प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 १२/१ पृ. १७-२०
  • छोराछोरीलाई शान्तिमा रहन सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई शान्तिमा रहन सिकाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘शान्तिका परमेश्‍वरलाई’ प्रसन्‍न पार्ने इच्छा जगाइदिनुहोस्‌
  • शान्तिमा रहने आमाबाबु हुनुहोस्‌
  • रिसाउनमा धीमा हुनुहोस्‌
  • क्षमाशील हुन प्रोत्साहन दिनुहोस्‌
  • छोराछोरीलाई शान्तिमा रहन मदत दिइरहनुहोस्‌
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “शान्ति खोज र त्यसैको पिछा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिलेर बस्नु के व्यावहारिक छ?
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 १२/१ पृ. १७-२०

छोराछोरीलाई शान्तिमा रहन सिकाउनुहोस्‌

आठ वर्षकी निकोल आफ्नो परिवार अर्को ठाउँमा बसाइँ सर्नेबारे दंग थिइन्‌ र आफ्नो मिल्ने साथी गेब्रिललाई आफूहरू सर्नेसम्बन्धी सबै कुरा बताउने गर्थिन्‌। एक दिन, गेब्रिलले जंगिदै निकोललाई तिनी सरेर गएमा आफूलाई केही फरक पर्नेछैन भनेर भनिन्‌। नराम्ररी चित्त दुःखाउँदै र रिसाउँदै निकोलले आमालाई भनिन्‌, “अबउसो म गेब्रिलको अनुहार पनि हेर्न चाहन्‍नँ!”

निकोल र ग्रेबिलबीच भएजस्तो केटाकेटीहरूमाझ उत्पन्‍न हुने समस्यालाई सुधार्न अक्सर आमाबाबुले मदत गर्नु आवश्‍यक छ। मदत दिंदा चोट लागेको हृदयलाई शान्त पार्ने मात्र होइन तर उत्पन्‍न समस्या कसरी सुल्झाउने, त्यो पनि देखाइ दिनुपर्छ। केटाकेटीले स्वभावैले “केटा-केटीको कुरो” गर्छन्‌ र तिनीहरूलाई आफ्नो बोली तथा कामबाट हुनसक्ने हानिबारे प्रायः थाह हुँदैन। (१ कोरिन्थी १३:११) तिनीहरूलाई, परिवारभित्र र अरूसित शान्तिमा रहन सघाउ पुऱ्‍याउन सक्ने गुणहरू विकास गर्न मदत चाहिन्छ।

मसीही आमाबाबु आफ्ना छोराछोरीलाई ‘शान्तिको खोजी गरेर त्यसको पछि लाग्न’ प्रशिक्षण दिनको लागि एकदमै इच्छुक हुन्छन्‌। (१ पत्रुस ३:११) शान्तिमा रहँदा आनन्द पाइन्छ र यो पाउनको लागि शंका, दिकदारी र वैरभावका भावनालाई हटाउन गरिने सम्पूर्ण प्रयास त्यसै खेर जाँदैन। तपाईं आमाबाबु हुनुहुन्छ भने, छोराछोरीलाई शान्तिमा रहन कसरी सिकाउन सक्नुहुन्छ?

‘शान्तिका परमेश्‍वरलाई’ प्रसन्‍न पार्ने इच्छा जगाइदिनुहोस्‌

यहोवा “शान्तिका परमेश्‍वर” हुनुहुन्छ जसलाई ‘शान्ति दिनुहुने’ भनी चिनाइएको छ। (फिलिप्पी ४:९; २ थिस्सलोनिकी ३:१६) तसर्थ, बुद्धिमान्‌ आमाबाबुले छोराछोरीको मनमा परमेश्‍वरलाई प्रसन्‍न पार्ने तथा उहाँका गुणहरू अनुकरण गर्ने इच्छा जगाउन परमेश्‍वरको वचन बाइबल कौशलतासाथ प्रयोग गर्छन्‌। उदाहरणको लागि, छोराछोरीलाई प्रेरित यूहन्‍नाले देखेको यहोवाको सिंहासन वरिपरि भएको अद्‌भुत हरियो पन्‍ना जस्तो इन्द्रेनीको एउटा रोमाञ्चक दर्शनको चित्र मनमा कोर्न मदत दिनुहोस्‌।a (प्रकाश ४:२, ३) त्यस इन्द्रेनीले यहोवाको वरिपरि रहने शान्ति तथा सौम्यतालाई देखाउँछ र यस्तो शान्ति तथा सौम्यता परमेश्‍वरको आज्ञा पालन गर्ने सबैमाथि छाउनेछ भनी बुझाउनुहोस्‌।

यहोवाले आफ्ना पुत्र येशू मार्फत पनि डोऱ्‍याइ दिनुहुन्छ जसलाई “शान्तिका राजकुमार” भनिएको छ। (यशैया ९:६, ७) तसर्थ, आफ्ना छोराछोरीसित ती बाइबल विवरणहरू पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌ जहाँ येशूले झै-झगडा र वादविवादबाट टाढै रहनेबारे मूल्यवान्‌ पाठ सिकाउनुभएको छ। (मत्ती २६:५१-५६; मर्कूस ९:३३-३५) पहिला “हानि गर्ने” पावलले आफ्नो मार्ग परिवर्तन गरी “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, . . . [“खराबी आइपर्दा,” NW] सहनशील” हुनुपर्दछ भनी किन लेखे, बताउनुहोस्‌। (१ तिमोथी १:१३; २ तिमोथी २:२४) यसो गर्दा छोराछोरीको प्रतिक्रिया तपाईंले सोचेभन्दा राम्रो हुन सक्छ।

इभान आफू सात वर्षको हुँदा स्कूल बसमा एउटा केटोले गिज्याएको घटना सम्झन्छन्‌। उनी भन्छन्‌, “त्यो केटादेखि यस्तो रीस उठ्यो कि मेरो त कनसिरी तातेर आयो र बदलाको भावना जागिहाल्यो! तर त्यति नै बेला, झगडा गर्न खोज्नेहरूबारे घरमा सिकेको पाठ झल्यास्स सम्झें। मैले ‘कसैलाई खराबको बदला खराब नगरेको’ र ‘सबै मानिससँग शान्तिमा रहेको’ यहोवा चाहनुहुन्छ भनेर मलाई थाह थियो।” (रोमी १२:१७, १८) त्यसपछि, रिसले पड्‌कन लागेको इभानले परिस्थितिलाई नम्रता साथ सँभाल्न शक्‍ति र साहस पाए। उनी शान्तिका परमेश्‍वरलाई प्रसन्‍न पार्न चाहन्थे।

शान्तिमा रहने आमाबाबु हुनुहोस्‌

के तपाईंको घरमा शान्तिमय वातावरण छ? छ भने, तपाईंले केही नभन्दा पनि छोराछोरीले हेरेरै शान्तिबारे धेरै कुरा सिक्न सक्छन्‌। छोराछोरीलाई शान्तिमा रहन कत्तिको प्रभावशाली ढंगमा सिकाउन सक्नुहुन्छ भन्‍ने कुरा तपाईंले कुन हदसम्म परमेश्‍वर र ख्रीष्टको शान्तिमय तरिकाहरू अनुकरण गर्नुहुन्छ, मुख्यतया त्यसमा भर पर्छ।—रोमी २:२१.

रस र सिन्डी आफ्ना दुई छोराहरूलाई, अरूले रीस उठाउँदा मायालु व्यवहार गर्न प्रोत्साहन दिंदै प्रशिक्षण दिन कडा मिहेनत गर्छन्‌। सिन्डी भन्छिन्‌, “हामीले अप्ठ्यारो परिस्थिति आइपर्दा छोराहरू र अरूप्रति कस्तो व्यवहार गर्छौं त्यसले हाम्रा छोराहरूले त्यस्तै परिस्थिति आइपर्दा कस्तो व्यवहार गर्छन्‌ भन्‍ने कुरामा ठूलो भूमिका खेल्छ।”

तपाईंबाट गल्ती हुँदा समेत—कुन चाहिं आमाबाबुले गल्ती गर्दैनन्‌ र?—मूल्यवान्‌ पाठ सिकाउने मौका पाउन सक्नुहुन्छ। स्टिभन यसरी स्वीकार्छन्‌: “कहिलेकाहीं म र मेरी पत्नी टेरीले सत्य-तथ्य राम्रोसित पत्ता नलगाई हाम्रा तीन छोराछोरीलाई अनुशासन दिइहाल्थ्यौं। हामीबाट त्यस्तो गल्ती हुँदा माफी माग्थ्यौं।” टेरी थप्छिन्‌: “हामी पनि असिद्ध हौं र गल्ती गर्छौं भनी छोराछोरीलाई बुझ्न मदत दियौं। हामीले महसुस गऱ्‍यौं कि यसो गर्दा परिवारमा शान्ति छाउन सघाउ मात्र पुगेन तर छोराछोरीलाई शान्तिको पछि लाग्न पनि मदत पुगेको छ।”

तपाईंले आफ्ना छोराछोरीलाई व्यवहार गर्ने तरिकाबाट के तिनीहरूले कसरी शान्तिमा रहने हो, त्यो सिक्दैछन्‌? येशूले यस्तो सल्लाह दिनुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) तपाईंबाट गल्तीहरू भए तापनि यो कुरामा आश्‍वस्त हुनुहोस्‌ कि तपाईंले छोराछोरीप्रति देखाएको प्रेम र स्नेहले राम्रो नतिजा ल्याउनेछ। मायालु ढंगमा निर्देशन दिंदा तपाईंका छोराछोरीले अवश्‍यै सुन्‍नेछन्‌।

रिसाउनमा धीमा हुनुहोस्‌

हितोपदेश १९:११, NW भन्छ: “मानिसको अन्तरदृष्टिले उसको रिस कम गर्छ।” छोराछोरीलाई यस्तो अन्तरदृष्टि खेती गर्न तपाईं कसरी मदत दिन सक्नुहुन्छ? आफ्ना छोरा र छोरीलाई यस्तो अन्तरदृष्टि खेती गराउन आफ्नी पत्नी मरियान र आफूले मदतकारी पाएको एउटा व्यावहारिक तरिकाबारे डेविड बताउँछन्‌। उनी भन्छन्‌, “तिनीहरूलाई चित्त दुख्ने गरी केही गर्ने वा केही भन्‍ने व्यक्‍तिदेखि रिस उठेको छ भने समानुभूति देखाउन तिनीहरूलाई मदत दिन्छौं। हामी तिनीहरूलाई यस्ता साधारण प्रश्‍नहरू सोध्छौं: ‘त्यस दिन ती व्यक्‍ति तनावमा थिए कि? तिनलाई ईर्ष्या पो लागेको हो कि? तिनलाई कसैले चित्त दुःखाएको थियो कि?’ ” मरियान थप्छिन्‌, “छोराछोरीलाई नकारात्मक सोचाइ राख्न लगाउनभन्दा वा को सही र को गलत भनी वादविवाद गर्न दिनुभन्दा यस्तो तरिका अपनाएर तिनीहरूलाई शान्त पार्न सक्छौं।”

यस्तो प्रशिक्षणले एकदमै राम्रो नतिजा ल्याउन सक्छ। यस लेखको सुरुमा बताइएकी निकोललाई याद गर्नुहोस्‌। तिनलाई तिनकी आमा मिशेलले यस्तो तरिकामा मदत गरिन्‌, जसले गर्दा साथी ग्रेबिलसितको तिनको सम्बन्ध मात्र सुध्रिएन, अरू राम्रो नतिजा पनि निक्ल्यो। मिशेल भन्छिन्‌, “निकोल र मैले लर्न फ्रम द ग्रेट टिचर (महान्‌ शिक्षकबाट सिक्ने) किताबको अध्याय १४ पढ्यौं।b त्यसपछि, येशूले ‘सात गुणा सत्तरी पल्टसम्म’ क्षमा दिनुपर्छ भन्‍नुको अर्थ बुझाइदिएँ। निकोलले मनका कुरा पोखाउँदा राम्ररी सुनें र त्यसपछि आफ्नो एकदमै मिल्ने साथी टाढा सर्न लाग्दा गेब्रिललाई कत्ति दुःख र निराश लागेको हुनुपर्छ, त्यो तिनलाई महसुस गराएँ।”—मत्ती १८:२१, २२.

के कारणले गेब्रिल जंगिएकी हुन सक्ने रहिछ भनी नयाँ अन्तरदृष्टि पाएपछि निकोलले सँगी भाव विकास गर्ने मदत पाइन्‌ र फोन गरेर गेब्रिलसँग माफी माग्न उत्प्रेरित भइन्‌। मिशेल भन्छिन्‌, “त्यस बेलादेखि निकोलले अरूको भावनाको ख्याल राखेर अनि तिनीहरूलाई असल लाग्ने कुराहरू गरेर आनन्द प्राप्त गर्न सकेकी छिन्‌।”—फिलिप्पी २:३, ४.

गल्ती हुँदा र असमझदारी उत्पन्‍न हुँदा नरिसाउन छोराछोरीलाई मदत दिनुहोस्‌। आफ्ना छोराछोरीले अरूप्रति साँचो भलाइ र कोमल स्नेह देखाएको देख्दा सायद तपाईंले सन्तुष्टि पाउनुहुनेछ।—रोमी १२:१०; १ कोरिन्थी १२:२५.

क्षमाशील हुन प्रोत्साहन दिनुहोस्‌

हितोपदेश १९:११ भन्छ: “दोषको वास्ता नगर्नु . . . गौरव हो।” येशूले एकदमै पीडादायी अवस्थामा आफ्ना पिताको अनुकरण गर्नुभयो र क्षमाशील मनोवृत्ति देखाउनुभयो। (लूका २३:३४) तपाईंले क्षमा दिनुहुँदा छोराछोरीले राहत महसुस गर्छन्‌ र क्षमाशील हुन सिक्न सक्छन्‌।

उदाहरणका लागि, पाँच वर्षे विली आफ्नी हजुरआमासित मिलेर चित्रमा रंग भर्न मन पराउँछ। एक दिन, हजुरआमाले अचानक रंग भर्न छोडिन्‌ अनि विलीलाई नराम्ररी हपारिन्‌ र उठेर गइन्‌। विली दुःखी भयो। उसका पिता सामले यसो भने: “विलीकी हजुरआमालाई सुद्धी हराउने अल्जाइमर्स रोग लागेको छ। त्यसैले हामीले विलीलाई यो कुरा उसले बुझ्ने भाषामा बुझायौं।” उसलाई धेरै चोटि क्षमा दिइएको र उसले पनि अरूलाई त्यसै गर्नुपर्छ भनी सम्झाएपछि विलीले जुन प्रतिक्रिया देखाए, त्यो देखेर साम त दंगदास परे। साम भन्छन्‌, “जब हाम्रो त्यो सानो छोरोले ८० वर्षकी आफ्नी हजुरआमाकहाँ गएर मायालाग्दो स्वरमा माफी माग्यो र हात समाएर टेबलसम्म लिएर आयो, त्यो देखेर म र मेरी पत्नीलाई कस्तो महसुस भयो होला, कल्पना गर्न सक्नुहुन्छ?”

छोराछोरीले अरूको कमजोरी तथा गल्तीहरू ‘सहिरहन’ र तिनीहरूलाई क्षमा दिन सिक्नु साँच्चै असल कुरा हो। (कलस्सी ३:१३) मानिसहरूले जानाजानी रिस उठ्‌दो ढंगमा व्यवहार गर्दा समेत शान्तिमा रहँदा अरूमा राम्रो प्रभाव पर्न सक्छ भनी छोराछोरीलाई आश्‍वस्त पार्नुहोस्‌ किनभने “जब मानिस र त्यसको चालबाट परमप्रभु प्रसन्‍न हुनुहुन्छ, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्नुहुन्छ।”—हितोपदेश १६:७.

छोराछोरीलाई शान्तिमा रहन मदत दिइरहनुहोस्‌

आमाबाबुले “शान्तिमा” रहेर र “शान्ति कायम राख्नेहरू[को]” हैसियतमा आफ्ना छोराछोरीलाई प्रशिक्षण दिन बाइबल चलाउँदा तिनीहरू साँचो मदतको स्रोत बन्छन्‌। (याकूब ३:१८, NRV) यस्ता आमाबाबुले आफ्ना सन्तानलाई झैझगडा सुल्झाउन र शान्तिमय हुन चाहिने कुराले सुसज्जित पारिरहेका हुन्छन्‌। यसले तिनीहरूलाई जीवनभरि आनन्दित र सन्तुष्ट हुन ठूलो टेवा पुऱ्‍याउँछ।

डेन र केथीको दुई किशोर छोरा र एक किशोरी छोरी छन्‌। तिनीहरूले आध्यात्मिक तवरमा राम्रो गरिरहेका छन्‌। डेन भन्छन्‌, “सानो छँदा तिनीहरूलाई प्रशिक्षण दिन गाह्रो भए तापनि अहिले तिनीहरूले परमेश्‍वरको सेवा राम्ररी गरिरहेकोमा हामी दंग छौं। तिनीहरू अरूसित राम्ररी घुलमिल हुन्छन्‌ र शान्तिलाई खल्बल्याउने कुनै कुरा उत्पन्‍न हुँदा खुलेर क्षमा दिन्छन्‌।” केथी भन्छिन्‌, “यो हाम्रो निम्ति विशेषगरि प्रोत्साहनको कुरा हो किनकि शान्ति भनेको परमेश्‍वरको आत्माको एउटा फल हो।”—गलाती ५:२२, २३.

त्यसैले, आफ्ना छोराछोरीको उन्‍नति ढिलो भएको जस्तो देखिंदा समेत तिनीहरूलाई शान्तिमा रहन प्रशिक्षण दिन तपाईं मसीही आमाबाबु ‘हरेस नखानुहोस्‌’ र ‘नथाक्नुहोस्‌।’ यसो गरेमा ‘प्रेम र शान्तिका परमेश्‍वर तपाईंसँग हुनुहुनेछ’ भनेर आश्‍वस्त हुनुहोस्‌।—गलाती ६:९; २ कोरिन्थी १३:११. (w 07 12/1)

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ७५ को चित्र हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

लाभदायी प्रभाव?

मिडिया अवेरनेस नेटवर्क-द्वारा प्रकाशित “सञ्चार मनोरञ्जनमा हिंसा” विषयक एउटा निबन्धमा यस्तो बताइएको छ: “हिंसालाई समस्या समाधानको माध्यम ठानिने धारणालाई मनोरञ्जनमा अझै जोड दिइन्छ जसमा खलनायक र नायक दुवैले बारम्बार हिंसाको सहारा लिन्छन्‌।” टिभी कार्यक्रम, चलचित्र र म्युजिक भिडियोहरू केलाएर हेर्दा जम्मा १० प्रतिशतले मात्र हिंसाको नतिजा खराब हुन्छ भनी देखाएको पाइयो। बरु, “हिंसालाई सही, प्राकृतिक र टार्नै नसकिने कुरा अर्थात्‌ समस्या सुल्झाउनको लागि सबैभन्दा सजिलो तरिकाको रूपमा प्रस्तुत गरिन्छ” भनी त्यो निबन्धमा उल्लेख गरिएको थियो।

तपाईंको घरमा टिभी हेर्ने सन्दर्भमा केही छाँटकाँट गर्नुपर्छ कि? छोराछोरीलाई शान्तिमा रहन सिकाउने तपाईंको प्रयासलाई सञ्चार माध्यममा देखाइने मनोरञ्जनले कमजोर पार्न नदिनुहोस्‌।

[पृष्ठ १७-मा भएको चित्र]

छोराछोरीको मनमा “शान्तिका परमेश्‍वर[ लाई]” प्रसन्‍न पार्ने इच्छा जगाउनुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

चित्त दुःखाउने बोली र कामलाई सुधार्न आवश्‍यक प्रयास गर्नुहोस्‌

[पृष्ठ १९-मा भएको चित्र]

तपाईंका छोराछोरीले माफी माग्न र क्षमा दिन सिक्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने