प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१ पृ. १५-२०
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू र उहाँको मण्डलीको अनुकरण गर्नुहोस्‌
  • तिनीसँग बस
  • कुन अर्थमा “निर्बल पात्र”?
  • धार्मिक तवरमा विभाजित परिवारमा
  • “हृदयको त्यो गुप्त मानिस”
  • बाइबलको बुद्धिमानी डोऱ्‍याइ
  • पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई नछुट्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • पत्नी हो—आफ्ना पतिको गहिरो आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के परमेश्‍वरले तपाईंको परिवारमा प्राथमिकता पाएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१ पृ. १५-२०

विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ

“ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर।”—एफिसी ५:२२, २५.

१. विवाहप्रतिको सही दृष्टिकोण के हो?

विवाह भनेको पुरुष र स्त्रीलाई “एउटै शरीर” हुन एकसाथ जोड्‌ने परमेश्‍वरको प्रबन्ध हो भनेर येशूले बताउनुभयो। (मत्ती १९:५, ६) यसमा दुइटा बेग्लाबेग्लै व्यक्‍तित्व भएका व्यक्‍तिहरूले समान चासो विकास गर्न सिक्नु र समान लक्ष्यतर्फ अघि बढ्‌नु समावेश छ। विवाह भनेको जिन्दगीभरको वचनबद्धता हो, यो सजिलैसित तोड्‌न सकिने अस्थायी सम्झौता होइन। थुप्रै देशहरूमा सम्बन्ध विच्छेद गर्न गाह्रो छैन तर मसीहीको दृष्टिकोणबाट हेर्ने हो भने वैवाहिक सम्बन्ध एउटा पवित्र कुरा हो। एउटा अति गम्भीर कारणले मात्र यो तोड्‌न सकिन्छ।—मत्ती १९:९.

२. (क) विवाहित जोडीहरूको लागि कस्तो मदत उपलब्ध छ? (ख) विवाह सफल बनाउने प्रयास गर्नु किन महत्त्वपूर्ण छ?

२ विवाहसम्बन्धी एक जना सल्लाहकारले यसो भनिन्‌: “एउटा सफल विवाह भनेको निरन्तर परिवर्तन भइरहने प्रक्रिया हो किनभने यसले नयाँ विषयहरू प्रकट गर्छ, खडा हुने समस्याहरूको सामना गर्छ अनि जीवनको हरेक चरणमा उपलब्ध स्रोतसाधनको उपयोग गर्छ।” मसीही जोडीहरूको लागि ती स्रोतसाधनहरूमा बाइबलबाट प्राप्त बुद्धिमानी सल्लाह, सँगी मसीहीहरूको सहयोग र यहोवासितको घनिष्ठ अनि प्रार्थनापूर्ण सम्बन्ध समावेश छ। सफल विवाह कठिनाइको बावजुद स्थिर रहन्छ अनि समय बित्दै जाँदा यसले पति र पत्नी दुवैको लागि आनन्द र सन्तुष्टि दिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले विवाहको आरम्भक यहोवा परमेश्‍वरको आदर गर्छ।—उत्पत्ति २:१८, २१-२४; १ कोरिन्थी १०:३१; एफिसी ३:१५; १ थिस्सलोनिकी ५:१७.

येशू र उहाँको मण्डलीको अनुकरण गर्नुहोस्‌

३. (क) पावलले विवाहित दम्पतीहरूलाई दिएको सल्लाहका मुख्य बुँदाहरू के-के हुन्‌? (ख) येशूले कस्तो राम्रो नमुना बसाल्नुभयो?

३ दुई हजार वर्षअघि प्रेरित पावलले मसीही दम्पतीहरूलाई बुद्धिमानी सल्लाह दिंदै यस्तो लेखे: “जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२४, २५) यहाँ कस्तो राम्रो तुलना गरिएको छ! नम्र भई आफ्ना पतिहरूको अधीनमा बस्ने पत्नीहरूले शिरत्वको सिद्धान्त मानिलिएर त्यो पालन गर्दै मण्डलीको अनुकरण गर्छन्‌। दुःखसुखमा आफ्नी पत्नीलाई प्रेम गर्ने एउटै विश्‍वासमा भएका पतिहरूले मण्डलीलाई प्रेम गर्ने तथा त्यसको हेरचाह गर्ने ख्रीष्टको उदाहरणलाई सकेसम्म हुबहु अनुकरण गरिरहेका छन्‌ भनेर देखाउँछन्‌।

४. पतिहरूले कसरी येशूको उदाहरण पछ्याउन सक्छन्‌?

४ मसीही पतिहरू आफ्नो परिवारका शिर हुन्‌ तर तिनीहरूको पनि शिर येशू हुनुहुन्छ। (१ कोरिन्थी ११:३) यसर्थ, व्यक्‍तिगत त्याग गर्नुपरे तापनि येशूले आफ्नो मण्डलीको हेरचाह गर्नुभएझैं पतिहरूले मायालुपूर्वक आफ्नो परिवारको आध्यात्मिक तथा भौतिक तवरमा हेरचाह गर्छन्‌। तिनीहरू आफ्नो इच्छा र रुचिलाई भन्दा परिवारको हितलाई प्राथमिकता दिन्छन्‌। येशूले यसो भन्‍नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) यो सिद्धान्त विशेष गरी विवाहमा लागू हुन्छ। यसलाई देखाउँदै पावलले यसो भने: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। . . . कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर . . . त्यसको पालन-पोषण गर्दछ।” (एफिसी ५:२८, २९) कुनै पुरुषले आफूलाई खुवाउन तथा हेरचाह गर्न जस्तो लगनशीलता देखाउँछ, उसले त्यसरी नै आफ्नी पत्नीलाई पनि खुवाउनु र हेरचाह गर्नुपर्छ।

५. पत्नीहरूले कसरी मसीही मण्डलीको अनुकरण गर्न सक्छन्‌?

५ ईश्‍वरभीरु पत्नीहरूले मसीही मण्डलीलाई नमुनाको रूपमा हेर्छन्‌। येशू पृथ्वीमा हुनुहुँदा उहाँका अनुयायीहरूले खुसीसाथ आफ्नो पुरानो पेसा त्यागे र उहाँको पछि लागे। उहाँको मृत्युपछि पनि तिनीहरू उहाँको अधीनमा रहिरहे अनि विगतको झन्डै २,००० वर्षको दौडान साँचो मसीही मण्डली येशूको अधीनमा रहेको छ र सबै कुरामा उहाँको नेतृत्व पछ्याएको छ। त्यसरी नै मसीही पत्नीहरूले आफ्नो पतिको अवहेलना गर्दैनन्‌ वा विवाहमा शिरत्वसम्बन्धी धर्मशास्त्रीय प्रबन्धलाई हल्कासित लिन खोज्दैनन्‌। बरु, तिनीहरू आफ्नो पतिलाई सहयोग गरेर पतिको अधीनमा बस्छन्‌ अनि तिनीहरूसित मिलेर काम गर्दै तिनीहरूलाई प्रोत्साहन दिन्छन्‌। पति र पत्नी दुवैले यस्तो मायालु ढङ्‌गमा व्यवहार गर्दा तिनीहरूको विवाह अवश्‍य सफल हुनेछ अनि दुवैले यस सम्बन्धबाट आनन्द उठाउनेछन्‌।

तिनीसँग बस

६. पत्रुसले पतिहरूलाई कस्तो सल्लाह दिए अनि यो किन महत्त्वपूर्ण छ?

६ प्रेरित पत्रुसले पनि विवाहित जोडीहरूलाई सल्लाह दिए र तिनले पतिहरूलाई दिएको सल्लाह अझ जोडदार थियो। तिनले यसो भने: “त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।” (१ पत्रुस ३:७) पत्रुसको सल्लाहको गम्भीरता त्यस पदका अन्तिम शब्दहरूमा बताइएको छ। पतिले आफ्नी पत्नीलाई आदर नदिएको खण्डमा यहोवासित तिनको सम्बन्धलाई असर गर्नेछ। तिनका प्रार्थनाहरू रोकिनेछन्‌।

७. पतिले आफ्नी पत्नीको आदर कसरी गर्नुपर्छ?

७ त्यसोभए पतिहरूले आफ्नी पत्नीहरूलाई कसरी आदर दिन सक्छन्‌? आफ्नी पत्नीलाई आदर दिनुको अर्थ उनलाई सम्मान तथा मर्यादा दिंदै मायालु व्यवहार गर्नु हो। पत्नीलाई यस्तो दयालु व्यवहार गर्नु धेरैलाई अनौठो लागेको हुनुपर्छ। एक जना युनानी विद्धान्‌ यस्तो लेख्छन्‌: “रोमी कानुनअनुसार स्त्री जातिको कुनै अधिकार हुँदैनथ्यो। कानुनअनुसार उनले सधैं एउटा बच्चासरहको अधिकार मात्र पाउँथिन्‌। . . . उनी पूर्णतया आफ्नो पतिको अधीनमा र तिनकै नियन्त्रणमा हुन्थिन्‌।” मसीही शिक्षाहरूभन्दा कति भिन्‍न! मसीही पतिले आफ्नी पत्नीको आदर गर्थे। आफ्नी पत्नीप्रति तिनको व्यवहार व्यक्‍तिगत आवेगमा नभई मसीही सिद्धान्तहरूमा आधारित हुन्थ्यो। साथै, तिनले आफ्नी पत्नीलाई निर्बल पात्र ठानी “बुद्धिमानीसाथ” उनीप्रति विचारशील हुन्थे।

कुन अर्थमा “निर्बल पात्र”?

८, ९. कुन-कुन तरिकामा पुरुष र स्त्री बराबर छन्‌?

८ पत्रुसले स्त्रीहरूलाई “निर्बल पात्र” भन्दा तिनीहरू पुरुषहरूभन्दा बौद्धिक वा आध्यात्मिक तवरमा कमजोर हुन्छन्‌ भन्‍न खोजिरहेका थिएनन्‌। हो, मण्डलीमा मसीही पुरुषहरूले थुप्रै सुअवसरहरू पाएका छन्‌ जो स्त्रीहरूले पाउने आशा गर्न सक्दैनन्‌ अनि परिवारमा पत्नीहरू आफ्ना पतिको अधीनमा हुन्छन्‌। (१ कोरिन्थी १४:३५; १ तिमोथी २:१२) तैपनि, पुरुष तथा स्त्री सबैबाट एउटै विश्‍वास, धीरज र उच्च नैतिक स्तरको आशा गरिन्छ। अनि पत्रुसले भनेझैं पति र पत्नी दुवै “जीवनको अनुग्रहको सजिया हकदार” हुन्‌। जहाँसम्म उद्धारको कुरा छ, यहोवा परमेश्‍वरसामु तिनीहरूको स्थान बराबर छ। (गलाती ३:२८) पत्रुसले प्रथम शताब्दीका अभिषिक्‍त मसीहीहरूलाई लेखिरहेका थिए। यसर्थ, तिनका शब्दहरूले “ख्रीष्टसँग साझे-हकवाला” भएर पतिहरू र तिनीहरूका पत्नीले एउटै स्वर्गीय आशा राख्न सक्थे भनेर मसीही पतिहरूलाई सम्झना दिलायो। (रोमी ८:१७) कुनै दिन तिनीहरू दुवै जना परमेश्‍वरको स्वर्गीय राज्यमा पूजाहारी र राजाको रूपमा सेवा गर्नेछन्‌!—प्रकाश ५:१०.

९ अभिषिक्‍त मसीही पत्नीहरू तिनीहरूका अभिषिक्‍त मसीही पतिहरूको तुलनामा पक्कै तुच्छ थिएनन्‌। अनि सैद्धान्तिक तवरमा हेर्ने हो भने पार्थिव आशा भएकाहरूको सन्दर्भमा पनि कुरा त्यस्तै हो। “ठूलो भीड[का]” पुरुष र स्त्री दुवैले आ-आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌। पुरुष तथा स्त्री दुवैले संसारभरि “दिनरात” यहोवाको प्रशंसा गर्छन्‌। (प्रकाश ७:९, १०, १४, १५) पुरुष र स्त्री दुवैले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता” पाउने आशा गर्छन्‌ जब तिनीहरू “साँच्चै जीवन[मा]” रमाउनेछन्‌। (रोमी ८:२१; १ तिमोथी ६:१९) चाहे अभिषिक्‍त होऊन्‌ वा ठूलो भीडका, सबै मसीहीहरू “एकै गोठालाका” अधीनमा “एकै बगाल” भएर यहोवाको सेवा गर्छन्‌। (यूहन्‍ना १०:१६) मसीही पति र पत्नीले एकअर्काप्रति उचित आदर देखाउनुपर्ने कस्तो जोडदार कारण!

१०. कुन अर्थमा स्त्रीहरू “निर्बल पात्र” हुन्‌?

१० त्यसोभए स्त्रीहरू कुन अर्थमा “निर्बल पात्र” हुन्‌ त? पत्रुसले सायद स्त्रीहरू पुरुषहरूभन्दा साधारणतया साना र शारीरिक बल पनि कम हुने कुरालाई सङ्‌केत गरिरहेका थिए। साथै, आज मानिसजाति असिद्ध अवस्थामा भएकोले गर्दा बच्चा जन्माउँदाको अद्‌भुत सुअवसरले पनि स्त्री जातिको स्वास्थ्यमा ठूलो असर पर्न जान्छ। बच्चा जन्माउन सक्ने उमेरका स्त्रीहरूले नियमित तवरमा शारीरिक कठिनाइ भोग्नुपर्ने हुन सक्छ। त्यस्ता कठिनाइहरू सहँदा वा गर्भवती हुँदा अनि बच्चा जन्माउँदाको कठिन अनुभव भोगिरहेको बेला तिनीहरूलाई साँच्चै विशेष हेरचाह र चासो चाहिन्छ। आफ्नी पत्नीलाई सहयोग चाहिने कुरा मानिलिंदै उनलाई आदर गर्ने पतिले वैवाहिक जीवन सफल बनाउन निकै योगदान पुऱ्‍याइरहेका हुनेछन्‌।

धार्मिक तवरमा विभाजित परिवारमा

११. पति र पत्नीको बेग्लाबेग्लै धर्म भए तापनि कुन अर्थमा विवाह सफल हुन सक्छ?

११ विवाह भएको केही समयपछि एक जनाले सत्य स्वीकारेको र अर्कोले नस्वीकारेको कारण विवाहित दम्पतीहरूको बेग्लाबेग्लै धार्मिक दृष्टिकोण भयो भने नि? के यस्तो विवाह सफल हुन सक्छ? हुन सक्छ भनेर थुप्रैको अनुभवले देखाएको छ। बेग्लाबेग्लै धार्मिक दृष्टिकोण भएका पति र पत्नीले पनि चीरकालीन र दुवैको लागि आनन्ददायी हुने सफल विवाह बनाउन सक्छन्‌। साथै, यस्तो विवाह यहोवाको नजरमा वैध नै हुन्छ; तिनीहरू “एकै शरीर” हुन्छन्‌। त्यसैले बेग्लै विश्‍वास भएको पति वा पत्नी राजी छन्‌ भने मसीही जोडीलाई तिनैसित बस्ने सल्लाह दिइएको छ। छोराछोरी छन्‌ भने तिनीहरूले मसीही आमा वा बुबाले वैवाहिक जीवनप्रति देखाएको वफादारिताबाट लाभ उठाउन सक्छन्‌।—१ कोरिन्थी ७:१२-१४.

१२, १३. पत्रुसको सल्लाह पालन गर्दै बेग्लै धर्म मान्‍ने पतिहरूलाई मसीही पत्नीहरूले कसरी मदत गर्न सक्छन्‌?

१२ धार्मिक तवरमा विभक्‍त परिवारमा बस्ने मसीही स्त्रीहरूलाई पत्रुसले दयालु सल्लाह दिन्छन्‌। तिनका शब्दहरूको सिद्धान्त त्यस्तै अवस्थामा भएका मसीही पतिहरूले पनि लागू गर्न सक्छन्‌। पत्रुस यसरी लेख्छन्‌: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌।”—१ पत्रुस ३:१, २.

१३ पत्नीले आफ्नो विश्‍वासबारे पतिलाई कौशलतापूर्वक बताउन सक्छिन्‌ भने त्यो राम्रै हो। तर तिनी सुन्‍न चाहँदैनन्‌ भने नि? त्यो तिनकै निर्णयको कुरा हो। तैपनि आशा मारिहाल्नुपर्ने अवस्था भने छैन किनभने मसीही आचरणले पनि प्रभावकारी साक्षी दिन्छ। आफ्नी पत्नीको विश्‍वासप्रति पहिला कुनै चासो नदेखाएका वा विरोध समेत गरेका थुप्रै पतिहरू आफ्नी पत्नीको असल आचरण देखेर “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” भए। (प्रेरित १३:४८) पतिले मसीही सच्चाइ नस्वीकारे तापनि आफ्नी पत्नीको आचरणबाट निकै प्रभावित हुन सक्छन्‌ र यसले विवाहमा राम्रो परिणाम ल्याउँछ। एक जना पति, जसकी पत्नी यहोवाको साक्षी हुन्‌, साक्षीहरूको जस्तो उच्च स्तरअनुसार आफूले कहिल्यै जीवन बिताउन नसक्ने कुरा तिनले मानिलिए। तैपनि तिनले आफूलाई “हँसिली श्रीमतीको आनन्दित श्रीमान्‌” भनेर चिनाए अनि एउटा अखबारलाई लेखेको पत्रमा आफ्नी श्रीमती र उनका सँगी साक्षीहरूको भित्री हृदयले प्रशंसा गरे।

१४. बेग्लै धर्म मान्‍ने पत्नीहरूलाई पतिहरूले कसरी मदत गर्न सक्छन्‌?

१४ पत्रुसको शब्दका सिद्धान्तहरू लागू गर्ने मसीही पतिहरूले पनि आफ्नो आचरणद्वारा आफ्नी श्रीमतीको मन जित्न सकेका छन्‌। बेग्लै धर्म मान्‍ने पत्नीहरूले आफ्नो पतिले अझ बढी जिम्मेवारी महसुस गरेको, धूम्रपान, मद्यपान र जूवामा पैसा खेर फाल्न छोडेको अनि फोहोर बोली बोल्न छोडेको देखेका छन्‌। यीमध्ये कसै-कसैले मसीही मण्डलीका अरू सदस्यहरूलाई भेटेका छन्‌। तिनीहरू मायालु मसीही भ्रातृत्वबाट प्रभावित भए अनि भाइहरूमाझ देखेको कुराबाट तिनीहरू यहोवाप्रति आकर्षित भए।—यूहन्‍ना १३:३४, ३५.

“हृदयको त्यो गुप्त मानिस”

१५, १६. मसीही पत्नीको कस्तो आचरणले बेग्लै धर्म मान्‍ने पतिको मन जित्न सक्छ?

१५ कस्तो आचरणले पतिको मन जित्न सकिन्छ? वास्तवमा यो यस्तो आचरण हो जो मसीही स्त्रीहरूले अवश्‍य विकास गर्छन्‌। पत्रुस यसो भन्छन्‌: “तिमीहरूका सिंगार, कपाल बाट्‌ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार नहोस्‌, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ। किनकि यही किसिमले अघिअघि, परमेश्‍वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि तिनीहरूका पतिहरूका अधीनमा रहेर सिंगार गर्थे, जस्तो साराले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञा मान्दथिइन्‌। यदि तिमीहरू पनि भलाइ गर्छौ र कुनै किसिमको डर मान्‍न नपर्ने हुन्छौ भनेता तिनीहरूकै सन्तान हौ।”—१ पत्रुस ३:३-६.

१६ पत्रुसले मसीही स्त्रीलाई बाह्‍य रूपरङमा भर नपर्न सल्लाह दिन्छन्‌। बरु, आफ्नी पत्नीको गुप्त मानिसमा बाइबलका शिक्षाहरूले पारेको प्रभाव पतिले देख्न सक्नुपर्छ। पत्नीले नयाँ व्यक्‍तित्व धारण गरेर व्यवहारमा उतारिरहेको कुरा तिनले देख्न सक्नुपर्छ। सायद तिनले आफ्नी पत्नीको पुरानो व्यक्‍तित्वलाई नयाँ व्यक्‍तित्वसित दाँज्न थाल्नेछन्‌। (एफिसी ४:२२-२४) तिनले आफ्नी पत्नीको “नम्र र शान्त आत्मा” साँच्चै स्फूर्तिदायी र आकर्षक पाउनेछन्‌। त्यस्तो मनोभाव पतिलाई मनपर्ने मात्र होइन तर “परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—कलस्सी ३:१२.

१७. मसीही पत्नीहरूका लागि सारा कसरी एउटा असल उदाहरण हुन्‌?

१७ सारालाई एउटा नमुनाको रूपमा उल्लेख गरिएको छ अनि आफ्ना पतिहरूको बेग्लै धर्म होस्‌ या नहोस्‌ सबै मसीही पत्नीहरूका लागि उनी एउटा उल्लेखनीय उदाहरण हुन्‌। साराले अब्राहामलाई आफ्नो शिर मान्थिन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उनले मनमा आफ्नो पतिलाई “स्वामी” मानेकी थिइन्‌। (१ पत्रुस ३:६) यद्यपि, यसले उनलाई सानो बनाएन। यहोवाप्रति उनको दृढ विश्‍वासले गर्दा उनी आध्यात्मिक तवरमा बलियो थिइन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। निस्सन्देह, “गवाहीका मेघ[मध्ये]” उनी पनि एक हुन्‌ जसको विश्‍वासको उदाहरणले “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग” दौडन हामीलाई उत्प्रेरित गर्नुपर्छ। (हिब्रू ११:११; १२:१) साराजस्तो हुनु मसीही पत्नीको लागि अपमानको कुरा होइन।

१८. धार्मिक तवरमा विभाजित परिवारमा कस्ता सिद्धान्तहरू लागू गर्नुपर्छ?

१८ धार्मिक तवरमा विभाजित परिवारमा पनि शिर चाहिं पति नै हुन्छन्‌। तिनी सच्चाइमा छन्‌ भने आफ्नो विश्‍वासमा कुनै सम्झौता नगरी आफ्नी पत्नीको विश्‍वासप्रति विचारशील हुनेछन्‌। पत्नी सच्चाइमा छिन्‌ भने उनले पनि आफ्नो विश्‍वासमा सम्झौता गर्नेछैनन्‌। (प्रेरित ५:२९) तैपनि, उनले आफ्नो पतिको शिरत्वलाई चुनौती दिनेछैनन्‌। उनले आफ्नो पतिको स्थानलाई आदर गर्नेछिन्‌ अनि “पतिको व्यवस्था[को]” अधीनमा रहनेछिन्‌।—रोमी ७:२.

बाइबलको बुद्धिमानी डोऱ्‍याइ

१९. वैवाहिक बन्धनलाई तनावपूर्ण बनाउने केही दबाबहरू के-के हुन्‌ तर यस्ता दबाबहरूको कसरी प्रतिरोध गर्न सकिन्छ?

१९ आज, वैवाहिक बन्धनमा तनाव ल्याउन सक्ने कुराहरू थुप्रै छन्‌। कोही पुरुषहरू आफ्नो जिम्मेवारी वहन गर्न चुक्छन्‌। कोही स्त्रीहरू आफ्नो पतिको शिरत्व स्वीकार्न इन्कार गर्छन्‌। कुनै-कुनै विवाहमा भने पति वा पत्नीले आफ्नो जोडीलाई शारीरिक तथा मौखिक दुर्व्यवहार गर्छन्‌। उदाहरणका लागि, आर्थिक समस्या, मानव असिद्धता र यस संसारको मनोभावमा देखिने अनैतिकता र मूल्यमान्यताप्रति विकृत धारणाले मसीहीहरूको वफादारिताको जाँच गर्न सक्छ। तैपनि, जस्तोसुकै अवस्थामा पनि बाइबलका सिद्धान्तहरू पालन गर्ने मसीही पुरुष तथा स्त्रीहरूले यहोवाको आशिष्‌ पाउँछन्‌। विवाहमा एक जना जोडीले मात्र बाइबलका सिद्धान्तहरू लागू गर्ने हो भने पनि ती सिद्धान्तहरू दुवैले पटक्कै लागू नगरेको अवस्थाभन्दा निकै राम्रो हुन्छ। साथै, कठिन अवस्थामा समेत आफ्नो विवाह वाचाप्रति वफादार रहने सेवकहरूलाई यहोवाले प्रेम गर्नुहुन्छ र तिनीहरूलाई मदत गर्नुहुन्छ। उहाँले तिनीहरूको वफादारी बिर्सनुहुन्‍न।—भजन १८:२५; हिब्रू ६:१०; १ पत्रुस ३:१२.

२०. पत्रुसले सबै मसीहीहरूलाई कस्तो सल्लाह दिन्छन्‌?

२० विवाहित पुरुष तथा स्त्रीहरूलाई सल्लाह दिइसकेपछि प्रेरित पत्रुसले अन्तमा प्रोत्साहनका मायालु शब्दहरू व्यक्‍त गरे। तिनले यसो भने: “अन्त्यमा, तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका, खराबीको बदला खराबी नगर्ने, अथवा गालीको बदला गाली नदिने, तर उल्टा आशिष दिने होओ। किनकि आशिषको हकदार हुनालाई तिमीहरू यसैमा बोलाइएका हौ।” (१ पत्रुस ३:८, ९) सबैको लागि र विशेष गरी विवाहित दम्पतीहरूको लागि कस्तो बुद्धिमानी सल्लाह!

के तपाईंलाई याद छ?

• मसीही पतिहरूले कसरी येशूको अनुकरण गर्छन्‌?

• मसीही पत्नीहरूले कसरी मण्डलीको अनुकरण गर्छन्‌?

• पतिहरूले कुन तरिकामा आफ्नी पत्नीको आदर गर्न सक्छन्‌?

• बेग्लै धर्म मान्‍ने पति भएकी मसीही पत्नीले अपनाउन सक्ने सर्वोत्तम मार्ग के हो?

[पृष्ठ १६-मा भएको चित्र]

मसीही पतिले आफ्नी पत्नीलाई प्रेम गर्छन्‌ र उनको हेरचाह गर्छन्‌

[पृष्ठ १६-मा भएको चित्र]

मसीही पत्नीले आफ्नो पतिको आदर तथा सम्मान गर्छिन्‌

[पृष्ठ १७-मा भएको चित्र]

रोमी कानुनजस्तो नभई मसीही शिक्षाअनुसार पतिले आफ्नी पत्नीको आदर गर्नुपर्थ्यो

[पृष्ठ १८-मा भएको चित्र]

“ठूलो भीड[ का]” पुरुष तथा स्त्री दुवैले प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्छन्‌

[पृष्ठ २०-मा भएको चित्र]

साराले अब्राहामलाई आफ्नो स्वामी ठान्थिन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने