प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१५ pp. १७-२१
  • कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवारप्रतिको जिम्मेवारी र बाइबल सिद्धान्तहरू
  • आशै नगरेको परिणाम
  • असल सल्लाह र खराब सल्लाह
  • यहोवा हामीलाई “उन्‍नति” गर्न मदत गर्नुहुन्छ
  • युद्धले जत्तिकै ज्यान लिन्छ
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • माया गर्छु भनेर बताउनुहोस्‌
    यहोवाका साक्षीहरूको अनुभव
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१५ pp. १७-२१
श्रीमान्‌ सुगम र छोरा रितेशलाई छोडेर टाढा जानुपर्दा सन्ध्याको अनुहार अँध्यारो देखिन्छ

कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन

“कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन . . . तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।”—मत्ती ६:२४.

तपाईंको विचार कस्तो छ?

  • परिवारप्रतिको जिम्मेवारीलाई यहोवाले जसरी नै हेर्न बाइबल सिद्धान्तहरूले कसरी मदत गर्छ?

  • हामीले गरेको निर्णयले हामी यहोवाको मात्र सेवा गर्छौं भनेर कसरी देखाउँछ?

  • यहोवालाई पहिलो स्थान दियौं भने उहाँले हाम्रो निर्णयमा कसरी आशिष्‌ दिनुहुन्छ?

१-३. (क) थुप्रै परिवारले कस्तो आर्थिक समस्याको सामना गर्छन्‌ र समस्या सुल्झाउन केहीले के गरेका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) विदेश जाने विचार गर्दा केही आमाबुबालाई छोराछोरी हुर्काउने विषयमा कस्तो चिन्ता लाग्छ?

सन्ध्या यसो भन्छिन्‌: “मेरो श्रीमान्‌ सुगम हरेक दिन कामबाट लखतरान भएर फर्कनुहुन्थ्यो।”a उनी अझै यसो भन्छिन्‌: “उहाँको तलबले दैनिक गुजारा टार्न धौधौ पर्थ्यो। उहाँको बोझ हल्का होस्‌ भनेर म पनि केही गर्न चाहन्थें। हाम्रो छोरा रितेशले ऊसँगै पढ्‌ने साथीहरूले जस्तै राम्रा-राम्रा कुरा पाएको चाहन्थें।” सन्ध्या आफ्ना आफन्तहरूलाई मदत गर्न र भविष्यको लागि पैसा जोहो गर्न पनि चाहन्थिन्‌। उनका साथीहरू पैसा कमाउन विदेश गएका थिए। सन्ध्याले पनि विदेश जाने विचार गरिन्‌ तर उनी दोधारमा थिइन्‌। किन?

२ विदेश गयो भने परिवारलाई के होला अनि परिवारको आध्यात्मिक तालिका के होला भनेर सन्ध्यालाई चिन्ता लाग्यो। तर उनले यस्तो तर्क गरिन्‌: ‘अरू पनि त विदेश गएकै छन्‌। अनि तिनीहरूको परिवार आध्यात्मिक रूपमा ठीकै देखिन्छन्‌।’ तर टाढा बसेर छोरालाई कसरी हुर्काउने भनेर उनलाई चिन्ता लाग्यो। के सन्ध्याले इन्टरनेटबाट छोरालाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी” दिन सक्थिन्‌?—एफि. ६:४.

३ सन्ध्याले सल्लाह मागिन्‌। सुगम आफ्नी श्रीमती विदेश गएको चाहँदैनथे। तर उनी जान चाहन्छिन्‌ भने आफूले नरोक्ने कुरा तिनले बताए। एल्डरहरू र मण्डलीका केहीले उनलाई विदेश नजान सल्लाह दिए। तर केही बहिनीहरूले भने उनलाई विदेश जान दबाब दिए। तिनीहरूले उनलाई यसो भने: “यदि तिमी आफ्नो परिवारलाई माया गर्छौ भने तिमी विदेश जानै पर्छ। विदेश गए पनि यहोवाको सेवा गर्न सकिहाल्छौ नि!” दोधारमै भए पनि सन्ध्या आफ्नो छोरा र श्रीमान्‌लाई बिदाबारी गरेर पैसा कमाउन विदेशतिर लागिन्‌। उनले यस्तो वचन दिइन्‌: “म छिट्टै आउँछु!”

परिवारप्रतिको जिम्मेवारी र बाइबल सिद्धान्तहरू

४. थुप्रै मानिस किन परिवार छोडेर टाढा जान्छन्‌? तिनीहरूका छोराछोरीलाई अक्सर कसले हेरविचार गर्छ?

४ यहोवा आफ्ना सेवकहरू गरिबीको चपेटामा परेको चाहनुहुन्‍न। इतिहास हेर्ने हो भने यहोवाका सेवकहरू गरिबीबाट मुक्‍त हुन बसाइँ सरेका छन्‌। (भज. ३७:२५; हितो. ३०:८) अनिकालबाट जोगिन याकूबले आफ्ना छोराहरूलाई खानेकुरा किन्‍न मिश्र पठाए।b (उत्प. ४२:१, २) तर आज थुप्रै मानिस अनिकाल परेकोले परिवार छोडेर अन्तै गएका त होइनन्‌। त्यसोभए कारण के हो? केही मानिस ऋणमा डुबेका छन्‌। अरू केही भने परिवारले अझै आरामदायी जीवन बिताएको चाहन्छन्‌। त्यसैले तिनीहरू पैसा कमाउन विदेशमा वा आफ्नै देशको कुनै ठाउँमा जान्छन्‌। तिनीहरू साना छोराछोरीलाई अक्सर आफ्नो श्रीमान्‌ अथवा श्रीमती, हुर्किसकेका छोराछोरी, हजुरबुबा-हजुरआमा, आफन्त वा साथीभाइको जिम्मामा छोडिदिन्छन्‌। परिवारलाई छोडेर जान गाह्रो भए पनि विदेश जाने थुप्रैलाई अरू उपाय नै छैन जस्तो लाग्न सक्छ।

५, ६. (क) आनन्द र सुरक्षाबारे येशूले के सिकाउनुभयो? (ख) येशूले आफ्ना अनुयायीहरूलाई कुन कुराको लागि प्रार्थना गर्न सिकाउनुभयो? (ग) यहोवा हामीलाई कसरी आशिष्‌ दिनुहुन्छ?

५ येशूको समयमा थुप्रै मानिस गरिब थिए। तिनीहरूलाई साथमा टन्‍न पैसा छ भने मात्र आनन्दित अनि सुरक्षित हुन सकिन्छ जस्तो लागेको हुनुपर्छ। (मर्कू. १४:७) तर तिनीहरूले अस्थायी कुरामा होइन यहोवामा भरोसा राखेको येशू चाहनुहुन्थ्यो। किनकि यहोवाले दिनुहुने आशिष्‌ सधैंभरि रहन्छ। भौतिक सरसम्पत्तिले वा हाम्रो आफ्नै क्षमताले नभई स्वर्गका बुबा यहोवासितको मित्रताले साँचो आनन्द र सुरक्षा दिन्छ भनेर येशूले डाँडाको उपदेशमा सिकाउनुभयो।

६ नमुना प्रार्थनामा येशूले आरामदायी जीवनको लागि नभई “दिनभरिको भोजन”-को लागि प्रार्थना गर्न सिकाउनुभयो। उहाँले आफ्ना श्रोताहरूलाई स्पष्ट रूपमा यसो भन्‍नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, . . . बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार।” (मत्ती ६:९, ११, १९, २०) यहोवाले आफ्नो प्रतिज्ञाअनुसारै आशिष्‌ दिनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। यहोवाको आशिष्‌ पाउनु भनेको उहाँको अनुमोदन पाउनु मात्र होइन; उहाँले हामीलाई साँच्चै चाहिएको कुरा दिनुहुन्छ भन्‍ने ग्यारेन्टी पनि हो। स्पष्ट छ, पैसामा नभई मायालु बुबा यहोवामा भरोसा राख्दा मात्र साँचो आनन्द र सुरक्षा पाउँछौं।—मत्ती ६:२४, २५, ३१-३४ पढ्‌नुहोस्‌।

७. (क) छोराछोरी हुर्काउने जिम्मेवारी यहोवाले कसलाई दिनुभएको छ? (ख) छोराछोरीलाई आमा र बुबा दुवै मिलेर हुर्काउनु किन आवश्‍यक छ?

७ यहोवाको “स्तरबमोजिमको असल कामलाई पहिलो स्थान” दिइरहनुमा परिवारप्रतिको जिम्मेवारीलाई यहोवाले जसरी नै हेर्नु समावेश छ। मोशाको व्यवस्थाअनुसार आमाबुबाले छोराछोरीलाई यहोवाको सेवा गर्न सिकाउनुपर्थ्यो। यहोवालाई खुसी पार्न चाहने आमाबुबाले आज पनि त्यसै गर्नुपर्छ। (व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌) यहोवाले यो जिम्मेवारी आमाबुबालाई दिनुभएको छ; हजुरबुबा-हजुरआमा वा अरूलाई होइन। राजा सुलेमानले यस्तो लेखे: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” (हितो. १:८) आमाबुबा दुवै मिलेर छोराछोरीलाई सिकाउन र डोऱ्‍याउन सकून्‌ भनेर परिवार एकसाथ रहेको यहोवा चाहनुहुन्छ। (हितो. ३१:१०, २७, २८) आमाबुबाले यहोवाको विषयमा कुरा गरेको सुन्दा र उनीहरूले यहोवाको सेवा गरेको देख्दा छोराछोरीले पनि त्यसै गर्न सिक्छन्‌।

आशै नगरेको परिणाम

८, ९. (क) आमा वा बुबा परिवारबाट टाढा बस्दा परिणाम अक्सर कस्तो हुन्छ? (ख) आमाबुबा र छोराछोरी एकअर्काबाट टाढा बस्दा कस्तो भावनात्मक र नैतिक हानि बेहोर्नुपर्ने हुन्छ?

८ विदेश जानेबारे सोचिरहेकाहरूले आफ्नो निर्णयले निम्त्याउन सक्ने केही समस्याबारे त विचार गर्छन्‌। तर आफ्नो निर्णयले परिवारलाई कस्तो असर गर्छ भनेरचाहिं कमैले मात्र विचार गर्छन्‌। (हितो. २२:३)c विदेश गएपछि सन्ध्यालाई घरको यादले सताउन थाल्यो। उनका श्रीमान्‌ र छोरालाई पनि न्यास्रो लाग्न थाल्यो। आमासित कुरा गरेपिच्छे रितेश यसो भन्‍ने गर्थ्यो: “किन मलाई छोडेर गएको?” सन्ध्या केही महिनाको लागि भनेर विदेश गएकी थिइन्‌ तर वर्षौं बित्यो। समय बित्दै जाँदा परिवारको अवस्था झन्‌झनै बिग्रँदै गएको उनले याद गरिन्‌। रितेशले पनि आमासित कुराकानी गर्न अनि मनको कुरा पोखाउन छोड्‌दै गयो। दुःखित हुँदै सन्ध्या भन्छिन्‌: “उसले मलाई माया गर्नै छोड्‌यो।”

९ आमाबुबा र छोराछोरी एकअर्काबाट टाढा छन्‌ भने उनीहरूले भावनात्मक र नैतिक हानि बेहोर्नुपर्ने हुन्छ।d छोराछोरी जति साना छन्‌ अनि जति लामो समय आमाबुबाबाट टाढिएर बसेका छन्‌, त्यति नै ठूलो हानि बेहोर्नुपर्ने हुन्छ। सन्ध्या आफ्नो छोरालाई उसकै भलाइको लागि विदेश आएको भन्‍ने गर्थिन्‌। तर रितेशलाई भने आमाले माया गर्नै छाडेको जस्तो लाग्थ्यो। सुरु-सुरुमा त आमाले छोडेर गएकोमा उसलाई रिस उठ्‌थ्यो। तर पछि त आमा भेट्‌न आएकोमा रिस उठ्‌न थाल्यो। आमाबुबाबाट अलग्गिएका अरू थुप्रै छोराछोरीलाई जस्तै रितेशलाई आफूमाथि आमाको कुनै अधिकार छैन जस्तो लाग्न थाल्यो। आमालाई माया गर्नुपर्दैन अनि उहाँले भनेको मान्‍नुपर्दैन जस्तो लाग्न थाल्यो।—हितोपदेश २९:१५ पढ्‌नुहोस्‌।

सुगम र रितेशसित इन्टरनेटबाट कुरा गर्दै सन्ध्या

तपाईं इन्टरनेटबाट आफ्नो छोराछोरीलाई अङ्‌गालो हाल्न सक्नुहुन्‍न (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. (क) छोराछोरीलाई समय र चासो नदिई उपहार मात्र दिन थाल्यो भने परिणाम कस्तो हुन्छ? (ख) टाढा बसेर छोराछोरी हुर्काउन खोज्दा के गर्न सकिंदैन?

१० छोरालाई खुसी पार्न सन्ध्या उसलाई उपहार अनि पैसा पठाउने गर्थिन्‌। तर त्यसो गर्दा छोरालाई आफूबाट टाढा बनाइरहेको जस्तो लाग्न थाल्यो। उनले अनजानमै छोरालाई परिवार अनि यहोवालाई भन्दा पैसालाई प्रेम गर्न सिकाइरहेकी थिइन्‌। (हितो. २२:६) रितेश सन्ध्यालाई यसो भन्थ्यो: “तपाईं नआउनुभए पनि हुन्छ। बरु उपहारचाहिं पठाइराख्नुस्‌।” सन्ध्यालाई चिठी, फोन वा इन्टरनेटमार्फत छोरालाई हुर्काउन सकिंदैन भन्‍ने महसुस हुन थाल्यो। उनी यसो भन्छिन्‌: “तपाईं इन्टरनेटबाट आफ्नो छोराछोरीलाई अङ्‌गालो हाल्न वा म्वाइँ खान सक्नुहुन्‍न।”

काम गर्ने ठाउँमा हाकिमले सन्ध्यालाई अनैतिक सम्बन्ध राख्न दबाब दिंदै

जीवनसाथीबाट टाढा बस्दा कस्तो खतरा हुन्छ? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. (क) कामको सिलसिलामा एकअर्काबाट टाढा बस्दा वैवाहिक सम्बन्धमा कस्तो असर पर्छ? (ख) सन्ध्यालाई घर फर्कनुपर्छ जस्तो किन लाग्यो?

११ सन्ध्या यहोवा र आफ्नो श्रीमान्‌सित घनिष्ठ भइरहन सकिनन्‌। उनी हप्ताको एक दिन मात्र सभा र प्रचार जान्थिन्‌, कहिलेकाहीं त त्यति गर्न पनि गाह्रो हुन्थ्यो। त्यसमाथि हाकिमले यौनसम्बन्ध राख्ने दबाब पनि दिन्थ्यो। आफ्नो समस्या सुनिदिने जीवनसाथी साथमा नहुँदा सन्ध्या र सुगमले अरूलाई नै मनको बह पोखाउन थाले। उनीहरू झन्डै अवैध यौनसम्बन्धमा फसेका थिए। आफूहरू अवैध यौनसम्बन्धमा नफसे तापनि वैवाहिक सम्बन्ध भने धरापमा परेको सन्ध्याले महसुस गरिन्‌। बाइबलले विवाहित जोडीहरूलाई एकअर्काको भावनात्मक र शारीरिक आवश्‍यकता पूरा गर्न सल्लाह दिन्छ। तर सन्ध्या र सुगम एकअर्काबाट टाढा भएकोले विवाहित जोडीले एकअर्कालाई दिनुपर्ने समय र चासो दिन सक्दैनथे। (श्रेष्ठ. १:२; १ कोरि. ७:३, ५) छोरासँगै यहोवाको उपासना गर्न पनि सक्दैनथे। सन्ध्या सम्झिन्छिन्‌: “यहोवाको भयानक दिनबाट जोगिन नियमित रूपमा पारिवारिक उपासना गर्नुपर्छ भनेर अधिवेशनमा सुन्दा घर फर्कनै पर्ने महसुस गरें। मैले आफ्नो आध्यात्मिकता र पारिवारिक जीवनलाई फेरि राम्रो बनाउनुपर्ने थियो।”

असल सल्लाह र खराब सल्लाह

१२. परिवारबाट टाढा बसिरहेकाहरूलाई कस्तो धर्मशास्त्रीय सल्लाह दिन सकिन्छ?

१२ सन्ध्याले घर फर्कने निर्णय गर्दा केहीले उनलाई असल सल्लाह दिए तर अरूले भने खराब सल्लाह दिए। विश्‍वास र साहस देखाएकोमा मण्डलीका एल्डरहरूले उनको प्रशंसा गरे। तर आफ्नो जीवनसाथी र परिवार छोडेर विदेश आएका अरू केहीले भने उनको प्रशंसा गरेनन्‌। सन्ध्याले जस्तै निर्णय गर्नुको साटो तिनीहरूले उनलाई बहकाउन खोजे। तिनीहरूले यसो भने: “जाऊ, जाऊ, पछि यहीं फर्केर आउनुपरिहाल्छ! घर गयौ भने कसरी गुजारा टार्छौ?” त्यस्तो नकारात्मक टीकाटिप्पणी गर्नुको साटो सङ्‌गी ख्रीष्टियनहरूले “युवतीहरूलाई आ-आफ्नो पतिलाई प्रेम गर्न, आफ्ना छोराछोरीलाई माया गर्न, . . . राम्ररी घर चलाउन” सल्लाह दिनुपर्छ “ताकि परमेश्‍वरको वचनको बदनाम हुन नपाओस्‌।”—तीतस २:३-५ पढ्‌नुहोस्‌।

१३, १४. परिवारको इच्छालाई भन्दा यहोवालाई पहिलो स्थान दिन किन विश्‍वास चाहिन्छ? उदाहरण दिनुहोस्‌।

१३ कामको सिलसिलामा परिवारबाट टाढा गएकाहरूमध्ये धेरैजसो आफ्नो परम्परालाई अनि परिवारप्रतिको, अझ विशेषगरि आमाबुबाप्रतिको दायित्वलाई नै सर्वमहत्त्वपूर्ण ठान्‍ने समाजमा हुर्केका हुन्छन्‌। कुनै ख्रीष्टियनले यहोवालाई खुसी पार्ने हो भने लोकप्रिय ठानिएको चलनचल्ती वा परिवारको इच्छालाई पहिलो स्थान दिनुहुँदैन। त्यसको लागि ऊसित बलियो विश्‍वास हुनुपर्छ।

१४ कविताको अनुभव विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌: “हाम्रो छोरा आर्यन जन्मँदा म र मेरो श्रीमान्‌ विदेशमा थियौं र मैले भर्खरै मात्र बाइबल अध्ययन गर्न थालेकी थिएँ। हामीले अझै कमाउन सकोस्‌ भनेर परिवारका सबै जना आर्यनलाई मेरो आमाबुबाकहाँ पठाइदिएको चाहन्थे।” आर्यनलाई आफैले हुर्काउन चाहेको कुरा बताउँदा आफन्तहरू र श्रीमान्‌ले कवितालाई काम गर्न अल्छी मानेको भने अनि तिनको खिल्ली पनि उडाए। कविता अझै यसो भन्छिन्‌: “कुरा नलुकाई भन्‍नुपर्दा, केही वर्षको लागि आर्यनलाई उसको हजुरबुबा-हजुरआमाकहाँ पठाउँदा कस्तो खतरा हुन्छ भनेर त्यतिबेला मलाई राम्ररी थाह थिएन। तर छोरा हुर्काउने जिम्मेवारी यहोवाले हामीलाई नै दिनुभएको छ भनेरचाहिं थाह थियो।” कविता फेरि गर्भवती भइन्‌। विश्‍वासमा नभएका श्रीमान्‌ले तिनलाई गर्भपतन गर्ने सल्लाह दिए। छोरालाई उसको हजुरबुबा-हजुरआमाकहाँ नपठाएर कविताले पहिल्यै सही निर्णय गरिसकेकी थिइन्‌ र तिनी फेरि पनि यहोवालाई खुसी पार्न दृढ थिइन्‌। अहिले कविता, तिनका श्रीमान्‌ र छोराछोरी सँगै छन्‌। सँगै भएकोमा उनीहरू खुसी छन्‌। कविताले दुवै छोराछोरीलाई वा उनीहरूमध्ये एक जनालाई अरूकहाँ पठाइदिएको भए नतिजा अर्कै हुन सक्थ्यो।

१५, १६. (क) बिनितालाई कसरी हुर्काइएको थियो? (ख) तिनले आफ्नी छोरीलाई किन बेग्लै तरिकाले हुर्काइन्‌?

१५ बिनिता नाम गरेकी ख्रीष्टियन बहिनी यसो भन्छिन्‌: “केही वर्षसम्म मलाई हजुरआमाले हुर्काउनुभयो। बहिनीलाई भने आमाबुबाले साथमै राख्नुभएको थियो। आमाबुबाकहाँ फर्केपछि उहाँहरूसित घनिष्ठ हुनै सकिनँ। बहिनी आमाबुबासित घनिष्ठ थिइन्‌, उहाँहरूसित खुलेर कुरा गर्थिन्‌ र उहाँहरूलाई अङ्‌गालो हाल्थिन्‌। तर मलाई भने आफू आमाबुबाबाट टाढा भएको जस्तो लाग्थ्यो। ठूलो भएपछि पनि उहाँहरूलाई आफ्नो भावना पोखाउन गाह्रो लाग्थ्यो। मेरी बहिनी र मैले आमाबुबालाई बुढेसकालमा उहाँहरूको हेरचाह गर्छौं भनेर ढुक्क बनाएका छौं। बहिनीले आमाबुबाप्रतिको मायाले गर्दा उहाँहरूको हेरचाह गर्नेछिन्‌ तर मचाहिं कर्तव्य ठानेर मात्र गर्छु होला।”

१६ बिनिता यसो पनि भन्छिन्‌: “मलाई हजुरआमाकहाँ पठाएको जस्तै मेरी आमा आफ्नी नातिनीलाई पनि आफूसँग राखेर हुर्काउन चाहनुहुन्छ। तर मैले छोरीलाई उहाँकहाँ पठाइनँ। मेरो श्रीमान्‌ र म छोरीलाई यहोवाको इच्छाअनुसार हुर्काउन चाहन्छौं। भविष्यमा छोरीसितको सम्बन्ध बिग्रिएको चाहन्‍नँ।” परिवारको इच्छा अनि सरसम्पत्तिलाई भन्दा यहोवा र उहाँका सिद्धान्तहरूलाई पहिलो स्थान दिएमा सफल हुन सकिन्छ भनेर बिनिताले बुझेकी छिन्‌। येशूले पनि यसो भन्‍नुभएको थियो: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन।” हो, कोही पनि परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैन।—मत्ती ६:२४; प्रस्थ. २३:२.

यहोवा हामीलाई “उन्‍नति” गर्न मदत गर्नुहुन्छ

१७, १८. (क) यहोवाले गर्नुभएका कस्ता प्रतिज्ञाहरूमा हामी भरोसा गर्न सक्छौं? (ख) अर्को लेखमा कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

१७ यहोवाको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरह्‍यौं भने उहाँले हामीलाई साँच्चै चाहिएको कुरा दिनुहुनेछ। (मत्ती ६:३३) जस्तोसुकै चुनौती सामना गर्नुपरे तापनि यहोवालाई खुसी पार्न र बाइबल सिद्धान्तहरू पालन गरिरहन सक्छौं। यहोवाले हाम्रो लागि “उम्कने बाटो” खोलिदिने प्रतिज्ञा गर्नुभएको छ। (१ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌) उहाँ कसरी यसो गर्नुहुन्छ? यहोवालाई प्रार्थना गऱ्‍यौं र उहाँप्रति आज्ञाकारी भयौं भने उहाँलाई भरोसा गरेको देखाइरहेका हुन्छौं। (भज. ३७:५, ७) अनि हामीले गरेको सबै प्रयास उहाँले देख्नुहुनेछ र हामीलाई चाहिने सबै कुरा दिएर जीवनमा “उन्‍नति” गर्न मदत गर्नुहुनेछ।—उत्पत्ति ३९:३ तुलना गर्नुहोस्‌।

१८ परिवार छुट्टिएर बस्दा भएको हानि सुधार्न के गर्न सकिन्छ? परिवारबाट टाढा नभइकनै परिवारको खाँचो कसरी टार्न सकिन्छ? परिवारसँगै बस्न अरूलाई कसरी प्रोत्साहन दिन सक्छौं? यी प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गर्नेछौं।

a नामहरू परिवर्तन गरिएका छन्‌।

b याकूबका छोराहरू मिश्र जाँदा प्रत्येक चोटि नै तीन हप्ता वा सोभन्दा कम समयमै आफ्नो परिवारकहाँ फर्के। मिश्रमा बसाइँ सर्दा याकूब र उनका छोराहरूले आफ्ना श्रीमती र छोराछोरीलाई पनि सँगै लगे।—उत्प. ४६:६, ७.

c जनवरी १, १९९२ को प्रहरीधरहरा-को “एउटा सम्पन्‍न देशमा बसाइँ सर्न अघि राम्ररी सोच-विचार गर्ने” भन्‍ने लेख हेर्नुहोस्‌।

d थुप्रै देशको रिपोर्टले देखाएअनुसार विदेशमा काम गर्नको लागि जीवनसाथी वा छोराछोरीबाट टाढा बस्दा थुप्रै गम्भीर समस्या आइपर्न सक्छ। जस्तै: पति वा पत्नीमध्ये एक जनाले वा दुवैले अरूसित यौनसम्बन्ध राख्ने, समलिङ्‌गी सम्बन्ध राख्ने वा हाडनाताकरणी गर्ने। छोराछोरीलाई पनि स्कूलमा समस्या आइपर्न सक्छ। तिनीहरू रिसाहा हुन सक्छन्‌, निराशा र डिप्रेसनको सिकार हुन सक्छन्‌ अनि तिनीहरूमा आत्महत्या गर्ने सोचाइसमेत आउन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने