अध्ययन लेख २३
गीत २ यहोवा तिम्रो नाम
यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?
“यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी हौ।’”—यसै. ४३:१०.
सिक्न सकिने कुरा
हामी कसरी यहोवाको नाम पवित्र अनि उच्च पार्न सक्छौँ?
१-२. येसुको लागि यहोवाको नाम एकदमै महत्त्वपूर्ण थियो भनेर किन भन्न सक्छौँ?
येसुको लागि यहोवाको नाम सबैभन्दा महत्त्वपूर्ण छ। उहाँ नै आफ्नो बुबाको नामको पक्षमा खडा हुनुहुने प्रमुख व्यक्ति हुनुहुन्छ। अगाडिको लेखमा छलफल गरिएझैँ येसु यहोवाको नाम पवित्र छ अनि उहाँका तौरतरिकाहरू सही छन् भनेर प्रमाणित गर्न मर्न समेत तयार हुनुभयो। (मर्कु. १४:३६; हिब्रू १०:७-९) हजार वर्षीय शासनपछि येसुले सबै अख्तियार परमेश्वरलाई नै सुम्पनुहुनेछ। (१ कोरि. १५:२६-२८) येसुले यहोवा परमेश्वरको लागि जे-जति गर्नुभयो, त्यसबाट उहाँ यहोवालाई कत्ति धेरै माया गर्नुहुन्छ भन्ने कुरा देखिन्छ।
२ येसु आफ्नो बुबाको नाममा पृथ्वीमा आउनुभयो। (युह. ५:४३; १२:१३) उहाँले आफ्ना चेलाहरूलाई बुबाको नाम प्रकट गर्नुभयो। (युह. १७:६, २६) उहाँले यहोवाकै नाममा मानिसहरूलाई सिकाउनुभयो र चमत्कारहरू गर्नुभयो। (युह. १०:२५) साथै येसुले “तपाईँकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्” भनेर पनि यहोवालाई बिन्ती गर्नुभयो। (युह. १७:११) स्पष्ट छ, येसुको लागि यहोवाको नाम एकदमै महत्त्वपूर्ण छ। त्यसोभए यदि कुनै व्यक्तिले यहोवालाई चिन्दैन र उहाँको नाम प्रयोग गर्दैन भने ऊ कसरी येसुको साँचो चेला हुन सक्छ र?
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ येसुको पाइला पछ्याउँदै हामी पनि यहोवाको नामलाई प्रेम अनि आदर गर्छौँ। (१ पत्रु. २:२१) यस लेखमा हामी ‘राज्यको सुसमाचार’ प्रचार गर्नेहरूलाई यहोवाले किन आफ्नो नाम दिनुभएको छ भनेर छलफल गर्नेछौँ। (मत्ति २४:१४) साथै यहोवाको नाम हामी प्रत्येकको लागि किन महत्त्वपूर्ण छ भनेर पनि विचार गर्नेछौँ।
‘उहाँको नामको लागि छानिएका मानिसहरू’
४. (क) स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई कस्तो आज्ञा दिनुभयो? (ख) त्यस आज्ञाले गर्दा कस्ता प्रश्नहरू खडा हुन्छन्?
४ स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “पवित्र शक्ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) त्यसैले सुसमाचार इस्राएलमा मात्र होइन सबै ठाउँमा फैलिने थियो। अनि सबै जातिका मानिसहरू येसुको चेला बन्न सक्ने थिए। (मत्ति २८:१९, २०) तर येसुले यसो भन्नुभएको थियो: “तिमीहरूले मेरो साक्षी दिनेछौ।” त्यसोभए के नयाँ चेलाहरूले यहोवाको नाम थाह पाउनु आवश्यक थिएन? के तिनीहरूले येसुको मात्रै साक्षी दिए पुग्ने थियो? यी प्रश्नहरूको जवाफ हामी प्रेषित अध्याय १५ मा पाउँछौँ।
५. यरुसलेमका प्रेषितहरू र एल्डरहरूले सबै मानिसले यहोवाको नाम थाह पाउनु आवश्यक छ भनेर कसरी देखाए? (चित्र पनि हेर्नुहोस्।)
५ इस्वी संवत् ४९ मा यरुसलेमका प्रेषितहरू र एल्डरहरूले अन्यजातिका मानिसहरूले येसुको चेला बन्न के गर्नुपर्छ भन्ने विषयमा छलफल गरे। खतनाको विषयमा भएको त्यस छलफलको अन्तमा येसुका भाइ याकुबले यसो भने: “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले [पत्रुसले] विस्तृत रूपमा बताइसकेका छन्।” यहाँ याकुबले “आफ्नो नाम” भनेर उल्लेख गर्दा कसबारे बताउन खोजिरहेका थिए? भविष्यवक्ता आमोसले लेखेको कुरा उल्लेख गर्दै याकुबले अझै यसो भने: “बाँकी रहेका मानिसहरूले सबै राष्ट्रका मानिसहरूसित मिलेर जोडतोडले यहोवा परमेश्वरको खोजी गर्न सकून्, जसको विषयमा यी सबै काम गर्ने यहोवा परमेश्वर भन्नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्।” (प्रेषि. १५:१४-१८) त्यसैले यी नयाँ चेलाहरूले यहोवा परमेश्वरबारे सिक्ने मात्र थिएनन् बरु तिनीहरू ‘यो नामद्वारा’ पुकारिने मानिसहरू पनि हुने थिए। मतलब तिनीहरूले परमेश्वरको नाम बहन गर्ने थिए र उहाँको नामको प्रतिनिधित्व गर्ने थिए।
प्रथम शताब्दीको परिचालक निकायले ख्रिष्टियनहरू परमेश्वरको नामद्वारा पुकारिने मानिसहरू हुनुपर्छ भनेर राम्ररी बुझ्यो (अनुच्छेद ५ हेर्नुहोस्)
६-७. (क) येसु किन पृथ्वीमा आउनुभयो? (ख) येसु पृथ्वीमा आउनुको अझ महत्त्वपूर्ण कारण के थियो?
६ येसु नामको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” यसैबाट प्रस्ट हुन्छ, यहोवाले मानिसजातिको उद्धार गर्न प्रयोग गर्नुभएको माध्यम येसु नै हुनुहुन्छ। मानिसहरूले यहोवा अनि येसुमा विश्वास गरेमा उद्धार पाउन सक्छन्। त्यसैले येसु मानिसजातिको लागि फिरौतीस्वरूप आफ्नो ज्यान दिन पृथ्वीमा आउनुभयो। (मत्ति २०:२८) फिरौतीको बलिदानले गर्दा मानिसहरूले आफ्नो पापको क्षमा पाउने अनि अनन्त जीवन पाउने बाटो खुलेको छ।—युह. ३:१६.
७ तर मानिसजातिको उद्धार गर्नुपर्ने आवश्यकता किन पऱ्यो? अदनको बगैँचामा भएको घटनाले गर्दा। यसबारे हामीले अघिल्लो लेखमा पनि छलफल गऱ्यौँ। प्रथम आमाबुबा आदम र हव्वाले यहोवाको विद्रोह गरे र तिनीहरूले सधैँभरि बाँच्ने मौका गुमाए। (उत्प. ३:६, २४) त्यसैले मानिसजातिको उद्धार गर्न येसु पृथ्वीमा आउनुभयो। तर मानिसजातिको उद्धारभन्दा पनि महत्त्वपूर्ण अर्को एउटा कुरा थियो। त्यो हो, यहोवाको नाममा लागेको कलङ्क मेटाउन। (उत्प. ३:४, ५) त्यसैले आदम र हव्वाको सन्तानको उद्धार गर्नुभन्दा यहोवा परमेश्वरको नाम पवित्र पार्नु अझ महत्त्वपूर्ण थियो। यहोवाको नाम पवित्र पार्न येसुले प्रमुख भूमिका खेल्नुभयो। किनभने येसु यहोवाको प्रतिनिधि हुनुहुन्थ्यो र उहाँले यहोवाको नाम बहन गर्नुभएको थियो।
यदि कुनै व्यक्तिले यहोवालाई चिन्दैन र उहाँको नाम प्रयोग गर्दैन भने ऊ कसरी येसुको साँचो चेला हुन सक्छ र?
८. येसुमाथि विश्वास गर्ने सबैले कुन कुरा स्विकार्नुपर्थ्यो?
८ चाहे यहुदीहरू होऊन् वा अन्यजाति, यहोवा परमेश्वर उद्धारको स्रोत हुनुहुन्छ भन्ने कुरा सबैले स्विकार्नुपर्थ्यो। (युह. १७:३) तिनीहरू येसुजस्तै यहोवाको नामद्वारा पुकारिने मानिसहरू हुने थिए। तिनीहरूले यहोवाको नाम पवित्र पार्नु कत्ति महत्त्वपूर्ण छ भनेर पनि बुझ्नुपर्थ्यो। किनभने त्यसैमा तिनीहरूको उद्धार निर्भर थियो। (प्रेषि. २:२१, २२) यसबाट येसुका चेलाहरूले यहोवा अनि येसु दुवैलाई राम्ररी चिन्नुपर्छ भनेर स्पष्ट हुन्छ। त्यसैले युहन्ना अध्याय १७ मा पाइने प्रार्थनाको अन्तमा येसुले यसो भन्नुभयो: “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु ताकि तपाईँले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून् र म तिनीहरूसित एकतामा हुन सकूँ।”—युह. १७:२६.
“तिमीहरू मेरा साक्षी हौ”
९. यहोवाको नाम हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ भनेर कसरी देखाउन सक्छौँ?
९ येसुको साँचो चेला सबैले यहोवाको नाम पवित्र पार्नुपर्छ। (मत्ति ६:९, १०) हामीले यहोवाको नामलाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुपर्छ। हामीले त्यो आफ्नो बोली र व्यवहारमा देखाउनुपर्छ। त्यसोभए यहोवाको नाम पवित्र पार्न र सैतानले उहाँको नाममा लगाएको कलङ्क मेटाउन हामी के गर्न सक्छौँ?
१०. यसैया अध्याय ४२ देखि ४४ मा हामी कस्तो विवरण पाउँछौँ? (यसैया ४३:९; ४४:७-९) (चित्र पनि हेर्नुहोस्।)
१० यहोवाको नाम पवित्र पार्न हाम्रो भूमिका पनि महत्त्वपूर्ण छ भनेर यसैया अध्याय ४२ देखि ४४ मा जोड दिइएको छ। ती अध्यायहरूमा साँचो ईश्वर को हो भनेर फैसला गर्न मुद्दा चलेको जस्तो विवरण पाइन्छ। यहोवाले उहाँको उपासना नगर्ने मानिसहरूलाई तिनीहरूका ईश्वरहरू साँचो हुन् भने प्रमाणित गरेर देखाऊन् भन्नुहुन्छ। उहाँ तिनीहरूलाई साक्षीहरू पेस गर्न भन्नुहुन्छ। तर साक्षी दिन सक्ने कोही छैन।—यसैया ४३:९; ४४:७-९ पढ्नुहोस्।
यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर हामी आफ्नो बोली र कामबाट प्रमाणित गर्छौँ (अनुच्छेद १०-११ हेर्नुहोस्)
११. यसैया ४३:१०-१२ मा यहोवा आफ्ना मानिसहरूलाई के भन्नुहुन्छ?
११ यसैया ४३:१०-१२ पढ्नुहोस्। यहोवा आफ्ना मानिसहरूलाई यसो भन्नुहुन्छ: “म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ।” यहोवा तिनीहरूलाई यस प्रश्नको जवाफ दिन पनि भन्नुहुन्छ: “मबाहेक अरू कुनै ईश्वर छ र?” (यसै. ४४:८) यहोवाबाहेक अरू कुनै ईश्वर छैन भनेर हामी गर्वका साथ जवाफ दिन सक्छौँ। हामी आफ्नो बोली अनि व्यवहारबाट यहोवा मात्रै साँचो परमेश्वर हुनुहुन्छ भनेर साक्षी दिन्छौँ। यहोवाको नाम जत्तिको महत्त्वपूर्ण अरू कुनै नाम छैन। सैतानले जस्तोसुकै परीक्षा ल्याए तापनि हामी यहोवाको पक्षमा खडा भइरहन्छौँ। हामी आफ्नो जीवनशैलीबाट यहोवालाई प्रेम गरेको अनि उहाँप्रति वफादार रहेको देखाउँछौँ। यसरी हामी यहोवाको नाम पवित्र पार्न सक्छौँ।
१२. यसैया ४०:३, ५ को भविष्यवाणी कसरी पूरा भयो?
१२ यहोवाको नामको पक्षमा खडा हुँदा हामीले येसु ख्रिष्टको अनुकरण गरिरहेका हुन्छौँ। यसैयाले “यहोवाको बाटो तयार” पार्न एक जना मानिस अघिअघि जानेछन् भनेर पनि भविष्यवाणी गरेका थिए। (यसै. ४०:३) यो भविष्यवाणी कसरी पूरा भयो? बप्तिस्मा गराउने युहन्नाले येसुको बाटो तयार पारे। तर वास्तवमा तिनले यहोवाको बाटो तयार पारिरहेका थिए। किनभने येसु यहोवाको नाममा आउनुभयो र उहाँको नाममा बोल्नुभयो। (मत्ति ३:३; मर्कु. १:२-४; लुका ३:३-६) यसैयाले यसो पनि भनेका थिए: “यहोवाको महिमा प्रकट हुनेछ।” (यसै. ४०:५) यो भविष्यवाणी कसरी पूरा भयो? पृथ्वीमा आउनुहुँदा येसुले यहोवाको प्रतिनिधिको रूपमा आफ्नो भूमिका एकदमै राम्ररी पूरा गर्नुभयो। त्यसैले एक अर्थमा यहोवा नै पृथ्वीमा आउनुभएसरह थियो।—युह. १२:४५.
१३. हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?
१३ येसुजस्तै हामी पनि यहोवाका साक्षीहरू हौँ। हामी पनि यहोवाको नाम बहन गर्छौँ र अरूलाई यहोवाका आश्चर्यजनक कामहरूबारे बताउँछौँ। साथै हामीले यहोवाको नाम पवित्र पार्न येसुले के-के गर्नुभयो भनेर पनि बताउनुपर्छ। यसो गर्दा हामीले यहोवाबारे राम्ररी साक्षी दिइरहेका हुनेछौँ। (प्रेषि. १:८) येसु यहोवाको प्रमुख साक्षी हुनुहुन्छ र हामी उहाँको पाइला पछ्याउँछौँ। (प्रका. १:५) तर हामी प्रत्येकको लागि यहोवाको नाम किन महत्त्वपूर्ण छ?
यहोवाको नाम हाम्रो लागि किन महत्त्वपूर्ण छ?
१४. भजन १०५:३ अनुसार हामी यहोवाको नामबारे कस्तो महसुस गर्छौँ?
१४ हामी यहोवाको नाममा गर्व गर्छौँ। (भजन १०५:३ पढ्नुहोस्।) हामीले यहोवाको नाममा घमन्ड गरेको देख्दा उहाँ खुसी हुनुहुन्छ। (यर्मि. ९:२३, २४; १ कोरि. १:३१; २ कोरि. १०:१७) ‘यहोवामा घमन्ड गर्नु’ भनेको यहोवा हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने कुरामा गर्व गर्नु हो। यहोवा पवित्र हुनुहुन्छ र उहाँले सबै कुरा ठीकसित गर्नुहुन्छ भनेर अरूलाई बताउन पाउनु हाम्रो लागि सम्मानको कुरा हो। त्यसैले हामी यहोवाका साक्षी हौँ भनेर हाम्रा सहकर्मी, सहपाठी, छिमेकी वा अरूलाई बताउन कहिल्यै लाज मान्नु हुँदैन। तर यहोवाको नामबारे अरूलाई बताउनदेखि सैतान हामीलाई रोक्न चाहन्छ। (यर्मि. ११:२१; प्रका. १२:१७) साँच्चै भन्ने हो भने सैतान र त्यसका समर्थकहरू मानिसहरूले यहोवाको नाम बिर्सेको चाहन्छन्। (यर्मि. २३:२६, २७) तर हामी यहोवाको नामलाई प्रेम गर्छौँ। त्यसैले “सारा दिन” उहाँको नामको प्रशंसा गरिरहन चाहन्छौँ।—भजन ५:११; ८९:१६.
१५. यहोवाको नाम पुकार्नु भनेको के हो?
१५ हामी यहोवाको नाम पुकार्छौँ। (योए. २:३२; रोमी १०:१३, १४) यहोवाको नाम पुकार्नु भनेको उहाँको नाम थाह पाउनु र त्यो नाम प्रयोग गर्नु मात्र होइन। हामी यहोवा वास्तवमा कस्तो परमेश्वर हुनुहुन्छ भनेर चिन्छौँ, उहाँमा भरोसा राख्छौँ र डोऱ्याइको लागि उहाँमा भर पर्छौँ। (भज. २०:७; ९९:६; ११६:४; १४५:१८) यहोवाको नाम पुकार्नु भनेको उहाँको नाम र उहाँका गुणहरूबारे मानिसहरूलाई बताउनु पनि हो। साथै तिनीहरूले यहोवाको अनुमोदन पाऊन् भनेर हामी तिनीहरूलाई पश्चात्ताप गर्न र आवश्यक कदम चाल्न आग्रह गर्छौँ।—यसै. १२:४; प्रेषि. २:२१, ३८.
१६. हामी कसरी सैतानलाई झूटो साबित गर्न सक्छौँ?
१६ हामी यहोवाको नामको खातिर कष्ट भोग्न तयार छौँ। (याकु. ५:१०, ११) कष्ट भोग्नुपर्दा हामी यहोवाप्रति वफादार रह्यौँ भने सैतानलाई झूटो साबित गरिरहेका हुन्छौँ। अय्युबको समयमा सैतानले यहोवाको सेवा गर्नेहरूलाई यस्तो आरोप लगायो: “आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ।” (अय्यु. २:४) मानिसले सजिलो हुँदा मात्र यहोवाको सेवा गर्छ तर कष्ट भोग्नुपऱ्यो भने यहोवालाई त्याग्नेछ भनेर सैतानले दाबी गरेको थियो। तर यहोवाप्रति वफादार रहेर अय्युबले सैतानको त्यो दाबीलाई झूटो साबित गरे। हामी पनि सैतानको त्यो दाबीलाई झूटो साबित गर्न सक्छौँ। कसरी? जस्तोसुकै गाह्रो अवस्था भोग्नुपरे तापनि वा सैतानले जस्तोसुकै चुनौती ल्याए तापनि यहोवाप्रति सधैँ वफादार रहिरहेर। त्यसो गऱ्यौँ भने यहोवाले आफ्नो नामको खातिर हाम्रो हेरचाह गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ।—युह. १७:११.
१७. हामी अर्को कुन तरिकामा यहोवाको नामको महिमा गर्न सक्छौँ? (१ पत्रुस २:१२)
१७ हामी यहोवाको नामको आदर गर्छौँ। (हितो. ३०:९; यर्मि. ७:८-११) हामी यहोवाका प्रतिनिधि हौँ र उहाँको नाम बहन गर्छौँ। (१ पत्रुस २:१२ पढ्नुहोस्।) त्यसैले हामीले भन्ने र गर्ने कुराले कि त यहोवाको नामको प्रशंसा गर्छ कि त बदनाम गर्छ। हामी आफ्नो बोली र व्यवहारद्वारा यहोवाको प्रशंसा गर्न सक्दो प्रयास गर्न चाहन्छौँ। यसो गऱ्यौँ भने हामी त्रुटिपूर्ण भए तापनि यहोवाको नामको महिमा गर्न सक्छौँ।
१८. हामी अर्को कुन तरिकामा यहोवाको नाम महत्त्वपूर्ण छ भनेर देखाउन सक्छौँ? (फुटनोट पनि हेर्नुहोस्।)
१८ हामी आफ्नो नामलाई भन्दा यहोवाको नामलाई महत्त्वपूर्ण ठान्छौँ। (भज. १३८:२) किन? हामी यहोवाको नामलाई प्रेम गर्छौँ। त्यसैले हामी उहाँलाई मन पर्ने कुराहरू गर्छौँ। तर त्यसो गर्दा अरू मानिसहरूलाई त्यो मन नपर्न सक्छ र हामीलाई घृणा गर्न सक्छन्।a यहोवाको नामको खातिर येसु अपमानजनक मृत्यु भोग्न तयार हुनुभयो। मानिसहरूले उहाँलाई अपराधी ठाने र उहाँको बदनाम गरे। तैपनि उहाँले “बेइज्जतीको समेत वास्ता” गर्नुभएन र अरूले आफूबारे के सोच्छन् भन्ने कुराको चिन्ता गर्नुभएन। (हिब्रू १२:२-४) बरु उहाँको ध्यान यहोवाको इच्छा पूरा गर्नुमा केन्द्रित थियो।—मत्ति २६:३९.
१९. यहोवाको नामबारे तपाईँ कस्तो महसुस गर्नुहुन्छ र किन?
१९ हामी यहोवाको नाममा गर्व गर्छौँ र यहोवाको साक्षी भन्ने नाम बहन गर्न पाउनुलाई ठूलो सम्मानको कुरा ठान्छौँ। त्यसैले हामी यहोवाको नामको खातिर जस्तोसुकै बदनाम वा गिल्ला भोग्न पनि तयार छौँ। हाम्रो लागि आफ्नो नामभन्दा यहोवाको नाम महत्त्वपूर्ण छ। त्यसैले सैतानले जस्तोसुकै चुनौती ल्याए तापनि यहोवाको नामको प्रशंसा गरिरहने सङ्कल्प गरौँ। यसो गऱ्यौँ भने हामीले पनि येसुले जस्तै यहोवाको नामलाई सबैभन्दा महत्त्वपूर्ण ठानेको देखाइरहेका हुन्छौँ।
गीत १० हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ!
a अय्युबका तीन जना साथीले तिनलाई नानाथरीका आरोपहरू लगाए। यस्ता आरोपहरू सुन्दा वफादार अय्युबले समेत अरू मानिसहरूले आफूबारे के सोच्छन् भन्ने कुरामा बढ्दै ध्यान दिन थाले। अय्युबले आफ्ना छोराछोरी र सबै सरसम्पत्ति गुमाएका थिए। त्यतिबेला तिनले “परमेश्वरविरुद्ध पाप गरेनन् वा आफूले भोगेको अन्यायको दोष परमेश्वरलाई लगाएनन्।” (अय्यु. १:२२; २:१०) तर पछि साथीहरूले अय्युबले नै गलत काम गरेको हुनुपर्छ भन्ने आरोप लगाउँदा तिनले आफ्नो ‘बोलीलाई सम्हाल्नै सकेनन्।’ तिनले परमेश्वरको नाम पवित्र पार्नुको सट्टा आफैलाई सही साबित गर्न खोजे।—अय्यु. ६:३; १३:४, ५; ३२:२; ३४:५.