प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ३/१ pp. १०-१५
  • वर्तमान संसारमा विवाह सफल हुन सक्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वर्तमान संसारमा विवाह सफल हुन सक्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जोगिनुपर्ने खतराहरू
  • हतारमा विवाह नगर्नुहोस्‌
  • कुनै-कुनै विवाहहरू किन असफल हुन्छन्‌
  • व्यावहारिक हुनुहोस्‌ अनि कुराकानी गर्नुहोस्‌
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
  • तपाईंको विवाहलाई स्थायी बन्धन बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ३/१ pp. १०-१५

वर्तमान संसारमा विवाह सफल हुन सक्छ

“प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१४.

१, २. (क) मसीही मण्डलीको सन्दर्भमा कुन तथ्य प्रोत्साहनदायी छ? (ख) सफल विवाह भनेको के हो?

मसीही मण्डलीलाई नियाल्दा १० वर्ष, २० वर्ष, ३० वर्ष वा त्यो भन्दा लामो समयसम्म आफ्ना विवाहित जोडीहरूप्रति वफादार रहिरहेका दम्पतीहरू देख्दा के त्यसले हाम्रो मन छुँदैन र? गाह्रो-साह्रो जस्तोसुकै परिस्थितिमा पनि तिनीहरू एकअर्काप्रति वफादार रहेका छन्‌।—उत्पत्ति २:२४.

२ आफ्नो वैवाहिक बन्धनमा कहिलेकाहीं कठिन अवस्थाहरू पनि आइपरेका थिए भनी धेरैले स्वीकार्छन्‌। एउटी अवलोकनकर्ताले यस्तो लेखिन्‌: “सुखी विवाहहरू पनि चिन्तामुक्‍त हुँदैनन्‌। तीतामीठा क्षणहरू आइरहन्छन्‌ . . . तर जे होस्‌ . . . वर्तमान जीवनको सङ्‌कटको बावजुद यी दम्पतीहरूले आफ्नो वैवाहिक बन्धन तोडेका छैनन्‌।” सफल दम्पतीहरू र विशेष गरी छोराछोरी हुर्काइसकेका आमाबाबुहरूले जीवनका दबाबहरूले गर्दा आइपर्ने उम्कनै नसकिने आँधीबेहरी र सङ्‌कटहरूको सामना गर्न सिकेका छन्‌। साँचो प्रेम “कहिल्यै टल्दैन” भनेर यस्ता दम्पतीहरूले आफ्नै अनुभवबाट सिकेका छन्‌।—१ कोरिन्थी १३:८.

३. विवाह र सम्बन्ध विच्छेदसम्बन्धी तथ्याङ्‌कले के देखाउँछ अनि कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

३ अर्कोतिर, लाखौं विवाहहरू भताभुङ्‌ग भएका छन्‌। एउटा रिपोर्ट यसो भन्छ: “अचेल सं.रा.अ.-मा आधीभन्दा बढी विवाह सम्बन्ध विच्छेदमा टुङ्‌गिने अनुमान लगाइएको छ। अनि ती सम्बन्ध विच्छेदहरूमध्ये आधीजसो त विवाह भएको ७.८ वर्षभित्रमै हुनेछ। . . . पुनर्विवाह गर्ने ७५ प्रतिशतमध्ये ६० प्रतिशतले फेरि सम्बन्ध विच्छेद गर्नेछन्‌।” पहिला-पहिला सम्बन्ध विच्छेदको दर तुलनात्मक हिसाबले कम हुने मुलुकहरूमा समेत यो दर बढ्‌दो छ। उदाहरणका लागि हालैका वर्षहरूमा जापानमा सम्बन्ध विच्छेदको दर झन्डै दोब्बर भएको छ। यस्तो अवस्था ल्याउने केही दबाबहरू के-के हुन्‌ जुन दबाबहरू कहिलेकाहीं मसीही मण्डलीभित्र पनि देखापर्छन्‌? वैवाहिक बन्धनलाई कमजोर तुल्याउने शैतानका प्रयासहरूको बावजुद विवाहलाई सफल बनाउन के चाहिन्छ?

जोगिनुपर्ने खतराहरू

४. विवाहलाई कमजोर बनाउन सक्ने केही कुराहरू के-के हुन्‌?

४ विवाहलाई कमजोर बनाउन सक्ने कुराहरू बुझ्न परमेश्‍वरको वचनले हामीलाई मदत गर्छ। उदाहरणका लागि, यी आखिरी दिनमा हुने अवस्थाबारे प्रेरित पावलका शब्दहरू विचार गर्नुहोस्‌: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमाबाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरुचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुखविलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.

५. “स्वार्थी” मानिसले आफ्नो वैवाहिक जीवनलाई किन खतरामा पारिरहेको हुन्छ र यस सन्दर्भमा बाइबलले कस्तो सल्लाह दिन्छ?

५ पावलका शब्दहरू केलाउँदा तिनले उल्लेख गरेका थुप्रै कुराहरूले गर्दा वैवाहिक सम्बन्ध टुक्रिन सक्छ भनेर हामी थाह पाउन सक्छौं। उदाहरणका लागि “स्वार्थी” मानिसहरू आफ्नैबारे मात्र सोच्छन्‌ अनि अरूको वास्तै गर्दैनन्‌। आफ्नै कुरामा मात्र मग्न हुने पति वा पत्नीले जसरी होस्‌ आफूले चाहेको कुरा गरेरै छोड्‌छन्‌। तिनीहरू मेरो गोरुको बाह्रै टक्का भनेजस्तो गर्छन्‌ अनि अरूप्रति चासो देखाउँदै छाँटकाँट गर्न इच्छुक हुँदैनन्‌। के यस्तो मनोवृत्तिले वैवाहिक जीवन सुखी बनाउन योगदान पुऱ्‍याउँछ? कदापि पुऱ्‍याउँदैन। विवाहित जोडीहरू लगायत सबै मसीहीहरूलाई प्रेरित पावलले बुद्धिमानीपूर्वक यस्तो सल्लाह दिए: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूको कुरामा पनि ध्यान देऊ।”—फिलिप्पी २:३, ४.

६. पैसाको प्रेमले वैवाहिक सम्बन्धलाई कसरी कमजोर बनाउन सक्छ?

६ पैसाको प्रेमले पति र पत्नीबीच फाटो ल्याउन सक्छ। पावलले यस्तो चेतावनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै-कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।” (१ तिमोथी ६:९, १०) दुःखको कुरा, आज थुप्रै विवाहहरूमा पावलको चेतावनी साँचो साबित भएको छ। धनसम्पत्ति कमाउने धुनमा धेरै विवाहित जोडीहरूले आफ्नो पति वा पत्नीका आवश्‍यकताहरू बेवास्ता गर्छन्‌ र भावनात्मक सहयोग तथा नियमित तवरमा चाहिने न्यानो सरसंगतिजस्ता आधारभूत आवश्‍यकताहरू पनि पूरा गर्दैनन्‌।

७. कुनै-कुनै अवस्थामा कस्तो आचरणले गर्दा वैवाहिक सम्बन्धमा अवफादारी हुन गएको छ?

७ यी आखिरी दिनमा कोही-कोही “अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने” हुनेछन्‌ भनेर पनि पावलले बताए। विवाह वाचा भनेको एउटा गम्भीर प्रतिज्ञा हो र यो धोखामा नभई स्थायी बन्धनमा परिणत हुनुपर्छ। (मलाकी २:१४-१६) तर कोही-कोहीले भने आफ्नो पति वा पत्नीबाहेक अर्कै व्यक्‍तिप्रति रोमान्टिक चासो देखाएका छन्‌। तीस वर्ष नाघिसकेकी एउटी पत्नी, जो आफ्नो पतिबाट त्यागिएकी थिइन्‌ उनले भनिन्‌ कि उनलाई छोड्‌नुभन्दा अघि नै उनको पतिले अरू स्त्रीहरूसित बढ्‌तै नजिक अनि बढ्‌तै स्नेहपूर्ण व्यवहार गर्न थालेका थिए। विवाहित पुरुषको लागि अनुचित आचरण के हो भनेर तिनले बुझ्न सकेनन्‌। यस्तो भइरहेको देख्दा उनको असाध्यै चित्त दुख्यो अनि तिनी खतरनाक बाटोतर्फ लागिरहेका छन्‌ भनेर उनले कौशलतापूर्वक सजग गराउने प्रयास गरिन्‌। तैपनि, तिनले व्यभिचार गरे। दयालु चेतावनीहरू दिइएको भए तापनि गल्ती गर्ने उक्‍त जोडीले ध्यान दिन चाहेनन्‌। तिनी बेहोसी भएर पासोमा परे।—हितोपदेश ६:२७-२९.

८. कस्ता कुराहरूले व्यभिचारतर्फ डोऱ्‍याउन सक्छ?

८ व्यभिचार विरुद्ध बाइबलले कस्तो सुस्पष्ट चेतावनी दिएको छ! “त्यसरीनै व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो, त्यसले स्त्रीको बेइज्जत गर्छ, र आफूमाथि बर्बादी ल्याउँछ।” (हितोपदेश ६:३२) सामान्यतया व्यभिचार भनेको छिनभरमा र आवेगमा आएर हुने काम होइन। बाइबल लेखक याकूबले औंल्याएझैं मनमा त्यस्तो विचार जन्माएर त्यसलाई खेलाइरहेपछि मात्र सामान्यतया व्यभिचारजस्तो पाप हुने गर्छ। (याकूब १:१४, १५) जिन्दगीभर वफादार रहनेछु भनेर वाचा बाँधेको पति वा पत्नीप्रति यस्तो गल्ती गर्ने जोडी बिस्तारै वफादार हुन छोड्‌छन्‌। येशूले यसो भन्‍नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्‌।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’ ”—मत्ती ५:२७, २८.

९. हितोपदेश ५:१८-२० मा कस्तो बुद्धिमानी सल्लाह पाइन्छ?

९ त्यसैले बुद्धिमानी तथा वफादार मार्ग भनेको हितोपदेशको पुस्तकमा प्रोत्साहन दिइएको मार्ग हो: “तेरो फोहोरा, तेरो युवावस्थाकी पत्नी आशीर्वादी होस्‌। त्यहीसित तँ सुखी हो। मायालु मृग, राम्री हरिणीझैं त्यो तेरो साथी होस्‌, त्यसकै वक्षमा तँ सन्तुष्ट बन्‌, तँ सधैं त्यसकै प्रेममा डुबिरह। हे मेरो छोरो, तँ किन वेश्‍याको प्रेममा फस्छस्‌? तँ किन खराब स्त्रीलाई आलिङ्‌गन गर्छस्‌?”—हितोपदेश ५:१८-२०.

हतारमा विवाह नगर्नुहोस्‌

१०. समय लगाएर आफ्नो भावी जोडीलाई चिन्‍नु किन बुद्धिमानी हो?

१० हतार गरेर विवाह गर्नेहरूको वैवाहिक सम्बन्धमा समस्याहरू खडा हुन सक्छन्‌। त्यसरी विवाह गर्नेहरू आलाकाँचा अनि अनुभवहीन हुन सक्छन्‌। अथवा तिनीहरूले एकअर्कालाई चिन्‍न अर्थात्‌ तिनीहरूलाई मन पर्ने र मन नपर्ने कुराहरू, एकअर्काको जीवनको लक्ष्य अनि पारिवारिक पृष्ठभूमि बुझ्न त्यति समय नलिई हतार गरेका हुन सक्छन्‌। धीरजी हुनु अनि समय लगाएर आफ्नो सम्भाव्य जोडीलाई चिन्‍नु बुद्धिमानी हो। इसहाकको छोरा याकूबलाई विचार गर्नुहोस्‌। तिनले राहेललाई विवाह गर्न पाउनुअघि आफ्नो भावी ससुराको लागि सात वर्ष काम गर्नुपऱ्‍यो। तिनी यसो गर्न तयार थिए किनभने राहेलप्रति तिनका भावनाहरू शारीरिक आकर्षणमा मात्र नभई साँचो प्रेममा आधारित थियो।—उत्पत्ति २९:२०-३०.

११. (क) वैवाहिक बन्धनले कस्तो मिलन गराउँछ? (ख) वैवाहिक जीवनमा सोचविचार गरेर बोल्नु किन अत्यावश्‍यक छ?

११ विवाह भनेको एउटा रोमान्टिक सम्बन्ध मात्र होइन। वैवाहिक बन्धनले बेग्लै पारिवारिक पृष्ठभूमिबाट आएका दुई जना व्यक्‍तिको मिलन गराउँछ जसको बेग्लाबेग्लै व्यक्‍तित्व, भावनात्मक बनोट र अक्सर फरक शैक्षिक पृष्ठभूमि हुन्छ। कहिलेकाहीं भने दुइटा बेग्लै संस्कृति र दुइटा भाषाको मिलन गराउँछ। यीमध्ये कुनै पनि नभए तापनि विवाहले दुइटा भिन्‍नै सोचाइ र हरेक मामिलामा बेग्लै दृष्टिकोण व्यक्‍त गर्न सक्ने मानिसहरूको मिलन गराउँछ। यी दुई बेग्लाबेग्लै सोचाइ वैवाहिक बन्धनका वास्तविक पक्षहरू हुन्‌। तिनीहरू कि त सधैं एकअर्काको आलोचना र गनगन गर्ने वा एकअर्कालाई न्यानो प्रोत्साहन दिने र उत्थानदायी हुन सक्छन्‌। हो, आफ्नो वचनले हामी आफ्नो विवाहित जोडीलाई चोट पुऱ्‍याउन वा सन्चो महसुस गराउन सक्छौं। बेलगाम बोलीले विवाहलाई साँच्चै तनावपूर्ण बनाउन सक्छ।—हितोपदेश १२:१८; १५:१, २; १६:२४; २१:९; ३१:२६.

१२, १३. विवाहप्रति कस्तो व्यावहारिक दृष्टिकोण राख्न प्रोत्साहन दिइएको छ?

१२ त्यसैले आफ्नो सम्भाव्य जोडीलाई राम्ररी चिन्‍न प्रशस्त समय बिताउनु बुद्धिमानी हो। एउटी अनुभवी मसीही बहिनीले एक चोटि यसो भनिन्‌: “आफ्नो सम्भाव्य जोडीबारे विचार गर्दा त्यस व्यक्‍तिमा देख्न चाहेको दसवटा आवश्‍यक कुराबारे सोच्नुहोस्‌। सातवटा मात्र पाउन सक्नुभयो भने आफैलाई सोध्नुहोस्‌, ‘तिनीसित नभएका तीनवटा कुराको कुनै वास्ता नगर्न के म तयार छु? के म यी अपुग कुराहरू दिनदिनै सहन सक्छु?’ तपाईंलाई शङ्‌का लाग्छ भने फेरि राम्ररी सोचविचार गर्नुहोस्‌।” हुन त, तपाईं व्यावहारिक हुनुपर्छ। तपाई विवाह गर्न चाहनुहुन्छ भने कुनै त्रुटि नभएको जोडी कहिल्यै भेट्टाउन सक्नुहुन्‍न भनेर थाह पाइराख्नुहोस्‌। तर तपाईं पनि त आफ्नो जोडीको लागि त्रुटिरहित व्यक्‍ति भने हुनुहुन्‍न नि!—लूका ६:४१.

१३ विवाहमा त्यागहरू गर्नुपर्ने हुन्छ। यो कुरालाई जोड दिंदै पावलले यसो भने: “तिमीहरू सबै निष्फिक्री होओ भन्‍ने म चाहन्छु। विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्‍ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएकोले म पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारको कुराको फिक्री गर्दछ। विवाह भएकी र कन्याहरूमा भिन्‍नता छ। विवाह नभएकीले म शरीर र आत्मा दुवैमा पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछ, तर विवाह भएकीले चाहिं कसरी आफ्ना पतिलाई खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।”—१ कोरिन्थी ७:३२-३४.

कुनै-कुनै विवाहहरू किन असफल हुन्छन्‌

१४, १५. कस्ता कुराहरूले वैवाहिक बन्धनलाई कमजोर बनाउन सक्छ?

१४ आफ्नो श्रीमान्‌ले १२ वर्ष लामो वैवाहिक बन्धनलाई लत्याएर अर्कै स्त्रीसित सम्बन्ध गाँस्दा एउटी मसीही स्त्रीले हालै सम्बन्ध विच्छेद हुँदाको गहिरो वेदना महसुस गरिन्‌। वैवाहिक बन्धन टुक्रिनुअघि के उनले केही चेतावनीमूलक सङ्‌केतहरू देखेकी थिइन्‌? उनी यसो भन्छिन्‌: “उहाँ पटक्कै प्रार्थना नगर्ने हदसम्म पुग्नुभयो। उहाँले मसीही सभा अनि प्रचार गतिविधिमा भाग नलिनको लागि सानोतिनो बहाना बनाउन थाल्नुभयो। असाध्यै व्यस्त वा थकित भएकोले मसित बिताउने समय नै नभएको कुरा गर्नुभयो। उहाँ मसित कुरै गर्नुहुन्‍नथ्यो। उहाँले मसित आध्यात्मिक कुराकानी गर्न छोड्‌नुभयो। उहाँ यो अवस्थासम्म आइपुग्नु दुःखदायी थियो। मैले विवाह गर्दाको र अहिलेको मानिसबीच अकास-पत्तालको फरक भइसकेको थियो।”

१५ अरूले पनि यस्तै सङ्‌केतहरू देखिएको बताएका छन्‌, जस्तै: व्यक्‍तिगत बाइबल अध्ययन, प्रार्थना वा मसीही सभाहरूमा उपस्थित हुनुपर्ने कुराप्रतिको लापरवाही। अर्को शब्दमा भन्‍ने हो भने, अन्तमा आफ्नो विवाहित जोडीलाई छोड्‌ने धेरै व्यक्‍तिहरूले यहोवासितको आफ्नो सम्बन्धलाई कमजोर हुन दिए। फलस्वरूप तिनीहरूको आध्यात्मिक दृष्टि धमिलो भयो। यहोवा तिनीहरूको लागि एक जना जीवित परमेश्‍वर हुन छोड्‌नुभयो। प्रतिज्ञा गरिएको धार्मिकताको नयाँ संसार तिनीहरूको लागि वास्तविक हुन छोड्यो। कुनै-कुनै अवस्थामा भने अवफादार जोडीले आफ्नो विवाहित जोडीबाहेक अरूसित सम्बन्ध गाँस्नुअघि नै उनी आध्यात्मिक तवरमा कमजोर भइसकेका थिए।—हिब्रू १०:३८, ३९; ११:६; २ पत्रुस ३:१३, १४.

१६. कुन कुराले विवाहलाई बलियो बनाउँछ?

१६ यसको विपरीत, एउटा अत्यन्तै आनन्दित दम्पती आफ्नो सफल विवाहको श्रेय तिनीहरूको बलियो आध्यात्मिक बन्धनलाई दिन्छन्‌। तिनीहरू सँगै प्रार्थना गर्नुका साथै सँगै अध्ययन गर्छन्‌। पति यसो भन्छन्‌: “हामी सँगै बाइबल पढ्‌छौं। हामी सँगै सेवकाईमा जान्छौं। हामीलाई कुनै पनि काम सँगै गर्दा रमाइलो लाग्छ।” यसबाट सिक्नुपर्ने पाठ स्पष्ट छ: यहोवासित राम्रो सम्बन्ध कायम राख्दा वैवाहिक बन्धनलाई बलियो बनाउन निकै मदत पुग्नेछ।

व्यावहारिक हुनुहोस्‌ अनि कुराकानी गर्नुहोस्‌

१७. (क) विवाहलाई सफल बनाउन मदत गर्ने दुइटा कुरा के-के हुन्‌? (ख) मसीही प्रेमबारे पावल कसरी वर्णन गर्छन्‌?

१७ विवाहलाई सफल बनाउन मदत गर्ने अरू दुइटा कुरा पनि छन्‌: मसीही प्रेम र कुराकानी। प्रेममा एकअर्काप्रति आसक्‍त भएका व्यक्‍तिहरूसित एकअर्काको त्रुटिलाई वास्ता नगर्ने झुकाव हुन्छ। यस्ता दम्पतीले प्रेम कथाले भरिएका उपन्यासहरूमा पढेका वा चलचित्रहरूमा देखेका कुराहरूको भरमा बेमनासिब आशा गरेर वैवाहिक सम्बन्ध गाँस्न सक्छन्‌। तथापि, दम्पतीले अन्तमा गएर वास्तविकताको सामना गर्नुपर्ने हुन्छ। तब सानातिना गल्ती वा अलिअलि मात्र रिस उठ्‌ने किसिमका बानीहरू पनि ठूलो समस्याको रूपमा खडा हुन सक्छ। त्यसो भयो भने मसीहीहरूले आत्माको फल देखाउनुपर्छ र त्यसको एउटा भाग प्रेम हो। (गलाती ५:२२, २३) रोमान्टिक प्रेमभन्दा मसीही प्रेम साँच्चै शक्‍तिशाली हुन्छ। पावलले यस्तो मसीही प्रेमबारे यसरी वर्णन गरे: “प्रेम धीरजी र दयालु हुन्छ। . . . आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। . . . सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ।” (१ कोरिन्थी १३:४-७) स्पष्टतः साँचो प्रेमले मानव कमीकमजोरीहरूलाई सहन्छ। साँच्चै, यसले सिद्धताको आशा गर्दैन।—हितोपदेश १०:१२.

१८. कुराकानीले सम्बन्धलाई कसरी बलियो बनाउन सक्छ?

१८ कुराकानी पनि अत्यावश्‍यक छ। विवाहित दम्पतीले एकअर्कासित जतिसुकै लामो समय बिताइसकेको भए तापनि पतिपत्नीले एकअर्कासित कुरा गर्नुपर्छ अनि एकअर्काको कुरा साँच्चै सुन्‍नुपर्छ। एक जना पति यसो भन्छन्‌: “हामी आफ्ना भावनाहरू मित्रैलो ढङ्‌गमा खुलेर व्यक्‍त गर्छौं।” समय बित्दै गएपछिको अनुभवले गर्दा पति वा पत्नीले व्यक्‍त गरिएका कुराहरू मात्र नभई व्यक्‍त नगरिएका कुराहरू पनि सुन्‍न सिक्छन्‌। अर्को शब्दमा भन्‍ने हो भने, वर्षहरू बित्दै जाँदा आनन्दित दम्पतीले व्यक्‍त नगरिएका सोचाइ वा भावनाहरू बुझ्न सिक्छन्‌। कोही-कोही पत्नीहरूले आफ्नो पतिले तिनीहरूको कुरै सुन्दैनन्‌ भनेका छन्‌। कोही पतिहरूले भने तिनीहरूका पत्नीहरू बेसमयमा मात्र कुरा गर्न चाहेको जस्तो देखिने गुनासो गरेका छन्‌। कुराकानी गर्नुमा अनुकम्पा देखाउनु र अरूको कुरा बुझ्नु समावेश छ। अर्थपूर्ण कुराकानी पति र पत्नी दुवैको लागि लाभकारी हुन्छ।—याकूब १:१९.

१९. (क) क्षमा माग्नु किन गाह्रो हुन सक्छ? (ख) क्षमा माग्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नेछ?

१९ कुराकानी गर्दा कहिलेकाहीं क्षमा माग्नुपर्ने हुन्छ। त्यसो गर्न सधैं सजिलो हुँदैन। आफ्नो गल्ती स्वीकार्न नम्रता चाहिन्छ। यद्यपि, यसले वैवाहिक सम्बन्धलाई साँच्चै बलियो बनाउन सक्छ! साँचो हृदयले क्षमा माग्दा पछि वादविवाद हुन सक्ने सम्भावना हटाउने अनि साँचो क्षमा दिने र समस्याको समाधान गर्ने बाटो खुल्न सक्छ। पावलले यसो भने: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१३, १४.

२०. एक जना मसीहीले आफ्नो विवाहित जोडीसित गोप्यमा र अरूको सामु कस्तो व्यवहार गर्नुपर्छ?

२० विवाहमा आपसी सहयोग पनि अत्यावश्‍यक हुन्छ। मसीही पति र पत्नीले एकअर्कालाई पत्याउन र भरोसा गर्न सक्नुपर्छ। आफ्नो जोडीलाई तुच्छ देखाउने वा तिनको आत्म-विश्‍वासलाई कमजोर बनाउने काम दुवै जनाले कहिल्यै गर्नु हुँदैन। हामी मायालु ढङ्‌गमा आफ्नो विवाहित जोडीको प्रशंसा गर्न चाहन्छौं; कठोर भई तिनीहरूको आलोचना गर्न चाहँदैनौं। (हितोपदेश ३१:२८ख) तिनीहरूबारे बेमतलबको र जथाभावी ख्यालठट्टा गरेर हामी तिनीहरूलाई कदापि होच्याउन चाहँदैनौं। (कलस्सी ४:६) नियमित तवरमा स्नेह व्यक्‍त गर्दा यस्तो आपसी सहयोग अझ सुदृढ हुन्छ। एउटा स्पर्श वा स्नेहपूर्ण कोमल शब्दले पनि यस्तो भाव महसुस गराउन सक्छ: “म तपाईंलाई/तिमीलाई अझै माया गर्छु। तपाईंको/तिम्रो साथ पाएकोमा म खुसी छु।” वैवाहिक सम्बन्धलाई असर गर्ने अनि आजको संसारमा विवाहलाई सफल बनाउन मदत गर्न सक्ने केही कुराहरू यिनै हुन्‌। यस्ता कुराहरू अरू पनि छन्‌ र यसपछिको लेखले विवाह सफल बनाउनको लागि चाहिने थप धर्मशास्त्रीय निर्देशनहरू प्रस्तुत गर्नेछ।a

[फुटनोट]

a अझ विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य भन्‍ने प्रकाशन हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• विवाहलाई कमजोर बनाउन सक्ने केही कुराहरू के-के हुन्‌?

• हतार गरेर विवाह गर्नु किन बुद्धिमानी होइन?

• आध्यात्मिकताले विवाहमा कस्तो असर पार्छ?

• विवाहलाई स्थायी बनाउन मदत गर्ने कुराहरू के-के हुन्‌?

[पृष्ठ १२-मा भएको चित्र]

विवाह भनेको एउटा रोमान्टिक सम्बन्ध मात्र होइन

[पृष्ठ १४-मा भएका चित्रहरू]

यहोवासितको बलियो सम्बन्धले दम्पतीलाई विवाह सफल बनाउन मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने