प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १२/१ pp. १६-२०
  • सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कसै-कसैलाई किन बहिष्कार गरिन्छ?
  • पुनर्स्थापित हुन पश्‍चात्ताप गर्नै पर्छ
  • गल्ती किन स्वीकार्ने?
  • तपाईंका विश्‍वासी भाइहरूमाथि भरोसा गर्नुहोस्‌
  • गोठालाहरूले कसरी मदत गर्छन्‌
  • परमेश्‍वरले दिने अनुशासन सधैं स्वीकार्नुहोस्‌
  • मण्डलीको शान्ति अनि स्वच्छता कायम राख्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • बहिष्कार—यो किन मायालु प्रबन्ध हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्‍तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १२/१ pp. १६-२०

सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्‌

“[ यहोवाको] अनुशासनलाई अवहेलना नगर्‌।”—हितोपदेश ३:११.

१. परमेश्‍वरले दिने अनुशासन हामीले किन स्वीकार्नुपर्छ?

परमेश्‍वरले दिने अनुशासन स्वीकार्नुको एउटा राम्रो कारण प्राचीन इस्राएलका राजा सुलेमान यसरी बताउँछन्‌: “हे मेरो छोरो, [यहोवाको] अनुशासनलाई अवहेलना नगर्‌, अथवा उहाँको ताडनादेखि चित्त नदुःखा। किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” (हितोपदेश ३:११, १२) हो, स्वर्गमा बस्नुहुने तपाईंको पिता तपाईंलाई अनुशासन दिनुहुन्छ। तर किन, थाह छ? किनभने उहाँ तपाईंलाई माया गर्नुहुन्छ।

२. ‘अनुशासन’ शब्दको अर्थ के हो र अनुशासन कुन-कुन माध्यमबाट आउन सक्छ?

२ ‘अनुशासन’ शब्दको अर्थ सजाय दिनु, सुधार्नु, निर्देशन तथा शिक्षा दिनु हो। प्रेरित पावलले लेखे: “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:११) परमेश्‍वरले दिने अनुशासन स्वीकारेर सुध्रिनुभयो भने, धर्मी मार्गमा हिंडिरहन र पवित्र परमेश्‍वर यहोवाको नजिक हुन सक्नुहुन्छ। (भजन ९९:५) सुधार विभिन्‍न माध्यमबाट आउन सक्छ। जस्तै: सँगी भाइबहिनी, मसीही सभाहरूमा सिकेको कुरा र परमेश्‍वरको वचन बाइबल अनि ‘विश्‍वासी भण्डारेले’ तयार पारेका प्रकाशनहरू अध्ययन गर्दा थाह पाएको कुराले तपाईंलाई सुधार्न सक्छ। (लूका १२:४२-४४) यसरी, आफूलाई सुधार्ने कुरा कतैबाट वा कसैबाट थाह पाउनु त खुसीको कुरा हो नि, होइन र? तर परमेश्‍वरको कुनै साक्षीले गम्भीर पाप गऱ्‍यो भने तिनलाई कस्तो अनुशासन दिनुपर्ने हुन सक्छ?

कसै-कसैलाई किन बहिष्कार गरिन्छ?

३. कस्तो अवस्थामा मात्र बहिष्कार गरिन्छ?

३ यहोवाका साक्षीहरू बाइबल तथा बाइबलसम्बन्धी प्रकाशनहरू अध्ययन गर्छन्‌। उनीहरूका सभा, सम्मेलन अनि अधिवेशनमा यहोवाका स्तरहरूबारे छलफल गरिन्छ। यसकारण, यहोवा आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ भन्‍ने कुरा उहाँका साक्षीहरूलाई राम्रोसँग थाह छ। मण्डलीका कुनै सदस्यले घोर पाप गरिरहन्छ र पश्‍चात्ताप गर्दैन भने मात्र उसलाई बहिष्कार गरिन्छ।

४, ५. बहिष्कार गरिएको कस्तो उदाहरण बाइबलमा दिइएको छ र बहिष्कार गरिएको व्यक्‍तिलाई पुनर्स्थापित गर भनी मण्डलीलाई आग्रह गरिनुको कारण के थियो?

४ बहिष्कार गरिएको कस्तो उदाहरण बाइबलमा छ, विचार गर्नुहोस्‌। कोरिन्थमा भएको मण्डलीमा यस्तो व्यभिचार भइरहेको थियो कि “जो अन्यजातिहरूमा पनि हुँदैन, . . . एक जनाले आफ्नै बाबुको स्वास्नी राखेको” थियो। पावलले कोरिन्थका मसीहीहरूलाई आग्रह गर्दै भने: “यस्तो मानिसलाई शरीरको नाशको लागि शैतानकहाँ सुम्पिओस्‌, र प्रभु येशूको दिनमा त्यसको आत्माले चाहिं उद्धार पाओस्‌।” (१ कोरिन्थी ५:१-५) त्यसरी बहिष्कार गरेर शैतानकहाँ सुम्पेपछि पाप गर्ने व्यक्‍ति फेरि शैतानको संसारको भाग हुन्थ्यो। (१ यूहन्‍ना ५:१९) तिनलाई निकालेपछि मण्डलीबाट दुष्ट शारीरिक प्रभाव हट्यो र परमेश्‍वरका गुणहरू झल्काएर मण्डलीले पनि ईश्‍वरीय “आत्मा” अर्थात्‌ मसीहीहरूसित हुनुपर्ने मनोभावलाई जोगायो।—२ तिमोथी ४:२२; १ कोरिन्थी ५:११-१३.

५ पाप गर्ने व्यक्‍तिलाई मण्डलीबाट बहिष्कार गरेको धेरै समय नबित्दै उसलाई पुनर्स्थापित गर भनी पावलले कोरिन्थका मसीहीहरूलाई आग्रह गरे। किन? किनभने त्यसो गरेमा ती मसीहीहरूमाथि “शैतानको केही दाउ” लाग्नेछैन भनी पावलले बताए। पाप गर्ने व्यक्‍तिले पनि पश्‍चात्ताप गर्नुका साथै नैतिक रूपमा स्वच्छ जीवन बिताउन थालिसकेका थिए। (२ कोरिन्थी २:८-११) कोरिन्थका मसीहीहरूले पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई पुनर्स्थापित गर्न नमानेको खण्डमा उनीहरू शैतानको फन्दामा पर्ने थिए। अर्को शब्दमा भन्‍नुपर्दा, शैतानले चाहेजस्तै उनीहरू कठोर र क्षमा दिन नचाहनेहरू भइरहेका हुने थिए। त्यसैकारण पनि पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई उनीहरूले छिट्टै “क्षमा . . . र सान्त्वना” दिए। —२ कोरिन्थी २:५-७.

६. बहिष्कार गर्दा कुन उद्देश्‍य पूरा हुन्छ?

६ बहिष्कार गर्दा कुन उद्देश्‍य पूरा हुन्छ? यहोवाको पवित्र नाउँमा कलंक लाग्दैन र उहाँका जनहरूले कमाएको असल नाम पनि जोगिन्छ। (१ पत्रुस १:१४-१६) गल्ती गरेर पनि पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाउँदा परमेश्‍वरका स्तरहरूमा सम्झौता नगरेको स्पष्ट हुन्छ र मण्डली आध्यात्मिक रूपमा सफा रहिरहन्छ। पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई बहिष्कार गर्दा उसले आफ्नो गल्ती कत्तिको गम्भीर थियो भन्‍ने कुरा पनि थाह पाउँछ।

पुनर्स्थापित हुन पश्‍चात्ताप गर्नै पर्छ

७. आफूले गरेको अपराध नस्वीकार्दा दाऊदलाई के भयो?

७ गम्भीर पाप गर्ने धेरैजसोले साँचो पश्‍चात्ताप गर्छन्‌ र मण्डलीबाट उनीहरूलाई बहिष्कार गरिंदैन। हुन त हो, साँचो पश्‍चात्ताप गरिहाल्न धेरैलाई त्यति सजिलो नहुन सक्छ। इस्राएलका राजा दाऊदको उदाहरण विचार गर्नुहोस्‌, जसले भजन ३२ अध्याय रचेका थिए। त्यस भजनमा भनिएअनुसार सायद बेतशेबासित गरेका गम्भीर पापहरू दाऊदले केही समयसम्म लुकाएर राखे। तर परिणाम के भयो? पापले गर्दा तिनको मन यत्ति पोल्यो कि प्रचण्ड गर्मीको खडेरीले रूख खङ्‌ग्रङ्‌ङ सुकेझैं तिनी शिथिल भएर गए। दाऊदलाई शारीरिक तथा मानसिक पीडा भयो तर तिनले ‘आफ्नो अपराध स्वीकारेपछि भने यहोवाले तिनलाई क्षमा गर्नुभयो।’ (भजन ३२:३-५) क्षमा पाएपछि दाऊदले यसो भन्दै गाए: “त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्‍न।” (भजन ३२:१, २) परमेश्‍वरले कृपा गर्नुभएको कारण दाऊद अत्यन्तै खुसी भए!

८, ९. पश्‍चात्ताप गरेको कसरी देखिन्छ र बहिष्कार भएको व्यक्‍तिले पुनर्स्थापित हुन पश्‍चात्ताप गर्नु कत्तिको महत्त्वपूर्ण छ?

८ त्यसकारण कुरा स्पष्ट छ, परमेश्‍वरको कृपा पाउन पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्नै पर्छ। तथापि, लाज मानेर बस्यौं र आफूले गरेको पाप अरूले थाह पाउलान्‌ भनी डरायौं भने, त्यसलाई पश्‍चात्ताप गरेको भन्‍न मिल्दै-मिल्दैन। “पश्‍चात्ताप गर्नु” भनेको त पाप गरेकोमा पछुतो भएकोले खराब काम नगर्न “आफ्नो मन बदल्नु” हो। पश्‍चात्ताप गर्ने व्यक्‍तिको हृदय “चूर्ण र पूरा पश्‍चातापी” हुन्छ र ऊ सकेसम्म ‘गल्ती सच्याउन’ चाहन्छ। —भजन ५१:१७; २ कोरिन्थी ७:११, NW.

९ बहिष्कार भएको व्यक्‍तिलाई मसीही मण्डलीमा पुनर्स्थापना गर्नुअघि उसले पश्‍चात्ताप गरेका छ कि छैन, पक्का गर्नु एकदमै महत्त्वपूर्ण छ। बहिष्कार भएको व्यक्‍तिलाई निश्‍चित समय बितेपछि मण्डलीमा स्वतः स्वीकारिंदैन। पुनर्स्थापित हुनुअघि तिनको हृदयको अवस्थामा आमूल परिवर्तन आएको हुनै पर्छ। आफूले गरेको पाप गम्भीर थियो अनि यहोवाको नाउँमा कलंक लाग्यो र मण्डलीको बदनाम भयो भन्‍ने कुरा पनि उसले राम्रोसँग बुझेको हुनै पर्छ। पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्नै पर्छ, क्षमाको लागि चोखो मनले प्रार्थना गर्नै पर्छ र परमेश्‍वरका धार्मिक आवश्‍यकताहरू अनुरूप चल्नै पर्छ। ‘पुनर्स्थापित हुन चाहन्छु’ भनेर अनुरोध गर्दा उसले पश्‍चात्ताप गरेको र “पश्‍चाताप योग्यको काम” गरिरहेको प्रमाण दिन सक्नुपर्छ। —प्रेरित २६:२०.

गल्ती किन स्वीकार्ने?

१०, ११. किन हामीले पाप लुकाउने कोसिस गर्नु हुँदैन?

१० पाप गर्ने कतिपयले यस्तो तर्क गर्लान्‌: ‘मैले गरेको पापबारे कसैलाई बताएँ भने, जवाफ दिनै लाज लाग्ने प्रश्‍नहरू सोध्छ होला अनि मलाई बहिष्कार गर्छ होला। बरु, चुपो लागें भने ढुक्क, मण्डलीको कसैलाई पनि मैले गरेको पाप थाह हुँदैन।’ यसरी सोच्नेले केही महत्त्वपूर्ण पक्ष विचार गर्नु जरुरी छ। ती पक्षहरू के हुन्‌?

११ यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” परमेश्‍वर हुनुहुन्छ। तरैपनि उहाँ आफ्ना जनहरूलाई “ठीक नापले” भने सुधार्नुहुन्छ। (प्रस्थान ३४:६, ७; यर्मिया ३०:११) गम्भीर पाप गरेर त्यसलाई लुकाउनुभयो भने, के परमेश्‍वरले तपाईंमाथि कृपा देखाउनुहोला र? हामीले गरेको पाप यहोवालाई थाह हुन्छ र हाम्रो गल्ती देखेर पनि नदेखेझैं गर्नुहुन्‍न।—हितोपदेश १५:३; हबकूक १:१३.

१२, १३. आफूले गरेको पाप लुकाउने कोसिस गऱ्‍यौं भने, परिणाम कस्तो हुन सक्छ?

१२ गम्भीर पाप गरेको कारण तपाईंको अन्तस्करण मैलो भएको छ भने पाप स्वीकार्नुहोस्‌, अन्तस्करण फेरि सफा हुन सक्छ। (१ तिमोथी १:१८-२०) तर पाप स्वीकार्नुभएन भने, अन्तस्करण भ्रष्ट भएर जानेछ र तपाईंबाट झन्‌ बढी पाप हुन सक्छ। नबिर्सनुहोस्‌, तपाईंले गर्ने पाप कुनै व्यक्‍ति वा मण्डली विरुद्ध गरिएको पाप मात्र होइन। यो त परमेश्‍वर विरुद्ध गरिएको पाप हो। भजनरचयिताले यसरी गाए: “परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।” यहोवाले धर्मी र दुष्टको जाँच गर्नुहुन्छ। —भजन ११:४, ५, NRV.

१३ एकातिर आफूले गरेको गम्भीर पाप लुकाउने र अर्कोतिर सफा मसीही मण्डलीमा रहिरहन चाहनेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्‍न। (याकूब ४:६) यसकारण, तपाईंले पाप गर्नुभएको छ तर अब सुध्रिन चाहनुहुन्छ भने, इमानदार भई आफ्नो गल्ती स्वीकार्न अप्ठ्यारो नमान्‍नुहोस्‌। नत्र, गम्भीर पापबारे कुनै लेख पढ्‌दा अथवा सल्लाह दिएको सुन्दा दोषी अन्तस्करणले तपाईंलाई चसचस घोच्नेछ। यहोवाले जसरी राजा शाऊलबाट पवित्र आत्मा हटाउनुभयो, त्यसै गरी तपाईंबाट पनि हटाइदिनुभयो भने, के गर्नुहुन्छ? (१ शमूएल १६:१४) तपाईंबाट परमेश्‍वरको आत्मा हट्यो भने, तपाईं झनै गम्भीर पापमा फस्ने खतरा हुन्छ।

तपाईंका विश्‍वासी भाइहरूमाथि भरोसा गर्नुहोस्‌

१४. गल्ती गर्ने व्यक्‍तिले याकूब ५:१४, १५ मा दिइएको सल्लाह किन पालन गर्नुपर्छ?

१४ उसोभए, गल्ती भएकोमा पश्‍चात्ताप गर्ने व्यक्‍तिले के गर्नुपर्छ? “त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले [यहोवाको] नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌। औ विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र [यहोवाले] त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।” (याकूब ५:१४, १५) आफूबाट भएको पापबारे प्राचीनहरूलाई थाह दिनु भनेको “पश्‍चाताप लायकको फल” फलाउने एउटा तरिका हो। (मत्ती ३:८) यी विश्‍वासी तथा मायालु भाइहरूले ‘तिनको विषयमा प्रार्थना गर्नेछन्‌ र यहोवाको नाउँमा तिनलाई तेल घसिदिनेछन्‌।’ तेलले सन्चो गराएझैं बाइबलको सल्लाहले साँच्चै पश्‍चात्ताप गर्नेहरूलाई सान्त्वना दिनेछ। —यर्मिया ८:२२.

१५, १६. इजकिएल ३४:१५, १६ मा उल्लिखित परमेश्‍वरले बसाल्नुभएको उदाहरण मसीही प्राचीनहरू कसरी अनुकरण गर्छन्‌?

१५ ईसापूर्व ५३७ मा बेबिलोनको कैदबाट यहूदीहरूलाई मुक्‍त गरेर अनि सन्‌ १९१९ मा चाहिं “महान्‌ बेबिलोन[को]” कब्जाबाट आध्यात्मिक इस्राएलीहरूलाई छुटकारा दिएर हाम्रो गोठाला यहोवाले अनुकरण गर्न लायक मायालु उदाहरण बसाल्नुभयो। (प्रकाश १७:३-५; गलाती ६:१६) त्यसरी, उहाँले आफ्नो यो प्रतिज्ञा पूरा गर्नुभयो: “म आफै मेरा भेडाहरूको हेरचाहा गर्नेछु, र तिनीहरूलाई त्यहाँ सुताउनेछु . . . हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु।”—इजकिएल ३४:१५, १६, NRV.

१६ यहोवाले आफ्ना लाक्षणिक भेडाहरूको हेरचाह गर्नुभयो, उनीहरूलाई निष्फिक्री सुत्न दिनुभयो र हराएकाहरूलाई खोज्नुभयो। त्यसै गरी, मसीही गोठालाहरू पनि परमेश्‍वरको बगालको आध्यात्मिक रूपमा राम्रोसँग हेरचाह गर्छन्‌ र तिनीहरू सुरक्षित छन्‌ कि छैनन्‌, पक्का गर्छन्‌। प्राचीनहरू मण्डलीबाट तर्केर गएका भेडाको खोजी गर्छन्‌। परमेश्‍वरले ‘घाइतेलाई मलमपट्टी लगाइदिनुभएझैं’ प्राचीनहरू पनि कसैको बोलीले अथवा आफ्नै गल्तीले घायल भएको भेडालाई “मलमपट्टी” लगाइदिन्छन्‌। अनि परमेश्‍वरले “निर्बललाई बलियो” बनाउनुभएझैं सायद आफ्नै गल्तीले गर्दा आध्यात्मिक रूपमा बिरामी भएकाहरूलाई प्राचीनहरू मदत गर्छन्‌।

गोठालाहरूले कसरी मदत गर्छन्‌

१७. प्राचीनहरूको मदत खोज्न हामी कहिल्यै हिचकिचाउनु हुँदैन, किन?

१७ प्राचीनहरू खुसीसाथ यो सल्लाह पालन गर्छन्‌: “डर राखेर दया गर।” (यहूदा २३) यौन अनैतिकतामा मुछिएको कारण केही मसीहीहरूले गम्भीर पाप गरेका छन्‌। तर साँचो पश्‍चात्ताप गरेको खण्डमा आध्यात्मिक मदत दिन इच्छुक प्राचीनहरूले उनीहरूलाई दयालु र मायालु मदत दिन सक्छन्‌। आफूलाई पनि समावेश गर्दै पावलले यस्ता प्राचीनहरूको विषयमा भने: “तिमीहरूको विश्‍वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौं।” (२ कोरिन्थी १:२४, NRV) त्यसकारण, प्राचीनहरूको मदत खोज्न कहिल्यै नहिचकिचाउनुहोस्‌।

१८. गल्ती गर्ने सँगी भाइबहिनीसित प्राचीनहरू कस्तो व्यवहार गर्छन्‌?

१८ गम्भीर पाप गर्नुभएको छ भने, तपाईं किन प्राचीनहरूमाथि भर पर्न सक्नुहुन्छ? पहिलो कुरा त, उनीहरू परमेश्‍वरको बगालका गोठालाहरू हुन्‌। (१ पत्रुस ५:१-४) चोट लागेर ‘म्याँ-म्याँ’ गरिरहेको सुधो पाठोलाई मायालु गोठालाले पिट्‌छ र? कदापि पिट्‌दैन। त्यसकारण, गल्ती गर्ने सँगी भाइबहिनीसित व्यवहार गर्दा प्राचीनहरू उनीहरूलाई कस्तो सजाय दिने भन्‍ने कुरामा होइन तर उनीहरूले गरेको पापमा ध्यान केन्द्रित गर्दै सम्भव छ भने आध्यात्मिक रूपमा पुनर्स्थापित गर्नेतर्फ ध्यान दिन्छन्‌। (याकूब ५:१३-२०) प्राचीनहरूले ठीक-ठीक न्याय गर्नै पर्छ र “कोमल ढङ्‌गमा बगालको हेरचाह” गर्नै पर्छ। (प्रेरित २०:२९, ३०, NW; यशैया ३२:१, २) अरू सबै मसीहीहरूले जस्तै प्राचीनहरूले पनि ‘न्याय गर्नुपर्छ, दया गर्नुपर्छ र परमेश्‍वरसित नम्र भएर हिंड्‌नुपर्छ।’ (मीका ६:८) ‘यहोवाका खर्कका भेडाहरूको’ जीवन अनि उनीहरूको पवित्र सेवासित सम्बन्धित कुनै पनि निर्णय गर्दा यस्ता गुणहरू देखाउनु नितान्त जरुरी छ।—भजन १००:३.

१९. कसैलाई सुधार्नुपऱ्‍यो भने, कस्तो मनोवृत्ति राखेर मसीही प्राचीनहरूले सुधार्छन्‌?

१९ मसीही गोठालाहरू पवित्र आत्माद्वारा नियुक्‍त भएका हुन्छन्‌ र यसैको डोऱ्‍याइ अनुरूप चल्ने कोसिस गर्छन्‌। मानौं बेहोसीको बेलामा झैं यदि कुनै “मानिसले अन्जानमा गलत कदम चालेमा” आध्यात्मिक रूपमा योग्य पुरुषहरूले “नम्रताको आत्माले . . . यस्तालाई” सुधार्ने कोसिस गर्छन्‌। (गलाती ६:१, NW; प्रेरित २०:२८) भाँचिएको हड्डी मिलाउँदा बिरामीलाई धेरै दुःख नहोस्‌ भनेर विचारशील डाक्टरले होसियार भई हड्डी मिलाउँछ। त्यसै गरी, प्राचीनहरूले पनि नम्र हुँदै तर परमेश्‍वरको स्तरमा कुनै सम्झौता नगरी गल्ती गर्नेहरूको सोचाइ सुधार्ने कोसिस गर्छन्‌। (कलस्सी ३:१२) दया देखाउने कि नदेखाउने भन्‍ने कुरा प्रार्थना गरेर अनि बाइबल प्रयोग गरेर निधो गरिने भएकोले प्राचीनहरू जे निर्णय गर्छन्‌, त्यो परमेश्‍वरको दृष्टिकोण बुझेर गरिएको निर्णय हुन्छ।—मत्ती १८:१८.

२०. कुनै भाइ वा बहिनीलाई हप्काइएको छ भनेर कस्तो अवस्थामा घोषणा गर्नुपर्ने हुन सक्छ?

२० कुनै मसीहीले गरेको पाप धेरैलाई थाह भइसकेको छ अथवा एक दिन अवश्‍य थाह हुन्छ भने, मण्डलीको नाम जोगाउन यसबारे घोषणा गर्नु उचित हुन सक्छ। मण्डलीलाई थाह दिनै पर्ने स्थिति छ भने पनि घोषणा गर्नुपर्छ। न्यायिक समितिले हप्काएको व्यक्‍ति आध्यात्मिक रूपमा निको हुँदैछ भने, चोट लागेको कारण केही समय चलहल गर्न नसक्ने व्यक्‍तिसरह तिनलाई ठान्‍न सकिन्छ। पश्‍चात्ताप गर्ने व्यक्‍तिले केही समयको लागि सभाहरूमा टिप्पणी दिनुभन्दा सुनेर बस्नु लाभदायी हुन्छ। पाप गर्ने व्यक्‍तिको कमजोरी के छ त्यसलाई हटाउन प्राचीनहरूले तिनीसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाउन पनि सक्छन्‌। यस्तो प्रबन्धले तिनलाई पहिलाजस्तै फेरि ‘विश्‍वासमा पक्का’ हुन मदत गर्नेछ। (तीतस २:२) यी सबै काम गल्ती गर्ने व्यक्‍तिलाई सजाय दिने हिसाबले होइन, तर बडो प्रेमपूर्वक गरिन्छ।

२१. कुनै-कुनै समस्या कसरी सुल्झाउन सकिन्छ?

२१ प्राचीनहरूले विभिन्‍न तरिकामा आध्यात्मिक मदत दिन सक्छन्‌। उदाहरणको लागि मानिलिनुहोस्‌, पहिला-पहिला धेरै रक्सी पिउने समस्या भएको भाइले घरमा एक्लै हुँदा मात्तिने गरी एक/दुई पटक रक्सी पियो। अथवा धेरै पहिला सुर्ती खान छोडेको भाइले कमजोरीको कारण सुटुक्क एक/दुई पटक सुर्ती खायो। आफूले गरेको गल्तीको लागि तिनले प्रार्थना गरे तापनि र परमेश्‍वरले क्षमा दिनुभयो भन्‍ने कुरामा ढुक्क भए पनि कुनै प्राचीनको मदत माग्नुपर्छ। यसो गर्दा पाप गर्ने बानी बस्दैन। यस्तो समस्या भएको भाइलाई एक वा दुई जना प्राचीनले मदत गर्न सक्छन्‌। यद्यपि, प्राचीन(हरूले) यसबारे मण्डलीको अध्यक्षलाई थाह दिनुपर्छ किनकि विचार गर्नुपर्ने अरू कुरा पनि हुन सक्छन्‌।

परमेश्‍वरले दिने अनुशासन सधैं स्वीकार्नुहोस्‌

२२, २३. परमेश्‍वरले दिने अनुशासन तपाईंले किन सधैं स्वीकार्नुपर्छ?

२२ परमेश्‍वरको आशिष्‌ पाउन हरेक मसीहीले यहोवाले दिने अनुशासनमा ध्यान दिनै पर्छ। (१ तिमोथी ५:२०) त्यसकारण, बाइबल तथा बाइबल आधारित प्रकाशनहरू अध्ययन गर्दा थाह पाएको कुरा अथवा यहोवाका साक्षीहरूले आयोजना गर्ने सभा, सम्मेलन तथा अधिवेशनहरूमा दिइने सल्लाह-सुझाव हामीलाई सच्याउने खालका छन्‌ भने, ती खुसीसाथ स्वीकार्नुहोस्‌। यहोवाको इच्छाअनुसार गर्ने सम्बन्धमा सजग रहनुहोस्‌। यसो गर्नुभयो भने, परमेश्‍वरको अनुशासनले तपाईंलाई आफ्नो आध्यात्मिक किल्ला अर्थात्‌ पाप गर्नदेखि जोगाउने किल्ला बलियो राखिराख्न मदत गर्नेछ।

२३ परमेश्‍वरले दिने अनुशासन स्वीकार्नुभयो भने, परमेश्‍वरको प्रेममा रहिरहन सक्नुहुनेछ। यो कुरा पक्का हो कि कोही-कोही मसीही मण्डलीबाट बहिष्कार भएका छन्‌ तर तपाईंले “आफ्नो हृदयलाई सुरक्षित” राख्नुभयो र “बुद्धिमान मानिसजस्तो” हिंड्‌नुभयो भने, तपाईंले यस्तो नतिजा भोग्नुपर्ने छैन। (हितोपदेश ४:२३; एफिसी ५:१५) तर तपाईं बहिष्कार हुनुभएको छ भने, पुनर्स्थापित हुन कदम चालिहाल्नुहोस्‌! हेर्नुहोस्‌, ज-जसले आफ्नो जीवन यहोवालाई समर्पण गरेका छन्‌, उनीहरू सबैले विश्‍वासी भई अनि “प्रशन्‍नचित्तले” उपासना चढाएको यहोवा चाहनुहुन्छ। (व्यवस्था २८:४७) यहोवाले दिने अनुशासन सधैं स्वीकार्नुभयो भने, तपाईं सधैंभरि यहोवाको उपासना गर्न सक्नुहुन्छ। —भजन १००:२. (w 06 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• कोही-कोही मसीही मण्डलीबाट किन बहिष्कार हुन्छन्‌?

• साँचो पश्‍चात्तापमा कुन कुरा समावेश छ?

• आफूले गरेको गम्भीर पाप किन स्वीकार्नुपर्छ?

• गल्ती गरेर पश्‍चात्ताप गर्नेहरूलाई मसीही प्राचीनहरूले कुन-कुन तरिकामा मदत गर्छन्‌?

[पृष्ठ १६-मा भएको चित्र]

बहिष्कार गर्ने सम्बन्धमा प्रेरित पावलले कोरिन्थमा भएको मण्डलीलाई किन निर्देशन दिनुपऱ्‍यो?

[पृष्ठ १९-मा भएको चित्र]

प्राचीन समयका गोठालाहरूले जस्तै मसीही प्राचीनहरूले पनि परमेश्‍वरका घाइते भेडाहरूलाई “मलमपट्टी” लगाइदिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने