प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ७३
  • असल सामरी छिमेकी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल सामरी छिमेकी
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • सामरी असल छिमेकी साबित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • दयालु हुनेबारे एउटा पाठ
    महान्‌ शिक्षकबाट सिकौं
  • येशू राम्ररी सिकाउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ७३

अध्याय ७३

असल सामरी छिमेकी

येशू सम्भवतः यरूशलेमदेखि करिब ३ किलोमिटर टाढा बेथानी भन्‍ने गाउँ नजिक हुनुहुन्छ। मोशाको व्यवस्थामा निपुण एक जना मानिस उहाँकहाँ आएर यो प्रश्‍न सोध्छन्‌: “गुरुज्यू, के गरें भने म अनन्त जीवनको हकदार हुनेछु?”

ती मानिस एक जना वकिल हुन्‌। उनले जानकारीका लागि होइन तर येशूको जाँच गर्न चाहेर यो प्रश्‍न सोधिरहेछन्‌। यो कुरा येशू चाल पाउनुहुन्छ। यहूदीहरूको चित्त दुखाउने किसिमको जवाफ येशूको मुखबाट निकाल्ने इच्छा ती वकिलको हुन सक्छ। त्यसकारण वकिल आफैले जवाफ दिऊन्‌ भन्‍ने उद्देश्‍यले येशू सोध्नुहुन्छ: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?”

प्रत्युत्तरमा असाधारण अन्तरदृष्टि दर्साउँदै वकिलले व्यवस्था ६:५ र लेवी १९:१८ बाट परमेश्‍वरको नियम उद्धरण गर्दै भन्छन्‌: “ ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ ”

येशू भन्‍नुहुन्छ: “तिमीले ठीक जवाफ दियौ। ‘त्यसै गरिरह अनि तिमीले जीवन पाउनेछौ।’ ”

तथापि वकिलको चित्त बुझ्दैन। येशूको जवाफ उनलाई स्पष्ट लाग्दैन। आफ्नो विचार नै ठीक हो र आफूले अरूहरूसँग गरेको व्यवहारको आधारमा उनी धर्मी हुन्‌ भन्‍ने कुराको पुष्टि उनी येशूबाट चाहन्छन्‌। अतः उनी सोध्छन्‌: “वास्तवमा मेरो छिमेकी को हो?”

यहूदीहरूका विचारमा “छिमेकी” भन्‍ने शब्द सँगी यहूदीहरूका लागि मात्र प्रयोग हुन्छ र लेवी १९:१८ को सन्दर्भले पनि यही सोचाइलाई सङ्‌केत गरेको जस्तो देखिन्छ। वास्तवमा पछि गएर प्रेषित पत्रुसले पनि भने: “यहूदी भईकन अर्को जातिको मानिससित सङ्‌गत गर्नु वा भेट्‌नु कत्तिको अनुचित कुरा हो भनेर तपाईंहरूलाई राम्ररी थाहै छ।” त्यसकारण आफ्ना सँगी यहूदीहरूसँग मात्र राम्रो व्यवहार गरेमा तिनीहरू धर्मी ठहरिन्छन्‌ भनी ती वकिल र सायद येशूका चेलाहरू पनि विश्‍वास गर्छन्‌। तिनीहरूको दृष्टिकोणमा गैर-यहूदीहरू वास्तवमा आफ्ना छिमेकी होइनन्‌।

आफ्ना श्रोताहरूको चित्त नदुखाइकनै येशूले तिनीहरूको दृष्टिकोणमा कसरी सुधार ल्याउन सक्नुहुन्छ? सायद कुनै वास्तविक घटनामा आधारित एउटा कथा उहाँ भन्‍नुहुन्छ। येशू व्याख्या गर्नुहुन्छ: “एक जना [यहूदी] यरूशलेमबाट यरिहोतिर ओर्लंदै थियो। अनि डाँकुहरूले उसलाई हमला गरे र उसको लुगासमेत लुटेर कुट्‌नसम्म कुटे अनि उसलाई अधमरो छोडेर गए।”

कथा अघि बढाउँदै येशू भन्‍नुहुन्छ: “संयोगवश एक जना पुजारी त्यही बाटो भएर ओर्लंदै थियो तर उसलाई देख्नेबित्तिकै ऊ बाटोको पारिपट्टीबाट गयो। त्यसैगरि, तल ओर्लिरहेको एक जना लेवी पनि त्यस ठाउँमा पुगेपछि उसलाई देख्नेबित्तिकै बाटोको पारिपट्टीबाट गयो। एक जना सामरी पनि त्यही बाटो भएर यात्रा गरिरहेको थियो। अनि त्यहाँ पुगेपछि उसलाई देख्नेबित्तिकै टिठायो।”

यरूशलेमको मन्दिरदेखि करिब २३ किलोमिटर टाढा र ९०० मिटर ओरालो झर्ने खतरनाक बाटोमा यरिहो पर्छ, जहाँ धेरै पुजारीहरू र मन्दिरमा तिनीहरूलाई सहायता दिने लेवीहरू बस्छन्‌। दुःखमा परेको सँगी यहूदीलाई त्यो पुजारी र लेवीले मदत दिनुपर्ने हो। तर तिनीहरू त्यसो गर्दैनन्‌। बरु एक सामरीले मदत दिन्छ। यहूदीहरूले सामरीहरूलाई यति साह्रो घृणा गर्छन्‌ कि केही समयअघि मात्र तिनीहरूले येशूको घोर अपमान गर्दै उहाँलाई “सामरी” भनेका थिए।

बाटोमा लडिरहेको त्यस यहूदीलाई मदत गर्न त्यो सामरीले के गर्छ? येशू भन्‍नुहुन्छ: “उसको नजिक गएर उसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि, आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहार-सुसार गऱ्‍यो। अनि भोलिपल्ट उसले दुई दिनार [करिब दुई दिनको ज्याला] निकालेर पौवाको मालिकलाई दियो र भन्यो: ‘तिमीले उसको हेरविचार गर्नू र यसबाहेक जति खर्च लाग्छ फर्केर आउँदा म तिरूँला।’ ”

कथा भनिसकेपछि येशू वकिललाई सोध्नुहुन्छ: “अब भन, यी तीन जनामध्ये कोचाहिं डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी ठहरियो?”

सामरीलाई श्रेय दिन अप्ठ्यारो मान्दै वकिल यति मात्र भन्छन्‌: “जसले ऊसित कृपालु व्यवहार गऱ्‍यो त्यहीचाहिं।”

येशू कुरा टुङ्‌ग्याउँदै भन्‍नुहुन्छ: “जाऊ, तिमी पनि त्यसै गर।”

गैर-यहूदीहरू पनि उनका छिमेकी हुन्‌ भनेर त्यस वकिललाई येशूले सोझै भन्‍नुभएको भए सो कुराको तिरस्कार तिनले मात्र होइन तर त्यहाँ उपस्थित अन्य अरू श्रोताहरूले पनि गर्ने थिए र तिनीहरूले येशूसित भइरहेको त्यस बहसमा वकिलकै पक्ष लिने थिए। तथापि हाम्रा छिमेकीहरू आफ्ना जाति र राष्ट्रका मानिसहरूबाहेक अरू मानिसहरू पनि हुन्‌ भनेर यस सत्य कथाद्वारा अकाट्य प्रमाण प्रस्तुत हुन्छ। येशूको शिक्षा दिने कस्तो अद्‌भुत तरिका! लूका १०:२५-३७; प्रेषित १०:२८; यूहन्‍ना ४:९; ८:४८.

▪ येशूलाई वकिलले के प्रश्‍न सोध्छन्‌ र उनले यसरी सोध्नुको उद्देश्‍य के हो?

▪ यहूदीहरू कसलाई आफ्ना छिमेकी ठान्छन्‌ र चेलाहरूले पनि यही दृष्टिकोण अपनाएका छन्‌ भनी हामी किन भन्‍न सक्छौं?

▪ वकिलले खण्डन गर्न नसक्नेगरि सही दृष्टिकोण येशू कसरी प्रस्तुत गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने