प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. २८-३१
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
  • “म अहिले हिंसाको दास होइनँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “म कहिल्यै नभरिने घ्याम्पो थिएँ”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. २८-३१

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

सानो छँदा बाइबलबाट राम्रा कुराहरू सिकेको एक जना व्यक्‍ति ठूलो भएपछि आफ्नै बाटो लागे। तर पछि कसरी उनको होस खुल्यो? जिन्दगीभर मायालु बुबाको डोऱ्‍याइ नपाएका एक जना युवकले पछि कसरी त्यस्तो बुबा भेट्टाउन सके? आउनुहोस्‌, उनीहरूको अनुभव सुनौं।

“म यहोवाकहाँ फर्कनुपर्थ्यो।”—एली खालिल

जन्म मिति: १९७६

जन्म स्थान: साइप्रस

विगतमा: उडन्ते छोरा

मेरो विगत: मेरो जन्म साइप्रसमा भएको थियो तर म अस्ट्रेलियामा हुर्कें। मेरो आमाबाबु यहोवाका साक्षी हुनुहुन्छ। सानो छँदा उहाँहरूले मेरो मनमा यहोवा परमेश्‍वरप्रतिको प्रेम विकास गर्न अनि बाइबलबाट सिकाउन यथासक्दो प्रयास गर्नुभयो। तर ठूलो हुँदै जाँदा म बरालिन थालें। राती घरबाट भागेर साथीहरूकहाँ जान्थें। साथीहरूसित मिलेर गाडी चोर्थें अनि अनेक झमेलामा फस्थें।

सुरु-सुरुमा त आमाबाबुले मेरो बदमासी थाह पाउलान्‌ भनेर डर लाग्थ्यो। तर बिस्तारै त्यस्तो डर हरायो। मैले आफूभन्दा निकै ठूलो उमेरका व्यक्‍तिहरूलाई साथी बनाएँ। तिनीहरू यहोवालाई प्रेम गर्दैनथे। अनि तिनीहरूको सङ्‌गतले गर्दा म झनै बिग्रन थालें। आखिर मैले आमाबाबुलाई ‘मलाई यहोवाको साक्षी हुनु छैन’ भनिदिएँ। उहाँहरूले हरेस नखाई मलाई सम्झाउनु भयो तर मैले उहाँहरूको एउटा कुरा पनि सुनिनँ। उहाँहरूको मुटु छियाछिया भयो।

घर छाडेपछि मैले लागूपदार्थ सेवन गर्न थालें। त्यति मात्र होइन, मैले निकै मात्रामा गाँजाको खेती अनि बेचबिखन पनि गरें। अनैतिक अनि छाडा जीवन बिताएँ। राती अबेरसम्म क्लबमा बसेर मोजमज्जा गर्थें। अनि मेरो झनक्क रिसाइहाल्ने बानी पनि बस्यो। यदि कसैको बोली व्यवहार मलाई चित्त बुझेन भने रिसले फुलिहाल्थें अनि प्रायजसो त म मान्छेहरूलाई गाली गर्न र पिट्‌न पनि पछि सर्दिनथें। भनौं भने, यहोवाको साक्षी भएर जे-जे गर्नु हुँदैन भनेर मैले सानोमा सिकेको थिएँ, ती सबै गरें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो: मसँगै गाँजा खाने एक जना केटो र म मिल्ने साथी भयौं। ऊ सानो छँदा उसको बुबाको मृत्यु भएको थियो। प्रायजसो हामी राती अबेरसम्म कुराकानी गरेर बस्थ्यौं। यसरी कुरा गर्दा उसले मलाई आफ्नो मनको कुरा सुनाउन थाल्यो। बुबाको मृत्यु भइसके पनि उहाँलाई बिर्सन नसकेको कुरा उसले मलाई बताउँथ्यो। पुनर्जीवनको आशाबारे मलाई सानैदेखि थाह भएको हुँदा येशू पृथ्वीमा छँदा उहाँले मरेको मान्छेलाई ब्यूँताउनुभएको थियो र भविष्यमा पनि फेरि त्यसो गर्ने प्रतिज्ञा गर्नुभएको छ भनेर मैले कुरै कुरामा उसलाई बताएँ। (यूहन्‍ना ५:२८, २९) मैले उसलाई यसो भन्‍ने गर्थें, “बुबालाई फेरि भट्‌ने पाए कस्तो हुन्थ्यो होला, सोच त! परमेश्‍वरले पृथ्वीमा स्थापना गर्नुहुने प्रमोदवनमा हामी सधैंभरि बस्न पाउनेछौं।” यसले उसको मन छोयो।

अरू बेलामा भने उसले अन्तको दिन वा त्रिएकको शिक्षाबारे कुरा गर्थ्यो। म उसलाई यहोवा परमेश्‍वर, येशू अनि अन्तको दिनबारे बताइएका सत्य कुराहरू उसकै बाइबलबाट देखाइदिन्थें। (यूहन्‍ना १४:२८; २ तिमोथी ३:१-५) उसलाई यहोवाबारे बताउँदै जाँदा मैले पो उहाँबारे झन्‌ गहिरिएर सोच्न थालें।

मेरा आमाबाबुले मेरो मनमा बाइबलका कुराहरू ठप्प बसाल्न निकै प्रयास गर्नुभएको थियो तर मैले वास्तै गरिनँ। समय बित्दै जाँदा बिस्तारै मैले ती कुराहरू सम्झन थालें। उदाहरणको लागि, पार्टीमा साथीहरूसँग बसेर लागू पदार्थ सेवन गर्दै गर्दा अचानक यहोवाबारे सोच्न पुग्थें। हुन त मेरा थुप्रै साथीले परमेश्‍वरलाई प्रेम गर्छु भन्थे तर तिनीहरूको व्यवहारले भने अर्कै कुरा देखाउँथ्यो। त्यसैले तिनीहरूजस्तो नहुने हो भने मैले के गर्नुपर्छ, त्यो मलाई थाह थियो। म यहोवाकहाँ फर्कनुपर्थ्यो।

तर भनेजस्तो गर्न कहाँ सजिलो छ र? कुनै-कुनै कुलत छोड्‌न मलाई त्यति गाह्रो भएन। जस्तै: लागू पदार्थ छाड्‌न। पुराना साथीहरूसित सङ्‌गत गर्न पनि मैले छाडिदिएँ। अनि एक जना ख्रीष्टियन एल्डरसँग बाइबल अध्ययन गर्न थालें।

तर कुनै-कुनै बानी त्याग्न भने एकदमै मुस्किल पऱ्‍यो। जस्तै: म रिस थाम्नै सक्दिनथें। कहिलेकाहीं त रिसलाई काबुमा राख्थें तर अरू बेला फेरि त्यही पुरानो बानी फर्किहाल्थ्यो। आफ्नो यस्तो बानी देखेर नराम्रो लाग्थ्यो, निराश हुन्थें र हरुवा महसुस गर्थें। यसबारे मलाई बाइबल अध्ययन गराउनुहुने एल्डरलाई मैले बताएँ। उहाँ धीरजी र दयालु हुनुहुन्थ्यो। उहाँ नै मेरो लागि प्रोत्साहनको स्रोत हुनुभयो। एक चोटि, उहाँले मलाई प्रहरीधरहरा-को एउटा लेख पढ्‌न दिनुभयो। त्यस लेखमा हार नमानी अगाडि बढिरहनु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने विषयमा चर्चा गरिएको थियो।a रिस नियन्त्रण गर्नको लागि अपनाउनुपर्ने केही कदमबारे हामीले त्यस लेखबाट छलफल गऱ्‍यौं। त्यो लेखमा भएको कुरालाई मनमा राखेर अनि यहोवालाई निरन्तर प्रार्थना गरेर मैले रिसलाई काबुमा राख्न सकें। पछि सन्‌ २००० अप्रिल महिनामा मैले बप्तिस्मा गरेर यहोवाको साक्षी भएँ। यो देख्दा मेरो आमाबाबुको खुसीको सीमा नै रहेन।

मैले कसरी लाभ उठाएको छु: मैले लागू पदार्थ खान अनि अनैतिक जीवन बिताउन छोडेको छु। यसले गर्दा मनमा शान्ति छ अनि सफा अन्तस्करण राख्न सकेको छु। काम गर्दा, ख्रीष्टियन सभाहरूमा उपस्थित हुँदा वा कुनै मनोरञ्जनमा भाग लिंदा होस्‌ म निकै खुसी छु। म आशावादी पनि हुन सकेको छु।

मेरो आमाबाबुले मलाई मदत गर्न कहिल्यै पनि हरेस खानुभएन। यस्तो आमाबाबु दिनुभएकोमा म यहोवालाई धेरै धन्यवाद दिन्छु। यूहन्‍ना ६:४४ मा येशूले भन्‍नुभएको यस कुरालाई पनि म सम्झन्छु, “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” यहोवाले मलाई खिच्नुभएको कारण म फेरि उहाँकहाँ फर्कन सकें। उहाँले देखाउनुभएको दया म कहिल्यै बिर्सन सक्दिनँ।

“म बुबाको माया पाउन तड्‌पिन्थें।”—मार्को एन्टोन्यो एल्भारेज सोतो

जन्म मिति: १९७७

जन्म स्थान: चिली

विगतमा: हेभी मेटल ब्यान्डको सदस्य

मेरो विगत: आमाले मलाई दक्षिण अमेरिकाको दक्षिणी पुछारमा रहेको सुन्दर सहर पुन्टा एरिनाजमा हुर्काउनुभयो। म पाँच वर्षको हुँदा मेरो आमा र बुबा छुट्टिनुभयो। यसले गर्दा मैले एक्लो महसुस गरें र म बुबाको माया पाउन तड्‌पिन्थें।

मेरी आमा यहोवाको साक्षीसित बाइबल अध्ययन गर्नुहुन्थ्यो। उहाँले मलाई पनि राज्यभवनमा हुने सभाहरूमा लैजानुहुन्थ्यो। तर मलाई सभामा जान भनेपछि पटक्कै मन पर्दैनथ्यो अनि म बाटोमा रोएर कराएर आमालाई हैरान पार्थें। म १३ वर्ष पुगेपछि सभामा जानै छाडिदिएँ।

त्यतिखेरसम्ममा सङ्‌गीतप्रति मेरो चासो बढ्‌न थालिसकेको थियो र आफूसित पनि केही खुबी छ भनेर थाह पाएँ। म १५ वर्ष पुग्दा मैले चाडपर्वमा, बारमा अनि साथीभाइसितको जमघटहरूमा हेभी मेटल सङ्‌गीत बजाउन थालिसकेको थिएँ। अनुभवी सङ्‌गीतकारहरूसितको उठबसले गर्दा मलाई शास्त्रीय सङ्‌गीत सिक्न मन लाग्यो। त्यसैले सङ्‌गीत पाठशालामा सिक्न थालें। अनि २० वर्ष पुगेपछि सङ्‌गीतबारे अझ अध्ययन गर्न म चिलीको राजधानी सान्टियागो गएँ। त्यहाँ छँदा पनि मैले हेभी मेटल ब्यान्डमा बजाउन छोडिनँ।

तैपनि म रित्तो महसुस गर्थें। यस्ता भावनाहरूलाई हटाउन म ब्यान्डका साथीहरूसित बसेर गाँजा खान्थे, रक्सी पिउँथें। मैले यी केटाहरूलाई नै आफ्नो परिवार ठान्थें। मेरो विद्रोही स्वभाव मेरो रूपरङमा देखिन्थ्यो। म सधैं कालो रङ्‌गको कपडा लगाउँथें, दारी पाल्थें र मेरो कपाल झन्डै कम्मरसम्म पुग्थ्यो।

मेरो यस्तो स्वभावले गर्दा बेलाबेलामा झगडा भइरहन्थ्यो अनि कति चोटि त पुलिसको हातमा पनि पर्थें। एक चोटि रक्सीको नशामा मैले लागू पदार्थको कारोबार गर्ने केटाहरूलाई पिटें। तिनीहरूले मलाई र मेरा साथीहरूलाई दुःख दिइरहेका थिए। तर तिनीहरूले मलाई यत्ति साह्रो पिटे कि मेरो बङ्‌गारा नै भाँच्यो।

तर मैले आफ्नो ठानेका व्यक्‍तिहरूबाट सबैभन्दा ठूलो चोट सहनुपऱ्‍यो। मेरी गर्लफ्रेन्डले मलाई धोका दिएर मेरो सबैभन्दा मिल्ने साथीसित हिमचिम बढाइरहेको वर्षौं भइसकेको रहेछ। मेरा सबै साथीहरूलाई यो कुरा थाह थियो तर मैले भने धेरैपछि मात्र थाह पाएँ। मेरो मन छियाछिया भयो।

त्यसपछि म फेरि पुन्टा एरिनाज फर्कें। त्यहाँ मैले सङ्‌गीत सिकाउनुका साथै भाइलिनजस्तै एक प्रकारको बाजा बजाउन थालें। मैले हेभी मेटल ब्यान्डमा सङ्‌गीत बजाउने अनि रेकर्ड गर्ने काम पनि गरिनै रहें। यसै समयतिर एउटी राम्री केटीसित मेरो भेट भयो। उनको नाम सुसन थियो। हामी सँगै बस्न थाल्यौं। केही समयपछि सुसनले के थाह पाइन्‌ भने उनकी आमाले त्रिएकको शिक्षामा विश्‍वास गर्थिन्‌ तर म भने त्यो कुरा मान्दिनथें। त्यसैले उनले सोधिन्‌, “कुन चाहिं सही हो त?” त्रिएकको शिक्षा गलत हो भनेर मलाई थाह छ तर म यो बाइबलबाट देखाउन सक्दिनँ भनेर उनलाई बताएँ। यहोवाका साक्षीहरूले मात्र यसबारे सत्य कुरा बाइबलबाट देखाउन सक्छन्‌ भनेर पनि बताएँ। त्यसपछि मैले वर्षौं नगरेको एउटा काम गरें—परमेश्‍वरलाई प्रार्थना गरें अनि उहाँसँग मदत मागें।

केही दिनपछि मैले एक जना व्यक्‍तिलाई देखें जसलाई पहिला कतै देखे-देखेझैं लाग्यो। तिनी यहोवाको साक्षी हुन्‌ कि भनेर मैले सोधें। हुन त मेरो रूपरङ देखेर तिनी झस्किए, तैपनि राज्यभवनमा हुने सभाहरूबारे मैले सोधेका सबै प्रश्‍नको जवाफ दिए। तिनीसित भेट हुनु नै मेरो प्रार्थनाको जवाफ थियो भन्‍ने कुरामा मलाई कुनै शंका थिएन। म राज्यभवन गएँ र कसैले याद नगरोस्‌ भनेर सबैभन्दा पछाडिको सिटमा बसें। तर सानो छँदा मलाई देखेका थुप्रैले चिनिहाले। तिनीहरूले मलाई असाध्यै माया गरेर स्वागत गरे अनि अङ्‌गालो हाले। त्यसपछि त म ढुक्क भएँ। मलाई आफ्नै घर फर्केको जस्तो लाग्यो। मलाई सानोमा बाइबलको कुरा सिकाउने व्यक्‍तिलाई पनि त्यहाँ देखें अनि मसित फेरि अध्ययन गर्न तिनलाई आग्रह गरें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो: एक दिन म बाइबलबाट हितोपदेश २७:११ पढ्‌दै थिएँ। त्यहाँ यसो लेखिएको छ, “हे मेरो छोरो, बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।” मरणशील मानिसले पनि ब्रह्‍माण्डको सृष्टिकर्तालाई आनन्दित पार्न सक्छ भन्‍ने कुराबाट म प्रभावित भएँ। मैले जिन्दगीभर खोजेको बुबा यहोवा नै हुनुहुन्छ भनेर बुझें।

म यहोवालाई खुसी तुल्याउन अनि उहाँको इच्छाअनुसार चल्न चाहन्थें तर लागू पदार्थ अनि रक्सीको कुलतमा फसेको वर्षौं भइसकेको थियो। बाइबलको मत्ती ६:२४ मा येशूले भन्‍नुभएको यो कुरा मैले बुझें, “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन।” आफ्नो जीवनमा परिवर्तनहरू गर्ने प्रयास गर्दै जाँदा बाइबलको १ कोरिन्थी १५:३३ मा भनिएको कुराले मेरो होस खुल्यो। त्यहाँ यसो भनिएको छ, “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।” पहिलेकै ठाउँहरूमा गइरहें अनि पुरानै साथीहरूसित सङ्‌गत गरिरहें भने कुलतबाट मुक्‍त हुन सक्दिनँ भनेर मैले बुझें। बाइबलको सल्लाह स्पष्ट थियो: पाप गर्न लगाउने कुराबाट जोगिन मैले ठोस कदम चाल्नु पर्नेथियो।—मत्ती ५:३०.

मेरो लागि सङ्‌गीत नै जीवन थियो। त्यसैले हेभी मेटल सङ्‌गीत सुन्‍न अनि बजाउन छोड्‌नु मेरो लागि सबैभन्दा गाह्रो कुरा थियो। तर मण्डलीका साथीहरूको मदतले गर्दा मैले बल्लतल्ल छोड्‌न सकें। मैले अत्यधिक मात्रामा रक्सी पिउन अनि लागू पदार्थ सेवन गर्न छोडें। कपाल काटें, दारी खौरें अनि कालो रङ्‌गको लुगा मात्र लगाउन पनि छोडें। मैले कपाल काट्‌छु भनेको सुन्दा सुसन तीनछक परिन्‌। असाध्यै उत्सुक भएर उनले मलाई भनिन्‌, “म पनि तपाईंसित राज्यभवन गएर त्यहाँ के हुँदो रहेछ हेर्न चाहन्छु।” राज्यभवनमा देखेको कुराले उनलाई एकदमै प्रभाव पाऱ्‍यो। अनि छिट्टै उनले पनि बाइबल अध्ययन गर्न थालिन्‌। पछि हामीले विवाह गऱ्‍यौं। सन्‌ २००८ मा हामी दुवैले बप्तिस्मा गरेर यहोवाको साक्षी भयौं। अनि अहिले मेरी आमासँगै मिलेर यहोवाको सेवा गर्न पाएकोमा खुसी छौं।

मैले कसरी लाभ उठाएको छु: यस संसारले दिने क्षणिक आनन्द अनि धोकेबाज साथीहरूको फन्दाबाट म अहिले मुक्‍त छु। मलाई अझै पनि सङ्‌गीत मनपर्छ तर होसियार भई छनौट गर्छु। मैले विगतमा भोगेको जस्तो अनुभव अरूले गर्न नपरोस्‌ भनेर म आफ्नो कथा परिवारका सदस्यहरूलाई र विशेषगरि जवानहरूलाई सुनाउँछु। यो संसार बाहिरबाट जत्ति नै आकर्षक देखिए तापनि आखिर “रद्दी” मात्र हो भनेर म तिनीहरूलाई बुझाउन चाहन्छु।—फिलिप्पी ३:८.

प्रेम र शान्तिले भरिपूर्ण ख्रीष्टियन मण्डलीमा मैले वफादार साथीहरू पाएको छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवासित नजिक हुँदा मैले जिन्दगीभर खोजिरहेको बुबा भेट्टाएको छु। (w12-E 04/01)

[फुटनोट]

a प्रहरीधरहरा, फेब्रुअरी १, २००० को पृष्ठ ४-६ मा प्रकाशित “लगनशील प्रयासद्वारा सफलता” भन्‍ने लेख।

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“यहोवाले मलाई खिच्नुभएको कारण म फेरि उहाँकहाँ फर्कन सकें”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने