प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अगस्त pp. ८-१३
  • बाइबलका भविष्यवाणीहरूबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलका भविष्यवाणीहरूबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको भविष्यवाणी किन अध्ययन गर्नुपर्छ?
  • बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्नुपर्छ?
  • तपाईँले फलाम र माटो मिसिएर बनेको खुट्टाबारे किन बुझ्नुपर्छ?
  • “उत्तरका राजा” र “दक्षिणका राजा”-ले तपाईँमा कस्तो प्रभाव पार्छन्‌?
  • भविष्यवाणीहरूमा ध्यान दिइरहनुहोस्‌
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • अहिले “उत्तरका राजा” को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • राजनैतिक उथलपुथल—यसले कसरी बाइबलको भविष्यवाणी पूरा गर्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अगस्त pp. ८-१३

अध्ययन लेख ३४

बाइबलका भविष्यवाणीहरूबाट सिक्नुहोस्‌

“अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्‌।”—दानि. १२:१०.

गीत ९८ धर्मशास्त्र—ईश्‍वर प्रेरित

परिचयa

१. बाइबलका भविष्यवाणीहरूको अध्ययनलाई रमाइलो बनाउन कुन कुराले मदत गर्छ?

एक जवान भाइ बेन यसो भन्छन्‌: “मलाई बाइबलका भविष्यवाणीहरू अध्ययन गर्न मन पर्छ।” तपाईँलाई चाहिँ कस्तो लाग्छ? भविष्यवाणीहरू बुझ्न एकदमै गाह्रो लाग्छ कि? वा त्यसबारे अध्ययन गर्न झ्याउ लाग्छ कि? यहोवाले भविष्यवाणीहरू लेख्न लगाउनुका कारणहरू बुझ्नुभयो भने तपाईँलाई त्यसबारे अध्ययन गरूँ-गरूँ जस्तो लाग्न सक्छ।

२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ यस लेखमा हामी बाइबलका भविष्यवाणीहरू किन र कसरी अध्ययन गर्नुपर्छ भनेर छलफल गर्नेछौँ। त्यसपछि दानिएलको किताबका दुई वटा भविष्यवाणी जाँच्नेछौँ र त्यसबारे बुझ्दा अहिले कस्तो लाभ उठाउन सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

बाइबलको भविष्यवाणी किन अध्ययन गर्नुपर्छ?

३. बाइबलको भविष्यवाणी बुझ्न हामीले के गर्नुपर्छ?

३ बाइबलको भविष्यवाणी बुझ्न हामीलाई मदत चाहिन्छ। यो उदाहरण विचार गरौँ। तपाईँ पहिला कहिल्यै नगएको ठाउँमा घुम्न जाँदै हुनुहुन्छ। अनि तपाईँसँगै त्यस ठाउँबारे राम्रो ज्ञान भएको साथी पनि छन्‌। तपाईँहरू कहाँ हुनुहुन्छ र कुन बाटो कहाँ जान्छ भनेर तिनलाई थाह छ। तिनी तपाईँसँगै आउन राजी भएकोमा तपाईँ पक्कै खुसी हुनुहुन्छ। यहोवा पनि त्यस्तै साथी हुनुहुन्छ। उहाँलाई हामी कुन समयमा बाँचिरहेका छौँ र हाम्रो भविष्य कस्तो छ भनेर थाह छ। त्यसैले बाइबलको भविष्यवाणी बुझ्न हामीले नम्र भई यहोवासित मदत माग्नुपर्छ।—दानि. २:२८; २ पत्रु. १:१९, २०.

एक दम्पती “दानिएल: तिनले जीवनभर विश्‍वास देखाए” भन्‍ने भिडियो हेर्दै छ।

बाइबलका भविष्यवाणीहरू अध्ययन गर्दा भविष्यमा हुने घटनाहरूको लागि तयार हुन मदत पाउँछौँ (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. यहोवाले किन भविष्यवाणीहरू लेख्न लगाउनुभयो? (यर्मिया २९:११) (तस्बिर पनि हेर्नुहोस्‌।)

४ असल आमाबुबाजस्तै यहोवा आफ्ना छोराछोरीको भविष्य उज्ज्वल भएको चाहनुहुन्छ। (यर्मिया २९:११ पढ्‌नुहोस्‌।) मानव आमाबुबाले छोराछोरीको भविष्य यस्तै हुन्छ भनेर बताउन सक्दैनन्‌। तर यहोवाले भने भविष्यबारे सही कुरा बताउन सक्नुहुन्छ। हामीले महत्त्वपूर्ण घटनाहरू पहिल्यै थाह पाउन सकौँ भनेर उहाँले आफ्नो वचनमा भविष्यवाणीहरू लेख्न लगाउनुभयो। (यसै. ४६:१०) ती भविष्यवाणीहरू उहाँले दिनुभएका मायालु उपहारहरू हुन्‌। तर ती भविष्यवाणीहरू पक्कै पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामी कसरी विश्‍वस्त हुन सक्छौँ?

५. म्याक्सको अनुभवबाट जवानहरूले के सिक्न सक्छन्‌?

५ जवान भाइबहिनीको स्कुलका धेरैजसो साथी बाइबलको आदर गर्दैनन्‌। तिनीहरूले भन्‍ने कुरा र तिनीहरूको व्यवहारले जवान साक्षीहरूको मनमा शङ्‌का पैदा गर्न सक्छ। म्याक्स भाइको अनुभव विचार गरौँ। तिनी भन्छन्‌: “स्कुलमा छँदा आमाबुबाले परमेश्‍वरबारे सिकाइरहनुभएको कुरा साँचो हो कि होइन र बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो कि होइन भन्‍ने कुरामा शङ्‌का लाग्न थाल्यो।” तिनका आमाबुबाले के गरे? तिनी भन्छन्‌: “मेरो कुरा सुनेर आमाबुबा चिन्तित हुनुभयो तर उहाँहरूले मसँग झर्केर कुरा गर्नुभएन, शान्तपूर्वक कुरा गर्नुभयो।” म्याक्सको आमाबुबाले तिनका प्रश्‍नहरूको जवाफ बाइबलबाटै दिए। अनि म्याक्स आफैले पनि केही कदम चाले। तिनी भन्छन्‌: “मैले बाइबलका भविष्यवाणीहरू अध्ययन गरेँ र सिकेका कुराहरू मण्डलीका जवानहरूसित छलफल गरेँ।” नतिजा कस्तो भयो? म्याक्स भन्छन्‌: “बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो भन्‍ने कुरामा म विश्‍वस्त भएँ!”

६. तपाईँको मनमा शङ्‌का उब्जेको छ भने के गर्नुपर्छ र किन?

६ म्याक्सलाई जस्तै तपाईँलाई पनि बाइबलको कुरामा शङ्‌का लाग्न थालेको छ भने अप्ठेरो मान्‍नुपर्दैन। तर तपाईँले केही कदम भने चाल्नुपर्छ। किनभने शङ्‌का खियाजस्तै हो। यदि त्यसलाई बेवास्ता गऱ्‍यौँ भने त्यसले बहुमूल्य कुरालाई बिस्तारै बिगार्न सक्छ। विश्‍वासलाई कमजोर बनाउने खियारूपी शङ्‌कालाई हटाउन आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘के म पूरा हुन बाँकी भएका भविष्यवाणीहरूमा विश्‍वास गर्छु?’ यदि विश्‍वास गर्नुहुन्‍न भने पूरा भइसकेका भविष्यवाणीहरू अध्ययन गर्नुहोस्‌। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्नुपर्छ?

एक बहिनी मे, २०२२ को “प्रहरीधरहरा”-मा उत्तरका राजा र दक्षिणका राजाबारे गरिएको भविष्यवाणी अध्ययन गर्दै छिन्‌।

दानिएलले जस्तै यहोवामा भरोसा गर्न हामीले बाइबलका भविष्यवाणीहरू नम्र भएर, सही मनसाय राखेर अनि गहिरिएर अध्ययन गर्नुपर्छ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्ने भन्‍ने सन्दर्भमा दानिएलले कस्तो उदाहरण बसाले? (दानिएल १२:१०) (तस्बिर पनि हेर्नुहोस्‌।)

७ बाइबलको भविष्यवाणी कसरी अध्ययन गर्ने भन्‍ने सन्दर्भमा दानिएलले राम्रो उदाहरण बसालेका छन्‌। तिनले सही मनसायले भविष्यवाणीहरू अध्ययन गरे। किनकि तिनी सत्य कुरा बुझ्न चाहन्थे। दानिएल नम्र पनि थिए। यहोवाले उहाँलाई चिन्‍ने र उहाँको स्तरअनुरूप जीवन बिताउनेहरूलाई भविष्यवाणीहरू बुझ्न मदत गर्नुहुनेछ भनेर तिनलाई थाह थियो। (दानि. २:२७, २८; दानिएल १२:१० पढ्‌नुहोस्‌।) दानिएलले मदतको लागि यहोवामा भर परेर नम्रता देखाए। (दानि. २:१८) दानिएल गहिरो अध्ययन पनि गर्थे। तिनले आफूसँग उपलब्ध भएका धर्मशास्त्रका किताबहरूमा अनुसन्धान गरे। (यर्मि. २५:११, १२; दानि. ९:२) हामी कसरी दानिएलको अनुकरण गर्न सक्छौँ?

८. केही मानिस कस्तो मनसायले बाइबलको भविष्यवाणी अध्ययन गर्छन्‌ तर हामीले के गर्नुपर्छ?

८ आफ्नो मनसाय जाँच्नुहोस्‌। के तपाईँ सत्य कुरा जान्‍ने तीव्र इच्छा राख्दै बाइबलको भविष्यवाणी अध्ययन गर्नुहुन्छ? गर्नुहुन्छ भने यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। (युह. ४:२३, २४; १४:१६, १७) तर केही मानिस कस्तो मनसायले बाइबलको भविष्यवाणी अध्ययन गर्छन्‌? तिनीहरू बाइबल परमेश्‍वरको वचन होइन भनेर प्रमाणित गर्न अध्ययन गर्छन्‌। यदि बाइबल परमेश्‍वरको वचन होइन भने सही र गलतको स्तर आफैले तोक्न सकिन्छ भनेर तिनीहरू सोच्छन्‌। तर हामीले सही मनसायले अध्ययन गर्नुपर्छ। अनि बाइबलको भविष्यवाणी बुझ्न हामीलाई एउटा महत्त्वपूर्ण गुण चाहिन्छ।

९. बाइबलको भविष्यवाणी बुझ्न कुन गुण चाहिन्छ, व्याख्या गर्नुहोस्‌।

९ नम्र हुनुहोस्‌। यहोवाले नम्रहरूलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। (याकु. ४:६) त्यसैले बाइबलको भविष्यवाणी बुझ्न हामीले उहाँलाई प्रार्थना गर्नुपर्छ। नम्र छौँ भने यहोवाले ठीक समयमा आध्यात्मिक भोजन दिन चलाउनुहुने माध्यम अर्थात्‌ विश्‍वासी दासको मदत चाहिन्छ भनेर हामी स्विकार्छौँ। (लुका १२:४२) यहोवा गोलमालका परमेश्‍वर हुनुहुन्‍न। त्यसैले उहाँको वचनमा भएको सत्य बुझ्न उहाँले एउटा मात्र माध्यम चलाउनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।—१ कोरि. १४:३३; एफि. ४:४-६.

१०. एस्तरको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१० गहिरो अध्ययन गर्नुहोस्‌। सुरुमा आफूलाई रोचक लागेको एउटा भविष्यवाणी रोज्नुहोस्‌ र त्यसबारे अनुसन्धान गर्नुहोस्‌। एस्तर बहिनीले त्यसै गरिन्‌। तिनी मसीह देखा पर्ने समयबारे गरिएका भविष्यवाणीहरू अझ राम्ररी बुझ्न चाहन्थिन्‌। तिनी भन्छिन्‌: “पन्ध्र वर्षको हुँदा मैले ती भविष्यवाणीहरू येसुको समयभन्दा अघि लेखिएका हुन्‌ कि होइनन्‌ भन्‍नेबारे प्रमाणहरू खोज्न थालेँ।” मृतसागरमा फेला परेका पाण्डुलिपिहरूबारे पढेपछि तिनी त्यस कुरामा विश्‍वस्त हुन सकिन्‌। तिनी भन्छिन्‌: “ती पाण्डुलिपिहरूमध्ये केही ख्रिष्टको समयभन्दा अघि लेखिएका थिए। त्यसैले त्यसमा गरिएका भविष्यवाणीहरू परमेश्‍वरबाटै आएको हुनुपर्छ।” एस्तर यो कुरा मानिलिन्छिन्‌: “भविष्यवाणीहरू राम्ररी बुझ्न मैले दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌नुपऱ्‍यो।” तर त्यसरी मेहनत गरेकोमा तिनी खुसी छिन्‌। यसरी केही भविष्यवाणी गहिरिएर अध्ययन गरेपछि तिनी बाइबलको कुरा शतप्रतिशत सत्य हो भन्‍ने कुरामा विश्‍वस्त हुन सकिन्‌।

११. बाइबलको कुरा सही छ भन्‍ने कुरामा विश्‍वस्त हुँदा हामी कस्तो लाभ उठाउन सक्छौँ?

११ बाइबलका केही भविष्यवाणी कसरी पूरा भए भनेर बुझ्दा हामी यहोवा र उहाँले दिनुहुने निर्देशनमाथि पूर्ण भरोसा विकास गर्न सक्छौँ। साथै बाइबलका भविष्यवाणीहरूमा हाम्रो आशाबारे पनि बताइएको छ। यसबारे अध्ययन गर्दा जस्तोसुकै परीक्षाको बाबजुद सकारात्मक भइरहन मदत पाउँछौँ। दानिएलले गरेका दुई वटा भविष्यवाणीबारे छोटकरीमा विचार गरौँ, जुन अहिले पूरा भइरहेका छन्‌। ती भविष्यवाणीहरू बुझ्दा हामीले बुद्धिमानी निर्णय गर्न मदत पाउनेछौँ।

तपाईँले फलाम र माटो मिसिएर बनेको खुट्टाबारे किन बुझ्नुपर्छ?

१२. “फलाम र गिलो माटो मिसिएर” बनेका खुट्टाहरूले केलाई बुझाउँछ? (दानिएल २:४१-४३)

१२ दानिएल २:४१-४३ पढ्‌नुहोस्‌। राजा नबुकद्‌नेजरले सपनामा देखेको विशाल मूर्तिका खुट्टाहरू “फलाम र गिलो माटो मिसिएर बनेको थियो।” यस भविष्यवाणीलाई दानिएल र प्रकाशको किताबका अरू भविष्यवाणीसित तुलना गर्दा यी खुट्टाहरूले एङ्‌ग्लो-अमेरिकी गठबन्धनलाई बुझाउँछ भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ। यस विश्‍वशक्‍तिको सन्दर्भमा दानिएलले यसो भने: “त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।” किन कुनै पक्षमा कमजोर हुनेछ? किनभने त्यो विश्‍वशक्‍ति फलामजस्तै शक्‍तिशाली भए पनि गिलो माटोले सङ्‌केत गर्ने आम मानिसहरूले त्यसको कार्यक्षमतालाई कमजोर बनाइदिन्छन्‌।b

१३. हामी यस भविष्यवाणीबाट कस्ता महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ?

१३ दानिएलले अर्थ खोलेको मूर्ति र अझ विशेषगरि त्यसका पाउहरूबाट हामी थुप्रै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। पहिलो, एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले विभिन्‍न तरिकामा आफ्नो शक्‍ति प्रदर्शन गरेको छ। जस्तै: यसले पहिलो र दोस्रो विश्‍वयुद्ध जित्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर यो विश्‍वशक्‍ति कमजोर हुँदै गइरहेको छ किनकि यसका नागरिकहरू आपसमा लड्‌छन्‌ र सरकारको पनि विरोध गर्छन्‌। दोस्रो, यो गठबन्धन नै अन्तिम विश्‍वशक्‍ति हुनेछ। हुनत कहिलेकाहीँ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई अरू राष्ट्रहरूले चुनौती दिन सक्छन्‌। तर कुनै राष्ट्रले यसको ठाउँ लिनेछैन। किनकि परमेश्‍वरको राज्यलाई चित्रण गर्ने “ढुङ्‌गा” एङ्‌ग्लो-अमेरिकी गठबन्धनलाई चित्रण गर्ने पाउहरूमा बजारिनेछ र त्यसलाई धुलोपिठो पार्नेछ।—दानि. २:३४, ३५, ४४, ४५.

१४. फलाम र माटो मिसिएका पाउहरूबारे गरिएको भविष्यवाणी बुझ्दा कसरी बुद्धिमानी निर्णय गर्न मदत पाउँछौँ?

१४ फलाम र माटो मिसिएका पाउहरूबारे दानिएलले गरेको भविष्यवाणी सत्य हो भन्‍ने कुरामा के तपाईँ विश्‍वस्त हुनुहुन्छ? हुनुहुन्छ भने यसले तपाईँको जीवनशैलीलाई असर गर्नेछ। तपाईँले चाँडै नाश हुने यस संसारमा प्रशस्त धनसम्पत्ति कमाउने कुरामा ध्यान दिनुहुनेछैन। (लुका १२:१६-२१; १ युह. २:१५-१७) यो भविष्यवाणी बुझ्दा साक्षी दिने र सिकाउने काम कत्ति महत्त्वपूर्ण छ भनेर तपाईँले बुझ्नुहुनेछ। (मत्ति ६:३३; २८:१८-२०) हामीले यो भविष्यवाणी छोटकरीमा अध्ययन गऱ्‍यौँ। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘परमेश्‍वरको राज्यले चाँडै सम्पूर्ण मानव सरकारलाई नाश गर्नेछ भन्‍ने कुरामा विश्‍वस्त भएको के मेरा निर्णयहरूबाट देखिन्छ?’

“उत्तरका राजा” र “दक्षिणका राजा”-ले तपाईँमा कस्तो प्रभाव पार्छन्‌?

१५. अहिले “उत्तरका राजा” र “दक्षिणका राजा” को हुन्‌? (दानिएल ११:४०)

१५ दानिएल ११:४० पढ्‌नुहोस्‌। दानिएल अध्याय ११ मा दुई जना राजा अर्थात्‌ राजनैतिक शक्‍तिहरूबारे बताइएको छ। ती राजाहरू विश्‍वको सबैभन्दा शक्‍तिशाली राष्ट्र बन्‍न एकअर्कासित भिड्‌छन्‌। यस भविष्यवाणीलाई बाइबलका अरू भविष्यवाणीहरूसित तुलना गरेर हेर्दा “उत्तरका राजा”-ले रूस र त्यसका समर्थकहरूलाई अनि “दक्षिणका राजा”-ले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई बुझाउँछ भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ।c

तस्बिरहरूको सँगालो: १. अगाडि देखाइएको दम्पतीलाई हतकडी लगाइए तापनि तिनीहरू साहसी भई खडा छन्‌। पछाडिपट्टि रूसी ह्वाइट हाउस र रूसको नक्सा छ। सशस्त्र सेना विमान, बन्दुक र ट्याङ्‌कसहित आक्रमण गर्दै छ। २. अगाडि देखाएकी बहिनी साहसी भई खडा छिन्‌। पछाडिपट्टि अमेरिकी संसद्‌भवनका साथै बेलायत र अमेरिकाका नक्साहरू छन्‌। आक्रोषित प्रदर्शनकारीहरू नाराबाजी गर्दै छन्‌। सशस्त्र सेना ट्याङ्‌क, युद्धपोत र विमानसहित आक्रमण गर्दै छ।

“उत्तरका राजा” र “दक्षिणका राजा”-ले गरिरहेको आक्रमण बाइबल भविष्यवाणीको पूर्ति हो भनेर बुझ्यौँ भने हामी आफ्नो विश्‍वास अझ बलियो बनाउन सक्छौँ र औधी चिन्तित हुनेछैनौँ (अनुच्छेद १६-१८ हेर्नुहोस्‌)

१६. “उत्तरका राजा”-ले शासन गर्ने देशहरूमा बस्ने साक्षीहरूले कस्ता चुनौतीहरूको सामना गर्छन्‌?

१६ “उत्तरका राजा”-ले शासन गरिरहेका देशहरूमा बस्ने परमेश्‍वरका जनहरूले प्रत्यक्ष आक्रमण भोगिरहेका छन्‌। आफ्नो विश्‍वासको कारण केही साक्षीलाई पिटिएको छ र झ्यालखानामा हालिएको छ। यस्तो आक्रमणले हाम्रा भाइबहिनीलाई त्रसित बनाउनुको साटो तिनीहरूको विश्‍वासलाई अझै बलियो बनाएको छ। किन? किनभने परमेश्‍वरका जनहरूमाथि आउने यस्तो खेदोले दानिएलको भविष्यवाणी पूरा गर्छ भनेर तिनीहरूलाई थाह छ।d (दानि. ११:४१) यो कुरा थाह पाउँदा हामीले आफ्नो आशालाई बलियो बनाइराख्न र यहोवाप्रति वफादार रहिरहन मदत पाउँछौँ।

१७. “दक्षिणका राजा”-ले शासन गरेको देशहरूमा बस्ने साक्षीहरूले कस्ता चुनौतीहरूको सामना गरे?

१७ विगतमा “दक्षिणका राजा”-ले पनि यहोवाका जनहरूमाथि प्रत्यक्ष आक्रमण गरेको छ। जस्तै: बीसौँ शताब्दीको बीचसम्म थुप्रै भाइबहिनीलाई तिनीहरूको तटस्थताको कारण झ्यालखानामा हालियो र साक्षी केटाकेटीलाई स्कुलबाट निकालियो। तर हालैका दशकहरूमा दक्षिणका राजाले शासन गरेको देशहरूमा बस्ने यहोवाका सेवकहरूले अप्रत्यक्ष आक्रमणको सामना गरिरहेका छन्‌। जस्तै: चुनावको प्रचारप्रसारको दौडान ख्रिष्टियनहरूलाई कुनै पार्टी वा उम्मेदवारको कुरा मन परेकोले उनीहरूलाई समर्थन गरूँ जस्तो लाग्न सक्छ। हुनत तिनी भोटै खसाल्न त नजालान्‌ तर तिनले आफ्नो मनमस्तिष्कमा भने कसैको पक्ष लिइरहेका हुन सक्छन्‌। त्यसैले हामी आफ्नो व्यवहारमा मात्र होइन, आफ्नो सोचाइ अनि भावनामा पनि तटस्थ रहनु महत्त्वपूर्ण छ!—युह. १५:१८, १९; १८:३६.

१८. “उत्तरका राजा” र “दक्षिणका राजा” आपसमा भिड्‌दा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? (तस्बिर पनि हेर्नुहोस्‌।)

१८ बाइबलको भविष्यवाणीमा विश्‍वास नगर्ने मानिसहरू “दक्षिणका राजा”-ले “उत्तरका राजा”-सित ‘सिङ जुधाएको’ देख्दा एकदमै चिन्तित हुन सक्छन्‌। (दानि. ११:४०, फुटनोट) ती दुवै राजासित पृथ्वीका सम्पूर्ण मानिसजातिलाई नाश गर्ने आणविक हातहतियारहरू प्रशस्तै छन्‌। तर यहोवाले मानिसजातिलाई नाश हुन दिनुहुनेछैन भनेर हामीलाई थाह छ। (यसै. ४५:१८) त्यसैले “उत्तरका राजा” र “दक्षिणका राजा”-बीचको दुस्मनीले हामीलाई चिन्तित बनाउनुको साटो हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। यस्तो दुस्मनीले संसारको अन्त नजिकै छ भन्‍ने कुरालाई पुष्टि गर्छ।

भविष्यवाणीहरूमा ध्यान दिइरहनुहोस्‌

१९. बाइबल भविष्यवाणीको सन्दर्भमा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१९ कुनै-कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर हामीलाई थाह छैन। भविष्यवक्‍ता दानिएलले पनि आफूले लेखेको सबै कुराको अर्थ बुझेका थिएनन्‌। (दानि. १२:८, ९) तर कुनै भविष्यवाणी कसरी पूरा हुनेछ भनेर एक-एक कुरा थाह छैन भन्दैमा त्यो पूरा हुनेछैन भन्‍ने त होइन। यहोवाले विगतमा जस्तै आज पनि ठीक समयमा आवश्‍यक कुरा पक्कै प्रकट गर्नुहुनेछ।—आमो. ३:७.

२०. बाइबलका कस्ता रोमाञ्चकारी भविष्यवाणीहरू चाँडै पूरा हुनेछन्‌ र हामीले के गरिरहनुपर्छ?

२० अब चाँडै “शान्ति र सुरक्षा”-को घोषणा गरिनेछ। (१ थिस्स. ५:३) त्यसपछि संसारका राजनैतिक शक्‍तिहरूले झूटो धर्ममाथि आक्रमण गर्नेछन्‌ र त्यसलाई नाश गर्नेछन्‌। (प्रका. १७:१६, १७) अनि तिनीहरूले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछन्‌। (इज. ३८:१८, १९) त्यसपछि अन्तिम युद्ध अर्थात्‌ आरमागेडोन सुरु हुनेछ। (प्रका. १६:१४, १६) यी घटनाहरू चाँडै घट्‌नेछन्‌। त्यतिन्जेल बाइबलको भविष्यवाणीमा ध्यान दिएर अनि अरूलाई पनि त्यसै गर्न मदत गरेर हाम्रो मायालु बुबाप्रति कृतज्ञ भएको देखाइरहौँ।

के तपाईँले सम्झनुभएको छ?

  • हामीले किन बाइबलको भविष्यवाणी अध्ययन गर्नुपर्छ?

  • हामीले कसरी बाइबलको भविष्यवाणी अध्ययन गर्नुपर्छ?

  • एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति अनि रूस र त्यसका समर्थकहरूको सन्दर्भमा कस्ता भविष्यवाणीहरू पूरा भएको हामीले देखेका छौँ?

गीत ९५ ज्योति झनै चहकिलो भयो

a संसारको अवस्था जत्ति नै खराब भए पनि हाम्रो भविष्य उज्ज्वल छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। बाइबलका भविष्यवाणीहरू अध्ययन गरेर हामी यस कुरामा विश्‍वस्त हुन सक्छौँ। हामीले बाइबलका भविष्यवाणीहरू अध्ययन गर्नुपर्ने केही कारण यस लेखमा छलफल गर्नेछौँ। साथै दानिएलले गरेका भविष्यवाणीहरूमध्ये दुई वटा छोटकरीमा जाँच्नेछौँ र ती बुझ्दा हामी व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउन सक्छौँ भन्‍नेबारे पनि छलफल गर्नेछौँ।

b जून १५, २०१२ अङ्‌कको प्रहरीधरहरा-मा भएको “यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ” भन्‍ने लेखको अनु. ७-९ हेर्नुहोस्‌।

c मे २०२० अङ्‌कको प्रहरीधरहरा-को “अहिले ‘उत्तरका राजा’ को हुन्‌?“ भन्‍ने लेखको अनु. ३-४ हेर्नुहोस्‌।

d मे २०२० अङ्‌कको प्रहरीधरहरा-को “अहिले ‘उत्तरका राजा’ को हुन्‌?“ भन्‍ने लेखको अनु. ७-९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने