प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ३/१ पृ. २३-२७
  • “धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गहुँ र सामाको दृष्टान्त
  • “फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्‌न देओ”
  • लामो समयदेखि पर्खिएको फसलको समय
  • तिनीहरू “सूर्यजस्ता चम्किला हुनेछन्‌”
  • गहुँ र सामाको दृष्टान्त
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • एउटै साँचो मसीही धर्म एउटा वास्तविकता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • राज्यसम्बन्धी उदाहरणहरू
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ३/१ पृ. २३-२७

“धर्मीहरू . . . सूर्यजस्ता चम्किला हुनेछन्‌”

“तब धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्‌।”—मत्ती १३:४३.

१. परमेश्‍वरको राज्यका विभिन्‍न पक्ष व्याख्या गर्न येशूले के-कस्ता दृष्टान्त प्रयोग गर्नुभयो?

परमेश्‍वरको राज्यको विभिन्‍न पक्ष व्याख्या गर्न येशू ख्रीष्टले थुप्रै दृष्टान्त वा उदाहरण प्रयोग गर्नुभयो। उहाँले “सबै कुरा उखानहरूमा भीडहरूलाई भन्‍नुभयो। औ विनाउखान उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन।” (मत्ती १३:३४) राज्यसत्यको बीउ छर्ने दृष्टान्तहरूमा, राज्यसन्देश स्वीकार्ने सम्बन्धमा व्यक्‍तिविशेषको हृदयको अवस्थाले खेल्ने भूमिकाको साथै आध्यात्मिक वृद्धिमा यहोवाले खेल्ने भूमिकाबारे येशूले जोड दिनुभयो। (मर्कू. ४:३-९, २६-२९) सुरुमा वृद्धि सधैं प्रत्यक्ष नदेखिने भए तापनि परमेश्‍वरको राज्यको सन्देश स्वीकार्ने मानिसहरूमा हुने वृद्धि उल्लेखनीय हुन्छ भनेर पनि येशूले दृष्टान्त दिनुभयो। (मत्ती १३:३१-३३) यसका साथै परमेश्‍वरको राज्यको सन्देश स्वीकार्ने जति सबै त्यस राज्यको प्रजा हुन योग्यका हुन्छन्‌ नै भन्‍ने छैन भनेर पनि येशूले प्रस्ट पार्नुभयो।—मत्ती १३:४७-५०.a

२. येशूले भनेको गहुँ र सामाको दृष्टान्तको असल बीउले केलाई बुझाउँछ?

२ तर येशूका दृष्टान्तहरूमध्ये एउटा दृष्टान्त येशूसँगै उहाँको राज्यमा शासन गर्नेहरूलाई जम्मा गर्ने कुरामा केन्द्रित छ। यो दृष्टान्तलाई अक्सर गहुँ र सामाको उखान भनिन्छ र यो मत्ती अध्याय १३ मा रेकर्ड गरिएको छ। अर्को एउटा दृष्टान्तमा येशूले छरिएको बीउ “राज्यको वचन” हो भन्‍नुभयो। तर यो दृष्टान्तको असल बीउले चाहिं अर्कै कुराको प्रतिनिधित्व गर्छ अर्थात्‌ “राज्यका सन्तान”-लाई बुझाउँछ भन्‍नुभयो। (मत्ती १३:१९, ३८) तिनीहरू राज्यका प्रजा होइनन्‌; राज्यका “सन्तान” वा हकवाला हुन्‌।—रोमी ८:१४-१७; गलाती ४:६, ७ पढ्‌नुहोस्‌।

गहुँ र सामाको दृष्टान्त

३. दृष्टान्तको मानिसले भोगेको समस्या बताउनुहोस्‌ र तिनी त्यो समस्या कसरी समाधान गर्ने निर्णय गर्छन्‌?

३ त्यो दृष्टान्त यस्तो छ: “स्वर्गको राज्य एउटा मानिसजस्तो हो। जसले आफ्नो खेतमा असल बीउ छऱ्‍यो। तर मानिसहरू सुतेका बेलामा उसको शत्रु आयो, र गहुँका बीच-बीचमा सामा छरेर गयो। तर जब बोट निस्केर फल फल्यो, त्यसबेला सामा पनि देखा पऱ्‍यो। औ घरका मालिकका चाकरहरूले आई उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बीउ छर्नुभएको होइन? त त्यहाँ सामा कहाँबाट आयो?’ अनि उसले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ औ चाकरहरूले उसलाई भने, ‘त के हामी गएर ती बटुलौं भन्‍ने तपाईंको इच्छा छ?’ तर उसले भन्यो, ‘अहँ, नत्रता तिमीहरूले सामा बटुल्दा गहुँसमेत उखेल्छौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्‌न देओ। र फसलको बेलामा म खेतालाहरूलाई भन्‍नेछु, पहिले सामा बटुलेर जलाउनलाई बिटाबिटा बाँध, तर गहुँचाहिं मेरो धनसारमा हाल।’”—मत्ती १३:२४-३०.

४. (क) दृष्टान्तको मानिस को हो? (ख) येशूले कहिलेदेखि र कसरी त्यो बीउ छर्न सुरु गर्नुभयो?

४ आफ्नो खेतमा असल बीउ छर्ने त्यो मानिस को हो? चेलाहरूलाई त्यस दृष्टान्तको अर्थ व्याख्या गर्दा येशूले त्यसको जवाफ दिनुभयो: “असल बीउ छर्ने मानिसको पुत्र हो।” (मत्ती १३:३७) येशू अर्थात्‌ “मानिसको पुत्र”-ले पृथ्वीमा साढेतीन वर्षको सेवकाईको दौडान बीउ छर्नको लागि खेत तयार पार्नुभयो। (मत्ती ८:२०; २५:३१; २६:६४) त्यसपछि इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यता उहाँले असल बीउ छर्न अर्थात्‌ “राज्यका सन्तान” बटुल्न सुरु गर्नुभयो। यो छर्ने काम यहोवाको प्रतिनिधिको रूपमा येशूले चेलाहरूमाथि पवित्र आत्मा खन्याएर तिनीहरूलाई परमेश्‍वरको सन्तानको रूपमा अभिषेक गरेपछि सुरु भएको प्रस्ट भयो।b (प्रेरि. २:३३) त्यो असल बीउ बढेर पाकेपछि गहुँ रहेछ भनेर चिनियो। त्यसैले त्यो असल बीउ छर्नुको उद्देश्‍य येशूसँगै उहाँको राज्यमा हकवाला र शासक हुनेहरूको पूर्ण संख्या जम्मा गर्नु थियो।

५. दृष्टान्तको शत्रु को हो र सामाले कसको चित्रण गर्छ?

५ शत्रु को हो र सामा को हुन्‌? शत्रु “शैतान हो” भनेर येशू हामीलाई बताउनुहुन्छ। अनि सामा “दुष्टका सन्तान हुन्‌” भनी बताइएको छ। (मत्ती १३:२५, ३८, ३९) येशूले उल्लेख गरेको सामा वास्तवमा एक किसिमको विषालु झार हो र बढेर पाक्ने बेला नभएसम्म यो गहुँजस्तै देखिन्छ। राज्यका सन्तान भनेर दाबी गर्ने तर साँचो फल नफलाउने नक्कली ख्रीष्टियानहरूको कस्तो दुरुस्त चित्रण! ख्रीष्टका अनुयायी भनेर दाबी गर्ने यी कपटी ख्रीष्टियानहरू वास्तवमा शैतानको “सन्तानको” भाग हुन्‌।—उत्प. ३:१५.

६. कहिलेदेखि सामा देखा पर्न थाल्यो अनि त्यतिखेर मानिसहरू कुन अर्थमा ‘सुतिरहेका’ थिए?

६ यी सामाजस्तै ख्रीष्टियानहरू कहिले देखा परे? येशू बताउनुहुन्छ: “मानिसहरू सुतेका बेलामा।” (मत्ती १३:२५) अनि यो कहिले भयो? प्रेरित पावलले एफिसीका प्राचीनहरूलाई भनेको कुरामा हामी यसको जवाफ पाउँछौं: “किनभने मलाई थाहा छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै-कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानलाई खडा हुनुहुनेछ।” (प्रेरि. २०:२९, ३०) तिनले ती प्राचीनहरूलाई आध्यात्मिक तवरमा जागा रहिरहनू भनेर सल्लाह दिए। धर्मत्यागलाई “रोकिराख्ने” प्रेरितहरू मृत्युको निद्रामा पर्न थालेपछि थुप्रै ख्रीष्टियान आध्यात्मिक तवरमा सुते। (२ थिस्सलोनिकी २:३,c ६-८ पढ्‌नुहोस्‌) ठूलो धर्मत्याग सुरु भएको त्यतिबेला नै हो।

७. के केही गहूँ सामामा परिणत भएका थिए? व्याख्या गर्नुहोस्‌।

७ येशूले गहूँ सामा हुनेछ भन्‍नुभएन तर सामा गहूँबीच छरिनेछ भन्‍नुभयो। त्यसकारण यो दृष्टान्तले त्यस्ता साँचो ख्रीष्टियानलाई चित्रण गर्दैन जो सत्यबाट पतित हुन्छन्‌। बरु शैतानले दुष्ट मानिसहरू छिराएर ख्रीष्टियान मण्डलीलाई भ्रष्ट पार्न जानाजानी गरेको प्रयासलाई औंल्याउँछ। अन्तिम प्रेरित अर्थात्‌ यूहन्‍ना वृद्ध हुँदासम्ममा त धर्मत्याग प्रस्टै देखिसकिएको थियो।—२ पत्रु. २:१-३; १ यूह. २:१८.

“फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्‌न देओ”

८, ९. (क) मालिकले आफ्ना चाकरहरूलाई दिएको आदेश येशूका चेलाहरूले बुझेको हुनुपर्छ, किन? (ख) दृष्टान्तको पूर्ति अनुरूप गहूँ र सामा सँगसँगै कसरी बढे?

८ मालिकका चाकरहरूले तिनलाई समस्याबारे अवगत गराउँछन्‌ र सोध्छन्‌: “के हामी गएर [सामा] बटुलौं भन्‍ने तपाईंको इच्छा छ?” (मत्ती १३:२७, २८) तिनको जवाफ अचम्मलाग्दो छ। तिनी उनीहरूलाई फसलको समयसम्म गहूँ र सामा दुवैलाई सँगैसँगै बढ्‌न दिनू भन्छन्‌। येशूका चेलाहरूले यो आदेश बुझेको हुनुपर्छ। गहूँ र त्यो विषालु झारबीचको भिन्‍नता छुट्याउन कत्ति गाह्रो हुन्छ, उनीहरूले बुझ्ने थिए। यो झारको जरा अक्सर गहूँको जरासित बेरिने कुरा कृषिसम्बन्धी अलिअलि ज्ञान हुनेहरूलाई पनि थाह हुन्छ।d त्यसैले पो मालिकले चाकरहरूलाई पर्खन भनेका रहेछन्‌!

९ त्यसैगरि शताब्दीयौंदेखि चर्चका विभिन्‍न समूहले प्रशस्तै झार उमारेका छन्‌। सुरुमा रोमन क्याथोलिक र अर्थोडक्स चर्चहरूले उमारे भने पछि गएर थुप्रै प्रोटस्टेन्ट समूहले पनि उमारे। त्यसबेलातिर नै संसारभर सक्कली गहूँका केही बीउ छरिएका थिए। दृष्टान्तका मालिकले फसल कटनी गर्ने छोटो समय नआउन्जेल बीउ बढ्‌ने लामो समयभरि धैर्य गर्दै पर्खे।

लामो समयदेखि पर्खिएको फसलको समय

१०, ११. (क) फसल कटनी गर्ने समय कहिले हो? (ख) यो लाक्षणिक गहूँ कसरी यहोवाको धनसारमा हालियो?

१० येशू हामीलाई यसो भन्‍नुहुन्छ: “फसलको समयचाहिं जगत्‌को अन्त हो। औ खेतालाहरू स्वर्गदूतहरू हुन्‌।” (मत्ती १३:३९) यस दुष्ट युगको आखिरी समयको दौडान छुट्याउने काम भइरहेको छ। अनि त्यो काम राज्यका सन्तानलाई जम्मा गर्नु र तिनीहरूलाई सामाहरूजस्ताबाट छुट्याउनु हो। यस सम्बन्धमा प्रेरित पत्रुस हामीलाई यसो भन्छन्‌: “परमेश्‍वरकै परिवारबाट शुरु भएर इन्साफ हुने बेला आएको छ, र यदि पहिले हामीबाट शुरु हुन्छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्त कस्तो होला?”—१ पत्रु. ४:१७.

११ आखिरी दिन अथवा “जगत्‌को अन्त” सुरु भएको केही समयपछि नै साँचो ख्रीष्टियान भनेर दाबी गर्नेहरूबाटै इन्साफ सुरु भयो, अर्थात्‌ तिनीहरू वास्तवमा “राज्यका सन्तान” हुन्‌ कि “दुष्टका सन्तान” हुन्‌, त्यो छुट्याउन थालियो। फसलको समयको सुरुमा “पहिले” महान्‌ बेबिलोनको पतन भयो अनि त्यसपछि राज्यका सन्तान एकसाथ जम्मा पारियो। (मत्ती १३:३०) तर त्यसबेलादेखि यता यो लाक्षणिक गहूँ कसरी यहोवाको धनसारमा हालियो? यी कटनी गरिएकाहरू या त यहोवाको अनुमोदन अनि सुरक्षा पाउने पुनःस्थापित ख्रीष्टियान मण्डलीमा ल्याइए वा तिनीहरूले स्वर्गमा आ-आफ्नो इनाम पाए।

१२. फसल कटनी गर्ने समय कहिलेसम्म चल्छ?

१२ इन्साफको यो समय कहिलेसम्म चल्छ? येशूले फसलको “समय”-बारे उल्लेख गर्नुभयो जुन सामान्यतया केही समयसम्म चल्छ। (प्रका. १४:१५, १६) अभिषिक्‍त जनको प्रत्येक सदस्यको इन्साफ अन्तसम्मै चलिरहन्छ। तिनीहरूमा आखिरी छाप लगाउने बेलासम्म यो इन्साफ गर्ने काम चल्नेछ।—प्रका. ७:१-४.

१३. कुन तरिकामा सामाले बाधा दिन्छ र तिनीहरू कसरी अधर्म गर्छन्‌?

१३ राज्यबाट बटुलिनेहरू को हुन्‌ र तिनीहरू कसरी बाधा पुऱ्‍याउने र अधर्म गर्नेहरू हुन्छन्‌? (मत्ती १३:४१) सामाजस्ता चर्चका पादरीहरूले शताब्दीयौंदेखि लाखौंलाई भ्रममा पारिरहेका छन्‌। नरकमा सधैंभरि दण्ड पाउने अनि त्रिएकको गोलमाल पार्ने र रहस्यमयी शिक्षाजस्ता परमेश्‍वरको अनादर गर्ने शिक्षाहरू अर्थात्‌ “बाधा पार्ने” शिक्षा सिकाएर तिनीहरूले त्यसो गरिरहेका छन्‌। यस संसारसित अनैतिक सम्बन्ध गाँसेर अनि कहिलेकाहीं त अत्यन्तै लज्जास्पद अनैतिक आचरण देखाएर थुप्रै धार्मिक नेताले आफ्नो बगालको लागि नराम्रो उदाहरण बसालेका छन्‌। (याकू. ४:४) यसका साथै चर्चहरू आफ्ना सदस्यहरूको अनैतिक आचरणप्रति पनि झन्झनै उदार हुन थालेका छन्‌। (यहूदा ४ पढ्‌नुहोस्‌e) यी सबैको अलावा तिनीहरू अझै पनि प्रभुभक्‍त अनि धर्मात्मा भएको आडम्बर गर्छन्‌। यस्ता सामाजस्ता प्रभाव अनि बाधा पुऱ्‍याउने भ्रष्ट शिक्षाबाट अलग हुन पाएकोमा राज्यका सन्तान कत्ति आनन्दित छन्‌!

१४. सामाजस्ताहरू किन रुवाबासी गर्छन्‌ र दाह्रा किट्‌छन्‌?

१४ सामाजस्ताहरू किन रुवाबासी गर्छन्‌ र दाह्रा किट्‌छन्‌? (मत्ती १३:४२) “राज्यका सन्तान”-ले यी सामाजस्ताहरूको विषालु आध्यात्मिक अवस्था उदाङ्‌ग पारिदिएकोले “दुष्टका सन्तान” अत्यन्तै छट्‌पटिएका छन्‌। चर्चका सदस्यहरूले दिंदै गरेको समर्थन घट्‌दै गएकोमा र जनमानसमाथिको प्रभुत्व गुमेकोमा पनि तिनीहरू बिलौना गर्छन्‌।—यशैया ६५:१३, १४ पढ्‌नुहोस्‌।

१५. कुन अर्थमा सामाजस्ताहरू आगोमा भस्म गरिन्छन्‌?

१५ कुन अर्थमा सामा बटुलिन्छन्‌ र आगोमा भस्म गरिन्छन्‌? (मत्ती १३:४०) यसले सामाले भोग्ने अन्तिम परिणामलाई बुझाउँछ। आगोको धुनीमा लाक्षणिक अर्थमा फालिनुले तिनीहरू पूर्ण नाशतर्फ लम्किरहेका छन्‌ भन्‍ने संकेत गर्छ। (प्रका. २०:१४; २१:८) सामाजस्ता यी नक्कली ख्रीष्टियानहरू, यी पाखण्डीहरू “महासङ्‌कष्ट”-मा पूर्णतया नामेट हुनेछन्‌।—मत्ती २४:२१.

तिनीहरू “सूर्यजस्ता चम्किला हुनेछन्‌”

१६, १७. परमेश्‍वरको मन्दिरको सम्बन्धमा मलाकीले के भविष्यवाणी गरे अनि यो भविष्यवाणी कसरी पूरा हुन थाल्यो?

१६ गहूँजस्ताहरू कति बेला “सूर्यजस्ता चम्किला हुनेछन्‌”? (मत्ती १३:४३) परमेश्‍वरको मन्दिर शुद्ध पार्नेबारे मलाकीले यस्तो अगमवाणी गरेका थिए: ‘“एक्कासि ती सत्य परमेश्‍वर, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्‌, र करारका ती समाचारवाहक आउनेछन्‌, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्‍तिमान्‌ परमप्रभु भन्‍नुहुन्छ। “तर उहाँको आउने दिनमा को उभिन सक्छ र? उहाँ देखा पर्नुहुँदा को खडा हुनसक्छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबुनजस्तै हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्ने जस्तो गरी बस्नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैं शुद्ध पार्नुहुनेछ, जसले धार्मिकतामा भेटी ल्याउनेछन्‌।”’—मला. ३:१-३, NRV.

१७ वर्तमान समयमा यो भविष्यवाणी सन्‌ १९१८ देखि पूरा हुन थालेको स्पष्ट छ। त्यतिखेर यहोवा ‘करारका समाचारवाहक’ येशू ख्रीष्टसित आध्यात्मिक मन्दिरको निरीक्षण गर्न आउनुभयो। यो सफाइ पूरा भएपछि के भयो मलाकी हामीलाई भन्छन्‌: “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउन सक्नेछौ।” (मला. ३:१८) बल पाएर फेरि जोसिला भएका यी साँचो ख्रीष्टियानहरू आफ्नो काममा जोडतोडले लाग्नुले फसल कटनी गर्ने समय सुरु भएको कुरालाई औल्याउँछ।

१८. हाम्रो समयमा के हुनेछ भनेर दानियलले भविष्यवाणी गरे?

१८ दानियल अगमवक्‍ताले यस्तो भविष्यवाणी गर्दा हाम्रो समयबारे बताए: “ज्ञानी अगुवाहरू [“अन्तरदृष्टि भएकाहरू,” NW] उज्ज्वल आकाशझैं चम्कनेछन्‌, औ मानिसहरूलाई सत्य मार्गमा सदासर्वदाको निम्ति डोऱ्‍याउनेहरूचाहिं ताराहरूझैं हुनेछन्‌।” (दानि. १२:३) यी अत्यन्तै उज्ज्वल भएर चम्कनेहरू को हुन्‌? यिनीहरू अरू कोही होइनन्‌, येशूले गहूँ र सामाको दृष्टान्तमा संकेत गरेको सक्कली गहूँ अर्थात्‌ अभिषिक्‍त जनहरू नै हुन्‌! सामाजस्ता नक्कली ख्रीष्टियान ‘बटुलिएको’ कुरा भेडाजस्ता नम्र बढ्‌दो ठूलो भीडले प्रस्टै चिनिसके। परमेश्‍वरको राज्यका यी सम्भाव्य प्रजाले आत्मिक इस्राएलका शेष जनसित संगत गरेर यस घोर अन्धकार संसारमा आफ्नो ज्योति चम्काइरहेका छन्‌।—जक. ८:२३; मत्ती ५:१४-१६; फिलि. २:१५.

१९, २०. “राज्यका सन्तान”-ले उत्सुकतासाथ के पर्खन्छन्‌ र अर्को लेखमा के छलफल गरिनेछ?

१९ अहिले “राज्यका सन्तान”-ले महिमित स्वर्गीय इनाम पाउने समय उत्सुकतासाथ पर्खन्छन्‌। (रोमी ८:१८, १९; १ कोरि. १५:५३; फिलि. १:२१-२४) त्यतिन्जेल तिनीहरू वफादार साबित हुनैपर्छ, निरन्तर चम्किरहनैपर्छ, “दुष्टका सन्तान”-बाट अलग भइरहनैपर्छ। (मत्ती १३:३८; प्रका. २:१०) अहिले हाम्रो समयमा सामालाई लाक्षणिक अर्थमा ‘बटुलिएपछिका’ परिणामहरू साक्षात्‌ देख्ने सुअवसर पाएकोमा हामी कत्ति खुसी छौं!

२० तर यी राज्यका सन्तान र त्यस राज्यको प्रजाको रूपमा पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका बढ्‌दो ठूलो भीडबीचको सम्बन्ध कस्तो छ? यस प्रश्‍नको जवाफ अर्को लेखमा दिइनेछ। (w10-E 03/15)

[फुटनोटहरू]

a यी दृष्टान्तहरूको विस्तृत छलफलका लागि प्रहरीधरहरा, जुलाई १, २००८, पृष्ठ १७-२१, २५-२९ हेर्नुहोस्‌।

b यस दृष्टान्तमा बीउ छर्नुले अभिषिक्‍त जन हुन नयाँ व्यक्‍तिहरूलाई ल्याउन गरिएको प्रचारकार्य अनि चेला बनाउने कामलाई बुझाउँदैन। खेतमा छरिएको असल बीउको विषयमा येशूले “ती राज्यका सन्तान हुन्‌” भन्‍नुभयो; “हुनेछन्‌” त भन्‍नुभएन। त्यसैले बीउ छर्नुले ती राज्यका सन्तानलाई अभिषेक गर्नुलाई बुझाउँछ।

c यो पदमा “धर्मत्याग” भनेर अनुवाद गरिएको शब्दले मूल भाषामा, कुनै समय साँचो ख्रीष्टियान नै रहेका तर पछि पतन भएकाहरू र शैतानले ख्रीष्टियान मण्डलीमा छरेका झूटा ख्रीष्टियानहरू दुवै समूहलाई जनाउँछ।

d दृष्टान्तको त्यो एक किसिमको विषालु झारको जराले गहूँको जरालाई यस्तरी बेरेको हुन्छ कि कटनी गर्नुअघि नै त्यो झार उखेल्न खोज्यो भने गहूँ नै मासिन्छ।-इन्साइट अन द स्क्रिप्चर्स, (अंग्रेजी) खण्ड १, पृष्ठ ११७८ हेर्नुहोस्‌।

e यहूदा ४ (NW): “मैले लेख्नुको कारण के हो भने, केही यस्ता मानिसहरू मण्डलीभित्र सुटुक्क घुसेका छन्‌, जसलाई धर्मशास्त्रले धेरै अघि नै दण्डयोग्य ठहराइसकेको थियो। यी दुष्ट मानिसहरू हुन्‌, जो परमेश्‍वरको असीम अनुग्रहलाई छाडा आचरणमा चल्ने बहाना बनाउँछन्‌ अनि हाम्रा मालिक प्रभु येशू ख्रीष्टसित विश्‍वासघात गर्छन्‌।”

के तपाईंलाई सम्झना छ?

येशूले भनेको गहूँ र सामाको दृष्टान्तमा यी कुराहरूको अर्थ के हो?

• असल बीउ

• बीउ छर्ने मानिस

• बीउ छर्नु

• शत्रु

• सामा

• फसलको समय

• धनसार

• रूवाबासी र दाह्रा किटाइ

• आगोको धुनी

[पृष्ठ २४-मा भएका चित्रहरू]

इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि असल बीउ छर्न थालियो

[पृष्ठ २७-मा भएको चित्र]

लाक्षणिक गहूँ अहिले यहोवाको धनसारमा हालिंदैछ

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने