प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 फेब्रुअरी pp. २०-२५
  • परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको मोल गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको मोल गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उपहारस्वरूप पाएको जीवनको मोल गर्नुहोस्‌
  • हानिकारक बानीहरू त्याग्नुहोस्‌
  • सुरक्षामा ध्यान दिनुहोस्‌
  • विपत्ति आइपर्दा
  • रगतबाट अलग रहन तयार हुनुहोस्‌
  • व्यावहारिक हुनुहोस्‌
  • आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ७. के तपाईँ परमेश्‍वरले जस्तै जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • के तपाईं आलटाल गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००८
  • उपचारविधिसम्बन्धी छनौट—के त्यसले केही फरक पार्छ?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 फेब्रुअरी pp. २०-२५

अध्ययन लेख ९

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको मोल गर्नुहोस्‌

“उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।”—प्रेषि. १७:२८.

गीत १४१ जीवन—एउटा चमत्कार

परिचयa

१. यहोवा हाम्रो जीवनलाई कत्तिको बहुमूल्य ठान्‍नुहुन्छ?

मानौँ, तपाईँको एक जना साथीले तपाईँलाई एकदमै पुरानो तर बहुमूल्य चित्र उपहार दिन्छ। यसको रङ्‌ग अलि-अलि खुइलिएको छ, कतै-कतै दाग लागेको छ र चिरा पनि परेको छ। यस्तो खोटको बाबजुद यसको मूल्य लाखौँ पर्छ। तपाईँ पक्कै पनि यस चित्रको मोल गर्नुहुन्छ र यसलाई जतन गरेर राख्नुहुन्छ। त्यसैगरि यहोवाले हामीलाई बहुमूल्य उपहार दिनुभएको छ। त्यो हो, हाम्रो जीवन। वास्तवमा फिरौतीस्वरूप आफ्नो छोरा दिनुभएर यहोवाले हाम्रो जीवनलाई बहुमूल्य ठान्‍नुभएको देखाउनुभएको छ।—युह. ३:१६.

२. दोस्रो कोरिन्थी ७:१ अनुसार यहोवा हामीबाट के चाहनुहुन्छ?

२ यहोवा जीवनको मूल हुनुहुन्छ। (भज. ३६:९) प्रेषित पावल यस कुरामा विश्‍वास गर्थे। तिनले यसो भने: “उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।” (प्रेषि. १७:२५, २८) त्यसैले हामी आफ्नो जीवनलाई परमेश्‍वरले दिनुभएको उपहारको रूपमा हेर्छौँ। उहाँले हामीलाई जीवन जिउनको लागि चाहिने सबै कुरा दिनुभएको छ। (प्रेषि. १४:१५-१७) तर उहाँले हामीलाई जीवित राखिराख्न कुनै चमत्कार गर्नुहुन्‍न। बरु हामीले आफ्नो शारीरिक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्न आफ्नो तर्फबाट सक्दो कोसिस गरेको चाहनुहुन्छ। (२ कोरिन्थी ७:१ पढ्‌नुहोस्‌।) हामीले किन आफ्नो स्वास्थ्य र जीवनको ख्याल राख्नुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौँ?

उपहारस्वरूप पाएको जीवनको मोल गर्नुहोस्‌

३. हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने एउटा कारण के हो?

३ हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने एउटा कारण भनेको हामी स्वस्थ छौँ भने मात्र यहोवालाई सबैभन्दा उत्तम सेवा चढाउन सक्छौँ। (मर्कु. १२:३०) हामी “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण” गर्छौँ। त्यसैले आफ्नो स्वास्थ्यलाई हानि पुऱ्‍याउने कुनै पनि कुरा गर्दैनौँ। (रोमी १२:१) हुनत जत्ति नै प्रयास गरे पनि हामी सधैँ स्वस्थ रहन्छौँ भन्‍ने कुनै ग्यारेन्टी छैन। तर स्वस्थ रहन हामी सक्दो कोसिस गर्छौँ किनकि हामी यहोवालाई उहाँले उपहारस्वरूप दिनुभएको जीवनप्रति कृतज्ञ भएको देखाउन चाहन्छौँ।

४. राजा दाउद के चाहन्थे?

४ राजा दाउद आफूले उपहारस्वरूप पाएको जीवनको मोल गर्थे। यसको कारण तिनले यसरी बताए: “मेरो मृत्यु हुँदा, म खाडलमा जाँदा के फाइदा हुन्छ र? माटोले तपाईँको प्रशंसा गर्छ र? तपाईँको वफादारीको बखान गर्छ र?” (भज. ३०:९) दाउदले यी शब्दहरू आफ्नो जीवनको अन्ततिर लेखेका हुन सक्छन्‌। तर तिनी सकेसम्म स्वस्थ र लामो समयसम्म जीवित रहेर यहोवाको सेवा गरिरहन चाहन्थे। हामी पनि त्यस्तै चाहन्छौँ।

५. वृद्धावस्था र रोगबिमारको बाबजुद हामी के गर्न सक्छौँ?

५ रोगबिमार र वृद्धावस्थाले गर्दा हामीले पहिला गर्दै आएका थुप्रै कुरा गर्न सक्दैनौँ होला। यसले गर्दा हामी हतोत्साहित र निराश हुन सक्छौँ। तर हामीले हरेस खानु हुँदैन र आफ्नो स्वास्थ्यमा हेलचेक्र्‌याइँ गर्नु हुँदैन। किन? किनकि वृद्धावस्था र रोगबिमारको बाबजुद हामी राजा दाउदले जस्तै यहोवाको सेवा गरिरहन सक्छौँ। त्रुटिपूर्ण अवस्थाको बाबजुद परमेश्‍वर हाम्रो मोल गर्नुहुन्छ भन्‍ने कुरा सम्झँदा हाम्रो मनै छुन्छ। (मत्ति १०:२९-३१) हाम्रो मृत्यु भइहाल्यो भने पनि उहाँ हामीलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। (अय्यु. १४:१४, १५) त्यसैले आफ्नो स्वास्थ्य र जीवनको ख्याल राख्न हामीले सक्दो कोसिस गर्नुपर्छ।

हानिकारक बानीहरू त्याग्नुहोस्‌

६. खाने र पिउने सन्दर्भमा हामीले के गरेको यहोवा चाहनुहुन्छ?

६ हुनत बाइबल स्वास्थ्य वा खानपानसम्बन्धी किताब होइन। तर यसले यी विषयहरूमा यहोवाको सोचाइ बुझ्न मदत दिन्छ। जस्तै: उहाँले “शरीरलाई हानि पुऱ्‍याउने कुरादेखि अलग” रहन सल्लाह दिनुभएको छ। (उप. ११:१०) बेसरी खाने र पिउने बानीलाई बाइबलमा निन्दा गरिएको छ किनकि यस्तो बानीले ज्यानै लिन सक्छ। (हितो. २३:२०) हामीले के/कति खाने र पिउने भन्‍ने सन्दर्भमा आत्मसंयम देखाएको यहोवा चाहनुहुन्छ।—१ कोरि. ६:१२; ९:२५.

७. हितोपदेश २:११ ले स्वास्थ्यको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न कसरी मदत गर्छ?

७ हामीले आफ्नो सोच्ने क्षमता चलाएर निर्णयहरू गर्दा उपहारस्वरूप पाएको जीवनको कदर गरिरहेका हुन्छौँ। (भज. ११९:९९, १००; हितोपदेश २:११ पढ्‌नुहोस्‌।) जस्तै, हामी के खाने र नखाने भन्‍ने सन्दर्भमा राम्ररी सोचविचार गर्छौँ। यदि हामीलाई कुनै खानेकुरा एकदमै मन पर्छ तर त्यो खाँदा बिरामी पर्छौँ भनेर थाह छ भने हामी त्यो खाँदैनौँ। पर्याप्त मात्रामा सुतेर, नियमित रूपमा व्यायाम गरेर अनि आफ्नो शरीर र घर-आँगनको सरसफाइमा ध्यान दिएर हामी सुझबुझ चलाउँछौँ।

सुरक्षामा ध्यान दिनुहोस्‌

८. यहोवा हामीले सुरक्षामा ध्यान दिएको चाहनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

८ यहोवाले इस्राएल राष्ट्रलाई घरमा र काम गर्ने ठाउँमा गम्भीर दुर्घटनाहरूबाट जोगिन मदत गर्ने नियमहरू दिनुभएको थियो। (प्रस्थ. २१:२८, २९; व्यव. २२:८) जस्तै, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो भने त्यस हत्याराले गम्भीर नतिजाहरू भोग्नुपर्थ्यो। (व्यव. १९:४, ५) साथै कसैले अनजानमै गर्भमा रहेको बच्चालाई हानि पुऱ्‍यायो भने पनि व्यवस्थाअनुसार उसलाई सजाय दिनुपर्थ्यो। (प्रस्थ. २१:२२, २३) यसबाट यहोवा हामीले सुरक्षामा ध्यान दिएको चाहनुहुन्छ भनेर प्रस्ट हुन्छ।

तस्बिरहरूको सँगालो: १. एक भाइ गाडी चलाइरहेको बेला मेसेज पठाउँदै छन्‌। २. सानो बच्चा किचेनको दराजमा सफाइका केमिकलहरू हेर्दै छन्‌। ३. एक भाइले निर्माणकार्यमा ड्रिल प्रयोग गर्दा कुनै पनि सुरक्षा सामग्री प्रयोग गरेका छैनन्‌।

यी अवस्थाहरूमा हामी कसरी जीवनको मोल गरेको देखाउन सक्छौँ? (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. दुर्घटनाबाट जोगिन हामी कस्तो सावधानी अपनाउन सक्छौँ? (तस्बिरहरू पनि हेर्नुहोस्‌।)

९ हामी घरमा र काम गर्ने ठाउँमा सुरक्षा सावधानी अपनाएर उपहारस्वरूप पाएको जीवनको मोल गरेको देखाउँछौँ। जस्तै: हामी कुनै धारिलो वस्तु, विषाक्‍त केमिकलहरू वा औषधीहरू सुरक्षित तरिकामा फाल्छौँ र यस्ता सामग्रीहरू केटाकेटीले नभेट्‌ने ठाउँमा राख्छौँ। हामी आगो बाल्दा, पानी उमाल्दा अनि मेसिनरी सामानहरू चलाउँदा सावधानी अपनाउँछौँ र त्यत्तिकै छोडेर हिँड्‌दैनौँ। निद्रा लगाउने तथा लट्ठ पार्ने खालको औषधी खाएको बेला, निद्रा नपुगेको अवस्थामा अथवा रक्सी खाएको बेला सवारीसाधन चलाउँदैनौँ न त मोबाइल प्रयोग गर्दै सवारीसाधन चलाउँछौँ।

विपत्ति आइपर्दा

१०. ज्यानै जान सक्ने विपत्तिको अघि र त्यस दौडान हामी के गर्न सक्छौँ?

१० विपत्ति आइपर्दा कहिलेकाहीँ हामी ज्यानै जान सक्ने अवस्थामा पर्न सक्छौँ। जस्तै: प्राकृतिक प्रकोप, महामारी, युद्ध र हूलदङ्‌गा। यस्ता आपत्‌कालीन अवस्था आइपर्दा सरकारले कर्फ्यु लगाउन सक्छ, सुरक्षित ठाउँमा जाने आदेश दिन सक्छ र कुनै रोक लगाउन सक्छ। ती नियमहरू पालन गरेर हामी जोखिम कम गर्न सक्छौँ र आफ्नो ज्यान जोगाउन सक्छौँ। (रोमी १३:१, ५-७) तर कुनै-कुनै विपत्तिको लागि हामी पूर्वतयारी गर्न सक्छौँ। यसको लागि हामीले स्थानीय सरकारले दिने निर्देशनहरू पालन गर्नुपर्छ। जस्तै: खानेपानी, लामो समयसम्म नबिग्रिने खानेकुरा र प्राथमिक उपचार सामग्रीहरू पहिल्यै तयारी अवस्थामा राख्नु।

११. सङ्‌क्रामक रोग फैलिँदा हामीले के गर्नुपर्छ?

११ हामी बसिरहेको ठाउँमा सङ्‌क्रामक रोग फैलियो भने के गर्नुपर्छ? हामीले सरकारले दिने निर्देशन पालन गर्नुपर्छ। जस्तै: हात धुने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र क्वारेन्टाइनमा बस्ने। यस्ता निर्देशनहरू पालन गर्दा हामीले उपहारस्वरूप पाएको जीवनको मोल गरिरहेका हुन्छौँ।

१२. विपत्तिको बेला हितोपदेश १४:१५ को सिद्धान्त कसरी लागू गर्न सक्छौँ?

१२ यस्ता आपत्‌कालीन अवस्थाहरूमा हाम्रा साथीहरू र छिमेकीहरूमाझ अनि सञ्चार माध्यममा गलत जानकारी फैलिन सक्छ। हामीले सुनेको “सबै कुरा” पत्याउनु हुँदैन बरु सरकारी निकाय र डाक्टरहरूले दिने भरपर्दो जानकारी सुन्‍नुपर्छ। (हितोपदेश १४:१५ पढ्‌नुहोस्‌।) परिचालक निकाय र शाखा कार्यालयहरूले सभाहरू र साक्षीकार्यको सन्दर्भमा कुनै निर्देशन दिनुअघि सही जानकारीहरू प्राप्त गर्न सक्दो कोसिस गर्छन्‌। (हिब्रू १३:१७) यी निर्देशनहरू पालन गरेर हामी आफ्नो र अरूको सुरक्षामा ध्यान दिन्छौँ। साथै मण्डलीले पनि समाजमा राम्रो नाम कमाउन सक्छ।—१ पत्रु. २:१२.

रगतबाट अलग रहन तयार हुनुहोस्‌

१३. रगतसम्बन्धी मामिलामा जीवनको मोल गरेको कसरी देखाउन सक्छौँ?

१३ यहोवाका साक्षीहरू रगतलाई पवित्र ठान्छन्‌ भनेर थुप्रै मानिसलाई थाह छ। हामी उपचारको क्रममा ज्यानै जान सक्ने अवस्थामा समेत रगतसम्बन्धी यहोवाको आज्ञा पालन गर्छौँ। (प्रेषि. १५:२८, २९) यसको मतलब हामीलाई आफ्नो ज्यानको माया नै छैन भन्‍ने त होइन। बरु हामी उपहारस्वरूप पाएको जीवनको मोल गर्छौँ। त्यसैले रगत नदिई उपचार गराउन तयार डाक्टरहरूको मदत लिन्छौँ।

१४. गम्भीर किसिमको स्वास्थ्य उपचार गराउनुपर्ने सम्भावनालाई कसरी कम गर्न सक्छौँ?

१४ यस लेखमा छलफल गरिएका स्वास्थ्यसम्बन्धी सुझावहरू पालन गर्दा शल्यक्रिया वा गम्भीर किसिमको स्वास्थ्य उपचार गराउनुपर्ने अवस्थादेखि जोगिन सक्छौँ। हामी स्वस्थ छौँ भने शल्यक्रियाको दौडान ठूला समस्याहरू आइपर्ने सम्भावना कम हुन्छ र शल्यक्रियापछि बिरामी पनि छिटो निको हुन सक्छ। घरमा र काम गर्ने ठाउँमा सुरक्षा सावधानी अपनाउँछौँ र ट्राफिक नियम पालन गर्छौँ भने आकस्मिक शल्यक्रिया गराउनुपर्ने सम्भावना कम हुनेछ।

१. एक भाइ स्थायी अख्तियारनामा कार्ड भर्दै छन्‌। तिनको ट्याबलेटमा “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताबको पाठ ३९ खुल्लै छ। तिनी अख्तियारनामा कार्ड आफ्नो पर्समा राख्दै छन्‌ र साइकल चढ्‌दा तिनले आफूसित पर्स बोकेका छन्‌।

हामी उपहारस्वरूप पाएको जीवनको मोल गर्छौँ; त्यसैले स्थायी अख्तियारनामा कार्ड भर्छौँ र सधैँ आफ्नो साथमा राख्छौँ (अनुच्छेद १५ हेर्नुहोस्‌)d

१५. (क) हामीले अख्तियारनामा कार्ड किन सधैँ आफ्नो साथमा राख्नुपर्छ? (तस्बिर पनि हेर्नुहोस्‌।) (ख) भिडियोमा देखाइएझैँ उपचारमा रगत प्रयोग गर्नेबारे कसरी सही निर्णय गर्न सक्छौँ?

१५ हामी उपहारस्वरूप पाएको जीवनको मोल गर्छौँ। त्यसैले हामी स्थायी अख्तियारनामा कार्ड भर्छौँ र सधैँ आफ्नो साथमा राख्छौँ।b उक्‍त कार्डमा हामीले रगतबारे र केही स्वास्थ्य उपचारबारे आफ्नो इच्छा व्यक्‍त गरेका हुन्छौँ। के तपाईँको अख्तियारनामा कार्डमा भरिएको जानकारी नयाँ हो? यदि तपाईँले त्यो कार्ड भर्नुभएको छैन वा त्यसमा केही फेरबदल गर्नुपर्ने छ भने ढिलासुस्ती नगर्नुहोस्‌। त्यस कार्डमा हामीले आफ्नो इच्छा स्पष्टसित लेखेका छौँ भने हाम्रो उपचारमा अनावश्‍यक ढिलाइ हुनेछैन। साथै डाक्टर तथा नर्सहरूले हामीलाई सही उपचार र औषधी दिन सक्नेछन्‌।c

१६. डीपीए कार्ड भर्न आउँदैन भने के गर्न सक्छौँ?

१६ हामी जवान वा स्वस्थ भए तापनि दुर्घटनामा पर्न सक्छौँ वा बिरामी हुन सक्छौँ। (उप. ९:११) त्यसैले डीपीए कार्ड भर्नु बुद्धिमानी हो। त्यो कार्ड भर्न आउँदैन भने कुनै एल्डरको मदत लिनुहोस्‌। तिनले तपाईँलाई त्यो कार्ड भर्न मदत गर्नेछन्‌। तर तिनले तपाईँको लागि स्वास्थ्यसम्बन्धी निर्णयहरू भने गरिदिनेछैनन्‌। त्यस्तो निर्णय गर्ने जिम्मेवारी तपाईँको हो। (गला. ६:४, ५) तर एल्डरहरूले तपाईँलाई उपचारसम्बन्धी के-कस्ता विकल्प छन्‌ भनेर बुझ्न र तपाईँको इच्छा त्यस कार्डमा लेख्न मदत गर्न भने सक्छन्‌।

व्यावहारिक हुनुहोस्‌

१७. स्वास्थ्यको सन्दर्भमा व्यावहारिक भएको कसरी देखाउन सक्छौँ?

१७ स्वास्थ्य र उपचारसम्बन्धी छनौटहरू गर्नुपर्दा हामी बाइबल प्रशिक्षित अन्तस्करणको आधारमा निर्णय गर्छौँ। (प्रेषि. २४:१६; १ तिमो. ३:९) कुनै निर्णय गर्नुपर्दा र त्यसबारे अरूसित कुरा गर्दा हामी फिलिप्पी ४:५ मा पाइने सिद्धान्त लागू गर्छौँ, जहाँ यस्तो लेखिएको छ: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।” हामी व्यावहारिक छौँ भने आफ्नो स्वास्थ्यको अचाक्ली चिन्ता गर्दैनौँ न त आफ्नो विचारधारा अरूमाथि लाद्‌न खोज्छौँ। भाइबहिनीले गरेको निर्णय हाम्रो भन्दा फरक छ भने पनि हामी तिनीहरूलाई प्रेम र आदर गर्छौँ।—रोमी १४:१०-१२.

१८. जीवनको मूल यहोवाप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?

१८ हामी आफ्नो स्वास्थ्य र जीवनको ख्याल राखेर अनि परमेश्‍वरलाई सबैभन्दा उत्तम सेवा चढाएर जीवनको मूल यहोवाप्रति कृतज्ञ भएको देखाउँछौँ। (प्रका. ४:११) अहिले हामी सबै जनाले रोगबिमार र विपत्तिको सामना गर्नुपर्ने हुन्छ। तर हाम्रो सृष्टिकर्ताको उद्देश्‍य हामीले दुःख पाओस्‌ भन्‍ने थिएन। उहाँले चाँडै पीडा अनि मृत्यु नहुने संसारमा हामीलाई अनन्त जीवन दिनुहुनेछ। (प्रका. २१:४) त्यतिन्जेल उपहारस्वरूप पाएको यो जीवन हाम्रो मायालु बुबा यहोवाको सेवामा बिताउन पाउनु कत्ति ठूलो सुअवसर!

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले किन आफ्नो जीवनको मोल गर्नुपर्छ?

  • जीवनको मोल गरेको कुन-कुन तरिकामा देखाउन सक्छौँ?

  • स्वास्थ्यको सन्दर्भमा व्यावहारिक भएको कसरी देखाउन सक्छौँ?

गीत १४० जीवन—सधैँभरिलाई!

a यस लेखले हामीलाई परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको अझ धेरै मोल गर्न मदत गर्नेछ। कुनै विपत्ति आइपर्दा हामी आफ्नो स्वास्थ्य र जीवन सुरक्षित राख्न कस्ता कदमहरू चाल्न सक्छौँ र दुर्घटनामा पर्ने सम्भावना कसरी कम गर्न सक्छौँ भनेर यस लेखबाट बुझ्नेछौँ। साथै स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको लागि के-कस्तो पूर्वतयारी गर्न सक्छौँ भनेर पनि बुझ्नेछौँ।

b यस कार्डलाई डीपीए पनि भनिन्छ।

c jw.org मा रगत प्रयोग हुने स्वास्थ्य सेवासम्बन्धी कसरी सही निर्णय गर्न सकिन्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।

d तस्बिरको व्याख्या: एक जवान भाइ स्थायी अख्तियारनामा कार्ड भर्छन्‌ र सधैँ आफ्नो साथमा राख्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने