सबैलाई चाहिने बिमा
तपाईं बस्नुभएको ठाउँमा बिमा गर्ने चलन होस् या नहोस् तर एक किसिमको बिमा भने सबैले गर्नसक्छन् र यो गर्नु पनि पर्छ। “बिमा” भन्नाले “जोखिम र हानिबाट सुरक्षा” भएकोले तपाईं कसरी यस्तो प्रकारको बिमा गर्न सक्नुहुन्छ?
आफूले भोग्न सक्ने जोखिमहरूलाई कम गर्ने व्यावहारिक कदमहरू चालेर तपाईं यसो गर्नसक्नुहुन्छ। बाइबल यसो भन्छ, “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।” (उपदेशक ९:११) हो, अनावश्यक जोखिम नउठाएर सम्भाव्य हानि र नोक्सानीबाट बच्न सकिन्छ।
भविष्यबारे सोच्नुहोस्
व्यावहारिक बुद्धि देखाउनु सुरक्षा हो। आर्थिक लाभ भएको बेला भविष्यमा पर्नसक्ने खाँचोको लागि भनेर केही बचाउन सकिन्छ। पुरातन समयमा ईश्वरभीरु मानिस यूसुफले सहकालको समयमा सारा मिश्रको लागि अन्न सञ्चय गरेर आफैलाई “चतुर र बुद्धिमान मानिस” साबित गरे। पछि जब अनिकाल पऱ्यो, यूसुफको कार्यले मिश्रीहरूलाई मात्र होइन तर उनको आफ्नै परिवारलाई पनि अन्न उपलब्ध गरायो।—उत्पत्ति ४१:३३-३६.
आफूले उपभोग गर्ने कुराहरूमा कम खर्चिलो भएर पनि सुरक्षा पाउन सकिन्छ। हाम्रो सुरक्षालाई खासै नबढाउने कुराहरू जस्तै, अत्याधुनिक सरसामान, नयाँ फेशन वा मनोरञ्जनका पछि नलागेर हामी पैसा बचाउनुका साथै तनाउ कम गर्न सक्छौं। वास्तवमा, पहिलो लेखमा उल्लेख गरिएझैं, मानिससँग जति धेरै भौतिक सम्पत्ति भयो उतिनै दुःख भोग्ने, चोरी तथा नाश हुने सम्भावना बढी हुन्छ।—लूका १२:१५.
सुरक्षाबारे सचेत हुनुहोस्
सुरक्षाबारे सचेत भएर पनि हामीले जीवनमा आइपर्ने धेरैजसो जोखिमहरूलाई कम गर्न सक्छौं। सबैले होसियारीसाथ र ठीक्क गतिमा गाडी हाँकेको खण्डमा कत्ति धेरै दुःखद दुर्घटना कम गर्न सकिन्थ्यो होला? यदि कसैले पनि असाध्यै थकित हुँदा वा मदिरापान गरी गाडी नहाँके कत्ति धेरै मानिसको जीवन जोगिन्थ्यो होला, विचार गर्नुहोस् त। गाडी हाँक्दा अरू कतिपय खतरा कम गर्ने पनि हाम्रै हातमा छ।
उदाहरणका लागि, धेरै देशहरूमा सवारी हाँक्दा सेलुलर फोनको प्रयोग गर्न निषेधित छ। एउटा अध्ययनअनुसार यसको प्रयोगले दुर्घटनाको जोखिमलाई चार गुणा बढाउँछ। यसो गर्नु भनेको रगतमा अल्कोहलको मात्रा ०.१ प्रतिशत हुँदा गाडी हाँक्दा हुने दुर्घटना जस्तै जोखिमपूर्ण छ। अनि धेरै मुलुकमा कानुनले तोकेअनुसार यो मात्रा पुगेपछि गाडी हाँक्न पाउँदैनन्।
गाडीमा बस्दा सिट बेल्टको प्रयोगले चालक एवम् यात्रुहरूको ज्यान जाने जोखिमलाई कम गर्छ। तर सुरक्षाका सामग्रीहरू जस्तै, सिट बेल्ट र एयर ब्याग वा बिमा गरेको छ भन्दैमा जोखिम उठाए हुन्छ भन्ने सोचाइ कहिल्यै नराख्नुहोस्। अनुसन्धानले देखाएअनुसार यस्तो सोचाइले झन् बढी दुर्घटनाहरु निम्त्याउँछ।
सुरक्षाबारे सचेत रहनु पनि घर तथा काम गर्ने ठाउँको लागि बिमा हो। के तपाईं बस्ने तथा काम गर्ने ठाउँ सफा र खतरामुक्त छ? चारैतिर आँखा घुमाउनुहोस्। हिड्ने बाटोमा कुनै अप्ठ्यारो छ कि? कतै मानिसहरू ठक्कर खानसक्ने ठाउँमा धारिलो हातहतियार वा स्टोभ, हिटर, इस्त्री आदि वस्तुहरू त राख्नुभएको छैन? कागज वा अन्य ज्वलनशील वस्तुहरू त थाक परिरहेको छैन? बच्चाहरूलाई हुनसक्ने खतराबारे विशेष गरी सतर्क रहनुहोस्। उदाहरणका लागि, के मद्य पेयपदार्थ र सरसफाइ गर्ने विषालु पदार्थहरू बच्चाले नभेट्ने ठाउँमा राख्नुभएको छ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्
स्वास्थ्यको हेरचाह गर्ने सन्दर्भमा सन्तुलित भएर बिरामी हुने खतरा कम गर्न सकिन्छ। यस सन्दर्भमा, ज्ञानले बिमाको काम गर्नसक्छ। आफ्नो स्वास्थ्यलाई हानि गर्ने वस्तुहरूबाट सावधान रहनुहोस् र स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने बित्तिकै आवश्यक कदम चालिहाल्नुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो र आफ्नो परिवारको स्वास्थ्य कसरी हिफाजत गर्ने भनी सिक्नुहोस्। यो पुरानो भनाइ कहिल्यै नबिर्सनुहोस्: “रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु वेश हो।”
ब्यूँझनुहोस्!-ले मानिसहरूलाई बाइबलको सिद्धान्तअनुरूप जीवन बिताउन प्रोत्साहन दिंदै आएको धेरै भइसक्यो र यसमा स्वास्थ्यलाई हानि गर्ने खराब आनीबानी तथा जीवनशैली त्याग्नु पर्ने कुराहरू पनि समावेश छन्। उदाहरणका लागि, ब्यूँझनुहोस्!-मा प्रकाशित थुप्रै विषयमध्ये केहीले सफाइ, सन्तुलित भोजन, यथेष्ट निद्रा र नियमित व्यायाम अनि तनाउ तथा जीवनको भागदौडलाई नियन्त्रणमा राख्नु पर्ने कुराहरूलाई जोड दिदैं आएको छ।
महत्त्वपूर्ण बिमा
यस असिद्ध संसारमा, बिमा एउटा व्यावहारिक साधन हुनसक्छ तर हामीलाई पूर्ण सुरक्षा दिने अनि हाम्रो नोक्सानीको पूर्णतया क्षतिपूर्ति दिनसक्ने त्यस्तो कुनै बिमा नीति छैन। बिमा सेवा उपलब्ध होस् या नहोस्, आफू अलपत्र हुनुपर्नेछैन भन्ने कुरामा विश्वस्त हुने मानिसहरू पनि छन्। किन? किनकि विपत्ति आउँदा आफ्नो पिता यहोवाको सेवा गर्ने येशू ख्रीष्टका साँचो अनुयायीहरूले एक अर्काको भार कम गर्न सक्दो प्रयास गर्छन्।—भजन ८३:१८; याकूब २:१५-१७; १ यूहन्ना ३:१६-१८.
साथै, यहोवा स्वयम्ले आफ्ना विश्वासी सेवकहरूलाई कहिल्यै नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। बाइबल भजनहारले यस्तो लेखे, “मेरा बाबु र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” (भजन २७:१०, नयाँ संशोधित संस्करण) जीवनको स्रोतको हैसियतमा यहोवाले मरेकाहरूलाई पुनरुत्थान गर्न सक्नुहुन्छ र बाइबलअनुसार मरेकाहरूलाई फेरि ब्यूँताउने अख्तियार उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई दिनुभएको छ। (भजन ३६:९; यूहन्ना ६:४०, ४४) यद्यपि, सबैको पुनरुत्थान हुनेछैन भनी परमेश्वरको वचनले बताउँछ। (यूहन्ना १७:१२) त्यसोभए, पुनरुत्थानको समयमा परमेश्वरले हामीलाई सम्झनुहुनेछ भनी हामी कसरी पक्का हुनसक्छौं?
आफ्नो प्रसिद्ध डाँडाको उपदेशमा येशूले सबैभन्दा भरपर्दो बिमाबारे बताउनुभयो। उहाँले यसो भन्नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन। कारण जहाँ तिम्रो सम्पत्ति हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।”—मत्ती ६:१९-२१.
धेरैजसो मानिसहरू आफू वृद्ध हुँदा आरामदायी जीवन बिताउन सकिन्छ भन्ने आशमा धेरै धनसम्पत्ति जोगाउने विचार गर्छन। तथापि, येशूले अझ सुरक्षित बिमाबारे स्पष्ट पार्नुभयो। यो बिमा एकदमै अनमोल छ र यसले कहिल्यै धोका दिनेछैन! उहाँले यसरी व्याख्या गर्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३.
परमेश्वर अनि उहाँको पुत्रबारे सही ज्ञान लिएर र सिकेका कुराहरूलाई जीवनमा लागू गरेर हामीले परमेश्वरको नजरमा राम्रो रेकर्ड बसाल्न सक्छौं। (हिब्रू ६:१०) आफ्ना गुरु येशू ख्रीष्टको शिक्षामा विश्वास गर्ने प्रेरित पत्रुस र यूहन्नाले वर्तमान मानव शासन प्रणाली अन्त हुनेछ भन्ने कुरामा जोड दिए। यद्यपि, यूहन्नाले यसो भने: “परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७; मत्ती २४:३, १४; २ पत्रुस ३:७, १३.
यदि हामी परमेश्वरको सेवा गरेर मऱ्यौं भने उहाँले हाम्रो पुनरुत्थान गर्नुहुनेछ वा यस रीतिरिवाजको अन्त गर्नुहुने समयसम्म हामी जीवितै छौं भने उहाँले आफ्नो धार्मिक नयाँ संसारमा हामीलाई राख्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क हुनसक्छौं। निस्सन्देह, हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुने” र “सब कुरा नयाँ” तुल्याउने परमेश्वरको प्रतिज्ञा छ। (प्रकाश २१:४, ५) परमेश्वरको सेवा गर्नु र उहाँको प्रतिज्ञामाथि विश्वास गर्नु नै सबैभन्दा उत्तम बिमा हो। अनि यो सबैको लागि उपलब्ध छ। (g01 2/22)
[पृष्ठ ८-मा भएको चित्र]
सुरक्षा तथा स्वास्थ्यबारे होसियार हुनु पनि एक प्रकारको बिमा नै हो
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरबारे सिक्नु अनि उहाँको इच्छाअनुसार गर्नु भविष्यको लागि सर्वोत्तम बिमा हो