाई मदत गर्न सक्नुहुन्छ। पावलले भनेको यो कुरा नबिर्सनुहोस्‌: “हामी . . . इमानदार भई चल्न चाहन्छौं।” हामी अहिले नै आफ्ना सबै कमजोरी हटाएर त्रुटिरहित हुन सक्दैनौं तर इमानदार हुनको लागि हृदयदेखि नै इच्छुक र लगनशील छौं।

इमानदार हुनुहोस्‌—परिवारमा

A married man using a computer to browse the Internet late at night

इमानदार हुँदा लुकेर गर्नुपर्ने कुनै पनि काम नगर्न मदत पाउँछौं

६. पति-पत्नी आपसमा किन इमानदार हुनै पर्छ? यसरी इमानदार हुँदा तिनीहरू कस्ता खतराबाट बच्न सक्छन्‌?

६ इमानदार हुनु यहोवाका साक्षीहरूको परिवारको एउटा चिनारी नै हुनुपर्छ। तसर्थ पति र पत्नीले आपसमा खुलस्त कुराकानी गर्नै पर्छ र एक-अर्काप्रति इमानदार हुनै पर्छ। ख्रीष्टियन परिवारमा एक अर्कालाई चोट पुऱ्‍याउनु, अशुद्ध आचरणमा संलग्न हुनु जस्ता कुराको कुनै ठाउँ छैन। जस्तै:- आफ्नो जीवनसाथीबाहेक अरूसँग रोमान्टिक तवरले जिस्किने, इन्टरनेटबाट गोप्य रूपमा अरूसँग अनुचित सम्बन्ध बढाउने, कुनै पनि किसिमका अश्‍लील सामाग्री हेर्ने। ख्रीष्टियन दम्पतीमध्ये कसै-कसैले आफ्नो जीवनसाथीबाट लुकेर यस्तै गलत काम गरेका छन्‌। यस्तो गर्नु बेइमानी हो। भक्‍त राजा दाऊदको भनाइ विचार गर्नुहोस्‌: “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।” (भजन २६:४) यदि तपाईं विवाहित हुनुहुन्छ भने आफ्नो जीवनसाथीबाट लुकेर गर्नुपर्ने कुनै पनि काम नगर्नुहोस्‌।

७, ८. इमानदारीलाई अनमोल ठान्‍नुपर्छ भनेर छोराछोरीलाई सिकाउन बाइबलका कस्ता उदाहरणले मदत दिन सक्छन्‌?

७ इमानदार हुनुको महत्त्वबारे छोराछोरीलाई सिकाउँदा आमाबाबुले बाइबलमा दिइएका उदाहरणहरू प्रयोग गर्नु बुद्धिमानी हुन्छ। बेइमान व्यक्‍तिहरूको उदाहरणलाई लिनुपर्दा:- आकान—जसले चोऱ्‍यो अनि आफ्नो गल्ती लुकाउन खोज्यो; गेहजी—जसले पैसा र सरसामान पाउने लोभले झूट बोल्यो अनि यहूदा—जसले चोरी गऱ्‍यो अनि येशूलाई हानि पुग्नेगरि झूट बोल्यो।—यहोशू ६:१७-१९; ७:११-२५; २ राजा ५:१४-१६, २०-२७; मत्ती २६:१४, १५; यूहन्‍ना १२:६.

८ इमानदार व्यक्‍तिहरूको उदाहरणलाई लिनुपर्दा:- याकूब—जसले आफ्ना छोराहरूलाई तिनीहरूले लिएर आएको अन्‍नको धोक्रामा भेटिएको पैसा झुक्किएर परेको होला भनेर फिर्ता गर्न आग्रह गरे; यिप्तह र तिनकी छोरी—आफ्नो बुबाले गरेको भाकल पूरा गर्न यिप्तहकी छोरीले ठूलो त्याग गरिन्‌; येशू—जसले भविष्यवाणी पूरा होस्‌ भनेर र आफ्ना साथीहरूलाई बचाउन उग्र भीडसामु साहसी भई आफूलाई चिनाउनुभयो। (उत्पत्ति ४३:१२; न्यायकर्त्ता ११:३०-४०; यूहन्‍ना १८:३-११) इमानदार हुने कुरालाई माया गर्न र त्यसलाई अनमोल ठान्‍न छोराछोरीलाई सिकाउनको लागि बाइबलमा कस्ता अनमोल कुरा छन्‌ भनेर यी केही उदाहरणबाट बुबाआमाले बुझ्न सक्छन्‌।

९. आफ्ना छोराछोरीलाई इमानदारीको उदाहरण देखाउन चाहन्छन्‌ भने बुबाआमाले के गर्नुहुँदैन? बुबाआमाको असल उदाहरण किन महत्त्वपूर्ण छ?

९ इमानदार हुनुपर्ने कुरा छोराछोरीलाई सिकाएपछि बुबाआमाको काँधमा महत्त्वपूर्ण जिम्मेवारी पनि आइपर्छ। प्रेषित पावलले सोधे: “अब तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिं सिकाउँदैनौ? तिमी जो “नचोर्नू” भनी प्रचार गर्छौ, के आफैचाहिं चोर्छौ?” (रोमी २:२१) कुनै-कुनै बुबाआमाहरू छोराछोरीलाई इमानदार हुनुपर्छ भनेर त सिकाउँछन्‌ तर आफैचाहिं बेइमान काम गरिरहेका हुन्छन्‌। यस्तो देख्दा छोराछोरीहरू इमानदार हुनुपर्छ कि पर्दैन भनेर अलमलिन्छन्‌। स-सानो सामान चोरेको बेलामा वा स-सानो झूट बोलेको बेलामा बुबाआमाले यस्तो तर्क गरेर आफ्नो सफाइ दिन खोज्लान्‌: “ए, त्यति सानो कुरा त अरूले लैजान्छन्‌ भनेर मालिकहरूलाई थाहै हुन्छ नि! लिएर केही फरक पर्दैन।” वा “सानोतिनो झूट त हो नि! केही फरक पर्दैन!” तर वास्तवमा ‘सियो चोर पनि चोरै हो, फाली चोर पनि चोरै’ भनेझैं झूट जहिले पनि झूट नै हुन्छ, चाहे त्यो जस्तोसुकै अवस्थामा बोलिएको होस्‌ वा सानो होस्‌ कि ठूलो।a (लूका १६:१०) बुबाआमाले एउटा कुरा सिकाउँछन्‌ तर आफूचाहिं अर्कै गर्छन्‌ भनेर छोराछोरीहरूले तुरुन्तै बुझिहाल्छन्‌। यसले गर्दा तिनीहरू ठूलो भएपछि बेइमान हुने सम्भावना हुन सक्छ। (एफिसी ६:४) तर जब छोराछोरीले आफ्ना बुबाआमा इमानदार भएको देख्छन्‌ तब तिनीहरूले पनि ठूलो भएपछि यो बेइमान संसारमा यहोवाको महिमा गर्ने सम्भावना धेरै हुन्छ।—हितोपदेश २२:६.

इमानदार हुनुहोस्‌—मण्डलीमा

१०. ख्रीष्टियन भाइबहिनीसँग इमानदार भई कुराकानी गर्ने बेला हामीले कस्तो कुरा मनमा राख्नै पर्छ?

१० ख्रीष्टियन साथीहरूसँग सङ्‌गत गर्दा हामी इमानदार हुने थुप्रै मौकाहरू पाउँछौं। अध्याय १२ मा सिकेजस्तै यहोवाले हामीलाई दिएको वरदान अर्थात्‌ बोली कसरी प्रयोग गर्दैछौं भनेर होसियार हुनै पर्छ। हाम्रा आध्यात्मिक भाइबहिनीसित सङ्‌गत गर्दा हामी झनै होसियार हुनुपर्छ। साधारण खालको कुराकानी गर्दा गर्दै त्यो कहिलेकाहीं हानिकारक गफ र निन्दामा समेत सजिलै परिणत हुन के बेर! कुनै कुरा साँचो हो कि होइन भनेर हामी आफैलाई थाह छैन तर त्यो कुरा हामी अरूलाई भन्‍ने गर्छौं भने हामीले झूट फैलाउन मदत गरिरहेका हुन सक्छौं। यस्तो बेला आफ्नो मुख सिलाउनु नै बेस! (हितोपदेश १०:१९) अर्कोतर्फ कुनै कुरा साँचो हो भनेर हामीलाई थाह होला। त्यसो भन्दैमा त्यो कुरा सबैलाई भन्दै हिंड्‌नुपर्छ र? जस्तै:- कुनै कुरा हामीसँग सम्बन्धित नहुन सक्छ वा अरूलाई त्यसबारे बताउँदा सम्बन्धित व्यक्‍तिलाई असर पनि पर्न सक्छ। (१ थिस्सलोनिकी ४:११) कसै-कसैले रूखो बोलीलाई इमानदार भएर बोलेको भन्छन्‌। तर हाम्रो बोली सधैं अरूलाई आनन्दित पार्ने र दयालु हुनुपर्छ।—कलस्सी ४:६.

११, १२. (क) गम्भीर पाप गर्ने कोही-कोहीले आफ्नो पाप कसरी झनै गम्भीर बनाउँछन्‌? (ख) गम्भीर पापबारे सैतानले फैलाउने केही झूट के-के हुन्‌? हामी त्यसको कसरी सामना गर्न सक्छौं? (ग) यहोवाको सङ्‌गठनप्रति इमानदार छौं भनेर हामी कसरी देखाउन सक्छौं?

११ मण्डलीमा नेतृत्व लिइरहेकाहरूप्रति हामी इमानदार हुनु विशेषगरि महत्त्वपूर्ण छ। मण्डलीका कोही-कोही गम्भीर पापमा फसेपछि त्यसलाई लुकाएर र एल्डरहरूले सोधपुछ गर्दा ढाँटेर आफ्नो पाप झनै गम्भीर बनाउँछन्‌। यस्ता व्यक्‍तिले दोहोरो जीवन समेत बिताउन थाल्छन्‌। तिनीहरू एकातिर यहोवाको सेवा गरिरहेको जस्तो देखाउँछन्‌ भने भित्रभित्रै गम्भीर पाप पनि गरिरहेका हुन्छन्‌। यस्तो जीवनशैलीले वास्तवमा उक्‍त व्यक्‍तिको जीवन नै झूटले भरिएको हुन्छ। (भजन १२:२) अरू कोहीचाहिं एल्डरहरूलाई सबै कुरा बताउँदैनन्‌ र महत्त्वपूर्ण सत्य कुरा लुकाउँछन्‌। (प्रेषित ५:१-११) सैतानले फैलाउने झूटलाई विश्‍वास गर्दा अक्सर यस्तो बेइमानी गर्न पुगिन्छ।—पृष्ठ १८८ मा भएको “गम्भीर पापबारे सैतानले फैलाएको झूट” शीर्षकको पेटी हेर्नुहोस्‌।

गम्भीर पापबारे सैतानले फैलाएको झूट

गम्भीर पापको सम्बन्धमा सैतानले केही खतरनाक झूट फैलाएको छ। त्यसलाई तपाईंले विश्‍वास गरोस्‌ भनेर सैतान चाहन्छ। तर खुसीको कुरा सैतानका “दाउपेचहरू”-बारे ख्रीष्टियनहरू अनजान छैनन्‌। (एफिसी ६:११) सैतानले फैलाउने तीनवटा झूट विचार गरौं।

  • “पाप लुकाउन सकिहालिन्छ नि!” वास्तवमा हामीले गरेको सबै कुरा यहोवा देख्नुहुन्छ। “यस्तो कुनै सृष्टि छैन, जो उहाँको नजरबाट लुकेको होस्‌ तर जसलाई हामीले लेखा दिनुपर्छ, उहाँसामु सबै कुरा खुला र उदाङ्‌ग छन्‌।” (हिब्रू ४:१३) यहोवालाई सबै कुरा थाह छ र हामीले पनि उहाँलाई आफ्नो लेखा दिनुपर्छ। त्यसोभए उहाँले नियुक्‍त गरेका सेवकहरू—मण्डलीका एल्डरहरू र बुबाआमाबाट आफूले गरेको गम्भीर पाप लुकाएर आफैलाई किन पापमा झनै फसाउने र?—२ शमूएल १२:१२ पनि हेर्नुहोस्‌।

  • “एल्डरहरूलाई विश्‍वास गर्न सकिंदैन, तिनीहरूलाई केही पनि नभन।” दुष्ट राजा आहाबले एलियालाई यसो भने: “ए मेरो शत्रु।” (१ राजा २१:२०) यहोवाका अगमवक्‍ता भएकोले एलियाले आहाबलाई क्षमा पाउन मदत दिन सक्थे। मण्डलीमा येशूले “वरदानको रूपमा पुरुषहरू” दिनुभएको छ जो एल्डरहरू हुन्‌। (एफिसी ४:८) एल्डरहरू त्रुटिपूर्ण भए पनि तिनीहरूले “[हाम्रो] हेरचाह गरिरहेका छन्‌” अर्थात्‌ आध्यात्मिक रूपमा हाम्रो हेरचाह गरिरहेका छन्‌। (हिब्रू १३:१७) एल्डरहरू हाम्रा शत्रु होइनन्‌, हाम्रो हेरचाह गर्न यहोवाले खटाएका व्यक्‍तिहरू हुन्‌।

  • “आफ्नो साथीले गरेको पाप लुकाउन मदत गरेर उसलाई जोगाऊ।” वास्तवमा हामी कसैको पाप लुकाउन मदत गरिरहेका छौं भने उसलाई सहयोग गरेको होइन बरु उसलाई झनै खतरामा हालिरहेका हुन्छौं। कसैले गम्भीर पाप गर्छ भने ऊ साँच्चै आध्यात्मिक रूपमा बिरामी भएको छ भन्‍ने प्रमाण हो। पापलाई लुकाउनु त योग्य डाक्टरको अगाडि रोगका गम्भीर लक्षणहरू लुकाउनु जस्तै हो। (याकूब ५:१४, १५) अनुशासन पाइएला भनेर पाप गरेको व्यक्‍ति डराउन सक्छ। तर अनुशासन यहोवाको प्रेमको प्रमाण हो अनि यसले पाप गर्ने व्यक्‍तिको जीवन समेत बचाउन सक्छ। (हितोपदेश ३:१२; ४:१३) त्यसबाहेक पाप गरिरहने व्यक्‍तिले मण्डलीका अरूलाई पनि खतरामा हाल्ने डर हुन्छ। जुन गलत मनोवृत्ति राखेर उसले पाप गरेको थियो उसको त्यो मनोवृत्ति फैलाउन के तपाईं मदत गर्नुहुनेछ? यसकारण आफ्नो पापबारे एल्डरहरूलाई भन्‍नको लागि तिनलाई सुझाव दिनुहोस्‌ र केही समय पर्खनुहोस्‌। त्यति समयभित्र पनि तिनले एल्डरहरूलाई भनेका छैनन्‌ भने एल्डरहरूलाई खबर गर्ने जिम्मेवारी तपाईंको हो।—लेवी ५:१; १ तिमोथी ५:२२.

१२ हामीलाई सोधिएका प्रश्‍नहरूको लिखित जवाफ दिनुपर्दा हामी यहोवाको सङ्‌गठनप्रति पनि इमानदार हुनै पर्छ। जस्तै:- प्रचारको रिपोर्ट लेख्दा झूटो कुरा लेख्नुहुँदैन। यहोवाको सेवाको कुनै सुअवसरको लागि फाराम भर्दा हाम्रो स्वास्थ्यबारे ठीक जानकारी दिनुपर्छ अनि हामीले गरेको सेवा वा अन्य कुराको गलत रेकर्ड दिनुहुँदैन।—हितोपदेश ६:१६-१९.

१३. हाम्रा भाइबहिनीसँग व्यापार-व्यवसायको सम्बन्ध छ भने हामी कसरी आपसमा इमानदारी कायम राख्न सक्छौं?

१३ भाइबहिनीसँगको व्यापारको मामिलामा पनि हामी इमानदार हुनुपर्छ। कहिलेकाहीं ख्रीष्टियन भाइबहिनीहरू आपसमा मिलेर कुनै व्यापार-व्यवसाय गर्लान्‌। आफ्नो व्यापार-व्यवसायसँग सम्बन्धित कामकुरा उपासनाको लागि राज्यभवनमा आएको बेला वा प्रचारमा सँगै गएको बेला गर्ने गर्नुहुँदैन। सायद कुनै व्यवसायको मालिक र कामदार ख्रीष्टियन भाइबहिनी होलान्‌। यदि हाम्रा कामदार ख्रीष्टियन भाइबहिनी हुन्‌ भने हामीले तिनीहरूलाई इमानदार भई व्यवहार गर्नुपर्छ। तिनीहरूलाई समयमै तलब दिनुपर्छ, तोकेको भन्दा कम दिने गर्नुहुँदैन अनि कानुनले तोकेका विभिन्‍न सुविधाहरू दिनुपर्छ। (१ तिमोथी ५:१८; याकूब ५:१-४) अर्कोतर्फ यदि हामी कुनै भाइबहिनीको कामदार हौं भने हामी जति तलब पाउँछौं त्यही बराबरको काम पनि गर्छौं। (२ थिस्सलोनिकी ३:१०) हाम्रो आध्यात्मिक सम्बन्ध छ भन्दैमा अरू कर्मचारीलाई भन्दा बढी छुट्टी दिन, धेरै फाइदा दिन वा अरू सुविधाहरू दिन तिनलाई करै लाग्छ भन्‍न मिल्दैन।—एफिसी ६:५-८.

१४. कुनै ख्रीष्टियन भाइबहिनीले आपसमा मिलेर व्यापार-व्यवसाय गरिरहेका छन्‌ भने के-कस्तो सावधानी अपनाउनु बुद्धिमानी हुन्छ र किन?

१४ यदि हामीमध्ये कसैले भाइबहिनीसित मिलेर आर्थिक जोखिम मोल्नुपर्ने तर नाफादायी कुनै व्यवसाय चलाएका छौं, सायद मिलेर लगानी गरेका छौं वा ऋण लिएका छौं भने के गर्ने? बाइबलले महत्त्वपूर्ण र व्यावहारिक सिद्धान्त दिएको छ: कानुनी मान्यता पाउने गरी हरेक कुरा लिखित रूपमा राख्नुहोस्‌! यर्मियाको उदाहरण विचार गर्नुहोस्‌। जब तिनले एक टुक्रा जमिन किने तब एउटा लिखित कागत बनाए, साक्षीहरू राखे र त्यसको नक्कल प्रति पनि बनाए अनि पछिको लागि सुरक्षित राखे। (यर्मिया ३२:९-१२; उत्पत्ति २३:१६-२० पनि हेर्नुहोस्‌।) जब हामी हाम्रा भाइबहिनीसँग कारोबार गर्छौं, तब सबै कुरा राम्ररी लेखेर, हस्ताक्षर गरेर, साक्षीहरू राखेर कागजात तयार पारौं। यसो गर्दा एक-आपसमा भरोसा नगरेको भन्‍न मिल्दैन। बरु यसले गलतफहमी, निराश र मतभेद हुनदेखि रोक्न सक्छ। आपसमा मिलेर व्यापार-व्यवसाय गरिरहेका भाइबहिनीले यो कुरा याद राख्नुपर्छ—आपसी कारोबारको कुनै पनि कुराले मण्डलीको एकता र शान्ति कहिल्यै भङ्‌ग नहोस्‌।b—१ कोरिन्थी ६:१-८.

इमानदार हुनुहोस्‌—सांसारिक कामकुरामा

१५. (क) बेइमान तरिकाले गरिएको व्यापार यहोवालाई कस्तो लाग्छ? (ख) बेइमान तरिकाले गरिने व्यापार संसारमा सामान्य भए तापनि ख्रीष्टियनहरूले के गर्नुपर्छ?

१५ ख्रीष्टियनहरू मण्डलीभित्र मात्र इमानदार भएर पुग्दैन। पावलले यसो भने: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।” (हिब्रू १३:१८) संसारका मानिसहरूसँग कारोबार गर्दा हामी कत्तिको इमानदार हुन्छौं भन्‍ने कुरामा यहोवा चासो राख्नुहुन्छ। ठीक किसिमको नाप तौल प्रयोग गर्नुपर्छ भन्‍ने विषयमा चार पटक त हितोपदेशको किताबमा मात्रै उल्लेख गरिएको छ। (हितोपदेश ११:१; १६:११; २०:१०, २३) प्राचीन समयमा किनबेच गर्ने सामान र पैसा जोख्न ढक-तराजु प्रयोग गरिन्थ्यो। बेइमान व्यापारीहरू ग्राहकलाई छक्याउन र ठग्न दुई किसिमका ढकहरू र सन्तुलन नमिल्ने तराजु प्रयोग गर्थे। c यस्तो कामलाई यहोवा घृणा गर्नुहुन्छ! यहोवाको प्रेम पाउन लायक भइरहन हामी कुनै पनि हालतमा बेइमान तरिकाको व्यापार गर्दै गर्दैनौं।

१६, १७. (क) अहिलेको संसारमा के-कस्तो बेइमानी सामान्य कुरा भइसक्यो? (ख) साँचो ख्रीष्टियनहरू के गर्न दृढ छन्‌?

१६ यस संसारको शासक सैतान भएकोले बेइमान मानिसहरू जताततै हुनु हाम्रो लागि अनौठो कुरा होइन। हामीलाई बेइमान बन्‍नुपर्ने दबाब दिनदिनै आउन सक्छ। जागिरको लागि दरखास्त दिंदा आफ्नो योग्यताबारे बढाइचढाइ लेख्नु र झूटो विवरण दिनु, झूटो प्रमाणपत्र पेस गर्नु, अनुभव नभए पनि अनुभव छ भनेर बताउनु सामान्य कुरा भइसक्यो। अर्को देशमा बस्ने अनुमती पाउन भर्नुपर्ने फाराम भर्दा, करसम्बन्धी कागजात भर्दा, बिमासम्बन्धी फाराम भर्दा र अरू यस्तै विभिन्‍न फारामहरू भर्दा मानिसहरू आफ्नो काम बनाउन गलत जानकारी भर्छन्‌। जस्तै:- गलत जन्म मिति लेख्ने इत्यादि। धेरै विद्यार्थीहरू जाँचमा चोर्ने गर्छन्‌। कतिले त स्कूलको लागि लेख-रचना तयार पार्दा र स्कूलमा रिपोर्ट पेस गर्दा इन्टरनेटमा गएर अरूले तयार पारेका सामाग्री लिन्छन्‌ र आफैले तयार पारेको भनेर पेस गर्छन्‌। भ्रष्ट कर्मचारीहरूबाट आफूले भनेजस्तो काम गराउन मानिसहरू घुस खुवाउने प्रस्ताव राख्छन्‌। “पैसालाई प्रेम गर्ने, . . . भलाइलाई प्रेम नगर्ने” मानिसहरू धेरै भएको यस संसारमा हामीले यस्तोबाहेक कस्ता कुराको आशा गर्ने त?—२ तिमोथी ३:१-५.

१७ साँचो ख्रीष्टियनहरू यस्ता कुनै पनि बेइमानीमा नमुछिन दृढ छन्‌। इमानदार हुनु बेला-बेलामा चुनौतीपूर्ण हुन्छ। किनभने जसले बेइमानी गर्छ उही सफल भएको देखिन्छ, अझै अहिलेको संसारमा अरू भन्दा अघि बढेको देखिन्छ। (भजन ७३:१-८) तर “सबै कुरामा” इमानदार भइरहन चाहेकोले ख्रीष्टियनहरूलाई भने आर्थिक समस्या पर्न सक्छ। इमानदार हुन यत्रो त्याग गर्नु ठीक हो त? अवश्‍य हो! तर किन? अनि इमानदार आचरण देखाउँदा कस्ता आशिष्‌ पाउँछौं?

इमानदार हुँदा पाइने आशिष्‌हरू

१८. इमानदार भनेर नाम कमाउनु किन अनमोल धन हो?

१८ इमानदार र भरोसायोग्य भनेर नाम कमाउनुजस्तो अनमोल धन जीवनमा अरू केही छैन। (पृष्ठ १९१ मा भएको “म कत्तिको इमानदार छु?” शीर्षकको पेटी हेर्नुहोस्‌।) अनि सोच्नुहोस्‌—यस्तो नाम जो-कसैले कमाउन सक्छ! यसको लागि तपाईंसित खुबी, सम्पत्ति, सुन्दरता, सामाजिक पृष्ठभूमि हुनुपर्छ भन्‍ने छैन। अथवा तपाईंसित असामान्य क्षमता हुनु पनि जरुरी छैन। तैपनि असल नाम कमाउनदेखि धेरै जना चुक्ने गर्छन्‌। यो हतपती नपाइने अनमोल धन हो। (मीका ७:२) तपाईं इमानदार भएको देखेर कसै-कसैले ठट्टामा उडाउलान्‌ तर अरूले भने तपाईंको इमानदारीताको कदर गर्नेछन्‌। तिनीहरूले तपाईंलाई भरोसा र आदर गर्नेछन्‌। यहोवाका साक्षीहरूमध्ये थुप्रैले आफू इमानदार भएकोले आर्थिक रूपमा समेत फाइदा भएको अनुभव गरेका छन्‌। बेइमान कामदारहरूलाई कामबाट हटाइँदा यहोवाका साक्षीहरू चाहिं बचेका छन्‌। अथवा इमानदार कामदार चाहिएको बखतमा त्यहाँ यहोवाका साक्षीहरूले मौका पाएका छन्‌।

म कत्तिको इमानदार छु?

सिद्धान्त: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? . . . त्यो, जो सोझो मनले हिंड्‌छ, र धर्मकर्म गर्छ, र हृदयले सत्य बोल्छ।”—भजन १५:१, २.

आफैलाई सोध्नुहोस्‌

  • मैले सधैं साँचो बोल्नु किन महत्त्वपूर्ण छ?—हितोपदेश ६:१६, १७.

  • फारामहरू भर्दा म ‘झूटलाई’ कसरी ‘त्याग्न’ सक्छु? जस्तै: स्कूलमा जाँच दिंदा, करसम्बन्धी वा अन्य सरकारी कागजात भर्दा।—एफिसी ४:२५; यशैया २८:१५; मत्ती २२:१७-२१; रोमी १३:१-७.

  • इमानदार कर्मचारी हुनको लागि मेरो बोली र व्यवहार राम्रो हुनु किन महत्त्वपूर्ण छ?—हितोपदेश ११:१; एफिसी ४:२८; कलस्सी ३:९, १०.

  • यदि ममा पैसाको मोह बढेको छ भने त्यसले सबै कुरामा इमानदार हुने मेरो कोसिसलाई कसरी कमजोर बनाउन सक्छ?—भजन ३७:२१; १ तिमोथी ६:९, १०.

१९. इमानदार भएर जीवन बिताउँदा हाम्रो अन्तस्करणमा र यहोवासितको सम्बन्धमा कस्तो असर पर्न सक्छ?

१९ तपाईंले यस्ता कुराको अनुभव गरेको होस्‌ वा नहोस्‌ इमानदार हुँदा अझ ठूलो आशिष्‌ तपाईं पाउन सक्नुहुन्छ। त्यो हो—सफा अन्तस्करण। पावलले लेखे: “हामीसित सफा अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौं।” (हिब्रू १३:१८) त्यसभन्दा पनि बढी त हाम्रो मायालु बुबा यहोवाले तपाईंको इमानदारीता देख्नुहुन्छ। इमानदार मानिसहरूलाई उहाँ माया गर्नुहुन्छ। (भजन १५:१, २; हितोपदेश २२:१) हो, इमानदार हुँदा तपाईं यहोवाको प्रेम पाउन लायक भइरहन सक्नुहुन्छ। हामीले खोजेको इनाम यो भन्दा ठूलो अरू के छ र? अब अर्को लेखमा हामी यसैसँग सम्बन्धित अर्को विषयलाई ध्यान देऔं: कामप्रति यहोवाको दृष्टिकोण।

a मण्डलीमा कसैले द्वेष राखेर अरूलाई हानि पुऱ्‍याउने स्पष्ट उद्देश्‍यले घोर झूट बोल्ने बानी बसाल्छ भने एल्डरहरूले यस्तो व्यक्‍तिलाई न्यायिक कारबाही गर्नुपर्ने हुन सक्छ।

b आपसमा मिलेर व्यवसाय गर्दा समस्या आइपऱ्‍यो भने के गर्ने भन्‍नेबारे पृष्ठ २५४-२५५ मा भएको अतिरिक्‍त लेख हेर्नुहोस्‌।

c तिनीहरू दुई किसिमका ढकहरू प्रयोग गर्थे; आफूले सामान किन्‍नुपर्दा एक किसिमको, बेच्नुपर्दा अर्को किसिमको ताकि जसरी पनि आफैलाई फाइदा होस्‌। साथै जसरी जोखे पनि आफैलाई फाइदा हुनेगरि तराजु पनि एकापट्टि लामो वा गह्रौं बनाएका हुन्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने