प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ६/१ pp. १४-१८
  • निष्ठावान्‌ हुँदा पाइने आनन्द

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्ठावान्‌ हुँदा पाइने आनन्द
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अहिले हाम्रो जीवनलाई आनन्दमय बनाउने आशिष्‌हरू
  • “उहाँले तीसित दुःख पठाउनुहुन्‍न”
  • यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • निष्ठाको मार्गमा हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • यहोवाको हृदयलाई आनन्दित तुल्याउने युवाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ६/१ pp. १४-१८

निष्ठावान्‌ हुँदा पाइने आनन्द

“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।”—हितोपदेश १०:२२.

१, २. भविष्यबारे मात्र बढ्‌तै सोचिरहनु हुँदैन, किन?

“भविष्य कस्तो होला भन्‍ने धुन मात्र भइरह्‍यो भने . . . अहिले आफूसित भएको कुरामा हामी रमाउन सक्दैनौं” भनी अमेरिकाको एक जना दार्शनिकले टिप्पणी गरे। ठूलो भएपछि के-के गर्न पाइन्छ भनेर सोचिरहने केटाकेटीलाई पनि यस्तै हुन्छ। चालै नपाई बाल्यकाल बितिसकेपछि मात्र उनीहरू चुकचुकाउँछन्‌।

२ यस्तो सोचाइबाट हामी यहोवाका उपासकहरू पनि मुक्‍त छैनौं। एउटा अवस्था विचार गर्नुहोस्‌। परमेश्‍वरको प्रतिज्ञाअनुसार पृथ्वी चाँडै प्रमोदवनमा परिणत होस्‌ भन्‍ने हामी उत्कट इच्छा गर्छौं। रोगबिमार, वृद्धावस्था, पीडा र दुःखकष्ट केही नहुने जीवन बिताउन पनि उत्सुक छौं। यस्ता कुराको आशा गर्नु नराम्रो होइन। तर भविष्यमा पाइने यस्ता भौतिक आशिष्‌हरूबारे मात्रै सोचेर अहिले पाइरहेको आध्यात्मिक आशिष्‌प्रति चाहिं कृतज्ञ हुन सकेनौं भने के होला? त्यो त साह्रै दुःखको कुरा हुनेछ! हामीलाई सजिलै निराशाले छोप्न सक्छ अनि सोचेअनुसार “आशा साकार” नभएकोमा मनै मर्न सक्छ। (हितोपदेश १३:१२) जीवनमा आइपर्ने समस्या तथा कठिनाइहरूले हामीलाई निराश बनाउन सक्छ वा आफूप्रति बढ्‌तै दया देखाउने झुकाव आउन सक्छ। नराम्रो अवस्थाको डटेर सामना गर्नुको सट्टा गनगन गर्ने बानी बस्न सक्छ। यस्तो अवस्था आउन नदिन अहिले पाइरहेको आशिष्‌प्रति कृतज्ञ हुँदै त्यसमा मनन गर्नुपर्छ।

३. यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

३ हितोपदेश १०:२२ यसो भन्छ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” वर्तमान समयमा यहोवाका सेवकहरूले निकै राम्रो आध्यात्मिक उन्‍नति गरिरहेका छन्‌। के यो रमाउनुपर्ने कुरा होइन र? हाम्रो आध्यात्मिक उन्‍नति हुनुका केही कारण के-के हुन, विचार गरौं अनि यसले व्यक्‍तिगत रूपमा हाम्रो लागि कस्तो अर्थ राख्छ, हेरौं। “असल र सोझो” अर्थात्‌ निष्ठावान्‌ जीवन बिताउने धर्मी व्यक्‍तिमाथि यहोवाले बर्साउनुभएको आशिष्‌बारे विचार गर्न समय निकाल्यौं भने, स्वर्गमा हुनुहुने पिताको खुसीसाथ सेवा गरिरहने हाम्रो संकल्प अझ बलियो हुनेछ।—हितोपदेश २०:७.

अहिले हाम्रो जीवनलाई आनन्दमय बनाउने आशिष्‌हरू

४, ५. बाइबलको कुन शिक्षा तपाईंलाई सबैभन्दा बढी मनपर्छ र किन?

४ बाइबल शिक्षाको सही ज्ञान। मसीहीजगत्‌का धर्महरू बाइबलमा विश्‍वास गरेको दाबी त गर्छन्‌ तर बाइबलले सिकाउने कुरासित भने सहमत हुँदैनन्‌। एउटै धार्मिक समूहका सदस्यहरूले समेत बाइबलको शिक्षालाई आ-आफ्नै विचारअनुसार सिकाउने गर्छन्‌। यहोवाका सेवकहरूभन्दा कत्ति फरक! हाम्रो देश, संस्कृति वा जातीय पृष्ठभूमि बेग्लाबेग्लै भए तापनि हामी साँचो परमेश्‍वरको उपासना गर्छौं जसको नाउँ यहोवा भनेर हामीलाई थाह छ। उहाँ रहस्यमय त्रिएक देव हुनुहुन्‍न। (व्यवस्था ६:४; भजन ८३:१८; मर्कूस १२:२९) परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकताको महत्त्वपूर्ण विवाद चाँडै सुल्झाइनेछ र परमेश्‍वरप्रति निष्ठावान्‌ रहेर प्रत्येकले यस विवादमा आफ्नो अडान प्रस्ट पार्नुपर्छ भनेर हामीलाई थाह छ। मरिसकेकाहरू कस्तो अवस्थामा छन्‌ भनेर पनि थाह छ। साथै, परमेश्‍वरले मानिसहरूलाई नरक वा अन्त कतै तड्‌पाउनुहुन्छ भन्‍ने डर हामीलाई छैन।—उपदेशक ९:५, १०.

५ साथै, कुनै ठोस आधार नभएको विकासवादले सिकाएजस्तै हामी संयोगले बनेका होइनौं भनेर थाह पाउनु कत्ति खुसीको कुरा! हामी त परमेश्‍वरका सृष्टि हौं, हामीलाई उहाँले आफ्नै स्वरूपमा बनाउनुभएको छ। (उत्पत्ति १:२६; मलाकी २:१०) भजनहारले यस्तो भजन गाए: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१४.

६, ७. आफ्नो वा अरू कसैको जीवनमा आशिष्‌ साबित भएका कस्ता परिवर्तनहरू देख्नुभएको छ?

६ हानिकारक बानीबेहोराबाट मुक्‍त। धूम्रपान, अत्यधिक मद्यपान र यौन दुराचारका खतराहरूबारे सञ्चारमाध्यमले निकै प्रचारप्रसार गर्छ। तैपनि प्रायजसो यी चेतावनीलाई वास्ता गरिंदैन। तर परमेश्‍वरलाई त्यस्ता कुरा मन पर्दैन अनि त्यस्ता काम गर्नेहरू देख्दा उहाँलाई दुःख लाग्छ भनेर सफा मन भएको व्यक्‍तिले थाह पाएपछि के हुन्छ? त्यस्ता कुराबाट अलग हुन तिनी आफै उत्प्रेरित हुन्छन्‌! (यशैया ६३:१०; १ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१; एफिसी ४:३०) तिनले यी सब खास गरी यहोवा परमेश्‍वरलाई खुसी पार्न गरे तापनि त्यसो गर्दा तिनलाई अरू पनि लाभ हुन्छ। जस्तै, स्वास्थ्यमा सुधार अनि मनोशान्ति।

७ नराम्रो बानी छोड्‌न धेरैलाई असाध्यै गाह्रो हुन्छ। तर हरेक वर्ष हजारौं मानिस सफल भएका छन्‌। तिनीहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्छन्‌ अनि पानीमा बप्तिस्मा लिन्छन्‌। यसरी बप्तिस्मा लिएर तिनीहरूले परमेश्‍वरलाई मन नपर्ने सबै कुरा त्यागिसकें भनेर सबैको अगाडि देखाउँछन्‌। हामी सबैको लागि यो कत्ति ठूलो प्रोत्साहनको कुरा! यसो गर्दा पापपूर्ण र हानिकारक आचरणबाट अलग्गै बस्ने हाम्रो संकल्प अझ सुदृढ हुन्छ।

८. बाइबल आधारित कस्तो सल्लाहले परिवारको आनन्द बढाउँछ?

८ आनन्दित पारिवारिक जीवन। धेरै देशमा पारिवारिक बन्धन कमजोर हुँदैछ। धेरैले सम्बन्धविच्छेद गर्छन्‌ जसले गर्दा छोराछोरीले ठूलो भावनात्मक चोट खप्नुपर्छ। कुनै-कुनै युरोपेली मुलुकमा एक्ली आमा वा बुबा मात्र भएको परिवार झन्डै २० प्रतिशत जति भइसक्यो। पारिवारिक जीवनमा निष्ठावान्‌ रहन यहोवाले हामीलाई कसरी मदत गर्नुभएको छ? कृपया एफिसी ५:२२–६:४ सम्म पढ्‌नुहोस्‌ अनि परमेश्‍वरको वचनले पति, पत्नी र छोराछोरीलाई दिने राम्रो सल्लाह याद गर्नुहोस्‌। यहाँ र बाइबलका अन्य पदहरूमा दिइएको सल्लाह लागू गर्दा पारिवारिक बन्धन अवश्‍य बलियो हुन्छ, छोराछोरीलाई सही किसिमले हुर्काउन आमाबाबुले मदत पाउँछन्‌ अनि पारिवारिक जीवन आनन्दित हुन्छ। यस्तो आशिष्‌ पाएकोमा के हामी रमाउनु पर्दैन र?

९, १०. भविष्यप्रति हाम्रो र संसारका मानिसहरूको दृष्टिकोण कसरी फरक छ?

९ संसारमा व्याप्त समस्याहरू चाँडै समाधान हुनेछन्‌ भन्‍ने आश्‍वासन। वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा निकै उन्‍नति भएको छ र केही नेताहरूले निष्कपट प्रयास पनि गरेका छन्‌। तैपनि जीवनका जटिल समस्याहरू जस्ताका तस्तै छन्‌। संसारका प्रमुख समस्याहरूको कारण पत्ता लगाई त्यसको समाधान खोज्ने उद्देश्‍यले स्थापना गरिएको संगठन, वर्ल्ड इकोनोमिक फोरमका संस्थापक क्लाउस स्वाबले हालै यस्तो टिप्पणी गरे: “संसारले जुझ्नुपर्ने समस्याहरूको सूची झन्‌-झन्‌ लामो हुँदैछ तर ती समस्या समाधान गर्ने समय भने झन्‌-झन्‌ कम हुँदैछ।” तिनले अझै भने: “आतङ्‌कवाद, वातावरणको विनाश र अर्थतन्त्रमा उतार-चढावजस्ता समस्याहरूको खतराले सबै मुलुकलाई पिरोलिरहेको छ।” स्वाबले अन्तमा यसो भने: “समस्याहरूसित जुझ्न सारा विश्‍व एकजुट एकजुट हुनुपर्ने र निर्णायक कदम चाल्नुपर्ने बेला आएको छ र यस्तो कदम पहिला कहिल्यै चाल्नुपरेको थिएन।” यी सबै कुरा विचार गर्दा २१ औं शताब्दीमा मानिसको भविष्य अन्धकार नै होला जस्तो देखिन्छ।

१० यहोवाले मानिसहरूका सबै समस्या समाधान गर्न सक्ने एउटा प्रबन्ध मिलाउनुभएको छ भनेर थाह पाउनु साह्रै खुसीको कुरा हो। त्यो प्रबन्ध हो, परमेश्‍वरको मसीही राज्य! त्यसै राज्यमार्फत साँचो परमेश्‍वरले ‘युद्धहरू रोक्नुहुनेछ’ र “प्रशस्त शान्ति” ल्याउनुहुनेछ। (भजन ४६:९; ७२:७) अभिषिक्‍त राजा येशू ख्रीष्टले ‘अत्याचार र थिचोमिचोबाट दरिद्र, दुःखी र कमजोरलाई छुटकारा दिनुहुनेछ।’ (भजन ७२:१२-१४) यस राज्यले शासन गर्दा खानेकुराको अभाव हुनेछैन। (भजन ७२:१६) यहोवाले हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) यो राज्य स्वर्गमा स्थापना भइसकेको छ र अब चाँडै यस राज्यले पृथ्वीका सबै समस्या सुल्झाउनेछ।—दानियल २:४४; प्रकाश ११:१५.

११, १२. (क) के रमाइलोको पछि लाग्दा सदाको लागि आनन्द प्राप्त हुन्छ? व्याख्या गर्नुहोस्‌। (ख) कुन कुराले साँचो आनन्द दिन्छ?

११ साँचो आनन्द दिने कुरा थाह छ। वास्तवमा कुन कुराले साँचो आनन्द दिन्छ? एक जना मनोवैज्ञानिकले बताएअनुसार आनन्दित हुन तीनवटा कुरा चाहिन्छ—रमाइलो गर्नुपर्छ, कुनै काममा संलग्न हुनुपर्छ (जस्तै काम र परिवारसित सम्बन्धित गतिविधि) अनि कुनै उद्देश्‍य राख्नुपर्छ (उच्च लक्ष्य वा अरूको हितको लागि आफूलाई समर्पित गर्नुपर्छ)। यी तीनमध्ये रमाइलो गर्नुलाई सबैभन्दा कम महत्त्वपूर्ण ठान्दै तिनले यस्तो टिप्पणी गरे: “यो साँच्चै रोचक कुरा हो किनभने धेरै मानिसहरू रमाइलो गर्नुलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्छन्‌।” यस विषयमा बाइबल के भन्छ?

१२ प्राचीन इस्राएलका राजा सुलेमानले यसो भने: “मैले आफ्ना मनमा विचार गरें, ‘म सुख-विलासमा बसेर खूब मजा गर्नेछु।’ तर त्यो पनि व्यर्थ रहेछ। हंसीको विषयमा मैले भनें, ‘त्यो ता पागलपना हो।’ औ विलासको विषयमा चाहिं, ‘त्यसले के फाइदा गर्छ?’ भनें।” (उपदेशक २:१, २) बाइबलकै शब्दमा भन्‍ने हो भने, रमाइलोले दिने आनन्द क्षणिक हुन्छ। त्यसोभए, कुनै काममा संलग्न हुनु नि? एकदमै अर्थपूर्ण काममा हामीले भाग लिने मौका पाएका छौं। त्यो हो—परमेश्‍वरको राज्यबारे प्रचार गर्ने अनि चेला बनाउने काम। (मत्ती २४:१४; २८:१९, २०) बाइबलमा बताइएको उद्धारको सन्देश अरू मानिसलाई सुनाउँदा हाम्रो अनि हाम्रो कुरा सुन्‍ने मानिसको उद्धार हुन्छ। (१ तिमोथी ४:१६) हामी “परमेश्‍वरका सहकर्मी” हौं। त्यसकारण “लिनुभन्दा दिनु अझ असल हो” अर्थात्‌ लिंदाभन्दा दिंदा अझ आनन्दित हुन्छौं भनेर हामीलाई थाह छ। (१ कोरिन्थी ३:९; प्रेरित २०:३५) यस कामले हाम्रो जीवन अर्थपूर्ण बनाउँछ अनि हाम्रो सृष्टिकर्ताले उहाँको आलोचक शैतान अर्थात्‌ दियाबललाई मुखभरिको जवाफ दिन सक्नुहुन्छ। (हितोपदेश २७:११) हो, ईश्‍वरीय भक्‍तिले साँचो अनि सदाको लागि आनन्द दिन्छ भनेर यहोवाले हामीलाई देखाउनुभएको छ।—१ तिमोथी ४:८.

१३. (क) ईश्‍वरतान्त्रिक सेवकाई स्कूल हाम्रो लागि आशिष्‌ साबित भएको छ, किन? (ख) ईश्‍वरतान्त्रिक सेवकाई स्कूलबाट तपाईंले कस्तो लाभ उठाउनुभएको छ?

१३ महत्त्वपूर्ण र प्रभावकारी प्रशिक्षण कार्यक्रम। जेराट, यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्छन्‌। आफ्नो युवावस्थाबारे सम्झँदै तिनी भन्छन्‌: “जवान छँदा बोल्न मलाई साह्रै गाह्रो लाग्थ्यो। कसैको अगाडि बोल्नुपऱ्‍यो कि बोली लरबरिहाल्थ्यो अनि भकभकाउन थाल्थें। म त कामै नलाग्ने रहेछु जस्तो लाग्थ्यो र निराश हुन्थें। राम्रोसँग बोल्न सिकाउने ठाउँमा आमाबुबाले मलाई भर्ना गरिदिनुभयो। तरैपनि केही सुधार भएन। मैले बोल्नै नजानेको त होइन तर मलाई आफ्नै मनको बाघले खाइरहेको थियो। तर यहोवाको एउटा प्रबन्धले भने चमत्कारै गऱ्‍यो। त्यो थियो—ईश्‍वरतान्त्रिक सेवकाई स्कूल। त्यस स्कूलमा भाग लिन थालेपछि मेरो साहस बढ्यो। आफूले सिकेको कुरा व्यवहारमा उतार्न मैले निकै प्रयास गरें। अनि परिणाम पनि राम्रो भयो! म ढुक्कसित फरर्र बोल्न सक्ने भएँ र निराशा पनि हट्यो। सेवकाईमा पनि निर्धक्क भई बोल्न सकें। अहिले त म जनभाषण दिन्छु। यस स्कूलद्वारा मलाई नयाँ जीवन दिनुभएकोमा म यहोवाप्रति अत्यन्तै आभारी छु।” आफ्नो काम गराउन यहोवा हामीलाई यसरी तालिम दिनुहुन्छ। के यो आनन्दित हुनुपर्ने कारण होइन र?

१४, १५. संकटको बेला कस्तो मदत सजिलै पाउन सकिन्छ? उदाहरणसहित बताउनुहोस्‌।

१४ यहोवासितको व्यक्‍तिगत सम्बन्ध र एकताबद्ध अन्तरराष्ट्रिय भ्रातृत्वको साथ। दक्षिणपूर्वी एसियामा गएको ठूलो भूकम्प र त्यसपछि आएको सुनामीको खबर सुनेर जर्मनीमा बस्ने काट्रिन असाध्यै दुःखी भइन्‌। त्यो विपत्ति आएको बेला उनकी छोरी थाइल्याण्डमा घुम्न गएकी थिइन्‌। छोरी मरिन्‌ कि बाँचिन्‌ भनेर काट्रिनलाई ३२ घण्टासम्म अत्तोपत्तो भएन। यस्तो अवस्थामा चिन्ता त लाग्ने नै भयो किनभने मर्नेहरूको संख्या घण्टैपिच्छे बढिरहेको थियो। छोरी सुरक्षित छे भनेर टेलिफोनबाट खबर पाएपछि बल्ल काट्रिन ढुक्क भइन्‌!

१५ चिन्तामा डुबेको बेला काट्रिनलाई कुन कुराले मदत गऱ्‍यो? उनी लेख्छिन्‌: “मैले दिनरात यहोवालाई प्रार्थना गरें। यसो गर्दा मैले धेरै बल र मनोशान्ति पाएँ। मण्डलीका मायालु भाइबहिनीहरू मलाई भेट्‌न आउनुभयो र मलाई एक्लै छोड्‌नुभएन।” (फिलिप्पी ४:६, ७) त्यस्तो पीडादायी समयमा यहोवालाई प्रार्थना गर्न नपाएकी र मायालु भाइबहिनीबाट सान्त्वना नपाएकी भए उनको हालत कस्तो हुन्थ्यो होला! हामीले पाएको मसीही भाइबहिनीको मायालु संगत अनि यहोवा र उहाँको पुत्रसितको घनिष्ठ सम्बन्ध साँच्चै ठूलो आशिष्‌ हो। यसलाई हामी कदापि हल्कासित नलेऔं।!

१६. पुनरुत्थानको आशाको महत्त्व देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१६ मरिसकेका प्रियजनहरूसित फेरि भेट्‌ने आशा। (यूहन्‍ना ५:२८, २९) मतायास नाउँका जवान व्यक्‍ति यहोवाका साक्षीहरूको परिवारमा हुर्केका थिए। आफूले पाएका आशिष्‌हरूको वास्ता नगरी तिनी किशोर छँदा मसीही मण्डलीबाट टाढिए। अहिले तिनी यस्तो लेख्छन्‌: “बुबासित मैले कहिल्यै मन खोलेर कुरा गरिनँ। बुबासित धेरै चोटि चर्को भनाभन हुन्थ्यो। तैपनि बुबा मेरो भलो चाहनुहुन्थ्यो। उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो तर त्यतिबेला मैले त्यो कुरा बुझ्न सकिनँ। सन्‌ १९९६ को कुरा हो, बुबाको छेउमा बसेर उहाँको हात समाउँदै म धुरुधुरु रोएँ। अनि पहिला मैले जे-जति गरें त्यसको लागि माफी मागें अनि उहाँलाई असाध्यै माया गर्छु भनें। तर के गर्ने, त्यतिबेला बुबा बिरामी परेर अचेत अवस्थामा हुनुहुन्थ्यो। अनि केही समयपछि उहाँ बित्नुभयो। बुबाको पुनरुत्थान हुँदा म पनि जीवितै भएँ भने बाबु-छोराबीचको सम्बन्धलाई कुनै कुराले बिगार्न दिन्‍नँ। म अहिले प्राचीनको रूपमा सेवा गर्दैछु अनि म र मेरी श्रीमतीले अग्रगामी सेवा गर्दैछौं भनेर सुन्दा उहाँ पक्कै खुसीले गद्‌गद हुनुहुनेछ।” पुनरुत्थानको आशा हाम्रो लागि साँच्चै ठूलो आशिष्‌ हो!

“उहाँले तीसित दुःख पठाउनुहुन्‍न”

१७. यहोवाले बर्साउनुभएका आशिष्‌हरूमा मनन गर्दा कस्तो लाभ हुन्छ?

१७ स्वर्गमा हुनुहुने आफ्नो पिताबारे येशू ख्रीष्टले यसो भन्‍नुभयो: “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) यहोवा परमेश्‍वरले अधर्मी र दुष्टलाई त आशिष्‌ दिनुहुन्छ भने, निष्ठावान्‌ भई जीवन बिताउने व्यक्‍तिमाथि झन्‌ कत्ति धेरै आशिष्‌ बर्साउनुहुन्छ होला! भजन ८४:११ यसो भन्छ: “इमान्दारीसँग हिंड्‌नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न।” यहोवालाई प्रेम गर्नेहरूप्रति उहाँले देखाउनुभएको विशेष चासो र हेरचाहबारे मनन गऱ्‍यौं भने आनन्द र कृतज्ञताले हाम्रो हृदय भरिनेछ!

१८. (क) यहोवाले आशिष्‌ सँगसँगै दुःख पठाउनुहुन्‍न भनेर किन भन्‍न सक्छौं? (ख) यहोवाका थुप्रै वफादार जनहरूले दुःख भोग्छन्‌, किन?

१८ “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ।” यसैकारण उहाँका जनहरू आध्यात्मिक तवरमा संवृद्ध भएका हुन्‌। अनि “उहाँले तीसित दुःख पठाउनुहुन्‍न” भनेर पनि हामी ढुक्क छौं। (हितोपदेश १०:२२) तर विभिन्‍न परीक्षाको कारण परमेश्‍वरका वफादार जनहरूले साह्रै पीडा र दुःख खप्नुपरेको छ, किन? हामीमाथि कठिनाइ अनि दुःखकष्ट आउनुको तीनवटा प्रमुख कारण छन्‌। (१) आफ्नै पापी झुकाव। (उत्पत्ति ६:५; ८:२१; याकूब १:१४, १५) (२) शैतान र त्यसका प्रेतहरू। (एफिसी ६:११, १२) (३) दुष्ट संसार। (यूहन्‍ना १५:१९) हो, यहोवाले हामीमाथि नराम्रा कुराहरू आइपर्न दिनुहुन्छ तर ती उहाँले नै ल्याउने होइन। वास्तवमा “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ।” (याकूब १:१७) यहोवाले आशिष्‌ सँगसँगै दुःख पठाउनुहुन्‍न।

१९. निष्ठावान्‌ रहिरहनेहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

१९ आध्यात्मिक रूपमा संवृद्ध हुने हो भने परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्नुपर्छ। यसो गऱ्‍यौं भने ‘पछि आउने समयको ख्याल गरेर आफ्नै निम्ति असल जग बनाएर हामीले त्यो जीवन, जो साँच्चैको जीवन’ अर्थात्‌ अनन्त जीवन पक्रिराख्न सक्नेछौं। (१ तिमोथी ६:१२, १७-१९) परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा आध्यात्मिक आशिष्‌का साथै भौतिक आशिष्‌ पनि पाउनेछौं। यहोवा “परमेश्‍वरको वचन पालन” गर्ने सबैले साँच्चैको जीवन पाउनेछन्‌। (व्यवस्था २८:२) हाम्रो संकल्पलाई अझ बलियो बनाउँदै जाऔं र दृढ अठोटका साथ निष्ठावान्‌ भई जीवन बिताइरहौं। (w06 5/15)

तपाईंले के सिक्नुभयो?

• भविष्यबारे मात्र बढ्‌तै सोचिरहनु किन बुद्धिमानी होइन?

• आज हामीले कस्ता आशिष्‌हरू पाइरहेका छौं?

• परमेश्‍वरका विश्‍वासी सेवकहरूमाथि दुःख आइपर्नुको कारण के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने