जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जनवरी ७-१३
बाइबलमा पाइने अनमोल धन | प्रेषित २१-२२
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे २२:१६ को अध्ययन नोट
उहाँको नाम पुकारेर आफ्ना पापहरू पखाल्नुहोस्: वा “आफ्ना पापहरू पखाल्नुहोस् र उहाँको नाम पुकार्नुहोस्।” पानीको बप्तिस्मा गर्दैमा कुनै व्यक्तिको पाप पखालिँदैन, बरु तिनले येसुको नाम पुकार्नुपर्छ। यसमा येसुमाथि विश्वास गर्नु र ख्रिष्टले गर्नुभएजस्तै कामहरू गरेर त्यो विश्वास प्रकट गर्नु समावेश छ।—प्रे १०:४३; या २:१४, १८.
प्रचार गर्ने सीप तिखारौँ
के ख्रिष्टियनहरूले विश्रामदिन मान्नुपर्छ?
ख्रिष्टले व्यवस्था पूरा गर्नुभएकोले के ख्रिष्टियनहरूले हरेक हप्ता मनाइने विश्रामदिन मान्नु आवश्यक छ? परमेश्वरको प्रेरणा पाएर प्रेषित पावलले यस्तो जवाफ दिए: “त्यसैले खानपान वा चाडबाड वा औँसी वा विश्रामदिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्। ती आउने कुराहरूको छाया मात्र हुन् तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।”—कलस्सी २:१६, १७.
परमेश्वरका सेवकहरूले पालन गर्नुपर्ने नियममा ठूलो परिवर्तन आएको कुरा हामी यी प्रेरित शब्दहरूबाट बुझ्न सक्छौँ। यो परिवर्तन किन आयो? किनभने ख्रिष्टियनहरू नयाँ व्यवस्था अर्थात् “ख्रिष्टको व्यवस्था”-को अधीनमा छन्। (गलाती ६:२) परमेश्वरले मोसाद्वारा इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाको करार येसुको मृत्युले पूरा गऱ्यो र त्यस व्यवस्थाको अन्त भयो। (रोमी १०:४; एफिसी २:१५) के त्यतिबेला विश्रामदिन मान्नुपर्ने आज्ञा पनि खारेज भयो? भयो। “हामी मोसाको व्यवस्थाबाट मुक्त भइसकेका छौँ” भनेर बताइसकेपछि पावलले दस आज्ञामध्ये एउटा आज्ञा उल्लेख गरे। (रोमी ७:६, ७) यसको मतलब मोसाको व्यवस्थासँगै दस आज्ञा, जसमा विश्रामदिन मान्नुपर्ने आज्ञा पनि पर्थ्यो, त्यो पनि खारेज भयो। परमेश्वरका सेवकहरूले त्यसउप्रान्त विश्रामदिन मान्नु आवश्यक थिएन।
इस्राएलीहरूले परमेश्वरको उपासना गर्ने तरिका बदलिएर ख्रिष्टियन तरिका स्थापित भएको कुरालाई राम्ररी बुझ्न एउटा उदाहरण विचार गरौँ। मानौँ, कुनै राष्ट्रको संविधान परिवर्तन गरियो। नयाँ संविधान कानुनी तवरमा स्थापित भइसकेपछि नागरिकहरू पुरानो संविधानअनुसार चल्नु आवश्यक हुँदैन। हुनत नयाँ संविधानमा भएका केही नियमहरू पुरानो संविधानसित मिल्दाजुल्दा हुन सक्छन् तर अरू नयाँ नियम पनि थपिएका हुन सक्छन्। त्यसैले अहिले कुन-कुन नियम कार्यान्वयन भइरहेको छ भनी बुझ्न नागरिकहरूले होसियारीसाथ नयाँ संविधान अध्ययन गर्नुपर्छ। साथै, वफादार नागरिकहरू आफ्नो देशमा कहिलेदेखि नयाँ संविधान लागू भयो भनेर पनि बुझ्न चाहन्छन्।
त्यसरी नै, यहोवा परमेश्वरले पनि इस्राएल राष्ट्रलाई दस प्रमुख आज्ञाका साथै ६०० भन्दा धेरै नियमहरू दिनुभएको थियो। त्यसमा आनीबानी, बलिदान, स्वास्थ्य अनि विश्रामदिनसित सम्बन्धित नियमहरू पर्थे। तर येसुले आफ्ना अभिषिक्त चेलाहरू मिलेर नयाँ “जाति” स्थापना हुनेछ भनेर बताउनुभयो। (मत्ति २१:४३) इस्वी संवत् ३३ देखि यस जातिले नयाँ “संविधान” पायो, जुन मुख्यतः दुइटा नियममा आधारित छन्, परमेश्वरलाई प्रेम गर्ने र छिमेकीलाई प्रेम गर्ने। (मत्ति २२:३६-४०) हुनत “ख्रिष्टको व्यवस्था”-मा भएका कुनै-कुनै निर्देशन इस्राएल राष्ट्रलाई दिइएको व्यवस्थामा भएका निर्देशनहरूसित मिल्दोजुल्दो छ तर कुनै-कुनै भने बिलकुलै फरक छन् अनि मोसाको व्यवस्थामा भएका कतिपय नियमहरू अहिले मान्नु आवश्यक छैन। विश्रामदिन मान्नुपर्छ भन्ने नियम पनि अहिले ख्रिष्टियनहरूले मान्नु आवश्यक छैन।
जनवरी १४-२०
बाइबलमा पाइने अनमोल धन | प्रेषित २३-२४
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे २३:६ को अध्ययन नोट
म फरिसी हुँ: त्यहाँ उपस्थित कसै-कसैले पावललाई चिन्थे। (प्रे २२:५) पावलले आफू फरिसीकै छोरा भएको कुरा बताउँदा त्यहाँ उपस्थित व्यक्तिहरूले पावल आफ्नो र उनीहरूको पृष्ठभूमि एउटै भएको कुरा बताउँदै छन् भनेर बुझे। उनीहरूले पावलले आफूबारे गलत जानकारी दिइरहेका छन् भन्ठानेनन् किनकि त्यस यहुदी न्यायपरिषद्का फरिसीहरूलाई तिनी एक जोसिला ख्रिष्टियन भएका छन् भनेर थाह थियो। तर यस प्रसङ्गमा भने पावलले आफू फरिसी हुँ भनेर बताएको कुरालाई यसरी बुझ्न सकिन्छ: पावलले यहाँ आफूलाई सदुकी नभई फरिसीको रूपमा चिनाइरहेका थिए किनकि पावलले जस्तै फरिसीहरू पनि मरेकाहरू फेरि जीवित हुन्छन् भन्ने कुरामा विश्वास गर्थे। यसरी तिनी त्यहाँ उपस्थित भएका फरिसीहरू पनि सहमत हुन सक्ने विषय निकाल्न खोज्दै थिए। यस्तो विवादास्पद विषयबारे कुरा उठाउँदा न्यायपरिषद्का केही सदस्यहरू आफ्नो कुरामा सहमत होलान् भनी पावलले सोचेका हुन सक्छन् र तिनले सोचेजस्तै भयो। (प्रे २३:७-९) पावलले प्रे २३:६ मा बताएको कुरा तिनले पछि राजा अग्रिपाको अघि आफ्नो मामिला पेस गर्दा भनेको कुरासित पनि मेल खान्छ। (प्रे २६:५) पछि रोमबाट फिलिप्पिको मण्डलीलाई पत्र लेख्दा पावलले फेरि पनि आफ्नो फरिसी पृष्ठभूमिबारे उल्लेख गरे। (फिलि ३:५) फरिसी पृष्ठभूमिका केही ख्रिष्टियनहरूबारे प्रे १५:५ मा बताइएको कुरा पनि रोचक छ।
nwtsty-E प्रे २४:२४ को अध्ययन नोट
द्रूसिल्ला: प्रे १२:१ मा उल्लेख गरिएका हेरोद अर्थात् हेरोद अग्रिपा प्रथमकी तेस्री र कान्छी छोरी। तिनी इस्वी संवत् ३८ तिर जन्मेकी थिइन् र तिनी अग्रिपा द्वितीय र बर्णिसकी बहिनी थिइन्। (शब्दावलीमा “हेरोद” हेर्नुहोस्।) राज्यपाल फेलिक्स तिनका दोस्रो पति थिए। तिनले पहिला एमिसाका सिरियाली राजा आजिजससित विवाह गरेकी थिइन् तर पछि सम्बन्धविच्छेद गरेकी थिइन्। तिनले इस्वी संवत् ५४ तिर १६ वर्ष जतिको छँदा फेलिक्ससित विवाह गरिन्। पावलले फेलिक्सलाई “धार्मिकता, आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा” बताउँदा सायद द्रूसिल्ला त्यहीँ उपस्थित थिइन्। (प्रे २४:२५) फेलिक्सको ठाउँमा फेस्तस राज्यपाल नियुक्त हुँदा फेलिक्सले “यहुदीहरूलाई खुसी पार्न” पावललाई झ्यालखानामै छोडिराखे। कसै-कसैको विचारमा उनले आफ्नी जवान पत्नी द्रूसिल्लालाई खुसी बनाउनको लागि त्यसो गरेका थिए, जो यहुदी थिइन्।—प्रे २४:२७.
जनवरी २१-२७
बाइबलमा पाइने अनमोल धन | प्रेषित २५-२६
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे २६:१४ को अध्ययन नोट
सुइरोमा . . . लात हिर्काउँछौ: सुइरो भनेको जनावर धपाउन प्रयोग गरिने तीखो टुप्पो भएको लौरो हो। (न्या ३:३१) ‘सुइरोमा लात हिर्काउनु’ भन्ने अभिव्यक्ति ग्रीक साहित्यहरूमा पाइने उखान हो। किसानले अटेरी गोरुलाई सुइरोले घोच्दा त्यस गोरुले सुइरोलाई नै लात हान्छ र आफैलाई चोट पुऱ्याउँछ; अटेरी गोरुले देखाउने त्यस्तो हठी स्वभावबाटै ‘सुइरोमा लात हिर्काउनु’ भन्ने उखान बनेको हो। ख्रिष्टियन बन्नुअघि सावलले पनि त्यस्तै व्यवहार देखाएका थिए। येसुका चेलाहरू, जसलाई यहोवा परमेश्वरले साथ दिइरहनुभएको थियो, तिनीहरूको खेदो गरेर पावलले आफैलाई गम्भीर चोट पुऱ्याउने खतरा मोलिरहेका थिए। (प्रे ५:३८, ३९; १ति १:१३, १४ तुलना गर्नुहोस्) उप १२:११ मा “सुइरो”-लाई प्रतीकात्मक अर्थमा प्रयोग गरिएको छ। बुद्धिमानी कदम चाल्न उत्प्रेरित गर्ने बुद्धिमान् मानिसको बोलीलाई “सुइरो”-सित तुलना गरिएको छ।
जनवरी २८–फेब्रुअरी ३
बाइबलमा पाइने अनमोल धन | प्रेषित २७-२८
बहुमूल्य रत्न खोजौँ
nwtsty-E प्रे २७:९ को अध्ययन नोट
प्रायश्चित-दिनको उपवास: वा “शरद् यामको उपवास।” शा., “उपवास।” “उपवास” भनेर अनुवाद गरिएको ग्रीक अभिव्यक्तिले मोसाको व्यवस्थामा उपवास बस्नू भनेर दिइएको एक मात्र आज्ञालाई बुझाउँछ, जुन हरेक वर्ष मनाइने प्रायश्चितको दिनसित सम्बन्धित थियो। प्रायश्चितको दिनलाई योम किप्पुर (हिब्रूमा योहम हाक्किपुरिम, जसको अर्थ हो, “ढाक्ने दिन”) पनि भनिन्थ्यो। (लेवी १६:२९-३१; २३:२६-३२; गन २९:७; शब्दावलीमा “प्रायश्चितको दिन” हेर्नुहोस्।) प्रायश्चितको दिनको सन्दर्भमा “दुःख मनाउनू” भन्ने अभिव्यक्ति चलाइँदा यसले साधारणतया उपवास बस्ने वा अन्य तरिकामा आफूलाई इन्कार गर्ने कुरालाई जनाउँछ भन्ने मान्यता छ। (लेवी १६:२९, फुटनोट) प्रे २७:९ मा “उपवास” भन्ने शब्द प्रयोग गरिएको कुराबाट हामी प्रायश्चितको दिनमा मानिसहरू मुख्यतः उपवास नै बसेर आफूलाई इन्कार गरेको कुरा देखाउँथे भनी थाह पाउँछौँ। प्रायश्चितको दिन सेप्टेम्बर महिनाको अन्ततिर वा अक्टोबरको सुरुतिर पर्थ्यो।
nwtsty-E प्रे २८:११ को अध्ययन नोट
ज्युसका छोराहरू: ग्रीक तथा रोमी दन्त्यकथाहरूअनुसार “ज्युसका छोराहरू” (ग्रीकमा डिओस्कोउरोइ) कास्टोर र पोलुक्स थिए। तिनीहरू ज्युस देव (बृहस्पति) र स्पार्टाकी रानी लेडाका जुम्ल्याहा छोराहरू थिए। तिनीहरूलाई अरू कुराका साथसाथै नाविकहरूको रक्षक पनि भनिन्थ्यो। तिनीहरू समुद्रमा खतरामा परेका नाविकहरूलाई जोगाउँछन् भन्ने मान्यता थियो। जहाजको अघिल्लो भागको प्रतिमाबारे यसरी वर्णन गरिएको कुराले यो विवरण एक प्रत्यक्षदर्शीले नै लेखेका हुन् भन्ने कुराको प्रमाण दिन्छ।