तपाईं कसरी आफ्नो सफलता नाप्नुहुन्छ?
एउटा शब्दकोश सफलता भनेको “धन, अनुग्रह वा प्रतिष्ठा प्राप्ति हो” भनी व्याख्या गर्छ। के यो परिभाषा पूरा छ? के धन, अनुग्रह वा प्रतिष्ठा मात्रै सफलता नाप्ने माध्यम हुन्? जवाफ दिनुअघि यो कुरा विचार गर्नुहोस्: येशू ख्रीष्टले आफ्नो जीवनभरि कुनै भौतिक धनसम्पत्ति आर्जन गर्नु भएन। उहाँले न त थुप्रै मानिसको अनुग्रह पाउनुभयो, न उहाँका समयको रीतिथितिका निर्माताहरूले उहाँको सम्मानै गरे। तैपनि, येशू सफल व्यक्ति हुनुहुन्थ्यो। किन?
पृथ्वीमा छँदा येशू “परमेश्वरतर्फ धनी” हुनुहुन्थ्यो। (लूका १२:२१) उहाँको पुनरुत्थानपछि परमेश्वरले उहाँलाई “महिमा र आदरको” शिरपेच पहिऱ्याउनुभएर इनाम दिनुभयो। यहोवाले आफ्नो पुत्रलाई “अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ।” (हिब्रू २:९; फिलिप्पी २:९) येशूको जीवनपद्धतिले यहोवाको हृदय प्रसन्न तुल्यायो। (हितोपदेश २७:११) उहाँको पार्थिव जीवन सफल थियो किनभने उहाँले आफ्नो उद्देश्य प्राप्त गर्नुभयो। येशूले परमेश्वरको इच्छा पूरा गर्नुभयो र उहाँको नाउँ उच्च पार्नुभयो। यस वापत्, परमेश्वरले येशूलाई कुनै प्राज्ञ, राजनीतिज्ञ वा चर्चित खेलाडीले कहिल्यै अनुभव गर्न नसक्ने धन, अनुग्रह र प्रतिष्ठा दिनुभयो। येशू साँच्चै नै यस पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा सफल व्यक्ति हुनुहुन्थ्यो।
आफ्ना छोराछोरीले ख्रीष्टको पाइला पछ्याउँदै येशूजस्तै परमेश्वरतर्फ धनी हुँदै गएमा तिनीहरूले अहिले प्रचुर मात्रामा आशिष् पाउनुका साथै नयाँ रीतिरिवाजमा अवर्णनीय इनामहरू पाउनेछन् भनेर मसीही आमाबाबुलाई थाह छ। ख्रीष्टको पाइलामा हिंड्ने सबैभन्दा उत्तम मार्ग येशूले गर्नुभएको काम अर्थात् सम्भव छ भने, पूर्ण-समय सेवकाईमा भाग लिनु हो।
तथापि, कुनै कुनै समाजमा जवान मानिसहरूले पूर्ण-समय सेवकाई नगर्ने चलन छ। जवान केटाले स्कूलको पढाइ समाप्त गरेपछि पूर्ण-समय जागिर खाने अनि विवाह गरेर घरबार बसाउने आशा गरिन्छ। कहिलेकाहीं यस्ता पृष्ठभूमिबाट आएका जवान मानिसहरू गलत अनुमान लगाएर पूर्ण-समय सेवकाईमा भर्ना हुनबाट पछि हट्छन्। (हितोपदेश ३:२७) किन? दबाउको कारण तिनीहरू प्रचलित चलनलाई नै पछ्याउँछन्। रबर्टकोa कथा पनि त्यस्तै छ।
संस्कृति र अन्तस्करणबीच टक्कर पर्दा
रबर्ट, यहोवाको साक्षीको रूपमा हुर्केका थिए। किशोरावस्थामा तिनको आचरण र संगति त्यति राम्रो भएन। तिनकी आमा चिन्तित हुन थालिन्। त्यसकारण, तिनले एक अग्रगामी अर्थात् यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकसँग आफ्नो छोरालाई मदत गर्न आग्रह गरिन्। त्यसपछिको विवरण रबर्ट आफै यसरी बताउँछन्।
“मप्रति अग्रगामी भाइले देखाउनुभएको चासोको म साँच्चै मूल्यांकन गर्छु। उहाँको असल उदाहरणको कारण ममा स्कूल सिद्धिने बित्तिकै अग्रगामी कामलाई नै पेसाको रूपमा लिने चाहना जाग्यो। तर मुमा फेरि चिन्तित हुन थाल्नुभयो। तर यसपटक कारण अर्कै थियो। हाम्रो समाजमा केटीहरूले स्कूल सकेपछि अग्रगामीको काम गर्नु ठीकै मानिन्छ तर केटाहरूले चाहिं आफ्नो खुट्टामा उभिनसक्ने भएपछि मात्र अग्रगामीको काम गर्नेबारे विचार गर्छन्।
“मैले एउटा काम सिकें र आफ्नै व्यापार सुरु गरें। चाँडै म व्यापारमा एकदमै व्यस्त भएँ र सभा तथा प्रचारकार्यचाहिं झारा टार्नको लागि मात्र जान्थें। मेरो अन्तस्करणले मलाई घोच्यो किनभने म यहोवाको सेवामा अझ बढी गर्नसक्छु भनेर मलाई थाह थियो। तैपनि, अरू मानिसले मबाट गरेको आशाबाट स्वतन्त्र हुन साँच्चै संघर्ष गर्नुपऱ्यो तर त्यसो गरेकोमा म खुसी छु। मेरो अहिले विवाह भइसक्यो। मेरी श्रीमती र मैले गत दुई वर्षदेखि अग्रगामी गर्दै आएका छौं। हालै म मण्डलीमा सेवकाई सेवकको रूपमा नियुक्त भएँ। अहिले आफ्नो पूर्ण क्षमता सहित यहोवाको सेवा गरिरहन पाएकोमा म सन्तुष्ट छु भनेर इमानदारीसाथ भन्नसक्छु।”
यस पत्रिकाले बारम्बार जवानहरूलाई सम्भव छ भने स्कूलमै हुँदा कुनै सीप वा मदतकारी योग्यता हासिल गर्न प्रोत्साहन दिएको छ। केको लागि? धनी हुन? होइन। मुख्यतः वयस्क भएपछि तिनीहरू आत्मनिर्भर हुन सकून् र विशेष गरी पूर्ण-समय सेवकको हैसियतमा यहोवाको सेवामा अझ बढी गर्नसकून् भन्नाका लागि। तर अक्सर, युवकयुवतीहरू सांसारिक पेसा अंगाल्न यति तल्लीन हुन्छन् कि तिनीहरूको निम्ति सेवकाईको महत्त्व नै कम हुँदै जान्छ। कसै कसैले त पूर्ण-समय सेवा गर्नेबारे विचारसमेत गर्दैनन्। किन?
यस विषयमा रबर्टको टिप्पणीबाट हामी केही जानकारी पाउनसक्छौं। तिनले सीप सिकिसकेपछि आफ्नै व्यापार सुरु गरे। चाँडै तिनी कतै नपुऱ्याउने लाक्षणिक ट्रेडमिलमा फसे। तिनको उद्देश्य आर्थिक तवरमा सुरक्षित हुनु थियो। तर के मसीही मण्डलीभित्र र बाहिरका कसैले त्यो उद्देश्य पूर्णतया प्राप्त गर्न सकेका छन् र? मसीहीहरू आर्थिक तवरमा जिम्मेवार, आफ्ना आर्थिक दायित्वहरू राम्ररी वहन गर्नसक्ने हुनुपर्छ तर यस अनिश्चित समयमा कमै मानिसहरू मात्र आर्थिक तवरमा सुरक्षित स्थानमा पुग्नसक्छन् भनेर बुझ्नुपर्छ। त्यसैकारण त मत्ती ६:३३ मा लिपिबद्ध येशूको प्रतिज्ञा मसीहीहरूको निम्ति एकदमै सान्त्वनादायी छ।
समाजले भनेअनुसार नगरी आफ्नो हृदयको कुरा सुनेर निर्णय गरेकोमा रबर्ट खुसी छन्। आज तिनी पूर्ण-समय सेवकाईको आनन्द उठाइरहेका छन्। हो, पूर्ण-समय सेवकाई आदरणीय पेसा हो। रबर्ट अहिले आनन्दित छन् किनभने तिनले यहोवाको सेवा गरिरहेका छन् र त्यो पनि तिनले भनेझैं ‘पूर्ण क्षमताले।’
आफ्नो सीपको पूर्ण सदुपयोग गर्नुहोस्
यहोवाका साक्षीहरूमाझ विशेष योग्यता भएका मानिसहरू थुप्रै छन्। कसै कसैको उल्लेखनीय बौद्धिक योग्यता छन् भने कोही कोही शारीरिक काममा निपुण छन्। यी सबै वरदान यहोवाकै हो। उहाँले नै “सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रेरित १७:२५) जीवनविना यी सब वरदान बेकार छन्।
अतः हामीले आफ्नो समर्पित जीवन यहोवाको सेवामा सदुपयोग गर्नु उचित हो। एक निपुण युवकले त्यसै गर्ने निर्णय गरे। तिनी सा.यु. प्रथम शताब्दीका हुन्। तिनी एक कुलीन परिवारका थिए र तिनले आफ्नो युवावस्था सिलिसियाको प्रख्यात शहर टार्ससमा बिताए। जन्मले यहूदी भए तापनि तिनले आफ्नो बुबाको कारण रोमी नागरिकता प्राप्त गरे। त्यसको कारण तिनले थुप्रै अधिकार तथा सुविधाहरू प्राप्त गरे। ठूलो भएपछि तिनले त्यतिबेलाका सबैभन्दा राम्रो “प्राध्यापक” गमलीयलसित व्यवस्था अध्ययन गरे। यसो हेर्दा तिनले चाँडै नै ‘धन, अनुग्रह र प्रतिष्ठा’ कमाउने थिए।—प्रेरित २१:३९; २२:३, २७, २८.
यस जवान मानिस को थिए? तिनको नाउँ शावल थियो। तर शावल मसीही र अन्ततः प्रेरित पावल भए। तिनले आफ्ना आकांक्षाहरू त्यागे र आफ्नो सम्पूर्ण जीवन मसीहीको हैसियतमा यहोवाको सेवामा समर्पित गरे। पावल नामुद वकिलको रूपमा चिनिएनन् तर सुसमाचारका जोसिला प्रचारकको रूपमा चिनिए। मिसनरीको हैसियतमा झन्डै ३० वर्ष बिताइसकेपछि पावलले फिलिप्पीका मित्रहरूलाई पत्र लेखे। त्यस पत्रमा तिनले आफू मसीही हुनुभन्दाअघिका केही उपलब्धिहरूको पुनरावृत्ति गर्दै यसो भने: “[येशू ख्रीष्ट] जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्दी सम्झन्छु।” (फिलिप्पी ३:८) पावलले आफूले अपनाएको जीवनपद्धतिबारे पछुतो गरेनन्!
पावलले गमलीयलबाट प्राप्त गरेको प्रशिक्षण नि? के त्यो तिनलाई कुनै समय काम लाग्यो? अवश्य! थुप्रै अवसरमा यसले तिनलाई कानुनी तवरमा “सुसमाचारको रक्षा” गर्न मदत गऱ्यो। तर पावलको मुख्य काम सुसमाचार प्रचारक हुनुथियो। यो काम तिनको पहिलेको शिक्षाले कहिल्यै सिकाउन सक्दैनथ्यो।—फिलिप्पी १:७; प्रेरित २६:२४, २५.
त्यस्तै गरी आज कसै कसैले आफ्नो वरदान, सीप र शिक्षासमेत राज्य गतिविधि अघि बढाउन प्रयोग गरेका छन्। उदाहरणका लागि, एमीले वाणिज्य र कानुन विषयमा विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन्। कुनै समय तिनले ल फर्ममा एकदमै राम्रो जागिर पाएकी थिइन् तर आज तिनी यहोवाका साक्षीहरूको शाखा कार्यालयमा स्वयम्सेवकको रूपमा सेवा गर्दैछिन्। एमी आफ्नो जीवनबारे यसरी व्याख्या गर्छिन्: “मैले जिन्दगीमा सर्वोत्तम छनौट गरेजस्तो लाग्छ। . . . मेरा विश्वविद्यालयका कुनै पनि साथीसँग म आफ्नो स्थान साट्न चाहन्न। म आफ्नो छनौटमाथि गर्व गर्छु। आफूलाई आवश्यक र चाहेको कुरा सबै मसित छ अर्थात् सन्तुष्टि, आनन्दमय जीवन र सन्तोषप्रद काम।”
एमीले आफूलाई मनोशान्ति र सन्तुष्टि दिनुका साथै यहोवाको आशिष् पाउने मार्ग रोजिन्। निश्चय पनि मसीही आमाबाबुहरू आफ्ना छोराछोरीको निम्ति त्यस्तै कुराहरू चाहन्छन्!
मसीही सेवकाईमा सफलता
निस्सन्देह, मसीही सेवकाईमा पाउने सफलताबारे पनि उचित धारणा राख्नु अत्यन्तै महत्त्वपूर्ण छ। बाइबल प्रकाशनहरू वितरण गर्दै वा घरधनीसित उत्साहवर्धक बाइबल छलफलहरूमा भाग लिंदै क्षेत्र सेवकाईमा रमाइलो समय बिताउँदा सफल महसुस गर्न सजिलो छ। तर हामीले सुन्ने मान्छे आकलझुकल मात्र भेट्दा आफ्नो समय खेर फालिरहेको जस्तो पनि लाग्नसक्छ। तर नबिर्सनुहोस्, सफलताको व्याख्यामध्ये एउटा ‘अनुग्रह प्राप्ति’ हो। हामी कसको अनुग्रह पाउन चाहन्छौं? निस्सन्देह, यहोवाको। मानिसहरूले हाम्रो कुरा सुने पनि नसुने पनि हामीले यो गुमाउँदैनौं। यस सन्दर्भमा येशूले आफ्ना चेलाहरूलाई जोडदार पाठ सिकाउनुभयो।
तपाईंलाई सम्झना होला, येशूले ७० जना राज्य प्रचारकहरूलाई “आफू जान लाग्नुभएको हरेक शहर र गाउँमा आफूभन्दा अगाड़ि पठाउनुभयो।” (लूका १०:१) तिनीहरूले येशूविना शहर, शहर, गाउँ, गाउँमा प्रचार गर्नुपर्ने थियो। यो तिनीहरूको निम्ति नयाँ अनुभव थियो। तसर्थ, येशूले तिनीहरूलाई पठाउनुअघि विस्तृत निर्देशन दिनुभयो। तिनीहरूले “शान्तिको सन्तान” भेट्दा परमेश्वरको राज्यसम्बन्धी विस्तृत साक्षी दिनुपर्ने थियो। तथापि, तिनीहरूको कुरा सुन्न इन्कार गर्ने मानिसहरू भेटेमा, तिनीहरूको वास्ता नगरी आफ्नै बाटो लाग्नुपर्ने थियो। तिनीहरूको कुरा सुन्न इन्कार गर्नेहरूले यहोवालाई नै इन्कार गर्नु बराबर हो भनेर येशूले बताउनुभयो।—लूका १०:४-७, १६.
सत्तरी जना चेलाहरूले आफ्नो प्रचारकार्य समाप्त गरेपछि येशूकहाँ “आनन्दसाथ फर्केर यसो भने, ‘हे प्रभु, तपाइँको नाउँले भूतहरू पनि हाम्रा वशमा आए।’ ” (लूका १०:१७) यी असिद्ध मानिसहरू शक्तिशाली आत्मिक प्राणीहरूलाई समेत भगाउनुसक्दा ज्यादै खुसी भए होलान्! तथापि, येशूले आफ्ना उत्साहित चेलाहरूलाई यसरी होसियार गराउनुभयो: “आत्माहरू तिमीहरूका वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेरनै रमाओ।” (लूका १०:२०) ती ७० जना चेलाहरूसँग सधैं भूतहरू भगाउने शक्ति नहोला साथै सेवकाईमा सकारात्मक नतिजा पनि नपाइएला। तर विश्वासी भएको खण्डमा तिनीहरूले सधैं यहोवाको अनुग्रह प्राप्त गर्नेथिए।
के तपाईं पूर्ण-समय सेवकहरूको मूल्यांकन गर्नुहुन्छ?
एक युवकले मसीही प्राचीनलाई यसो भने: “स्कूल सिद्धिएपछि म जागिर खाने कोसिस गर्छु। राम्रो जागिर पाइनँ भने पूर्ण-समय सेवक हुने विचार गर्छु।” तथापि, थुप्रैले यस्तै कारणले गर्दा अग्रगामी सेवकाई छानेका होइनन्। कोही कोहीले अग्रगामी गर्नकै लागि राम्रा राम्रा जागिर पाउने सुअवसरहरू त्यागेका छन्। अरूले अझ उच्च शिक्षा हासिल गर्ने प्रस्तावहरू अस्वीकार गरेका छन्। प्रेरित पावलले जस्तै तिनीहरूले पनि त्यागहरू गरेका छन् तर तिनीहरू पावल, रबर्ट र एमीजस्तै आफ्नो छनौटको सम्बन्धमा पछुतो गर्दैनन्। तिनीहरू आ-आफ्नो वरदान यहोवाको प्रशंसा गर्ने काममा गर्व गर्छन्। किनकि यहोवा हाम्रो सर्वोत्तम सेवाको योग्य हुनुहुन्छ।
यहोवाका थुप्रै विश्वासी साक्षीहरू विभिन्न कारणहरूले गर्दा अग्रगामी गर्ने अवस्थामा छैनन्। सायद, तिनीहरूको धर्मशास्त्रीय दायित्वहरू छन् होला। तैपनि, तिनीहरूले परमेश्वरलाई ‘आफ्ना सारा हृदय, प्राण र समझले’ सेवा गरुञ्जेल यहोवा तिनीहरूसित खुसी हुनुहुन्छ। (मत्ती २२:३७) आफू अग्रगामीको काम गर्न असमर्थ भए तापनि अग्रगामीको काम गरिरहेकाहरूले राम्रो पेसा अंगालिरहेका छन् भनेर तिनीहरू पक्का छन्।
प्रेरित पावलले यस्तो लेखे: “यस संसारसित एकै चालका नहोओ।” (रोमी १२:२) पावलको सल्लाहअनुरूप हामीले आफ्नो सोचाइ, समाज वा सांसारिक स्तरहरूअनुरूप हुन दिनु हुँदैन। तपाईंले अग्रगामीको काम गर्न सके वा नसके तापनि यहोवाको सेवालाई नै आफ्नो केन्द्रबिन्दु बनाउनुहोस्। तपाईंसँग यहोवाको अनुग्रह भएसम्म तपाईं सफल हुनुहुनेछ।
[फुटनोट]
a केही नाउँ परिवर्तन गरिएका छन्।
[पृष्ठ १९-मा भएको चित्र]
कतै नपुऱ्याउने लाक्षणिक ट्रेडमिलमा नफस्नुहोस्