प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr अध्या. २५ पृ. १३२-१३६
  • के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दमीशक जाने बाटो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr अध्या. २५ पृ. १३२-१३६

अध्याय २५

के खराब काम गर्नेहरू परिवर्तन हुन सक्लान्‌?

सबैले राम्रो काम गरेको भए कत्ति राम्रो हुन्थ्यो नि, होइन र?—तर सबैले सधैं राम्रो काम गर्दैनन्‌। राम्रो काम गर्न चाहे तापनि हामी कहिलेकाहीं खराब काम गर्छौं, किन तिमीलाई थाह छ?—किनभने हामी सबै पापसहित जन्मेका छौं। तर कोही-कोही मानिस भने धेरै खराब काम गर्छन्‌। तिनीहरू अरूलाई घृणा गर्छन्‌ र जानाजानी हानि पुऱ्‍याउँछन्‌। तिनीहरूले परिवर्तन गरेर राम्रो काम गर्न सक्लान्‌ त?—

स्तिफनसलाई ढुङ्‌गा हान्‍नेहरूको बाहिरी लुगा हेरेर बसिरहेको यो जवान मानिसलाई हेर त! तिनको हिब्रू नाम शावल हो भने रोमी नाम पावल हो। महान्‌ शिक्षकका चेला स्तिफनसलाई मार्न लागेको देखेर तिनी खुसी छन्‌। शावलले किन यस्ता खराब कामहरू गरे, हामी हेरौं है त!

शावल फरिसी भनिने यहूदीहरूको एउटा धार्मिक समूहका सदस्य हुन्‌। फरिसीहरूसित परमेश्‍वरको वचन छ तर तिनीहरू आफ्नै धार्मिक नेताहरूको शिक्षामा बढी ध्यान दिन्छन्‌। यही कारण शावल खराब काम गर्छन्‌।

स्तिफनसलाई यरूशलेममा पक्रँदा शावल त्यहीं छन्‌। स्तिफनसलाई अदालतमा लगिन्छ र त्यस अदालतका केही न्यायाधीश फरिसीहरू हुन्‌। आफूबारे झूटो कुरा भनिए तापनि स्तिफनस डराउँदैनन्‌। उनी निर्धक्क भएर बोल्छन्‌ र यहोवा परमेश्‍वर अनि येशूबारे ती न्यायाधीशहरूलाई राम्रो साक्षी दिन्छन्‌।

तर यो कुरा ती न्यायाधीशहरूलाई मन पर्दैन। तिनीहरूलाई येशूबारे पहिला नै धेरै कुरा थाह थियो। साँच्चै भन्‍नुपर्दा केही समयअघि तिनीहरूको आदेशअनुसारै येशूलाई मारिएको थियो! तर पछि यहोवाले येशूलाई पहिलाकै ठाउँ अर्थात्‌ स्वर्गमा लैजानुभयो। आफूलाई परिवर्तन गर्नुको सट्टा ती न्यायाधीशहरू येशूका चेलाहरूविरुद्ध लड्‌छन्‌।

ती न्यायाधीशहरूले स्तिफनसलाई च्याप्प समातेर सहरबाहिर लग्छन्‌। तिनीहरूले उनलाई यत्ति पिट्‌छन्‌ कि उनी भूइँमा लड्‌छन्‌ र तिनीहरूले उनलाई ढुङ्‌गाले हान्छन्‌। शावल नजिकै बसेर हेरिरहेको तिमी चित्रमा देख्न सक्छौ। तिनको विचारमा स्तिफनसलाई मार्नु ठीक हो।

स्तिफनसलाई मार्नु ठीक हो जस्तो शावललाई किन लाग्यो?

शावललाई किन त्यस्तो लाग्यो, तिमीलाई थाह छ?—शावल पहिलादेखि फरिसी थिए र तिनी फरिसीहरूको शिक्षा सही हो भनी विश्‍वास गर्थे। तिनी ती फरिसीहरूलाई उदाहरणीय ठान्थे। त्यसैले तिनले तिनीहरूको नक्कल गरे।—प्रेषित ७:५४-६०.

स्तिफनस मारिएपछि शावल के गर्छन्‌?—तिनी येशूका बाँकी चेलाहरूलाई पनि खतम पार्ने कोसिस गर्छन्‌। तिनी घरभित्रै पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँछन्‌। अनि उनीहरूलाई झ्यालखानामा हालिदिन्छन्‌। थुप्रै चेलाले यरूशलेम छाड्‌नुपर्ने हुन्छ तर उनीहरूले येशूबारे प्रचार गर्न बन्द गर्दैनन्‌।—प्रेषित ८:१-४.

यसपछि शावलले येशूका चेलाहरूलाई झनै घृणा गर्छन्‌। त्यसैले तिनी प्रधान पुजारी कैयाफाकहाँ जान्छन्‌ र दमीशक सहरमा रहेका ख्रीष्टियनहरूलाई पक्रने अनुमति लिन्छन्‌। शावल उनीहरूलाई सजाय दिनको लागि यरूशलेममा कैदी बनाएर ल्याउन चाहन्छन्‌। तर तिनी दमीशक जाँदै गर्दा एउटा अचम्मको घटना घट्‌छ।

शावलसित को कुरा गर्दै हुनुहुन्छ र उहाँले शावललाई के गर्न पठाउनुहुन्छ?

आकाशबाट ज्योति चम्किन्छ र एउटा यस्तो आवाज आउँछ: “शावल, ए शावल, तिमी किन मेरो खेदो गर्दैछौ?” स्वर्गबाट येशू बोल्दै हुनुहुन्छ! अनि ज्योति यति चम्किलो छ कि शावल अन्धो हुन्छन्‌। त्यसैले शावलसित गएका मानिसहरूले तिनको हात समातेर तिनलाई दमीशकसम्म डोऱ्‍याउँछन्‌।

तीन दिनपछि येशू दमीशकमा रहेका हननिया नाम गरेका चेलासामु दर्शनमार्फत देखा पर्नुहुन्छ। शावललाई भेट्‌न, तिनलाई फेरि देख्न सक्ने बनाउन र तिनीसित कुरा गर्न येशूले हननियालाई भन्‍नुहुन्छ। हननियाले शावलसित कुरा गरिसकेपछि तिनले येशूबारे सत्य कुरा स्वीकार्छन्‌। तिनी फेरि देख्न सक्ने हुन्छन्‌। तिनको जीवनशैली पूरै परिवर्तन हुन्छ र तिनी परमेश्‍वरका वफादार सेवक बन्छन्‌।—प्रेषित ९:१-२२.

शावलले पहिला किन खराब काम गरेका रहेछन्‌, अब तिमीले बुझ्यौ कि?—किनभने तिनलाई गलत कुरा सिकाइएको थियो। तिनी परमेश्‍वरप्रति अवफादार मानिसहरूको पछि लागेका थिए। अनि तिनी एउटा यस्तो समूहका सदस्य थिए जसले परमेश्‍वरको वचनभन्दा मानिसहरूको विचारलाई महत्त्व दिन्थे। अरू फरिसीहरू परमेश्‍वरविरुद्ध लडि नै रहे तापनि शावलचाहिं किन जीवन परिवर्तन गरेर असल काम गर्न थाल्छन्‌?—किनभने वास्तवमा शावल सत्य कुरालाई घृणा गर्दैनन्‌। त्यसैले सही कुरा सिकाइएपछि तिनी सत्यअनुसार चल्न तयार हुन्छन्‌।

शावल पछि को बने, तिमीलाई थाह छ?—हो, तिनी प्रेषित पावल भनेर चिनिए, येशूका एक जना प्रेषित। अनि यो कुरा नबिर्स, पावलले बाइबलका सबैभन्दा धेरै पुस्तक लेखे।

शावलले जस्तै अरू थुप्रै मानिसले आफूलाई परिवर्तन गर्न सक्छन्‌। तर त्यसो गर्न सजिलो छैन किनभने मानिसहरूलाई खराब काम गर्न लगाउन एक जना व्यक्‍तिले धेरै कोसिस गरिरहेको छ। त्यो को हो, तिमीलाई थाह छ?—दमीशकको बाटोमा शावलकहाँ देखापर्नुहुँदा येशूले त्यो व्यक्‍तिबारे बताउनुभयो। त्यहाँ येशूले स्वर्गबाट शावललाई यसो भन्‍नुभयो: ‘म तिमीलाई मानिसहरूको आँखा खोल्न, तिनीहरूलाई अन्धकारबाट उज्यालोतिर फर्काउन र सैतानको अख्तियारबाट मुक्‍त गरेर परमेश्‍वरतर्फ फर्काउन पठाउँदैछु।’—प्रेषित २६:१७, १८.

हो, सबैलाई खराब काम गर्न लगाउन खोज्ने सैतान अर्थात्‌ दियाबल हो। के तिमीलाई कहिलेकाहीं सही कुरा गर्न गाह्रो लाग्छ?—हामी सबैलाई गाह्रो लाग्छ। सैतानले गाह्रो पारिदिन्छ। तर सही कुरा गर्न गाह्रो हुनुको अर्को कारण पनि छ। त्यो कारण के हो, तिमीलाई थाह छ?—त्यो हो: हामी पापसहित जन्मेका छौं।

पापी भएकोले नै हामीलाई सहीभन्दा गलत कुरा गर्न सजिलो लाग्छ। त्यसोभए हामीले के गर्नुपर्छ?—हो, हामीले सही कुरा गर्न कडा प्रयास गर्नुपर्छ। त्यसो गर्दा हामीलाई माया गर्नुहुने येशूले मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौं।

येशूले पृथ्वीमा हुँदा पहिला खराब काम गरेका तर पछि परिवर्तन भएका मानिसहरूलाई प्रेम गर्नुभयो। परिवर्तन गर्न उनीहरूलाई कत्तिको गाह्रो छ भनेर उहाँलाई थाह थियो। उदाहरणका लागि, केही स्त्रीले थुप्रै पुरुषसित यौनसम्बन्ध राखेका थिए। यो पक्कै पनि खराब कुरा हो। बाइबलले त्यस्ता स्त्रीहरूलाई वेश्‍या भन्छ।

खराब काम गरेकी यस स्त्रीलाई येशूले किन क्षमा गर्नुभयो?

एकचोटि त्यस्तै एउटी स्त्रीले येशूबारे सुनिन्‌ र उहाँ एक जना फरिसीको घरमा हुँदा त्यहीं आइन्‌। उनले येशूको पाउमा तेल खन्याइन्‌ र उहाँको पाउमा झरेको आफ्नो आँसु कपालले पुछिन्‌। आफ्नो पापको लागि उनी निकै पछुताएकी थिइन्‌। त्यसैले येशूले उनलाई क्षमा गर्नुभयो। तर त्यो फरिसीलाई उनलाई क्षमा दिनु ठीक हो जस्तो लागेन।—लूका ७:३६-५०.

केही फरिसीलाई येशूले के भन्‍नुभयो, तिमीलाई थाह छ?—उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “वेश्‍याहरू तिमीहरूभन्दा अगाडि परमेश्‍वरको राज्यमा पस्नेछन्‌।” (मत्ती २१:३१) यी वेश्‍याहरूले उहाँमा विश्‍वास गरेकोले र उनीहरूले आफ्नो खराब आनीबानी परिवर्तन गरेकोले येशूले त्यसो भन्‍नुभएको हो। तर फरिसीहरूले येशूका चेलाहरूलाई दुःख दिइरहे।

त्यसैले हामीले गरिरहेको काम खराब हो भनी बाइबलले देखाउँदा हामी परिवर्तन गर्न तयार हुनुपर्छ। अनि यहोवा हामीबाट के चाहनुहुन्छ भन्‍ने सिकेपछि त्यसअनुसार गर्न उत्सुक हुनुपर्छ। त्यसो गर्दा यहोवा हामीसित खुसी हुनुहुनेछ र हामीलाई अनन्त जीवन दिनुहुनेछ।

खराब काम गर्नबाट जोगिन हामी भजन ११९:९-११; हितोपदेश ३:५-७ अनि १२:१५ सँगै पढौं है!

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने