जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
सेप्टेम्बर ११-१७
बाइबलमा पाइने अनमोल धन | एस्तर ३-५
“आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्”
it-2-E पृ. ४३१ अनु. ९
मोर्दकै
यहुदीहरूको उद्धार गर्न यहोवाले मोर्दकैलाई प्रयोग गर्नुभयो। फारसी साम्राज्यमा सबै यहुदीलाई नाश गर्ने उर्दी जारी गरिएको थियो। तर यहुदीहरूको उद्धार गर्न यस्तै समयको लागि एस्तर रानी भएकी हुन् भनेर मोर्दकैले बताए। तिनले एस्तरको काँधमा ठूलो जिम्मेवारी छ भन्ने कुरा बुझाए र उनलाई राजासित दयाको भिख माग्न अनि मदतको लागि बिन्ती गर्न निर्देशन दिए। आफ्नो ज्यानै जान सक्ने भए तापनि एस्तरले त्यो निर्देशन पालन गरिन्।—एस्त ४:७–५:२.
सेप्टेम्बर २५–अक्टोबर १
बाइबलमा पाइने अनमोल धन | एस्तर ९-१०
“तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे”
it-2-E पृ. ४३२ अनु. २
मोर्दकै
पछि हामानको ठाउँमा मोर्दकै प्रधानमन्त्री बने र तिनले शाही पत्रहरूमा छाप लगाउने राजाको छापऔँठी पाए। एस्तरले हामानको सबै थोक मोर्दकैको अधिकारमा दिइन्, जुन तिनले राजाबाट पाएकी थिइन्। पछि मोर्दकैले राजाबाट पाएको अख्तियार प्रयोग गर्दै एउटा नयाँ उर्दी जारी गरे, जसले गर्दा यहुदीहरूले आफ्नो सुरक्षाको लागि लड्न कानुनी अधिकार पाए। त्यसैले यो तिनीहरूको लागि उद्धार पाउने अनि रमाहट गर्ने मौका थियो। फारसी साम्राज्यमा भएका थुप्रैले यहुदीहरूलाई साथ थिए। त्यसैले अदार महिनाको १३ औँ दिन, जब राजाले जारी गरेको उर्दी लागू गर्ने समय आयो, त्यतिबेलासम्म तिनीहरू आफ्नो अधिकारको लागि लड्न तयार भइसकेका थिए। मोर्दकै उच्च ओहोदामा भएकाले अख्तियारमा भएका थुप्रै व्यक्तिहरूले पनि यहुदीहरूलाई साथ दिए। सुसनका यहुदीहरूले भोलिपल्ट पनि आफ्ना शत्रुहरूसित लड्ने मौका पाए। हामानका १० जना छोरालगायत फारस साम्राज्यभरि यहुदीहरूले ७५ हजारभन्दा धेरै शत्रुलाई मारे। (एस्त ८:१–९:१८) एस्तर र मोर्दकैले यहुदीहरूलाई हरेक वर्ष अदार महिनाको १४ औँ र १५ औँ दिन ‘पूरीम उत्सव’ मनाउने आदेश दिए। यहुदीहरूले रमाहट गरेर, भोज लगाएर साथै एकअर्कालाई अनि गरिबहरूलाई उपहार दिएर त्यो उत्सव मनाउनुपर्थ्यो। यहुदीहरूले त्यो आदेश पालन गरे अनि तिनीहरूका सन्तान र तिनीहरूसँग लाग्नेहरू सबैले नबिराईकन हरेक वर्ष त्यो उत्सव मनाए। राजा आहासुरसपछिको सबैभन्दा प्रमुख व्यक्ति मोर्दकै भएकोले यहुदीहरूले तिनको आदर गर्थे। तिनले आफ्ना मानिसहरूको हितको लागि काम गरिरहे।—एस्त ९:१९-२२, २७-३२; १०:२, ३.
it-2-E पृ. ७१६ अनु. ५
पूरीम
उद्देश्य। केही टिप्पणीकारअनुसार अहिलेका यहुदीहरूले मनाउने पूरीम उत्सवले खासै धार्मिक महत्त्व राख्दैन। बरु तिनीहरू त्यस उत्सवमा भाग लिँदा कहिलेकाहीँ अनैतिक कामहरू गर्छन्। तर यो उत्सव स्थापना गरिँदा र सुरुसुरुमा यो उत्सव मनाइँदा त्यस्तो थिएन। मोर्दकै र एस्तर दुवै जना साँचो परमेश्वर यहोवाको सेवा गर्थे। त्यसैले तिनीहरूले यो उत्सव उहाँको महिमा गर्न स्थापना गरेका थिए। त्यतिबेला यहुदीहरूको उद्धारको श्रेय यहोवालाई नै जान्छ। हामी किन त्यसो भन्न सक्छौँ? यो कुरा विचार गर्नुहोस्, हामान एक अमालेकी थिए, जुन जातिको नामोनिसान मेटाउनेछु भनेर यहोवाले पहिल्यै घोषणा गरिसक्नुभएको थियो। त्यसैले यहोवाको त्यस निर्णयको कदर गर्दै मोर्दकैले हामानसामु निहुरिन इन्कार गरे। यसरी मोर्दकैले यहोवा परमेश्वरको मात्र उपासना गरेर उहाँप्रति वफादार रहेको देखाए। (एस्त ३:२, ५; प्रस्थ १७:१४-१६) मोर्दकैले एस्तरलाई बताएको कुराबाट (एस्त ४:१४) तिनले यहुदीहरूको छुटकाराको लागि अझै शक्तिशाली व्यक्ति अर्थात् यहोवा परमेश्वरको बाटो हेरिरहेका थिए भनेर स्पष्ट हुन्छ। साथै एस्तर पनि मदतको लागि यहोवा परमेश्वरमा भर परेको प्रस्ट हुन्छ किनभने राजासामु हाजिर भएर भोजको निम्तो दिनुअघि उनी उपवास बसेकी थिइन्।—एस्त ४:१६.
cl-E पृ. १०१-१०२ अनु. १२-१३
आफ्नो अख्तियार प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्वरको देखासिकी गर्नुहोस्’
१२ यहोवाले मण्डलीमा अगुवाइ लिन निरीक्षकहरूको प्रबन्ध गर्नुभएको छ। (हिब्रू १३:१७) योग्य पुरुषहरूले परमेश्वरबाट पाएको अख्तियार बगाललाई मदत र हेरविचार गर्न प्रयोग गर्छन्। के तिनीहरूले एल्डरको रूपमा आफूले पाएको अख्तियार भाइबहिनीमाथि हैकम जमाउन प्रयोग गर्न मिल्छ? अहँ मिल्दैन। बरु तिनीहरू मण्डलीमा आफूले पाएको भूमिकाप्रति सन्तुलित हुनुपर्छ र मर्यादामा रहनुपर्छ। (१ पत्रुस ५:२, ३) बाइबलमा निरीक्षकहरूलाई ‘परमेश्वरले आफ्नै छोराको रगतद्वारा किन्नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्नू’ भन्ने सल्लाह दिइएको छ। (प्रेषित २०:२८) त्यसैले एल्डरहरूले प्रत्येक भाइबहिनीसित कोमलतापूर्वक व्यवहार गर्नुपर्छ।
१३ यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। तपाईँको नजिकको साथीले तपाईँलाई एउटा बहुमूल्य सामान राख्न दिन्छ। सामान किन्न तपाईँको साथीले धेरै मूल्य तिरेको छ। तपाईँ त्यस सामानलाई सम्हालेर राख्नुहुन्छ नि, होइन र? त्यसैगरि यहोवाले एल्डरहरूलाई भरोसा गरेर बहुमूल्य सम्पत्तिको हेरचाह गर्ने जिम्मेवारी दिनुभएको छ। त्यो सम्पत्ति मण्डलीका भाइबहिनी हुन्, जसलाई भेडाहरूसित तुलना गरिएको छ। (युहन्ना २१:१६, १७) यहोवा प्रत्येक भेडालाई असाध्यै अनमोल ठान्नुहुन्छ। यत्ति अनमोल ठान्नुहुन्छ कि उहाँले आफ्नो एक मात्र छोराको रगतद्वारा तिनीहरूलाई किन्नुभएको छ। यो कुरा नम्र एल्डरहरू मनमा राख्छन् र यहोवाका भेडाहरूको कोमलतापूर्वक हेरचाह गर्छन्।
अक्टोबर ९-१५
बाइबलमा पाइने अनमोल धन | अय्युब ४-५
“गलत जानकारीहरूदेखि होसियार रहनुहोस्!”
it-1-E पृ. ७१३ अनु. ११
एलिपज
२. अय्युबका तीन जना साथीमध्ये एक। (अयु २:११) तिनी तेमानी थिए र सम्भवतः एसावको जेठो छोराका सन्तान थिए। त्यसैले तिनी अब्राहामका सन्तान थिए र अय्युबको टाढाको आफन्त पर्थे। तिनी र तिनको सन्तान आफ्नो बुद्धिमा घमण्ड गर्थे। (यर्मि ४९:७) अय्युबलाई सान्त्वना दिन आएका तीन जनामध्ये एलिपज अरूलाई आफ्नो प्रभावमा पार्न सिपालु थिए। सायद तिनी सबैभन्दा जेठा पनि थिए। सुरुमा तिनले नै बोले र अरू दुई जनाले भन्दा धेरै कुरा बताए।
w१०-E २/१५ पृ. १९ अनु. ५-६
सैतानले फैलाएको अफवाहलाई तिरस्कार गर्नुहोस्
अय्युबलाई भेट्न आएका तीन जना साथीमध्ये एक एलिपज थिए। तिनलाई चलाएर सैतानले मानिसहरू निस्सहाय अनि कमजोर छन् भन्यो। मानिसहरूलाई सङ्केत गर्दै तिनले यसो भने, “माटोको घरमा बस्नेहरू, जो माटैबाट आएका हुन्, जसलाई किरालाई जस्तै किचीमिची पार्न सकिन्छ, तिनीहरूमा त झन् कति खोट देख्नुहोला। दिन नढल्दै तिनीहरू नष्ट भएर जान्छन्। तिनीहरू सधैँका लागि बिलाएर जान्छन्, कसैले वास्ता गर्दैन।”—अय्यु. ४:१९, २०.
बाइबलको अर्को पदमा हामीलाई “माटाका भाँडाहरू” अर्थात् माटोबाट बनेका कमजोर भाँडाहरूसित तुलना गरिएको छ। (२ कोरि. ४:७) जन्मजातै पापी अनि त्रुटिपूर्ण भएकोले हामी सबै जना कमजोर छौँ। (रोमी ५:१२) त्यसैले हामी आफ्नै भरमा सैतानको आक्रमणको प्रतिकार गर्न सक्दैनौँ। तर यहोवाका उपासकहरू भएकोले हामी एक्लो छैनौँ। हामी कमजोर भए तापनि यहोवाको नजरमा असाध्यै बहुमूल्य छौँ। (यसै. ४३:४) साथै यहोवासित माग्नेहरूलाई उहाँले पवित्र शक्ति दिनुहुन्छ। (लुका ११:१३) उहाँको “असाधारण शक्ति” पाएपछि हामी सैतानका जस्तोसुकै आक्रमणहरूको सामना गर्न सक्छौँ। (२ कोरि. ४:७; फिलि. ४:१३) यदि हामी “विश्वासमा दह्रो भएर” सैतानविरुद्ध खडा भयौँ भने यहोवाले हामीलाई स्थिर र बलियो पार्नुहुनेछ। (१ पत्रु. ५:८-१०) त्यसैले हामी सैतानदेखि पटक्कै डराउनुपर्दैन।
अक्टोबर २३-२९
बाइबलमा पाइने अनमोल धन | अय्युब ८-१०
“परमेश्वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ”
w१५-E ७/१ पृ. १२ अनु. ३
के हामी परमेश्वरलाई साँच्चै खुसी बनाउन सक्छौँ?
अय्युबले एकपछि अर्को गर्दै थुप्रै दुःखकष्ट भोगे र त्यो तिनलाई साह्रै अन्यायपूर्ण लाग्यो। तिनले परमेश्वरमाथि विश्वास राखे पनि नराखे पनि उहाँलाई कुनै फरक पर्दैन भन्ने गलत सोचाइ राख्न पुगे। (अय्यु. ९:२०-२२) अय्युब आफू धर्मी छु भन्ने कुरामा यत्ति विश्वस्त थिए कि तिनले आफूलाई परमेश्वरभन्दा धर्मी ठानेको जस्तो अरूलाई लाग्यो।—अय्यु. ३२:१, २; ३५:१, २.
अक्टोबर ३०–नोभेम्बर ५
बाइबलमा पाइने अनमोल धन | अय्युब ११-१२
“बुद्धि हासिल गर्ने तीन वटा तरिका र त्यसबाट पाइने लाभ”
it-2-E पृ. ११९० अनु. २
बुद्धि
परमेश्वरको बुद्धि। असल जीवन बिताउन, सफल हुन अनि बुद्धिमानी निर्णय गर्न परमेश्वरका नैतिक स्तरहरू नभई हुँदैन। (व्य ३२:४-६) उहाँको समझ अथाह छ र उहाँ सबै कुरा राम्ररी बुझ्नुहुन्छ। (यसै ४०:१३, १४) हुनत यहोवाले आफ्नो धार्मिक स्तरविपरीतको कामकुरा हुन दिनुभएको छ अनि मानिसहरूको फलिफाप भएको देखिन्छ। तर तिनीहरूले भोग्ने परिणाम यहोवाकै हातमा छ। उहाँले आफ्नो स्तरअनुसार कदम चाल्नुहुनेछ र आफूले भन्नुभएको कुरामा ‘सफल हुनुहुनेछ।’—यसै ५५:८-११; ४६:९-११.
बहुमूल्य रत्न
w०८-E ८/१ पृ. ११ अनु. ५
युवायुवतीसित कुराकानी गर्दा
▪ ‘के म शब्दमा लुकेको भाव बुझ्ने कोसिस गर्छु?’ अय्युब १२:११ भन्छ, “जसरी जिब्रोले खानेकुरा चाख्छ, त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र?” तपाईँका जवान छोरा वा छोरीले वास्तवमा के भन्न खोजिरहेका छन्, त्यो ‘जाँच्नु’ एकदमै महत्त्वपूर्ण छ। युवायुवतीहरू अक्सर बढाइचढाइ गरेर बोल्छन्। उदाहरणको लागि, तपाईँको छोरा वा छोरीले भन्लान्, “तपाईँ मलाई सधैँ बच्चालाई जस्तो व्यवहार गर्नुहुन्छ” अथवा “तपाईँ मेरो कुरा कहिल्यै सुन्नुहुन्न।” तिनीहरूले भनेको एक-एक शब्द, जस्तै “सधैँ” र “कहिल्यै”-मा ध्यान दिनुको सट्टा तिनीहरूको शब्दमा लुकेको भाव बुझ्ने प्रयास गर्नुहोस्। उदाहरणको लागि, “तपाईँ मलाई सधैँ बच्चालाई जस्तो व्यवहार गर्नुहुन्छ” भन्दा वास्तवमा तिनीहरूले “तपाईँले मलाई भरोसा नै गर्नुहुँदैन जस्तो लाग्छ” अनि “तपाईँ मेरो कुरा कहिल्यै सुन्नुहुन्न” भन्दा “मलाई कस्तो लागिरहेको छ म तपाईँलाई बताउन चाहन्छु” भनिरहेका हुन सक्छन्। त्यसैले शब्दमा लुकेको भाव बुझ्ने कोसिस गर्नुहोस्।