प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अगस्त p. १८-p. १९ par. ३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँको नाम पवित्र पारियोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाको नाम येसुको लागि किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अगस्त p. १८-p. १९ par. ३
स्वर्गमा स्वर्गदूतहरू र प्रमोदवनमा मानिसहरू खुसी हुँदै यहोवाको उपासना गर्दै छन्‌ र स्वर्गीय रथमा विराजमान यहोवाको प्रशंसा गर्दै छन्‌।

यहोवाले सदाको लागि आफ्नो नाम महिमित पार्नुहुनेछ

पाठकहरूको प्रश्‍न

जून २०२० को प्रहरीधरहरा-मा प्रकाशित “तपाईँको नाम पवित्र पारियोस्‌” भन्‍ने लेखले यहोवाको नाम र उहाँको सार्वभौमिकतासम्बन्धी हाम्रो बुझाइलाई कसरी अझ स्पष्ट पाऱ्‍यो?

हामीले त्यस लेखबाट सम्पूर्ण मानिसजाति र स्वर्गदूत एउटा मात्र महत्त्वपूर्ण विवादमा मुछिएका छन्‌ भनेर सिक्यौँ। त्यो हो: यहोवाको महान्‌ नामको पवित्रीकरण। यस महत्त्वपूर्ण विवादको एउटा पक्ष यहोवाको सार्वभौमिकता अर्थात्‌ उहाँको शासन गर्ने तरिका सर्वोत्कृष्ट हो कि होइन भन्‍ने विवाद हो। त्यसैगरि मानिसको सत्यनिष्ठाको विवाद यस महत्त्वपूर्ण विवादको अर्को पक्ष हो।

अहिले हामी सबैभन्दा महत्त्वपूर्ण विवाद यहोवाको नाम र त्यसको पवित्रीकरण नै हो भन्‍ने निष्कर्षमा पुग्नुका आधारहरू के-के हुन्‌? तीन वटा आधार विचार गरौँ।

एउटा सर्प हव्वासित कुरा गर्दै छ।

अदनको बगैँचामा विद्रोह भएदेखि नै सैतानले परमेश्‍वरको नामको निन्दा गर्दै आएको छ

पहिलो, अदनको बगैँचामा सैतानले यहोवाको नाममा कलङ्‌क लगाउन खोज्यो। यहोवा उदार परमेश्‍वर हुनुहुन्‍न र आफ्ना प्रजाहरूमाथि अनावश्‍यक बन्देजहरू लगाउनुहुन्छ भन्‍ने सङ्‌केत गर्दै सैतानले धूर्ततापूर्वक हव्वालाई एउटा प्रश्‍न सोध्यो। अनि यहोवाले जे भन्‍नुभयो, त्यसको ठीकविपरीत कुरा गरेर सैतानले उहाँ झूट बोल्नुहुन्छ भन्‍न खोज्यो। यसरी त्यसले यहोवाको नामको निन्दा गऱ्‍यो र त्यो “दियाबल” अर्थात्‌ “निन्दक” बन्यो। (युह. ८:४४) सैतानको झूट पत्याएर हव्वा परमेश्‍वरप्रति अनाज्ञाकारी भइन्‌ र उहाँको सार्वभौमिकताको विद्रोह गरिन्‌। (उत्प. ३:१-६) आजसम्म पनि सैतानले यहोवाबारे झूटा कुराहरू फैलाएर उहाँको नामको निन्दा गर्न छोडेको छैन। त्यसको झूटमा विश्‍वास गर्नेहरू अक्सर यहोवाको आज्ञा उल्लङ्‌घन गर्न पुग्छन्‌। परमेश्‍वरको पवित्र नामको निन्दा हुनुलाई उहाँका जनहरू घोर अन्याय ठान्छन्‌। उहाँको नामको निन्दा हुनु नै संसारको दुःखकष्ट र दुष्टताको मूल जड हो।

दोस्रो, यहोवाले सम्पूर्ण सृष्टिको भलाइको लागि आफ्नो नाममाथि लागेको कलङ्‌कलाई हटाएर त्यसलाई पवित्र पार्नुहुनेछ। यहोवा आफ्नो नामको पवित्रीकरणलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहुन्छ। त्यसैले उहाँ यसो भन्‍नुहुन्छ: “मेरो महान्‌ नामलाई म निश्‍चय नै पवित्र पार्नेछु।” (इज. ३६:२३) यहोवाका वफादार सेवकहरूले आफ्नो प्रार्थनामा कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुपर्छ भनेर येसुले स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) बाइबलले बारम्बार यहोवाको नामको महिमा गर्नुको महत्त्वलाई जोड दिएको छ। केही उदाहरण विचार गरौँ: “यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ।” (१ इति. १६:२९; भज. ९६:८) “उहाँको महिमित नामको स्तुति गाओ।” (भज. ६६:२) “म सदासर्वदा तपाईँको नामको महिमा गर्नेछु।” (भज. ८६:१२) एकचोटि येसुले यरुसलेमको मन्दिरमा यहोवालाई यस्तो बिन्ती गर्नुभयो: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” अनि यहोवा स्वयम्‌ले स्वर्गबाट यस्तो जवाफ दिनुभयो: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”—युह. १२:२८.a

तेस्रो, यहोवाको उद्देश्‍य उहाँको पवित्र नामको सदासर्वदा महिमा होस्‌ भन्‍ने हो। यो कुरा विचार गरौँ: ख्रिष्टको हजार वर्षीय शासनको अन्तमा हुने जाँचपछि के हुनेछ? के यहोवाको नामको पवित्रीकरणको विवाद कायमै रहनेछ? यस प्रश्‍नको जवाफ पाउन यस विवादसित सम्बन्धित दुई वटा पक्ष विचार गरौँ: सार्वभौमिकता र मानिसको सत्यनिष्ठाको विवाद। के आफ्नो वफादारी प्रमाणित गरिसकेका मानिसहरूले फेरि आफ्नो सत्यनिष्ठाको प्रमाण दिनुपर्नेछ? पर्नेछैन। तिनीहरू त्रुटिरहित हुनेछन्‌ र तिनीहरूको जाँच पूर्ण रूपमा भइसकेको हुनेछ। तिनीहरूले अनन्त जीवन पाउनेछन्‌। के त्यतिबेला सार्वभौमिकताको विवाद कायमै रहनेछ? रहनेछैन। यहोवाको शासन गर्ने तरिका सर्वोत्कृष्ट हो भनेर फेरि प्रमाणित गर्नुपर्नेछैन। त्यतिबेला सम्पूर्ण मानिसजाति र स्वर्गदूतहरू एकताबद्ध हुनेछन्‌ र तिनीहरूले यहोवाको शासन स्विकार्नेछन्‌। यहोवाको नामबारे चाहिँ के भन्‍न सकिन्छ?

त्यतिबेला यहोवाको नाम पूर्णतया पवित्र भइसकेको हुनेछ। तर त्यसपछि पनि यहोवाका सम्पूर्ण सेवकको लागि उहाँको नाम नै सबैभन्दा महत्त्वपूर्ण कुरा भइरहनेछ। किन? किनभने तिनीहरूले यहोवाले गर्नुहुने अचम्मका कुराहरू देखिरहनेछन्‌। यो कुरा विचार गरौँ: येसुले नम्रतापूर्वक आफ्नो राज्यसत्ता यहोवालाई सुम्पनुभएपछि “परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा” हुनुहुनेछ। (१ कोरि. १५:२८) त्यसपछि पृथ्वीका मानिसहरूले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउनेछन्‌। (रोमी ८:२१) स्वर्ग र पृथ्वीका बौद्धिक सृष्टिलाई विशाल अनि एकताबद्ध परिवार बनाउने यहोवाको उद्देश्‍य पूर्ण रूपमा पूरा हुनेछ।—एफि. १:१०.

यी घटनाहरूपछि स्वर्ग र पृथ्वीमा रहेको यहोवाको परिवारले कस्तो महसुस गर्नेछ? त्यतिबेला पनि हामीसित यहोवाको सुन्दर नामको प्रशंसा गर्ने बलियो इच्छा हुनेछ भन्‍न सक्छौँ। भजनरचयिता दाउद यस्तो कुरा लेख्न उत्प्रेरित भए: “यहोवाको प्रशंसा होस्‌, . . . उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्‌।” (भज. ७२:१८, १९) हामीले सधैँभरि यसो गर्ने नयाँ अनि रोचक कारणहरू पाइरहनेछौँ।

यहोवाको नाममा उहाँको पूरै व्यक्‍तित्व मुछिएको छ। उहाँको नामबारे सोच्दा हामी उहाँले देखाउनुभएको प्रेमबारे सम्झन्छौँ। (१ युह. ४:८) हामी यी कुराहरू सधैँ सम्झिरहनेछौँ: यहोवाले प्रेमले उत्प्रेरित हुनुभएर हामीलाई सृष्टि गर्नुभयो, प्रेमले गर्दा हाम्रो लागि फिरौतीको बलिदानको प्रबन्ध गर्नुभयो अनि उहाँको शासन गर्ने तरिका सही र मायालु छ। यहोवाले आफ्नो सृष्टिमाथि कसरी प्रेम बर्साउनुहुनेछ भन्‍ने कुरा हामीले देखिरहन पाउनेछौँ। हामी सधैँभरि हाम्रो बुबासित घनिष्ठ भइरहन र उहाँको महिमित नामको प्रशंसा-गीत गाइरहन उत्प्रेरित हुनेछौँ।—भज. ७३:२८.

a बाइबलमा यहोवा “आफ्नो नामको खातिर” कदम चाल्नुहुन्छ भनेर पनि बताइएको छ। जस्तै: उहाँ आफ्नो महान्‌ नामको खातिर आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुहुन्छ, मदत गर्नुहुन्छ, उद्धार गर्नुहुन्छ, क्षमा दिनुहुन्छ र बचाउनुहुन्छ।—भज. २३:३; ३१:३; ७९:९; १०६:८; १४३:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने