प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १२/१ p. १२-p. १५ par. १३
  • यशैयाको पुस्तकका विशेषताहरू—भाग १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यशैयाको पुस्तकका विशेषताहरू—भाग १
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘बाँचेका मात्र फर्कनेछन्‌’
  • (यशैया १:१–१२:६)
  • हाम्रो लागि पाठ:
  • “परमप्रभुले याकूबमाथि टिठाउनुहुनेछ”
  • (यशैया १३:१–३५:१०)
  • हाम्रो लागि पाठ:
  • यशैयाको भविष्यवाणीले परमेश्‍वरको वचनमाथिको हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ
  • यशैयाको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ज्योति रोज्नेहरूको निम्ति मुक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १२/१ p. १२-p. १५ par. १३

यहोवाको वचन जीवित छ

यशैयाको पुस्तकका विशेषताहरू—भाग १

“मकसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” यहोवाले गर्नुभएको यो आह्वानको जवाफमा आमोसकाa छोरा यशैयाले यसो भने: “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशैया १:१; ६:८) त्यसपछि तिनले अगमवक्‍ताको रूपमा सेवा गर्ने जिम्मेवारी पाए। यशैयाले गरेका भविष्यवाणी तथा तीसित सम्बन्धित कामहरू तिनकै नाउँले चिनिने बाइबल पुस्तकमा लेखिएका छन्‌।

अगमवक्‍ता यशैया आफैले यशैयाको पुस्तक लेखेका हुन्‌ र यस पुस्तकले ईसापूर्व ७७८ देखि ईसापूर्व ७३२ को केही समयपछिसम्म जम्मा ४६ वर्षभित्र भएका घटनाहरूलाई ढाकेको छ। यशैयाको पुस्तकमा यहूदा, इस्राएल र वरपरका राष्ट्रहरूविरुद्ध गरिएको ईश्‍वरवाणी भए तापनि यस पुस्तकको मूल विषय भने न्यायदण्ड होइन। यसको मूल विषय ‘यहोवाले दिनुहुने मुक्‍ति’ हो। (यशैया २५:९) वास्तवमा, यशैया नाउँको अर्थ नै “यहोवाले दिनुहुने उद्धार” हो। यस लेखमा यशैया १:१–३५:१० सम्मका विशेषताहरू छलफल गरिनेछ।

‘बाँचेका मात्र फर्कनेछन्‌’

(यशैया १:१–१२:६)

यशैयाको पुस्तकको सुरुका पाँच अध्यायमा लेखिएको भविष्यसूचक सन्देश यशैयाले अगमवक्‍ता नियुक्‍त हुनुअघि अथवा पछि कहिले घोषणा गरेका हुन्‌, बाइबलमा प्रस्ट बताइएको छैन। (यशैया ६:६-९) तर जे होस्‌, यहूदा र यरूशलेम “शिरदेखि पैतालासम्मै चोट” भएझैं आध्यात्मिक तवरमा बिरामी छन्‌ भन्‍ने कुरा स्पष्ट छ। (यशैया १:६) जताततै मूर्तिपूजा भइरहेको छ। अगुवाहरू भ्रष्ट छन्‌। आइमाईहरू हठी छन्‌। मानिसहरूले साँचो परमेश्‍वरलाई मनपर्ने ढंगमा उपासना गर्न छाडिसकेका छन्‌। ज्ञान बुझ्न नसक्ने र ज्ञान लिन नचाहने यस्ता मानिसहरूकहाँ नै बारम्बार गएर तिनीहरूलाई सन्देश सुनाउने आदेश यशैयाले पाएका हुन्‌।

इस्राएल र अराम मिलेर यहूदामाथि आक्रमण गर्न लागेका छन्‌। यहोवाले यशैया र तिनका छोराछोरीलाई ‘चिन्ह र लक्षणको’ रूपमा प्रयोग गर्दै अरामी र इस्राएलीबीचको मित्रता सफल हुनेछैन भनेर आश्‍वासन दिनुहुन्छ। (यशैया ८:१८) ‘शान्तिका राजकुमारले’ शासन गर्नुभएपछि मात्र सदाको लागि शान्ति छाउनेछ। (यशैया ९:६, ७) आफ्नो “रीसको लाठो” सरह प्रयोग गर्नुभएको अश्‍शूर राष्ट्रको पनि यहोवाले इन्साफ गर्नुहुनेछ। अन्तमा यहूदा कैदी बनाएर लगिनेछ र ‘बाँचेका मात्र फर्कनेछन्‌।’ (यशैया १०:५, २१, २२) लाक्षणिक अर्थमा चित्रण गरिएको “यस्सीको ठुटाबाट” उम्रने ‘एउटा बोटले’ शासन गरेको बेला मात्र साँचो न्याय के हो थाह पाउनेछौं।—यशैया ११:१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:८, ९—सियोनकी छोरी कसरी “दाखबारीको छाप्रोजस्तै, काँक्राबारीको टौवाजस्तै” भएकी छे? यसको अर्थ, अश्‍शूरी आक्रमणको बेला यरूशलेम दाखबारीको छाप्रोजस्तै अथवा काँक्राबारीको सजिलै भत्किने टौवाजस्तै आफ्नो बचाउ गर्न नसक्ने अवस्थामा हुनेछ। तर यहोवा त्यसलाई बचाउन आउनुहुन्छ र उहाँले त्यसलाई सदोम र गमोराजस्तै हुन दिनुहुन्‍न।

१:१८—“आऊ, हामी बसेर आफ्ना कुरा छलफल गरौं” भन्‍नुको अर्थ के हो? यो छलफल बराबर दर्जाका दुई व्यक्‍तिबीच सम्झौताको लागि गरिने कुराकानी होइन। तर धर्मी न्यायाधीश यहोवाले इस्राएललाई परिवर्तन अनि शुद्ध हुने मौका दिने उहाँको न्याय अर्थात्‌ अदालती कारबाही हो।

६:८क—यस पदमा “म” र “हाम्रा” सर्वनाम किन प्रयोग गरिएको छ? “म” सर्वनामले यहोवालाई संकेत गर्छ भने “हाम्रा” बहुवचन सर्वनामले यहोवासित अर्को व्यक्‍ति पनि छ भनेर संकेत गर्छ। अनि त्यो अर्को व्यक्‍ति पक्कै पनि परमेश्‍वरको “एक्लो पुत्र” हुनुहुन्छ।—यूहन्‍ना १:१४; ३:१६.

६:११—“परमप्रभु कहिलेसम्म?” भनेर यशैया के भन्‍न खोज्दै थिए? भावशून्य मानिसहरूलाई यहोवाको सन्देश कहिलेसम्म सुनाइरहनुपर्छ भनेर त यशैयाले सोधिरहेका थिएनन्‌। बरु, आध्यात्मिक तवरमा बिरामी भएका मानिसहरूले कहिलेसम्म यहोवाको नाउँको अनादर गरिरहने थिए भनेर तिनी थाह पाउन चाहन्थे।

७:३, ४—दुष्ट राजा आहाजलाई यहोवाले किन जोगाउनुभयो? अराम र इस्राएलका राजाहरूले यहूदाका राजा आहाजलाई सत्ताच्युत गराएर तिनीहरूको इसारामा चल्ने व्यक्‍तिलाई अर्थात्‌ ताबालका छोरालाई सिंहासनमा बसाल्ने योजना गरिरहेका थिए। तर ताबालका छोरा दाऊदका घरानाका थिएनन्‌। अतः दियाबलको त्यस चालले गर्दा यहोवा परमेश्‍वरले दाऊदसित मसीही राज्यबारे गर्नुभएको करारमा बाधा पुग्न सक्थ्यो। त्यसैकारण यहोवाले आहाजलाई जोगाउनुभएर “शान्तिका राजकुमार” आउने वंशलाई सुरक्षित राख्नुभयो।—यशैया ९:६.

७:८—एप्रैम “पैंसट्ठी वर्ष भित्रैमा” कसरी “टुक्रा टुक्रा” पारियो? यशैयाले यो भविष्यवाणी गरेको केही समय नबित्दै “इस्राएलका राजा पेकहको समयमा” दस-गोत्रे राज्यका मानिसहरूलाई निर्वासनमा लैजाने र विदेशीहरूलाई त्यहाँ ल्याउने काम भयो। (२ राजा १५:२९) धेरै पछि सनहेरीबका छोरा र उत्तराधिकारी अश्‍शूरका राजा एसरहद्दोनको पालासम्म यो क्रम जारी रह्‍यो। (२ राजा १७:६; एज्रा ४:१, २; यशैया ३७:३७, ३८) त्यसरी अश्‍शूरीहरूले लगातार ६५ वर्षसम्म मानिसहरूलाई सामरियामा भित्र-बाहिर गराएको कुरा नै यशैया ७:८ मा उल्लेख गरिएको हो।

११:१, १०—येशू ख्रीष्ट कसरी “यस्सीको ठूटाबाट” ‘उम्रने बोट’ र “यस्सीका जरा” हुनुहुन्छ? (रोमी १५:१२) शारीरिक अर्थमा येशू “यस्सीको ठूटाबाट” उम्रनुभयो। उहाँ यस्सीका छोरा दाऊदको वंशमा देखा पर्नुभएको थियो। (मत्ती १:१-६; लूका ३:२३-३२) तर येशूले राज्य शक्‍ति पाउनुभएपछि पुर्खासितको उहाँको सम्बन्धमा असर पऱ्‍यो। आज्ञाकारी मानिसजातिलाई पृथ्वीमा अनन्त जीवन दिने शक्‍ति अनि अख्तियार उहाँलाई दिइएकोले येशू “सनातनका पिता” हुनुभयो। (यशैया ९:६) यसर्थ, उहाँ यस्सीलगायत आफ्नो पुर्खाको “जरा” पनि हुनुभयो।

हाम्रो लागि पाठ:

१:३. हाम्रो सृष्टिकर्ताले हामीबाट माग गर्नुभएअनुसार जीवन बिताउन इन्कार गर्नु भनेको गोरु र गधाले जति पनि थाह नपाउनु बराबर हो। अर्कोतिर, यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूको निम्ति कृतज्ञता बढायौं भने, कुरा नबुझी व्यवहार गर्न वा उहाँलाई नै छोडेर हिंड्‌नदेखि आफूलाई रोक्छौं।

१:११-१३. कपटले भरिएको धार्मिक समारोह तथा औपचारिक प्रार्थनाहरू यहोवालाई दिक्क लाग्छ। हाम्रो गतिविधि तथा प्रार्थना, निष्कपट भई सही मनसायले गरिएको हुनुपर्छ।

१:२५-२७; २:२; ४:२, ३. पश्‍चात्तापी मानिसहरू यरूशलेम फर्कंदा र साँचो उपासना फेरि स्थापना गर्दा यहूदाको दासत्व अनि उजाड अवस्था सिद्धिने थियो। गल्ती गर्नेहरूले पश्‍चात्ताप गरेका छन्‌ भने तिनीहरूप्रति यहोवा दया देखाउनुहुन्छ।

२:२-४. परमेश्‍वरको राज्यबारे प्रचार गर्ने अनि चेला बनाउने काममा जोसिलो भई लाग्यौं भने, जातिजातिका मानिसहरूलाई मेल-मिलापको मार्गमा हिंड्‌न र मेल-मिलाप गर्न मदत मिल्छ।

४:४. यहोवाले नैतिक अशुद्धता र रक्‍तदोषलाई हटाउनुहुनेछ अथवा धुनुहुनेछ।

५:११-१३. मनोरञ्जन गर्ने तरिका छान्दा संयमित अनि सन्तुलित नहुनु भनेको ज्ञानअनुसार नचल्नु हो।—रोमी १३:१३.

५:२१-२३. मसीही प्राचीन अथवा निरीक्षकहरू “आफ्नै दृष्टिमा ज्ञानी” हुनदेखि होसियार हुनै पर्छ। उनीहरूले ‘दाखमद्य पिउने’ बेला पनि सन्तुलित हुनु आवश्‍यक छ भने, मुख हेरेर व्यवहार गर्नु पटक्कै हुँदैन।

११:३क. यहोवाको भय मान्दा आनन्दित हुन सकिन्छ भनेर येशूको उदाहरण र शिक्षाले देखाउँछ।

“परमप्रभुले याकूबमाथि टिठाउनुहुनेछ”

(यशैया १३:१–३५:१०)

अध्याय १३ देखि २३ सम्ममा राष्ट्रहरूविरुद्ध गरिएका ईश्‍वरवाणीहरू छन्‌। तर इस्राएलका सबै कूललाई घर फर्कने अनुमति दिनुभएर यहोवाले “याकूबमाथि टिठाउनुहुनेछ।” (यशैया १४:१) अध्याय २४ देखि २७ सम्म यहूदा उजाड पारिने सन्देश अनि फेरि स्थापना गरिने प्रतिज्ञा पाइन्छ। “एप्रैमका [इस्राएलका] मतवालाहरू[ले]” अरामसित अनि यहूदाका ‘पूजाहारी र अगमवक्‍ताले’ अश्‍शूरीहरूसित मित्रता गाँसेकोले यहोवाले तिनीहरूप्रति रिस देखाउनुभयो। (यशैया २८:१, ७) सुरक्षा पाउन “मिश्र . . . जान” चाहने “अरीयल [इस्राएललाई]” धिक्कार भनिन्छ। (यशैया २९:१; ३०:१, २) तैपनि, यहोवामा भरोसा गर्नेहरूले छुटकारा पाउनेछन्‌ भनेर पनि अगमवाणी गरिएको छ।

‘सिंहले’ गर्जेर अरूबाट “आफ्नो शिकार” जोगाएजस्तै यहोवाले ‘सियोन पर्वतलाई’ जोगाउनुहुनेछ। (यशैया ३१:४) “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्‌” भनेर पनि प्रतिज्ञा गरिएको छ। (यशैया ३२:१) अश्‍शूरीहरूले यहूदालाई धम्की दिएकोले “मिलापका राजदूतहरू” समेत धुरूधुरू रुँदा आफ्ना जनहरूको “अधर्म क्षमा” गर्नुभएर यहोवाले तिनीहरूलाई निको पार्नुहुनेछ। (यशैया ३३:७, २२-२४) यहोवाको “रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ।” (यशैया ३४:२, NRV) यहूदा सधैं उजाड छोडिनेछैन। “उजाड र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ।”—यशैया ३५:१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१३:१७—किन मादीहरू चाँदीको पर्वाह गर्दैनन्‌ र सुनको लालच गर्दैनन्‌? मादी र फारसीहरू युद्धको लुटभन्दा युद्धमा विजयी हुनुलाई ठूलो गौरव सम्झन्थे। नबूकदनेसरले यहोवाको मन्दिरबाट लुटेका सुन-चाँदीका भाँडाहरू निर्वासित इस्राएलीहरू घर फर्कंदा कोरेसले तिनीहरूलाई दिंदा यो कुरा सत्य साबित भयो।

१४:१, २, NRV—परमेश्‍वरका जनहरूले कसरी “तिनीहरूलाई कैद गर्नेहरूलाई . . . कैदी बनाउनेछन्‌” र “तिनीहरूलाई अत्याचार गर्नेहरूमाथि . . . शासन गर्नेछन्‌”? मादी र फारसीहरूले बेबिलोनमाथि शासन गर्दा उच्च ओहदा पाएका दानियल; फारसी रानी एस्तर अनि फारसी साम्राज्यमा प्रधानमन्त्री नियुक्‍त भएका मोर्दकैको सम्बन्धमा यस पदको कुरा पूरा भयो।

२०:२-५—के यशैया साँच्चै तीन वर्षसम्म पूरै नाङ्‌गै भएर हिंडे? यशैयाले बाहिरी लुगा मात्र फुकालेर भित्री लुगा भने लगाएरै हिंडेका हुन सक्छन्‌। “नाङ्‌गै” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “शरीर अलिकता मात्र ढाक्नु वा थोरै कपडाले मात्र छोप्नु” भन्‍ने पनि हुन सक्छ।—१ शमूएल ६:१४, २०.

२१:१—कुन इलाकालाई “समुद्र-किनारको उजाड-भूमि” भनिएको हो? बेबिलोन वास्तवमा समुद्र नजिकै नभए तापनि यस अभिव्यक्‍तिले बेबिलोनलाई नै संकेत गरेको हो। किनकि युफ्रेटिस नदी अनि टाइग्रिस नदीको पानी बढ्‌दा वर्षेनी उक्‍त इलाकामा बाढी आउँछ र जमिन हिलैहिलो भएर “समुद्र” जस्तै हुन्छ।

२४:१३-१६—कसरी यहूदीहरू “मानिसहरूमा” “भद्राक्षको रूख हल्लाएपछि अथवा अङ्‌गूर टिपिसकेपछि शिला रहेझैं” हुनेछन्‌? फल टिपिसकेपछि रूखमै अथवा लहरामै केही फल बाँकी भएझैं यरूशलेम र यहूदाको विनाश हुँदा बच्नेहरू पनि थोरै हुनेछन्‌। बचेकाहरूलाई निकालेर “पूर्वमा [बेबिलोन]” अथवा “समुद्र किनारका देशहरूमा [भूमध्यसागरमा],” जहाँसुकै पठाए तापनि तिनीहरूले यहोवाको महिमा गरिरहने थिए।

२४:२१—“स्वर्गको दल” र “पृथ्वीका राजाहरू” को हुन्‌? ‘स्वर्गको दलले’ दुष्ट आत्मिक शक्‍तिलाई संकेत गर्छ। ‘पृथ्वीका राजाहरू’ चाहिं यी प्रेतहरूको बलियो प्रभावमा परेका पृथ्वीका शासकहरू हुन्‌।—१ यूहन्‍ना ५:१९.

२५:७—“सारा मानिसहरूमाथि परेको पर्दा र सारा जातिमाथि परेको घुम्टो” के हो? यस तुलनाले मानिसजातिको प्रमुख दुई शत्रु—पाप र मृत्युतिर ध्यान खिच्छ।

हाम्रो लागि पाठ:

१३:२०-२२; १४:२२, २३; २१:१-९. यहोवाले गर्नुभएको भविष्यवाणी सधैं सत्य साबित हुन्छ। बेबिलोनको सम्बन्धमा उहाँले गर्नुभएको भविष्यवाणी पनि पूरा भयो।

१७:७, ८. इस्राएलका प्रायजसोले ईश्‍वरवाणी सुन्‍न नखोजे तापनि केहीले त यहोवातिर हेरे। त्यसै गरी, चर्च जाने केही व्यक्‍तिहरूले पनि परमेश्‍वरको राज्यसन्देश स्वीकारेका छन्‌।

२८:१-६. इस्राएल अश्‍शूरीहरूसित हार्नेछ तर विश्‍वासी जनहरू जोगाइनेछन्‌ भनेर परमेश्‍वरले पक्का गर्नुहुनेछ। यहोवाले इन्साफ गर्नुहुँदा धर्मीहरूलाई आशाविहीन छोड्‌नुहुन्‍न।

२८:२३-२९. यहोवाले निष्कपट व्यक्‍तिहरूलाई तिनीहरूको विशेष आवश्‍यकता र परिस्थितिअनुसार सुधार्नुहुन्छ।

३०:१५. यहोवाले दिने छुटकारा चाहन्छौं भने, छुटकारा दिन मानिसहरूले गर्ने प्रबन्धमा भर नपरेर अथवा त्यो प्रबन्धबाट “विश्राम” लिएर विश्‍वास देखाउनु जरुरी छ। हामी “मौन बसेर” अथवा नडराएर पनि यहोवा हाम्रो रक्षा गर्न सक्षम हुनुहुन्छ भनेर देखाइरहेका हुन्छौं।

३०:२०, २१. यहोवा परमेश्‍वरले आफ्नो वचन बाइबल अनि ‘विश्‍वासी र बुद्धिमान दासमार्फत’ भन्‍नुभएका कुरा पालन गरेर हामी उहाँलाई ‘देख्न’ अनि उहाँको स्वर ‘सुन्‍न’ सक्छौं।—मत्ती २४:४५.

यशैयाको भविष्यवाणीले परमेश्‍वरको वचनमाथिको हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ

यशैयाको पुस्तकमा पाइने परमेश्‍वरको सन्देशप्रति हामी कत्ति धन्यवादी हुन सक्छौं! पूरा भइसकेका भविष्यवाणीहरूले ‘परमेश्‍वरको मुखबाट निस्कने वचन उहाँकहाँ व्यर्थै फर्कनेछैन’ भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाउँछ।—यशैया ५५:११.

यशैया ९:७ अनि ११:१-५, १० जस्ता पदहरूमा पाइने मसीहसम्बन्धी गरिएका भविष्यवाणीबारे चाहिं के भन्‍न सकिन्छ? के यसले छुटकाराको लागि यहोवा परमेश्‍वरले गर्नुभएको प्रबन्धप्रतिको हाम्रो विश्‍वासलाई बलियो बनाउँदैन र? अहिले हाम्रो समयमा वा पछि हुने महत्त्वपूर्ण घटनाहरूबारे गरिएको भविष्यवाणी पनि यस पुस्तकमा छ। (यशैया २:२-४; ११:६-९; २५:६-८; ३२:१, २) साँच्चै भनौं भने, यशैयाको पुस्तकले पनि “परमेश्‍वरको वचन जीवित” छ भन्‍ने थप प्रमाण दिन्छ। —हिब्रू ४:१२. (w 06 12/01)

[फुटनोट]

a अगमवक्‍ता आमोस होइनन्‌।

[पृष्ठ १२-मा भएको चित्र]

यशैया र तिनका छोराछोरीहरू ‘इस्राएलमा चिन्ह र लक्षणझैं’ थिए

[पृष्ठ १३-मा भएको चित्र]

यरूशलेम “दाखबारीको छाप्रोजस्तै” हुने थियो

[पृष्ठ १४-मा भएको चित्र]

जाति-जातिका मानिसहरूलाई आ-आफ्नो “तरवार पिटेर हलोको फाली” बनाउन कसरी मदत दिइँदैछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने