प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ४ पृ. ३-६
  • येशू वास्तविक व्यक्‍ति हुन्‌ या काल्पनिक?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू वास्तविक व्यक्‍ति हुन्‌ या काल्पनिक?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इतिहासले के देखाउँछ?
  • बाइबलमा पाइने प्रमाण
  • यसबारे किन थाह पाउनुपर्छ?
  • येशू ख्रीष्ट उहाँ पृथ्वीमा आउनुभएको थियो भन्‍ने प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • येशूको साँचो चिनारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • येशूबारे सत्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • सुसमाचारका पुस्तक-इतिहास वा मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ४ पृ. ३-६

आवरण लेख

येशू वास्तविक व्यक्‍ति हुन्‌ या काल्पनिक?

येशू

उहाँ न धनी हुनुहुन्थ्यो न शक्‍तिशाली। उहाँको आफ्नो घरसमेत थिएन। तर उहाँको शिक्षाले लाखौं मानिसको मन जित्न सकेको छ। प्रश्‍न उठ्‌छ, के येशू वास्तविक व्यक्‍ति हुनुहुन्छ? आधुनिक र प्राचीन समयका केही प्रख्यात व्यक्‍तिले उहाँबारे के भनेका छन्‌? एकछिन विचार गरौं।

  • माइकल ग्रान्ट इतिहासकार र प्राचीन मानव सभ्यताका विशेषज्ञ थिए। तिनले यसो भने: “प्राचीन लेखोटहरूमा उल्लेख गरिएका पात्रहरू वास्तविक हुन्‌ भनेर प्रमाणित गर्न केही मापदण्ड पूरा भएको हुनुपर्छ। सोही मापदण्ड नयाँ करारमा उल्लेख गरिएका येशूको सन्दर्भमा लागू गर्ने हो भने उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर नकार्न सक्दैनौं। तर यही कुरा इतिहासमा कहिल्यै शङ्‌का नगरिएका गैर-ख्रीष्टियन व्यक्‍तिहरूको सन्दर्भमा लागू गर्ने हो भने तिनीहरूको अस्तित्वमाथि प्रश्‍न खडा हुन सक्छ।”

  • रूडोल्फ बल्टमन नयाँ करारको अध्ययन गर्ने प्राध्यापक थिए। तिनले यस्तो भने: “येशू वास्तविक व्यक्‍ति हुन्‌ भनेर शङ्‌का गर्नुको कुनै आधार छैन र यसरी शङ्‌का गर्नु व्यर्थ छ। कुनै पनि सद्दे मानिसले येशू ऐतिहासिक परिवर्तनका सुरुवातकर्ता हुन्‌ भनेर नकार्न सक्दैन। यस्तो परिवर्तनको सुरुवात प्राचीन प्यालेस्टाइनको [ख्रीष्टियन] समाजबाट भएको थियो।”

  • विल डुरान्ट इतिहासकार, लेखक र दार्शनिक थिए। तिनले यस्तो लेखे: “यदि केही साधारण मानिसले येशू सबैले मन पराउने, मानिसको जीवन परिवर्तन गर्न सक्ने, उच्च नैतिक स्तर भएको अनि प्रेम गर्न सिकाउने व्यक्‍ति थिए भनेर कथा लेखेका हुन्‌ भने त्यो एउटा ठूलो चमत्कार हुनेछ; सुसमाचारका किताबहरूमा बताइएका कुनै पनि चमत्कारभन्दा ठूलो चमत्कार।”

  • अल्बर्ट आइन्स्टाइन जर्मनीमा जन्मेका यहूदी र भौतिकशास्त्री थिए। तिनले यसो भने: “म यहूदी हुँ। तर नासरी येशूको आकर्षक व्यक्‍तित्व देखेर निकै प्रभावित भएको छु।” येशूलाई ऐतिहासिक व्यक्‍तिको रूपमा हेर्छन्‌ कि हेर्दैनन्‌ भनेर सोधिंदा तिनले यसो भने: “यसमा शङ्‌का गर्ने त कुरै आउँदैन। सुसमाचारका किताबहरू पढ्‌ने कसैले पनि येशू काल्पनिक व्यक्‍ति हुन्‌ भनेर भन्‍न सक्दैन। किनभने हरेक शब्दमा उहाँको व्यक्‍तित्व झल्किन्छ। यस्तो जीवनी काल्पनिक हुनै सक्दैन।”

    “सुसमाचारका किताबहरू पढ्‌ने कसैले पनि येशू काल्पनिक व्यक्‍ति हुन्‌ भनेर भन्‍न सक्दैन।”—अल्बर्ट आइन्स्टाइन

इतिहासले के देखाउँछ?

बाइबलका किताबहरू मत्ती, मर्कूस, लूका र यूहन्‍नामा येशूको जीवनी र प्रचारका विवरणहरू पाइन्छ। यी किताबहरूको नाम लेखकहरूकै नामबाट राखिएका हुन्‌। बाइबलबाहेक अरू प्राचीन स्रोतहरूमा पनि येशू भन्‍ने नाम उल्लेख गरिएको पाइन्छ।

  • ट्‌यासिटस

    ट्यासिटस

    (करिब इ. सं. ५६-१२०) ट्यासिटस प्राचीन रोमका सबैभन्दा प्रख्यात इतिहासकार थिए। तिनको किताब एनल्स-मा इस्वी संवत्‌ १४ देखि ६८ सम्म रोमी साम्राज्यमा घटेका घटनाहरूको विवरण पाइन्छ। (येशूको मृत्यु इस्वी संवत्‌ ३३ मा भएको थियो।) सम्राट्‌ नेरोको कारण इस्वी संवत्‌ ६४ मा भएको ठूलो आगलागीले रोम तहसनहस भएको कुरा ट्यासिटसले लेखे। तर यस्तो “हल्ला फैलन नदिन” नेरोले ख्रीष्टियनहरूमाथि दोष थोपरे भनेर पनि तिनले लेखे। तिनले थप यसो भने: “टाइबेरियसको शासनकालमा राज्यपाल पन्तियस पिलातसले यस [ख्रीष्टियन] नामको स्थापक ख्रीष्टलाई मृत्युदण्ड दिए।” —एनल्स, XV, ४४ (अङ्‌ग्रेजी).

  • स्युटोनियस

    स्युटोनियस

    (इ. सं. ६९ तिरदेखि १२२ पछि) रोमी इतिहासकार स्युटोनियसले लाइभ्स अफ सिजर्स (अङ्‌ग्रेजी) भन्‍ने किताबमा रोमी साम्राज्यको सुरुका ११ जना सम्राट्‌को शासनकालमा घटेका घटनाहरू लेखे। अनि क्लौडियसबारे लेखिएको विवरणमा येशूले गर्दा रोममा यहूदीहरूबीच भएको खलबलीबारे उल्लेख गरिएको छ। (प्रेषित १८:२) तिनले यस्तो लेखे: “ख्रीष्टको विषयलाई लिएर यहूदीहरूले बारम्बार अशान्ति मच्चाए। त्यसैले तिनले [क्लौडियसले] यहूदीहरूलाई रोमबाट देश निकाला गरे।” [द डिफाइड क्लौडियस, XXV, ४ (अङ्‌ग्रेजी)] हुन त स्युटोनियसले येशूलाई अशान्ति मच्चाएको गलत आरोप लगाए। तर तिनले येशूको अस्तित्वमाथि कुनै शङ्‌का गरेनन्‌।

  • प्लाइनी द यङ्‌गर

    प्लाइनी द यङ्‌गर

    (करिब इस्वी संवत्‌ ६१-११३) रोमी लेखक र बिथिनियाका (हाल टर्की) प्रशासक प्लाइनीले आफ्नो प्रान्तका ख्रीष्टियनहरूलाई तह लगाउन रोमी सम्राट्‌ ट्राजानसित सल्लाह मागे। तिनले ख्रीष्टियनहरूलाई आफ्नो धर्म त्याग्न दबाब दिए र ज-जसले त्याग्न मानेनन्‌, तिनीहरूलाई मृत्युदण्ड दिए। तिनले यसो भने: “ज-जसले . . . [गैर-ख्रीष्टियन] देवीदेवता समक्ष आफ्नो गल्तीको क्षमा माग्छ; वाइन र धूप चढाएर देवीदेवता अनि तपाईंको प्रतिमाको उपासना गर्छ; . . . र ख्रीष्टलाई सराप्छ . . . , त्यसलाई मुक्‍त गर्नु मलाई उचित लाग्छ।”—प्लाइनी—लेटर्स, बुक X XCVI (अङ्‌ग्रेजी).

  • फ्लेभियस जोसेफस

    फ्लेभियस जोसेफस

    (करिब इस्वी संवत्‌ ३७-१००) तिनी यहूदी पुजारी र इतिहासकार थिए। तिनले यहूदी प्रधान-पुजारी अनानस जोसित राजनैतिक शक्‍ति पनि थियो, उनीबारे यस्तो लेखे: “[अनानसले] यहूदी न्यायपरिषद्‌को [उच्च अदालत] बैठक बोलाए अनि याकूब नाम गरेका व्यक्‍तिलाई तिनीहरूसामु खडा गराए। यी याकूब ‘ख्रीष्ट’ भनिने येशूका भाइ थिए।”—ज्युइस एन्टिक्विटिज, XX, २०० (अङ्‌ग्रेजी).

  • ताल्मुद

    ताल्मुद

    ताल्मुद यहूदी धर्मगुरुहरूले तेस्रो शताब्दीदेखि छैटौं शताब्दीमा लेखेका किताबहरूको सङ्‌ग्रह हो। त्यस सङ्‌ग्रहमा येशूका शत्रुहरूले समेत उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर स्विकारेको विवरण पाइन्छ। ताल्मुदको एउटा अंशमा यस्तो लेखिएको छ: “निस्तार-चाडको दिन नासरी येशूलाई झुण्ड्याइयो।” (बेबिलोनी ताल्मुद, सानहेड्रिन ४३क, म्युनिक कोडेक्स (अङ्‌ग्रेजी); यूहन्‍ना १९:१४-१६ हेर्नुहोस्‌।) यो कुरा ऐतिहासिक रूपमा सही छ। अर्को एउटा अंशमा यस्तो लेखिएको छ: “आफ्नो बदनामी आफै गर्ने नासरीजस्तो मानिस यो संसारमा कहिल्यै नजन्मोस्‌।” नासरी भन्‍ने पदवी प्रायजसो येशूलाई बुझाउन प्रयोग गरिन्छ।—बेबिलोनी ताल्मुद, बेराकोथ १७ख, फुटनोट, म्युनिक कोडेक्स (अङ्‌ग्रेजी); लूका १८:३७ हेर्नुहोस्‌।

बाइबलमा पाइने प्रमाण

बाइबलको मत्ती, मर्कूस, लूका र यूहन्‍ना भन्‍ने किताबहरूमा येशूको जीवनी र सेवाबारे पर्याप्त जानकारी पाइन्छ। साथै त्यतिबेलाका मानिसहरू, ठाउँहरू र समयबारे पनि तोकेरै उल्लेख गरिएको छ। कुनै कुरा ऐतिहासिक रूपमा सही हुन यी तीन कुरा अत्यावश्‍यक छन्‌। एउटा उदाहरण लूका ३:१, २ मा पाइन्छ। यस विवरणबाट येशूअघि आएका बप्तिस्मा गराउने यूहन्‍नाले आफ्नो सेवाको काम सुरु गरेको मिति पत्ता लगाउन सक्छौं।

बाइबल

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमोथी ३:१६

लूकाले यस्तो लेखे: “सम्राट्‌ टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा, पन्तियस पिलातस यहूदियाका राज्यपाल, हेरोद गालीलका प्रान्तीय शासक, तिनका दाइ फिलिप इतुरिया र त्राखोनितिसका प्रान्तीय शासक अनि लुसानियासचाहिं अबिलेनेका प्रान्तीय शासक छँदा, हन्‍नास र कैयाफा मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा यूहन्‍ना उजाडस्थानमा छँदा परमेश्‍वरको वचन तिनीकहाँ आयो।” यस विस्तृत जानकारीले ‘परमेश्‍वरको वचन यूहन्‍नाकहाँ’ आएको समय इस्वी संवत्‌ २९ हो भनेर बुझ्न मदत गर्छ।

लूकाले उल्लेख गरेका यी सात व्यक्‍ति इतिहासकारहरूबीच चिरपरिचित छन्‌। तर कुनै बेला आलोचकहरू पन्तियस पिलातस र लुसानियास काल्पनिक व्यक्‍ति हुन्‌ भन्‍ने गर्थे। तर तिनीहरूको शङ्‌का निराधार थियो। किनभने पछि यी व्यक्‍तिहरूको नाम कुँदिएका पुराना शिलालेखहरू भेट्टिए, जसले लूकाको विवरण सही थियो भनेर प्रमाणित गर्छ।a

यसबारे किन थाह पाउनुपर्छ?

पृथ्वी

येशूले मानिसहरूलाई परमेश्‍वरको राज्य अर्थात्‌ पूरै पृथ्वीमाथि शासन गर्ने सरकारबारे सिकाउनुभयो

येशू वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर थाह पाउनु महत्त्वपूर्ण छ। किनभने उहाँले दिनुभएको शिक्षाले हाम्रो जीवनलाई असर गर्छ। उदाहरणको लागि, उहाँले सुखी जीवन बिताउन के गर्नुपर्छ भनेर सिकाउनुभयो।b साथै “परमेश्‍वरको राज्य” अर्थात्‌ पूरै पृथ्वीमाथि शासन गर्ने सरकारले साँचो शान्ति र सुरक्षा ल्याउनेछ र मानिसहरू मिलिजुली बस्नेछन्‌ भनेर पनि प्रतिज्ञा गर्नुभयो।—लूका ४:४३.

“परमेश्‍वरको राज्य” भन्‍ने अभिव्यक्‍ति उपयुक्‍त छ किनभने यस राज्यले सारा पृथ्वीमाथि शासन गर्ने अधिकार परमेश्‍वरसित मात्र छ भनेर स्पष्ट पार्नेछ। (प्रकाश ११:१५) येशूले यो कुरा चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदा स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, . . . तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:९, १०) परमेश्‍वरको राज्यले मानिसजातिको लागि के गर्नेछ?

  • युद्ध हुनेछैन।—भजन ४६:८-११.

  • दुष्टता, लोभ र भ्रष्टाचार सदाका लागि अन्त गरिनेछ। दुष्ट मानिसहरू रहनेछैनन्‌। —भजन ३७:१०, ११.

  • परमेश्‍वरको राज्यका प्रजाले अर्थपूर्ण काम पाउनेछन्‌।—यशैया ६५:२१, २२.

  • पृथ्वीको उर्वरा शक्‍ति बढ्‌नेछ र प्रशस्त अन्‍न उब्जनी हुनेछ।—भजन ७२:१६; यशैया ११:९.

कसै-कसैलाई परमेश्‍वरका यी प्रतिज्ञाहरू काल्पनिक लाग्छ। परमेश्‍वरको प्रतिज्ञामा भरोसा गर्न सकिंदैन भने के मानिसहरूको प्रतिज्ञामा चाहिं भरोसा गर्न सकिन्छ र? एकछिन सोच्नुहोस्‌: शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा मानिसले ठूलो फड्‌को मारेको छ। तैपनि लाखौं मानिस भविष्यबारे चिन्ता गर्छन्‌, असुरक्षित महसुस गर्छन्‌। आर्थिक, राजनैतिक र धर्मको दबाबले गर्दा अनि लोभ र भ्रष्टाचारले गर्दा मानिसहरू अत्याचारमा परेका छन्‌। यी तथ्यहरूबाट के कुरा स्पष्ट भएको छ भने मानव सरकारले कुनै पनि हालतमा चिरस्थायी सुख-शान्ति दिन सक्दैन!—उपदेशक ८:९.

त्यसैले येशू वास्तविक व्यक्‍ति हुनुहुन्छ कि हुनुहुन्‍न भनेर जाँच्नु लाभदायी हुन्छ।c दोस्रो कोरिन्थी १:१९, २० मा यस्तो बताइएको छ: “परमेश्‍वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती उहाँद्वारा [अर्थात्‌ ख्रीष्टद्वारा] ‘हुन्छ’ भएका छन्‌।” (g16-E No. 5)

a “प्रान्तीय शासक” लुसानियासको नाम कुँदिएको एउटा शिलालेख फेला परेको छ। (लूका ३:१) लूकाले तिनको बारेमा लेखेको बेला तिनी अबिलेनेका शासक थिए।

b मत्ती अध्याय ५ देखि ७ मा येशूको उत्कृष्ट शिक्षाहरू पाइन्छ, जसलाई डाँडाको उपदेश भनिन्छ।

c येशू र उहाँको शिक्षाबारे थप जानकारी पाउन www.pr2711.com/ne को बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने