सफल व्यक्ति वास्तवमा कसलाई भन्ने?
अमेरिकाको वल स्ट्रीट सेयर बजारको सबभन्दा सफल व्यापारी को हो भनेर सोद्धा कोही-कोही भन्ने गर्थे—जेसी लिभमोर! हुन पनि तिनले गरेका व्यापारसम्बन्धी निर्णयहरू सही हुन्थे। त्यस्तो खुबीको कारण तिनले अकूत सम्पत्ति कमाए। तिनी दामी-दामी सुट लगाउँथे, २९ वटा कोठा भएको भव्य बंगलामा बस्थे र निजी चालकले गुडाउने कालो चिल्लो रोल्स् रोएस्मा सर्रर हुइँकन्थे।
डेभिडa पनि जेसी लिभमोरजस्तै सफल हुन चाहन्थे। ठूलो ग्राफिक्स कम्पनीको उपाध्यक्ष र महाप्रबन्धक भएकाले उनी कम्पनीकै एउटा विभागको अध्यक्ष हुन सक्ने सम्भावना थियो। अध्यक्षले पाउने तलब र प्रतिष्ठा अति लोभलाग्दो थियो। तर अचम्म! डेभिडले राजीनामा दिने निधो पो गरे। डेभिडले भने: “मलाई थाह छ, अबउसो महाप्रबन्धकको जागिर पाउन सक्दिनँ।” के तपाईंलाई डेभिडले गल्ती गरेजस्तो लाग्यो?
धेरै जना भन्ने गर्छन्, धन-दौलत, मानसम्मान र लोकप्रियता कमाउनु नै सफलता हो। तर, भौतिक रूपमा सम्पन्न व्यक्तिलाई समेत जीवन खोक्रो र अर्थहीन लाग्न सक्छ। जेसी लिभमोरले यस्तै महसुस गरेका थिए। तिनीसित धन थियो तर धनले तिनको मनमा गुम्सिएको दुःख, पीरमर्का हटाउन सकेन। तिनी निराश भए। श्रीमान्-श्रीमतीबीचको सम्बन्ध बिग्रियो अनि छोराहरूसित पनि बोलचाल ठप्प भयो। धेरै सम्पत्ति गुमाइसकेपछि लिभमोर एक दिन महँगो होटलको बारभित्र छिरे र गुमेको सम्पत्ति सम्झँदै झोक्राएर बसे। तिनले ककटेल बनाउन लगाए, छालाको खोल भएको नोटबूक निकालेर आफ्नी श्रीमतीलाई अन्तिम छोटो चिठी लेखे। ककटेल स्वाट्ट पारेपछि तिनी मधुरो बत्ती बलिरहेको क्लोक्रूमभित्र छिरे (ओभरकोट, छाता इत्यादि राखिने कोठा) र आफैलाई गोली हाने। कस्तो दुःखलाग्दो अन्त!
तिनले आत्महत्या गर्नुको कारण यही हो भनेर किटान गर्न नसकिए तापनि यस घटनाले बाइबलको यो भनाइ सही छ भनेर पुष्टि गर्छ: ‘धनी हुने इच्छा गर्नेको हृदय धेरै दुःखले छेंडेका हुन्छन्।’—१ तिमोथी ६:९, १०.
उसोभए, के धन-दौलत, ओहदा अथवा लोकप्रियतालाई नै सफलता ठान्नेहरूको विचार गलत हो? के तपाईं आफूलाई सफल व्यक्ति ठान्नुहुन्छ? ठान्नुहुन्छ भने किन? के कारण तपाईं यस्तो निष्कर्षमा पुग्नुभयो? तपाईं जुन कुरालाई सफलता ठान्नुहुन्छ, त्यसको आधार के हो? अर्को लेखमा हामी लाखौंलाई सफल हुन मदत गर्ने प्रभावकारी सल्लाहबारे छलफल गर्नेछौं। तपाईं पनि कसरी सफल हुन सक्नुहुन्छ, आउनुहोस् विचार गरौं। (w07 1/1)
[फुटनोट]
a नाउँ परिवर्तन गरिएको छ।